Monday, November 6, 2017

२०७४ कार्तिक अंक_गरीबीबाट उम्कने उपायहरूको विश्लेषण_समीक्षक : पुरुषोत्तम तिमल्सिना

गरीबीबाट उम्कने उपायहरूको विश्लेषण


पुस्तक  : द इन्ड अफ पोभर्टी ः हाउ वी क्यान मेक इट ह्यापेन इन आवर लाइफ टाइम
लेखक: डा. जेफ्री डी. स्याक्स                          प्रकाशक: पेन्गुइन                                  पृष्ठ: २८०     

समीक्षक : पुरुषोत्तम तिमल्सिना

दइन्ड अफ पोभर्टी: हाउ वी क्यान मेक इट ह्यापेन इन आवर लाइफ टाइम (गरीबीको अन्त्यः हाम्रै जीवनकालमा कसरी सम्भव तुल्याउन सकिन्छ ?) का लेखक विश्व विख्यात अमेरिकी अर्थशास्त्री डा. जेफ्री डी. स्याक्स हुन् । विभिन्न राष्ट्रमा आफूले गरेको कार्य अनुभवको आधारमा उनले यो पुस्तक तयार पारेका हुन् । लेखक भन्छन्, “इतिहासमा पहिलो पटक हाम्रो पुस्तालाई संसारको अविकसित मुलुकको विषम गरीबी अन्त्य गर्ने अवसर प्राप्त भएको छ ।” पुस्तकले गरीबीको शुरूआत र यो कसरी व्यापक भयो भन्ने प्रसङ्ग प्रष्ट पारेको छ । कुपोषण, खराब स्वास्थ्य, खराब ऋण र दुर्भाग्यको परिस्थितिले अर्बौं मान्छेलाई गरीबीमा जकडेको छ, पुस्तकमा सो जञ्जालबाट मुक्त हुने बाटो पनि उल्लेख गरिएको छ । विषम गरीबीमा रहेका विश्वका २० प्रतिशत मान्छेलाई वास्तविक परिवर्तन अनुभव गराउन र तिनीहरूले आफ्ना धनी प्रतिद्वन्द्वीसँग साझ्ेदारी प्राप्त गर्न के गर्नुपर्छ भन्ने विश्लेषण गर्दै, स्याक्सले गरीबीको बन्धनबाट छुटकारा दिलाउने स्पष्ट बाटो प्रस्ताव गरेका छन् ।

विश्व परिवारको चित्र
लेखकले विश्वमा रहेका चार किसिमका अर्थतन्त्रलाई उदाहरणसहित प्रस्तुत गरेका छन् । पहिलो उदाहरण भूपरिवेष्टित अफ्रिकी राष्ट्र मलावीको हो । खडेरी र एड्सका कारण धेरै मलावी युवाहरू असमयमै मृत्युवरण गर्छन् । मलेरियालगायतका विभिन्न रोगबाट बाँकी पनि आक्रान्त छन् । लेखक भन्छन्, “मलावीमा स्वास्थ्य सेवा त टाढाको कुरा हो, सरसफाइ तथा झ्ुल प्रयोग गर्ने जस्तो सामान्य चेतनाको पनि अभाव छ ।”

दोस्रो उदाहरण हो, बङ्गलादेश । जीवनयापनका लागि संघर्ष गर्दै बङ्गलादेश विस्तारै विकासको खुट्किलोमा माथि चढ्दैछ । संसारकै घना जनसंख्या भएको बङ्गलादेश उपयुक्त नीति र लगानीको संयोग भएमा आर्थिक र सामाजिक हिसाबले अझ् अगाडि बढ्ने सम्भावना राख्छ, यद्यपि विषम गरीबीको पञ्जाबाट भने यो मुलुक अझै फुत्किन सकेको छैन ।

विकास यात्रामा माथि रहेको भारत तेस्रो उदाहरण हो । भारतीय शिक्षित युवा पुस्तामा आर्थिक विकासको मान्यता स्थापित भइसकेको छ । भारतीय अर्थतन्त्रमा सूचनाप्रविधि, उत्पादन र अनुसन्धानका विषय केन्द्रित छन्, तर चीनको आर्थिक वृद्घिदर भारतको भन्दा माथि छ । चौथो उदाहरण आर्थिक विकासले गति लिइसकेको चीन हो । बेइजिङ विकसित विश्वको राजधानीका रूपमा मात्रै होइन आर्थिक राजधानीका रूपमा पनि चिनिन थालेको छ । साढे दुई दशकदेखि चीनको अर्थतन्त्र करीब ८ प्रतिशतले वृद्घि भइरहेको छ र त्यसले चीनलाई विश्वको व्यापारिक र आर्थिक शक्तिका रूपमा स्थापित गराइदिएको छ ।

आर्थिक विकासको भ¥याङ
चार देशका यी उदाहरणले विज्ञान तथा प्रविधिको प्रयोग विकास प्रक्रियामा कोसेढुंगा हो भन्ने देखाउँछन् । निर्वाहमुखी कृषिबाट हलुका उत्पादन, शहरीकरण तथा उच्च प्रविधि सेवाले परिवर्तन गराउँछ । तर यद्यपि विश्वका करीब एक अर्बभन्दा बढी मान्छेह  बिरामी, भोकमरी र निराशाजनक जीवनयापन गर्दैछन् । बाँच्नका लागि संघर्ष गर्दै गरेका तिनको स्थिति मलावीका बासिन्दाको जस्तै छ । अर्कोतर्फ विश्वका आधाभन्दा बढी मान्छे आर्थिक प्रगति अनुभव गरिरहेका छन् । बढ्दै गरेको व्यक्तिगत आम्दानी, वस्तुहरूको उपभोगमा वृद्घि, बढ्दो औसत आयु, घट्दो शिशु मृत्युदर, शैक्षिक स्तरको वृद्धि र खानेपानी तथा सरसफाइमा पहुँच— विकासको बाटोमा लागेका मुलुकहरूको दृष्टान्त हो । 

लेखक स्याक्सका अनुसार सबैभन्दा गाह्रो काम विकासको खुट्किलोमा पाइला शुरू गर्नु हो । जुन देशले पहिले नै विकास गरे, तिनीहरू अहिले प्रगतिको आनन्द लिइरहेका छन् । ती मुलुकको विकासले समाजमा असमानता भने बढाएको छ । एकातिर विपन्नलाई आफैं विकासको सिंढीमा चढ्न सक्ने विधि प्रयोग गरेर बहुसंख्यकलाई विषम गरीबीको अवस्थाबाट निकाल्नु छ भने अर्कोतिर बढ्दो आर्थिक असमानता कम गर्न प्रयत्नशील रहनुपर्छ । गरीबीको अन्त्य अपर्याप्तताको अन्त्यका साथै आर्थिक विकासको प्रारम्भ, आशा र सुरक्षाको प्रत्याभूति पनि हो । लेखक थप्छन्, “गरीबी अन्त्यको संवादमा त्यसका दुई अभिन्न उद्देश्य समावेश हुनुपर्छ । पहिलो, विषम गरीबी तथा बाँच्नका लागि हुँदै गरेको दैनिक संघर्षको अन्त्य र दोस्रो, विश्वका सम्पूर्ण गरीबले विकासको खुट्किलोमा पाइला राख्न सक्ने अवसरको सुनिश्चितता ।” 

विश्वको आर्थिक इतिहास खोतल्दै स्याक्स भन्छन्, “आजभन्दा २०० वर्ष अगाडि गरीबीको अन्त्य तीव्र गतिमा हुने कुरा सोच्न गाह्रो थियो । त्यतिवेला शासकवर्ग र ठूला जमीनदार बाहेक सबै गरीब थिए । हजारौं वर्षदेखि २०० वर्ष अघिसम्म विश्वमा दीर्घकालीन आर्थिक वृद्घि भएकै थिएन, मात्र जनसंख्या वृद्घि हुन्थ्यो । तर २०० वर्षयता आर्थिक वृद्घिदर र आयमा पनि उल्लेख्य प्रगति भयो । यसै अवधिमा धनी–गरीब राष्ट्रबीचको आम्दानीको खाडल ४ः१ को अनुपातबाट बढेर २०ः१ मा पुगेको छ । १९औं शताब्दीको शुरूमा विश्वका सबै राष्ट्रले समान आर्थिक वृद्धिदर हासिल गरे तर वास्तविकता के हो भने केही मुलुकले मात्र आधुनिक आर्थिक वृद्घि हासिल गरे; अरूले गर्न सकेनन्, परिणामतः असमानता बढ्न गयो । यो असमानताको एउटा कारण विगत २०० वर्षमा भएको असमान प्रकृतिको आर्थिक वृद्घि नै हो ।”

विकास र चिकित्सकीय अर्थशास्त्र
अन्तर्राष्ट्रिय मुद्रा कोष एवं विश्व बैंकजस्ता संस्थामा प्रभुत्व जमाएर बसेका विज्ञहरूको भूमिका गरीबी निवारण गर्ने विषयमा परामर्श दिने हुन्छ । लेखक सोध्छन्, “के ती विज्ञहरू आफूले काम गर्ने गरेका देशका बारे सकारात्मक सोच राख्छन् ?” विकास र आर्थिक वृद्धिको निम्ति शिक्षा र तालीमका साथै संवेदना पनि आवश्यक हुन्छ । उनी भन्छन्, “म अझै सिक्दैछु । मलाई विकास अर्थशास्त्रबारे बुझन दुई दशक लाग्यो । मेरो तालीम कार्य–कुशलताका लागि पर्याप्त थिएन । उच्च शिक्षा लिने क्रममा मैले विषयका महत्वपूर्ण औजारहरू सिकें, तर तिनको सही प्रयोग कसरी गर्ने भन्ने जानेको थिइनँ । मेरो मान्यता थियो सही तरीकाले औजारहरूको उपयोग गरेपछि अर्थशास्त्र ठीक भइहाल्छ । अति विपन्न देशहरूको समस्या हटाउन थप औजार र प्रक्रियाहरू आवश्यक हुन्छ भन्ने वास्तविकता बुझन मलाई निकै धेरै समय लाग्यो ।”

स्याक्स भन्छन्, “आधुनिक औषधि विज्ञानले गरे जस्तै विकास–अर्थशास्त्रमा पनि पुनर्ताजगी आवश्यक छ, गरीबी निवारणका लागि । आधुनिक औषधि विज्ञानले जसरी आपत्कालीन स्थितिमा भएको बिरामीलाई औषधि दिएर तङ्ग्रिन सहयोग गर्छ, त्यसरी नै सङ्कटमा परेका राष्ट्रहरूलाई चिकित्सकीय अर्थशास्त्रमार्फत विकासको खुट्किलोमा लानुपर्छ । धनी राष्ट्रहरूले दुर्बल राष्ट्रलाई ‘गरीबी तिमीहरूको आफनै गल्तीको उपज हो, हामी जस्तै स्वतन्त्र; बजारमुखी, वित्तय रुपमा जिम्मेवार र उद्यमशील बन’ भन्नुपर्छ । त्यसपछि मात्र निजी क्षेत्रले नेतृत्व गरेको आर्थिक विकासको अवसर खुल्नेछ ।”

गरीबीको अन्त्यका लागि लगानी
अर्थशास्त्री स्याक्सका अनुसार आधारभूत स्तरमा विषम गरीबी अन्त्य गर्ने मूल मन्त्र भनेको गरीबमध्येका गरीबलाई विकासको खुट्किलोमा पाइला राख्नसम्म सक्ने बनाउनु हो । तिनीहरूलाई विकासको खुट्किलोमा पाइला राख्न आवश्यक पूँजी आर्जन गर्न सक्षम बनाउनुपर्छ । गरीबीको चपेटामा फसेकाहरूसँग मानवीय पूँजी, व्यावसायिक पूँजी, पूर्वाधार, प्राकृतिक, सार्वजनिक संस्थागत र बौद्घिक पूँजीको अभाव हुन्छ । गरीब परिवारको प्रतिव्यक्ति पूँजी साह्रै न्यून रहने र विकल्पको बाटो नहुँदा तिनीहरू गरीबीको चक्रमा फसिरहन्छन् । अल्पविकसित मुलुकमा बचत र सरकारलाई तिर्ने कर शून्यसरह हुने भएकाले बाहिरी सहयोगमार्फत लगानीले पूँजी बढ्न गई आर्थिक वृद्घि हासिल हुन सक्छ । यसरी आय–आर्जन वृद्घि भई गरीबीको पासोबाट छुटकारा मिल्न सक्छ, लेखक पैरवी गर्छन् । 

अल्पविकसित राष्ट्रहरूले गरीबी निवारणका लागि चिन्तनतर्फ लाग्नुपर्छ भने राष्ट्रिय स्रोत–साधनको हिस्सा युद्घ, भ्रष्टाचार तथा राजनीतिक लुछाचुँडीमा भन्दा गरीबी निवारणमा खर्च गरिनुपर्छ । लेखक भन्छन्, “धनी राष्ट्रहरूले सहयोगको रटानभन्दा अघि बढेर गरीब अनुकूल वातावरण बनाउनुपर्छ, जसका लागि एक किसिमको ढाँचा चाहिन्छ । विश्व बैंक, संयुक्त राष्ट्रसंघीय संस्थाहरू र द्विपक्षीय दातृनिकायहरूले ढाँचा तयार गर्न ठूलो स्रोतको प्रवाह गरेका छन् । विषम गरीबीको अन्त्य गर्ने कार्य निर्धारित सीमाभित्र प्राप्त गर्न सकिन्छ ।”

विकास सम्बन्धी समस्याको तत्काल समाधान मन्त्र सुशासन हो भने यसको नजिकको शत्रु आर्थिक नियन्त्रण हो । आर्थिक विकास एउटा यात्रा हो । आर्थिक स्वतन्त्रता जति धेरै हुन्छ, प्रगति पनि त्यति धेरै । तर आर्थिक स्वतन्त्रता जादूको छडी होइन । निश्चित लगानी, योजना लागू गराउने विधि र नियमनले मात्रै आर्थिक स्वतन्त्रता धान्न सक्छ । विश्वका धनी राष्ट्रहरूले गरीबी निवारणका लागि कस्तो आचरण गर्लान् ? यो प्रश्नको उत्तर पश्चिमी मुलुक खासगरी संयुक्त राज्य अमेरिकाको सन्दर्भमा खोज्नुपर्छ । लेखक भन्छन्, “अमेरिकाले विभिन्न बहानामा विश्वको गरीब समुदायलाई ठगिरहेको छ, प्रतिबद्घता अनुसार उसले सहयोग वृद्घि गरेको छैन ।” अमेरिकामा आप्रवासीहरूले त्यस मुलुकमा कमाएर घर पठाएको विप्रेषण रकम समेत सहायता हिसाबमा जोडिनुपर्ने तर्क गरिन्छ तर लेखक सो मान्न तयार छैनन् । 

अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यो शक्तिशाली मुलुकले अन्तर्मुखी नीति लिने र अरू मुलुकबारे चासो नलिने कुरामा जोड दिने गरेका छन् । यो नयाँ नीतिले विदेशी सहयोगमा आश्रित अल्पविकसित मुलुकको विकास यात्रामा कस्तो असर पर्ला ? प्राध्यापक स्याक्सको पुस्तक राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति हुनुभन्दा अगाडि नै छापिएको हुँदा तत्सम्बन्धमा कुनै दृष्टिकोण हुने कुरा भएन । तर, वर्तमान अमेरिकी प्रशासनका नीतिबारे स्याक्सका आलोचनात्मक लेखहरू प्रकाशित छन् । 
(तिमल्सिना अर्थशास्त्रको अध्ययन–अनुसन्धानमा रुचि राख्छन् ।)

२०७४ कार्तिक अंक_गरीबी निवारणका लागि उपलब्ध अर्थशास्त्रीय विकल्प_समीक्षक : डा. केशवराज कणेल

गरीबी निवारणका लागि उपलब्ध अर्थशास्त्रीय विकल्प

पुस्तक : मोर देन गुड इन्टेन्सन्स्: इम्प्रुभिङ द वेयज द वल्र्डस पुअर बरो, सेभ, फार्म, लर्न एन्ड स्टे हेल्दी
लेखक: डिन कर्लान र जेकोव एपेल (जेव)             प्रकाशक: पेन्गुइन ग्रुप, २०१२                        पृष्ठ : ३०८  

समीक्षक डा. केशवराज कणेल

विगत ५० वर्षमा विभिन्न दातृ निकायहरूले गरीबी निवारणमा २३ खर्ब डलरभन्दा बढी खर्च गरिसके । खर्चिएको त्यो रकमले के उपलब्धि ग¥यो भन्नेबारे विज्ञहरूको एउटै मत छैन । यसबारे मूलतः दुईवटा विचारधारा पाइन्छन्— पहिलो, खर्च भएको रकम धेरै देखिए तापनि धनी देशहरूको आम्दानीको करीब १ प्रतिशत मात्रै गरीबी निवारणको नाममा खर्च भएको छ र केही प्रगति पनि । त्यसैले यो खर्चको रकम धेरै होइन, बरु थोरै नै र यस्तो सहयोगको मात्रा अझ बढाउनुपर्छ । दोस्रो विचारधारा भन्छ, खर्चको रकम धेरै नै हो ।  यति धेरै खर्च गर्दा पनि यो रकमले गरीबी निवारणमा उल्लेख्य योगदान गरेको छैन, बरु परनिर्भरता बढाएको छ । यसको सट्टा गरीब देशहरू आफैंले अवलम्बन गरेका कार्यक्रमलाई बढावा दिएमा प्रगति हुन सक्छ र परनिर्भरता पनि घट्छ ।

उपर्युक्त विचारधारामध्ये पहिलो विचारका प्रवद्र्धक हाल संयुक्त राष्ट्रसंघका सल्लाहकार प्राध्यापक जेफ्री स्याक्स हुन् भने दोस्रो विचार शृंखलाका प्रतिनिधि पात्र न्यूयोर्क विश्वविद्यालयका प्राध्यापक विल इस्टर्ली । तर यी दुवै विज्ञले पनि सफलता केलाई मान्ने र यो कसरी नाप्ने भन्ने जस्ता प्रश्नमा व्यावहारिक मूल्याङ्कन विधि र मापक प्रस्तुत गर्न सकेको पाइँदैन ।

उल्लिखित विश्लेषण डिन कर्लान र जेकोव एपेल (जेव) ले लेखेको मोर देन गुड इन्टेन्सन्स् ः इम्प्रुभिङ द वेयज, द वल्र्डस पोर बरो, सेभ, फार्म, लर्न एन्ड स्टे हेल्दी नामक पुस्तकको हो । कर्लान पुस्तकका मूल लेखक हुन् भने एपेल जीवनलाई नजिकैबाट हेर्ने अनुसन्धानकर्ता ।

पुस्तकमा बङ्गलादेशका अर्थशास्त्री तथा नोबेल पुरस्कार विजेता मोहमद युनुसले गरीबहरू र त्यसमा पनि गरीब महिलाहरूको समूहलाई लघुवित्त प्रवाह गरेमा उनीहरूको आर्थिक तथा सामाजिक सुधार र उन्नति हुन्छ भनी त्यहाँका ग्रामीण बैंकले समूहमार्फत लुघवित्त उपलब्ध गराएको प्रसङ्ग समेत समावेश गरिएको छ । बङ्गलादेशको दृष्टान्तपछि समूहमार्फत लघुवित्त प्रवाह गर्ने कार्यक्रम संसारभरि प्रचलनमा आउन थाल्यो । लघुवित्तको पहिलो चरणमा विना धितो समूहकै सदस्यहरूलाई समूहकै जमानीमा ऋण प्रवाह गर्ने गरिएकोमा पछि सुधार गरी समूहका सदस्यहरूलाई व्यक्तिगत जमानीमा पनि ऋण दिने व्यवस्था गर्न थालियो । सन् २०१२ सम्म विश्वमा यस्ता समूहका सदस्यहरूको संख्या करीब १३–१४ करोड पुगिसकेको अनुमान छ । नेपालकै पनि यो कार्यक्रमले व्यापकता पाएको छ ।

मूल्याङ्कन विधि
लघुवित्तमार्फत गरीबी निवारणका कार्यक्रम सञ्चालन हुँदै गर्दा यस्ता कार्यक्रमको प्रभावकारिता र सो मापन गर्ने मूल्याङ्कन विधिबारे प्रश्न उठ्न थाले । त्यसैको सिलसिलामा अमेरिकाको म्यासाच्युसट्स इन्ष्टिच्युट अफ टेक्नोलोजीअन्तर्गत द अब्दुल लतिफ पोभर्टी एक्सन ल्याबले गरीबी निवारण सम्बन्धी कार्यक्रमको प्रभावकारिता मापन गर्ने मूल्याङ्कन विधि जसलाई ‘क्रमरहित नियन्त्रण प्रयत्न’ (¥यान्डम एक्सेस ट्रेल) भनिन्छ, प्रस्ताव ग¥यो । यो विधि पहिलोपल्ट खाद्य पदार्थ र नयाँ औषधिको प्रभावकारिता नाप्ने सन्दर्भमा प्रयोग भएको थियो । यो विधि अनुसार कुनै ठाउँमा लघुवित्त लिएका र नलिएका उस्तै समूहको जीवनस्तर मापन गरिन्छ र ती समूहका सदस्यहरूमा आएको परिवर्तनलाई मूल्याङ्कन गरेर मात्र जीवनमा सुधार आएको छ छैन र छ भने के कस्तो सुधार आएको छ भनेर पत्ता लगाउन सकिन्छ । मूल्याङ्कनको यो विधि लघुवित्तको क्षेत्रमा मात्रै होइन, कृषि, वन, सिंचाइ, स्वास्थ्य आदि क्षेत्रहरूमा पनि अवलम्बन गरिएको छ । यस्तो मूल्यांकनका निम्ति समूहका सदस्य छान्दा क्रमरहित तरीकाले छान्नुपर्छ भन्ने कुरा पुस्तकले सम्झाउँछ ।

लेखक डिन कर्लान यही विधामा म्यासाच्युसट्स इन्ष्टिच्युट अफ टेक्नोलोजीबाट विद्यावारिधि गरी विभिन्न विकासशील मुलुकमा गरीबी निवारण सम्बन्धी लुघवित्तमार्फत भएका परिवर्तन र लगानी प्रभावकारिताको मूल्याङ्कनमा संलग्न छन् ।  उनी विगत केही वर्षदेखि अमेरिकाको येल विश्वविद्यालयमा प्राध्यापन गर्छन् र गरीबहरूको जीवनमा के कसरी सुधार आएको छ भन्ने मूल्याङ्कन गर्न गाउँ गाउँमै पनि पुग्छन् । कर्लान र एपेलले पुस्तकमा अफ्रिका, एशिया तथा दक्षिण अमेरिकाका विभिन्न देशमा सञ्चालित लघुवित्त, लघुऋण, लघुबचत, जुका मार्ने औषधि तथा पानीमा मिसाउने क्लोरिन वितरणजस्ता गरीबी निवारण कार्यक्रमबारे ‘क्रमरहित नियन्त्रण प्रयत्न’ विधिद्वारा गरेको मूल्याङ्कन नतिजा उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । लघुवित्तका प्रणेता युनुसको भनाइ अनुसार गरीब देशका गरीब जनता ‘बाँच्ने कला’ मा निपुण हुन्छन् । उनीह  व्यक्तिगत रूपमै पनि स्वतः उद्यमशील हुन्छन् । तसर्थ ‘लघुवित्तको माध्यमद्वारा सबै गरीबी निवारण गर्न सकिन्छ’ भन्ने तर्कलाई आधार मानेर समूह बनाई तीमार्फत लघु ऋण प्रवाह गर्ने प्रचलन विश्वव्यापी रूपमा रहँदै आएको हो ।

तर यस्तो सफलता सबै परिस्थिति र व्यक्तिहरूमा नरहेको तथा नहुने कुरा ‘क्रमरहित नियन्त्रण प्रयत्न’ मूल्याङ्कन विधिद्वारा प्रमाणित धेरै उदाहरण पुस्तकमा समेटिएका छन् । एउटा उदाहरण भारतको हैदरावादको हो जहाँ ग्रामीण बैंकले तीन थरीका परिवारलाई लघु ऋण प्रवाह गरेको थियो । एकथरी उद्यम चलाइरहेका परिवार थिए । अर्काथरी सम्भाव्य उद्यमी र व्यवसायबाट फाइदा पनि लिएका थिए । तेस्रो थरी उद्यम नचलाएका परिवार थिए । ‘क्रमरहित नियन्त्रण प्रयत्न’ विधिद्वारा यी तीनै समूहको मूल्याङ्कन गर्दा पहिला दुईवटा समूहले व्यापार÷व्यवसाय विस्तार गरेको वा राम्रै फाइदा गरेको पाइयो । तेस्रो समूहले भने खर्च र ऋण बढाएको देखियो । त्यसैले लघुवित्त (लघु ऋण) बाट पूरै समुदाय लाभान्वित नभई केहीलाई फाइदा र केहीले ऋण मात्रै बोक्न सक्छन् भन्ने यथार्थता मनन गर्नुपर्छ । परिस्थितिजन्य अवस्थाले पनि सफलता÷असफलतालाई असर पार्छ । सारांशमा भन्दा ‘गरीबी निवारण गर्न लघुवित्त एउटा साधन हो, यो आफैं साध्य होइन’ लघुवित्त जस्तै निक्षेप, बीमा, शिक्षा तथा स्वास्थ्य आदि पनि उत्तिकै महत्वपूर्ण साधन हुन्, तर तिनको सफलता परिस्थितिमा भर पर्छ । लघुवित्त प्रवाह गर्ने निकायहरूले ऋणलाई धेरै नियमहरूले बाँध्छन् र उद्यम सञ्चालनलाई प्राथमिकता दिन्छन्; तर गरीबका अरू पनि आवश्यकता हुन्छन् । त्यसैले लघुवित्तबाट प्राप्त हुने ऋणको ब्याजदर कम भए पनि केही गरीब परिवारले गाउँले सुदखोरसँग चर्को ब्याजमै ऋण लिने गरेका हुन् ।

व्यवहार अर्थशास्त्र
पुस्तकले व्यवहार वा आचरण अर्थशास्त्रबारे पनि विवेचना गरेको छ ।  ।ज्ञ प्रचलित अर्थशास्त्रको अवधारणा अनुसार व्यक्तिले कुनै निर्णय गर्दा विकल्पहरूको हिसाबकिताब गर्छन् अनि जुन विकल्पबाट अधिकतम फाइदा हुन्छ त्यही छान्छन् । अर्थात् जति धेरै विकल्पहरू हुन्छन् व्यक्तिलाई त्यति नै फाइदा हुन्छ । त्यस्तै प्रचलित अर्थशास्त्रको मान्यता छ– व्यक्तिहरू आफूलाई के फाइदा हुन्छ, सो कुराको निर्णय गर्न आफू नै निपुण हुन्छन् । तर आचरण अर्थशास्त्रीहरू उपरोक्त मान्यतालाई स्वीकार गर्दैनन् । आचरण अर्थशास्त्रीहरूका अनुसार मानवलाई सम्पूर्ण रुपमा बुझनुपर्छ; कैयौं निर्णय आवेगमा पनि गरिएका हुन्छन् र धेरै विकल्प भए मानिस झन् रनभुल्लमा पर्छन् र यस्तो परिस्थितिमा साविककै सजिलो विकल्प रोज्न मन पराउँछन् । त्यस्तै, व्यक्तिलाई आफैंले गरेको निर्णय कार्यान्वयन गर्न पनि अरुले सम्झाउनु पर्ने हुनसक्छ । धेरै मानिस पैसा खर्च गर्न भन्दा बचाउन गाह्रो मान्छन् । एउटा त निक्षेप भन्दा खर्च गर्ने बाटा धेरै हुन्छन् । त्यसैले ‘निक्षेप प्रतिबद्धता’ जस्ता आफूले आफैंलाई आत्म नियन्त्रणमा राख्ने उपाय वा अन्य साथीहरूले बीचबीचमा ती प्रतिबद्धता पालन भएको वा नभएको सम्झाउने गरेमा बचत गर्ने बानी बढेको दृष्टान्त पुस्तकले दिएको छ ।

मानिसले आफ्नो जीवनमा आर्थिक फाइदा मात्रै किन हेर्दैनन् भन्ने तर्क पुष्टि गर्न पुस्तकमा न्यूयोर्कका ट्याक्सी चालकहरूले कसरी आफ्नो समय विताउँछन् भन्ने दृष्टान्त उदाहरणका रूपमा प्रस्तुत गरिएको छ । आचरण अर्थशास्त्र अनुसार मानिसले बढी आम्दानी गर्ने उद्देश्य मात्र नहेरी अन्य मान्यतालाई पनि निर्णय गर्ने आधार बनाउँछन् । न्यूयोर्कमा ट्याक्सी चालकले आफना समयको राम्ररी समायोजन गरेमा कम्तीमा १० प्रतिशत बढी आम्दानी सजिलै गर्न सक्थे तर उनीहरूको उद्देश्य आम्दानी बढाउनुको सट्टा प्रतिदिन एकनासको आम्दानी गर्ने भएकाले बढी आम्दानी हुने दिनमा त झन् थोरै घण्टा काम गर्ने गरेको पाइयो । थोरै घण्टा काम गरे पनि दैनिक आम्दानी अरू दिनसरह हुन्छ ।

अल्पविकसित मुलुकका गरीब किसानहरू विभिन्न खालका वातावरणीय, प्राविधिक र संरचनात्मक उल्झन झेल्ने गर्छन् । तिनले अपनाएको साविकका खेतीपाती गर्ने विधि र प्रचलन फाइदाजनक नभए पनि उनीहरू नयाँ प्रविधि सजिलै अपनाउँदैनन् किनभने ती विकल्प उनीहरूको दृष्टिकोणले निकै जोखिमपूर्ण हुन्छन् । अर्कोतर्फ यस्ता कृषकले बाली भित्रयाएपछि आएको आम्दानीबाटै अर्को वर्षका लागि आवश्यक पर्ने मल बीउको जोहो गर्ने गरेको पनि पाइन्छ । यसमा कृषिको खाँचो पूरा नगरी भएको आम्दानी अन्य आवश्यकता पूर्तिमा खर्च नहोओस् भन्ने तर्कले काम गरेको देखिन्छ ।  यस हिसाबले, कुन परिस्थिति वा परिबन्दमा कुन उत्प्रेरकले काम गर्छ भन्ने विषय जान्नु आवश्यक हुन्छ ।

लेखकद्वय केन्याको उदाहरण दिन्छन् । केन्यामा विद्यार्थीलाई स्कूलको पोशाक निःशुल्क उपलब्ध गराइएको थियो । र त्यसबाट विद्यार्थीको स्कूल जाने दर बढेको पाइयो । त्यस्तै दक्षिण अमेरिकामा आफ्ना छोराछोरी स्कूल पठाउने शर्तमा आमाहरूलाई थोरै रकम उपलब्ध गराइँदा स्कूलमा विद्यार्थीको उपस्थिति दर ८५ प्रतिशतसम्म पुगेको पुस्तक बताउँछ ।

स्वास्थ्य र शिक्षाको प्रसङ्ग
स्कूलमा विद्यार्थीको पढाइ राम्रो नभएपछि त्यसको उपचारका रूपमा विद्यार्थीलाई साना समूहमा विभाजन गरी पुनः पढाउने कार्यक्रम सफल भएका उदाहरण छन् । प्राथमिक तहका विद्यार्थीलाई पेटमा हुने जुका विरुद्धको औषधि निःशुल्क उपलब्ध गराउँदा विद्यार्थीको स्कूल जाने दर अत्यधिक बढेको र समुदायकै स्वास्थ्यमा सुधार आएको उदाहरण पुस्तकको अर्को दृष्टान्त हो । वास्तविकता के हो भने, संसारमा अझै पनि प्रतिवर्ष करीब २० लाख बच्चाहरू ‘पखाला’ ले गर्दा ज्यान गुमाउँछन् । पानीमा क्लोरिनका केही थोपा मिसाइएमा इकोलाइ जस्ता जीवाणुहरू नाश हुने हुँदा बच्चालाई सो रोगबाट सजिलै बचाउन सकिन्छ । पानी सङ्कलन गर्ने धारोमै क्लोरिन राखिएमा यसको उपयोग अझ धेरैले गर्ने गरेको पनि पाइयो ।

पुस्तकमा, सानो लगानी वा हस्तक्षेपले ठूलै उपलब्धि प्रदान गरेका थुप्रै उदाहरण छन् । तर साना लगानी वा सहयोग गर्दा पनि स्थानीय परिस्थिति वा संरचनालाई भने उचित ध्यान दिनु जरुरी हुन्छ । गरीबी निवारणका लागि बाह्य सहयोग विभिन्न रूपमा उपलब्ध हुन्छन् र दाताको प्रमुख सरोकार मूलतः दुई विषयमा केन्द्रित हुन्छ— पहिलो, विद्यमान परिस्थितिमा गरिएको प्रस्तावले समस्याको कत्तिको समाधान गर्न सक्छ ? र दोस्रो, प्रस्तावक संस्थाले आफ्ना कार्यक्रम कति प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सक्छ ? लेखकद्वयले भनेझैं सृजनशील विचार ‘टाउको प्राज्ञिक क्षेत्रमा र हात खुट्टा जमीनमा’ भएको अवस्थामा मात्र स्फुरण हुन सक्छ । गरीबी निवारण सम्बन्धी कार्यक्रमहरू सृजनशील तथा व्यावहारिक विचारबाट अनुप्राणित भएमा सफल हुने आधार पहिल्याउन सकिन्छ ।

पुस्तकका उदाहरणहरू अनुभवजन्य छन् । भाषा अत्यन्त सरल छ । लेखकद्वयको निचोड के छ भने उद्देश्य वा अभिलाषा राम्रो भएर मात्रै हुँदैन । उद्देश्य प्राप्तिका लागि सझाइने वा अवलम्बन गरिने साधन÷उपायहरू पनि उपयुक्त हुनैपर्छ । यो भनाइ मूलतः गरीबी निवारण जस्ता कार्यक्रममा बढी सान्दर्भिक देखिए पनि यो कथन सबै क्षेत्रमा लागू हुन्छ । उपरोक्त निक्र्योलहरू ‘क्रमरहित नियन्त्रण प्रयत्न’ जस्तो मूल्याङ्कन विधि र आचरण अर्थशास्त्र जस्ता प्राज्ञिक धार व्यवहारमा लागू गरी निकालिएका निष्कर्ष पनि हुन् ।
(कणेल वन विशेषज्ञ हुन् ।)