गरीबीबाट उम्कने उपायहरूको विश्लेषण
पुस्तक : द इन्ड अफ पोभर्टी ः हाउ वी क्यान मेक इट ह्यापेन इन आवर लाइफ टाइम
लेखक: डा. जेफ्री डी. स्याक्स प्रकाशक: पेन्गुइन पृष्ठ: २८०
समीक्षक : पुरुषोत्तम तिमल्सिना
दइन्ड अफ पोभर्टी: हाउ वी क्यान मेक इट ह्यापेन इन आवर लाइफ टाइम (गरीबीको अन्त्यः हाम्रै जीवनकालमा कसरी सम्भव तुल्याउन सकिन्छ ?) का लेखक विश्व विख्यात अमेरिकी अर्थशास्त्री डा. जेफ्री डी. स्याक्स हुन् । विभिन्न राष्ट्रमा आफूले गरेको कार्य अनुभवको आधारमा उनले यो पुस्तक तयार पारेका हुन् । लेखक भन्छन्, “इतिहासमा पहिलो पटक हाम्रो पुस्तालाई संसारको अविकसित मुलुकको विषम गरीबी अन्त्य गर्ने अवसर प्राप्त भएको छ ।” पुस्तकले गरीबीको शुरूआत र यो कसरी व्यापक भयो भन्ने प्रसङ्ग प्रष्ट पारेको छ । कुपोषण, खराब स्वास्थ्य, खराब ऋण र दुर्भाग्यको परिस्थितिले अर्बौं मान्छेलाई गरीबीमा जकडेको छ, पुस्तकमा सो जञ्जालबाट मुक्त हुने बाटो पनि उल्लेख गरिएको छ । विषम गरीबीमा रहेका विश्वका २० प्रतिशत मान्छेलाई वास्तविक परिवर्तन अनुभव गराउन र तिनीहरूले आफ्ना धनी प्रतिद्वन्द्वीसँग साझ्ेदारी प्राप्त गर्न के गर्नुपर्छ भन्ने विश्लेषण गर्दै, स्याक्सले गरीबीको बन्धनबाट छुटकारा दिलाउने स्पष्ट बाटो प्रस्ताव गरेका छन् ।
विश्व परिवारको चित्र
लेखकले विश्वमा रहेका चार किसिमका अर्थतन्त्रलाई उदाहरणसहित प्रस्तुत गरेका छन् । पहिलो उदाहरण भूपरिवेष्टित अफ्रिकी राष्ट्र मलावीको हो । खडेरी र एड्सका कारण धेरै मलावी युवाहरू असमयमै मृत्युवरण गर्छन् । मलेरियालगायतका विभिन्न रोगबाट बाँकी पनि आक्रान्त छन् । लेखक भन्छन्, “मलावीमा स्वास्थ्य सेवा त टाढाको कुरा हो, सरसफाइ तथा झ्ुल प्रयोग गर्ने जस्तो सामान्य चेतनाको पनि अभाव छ ।”
दोस्रो उदाहरण हो, बङ्गलादेश । जीवनयापनका लागि संघर्ष गर्दै बङ्गलादेश विस्तारै विकासको खुट्किलोमा माथि चढ्दैछ । संसारकै घना जनसंख्या भएको बङ्गलादेश उपयुक्त नीति र लगानीको संयोग भएमा आर्थिक र सामाजिक हिसाबले अझ् अगाडि बढ्ने सम्भावना राख्छ, यद्यपि विषम गरीबीको पञ्जाबाट भने यो मुलुक अझै फुत्किन सकेको छैन ।
विकास यात्रामा माथि रहेको भारत तेस्रो उदाहरण हो । भारतीय शिक्षित युवा पुस्तामा आर्थिक विकासको मान्यता स्थापित भइसकेको छ । भारतीय अर्थतन्त्रमा सूचनाप्रविधि, उत्पादन र अनुसन्धानका विषय केन्द्रित छन्, तर चीनको आर्थिक वृद्घिदर भारतको भन्दा माथि छ । चौथो उदाहरण आर्थिक विकासले गति लिइसकेको चीन हो । बेइजिङ विकसित विश्वको राजधानीका रूपमा मात्रै होइन आर्थिक राजधानीका रूपमा पनि चिनिन थालेको छ । साढे दुई दशकदेखि चीनको अर्थतन्त्र करीब ८ प्रतिशतले वृद्घि भइरहेको छ र त्यसले चीनलाई विश्वको व्यापारिक र आर्थिक शक्तिका रूपमा स्थापित गराइदिएको छ ।
आर्थिक विकासको भ¥याङ
चार देशका यी उदाहरणले विज्ञान तथा प्रविधिको प्रयोग विकास प्रक्रियामा कोसेढुंगा हो भन्ने देखाउँछन् । निर्वाहमुखी कृषिबाट हलुका उत्पादन, शहरीकरण तथा उच्च प्रविधि सेवाले परिवर्तन गराउँछ । तर यद्यपि विश्वका करीब एक अर्बभन्दा बढी मान्छेह बिरामी, भोकमरी र निराशाजनक जीवनयापन गर्दैछन् । बाँच्नका लागि संघर्ष गर्दै गरेका तिनको स्थिति मलावीका बासिन्दाको जस्तै छ । अर्कोतर्फ विश्वका आधाभन्दा बढी मान्छे आर्थिक प्रगति अनुभव गरिरहेका छन् । बढ्दै गरेको व्यक्तिगत आम्दानी, वस्तुहरूको उपभोगमा वृद्घि, बढ्दो औसत आयु, घट्दो शिशु मृत्युदर, शैक्षिक स्तरको वृद्धि र खानेपानी तथा सरसफाइमा पहुँच— विकासको बाटोमा लागेका मुलुकहरूको दृष्टान्त हो ।
लेखक स्याक्सका अनुसार सबैभन्दा गाह्रो काम विकासको खुट्किलोमा पाइला शुरू गर्नु हो । जुन देशले पहिले नै विकास गरे, तिनीहरू अहिले प्रगतिको आनन्द लिइरहेका छन् । ती मुलुकको विकासले समाजमा असमानता भने बढाएको छ । एकातिर विपन्नलाई आफैं विकासको सिंढीमा चढ्न सक्ने विधि प्रयोग गरेर बहुसंख्यकलाई विषम गरीबीको अवस्थाबाट निकाल्नु छ भने अर्कोतिर बढ्दो आर्थिक असमानता कम गर्न प्रयत्नशील रहनुपर्छ । गरीबीको अन्त्य अपर्याप्तताको अन्त्यका साथै आर्थिक विकासको प्रारम्भ, आशा र सुरक्षाको प्रत्याभूति पनि हो । लेखक थप्छन्, “गरीबी अन्त्यको संवादमा त्यसका दुई अभिन्न उद्देश्य समावेश हुनुपर्छ । पहिलो, विषम गरीबी तथा बाँच्नका लागि हुँदै गरेको दैनिक संघर्षको अन्त्य र दोस्रो, विश्वका सम्पूर्ण गरीबले विकासको खुट्किलोमा पाइला राख्न सक्ने अवसरको सुनिश्चितता ।”
विश्वको आर्थिक इतिहास खोतल्दै स्याक्स भन्छन्, “आजभन्दा २०० वर्ष अगाडि गरीबीको अन्त्य तीव्र गतिमा हुने कुरा सोच्न गाह्रो थियो । त्यतिवेला शासकवर्ग र ठूला जमीनदार बाहेक सबै गरीब थिए । हजारौं वर्षदेखि २०० वर्ष अघिसम्म विश्वमा दीर्घकालीन आर्थिक वृद्घि भएकै थिएन, मात्र जनसंख्या वृद्घि हुन्थ्यो । तर २०० वर्षयता आर्थिक वृद्घिदर र आयमा पनि उल्लेख्य प्रगति भयो । यसै अवधिमा धनी–गरीब राष्ट्रबीचको आम्दानीको खाडल ४ः१ को अनुपातबाट बढेर २०ः१ मा पुगेको छ । १९औं शताब्दीको शुरूमा विश्वका सबै राष्ट्रले समान आर्थिक वृद्धिदर हासिल गरे तर वास्तविकता के हो भने केही मुलुकले मात्र आधुनिक आर्थिक वृद्घि हासिल गरे; अरूले गर्न सकेनन्, परिणामतः असमानता बढ्न गयो । यो असमानताको एउटा कारण विगत २०० वर्षमा भएको असमान प्रकृतिको आर्थिक वृद्घि नै हो ।”
विकास र चिकित्सकीय अर्थशास्त्र
अन्तर्राष्ट्रिय मुद्रा कोष एवं विश्व बैंकजस्ता संस्थामा प्रभुत्व जमाएर बसेका विज्ञहरूको भूमिका गरीबी निवारण गर्ने विषयमा परामर्श दिने हुन्छ । लेखक सोध्छन्, “के ती विज्ञहरू आफूले काम गर्ने गरेका देशका बारे सकारात्मक सोच राख्छन् ?” विकास र आर्थिक वृद्धिको निम्ति शिक्षा र तालीमका साथै संवेदना पनि आवश्यक हुन्छ । उनी भन्छन्, “म अझै सिक्दैछु । मलाई विकास अर्थशास्त्रबारे बुझन दुई दशक लाग्यो । मेरो तालीम कार्य–कुशलताका लागि पर्याप्त थिएन । उच्च शिक्षा लिने क्रममा मैले विषयका महत्वपूर्ण औजारहरू सिकें, तर तिनको सही प्रयोग कसरी गर्ने भन्ने जानेको थिइनँ । मेरो मान्यता थियो सही तरीकाले औजारहरूको उपयोग गरेपछि अर्थशास्त्र ठीक भइहाल्छ । अति विपन्न देशहरूको समस्या हटाउन थप औजार र प्रक्रियाहरू आवश्यक हुन्छ भन्ने वास्तविकता बुझन मलाई निकै धेरै समय लाग्यो ।”
स्याक्स भन्छन्, “आधुनिक औषधि विज्ञानले गरे जस्तै विकास–अर्थशास्त्रमा पनि पुनर्ताजगी आवश्यक छ, गरीबी निवारणका लागि । आधुनिक औषधि विज्ञानले जसरी आपत्कालीन स्थितिमा भएको बिरामीलाई औषधि दिएर तङ्ग्रिन सहयोग गर्छ, त्यसरी नै सङ्कटमा परेका राष्ट्रहरूलाई चिकित्सकीय अर्थशास्त्रमार्फत विकासको खुट्किलोमा लानुपर्छ । धनी राष्ट्रहरूले दुर्बल राष्ट्रलाई ‘गरीबी तिमीहरूको आफनै गल्तीको उपज हो, हामी जस्तै स्वतन्त्र; बजारमुखी, वित्तय रुपमा जिम्मेवार र उद्यमशील बन’ भन्नुपर्छ । त्यसपछि मात्र निजी क्षेत्रले नेतृत्व गरेको आर्थिक विकासको अवसर खुल्नेछ ।”
गरीबीको अन्त्यका लागि लगानी
अर्थशास्त्री स्याक्सका अनुसार आधारभूत स्तरमा विषम गरीबी अन्त्य गर्ने मूल मन्त्र भनेको गरीबमध्येका गरीबलाई विकासको खुट्किलोमा पाइला राख्नसम्म सक्ने बनाउनु हो । तिनीहरूलाई विकासको खुट्किलोमा पाइला राख्न आवश्यक पूँजी आर्जन गर्न सक्षम बनाउनुपर्छ । गरीबीको चपेटामा फसेकाहरूसँग मानवीय पूँजी, व्यावसायिक पूँजी, पूर्वाधार, प्राकृतिक, सार्वजनिक संस्थागत र बौद्घिक पूँजीको अभाव हुन्छ । गरीब परिवारको प्रतिव्यक्ति पूँजी साह्रै न्यून रहने र विकल्पको बाटो नहुँदा तिनीहरू गरीबीको चक्रमा फसिरहन्छन् । अल्पविकसित मुलुकमा बचत र सरकारलाई तिर्ने कर शून्यसरह हुने भएकाले बाहिरी सहयोगमार्फत लगानीले पूँजी बढ्न गई आर्थिक वृद्घि हासिल हुन सक्छ । यसरी आय–आर्जन वृद्घि भई गरीबीको पासोबाट छुटकारा मिल्न सक्छ, लेखक पैरवी गर्छन् ।
अल्पविकसित राष्ट्रहरूले गरीबी निवारणका लागि चिन्तनतर्फ लाग्नुपर्छ भने राष्ट्रिय स्रोत–साधनको हिस्सा युद्घ, भ्रष्टाचार तथा राजनीतिक लुछाचुँडीमा भन्दा गरीबी निवारणमा खर्च गरिनुपर्छ । लेखक भन्छन्, “धनी राष्ट्रहरूले सहयोगको रटानभन्दा अघि बढेर गरीब अनुकूल वातावरण बनाउनुपर्छ, जसका लागि एक किसिमको ढाँचा चाहिन्छ । विश्व बैंक, संयुक्त राष्ट्रसंघीय संस्थाहरू र द्विपक्षीय दातृनिकायहरूले ढाँचा तयार गर्न ठूलो स्रोतको प्रवाह गरेका छन् । विषम गरीबीको अन्त्य गर्ने कार्य निर्धारित सीमाभित्र प्राप्त गर्न सकिन्छ ।”
विकास सम्बन्धी समस्याको तत्काल समाधान मन्त्र सुशासन हो भने यसको नजिकको शत्रु आर्थिक नियन्त्रण हो । आर्थिक विकास एउटा यात्रा हो । आर्थिक स्वतन्त्रता जति धेरै हुन्छ, प्रगति पनि त्यति धेरै । तर आर्थिक स्वतन्त्रता जादूको छडी होइन । निश्चित लगानी, योजना लागू गराउने विधि र नियमनले मात्रै आर्थिक स्वतन्त्रता धान्न सक्छ । विश्वका धनी राष्ट्रहरूले गरीबी निवारणका लागि कस्तो आचरण गर्लान् ? यो प्रश्नको उत्तर पश्चिमी मुलुक खासगरी संयुक्त राज्य अमेरिकाको सन्दर्भमा खोज्नुपर्छ । लेखक भन्छन्, “अमेरिकाले विभिन्न बहानामा विश्वको गरीब समुदायलाई ठगिरहेको छ, प्रतिबद्घता अनुसार उसले सहयोग वृद्घि गरेको छैन ।” अमेरिकामा आप्रवासीहरूले त्यस मुलुकमा कमाएर घर पठाएको विप्रेषण रकम समेत सहायता हिसाबमा जोडिनुपर्ने तर्क गरिन्छ तर लेखक सो मान्न तयार छैनन् ।
अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यो शक्तिशाली मुलुकले अन्तर्मुखी नीति लिने र अरू मुलुकबारे चासो नलिने कुरामा जोड दिने गरेका छन् । यो नयाँ नीतिले विदेशी सहयोगमा आश्रित अल्पविकसित मुलुकको विकास यात्रामा कस्तो असर पर्ला ? प्राध्यापक स्याक्सको पुस्तक राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति हुनुभन्दा अगाडि नै छापिएको हुँदा तत्सम्बन्धमा कुनै दृष्टिकोण हुने कुरा भएन । तर, वर्तमान अमेरिकी प्रशासनका नीतिबारे स्याक्सका आलोचनात्मक लेखहरू प्रकाशित छन् ।
(तिमल्सिना अर्थशास्त्रको अध्ययन–अनुसन्धानमा रुचि राख्छन् ।)

