Monday, February 27, 2017

२०७३ फागुन अंक_महिला हिंसामा बोक्सीवादी परम्परा_समीक्षक : अनुष्ठा श्रेष्ठ

महिला हिंसामा बोक्सीवादी परम्परा

पुस्तक : द वीच अफ ब्लाकबर्ड पन्ड                                                      लेखक : एलिजावेथ जर्ज स्पेर
प्रकाशक : हटन मिफ्लिन, पहिलो संस्करण १९५८                                 पृष्ठ: २४९
समीक्षक : अनुष्ठा श्रेष्ठ
सञ्चारमाध्यममा समय–समयमा आउने बोक्सीको आरोप र क्रूर सजायलगायत महिलामाथि हुने अमानवीय घटनाका समाचारले स्तब्ध र आतङ्कित तुल्याउँछ । अहिलेको चेतना र प्रविधिको युगमा पनि यस्तो अन्धविश्वासी र परम्परा अपनाउने समूह छ भन्ने विश्वास गर्न कठिन पर्छ । तर विगतमा भने बोक्सी प्रथा नेपालमा मात्र नभई अमेरिका र यूरोपेली मुलुकहरूमा पनि थियो । अमेरिका–यूरोपेली समुदायले बोक्सी प्रथालाई धेरै अगाडि छाडे । तर नेपाललगायत एशिया र अफ्रिकाका पिछडिएका समुदायहरूमा बोक्सी परम्पराको विश्वास अझै हटेको छैन ।

अमेरिकी नागरिक एलिजावेथ जर्ज स्पेरद्वारा लेखिएको द वीच अफ ब्लाकबर्ड पन्ड एउटा उपन्यास हो । यो उपन्यासले १७औं शताब्दीको अमेरिकी समाजको सन्दर्भमा महिलालाई आरोपित, हेला र सजाय गर्ने यथार्थलाई मन छुने ढङ्गले समेतको छ । सन् १९७२ मा प्रकाशित यो पुस्तकले न्युबेरी पुरस्कार पाएको थियो । पुस्तककी मुख्य पात्र किट टाइलर पढ्न–लेख्न जानेकी १६ वर्षीया युवती हुन् । उनको बाल्यकाल आफ्नो धनाढ्य हजुरबुबासँग बारबडोजमा सुख–सयलमा बित्छ । तर हजुरबुबाको मृत्युपछि किटले धेरै समस्याको सामना गर्नुपर्छ । ऋणबाट मुक्त हुन आफ्नो अथाह जग्गाजमीन र आफूले राखेका अफ्रिकी दासहरू सबै नै बेच्न बाध्य हुन्छिन् उनी ।

कनेक्टिकटको जीवन
बारबडोजमा आफन्त कोही पनि बाँकी नभएपछि किट अमेरिकाको कनेक्टिकटमा रहेका आफन्तकहाँ बस्न पुग्छिन् । तर कनेक्टिकटको जीवन उनले सोचेजस्तो हुँदैन । स्वतन्त्र रूपमा हुर्केकी किटलाई कनेक्टिकटको रुढीवादी संस्कार र किसानी जीवनयापन कष्टकर लाग्छ । शङ्का र आगन्तुकका व्यवहारकै कारण त्यहाँ उनले आफ्नोपन महसूस गर्न पाइनन् । एकल वृद्धा हेना टपरले मात्र उनलाई आफ्नोपनको आभास दिलाइन् । हेना क्रिश्चियन धर्मकी अनुयायी नभएकाले पहिलेदेखि नै बोक्सीको आरोप खेपिरहेकी हुन्छिन् र समाजबाट टाढै बस्छिन् । कनेक्टिकटमा रहस्यमय महामारीको प्रकोप चल्दा त्यहाँका अन्धविश्वासीहरूले हेना र किट दुवैलाई ‘कालो जादू’ गरेको आरोप लगाए । किट हेनालाई बचाउन सफल भए पनि आफूचाहिं गिरफ्तारीमा परिन् । 

उपन्यासले किटको बोक्सीवादी परम्परासँगको संघर्ष र लडाइँलाई निकै भावुक रूपमा देखाएको छ । सरल भाषामा लेखिएको यो पुस्तकमा हरेक पात्रलाई वास्तविक चरित्र चित्रण गर्न लगाइएको छ । बीचबीचमा शेक्सपियरको नाटकका जस्ता वार्तालापले गर्दा उपन्यास पढ्दा आनन्दको अनुभूति हुन्छ । पुस्तकमा १७औं शताब्दीको अमेरिकी जीवन र सामाजिक आचरणलाई रोचक र जीवन्त  ढङ्गले प्रस्तुत गरिएको छ । पुस्तक अध्ययन गर्दै जाँदा आफूले पनि त्यही कालखण्डको ऐतिहासिक जीवनयापन गरेको अनुभूति हुन्छ । औद्योगिक क्रान्तिपूर्वको त्यो साधारण अमेरिकी समाज आज धेरै अगाडि बढिसकेको छ । 

तत्कालीन अमेरिकी समाजमा चर्च मण्डलीमा सहभागी हुनु र घरमा बाइबल पाठ गर्नु अनिवार्य रीतिरिवाज अन्तर्गत पर्दथे । यदि कसैले यस्तो रीतिरिवाज नअपनाए, ऊ समाजबाट बहिष्कार हुन्थ्यो । बोक्सीको आरोप, दासप्रथा र अनमेल विवाह जस्ता समस्या त्यसबेला आमरूपमा प्रचलित थिए । किट आफैंले पनि दासदासीहरूलाई सामान्य रूपमा लिइन् र आफ्नो ऋण चुक्ता गर्न तिनलाई बिक्री गर्न पछि परिनन् । यो अभ्यास गोरा जातिहरूले अफ्रिकी मूलका समुदायमाथि गरेको दमनको उदाहरण हो । त्यस समाजमा सामान्य महिलाको तह पुरुषभन्दा निकै तल थियो । महिलाहरू केवल घरायसी काममा सीमित गरिएका थिए भने तिनको कुनै राजनीतिक योगदान रहँदैनथ्यो । घरमा राजनीतिको कुरा गर्दा खाली पुरुषको सहभागिता हुन्थ्यो भने महिला चूप लागेर बस्न बाध्य हुन्थे ।

बोक्सीको आरोपीमा गरीब, एकल, वृद्धा र कहिलेकाहीं पढे–लेखेका स्वतन्त्र विचारधारा भएका महिला पनि पर्ने गर्थे । हेना टपर एक विधवा, फरक धार्मिक र सामाजिक विचारधारा राख्ने वृद्धा भएकाले समाजको तगारो बनिन् । उनको पक्षमा बोल्ने र साथ दिने कोही पनि थिएनन् । त्यसैगरी किट पनि पढे–लेखेकी र भिन्न विचारधाराकी नारी भएकीले उनको व्यवहार त्यसबेलाको अन्धविश्वासी समाजलाई पाच्य भएन । किटले पौडी खेलेको देखेकै आधारमा कनेक्टिकटका बासिन्दाले बोक्सी हो कि भन्ने शङ्का गरेका थिए । त्यो समयमा एउटी कुलिन महिला पानीमा धेरैबेर बस्न सक्दिन भन्ने मान्यता थियो ।

पश्चिमको उक्त सामाजिक ऐतिहासिक कालखण्डमा हजारौं महिला बोक्सी आरोपीको रूपमा बलि चढ्न बाध्य भएका थिए । केहीलाई जिउँदै जलाइयो, केहीलाई झ्ुन्ड्याइयो भने केहीलाई पिटीपिटी मारियो । यो सबै व्यवहार मानवीय शङ्का–उपशङ्का, महिलालाई हेर्ने हेय दृष्टि र कट्टरपन्थी विचारधाराका उपज थिए । त्यतिबेलाको कानून र नीति–नियमले पनि पीडित महिलालाई साथ दिंदैनथे । पीडित महिलालाई धम्की र त्रास देखाएर बोक्सी कला अभ्यास गरेको भन्न बाध्य तुल्याउँथे । त्यस्ता महिला सजाय मुक्त भए पनि समाजबाट भने निन्दित भइरहन्थे ।

दुःखको कुरा आधुनिक र विकासशील अहिलेको युगमा पनि महिलाले बोक्सीको आरोप खेपिरहनुपरेको छ । नेपालमा हरेक वर्ष बोक्सीको आरोपमा कुटपिट गरिएकोे, दिसा–पिसाब खुवाइएको, चरम यातना दिइएको र हत्याका समाचार समेत आउने गरेका छन् । र यस्ता घटनामा पर्नेहरू प्रायः एकल र दुर्बल महिलाहरू हुने गरेका छन् । 

पुरुषसँग सहकार्य
हरेक नारीको जीवनमा पुरुषले कुनै न कुनै प्रभाव पारेको हुन्छ । किटको जीवनमा पनि चारजना पुरुषको गहिरो प्रभाव देखिन्छ । किटलाई प्रभाव पार्ने पहिलो पुरुष हुन्, उनका हजुरबुबा जसले किटलाई कुनै भेदभाव नगरी स्वतन्त्रता र शिक्षा दिए । दोस्रो हुन्, उनका काका । कनेक्टिकट निवासी यी पुरुषले किटलाई अन्त्यमा साथ दिए, यद्यपि प्रारम्भमा कडा अनुशासनमा राखी आफ्नो विचार प्रकट गर्न बन्देज लगाएका थिए । विलियम नाम गरेका नवजवान किटको जीवनका तेस्रो पुरुष हुन् । शुरूमा विलियमले किटलाई मन पराएर बिहे गर्ने सोच गरे पनि अन्त्यमा बोक्सीको आरोप लागेपछि साथ छाडे । त्यसैगरी जहाजका कप्तानको छोरा न्याथनियल चौथो पुरुष हुन् जो किटको असल साथी बने । किट र हेना दुवैलाई बोक्सी आरोप लाग्दा बचाउ गर्न यिनले चाहिं धेरै मद्दत गरे ।

उपन्यासमा एउटा नारीको जीवनमा असल पुरुषको साथले पार्ने सकारात्मक प्रभाव देखाइएको छ । किटका हजुरबुबा र न्याथनियल उनको जीवनको सकारात्मक पुरुष पात्र हुन् जसले किटको व्यक्तित्व विकास र संघर्षसँग लड्न सघाए । काकालाई नकारात्मक रूपमा लिन मिल्दैन तर उनले किटसँग कुरा गरेको तरिका हेर्दा कतै न कतै किटलाई नै आफ्नो अधिनमा राख्न खोजेको आभास हुन्छ । विलियमलाई स्वार्थी पुरुषको रूपमा लिनुपर्छ किनकि उनले किटलाई आफ्नो भावी पत्नी भए पनि बोक्सी जस्तो जघन्य आरोप लाग्दा भने साथ दिएनन् ।

पितृसत्तात्मक नेपाली समाजमा अझ्ै पनि धेरै महिला घरभित्र मात्र सीमित छैनन्, सही अवसर पाउनबाट समेत वञ्चित छन् । नेपाल सरकारले महिला उपस्थितिलाई प्रोत्साहन गर्न संसद्मा ३३ प्रतिशत स्थान छुट्याएको छ भने विभिन्न विशिष्ट पदहरूमा आरक्षण सिट उपलब्ध गराएर महिला प्रतिनिधित्व सुरक्षित गरेको छ । त्यस्तै संघ–संस्था आदिमा महिला सहभागिता अनिवार्य गरिएको छ । तर घरेलु कामकाजले फुर्सद नपाएर होला महिलाले अवसरको सदुपयोग गर्न सकेका छैनन् । 

यो पुस्तकले बोक्सी प्रथाको खुलेर विरोध गर्छ, यो बोक्सीका आरोपी महिलालाई न्याय दिने पक्षमा उभिएको छ । हुन पनि, बोक्सीका आरोपी महिलाले न्याय पाउनुपर्छ, कानून सुदृढ हुनुपर्छ र बोक्सी प्रथाविरुद्ध जनचेतना जगाउनुपर्छ भन्ने आवाज आफैंमा स्वाभाविक र जायज छ । सबै मिलेर नेपालमा पनि तत्काल यस्तो समाजको निर्माण गर्नुपर्छ जहाँ हरेक महिला इज्जतसाथ सुरक्षित जीवन बिताउन सक्षम होऊन् । 
श्रेष्ठ प्राकृतिक विज्ञान विषयकी अध्येता हुन् ।



२०७३ फागुन अंक_भारतमा टेलिफोन क्रान्तिको कथा_समीक्षक : प्रशंसा थापा

भारतमाटेलिफोन क्रान्तिको कथा

पुस्तक : ड्रिमिङ विगः माइ जर्नी टु कनेक्ट इन्डिया                   लेखक : साम पित्रोदा र डिभिड च्यानफ
प्रकाशक : पेन्गुइन बुक्स इन्डिया, २०१५                                 पृष्ठ: ३३१
मूल्य : भा.रु. ६९९÷–

समीक्षक : प्रशंसा थापा


सन् १९८० को दशकसम्म भारतको टेलिफोन सेवा निकै खराब थियो भन्ने यथार्थ हिजोआज विश्वास नलाग्न सक्छ । तर त्यो कतिसम्म खराब थियो भने टेलिफोनमा सम्पर्क हुन नसकेका नाटकीय दृश्यहरू बलिउड चलचित्रका नियमित अंग हुने गर्थे । 

भारतको त्यही टेलिफोन प्रणालीको स्तर सुधार्न सत्यनारायण गङ्गाराम पित्रोदा भन्ने व्यक्तिले महŒवपूर्ण भूमिका खेलेका थिए । ड्रिमिङ विगः माइ जर्नी टु कनेक्ट इन्डिया तिनै पित्रोदाको आत्मकथा हो । यो कथा उनले डिभिड च्यानफसँगको सहलेखनमा प्रकाशित गरेका हुन् । सत्यनारायण एक सामान्य व्यापारीका छोरा थिए । उनको जन्म भारतको उडिसा राज्यको तितिलागडमा भएको थियो । आठ वर्ष पुगेपछि पित्रोदालाई उनका आमाबाबुले गुजरातको एउटा स्कूलमा पढ्न पठाए । गुजरातमै उनले भौतिकशास्त्रमा एमएस्सी डिग्री हासिल गरे ।

सन् १९६० को कालखण्डमा स्वतन्त्रता र नयाँ अवसरको मुलुक अमेरिका पढ्न जानु भारतीय विद्यार्थीको सपना हुने गथ्र्याे । सत्यनारायण पनि अमेरिका जाने धुनमा लागे । अन्ततः उनी इलिनोय इन्ष्टिच्युट अफ टेक्नोलोजीको छनोटमा परे र भौतिकशास्त्रमा विद्यावारिधिका लागि भर्ना भए । यो जनवरी १९६५ को कुरा हो । 

सन् १९६६ मा सत्यनारायणले इलिनोय इन्ष्टिच्युटबाट इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा अर्को स्नातकोत्तर डिग्री हासिल गरे । उनका साथीहरू लकहिड मार्टिन, जनरल डाइनामिक्सजस्ता सेना र रक्षासित जोडिएका अमेरिकी कम्पनीमा जागिरे हुन थालेका थिए । तर गान्धीको अहिंसावादी सिद्धान्तबाट प्रभावित सत्यनारायणले त्यो बाटो रोजेनन् । कलेज छेउछाउ बस्ने, काम गर्ने र विद्यावारिधिका लागि तयारी गर्ने उनको उद्देश्य थियो । टेलिभिजनको ट्युनर बनाउने कम्पनीमा उनी काम गर्न थाले । त्यहाँ कार्यरत सेक्रेटरीले उनको नाम सत्यनारायणबाट ‘साम’ बनाइदिएकी थिइन्, बोलाउन सजिलो होस् भन्दै । सन् १९६६ मा उनले गुजरातमा पढ्दा मन पराएको केटीसित विवाह गरे । केही समयपछि साविकको जागिर छाडेर पित्रोदा शिकागोस्थित जनरल टेलिफोन र इलेक्ट्रोनिक्स (जीटीई) कम्पनीमा काम गर्न थाले । हिजोआज यो कम्पनी टेलिफोन विधामा काम गर्ने भेराइजोन भनी चिनिन्छ ।

टेलिफोन प्रविधि रूपान्तरण
पित्रोदाको टेलिफोन प्रविधिलाई आधुनिक बनाउने यात्रा शिकागोमा शुरू हुन्छ । उनको कम्पनीमा कार्यरत एउटा सानो समूह टेलिफोन संवादलाई स्वचालित डिजिटल प्रणालीको प्रयोगद्वारा आदानप्रदान गर्ने प्रविधिको विकास गर्दै थियो । परम्परागत टेलिफोन प्रणालीमा एउटाले बोलेको आवाज ध्वनिको तरङ्गको रूपमा तारको माध्यमद्वारा अर्काकोमा पुग्थ्यो । तर पित्रोदाको समूह र अन्य वैज्ञानिकहरू ध्वनिका तरङ्गलाई डिजिट अर्थात् एक र शून्यमा परिवर्तन गरेर सम्प्रेषण गर्ने प्रविधि विकास गर्दै थिए । यसरी एक र शून्यमा सम्प्रेषित तरङ्ग फेरि ध्वनिमा परिवर्तन गरी सुनाइने प्रविधि क्रान्तिकारी फड्को थियो । डिजिटल रूपान्तरण मात्रै होइन टेलिफोनलाई एक अर्कासँग जोड्ने कार्य त्यत्तिकै महŒवपूर्ण भएको हुँदा पित्रोदाको समूह यो विधिको विकासमा पनि लागेको थियो ।

पित्रोदा भन्छन्, “अर्काको लागि गरेको कामले मलाई सन्तुष्टि दिएन । उमेर ४० वर्ष पुग्नुअघि नै म करोडपति बन्न चाहन्थें । त्यसनिम्ति आफैं केही गर्नुपर्छ भन्ने उद्देश्य लिएर अगाडि बढें ।” उनले जीटीईको जागिर छाडे र डिजिटल स्विचिङमा कार्यरत अर्को कम्पनीमा काम शुरू गरे, १० प्रतिशत साझ्ेदारीमा । उनी भन्छन्, “जीटीर्ईमा मैले भौतिकशास्त्र र इलेक्ट्रोनिक्स विषयमा सिकेको ज्ञान व्यवहारमा उतार्ने मौका पाएँ । अनुशासन, सहकार्य र सिर्जनशीलता के हो भन्ने पनि सिकें । यो अनुभवले मलाई आफ्नो भविष्य अगाडि लैजान एउटा खास क्षेत्रमा दक्षता दियो । म आफ्नो काममा रमाउन थालें ।”

उनले काम गरेको ‘बेसकम इन्क’ सानो तर थुप्रै सम्भावना भएको कम्पनी थियो । त्यो कम्पनीले आफ्ना उत्पादन धेरै मुलुकमा बेच्थ्यो । सन् १९७९ मा बेसकमका मुख्य हकवालाले आफ्नो कम्पनी बिक्री गर्ने निर्णय गरे । धेरै क्रेतासितको लेनदेन र मोलमोलाइपछि रकवेल भन्ने कम्पनीले पाँच करोड डलरमा सो कम्पनी किन्यो । सामले आफ्नो भागको २० लाख डलरको चेक पाए । साथै, उनी वर्षको पाँच लाख डलर वेतन पाउने शर्तमा तीन वर्षको लागि त्यस कम्पनीमा जागिरे पनि भए । उनी भन्छन्, ‘४० वर्ष पुग्नुअगावै म करोडपति बनें ।’

स्वरोजगार र आफ्नो बाटो
एउटा उद्देश्य हासिल गरे पनि पित्रोदा सन्तुष्ट थिएनन् । उनलाई आफ्नो मुलुकले बेला बेलामा तानिरहन्थ्यो । भारतलाई समृद्धिको बाटोमा लैजान आफूले टेलिफोन क्षेत्रमा योगदान गर्न सक्छु भन्ने उनलाई लागिरहन्थ्यो । यसै क्रममा; बम्बईको प्रतिष्ठित ताज होटलमा बस्दाको उनको एउटा अनुभव रमाइलो छ । त्यो होेटलबाट शिकागोमा धर्मपत्नीसित टेलिफोनमा सम्पर्क गर्ने उनका धेरैवटा प्रयास सफल हुँदैनन् । उनी दिक्क हुन्छन् । त्यत्तिकैमा होटलको झयालबाट उनी बाहिर एउटा शवयात्रा देख्छन्, जुन मनुष्यको नभएर ‘मरेको टेलिफोन’ को थियो । एकथरीले शवयात्रा गरी खराब टेलिफोनको विरोध जनाएका थिए । त्यसैबेला उनले भारतको टेलिफोन प्रणालीमा सुधार ल्याउने निर्णय गरे । उनको निर्णयमा केही अज्ञानता थियो भने केही घमण्ड पनि ।

त्यसबेला इन्दिरा गान्धी भारतको प्रधानमन्त्री थिइन् । इन्दिरा गान्धीको निर्णयविना सुधारको कार्यक्रम अगाडि नबढ्ने भएकाले सामले उनलाई भेट्नुपर्ने भयो । तर कसरी ? आफ्ना एक मित्रको सहयोगमा उनी गान्धीसमक्ष टेलिफोन सुधार गर्ने अवधारणा प्रस्तुत गर्न सफल हुन्छन् । उनको प्रस्तावबाट प्रधानमन्त्री गान्धी प्रभावित भइन् र भनिन्, ‘ठीक छ, अगाडि बढ्नु ।’ त्यसका लागि सन् १९८४ मा सेन्टर फर डेभलपमेन्ट अफ टेलिमेट्री (सी–डट) को परिकल्पना गरिन्छ । सी–डट स्थापना गर्नुअघि टेलिकम क्षेत्रमा विकास भइरहेका प्रविधिबारे जानकारी दिलाउने उद्देश्यले सामले नयाँदिल्लीका निर्णयकर्तालाई जीटीई, रकवेल र वेल ल्यावजस्ता कम्पनीको भ्रमणमा लगे । त्यहाँका वैज्ञानिक र इन्जिनियरहरू सित भेटवार्ता र विचार आदानप्रदान भयो । वेसकममा आफैंले डिजाइन गरेका स्विच उनले भ्रमण दलका सदस्यलाई देखाए । सबैलाई विश्वास भयो, साम हावादारी प्रस्ताव गर्ने व्यक्ति होइनन्; तिनको प्रस्ताव दह्रो छ । सरकारले सी–डट योजनाका लागि ३ करोड ६० लाख डलर छुट्यायो र तीन वर्षको अवधि तोकिदियो । यसै क्रममा राजीव गान्धीसित उनको परिचय भयो र उनीहरू मित्र बने ।

सी–डटको योगदान
सामको प्रस्ताव थियो— टेलिकम विकासको बाटो स्थानीय हुनुपर्छ र त्यो विकसित भारतको प्रतिबिम्ब बन्न सक्नुपर्छ । त्यसै भएर सी–डटले ससाना स्विच निर्माण गर्ने, ग्रामीण भेगको आवश्यकता ध्यानमा राख्ने, सरसामान बाहिरबाट किन्नेभन्दा मुलुकभित्रै निर्माण गर्ने अर्थात् स्थानीयकरण गर्ने रणनीति लिएको थियो । यसरी ससाना प्रणालीको निर्माण सफल भएपछि शहरी क्षेत्रका लागि आवश्यक ठूला स्विच निर्माण गर्ने निर्णय गरियो । साथै, यो प्रयासमा आवश्यक हार्ड–सफ्टवेयर विशेषज्ञ एवं सरसामान निर्माणका स्थानीय आधार बनाउन जोड दिइयो । सी–डटले विस्तारै भारतको टेलिकम क्षेत्रको कायापलट गरिदियो । हरेक गाउँ शहरमा पहेंला रङ पोतिएका पीसीओेबक्स र त्यसभित्रबाट एसटीडी गर्ने व्यवस्था शुरू भयो । 

सी–डट अगाडि लैजाने प्रयासमा नयाँ पुस्ताका इन्जिनियर एवं वैज्ञानिकहरू जुटाएको, तिनलाई एकै ठाउँमा राखी काम गराएको प्रसङ्ग मानव व्यवस्थापनमा रुचि राख्ने सबैका लागि उपयोगी सामग्री हो । विगत केही वर्षयता मोबाइल फोनको आगमनपछि यो प्रविधि क्रमशः हराउन थालेको छ । हुन पनि, जुन कुनै प्र्रविधि निरन्तर विकास भइरहन्छ, नयाँले पुरानो विस्थापित गरिरहन्छ । 

सी–डट स्थापनाको क्रममा भारतका एक मन्त्रीले सामलाई सोधेका थिए, ‘तिम्रो तलब कति हो र तिमीलाई के फाइदा चाहिन्छ ?’ सामले जवाफ दिएका थिए— ‘तलब वर्षको एक रुपैयाँ’, अरू कुनै फाइदा चाहिंदैन ।’ साम भन्छन्— “अमेरिकामा फ्रान्कलिन रुजभेल्ट राष्ट्रपति भएपछि उनलाई सहयोग गर्न एक डलर तलब लिने उद्योगपतिहरू थिए भन्ने सम्झ्एिर मैले त्यस्तो जवाफ दिएको थिएँ ।”

सन् १९८४ मा इन्दिरा गान्धीको हत्यापछि राजीव गान्धी भारतका प्रधानमन्त्री बने । पित्रोदा प्रधानमन्त्री राजीव गान्धीको प्राविधिक सल्लाहकार बने । सन् १९९० को लोकसभा चुनावमा पित्रोदाले प्रचारप्रसारको भूमिका निर्वाह गरेका थिए । तर राजीव गान्धीले नेतृत्व गरेको कंग्रेस पार्टी चुनावमा हा¥यो र विश्वनाथप्रताप सिंहको अगुवाइमा नयाँ सरकार बन्यो । नयाँ सरकारका सञ्चारमन्त्री र साम पित्रोदाको सहकार्य निरन्तर हुन सकेन । पित्रोदाले भ्रष्टाचारको आरोप पनि भोगे, तर त्यो पुष्टि भएन । नागरिकताबारे प्रश्न उठेपछि उनले आफ्नो अमेरिकी नागरिकता त्यागेका थिए । १९९१ मा तामिलनाडूमा भएको विस्फोटनमा प्रधानमन्त्री राजीव गान्धीको मृत्युसँगै पित्रोदाको सरकारसित जोडिने पुल टुट्यो ।

नयाँ जीवन
भारतको टेलिफोन प्रणाली सुधार्ने प्रयासमा पित्रोदाले न आफ्नो स्वास्थ्यको ख्याल गरे न आफ्नो आर्थिक स्थिति न त परिवारको रेखदेख नै । उनलाई हृदयघात भयो, तर तङ्ग्रिए । उनीसित कुनै जायजेथा बाँकी रहेन । अमेरिका फर्केपछि जिन्दगी कसरी चलाउने भन्ने प्रश्नबारे उनी रनभुल्लमा परेका थिए । त्यत्तिकैमा आफूले पेटेन्ट लिएको एउटा इलेक्ट्रोनिक डायरीको विज्ञापन उनले देखे । तोशिवा, शार्प, क्यासियो, ह्युलिटपकार्ड र टेक्सास इन्स्टुुमेन्टजस्ता कम्पनीले त्यो प्रयोग गरेका रहेछन् । सोवापत सामले कुनै रोयल्टी पाएका थिएनन् । आफूले चिनेको एकजना वकीलसित उनले ती कम्पनीलाई मुद्दा हाल्ने र रोयल्टी पाइयो भने आधाआधा बाँड्ने सल्लाह गरे । त्यस आविष्कारको वैधानिक सिर्जनकर्ता पित्रोदा हुन् भन्ने पुष्टि भएपछि ती कम्पनी उनलाई रोयल्टीवापत केही लाख डलर दिन राजी भए । अब पित्रोदालाई आफ्नो जीवन फेरि शुरू गर्ने मौका मिल्यो । 

एउटा सामान्य परिवारमा जन्मेको केटोले मिहिनेतद्वारा भारतमा टेलिफोन प्रणालीको सफल रूपान्तरण गराउन महŒवपूर्ण भूमिका खेल्यो । भारत आधुनिक राष्ट्र बन्ने क्रममा के–कस्ता घटना भए बुझन सहयोगी छ, पुस्तक । ७० वर्ष पुगिसकेका पित्रोदा भन्छन्, “म अझै पनि थप पेटेन्ट दर्ता, प्रविधिको डिजाइन  र रूपान्तरणको अवसर खोजिरहनेछु ।” 
      प्रशंसा वातावरण विज्ञानकी विद्यार्थी हुन् ।

२०७३ फागुन अंक_अनुशासन र प्रेमको बाटो_समीक्षक : कञ्चनमणि दीक्षित

अनुशासन र प्रेमको बाटो

पुस्तक : द रोड लेस ट्राभल्ड: ए न्यू फिजिकोलोजी अफ लभ, ट्रेडिशनल भ्यालुज एन्ड स्पिरिच्युअल ग्रोथ
लेखक: मोर्गान स्टक पेक                                   प्रकाशक : एरो बुक्स, लन्डन, २००६
पृष्ठ : ३०४                                                      मूल्य : ७.९९ स्टर्लिङ पाउण्ड
समीक्षक : कञ्चनमणि दीक्षित

आज धेरै मानिससँग विभिन्न थरीका आधुनिक सुविधा उपलब्ध छन्, तर धैर्य छैन । मान्छे–मान्छेबीच विश्वास र सहिष्णुताको खाडल बढेको छ । जीवनयापन गर्दा आइपर्ने समस्यालाई सामान्य हिसाबले नलिंदा र बुझन–जान्न नखोज्दा मानिसमा निराशा बढेको छ, उनीहरू तनावमा छन् । आर्थिक असमानता बढेको छ, मानिस असहिष्णु बन्दै गएको छ र अशान्ति व्याप्त हुँदैछ । आफैंप्रतिको अविश्वास र जिन्दगीको उद्देश्य सम्बन्धी अन्योलका कारण आत्महत्या गर्नेहरूको संख्या पनि बढ्दै गएको छ । मानिस परिस्थितिको भुमरीमा हराउँदो छ ।

कठिन बन्दै गएको जीवनलाई सहज र सरलसँग बुझाइदिने विधिको खाँचो छ, आज सबैलाई । निराशा र तनावमा बाँचेका मानिसले सत्मार्ग पहिचान गर्ने विधि के हो ? तिनलाई तनाव नलिइकन जीवनयापन गर्न कसरी प्रेरित गर्ने ? द रोड लेस ट्राभल्डः ए न्यु फिजिकोलोजी अफ लभ, ट्रेडिशनल भ्यालुज एन्ड स्पिरिच्युअल ग्रोथ नामक पुस्तकमा यी र यस्तै प्रश्नको जवाफ खोजिएको छ । डा. मोर्गान स्टक पेकद्वारा लिखित यो पुस्तकले निराशा, तनाव र आत्मग्लानि बोकेर जीवन बिताइरहेकालाई नयाँ बाटो देखाउने प्रयास गर्छ ।

डा. मोर्गान स्टक पेक पेशाले मनोरोग विशेषज्ञ हुन् । उनले पुस्तकमा मनोवैज्ञानिक ज्ञान र विश्लेषणको आधारमा मानवजीवनका कठिनाइहरूलाई सजिलोसित बुझने र निकासका बाटा दिने प्रयास गरेका छन् । मान्छे दुःखी हुनुका कारण पहिल्याउँदै मोर्गान लेख्छन्– ‘मानिसभित्र अनुशासन, प्रेम र सत्यप्रतिको विश्वास कम हुँदैछ ।’ उनको तर्क छ, सुखी रहन हाम्रो व्यवहारमा प्रेम, सत्य र अनुशासन समायोजन हुनु आवश्यक हुन्छ । पुस्तकको अन्त्यतिर जीवनसित जोडिएका आध्यात्मिक पक्ष, चमत्कार, ईश्वर र धर्मका प्रसङ्ग पनि समावेश गरिएका छन् । 

बलवान समय
मोर्गान भन्छन्– ‘जीवन सरल छैन, कठिन छ, दुःख र कष्टले भरिपूर्ण छ ।’ यो सत्यलाई आत्मसात् गरेर अगाडि बढ्ने हो भने कुनै पनि काम अप्ठेरो हुँदैन । यो वास्तविकता बुझेपछि जीवनमा भोग्दै गरिएका अप्ठेराहरू सहजै स्वीकार गर्न सहयोग पुग्छ । परिणामतः यस्ता अप्ठेराहरू समस्याको रूपमा मात्र नरहेर उपयोगी अनुभव पनि बन्न सक्छन् । जीवन रूपी सिक्काका सुख र दुःख दुई पाटा हुन् जुन समयसँगै माथि–तल भइरहन्छन् । कुनै बेला समस्या शृंखलाबद्ध रूपमा आउँछन्, टरेर पनि जान्छन् । तर समस्याको सामना गर्ने कि आत्मविश्वास गुमाउने ? निराश हुने कि सामना गर्ने ? यहींनेर गर्नुपर्छ रोजाइ । 

समय निरन्तर चलिरहन्छ, रोकिंदैन । समय र परिस्थिति सुहाउँदो वातावरण बनाउने हो भने मान्छेले कुनै पनि कठिन काम सहजै सम्पन्न गर्न सक्छ । तर समस्या त्यत्तिकै समाधान हुँदैन, न त समाधान गर्ने फुमन्तर जादूको छडी हुन्छ । मोर्गानको तर्क छ— ‘समस्या सुल्झाउनका लागि आफू अग्रसर हुनैपर्छ, अन्यथा समस्या प्रगतिको बाधक बन्न सक्छ । समाधानका लागि हामीले आफ्नो जिम्मेवारी बोधसँगै क्षमता बढाउने प्रयास गर्नुपर्छ । समस्या मेरो हो, म यसलाई सहजै समाधान गर्छु भन्ने आत्मविश्वास दृढ हुनुपर्छ । यसले नै सफलतातिर डो¥याउँछ ।’

मोर्गान भन्छन्, हामीले बुझ्ेको वा बुझने गरेको वास्तविकता एउटा नक्शाजस्तै हुन्छ । यदि नक्शा सही छ भने हामीले लिएको बाटो ठीक हुन्छ । नक्शा नै गलत भयो भने त्यसले हामीलाई गन्तव्यमा पु¥याउँदैन । हामीले जन्मिंदै जीवनको नक्शा लिएर आएका हुँदैनौं । घर–समाजको संगत, शिक्षा र व्यावहारिक जीवनयापनका अनुभव आदि यस्तो नक्शा कोर्न सहयोगी बन्छन् । नक्शा तयार गर्न समय लाग्छ र मिहिनेत पनि चाहिन्छ । त्यस क्रममा थुप्रै चुनौती पनि आउँछन्, तिनलाई डटेर सामना गर्दै गल्ती सुधार्दै जानु नै हाम्रो कर्तव्य हुन्छ भन्ने सन्देश पुस्तकले दिएको छ ।  

अनुशासित पद्धति
हामी किन दुःखी छौं ? जीवन हामीलाई किन कठिन लाग्छ ? यस्ता प्रश्नको उत्तर दिंदै मोर्गान भन्छन्— ‘दुःख हटाउन खर्चिनु परेको श्रम र समयका कारण हामीलाई जीवनयापन कठिन लाग्छ । वास्तवमा समस्या मानिसको जीवनको सफलता र असफलताबीचको बिन्दु हो । आफ्ना समस्या आफैं समाधान गरेको अनुभवले हामीलाई परिपक्व बनाउँछ, हाम्रो मानसिक र आध्यात्मिक चिन्तन र जीवनप्रतिको विश्वास विगतको भन्दा दह्रो हुँदै जान्छ । समस्याको समाधानले मानिसलाई प्रगतितर्फ लैजान प्रेरित गर्नुपर्छ तर त्यस्तो बाटो लिने वा नलिने भन्ने प्रसङ्ग प्रत्येक व्यक्तिको इच्छाशक्तिमा भर पर्छ ।’ लेखक अगाडि भन्छन्, “अनुशासन समस्या समाधानको मुख्य साधन हो । अनुशासनविना कुनै पनि समस्याको समाधान सम्भव हुँदैन । आंशिक अनुशासनले जीवनका केही समस्याहरूको समाधानको बाटो खोल्छ भने पूर्ण अनुशासनले जीवनका हरेक समस्याको समाधान सहज बनाउँछ ।”  

विवेकशील व्यक्तिहरू आफ्ना समस्या हाँसी–खुशी समाधान गर्न तत्पर हुन्छन् । परिश्रम गर्नुपर्ने वास्तविकताबाट आत्तिंदैनन् । तर धेरैजसो व्यक्तिहरू समस्यालाई सहज रूपमा स्वीकार गर्दैनन्, टार्न खोज्छन् । समस्याले ल्याएको दुःख बिर्सन खोज्छन् । तर यसरी समस्या झ्न् बल्झदै जान्छ । कुनै पनि समस्यालाई टार्न सकेमा वा पछि धकेलेमा त्यो समयसँगै हराएर जानेछ भन्ने भ्रममा हामी रहन्छौं । समस्या र तनाव बिर्सनका लागि व्यक्तिहरू विभिन्न किसिमका औषधि खाने पनि गर्छन् । त्यस्तामध्ये कतिपय दुव्र्यसनकै शिकार हुन पुग्छन् । 

मोर्गान थप विश्लेषण गर्छन्— सकारात्मक विचार राख्न सके हामी कुनै पनि समस्यासित जुध्न सक्छौं र आइपर्ने दुःख आत्मसात् गर्न पनि । समस्या झेल्ने चार किसिमका उपाय छन्ः पहिलो, नमीठो अनुभव गरेर पछि मीठो अनुभव गर्ने । दोस्रो, आफ्नो जिम्मेवारी वहन गर्ने । तेस्रो, सत्यलाई अँगाल्ने र चौथो, जीवनलाई सन्तुलित राख्ने । यी विधि पालना गर्न कुनै किसिमको तालीम लिनुपर्दैन । यी यति सजिला छन् कि सामान्य व्यक्तिले पनि आफ्नो व्यवहारमा समायोजन गर्न सक्छ । यी उपाय अवलम्बन गर्दा दुःख, समस्या र तनावसँग जुध्न आवश्यक आत्मविश्वास बढ्छ र जीवनका सकारात्मक पक्षलाई आत्मसात् गर्न मद्दत पुग्छ । 

लेखकले आफ्नो तर्क पुष्टि गर्न थुप्रै बालबालिकाको मनोवैज्ञानिक पक्षलाई केलाउँदै तिनको व्यवहार बुझने प्रयास गरेका छन् । पुस्तकले बालबालिकालाई नजीकबाट बुझन प्रेरित गरेको छ । हामी बालबालिकालाई समस्याको डटेर सामना गर्दै अगाडि बढ्न हौस्याउँछौं । उनीहरूलाई अनुशासित बनाउन खोज्छौं । यसरी हामी उनीहरूलाई समस्या भोग्न र सँगसँगै समस्याबाट उम्कन सिकाउँछौं । अनुशासित भएपछि उनीहरू परिपक्व एवं समस्या समाधान गर्न सक्षम हुन्छन् भन्ने हामी अनुमान गर्छौं । बालबालिकाले आफ्ना अभिभावकलाई ईश्वर सरह मान्छन् र तिनले डो¥याएको बाटोमा हिंड्न तत्पर हुन्छन् । डा. मोर्गान थप्छन्— अभिभावक आफैं अनुशासनहीन भएमा बालबालिकामा अनुशासनहीनता बढ्दै जान्छ । जस्तै, बालबालिकाका अगाडि रक्सी पिउने, झगडा गर्ने र आपूmले पूरा गर्न नसक्ने बाचा गर्नाले उनीहरूको व्यवहारमा विचलन आउँछ । अनुशासित अभिभावकले मात्र स्वच्छ समाज निर्माण गर्ने पुस्ता तयार गर्न सक्छन् । अनुशासनविना परिवारको जीवन सन्तुलित रहँदैन ।

प्रेमको भूमिका
मोर्गानका अनुसार जीवनमा अनुशासनभन्दा प्रेमको भूमिका ठूलो हुन्छ । अनुशासन नभएको परिवारमा पनि यदि प्रेम छ भने बालबालिकामा अनुशासन स्वतः प्रस्फुटन हुन सक्छ । परिवार अनुशासित छ तर प्रेम छैन भने त्यस्तो वातावरणमा हुर्केका बालबालिका वयस्क भएपछि अनुशासनहीन र विनाशकारी बन्न सक्छन् । प्रेमविना सहज जीवनयापनको कल्पना गाह्रो हुन्छ । आफूले प्रेम गर्ने व्यक्तिसँग हामी समय बिताउँछौं र ऊप्रति जिम्मेवार हुन्छौं । हामी बालबालिकालाई प्रेम गर्छौं, उनीहरूको प्रशंसा गर्छौैं, पोषण गर्छौं र उनीहरूसँग समय बिताउँछौं । प्रेमसहितको अनुशासन प्रभावशाली हुन्छ । महŒव दिएर प्रेम गर्दा बालबालिकाहरू सकारात्मक विचार भएका र आत्मविश्वासी बन्छन् ।

यदि हाम्रो उद्देश्य सबैलाई प्रेम गर्नु हो भने हामीले आफ्नो उन्नतिको बाटो रोजिसकेका हुन्छौं । यसरी दुवैथरी फाइदामा हुन्छन् । प्रेम पाउनेको उन्नति हुन्छ भने प्रेम दिनेको थप प्रगति । हामीले आफूलाई पनि प्रेम गर्न सक्नुपर्छ अन्यथा हामी अरूलाई प्रेम गर्न सक्दैनौं । प्रेम र अनुशासन छुट्याउन सकिन्न भन्ने तर्ककोे घनीभूत मनोवैज्ञानिक विश्लेषण प्रस्तुत छ, पुस्तकमा । धेरै अभिभावक अनुशासनमा बस्दैनन् अनि आफ्ना केटाकेटीलाई प्रेमसित हुर्काउँदैनन् । यस्तो संस्कारमा हुर्किएका केटाकेटी उन्नतिको बाटोमा लाग्दैनन् । तर यस्ता सन्तानका अभिभावकहरू आफ्नो जिम्मेवारी पन्छाउँछन्, विद्यालय, साथीभाइ र छोराछोरीमाथि दोष थोपर्छन् । 

मोर्गानले पुस्तकमा पति–पत्नी, पे्रमी–प्रेमिका वा विपरीत लिङ्गका साथीहरू वा समलिङ्गीहरूबीच रहने प्रेमको चिरफार गरेका छन्, माया वा प्रेमको भिन्नता खोतलेका छन् । लेखक भन्छन्— “माया बस्यो भन्नु भ्रम हो । यस्तो अभिव्यक्तिमा जानेर वा नजानेर यौन अभिलाषा अन्तरनिहित हुन्छ । यौन उत्प्रेरित यस्तो माया अस्थायी हुन्छ । यस किसिमको मायाबाट मानिस जसरी एउटासित नजीकै पुग्छ त्यसरी नै टाढा पनि । हामी हाम्रा बालबालिका र अभिभावकसँग ‘माया बस्यो’ भन्दैनौं ।”

मोर्गानको विचारमा मायाको अस्थायी प्रवृत्तिले गर्दा माया बस्यो भन्नु गलत हो र मिथ्या पनि । यसो भन्नुको तात्पर्य मानिस एक–अर्कालाई प्रेम गर्न छोड्छन् भन्ने होइन । तर विभिन्न कारणले माया पिरतीको क्रम विस्तारै कम हुँदै जान्छ । लेखकको तर्क छ, मधुमासको प्रणय लीला समयसँगै विस्तारै कम हुँदै जानु एउटा उदाहरण हो । आफूले प्रेम गर्नु तर अरूसँग सोको अपेक्षा नगर्नु सच्चा प्रेम हो जुन अर्थपूर्ण र दिगो हुन्छ । पुस्तकका अनुसार झ्ूट दुई प्रकारका हुन्छन् । कालो झूट (जुन गलत हो भन्ने जानकारी हुन्छ) र सफेद झूट (जो गलत होइन तर स्वीकार गर्न असहज) । मोर्गान सम्झाउँछन्— जे–जस्तो भए पनि झ्ूट भनेको झूट नै हो, दुवै झूटले हानि नै गर्छ । 

२१औं शताब्दीको दोस्रो दशकमा विज्ञान र प्रविधिको विकासले मानव सभ्यता एकखाले उँचाइमा पुगेको छ, तर पनि मानिसहरू मानसिक तनावमा जेलिंदै गएका छन् । यो पृष्ठभूमिमा प्रस्तुत पुस्तकले मनोविज्ञानलाई आधार बनाउँदै सुखी जीवनयापन गर्ने बाटाहरू प्रस्तुत गरेको छ । सुझइएका उपायरू प्रयोग गर्ने वा नगर्ने भन्ने निर्णय भने नितान्त व्यक्तिगत हो । 
दीक्षित मानवीय व्यवस्थापनका अध्येता हुन् ।