महिला हिंसामा बोक्सीवादी परम्परा
पुस्तक : द वीच अफ ब्लाकबर्ड पन्ड लेखक : एलिजावेथ जर्ज स्पेर
प्रकाशक : हटन मिफ्लिन, पहिलो संस्करण १९५८ पृष्ठ: २४९
समीक्षक : अनुष्ठा श्रेष्ठ
सञ्चारमाध्यममा समय–समयमा आउने बोक्सीको आरोप र क्रूर सजायलगायत महिलामाथि हुने अमानवीय घटनाका समाचारले स्तब्ध र आतङ्कित तुल्याउँछ । अहिलेको चेतना र प्रविधिको युगमा पनि यस्तो अन्धविश्वासी र परम्परा अपनाउने समूह छ भन्ने विश्वास गर्न कठिन पर्छ । तर विगतमा भने बोक्सी प्रथा नेपालमा मात्र नभई अमेरिका र यूरोपेली मुलुकहरूमा पनि थियो । अमेरिका–यूरोपेली समुदायले बोक्सी प्रथालाई धेरै अगाडि छाडे । तर नेपाललगायत एशिया र अफ्रिकाका पिछडिएका समुदायहरूमा बोक्सी परम्पराको विश्वास अझै हटेको छैन ।
अमेरिकी नागरिक एलिजावेथ जर्ज स्पेरद्वारा लेखिएको द वीच अफ ब्लाकबर्ड पन्ड एउटा उपन्यास हो । यो उपन्यासले १७औं शताब्दीको अमेरिकी समाजको सन्दर्भमा महिलालाई आरोपित, हेला र सजाय गर्ने यथार्थलाई मन छुने ढङ्गले समेतको छ । सन् १९७२ मा प्रकाशित यो पुस्तकले न्युबेरी पुरस्कार पाएको थियो । पुस्तककी मुख्य पात्र किट टाइलर पढ्न–लेख्न जानेकी १६ वर्षीया युवती हुन् । उनको बाल्यकाल आफ्नो धनाढ्य हजुरबुबासँग बारबडोजमा सुख–सयलमा बित्छ । तर हजुरबुबाको मृत्युपछि किटले धेरै समस्याको सामना गर्नुपर्छ । ऋणबाट मुक्त हुन आफ्नो अथाह जग्गाजमीन र आफूले राखेका अफ्रिकी दासहरू सबै नै बेच्न बाध्य हुन्छिन् उनी ।
कनेक्टिकटको जीवन
बारबडोजमा आफन्त कोही पनि बाँकी नभएपछि किट अमेरिकाको कनेक्टिकटमा रहेका आफन्तकहाँ बस्न पुग्छिन् । तर कनेक्टिकटको जीवन उनले सोचेजस्तो हुँदैन । स्वतन्त्र रूपमा हुर्केकी किटलाई कनेक्टिकटको रुढीवादी संस्कार र किसानी जीवनयापन कष्टकर लाग्छ । शङ्का र आगन्तुकका व्यवहारकै कारण त्यहाँ उनले आफ्नोपन महसूस गर्न पाइनन् । एकल वृद्धा हेना टपरले मात्र उनलाई आफ्नोपनको आभास दिलाइन् । हेना क्रिश्चियन धर्मकी अनुयायी नभएकाले पहिलेदेखि नै बोक्सीको आरोप खेपिरहेकी हुन्छिन् र समाजबाट टाढै बस्छिन् । कनेक्टिकटमा रहस्यमय महामारीको प्रकोप चल्दा त्यहाँका अन्धविश्वासीहरूले हेना र किट दुवैलाई ‘कालो जादू’ गरेको आरोप लगाए । किट हेनालाई बचाउन सफल भए पनि आफूचाहिं गिरफ्तारीमा परिन् ।
उपन्यासले किटको बोक्सीवादी परम्परासँगको संघर्ष र लडाइँलाई निकै भावुक रूपमा देखाएको छ । सरल भाषामा लेखिएको यो पुस्तकमा हरेक पात्रलाई वास्तविक चरित्र चित्रण गर्न लगाइएको छ । बीचबीचमा शेक्सपियरको नाटकका जस्ता वार्तालापले गर्दा उपन्यास पढ्दा आनन्दको अनुभूति हुन्छ । पुस्तकमा १७औं शताब्दीको अमेरिकी जीवन र सामाजिक आचरणलाई रोचक र जीवन्त ढङ्गले प्रस्तुत गरिएको छ । पुस्तक अध्ययन गर्दै जाँदा आफूले पनि त्यही कालखण्डको ऐतिहासिक जीवनयापन गरेको अनुभूति हुन्छ । औद्योगिक क्रान्तिपूर्वको त्यो साधारण अमेरिकी समाज आज धेरै अगाडि बढिसकेको छ ।
तत्कालीन अमेरिकी समाजमा चर्च मण्डलीमा सहभागी हुनु र घरमा बाइबल पाठ गर्नु अनिवार्य रीतिरिवाज अन्तर्गत पर्दथे । यदि कसैले यस्तो रीतिरिवाज नअपनाए, ऊ समाजबाट बहिष्कार हुन्थ्यो । बोक्सीको आरोप, दासप्रथा र अनमेल विवाह जस्ता समस्या त्यसबेला आमरूपमा प्रचलित थिए । किट आफैंले पनि दासदासीहरूलाई सामान्य रूपमा लिइन् र आफ्नो ऋण चुक्ता गर्न तिनलाई बिक्री गर्न पछि परिनन् । यो अभ्यास गोरा जातिहरूले अफ्रिकी मूलका समुदायमाथि गरेको दमनको उदाहरण हो । त्यस समाजमा सामान्य महिलाको तह पुरुषभन्दा निकै तल थियो । महिलाहरू केवल घरायसी काममा सीमित गरिएका थिए भने तिनको कुनै राजनीतिक योगदान रहँदैनथ्यो । घरमा राजनीतिको कुरा गर्दा खाली पुरुषको सहभागिता हुन्थ्यो भने महिला चूप लागेर बस्न बाध्य हुन्थे ।
बोक्सीको आरोपीमा गरीब, एकल, वृद्धा र कहिलेकाहीं पढे–लेखेका स्वतन्त्र विचारधारा भएका महिला पनि पर्ने गर्थे । हेना टपर एक विधवा, फरक धार्मिक र सामाजिक विचारधारा राख्ने वृद्धा भएकाले समाजको तगारो बनिन् । उनको पक्षमा बोल्ने र साथ दिने कोही पनि थिएनन् । त्यसैगरी किट पनि पढे–लेखेकी र भिन्न विचारधाराकी नारी भएकीले उनको व्यवहार त्यसबेलाको अन्धविश्वासी समाजलाई पाच्य भएन । किटले पौडी खेलेको देखेकै आधारमा कनेक्टिकटका बासिन्दाले बोक्सी हो कि भन्ने शङ्का गरेका थिए । त्यो समयमा एउटी कुलिन महिला पानीमा धेरैबेर बस्न सक्दिन भन्ने मान्यता थियो ।
पश्चिमको उक्त सामाजिक ऐतिहासिक कालखण्डमा हजारौं महिला बोक्सी आरोपीको रूपमा बलि चढ्न बाध्य भएका थिए । केहीलाई जिउँदै जलाइयो, केहीलाई झ्ुन्ड्याइयो भने केहीलाई पिटीपिटी मारियो । यो सबै व्यवहार मानवीय शङ्का–उपशङ्का, महिलालाई हेर्ने हेय दृष्टि र कट्टरपन्थी विचारधाराका उपज थिए । त्यतिबेलाको कानून र नीति–नियमले पनि पीडित महिलालाई साथ दिंदैनथे । पीडित महिलालाई धम्की र त्रास देखाएर बोक्सी कला अभ्यास गरेको भन्न बाध्य तुल्याउँथे । त्यस्ता महिला सजाय मुक्त भए पनि समाजबाट भने निन्दित भइरहन्थे ।
दुःखको कुरा आधुनिक र विकासशील अहिलेको युगमा पनि महिलाले बोक्सीको आरोप खेपिरहनुपरेको छ । नेपालमा हरेक वर्ष बोक्सीको आरोपमा कुटपिट गरिएकोे, दिसा–पिसाब खुवाइएको, चरम यातना दिइएको र हत्याका समाचार समेत आउने गरेका छन् । र यस्ता घटनामा पर्नेहरू प्रायः एकल र दुर्बल महिलाहरू हुने गरेका छन् ।
पुरुषसँग सहकार्य
हरेक नारीको जीवनमा पुरुषले कुनै न कुनै प्रभाव पारेको हुन्छ । किटको जीवनमा पनि चारजना पुरुषको गहिरो प्रभाव देखिन्छ । किटलाई प्रभाव पार्ने पहिलो पुरुष हुन्, उनका हजुरबुबा जसले किटलाई कुनै भेदभाव नगरी स्वतन्त्रता र शिक्षा दिए । दोस्रो हुन्, उनका काका । कनेक्टिकट निवासी यी पुरुषले किटलाई अन्त्यमा साथ दिए, यद्यपि प्रारम्भमा कडा अनुशासनमा राखी आफ्नो विचार प्रकट गर्न बन्देज लगाएका थिए । विलियम नाम गरेका नवजवान किटको जीवनका तेस्रो पुरुष हुन् । शुरूमा विलियमले किटलाई मन पराएर बिहे गर्ने सोच गरे पनि अन्त्यमा बोक्सीको आरोप लागेपछि साथ छाडे । त्यसैगरी जहाजका कप्तानको छोरा न्याथनियल चौथो पुरुष हुन् जो किटको असल साथी बने । किट र हेना दुवैलाई बोक्सी आरोप लाग्दा बचाउ गर्न यिनले चाहिं धेरै मद्दत गरे ।
उपन्यासमा एउटा नारीको जीवनमा असल पुरुषको साथले पार्ने सकारात्मक प्रभाव देखाइएको छ । किटका हजुरबुबा र न्याथनियल उनको जीवनको सकारात्मक पुरुष पात्र हुन् जसले किटको व्यक्तित्व विकास र संघर्षसँग लड्न सघाए । काकालाई नकारात्मक रूपमा लिन मिल्दैन तर उनले किटसँग कुरा गरेको तरिका हेर्दा कतै न कतै किटलाई नै आफ्नो अधिनमा राख्न खोजेको आभास हुन्छ । विलियमलाई स्वार्थी पुरुषको रूपमा लिनुपर्छ किनकि उनले किटलाई आफ्नो भावी पत्नी भए पनि बोक्सी जस्तो जघन्य आरोप लाग्दा भने साथ दिएनन् ।
पितृसत्तात्मक नेपाली समाजमा अझ्ै पनि धेरै महिला घरभित्र मात्र सीमित छैनन्, सही अवसर पाउनबाट समेत वञ्चित छन् । नेपाल सरकारले महिला उपस्थितिलाई प्रोत्साहन गर्न संसद्मा ३३ प्रतिशत स्थान छुट्याएको छ भने विभिन्न विशिष्ट पदहरूमा आरक्षण सिट उपलब्ध गराएर महिला प्रतिनिधित्व सुरक्षित गरेको छ । त्यस्तै संघ–संस्था आदिमा महिला सहभागिता अनिवार्य गरिएको छ । तर घरेलु कामकाजले फुर्सद नपाएर होला महिलाले अवसरको सदुपयोग गर्न सकेका छैनन् ।
यो पुस्तकले बोक्सी प्रथाको खुलेर विरोध गर्छ, यो बोक्सीका आरोपी महिलालाई न्याय दिने पक्षमा उभिएको छ । हुन पनि, बोक्सीका आरोपी महिलाले न्याय पाउनुपर्छ, कानून सुदृढ हुनुपर्छ र बोक्सी प्रथाविरुद्ध जनचेतना जगाउनुपर्छ भन्ने आवाज आफैंमा स्वाभाविक र जायज छ । सबै मिलेर नेपालमा पनि तत्काल यस्तो समाजको निर्माण गर्नुपर्छ जहाँ हरेक महिला इज्जतसाथ सुरक्षित जीवन बिताउन सक्षम होऊन् ।
श्रेष्ठ प्राकृतिक विज्ञान विषयकी अध्येता हुन् ।


