भारतमाटेलिफोन क्रान्तिको कथा
पुस्तक : ड्रिमिङ विगः माइ जर्नी टु कनेक्ट इन्डिया लेखक : साम पित्रोदा र डिभिड च्यानफ
प्रकाशक : पेन्गुइन बुक्स इन्डिया, २०१५ पृष्ठ: ३३१
मूल्य : भा.रु. ६९९÷–
सन् १९८० को दशकसम्म भारतको टेलिफोन सेवा निकै खराब थियो भन्ने यथार्थ हिजोआज विश्वास नलाग्न सक्छ । तर त्यो कतिसम्म खराब थियो भने टेलिफोनमा सम्पर्क हुन नसकेका नाटकीय दृश्यहरू बलिउड चलचित्रका नियमित अंग हुने गर्थे ।
भारतको त्यही टेलिफोन प्रणालीको स्तर सुधार्न सत्यनारायण गङ्गाराम पित्रोदा भन्ने व्यक्तिले महŒवपूर्ण भूमिका खेलेका थिए । ड्रिमिङ विगः माइ जर्नी टु कनेक्ट इन्डिया तिनै पित्रोदाको आत्मकथा हो । यो कथा उनले डिभिड च्यानफसँगको सहलेखनमा प्रकाशित गरेका हुन् । सत्यनारायण एक सामान्य व्यापारीका छोरा थिए । उनको जन्म भारतको उडिसा राज्यको तितिलागडमा भएको थियो । आठ वर्ष पुगेपछि पित्रोदालाई उनका आमाबाबुले गुजरातको एउटा स्कूलमा पढ्न पठाए । गुजरातमै उनले भौतिकशास्त्रमा एमएस्सी डिग्री हासिल गरे ।
सन् १९६० को कालखण्डमा स्वतन्त्रता र नयाँ अवसरको मुलुक अमेरिका पढ्न जानु भारतीय विद्यार्थीको सपना हुने गथ्र्याे । सत्यनारायण पनि अमेरिका जाने धुनमा लागे । अन्ततः उनी इलिनोय इन्ष्टिच्युट अफ टेक्नोलोजीको छनोटमा परे र भौतिकशास्त्रमा विद्यावारिधिका लागि भर्ना भए । यो जनवरी १९६५ को कुरा हो ।
सन् १९६६ मा सत्यनारायणले इलिनोय इन्ष्टिच्युटबाट इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा अर्को स्नातकोत्तर डिग्री हासिल गरे । उनका साथीहरू लकहिड मार्टिन, जनरल डाइनामिक्सजस्ता सेना र रक्षासित जोडिएका अमेरिकी कम्पनीमा जागिरे हुन थालेका थिए । तर गान्धीको अहिंसावादी सिद्धान्तबाट प्रभावित सत्यनारायणले त्यो बाटो रोजेनन् । कलेज छेउछाउ बस्ने, काम गर्ने र विद्यावारिधिका लागि तयारी गर्ने उनको उद्देश्य थियो । टेलिभिजनको ट्युनर बनाउने कम्पनीमा उनी काम गर्न थाले । त्यहाँ कार्यरत सेक्रेटरीले उनको नाम सत्यनारायणबाट ‘साम’ बनाइदिएकी थिइन्, बोलाउन सजिलो होस् भन्दै । सन् १९६६ मा उनले गुजरातमा पढ्दा मन पराएको केटीसित विवाह गरे । केही समयपछि साविकको जागिर छाडेर पित्रोदा शिकागोस्थित जनरल टेलिफोन र इलेक्ट्रोनिक्स (जीटीई) कम्पनीमा काम गर्न थाले । हिजोआज यो कम्पनी टेलिफोन विधामा काम गर्ने भेराइजोन भनी चिनिन्छ ।
टेलिफोन प्रविधि रूपान्तरण
पित्रोदाको टेलिफोन प्रविधिलाई आधुनिक बनाउने यात्रा शिकागोमा शुरू हुन्छ । उनको कम्पनीमा कार्यरत एउटा सानो समूह टेलिफोन संवादलाई स्वचालित डिजिटल प्रणालीको प्रयोगद्वारा आदानप्रदान गर्ने प्रविधिको विकास गर्दै थियो । परम्परागत टेलिफोन प्रणालीमा एउटाले बोलेको आवाज ध्वनिको तरङ्गको रूपमा तारको माध्यमद्वारा अर्काकोमा पुग्थ्यो । तर पित्रोदाको समूह र अन्य वैज्ञानिकहरू ध्वनिका तरङ्गलाई डिजिट अर्थात् एक र शून्यमा परिवर्तन गरेर सम्प्रेषण गर्ने प्रविधि विकास गर्दै थिए । यसरी एक र शून्यमा सम्प्रेषित तरङ्ग फेरि ध्वनिमा परिवर्तन गरी सुनाइने प्रविधि क्रान्तिकारी फड्को थियो । डिजिटल रूपान्तरण मात्रै होइन टेलिफोनलाई एक अर्कासँग जोड्ने कार्य त्यत्तिकै महŒवपूर्ण भएको हुँदा पित्रोदाको समूह यो विधिको विकासमा पनि लागेको थियो ।
पित्रोदा भन्छन्, “अर्काको लागि गरेको कामले मलाई सन्तुष्टि दिएन । उमेर ४० वर्ष पुग्नुअघि नै म करोडपति बन्न चाहन्थें । त्यसनिम्ति आफैं केही गर्नुपर्छ भन्ने उद्देश्य लिएर अगाडि बढें ।” उनले जीटीईको जागिर छाडे र डिजिटल स्विचिङमा कार्यरत अर्को कम्पनीमा काम शुरू गरे, १० प्रतिशत साझ्ेदारीमा । उनी भन्छन्, “जीटीर्ईमा मैले भौतिकशास्त्र र इलेक्ट्रोनिक्स विषयमा सिकेको ज्ञान व्यवहारमा उतार्ने मौका पाएँ । अनुशासन, सहकार्य र सिर्जनशीलता के हो भन्ने पनि सिकें । यो अनुभवले मलाई आफ्नो भविष्य अगाडि लैजान एउटा खास क्षेत्रमा दक्षता दियो । म आफ्नो काममा रमाउन थालें ।”
उनले काम गरेको ‘बेसकम इन्क’ सानो तर थुप्रै सम्भावना भएको कम्पनी थियो । त्यो कम्पनीले आफ्ना उत्पादन धेरै मुलुकमा बेच्थ्यो । सन् १९७९ मा बेसकमका मुख्य हकवालाले आफ्नो कम्पनी बिक्री गर्ने निर्णय गरे । धेरै क्रेतासितको लेनदेन र मोलमोलाइपछि रकवेल भन्ने कम्पनीले पाँच करोड डलरमा सो कम्पनी किन्यो । सामले आफ्नो भागको २० लाख डलरको चेक पाए । साथै, उनी वर्षको पाँच लाख डलर वेतन पाउने शर्तमा तीन वर्षको लागि त्यस कम्पनीमा जागिरे पनि भए । उनी भन्छन्, ‘४० वर्ष पुग्नुअगावै म करोडपति बनें ।’
स्वरोजगार र आफ्नो बाटो
एउटा उद्देश्य हासिल गरे पनि पित्रोदा सन्तुष्ट थिएनन् । उनलाई आफ्नो मुलुकले बेला बेलामा तानिरहन्थ्यो । भारतलाई समृद्धिको बाटोमा लैजान आफूले टेलिफोन क्षेत्रमा योगदान गर्न सक्छु भन्ने उनलाई लागिरहन्थ्यो । यसै क्रममा; बम्बईको प्रतिष्ठित ताज होटलमा बस्दाको उनको एउटा अनुभव रमाइलो छ । त्यो होेटलबाट शिकागोमा धर्मपत्नीसित टेलिफोनमा सम्पर्क गर्ने उनका धेरैवटा प्रयास सफल हुँदैनन् । उनी दिक्क हुन्छन् । त्यत्तिकैमा होटलको झयालबाट उनी बाहिर एउटा शवयात्रा देख्छन्, जुन मनुष्यको नभएर ‘मरेको टेलिफोन’ को थियो । एकथरीले शवयात्रा गरी खराब टेलिफोनको विरोध जनाएका थिए । त्यसैबेला उनले भारतको टेलिफोन प्रणालीमा सुधार ल्याउने निर्णय गरे । उनको निर्णयमा केही अज्ञानता थियो भने केही घमण्ड पनि ।
त्यसबेला इन्दिरा गान्धी भारतको प्रधानमन्त्री थिइन् । इन्दिरा गान्धीको निर्णयविना सुधारको कार्यक्रम अगाडि नबढ्ने भएकाले सामले उनलाई भेट्नुपर्ने भयो । तर कसरी ? आफ्ना एक मित्रको सहयोगमा उनी गान्धीसमक्ष टेलिफोन सुधार गर्ने अवधारणा प्रस्तुत गर्न सफल हुन्छन् । उनको प्रस्तावबाट प्रधानमन्त्री गान्धी प्रभावित भइन् र भनिन्, ‘ठीक छ, अगाडि बढ्नु ।’ त्यसका लागि सन् १९८४ मा सेन्टर फर डेभलपमेन्ट अफ टेलिमेट्री (सी–डट) को परिकल्पना गरिन्छ । सी–डट स्थापना गर्नुअघि टेलिकम क्षेत्रमा विकास भइरहेका प्रविधिबारे जानकारी दिलाउने उद्देश्यले सामले नयाँदिल्लीका निर्णयकर्तालाई जीटीई, रकवेल र वेल ल्यावजस्ता कम्पनीको भ्रमणमा लगे । त्यहाँका वैज्ञानिक र इन्जिनियरहरू सित भेटवार्ता र विचार आदानप्रदान भयो । वेसकममा आफैंले डिजाइन गरेका स्विच उनले भ्रमण दलका सदस्यलाई देखाए । सबैलाई विश्वास भयो, साम हावादारी प्रस्ताव गर्ने व्यक्ति होइनन्; तिनको प्रस्ताव दह्रो छ । सरकारले सी–डट योजनाका लागि ३ करोड ६० लाख डलर छुट्यायो र तीन वर्षको अवधि तोकिदियो । यसै क्रममा राजीव गान्धीसित उनको परिचय भयो र उनीहरू मित्र बने ।
सी–डटको योगदान
सामको प्रस्ताव थियो— टेलिकम विकासको बाटो स्थानीय हुनुपर्छ र त्यो विकसित भारतको प्रतिबिम्ब बन्न सक्नुपर्छ । त्यसै भएर सी–डटले ससाना स्विच निर्माण गर्ने, ग्रामीण भेगको आवश्यकता ध्यानमा राख्ने, सरसामान बाहिरबाट किन्नेभन्दा मुलुकभित्रै निर्माण गर्ने अर्थात् स्थानीयकरण गर्ने रणनीति लिएको थियो । यसरी ससाना प्रणालीको निर्माण सफल भएपछि शहरी क्षेत्रका लागि आवश्यक ठूला स्विच निर्माण गर्ने निर्णय गरियो । साथै, यो प्रयासमा आवश्यक हार्ड–सफ्टवेयर विशेषज्ञ एवं सरसामान निर्माणका स्थानीय आधार बनाउन जोड दिइयो । सी–डटले विस्तारै भारतको टेलिकम क्षेत्रको कायापलट गरिदियो । हरेक गाउँ शहरमा पहेंला रङ पोतिएका पीसीओेबक्स र त्यसभित्रबाट एसटीडी गर्ने व्यवस्था शुरू भयो ।
सी–डट अगाडि लैजाने प्रयासमा नयाँ पुस्ताका इन्जिनियर एवं वैज्ञानिकहरू जुटाएको, तिनलाई एकै ठाउँमा राखी काम गराएको प्रसङ्ग मानव व्यवस्थापनमा रुचि राख्ने सबैका लागि उपयोगी सामग्री हो । विगत केही वर्षयता मोबाइल फोनको आगमनपछि यो प्रविधि क्रमशः हराउन थालेको छ । हुन पनि, जुन कुनै प्र्रविधि निरन्तर विकास भइरहन्छ, नयाँले पुरानो विस्थापित गरिरहन्छ ।
सी–डट स्थापनाको क्रममा भारतका एक मन्त्रीले सामलाई सोधेका थिए, ‘तिम्रो तलब कति हो र तिमीलाई के फाइदा चाहिन्छ ?’ सामले जवाफ दिएका थिए— ‘तलब वर्षको एक रुपैयाँ’, अरू कुनै फाइदा चाहिंदैन ।’ साम भन्छन्— “अमेरिकामा फ्रान्कलिन रुजभेल्ट राष्ट्रपति भएपछि उनलाई सहयोग गर्न एक डलर तलब लिने उद्योगपतिहरू थिए भन्ने सम्झ्एिर मैले त्यस्तो जवाफ दिएको थिएँ ।”
सन् १९८४ मा इन्दिरा गान्धीको हत्यापछि राजीव गान्धी भारतका प्रधानमन्त्री बने । पित्रोदा प्रधानमन्त्री राजीव गान्धीको प्राविधिक सल्लाहकार बने । सन् १९९० को लोकसभा चुनावमा पित्रोदाले प्रचारप्रसारको भूमिका निर्वाह गरेका थिए । तर राजीव गान्धीले नेतृत्व गरेको कंग्रेस पार्टी चुनावमा हा¥यो र विश्वनाथप्रताप सिंहको अगुवाइमा नयाँ सरकार बन्यो । नयाँ सरकारका सञ्चारमन्त्री र साम पित्रोदाको सहकार्य निरन्तर हुन सकेन । पित्रोदाले भ्रष्टाचारको आरोप पनि भोगे, तर त्यो पुष्टि भएन । नागरिकताबारे प्रश्न उठेपछि उनले आफ्नो अमेरिकी नागरिकता त्यागेका थिए । १९९१ मा तामिलनाडूमा भएको विस्फोटनमा प्रधानमन्त्री राजीव गान्धीको मृत्युसँगै पित्रोदाको सरकारसित जोडिने पुल टुट्यो ।
नयाँ जीवन
भारतको टेलिफोन प्रणाली सुधार्ने प्रयासमा पित्रोदाले न आफ्नो स्वास्थ्यको ख्याल गरे न आफ्नो आर्थिक स्थिति न त परिवारको रेखदेख नै । उनलाई हृदयघात भयो, तर तङ्ग्रिए । उनीसित कुनै जायजेथा बाँकी रहेन । अमेरिका फर्केपछि जिन्दगी कसरी चलाउने भन्ने प्रश्नबारे उनी रनभुल्लमा परेका थिए । त्यत्तिकैमा आफूले पेटेन्ट लिएको एउटा इलेक्ट्रोनिक डायरीको विज्ञापन उनले देखे । तोशिवा, शार्प, क्यासियो, ह्युलिटपकार्ड र टेक्सास इन्स्टुुमेन्टजस्ता कम्पनीले त्यो प्रयोग गरेका रहेछन् । सोवापत सामले कुनै रोयल्टी पाएका थिएनन् । आफूले चिनेको एकजना वकीलसित उनले ती कम्पनीलाई मुद्दा हाल्ने र रोयल्टी पाइयो भने आधाआधा बाँड्ने सल्लाह गरे । त्यस आविष्कारको वैधानिक सिर्जनकर्ता पित्रोदा हुन् भन्ने पुष्टि भएपछि ती कम्पनी उनलाई रोयल्टीवापत केही लाख डलर दिन राजी भए । अब पित्रोदालाई आफ्नो जीवन फेरि शुरू गर्ने मौका मिल्यो ।
एउटा सामान्य परिवारमा जन्मेको केटोले मिहिनेतद्वारा भारतमा टेलिफोन प्रणालीको सफल रूपान्तरण गराउन महŒवपूर्ण भूमिका खेल्यो । भारत आधुनिक राष्ट्र बन्ने क्रममा के–कस्ता घटना भए बुझन सहयोगी छ, पुस्तक । ७० वर्ष पुगिसकेका पित्रोदा भन्छन्, “म अझै पनि थप पेटेन्ट दर्ता, प्रविधिको डिजाइन र रूपान्तरणको अवसर खोजिरहनेछु ।”
प्रशंसा वातावरण विज्ञानकी विद्यार्थी हुन् ।

No comments:
Post a Comment