जलवायु परिवर्तन अनुकूलनको समाजशास्त्र
पुस्तक : एडाप्टेसन टु क्लाइमेट चेन्ज फ्रम रिजिलियन्स टु ट्रान्सफरमेसन
लेखक : मार्क पेलिङ प्रकाशक: राउटलेज, २०११ पृष्ठ: २८० मूल्य: २६.९६ ₤
समीक्षक : आशुतोष शुक्ला्
भूगोलविद् मार्क पेलिङ, किङ्स कलेज लण्डनका प्राध्यापक हुन् । प्रा. पेलिङले विपत्को जोखिम न्यूनीकरण र विपत् व्यवस्थापनका विषय समेटेर एकपछि अर्को पुस्तक लेखेका छन् । एडाप्टेसन टु क्लाइमेट चेन्ज फ्रम रिजिलियन्स टु ट्रान्सफरमेसन सोही शृंखलाको एउटा पुस्तक हो । यो पुस्तक जलवायु परिवर्तनका जोखिम न्यूनीकरण र अनुकूलनको विषयमा केन्द्रित छ । जलवायु परिवर्तन अनुकूलनको समाजशास्त्रीय विश्लेषण पुस्तकको मुख्य विषय हो । भौतिक, आर्थिक र सामाजिक विकासका क्षेत्रमा जलवायु परिवर्तनको प्रभावको विश्लेषण गर्दै उत्थानशील समुदाय निर्माणको बाटोमा लागेका वा त्यसमा चासो राख्ने सबैलाई पुस्तक उपयोगी छ ।
प्रस्तुत पुस्तकका चार खण्ड र नौ अध्यायमध्ये पहिलो खण्डले जलवायु परिवर्तन अनुकूलन (एडप्टेसन) र उत्थानशीलता (रिजिलियन्स) को अन्तर सम्बन्धको सैद्धान्तिक व्याख्या गरेको छ भने दोस्रो खण्डमा उत्थानशीलता संयोजन र रूपान्तरणको मार्गचित्र प्रस्तुत गरिएको छ । तेस्रो खण्डमा जलवायु परिवर्तनसँगै जीवन निर्वाह गर्ने बाटा, विधि र प्रक्रियाहरूको व्याख्या समेटिएको छ । अन्तिम खण्डमा, जलवायु परिवर्तनसँग अनुकूलन रहने उपायहरूबीच तालमेल हुन नसक्दा विभिन्न क्षेत्र र जनजीविकामा पार्ने प्रभावका उदाहरण समावेश गरिएका छन् ।
लेखक पेलिङले अनपेक्षित अनुकूलनको उदाहरण दिंदै त्यसको प्रभावकारी विश्लेषण र व्याख्या गरेका छन् । उनी भन्छन्, ‘जलवायु परिवर्तनसित अनुकूलन रहने अभ्यासलाई समुदायविशेषका तत्कालीन सामाजिक, आर्थिक र राजनीतिक प्रक्रियाहरूले निर्देशित गर्दछन् । यस्ता अभ्यासको निरन्तरता र तिनको समसामयिक परिमार्जनले सम्भावित जोखिम न्यूनीकरण गरी समाजलाई उत्थानशीलताको बाटोतर्फ लैजान्छ । अनुकूलनका प्रयासबाट समुदायलाई उत्थानशील बनाउने तीनवटा मार्ग हुन सक्छन्— पहिलो, अनुकूलनका अभ्यासबाट जनजीविकामा आउन सक्ने ह्रासलाई रोक्दै यथावस्थाको निरन्तरता सुनिश्चित गर्नु । दोस्रो, क्रमिक परिवर्तनको बाटो लिंदै पहिलेको भन्दा सबल स्थितिको निर्माण गर्नु । र, तेस्रो बाटो हो आमूल परिवर्तनद्वारा रूपान्तरित चरित्रको निर्माण गर्नु । यीमध्ये दोस्रो बाटो बढी व्यावहारिक र युक्तिसंगत हुन सक्छ ।
पहिलो खण्डको पहिलो अध्यायमा, ‘अनुकूलनको सन्दर्भ’ शीर्षकअन्तर्गत जलवायु परिवर्तनसँग सम्बन्धित नीति–निर्माण र अनुकूलनका अवधारणाको कसरी विकास भयो भन्ने सैद्धान्तिक व्याख्या समेटिएको छ । दोस्रो, अध्यायमा लेखक अनुकूलसित सम्बन्धित धारणाको सूक्ष्म एवं प्रभावकारी व्याख्या गर्छन् । यी दुवै अध्यायले जलवायु परिवर्तन अनुकूलन, अनुकूलित व्यवस्थापन र उत्थानशीलतासँग सम्बन्धित शब्दावलीहरूको स्पष्ट परिभाषा प्रस्तुत गरेका छन् जसबाट अनुकूलन र जलवायु परिवर्तनबीचको भिन्नता र अन्तरसम्बन्ध स्पष्ट बुझन मद्दत पुग्छ । यी दुवै अध्याय; जलवायु परिवर्तन अनुकूलनका क्षेत्रका अध्येता, विद्यार्थी, विकासकर्मी र सामाजिक अभियन्ताहरूका लागि विशेष उपयोगी छन् ।
दोस्रो खण्डका तीनवटा अध्यायमा विगतका अभ्यासहरूको समीक्षा; निरन्तर अनुकूलन, क्रमिक परिवर्तन र रूपान्तरणको चरित्र तथा व्याख्या समेटिएको छ । अनुकूलन उत्थानशीलतामा रूपान्तरित हुनका लागि संगठनात्मक संरचना प्रस्थानविन्दु हुने लेखकको धारणा रहेको छ । सम्भावित जोखिमहरूको पहिचान गर्दै अनुकूलनका अभ्यासहरूको निरन्तरताका साथै यी अभ्यासहरू कार्यान्वयन गर्न नियमन प्रक्रियाहरूमा समसामयिक सुधार हुनुपर्दछ ।
प्रा. पेलिङले समुदायको जोखिम सामीप्यता, सुरक्षा र सहकार्यका लागि गरिने अनुबन्ध रूपान्तरणको उत्पे्ररक हुने प्रस्ताव गरेका छन् । विपत्को धक्कालाई उनी समुदायले आफैंलाई रूपान्तरण गर्ने विन्दुका रूपमा लिन्छन् । रूपान्तरणको प्रक्रिया बुझउन लेखकले विभिन्न सन्दर्भ, समुदायको अवस्था र घटनाक्रमलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।
विश्वको विभिन्न भू–भागमा विगतमा घटेका विपत्का घटनाहरूको विश्लेषणपछि जलवायु परिवर्तन र विपत् जोखिम न्यूनीकरणका विधि र प्रक्रियाहरू परिवार, समुदाय, क्षेत्र र समग्र राष्ट्रमा आएको सकारात्मक सोचबाट शुरू हुने गर्छ । विपत्का घटनालाई सुरक्षित भविष्यतर्फ जाने अवसरका रूपमा पनि बुझन सकिन्छ । सन् १९७० मा बङ्गलादेशमा आएको ‘भोला’ नामक समुद्री आँधी, १९९८ मा आएको निकारागुवाको आँधीबेहरी र २००५ मा संयुक्त राज्य अमेरिकाको न्यू आर्लियन्स राज्यमा आएको ‘कटरिना’ आँधीले गरेको व्यापक क्षतिलाई लिन सकिन्छ । यी विपत् पश्चात् ती ठाउँहरूमा विपत् न्यूनीकरणका लागि शुरू गरिएका नयाँ प्रयासहरूले स्थानीय जीवनयापन सुरक्षाको प्रत्याभूत गरेको थियो । यी सकारात्मक परिवर्तनको उदाहरणका पाठ हुन् ।
पुस्तकको तेस्रो खण्डमा लेखकले जलवायु परिवर्तनका सन्दर्भमा ‘अनुकूलन (एडप्टेसन) भनेको के हो ?’ भन्ने प्रश्नको व्याख्या प्रस्तुत गरेका छन् । यस खण्डका तीनवटै अध्यायमा अनुकूलनको अवधारणालाई क्रमैसँग— संगठनात्मक ढाँचाभित्र अनुकूलनका उपायहरूको एकीकरण; प्रकोप जोखिम प्रबन्धनका लागि प्रशासनिक व्यवस्था र प्रकोप जोखिम प्रबन्धनका लागि राष्ट्रिय स्तरको राजनीतिक सोच एवं नीतिनिर्माणको आवश्यकताका सम्बन्धमा प्रकाश पारिएको छ ।
जलवायु परिवर्तनका प्रभावसित अनुकूलन रहनुभन्दा जलवायु परिवर्तन सापेक्ष अनुकूलन उचित हुने पेलिङको तर्क छ । विश्वस्तरमै भएका अध्ययन र अनुसन्धानहरूले यस्तै असर पार्छ भन्ने प्रष्ट गर्न सक्दैनन् । कारक र असरहरूको व्याख्या हुन नसक्दा भविष्यमा जलवायु परिवर्तनका असरहरू के–कसरी देखिएलान् ? भन्नेबारे यकिन हुन सकिएको छैन । लेखक भन्छन्, ‘जलवायु परिवर्तनसँगै अनुकूलनका विधि र प्रक्रियाहरू परिवर्तन गर्न सकिने बाटो उपयुक्त हुन्छ ।’ कुनै भौगोलिक क्षेत्रमा, स्रोत व्यवस्थापन, पूर्वाधार वा जनजीविकासँग सम्बन्धित विभिन्न पक्षहरू चल्दै गरेका हुन्छन् । तसर्थ, अनुकूलन बहुआयामिक, बहुक्षेत्रीय र बहुविधागत अवधारणा र निरन्तर अभ्यास हो भन्ने बुझनु जरूरी हुन्छ भन्ने लेखकको तर्क छ ।
नेपालमा भौगोलिक, भौगर्भिक र जलवायुजन्य प्रकोपले विपत्का घटनाहरू निरन्तर ल्याउने गर्छन् । यस्ता विपत्ले जनधनको क्षति बढ्दै गएको सन्दर्भमा उत्थानशील विकासको अवधारणा अगाडि बढाउनु उपयोगी छ । केन्द्रीय तथ्याङ्क विभागले हालसालै (वि.सं. २०७३÷७४) नेपालमा जलवायु परिवर्तनका विभिन्न पक्षसित सम्बन्धित सर्वेक्षण गरेको छ । सो सर्वेक्षणले जलवायु परिवर्तनले गर्दा जनजीवन र जनजीविकामा नकारात्मक प्रभाव परिरहेको देखाएको छ । तथ्याङ्कले विभिन्न क्षेत्रका बासिन्दा र समुदायहरूमा जलवायु परिवर्तनको असर बहुआयामिक भएको र त्यो क्रमिक रूपले बढ्दै गएको प्रष्ट पारेको छ ।
जलवायु परिवर्तनका असर बढ्दै गएको सन्दर्भमा अब के गर्ने त भन्ने स्वाभाविक प्रश्न उठ्छ । जलवायु परिवर्तनबाट परेको असरको वास्तविकतालाई ध्यानमा राख्दै स्थानीय विकासका योजनाको तर्जुमा र तिनको कार्यान्वयनमा अनुकूलन र विपत् जोखिम न्यूनीकरणका उपायहरू समायोजन गर्नु जरूरी हुन्छ । संघीय संरचनाको मर्म र भावनाअनुरूप नेपालको संविधानमा स्थानीयस्तरको विकासका लागि स्थानीय तहको जिम्मेवारी तोकिएको हुँदा सो प्रयासमा जलवायु परिवर्तन अनुकूलन र विपत् जोखिम न्यूनीकरण समायोजन हुनुपर्ने तर्क पेलिङको पुस्तकले दिने एउटा सन्देश हो ।
(शुक्ला जल व्यवस्थापनका अध्येता हुन् ।)


