युद्धको विभीषिका र महिला
पुस्तक : अ थाउजेन्ड स्पेलेन्डिड सन्स लेखक: खालिद होसेनी
प्रकाशक : रभरहेड बुक्स, २००७ पृष्ठ: ३८४
समीक्षक : अनुष्ठा श्रेष्ठ
युद्धका कूटनीति र चलखेलबारे कैयौं पुस्तक लेखिएका छन् । इतिहासको पानामा युद्धलाई वीरताको प्रतीक मानेको पनि पाइन्छ । तर युद्धको वास्तविकतालाई मूल्याङ्कन गर्दै यस्तो मान्यता ठीक हो कि होइन भन्ने निक्र्योल गरिन बाँकी नै छ । युद्धमा मृत्युवरण गर्ने हजारौं जनसाधारणको जीवनलाई बलिदानको रूपमा अथ्र्याइनु उचित हुन्छ ? अझ महिला र बालबालिकाहरूमाथि पर्ने युद्धको नकारात्मक असरलाई कसरी मूल्याङ्कन गर्ने ? यस्ता प्रश्न बारम्बार उठिरहे पनि आजसम्म कुनै ठोस जवाफ आएको छैन, बरु ड्रोनजस्ता अत्याधुनिक प्रविधिको आगमनले युद्धको नैतिकताबारे नयाँ प्रश्नहरू उठेका छन् (हे., ड्रोन विमानको आगमन र युद्धको नैतिकता, थोमस नागेल, मन्थन÷शिक्षक, जेठ २०७३) ।
खालिद होसेनीद्वारा लिखित उपन्यास अ थाउजेन्ड स्पेलेन्डिड सन्स मा युद्ध र महिलाबीचको सम्बन्ध मार्मिक रूपमा प्रस्तुत छ । सन् २००० मा प्रकाशित यो उपन्यास पन्ध्र सातासम्म न्यूयोर्क टाइम्स को बेस्ट सेलर सूचीमा पहिलो स्थान ओगट्न सफल थियो । अफगानी मूलका होसेनी उपन्यासकार मात्र नभई युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट डिग्री हासिल गरेका एक कुशल चिकित्सक पनि हुन् । सन् २००३ मा अफगानिस्तानको द्वन्द्वलाई आधार बनाएर उनले आफ्नो पहिलो उपन्यास द काइट रनर प्रकाशित गरेका थिए । द काइट रनर ले युद्ध र पुरुषको अनुभवलाई समेटेको थियो भने अ थाउजेन्ड स्पेलिन्डिड सन्स ले युद्धको सन्दर्भमा महिलाहरूले भोग्ने पीडालाई समेटेको छ ।
युद्धको विस्तृतीकरण
पुस्तकमा सन् १९६० देखि २००० को दशकमा अफगानिस्तानका घटनाक्रम, तत्कालीन सोभियत युनियनको अतिक्रमणले निम्त्याइएको युद्ध, तालिवानको वर्चस्वदेखि संयुक्त राज्य अमेरिकाले तालिवान माथि गरेको आक्रमणसम्मको विस्तृत व्याख्या छ । मरियम र लैला यस उपन्यासका मुख्य पात्र हुन् । कथाको प्रारम्भमा यी दुई महिलाको जीवनशैलीमा आकाश–जमीनको भिन्नता हुन्छ । तर युद्धको चपेटामा परेपछि उनीहरू दुवै एक–अर्काबीच बाँधिन पुग्छन् । मरियमको जीवन बाल्यकालदेखि एकदमै कष्टकर हुन्छ । उनी आफ्नी गरीब, रोगी र अविवाहित आमासँग बस्छिन्, समाजबाट निकै टाढा । बेलाबेला भेटघाट हुने भए पनि बाबुले उनलाई आआफन सन्तानसरह स्थान दिंदैनन् । मरियम १५ वर्षकी हुँदा रोगी आमाको पनि मृत्यु हुन्छ । त्यसपछि मरियमको बाबु छोरीको विवाह उनीभन्दा झ्न्डै २० वर्ष जेठो रसिद भन्ने जुत्ता व्यापारीसँग गरिदिन्छ । अब मरियम घरबाहिर सधैं बुर्का लगाएर मात्र निस्कन पाउँछिन् पति रसिदले उनलाई बारम्बार शारीरिक तथा मानसिक यातना दिन्छ । उनी कैयौं पटक गर्भपतनको शिकार हुन्छिन् ।
अर्की पात्र लैलाको बाल्यकाल शिक्षित र आधुनिक परिवारमा बित्छ । महत्वकांक्षी लैलालाई उनका पिताले उपलब्धिमूलक कार्य गर्नुपर्छ भन्ने हौसला दिन्छन् । तर एउटा बम आक्रमणमा लैला बाबुआमा समेत आफ्नो सर्वस्व गुमाउँछिन् । टुहुरी लैलालाई छिमेकी रसिद र मरियमले हेरचाह गर्न थाल्छन् । लैला रसिदको दोस्री पत्नी बन्न बाध्य हुन्छिन् र मरियम जस्तै शारीरिक र मानसिक यातनाको शिकार हुन्छिन् मरियम र लैलाको सम्बन्ध शुरूमा चिसो भए पनि परिस्थितिले ती दुईलाई एक–अर्काको नजिक ल्याउँछ । उनीहरूबीच विश्वासपूर्ण मित्रता मौलाउँछ ।
सरल र सटिक उपन्यासको कथावस्तु बुझन असहज छैन । पुस्तकले अफगानिस्तानको सामाजिक, राजनीतिक र आर्थिक अवस्थाबारे जानकारी दिन्छ । युद्ध निम्त्याएका हृदयविदारक घटनाहरूको विवरण पढ्दा पाठक भावविह्वल हुन्छन्, अफगान विद्रोही र सोभियत युनियनबीच भएको १० वर्ष लामो युद्धमा अफगानी जनताले धेरै दुःख खप्नुप¥यो । कैयौं युवाले अकालमा ज्यान गुमाए, लूटपाट बढ्यो र धेरै महिला बलात्कृत भए । लैलाले आफ्ना बाबुआमा, दुई दाजु र मिल्ने साथी गुमाउनु प¥यो । आफ्नो अस्तित्व जोगाउन रसिद जस्तो क्रूर व्यक्तिसँग अनमेल विवाह गर्नुप¥यो ।
तालिवानले अफगानिस्तानमाथि कब्जा जमाएपछि मुलुकको अवस्था झ्न् दयनीय बन्न थाल्यो । युद्धको कालखण्ड अगाडि अफगानी महिलाले उल्लेखनीय अधिकार पाएका थिए तर तालिवानको शरिया कानून लागू भएपछि उनीहरूको जीवन कष्टपूर्ण बन्न थाल्यो । महिलाहरू शिक्षा र राजनीतिबाट पूरै वञ्चित भए । उनीहरूलाई घरबाहिर काम गर्न अनुमति भएन । आफूलाई बुर्काले ढाकेर पुरुष नातेदारसँग मात्र उनीहरू घरबाट निस्कन पाउँथे । कानूनको पालना नगरे कोर्रा हान्नेदेखि ढुंगाले हिर्काएर मार्नेसम्मको सजाय दिइन्थ्यो । तालिवानको नियन्त्रणपछि मरियम र लैलाको कठिन जीवन अझ् अप्ठेरोमा घचेटियो । उनीहरूसँग केही गर्ने पनि स्वतन्त्रता थिएन र दबिएर बस्नु प¥यो । घरबाट एक्लै बाहिर निस्केको अभियोगमा लैलाले कैयौं पटक कोर्रा खानु परेको थियो ।
महिला हिंसा र शून्य मानवता
पुस्तकले महिलामाथि हुने हिंसा बढ्दै जाँदा, अफगानिस्तानमा मानवता शून्य हुन पुगेको हो कि भन्ने आभास दिन्छ । पुस्तकको विषयवस्तुले पाठकलाई अफगानिस्तानबारे अझ् जानकारी लिने इच्छा जगाउँछ । त्यति मात्रै होइन युद्धको असर त्यसको अन्त्य भएको कैयौं वर्षसम्म रहने वास्तविकता पनि खुलाउयँछ । युद्धले सामाजिक र आर्थिक विकास पछाडि त पार्छ नै, प्रभावित क्षेत्रका बासिन्दालाई लामो समयसम्म मानसिक तनाव पनि दिइरहन्छ । तालिवान शासनले अफगान महिलाहरूलाई कैदीसरह राखेको थियो । उनीहरू आउने–जाने ठाउँ कतै पनि थिएन । हिजोआज अन्तर्राष्ट्रिय हस्तक्षेपले तालिवानको शक्ति केही क्षय गराएको छ । फलस्वरुप अफगानी महिलाका निम्ति स्कूलहरू पुनः सञ्चालन भएका छन् र उनीहरूले भोट हाल्ने अधिकार पनि पाएका छन् । यद्यपि अहिले पनि अफगानिस्तानका विभिन्न क्षेत्रमा तालिवानको प्रभावले गर्दा कैयौं अफगानी महिलाहरू यस्ता अधिकारबाट वञ्चित नै छन् ।
लेखक भन्छन्— युद्ध र तालिवान अतिक्रमण बाहेक अफगानिस्तानको सामाजिक संरचना पनि महिलामाथि विभेदको कारण हो । घरमुली पुरुषले महिलालाई नियन्त्रण गर्छन् र महिलाहरू घरेलु हिंसाको शिकार हुन्छन् । दक्षिण एशियाका अन्य मुलुक जस्तै अफगानिस्तानमा छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिइन्छ । रसिदले लैलाको पहिलो सन्तान छोरी हँुदा हेलाँको दृष्टिले हेरेका थिए भने छोरालाई आँखाको तारासरह मानेका थिए । बालविवाह र अनमेल विवाह अफगानका गम्भीर सामाजिक कुरीति हन् । यस्तै कुरीतिका कारण मरियम अनमेल र बालविवाह दुवैको भागिदार हुन पुगिन् । सानै उमेरमा गर्भवती मात्रै होइन उनले बारम्बार गर्भपातको शिकार पनि हुनुप¥यो । अफगानिस्तानमा मरियम जस्ता थुप्रै बालिका छन् जो आफ्नो परिवारको इज्जत धान्न गरीबीको कारणले बालविवाह गर्न बाध्य छन् ।
महिला अधिकार
अफगानिस्तानमा महिलाहरूले सन् १९१९ मै भोट हाल्ने अधिकार पाएका थिए । १९६० देखि राजनीतिमा प्रवेश गर्ने अर्थात् उम्मेदवार हुने मौका पनि दिइएको थियो । सन् ७० को दशकमा आइपुग्दासम्म शहरी क्षेत्रमा बस्ने अफगानी महिलाले धेरै स्वतन्त्रता पाइसकेका थिए । उनीहरू पुरुषसरह विश्वविद्यालयमा अध्ययन गर्थे र विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान दिन सफल थिए । उनीहरूले लगाउने पोशाकमा पनि खासै बन्देज थिएन । तर १९७९ को सोभियत अतिक्रमण पछि शुरू भएको राज्य र विद्रोहीबीचको द्वन्द्वसँगै अफगान महिलाहरूले आफ्ना सारा अधिकार गुमाए । युद्ध र गृहयुद्धले त्यस मुलुकलाई थप अँध्यारोतर्फ धकेल्यो । राजनीतिक अवस्था स्थिर भएको भए लैलाजस्ता महिलाहरूले शिक्षाको बाटो लिएर उल्लेखनीय कार्य गर्न सक्थे ।
होसेनीले प्रस्तुत गरेको अफगानिस्तानको कथाले केही गम्भीर प्रश्नहरू खडा गर्छ । के युद्ध र द्वन्द्वको बाटो प्रगतिको पथ हो ? आफ्नो शक्ति प्राप्तिका लागि हिंसाको बाटो कति उचित हुन्छ ? युद्धको समय महिला र बालबालिकाको सुरक्षा कसरी प्रत्याभूत गर्ने ? युद्ध पश्चात् महिलाको हकअधिकार सुनिश्चित कसरी राख्ने ? विश्वका विभिन्न युद्ध र द्वन्द्वरत कालखण्डमा महिला र बालबालिकाको जीवन कठिन बन्न पुगेका थुप्रै उदाहरण छन् । यौन शोषण र बलात्कार जस्ता घटना बाहेक मानव तस्करी र देहव्यापार जस्ता सामाजिक कुरीतिहरू बढ्दो छन् । युद्धको चपेटा छल्न महिलाहरू खतरनाक यात्रा गर्न बाध्य हुन्छन् । यस्ता परिवारहरूसँग दुईवटा विकल्पहरू हुन्छन्— आफ्नै देशमा बसेर गोली, बम र रसायन आक्रमणको शिकार हुने अथवा जोखिमयुक्त यात्रा गरी सुरक्षित ठाउँमा पुग्ने । युद्धले नागरिकहरूलाई कति लाचार र आशाहीन तुल्याउँछ भन्ने कुरा लेखक होसेनीले अत्यन्त मार्मिक ढंगबाट प्रस्तुत गरेका छन् ।
युद्धको अवशेष
विज्ञान र प्रविधिको ठूलो फड्को वर्तमान युगको वास्तविकता हो । यो प्रविधि युद्धमा भरपुर प्रयोग भएको छ । मानव इतिहासमा युद्ध नभएका होइनन् । तर आधुनिक प्रविधिको आगमन र प्रयोगका कारण हिजोआज हुने युद्ध विगतभन्दा धेरै घातक भएका छन् । विगतमा युद्धहरू जमीन, स्रोत र सीमा रक्षाका लागि हुने गर्थे भने हिजोआज शक्ति प्रदर्शन र विद्रोहीलाई दबाउन गरिन्छ । कारण जेसुकै होस्, आखिर मारमा पर्ने सर्वसाधारण जनता— त्यसमा पनि महिलाहरू हुन पुग्छन्; जसको कुनै दोष हुन्न । ठूल्ठूला बम प्रहार गरेर समृद्ध मुलुकहरू आफ्नो शक्तिको प्रदर्शन गर्छन् तर त्यसको प्रहारले एकैचोटि धूलो बनेको शहर, घाइते भएकाहरूको कथा हराउँछ, तिनको उद्धार कसले गर्छ भन्ने प्रश्न राजनीतिमा हराउँछ । हामी आफूलाई सभ्य ठान्छौं र ठीक–बेठीक छुट्याउने क्षमता छ भनेर गर्व पनि गर्छौं । तर पनि युद्ध र द्वन्द्वमा आमनागरिक र खासगरी महिला तथा बालबालिकाको अधिकार निरन्तर हनन् हुने गरेको छ ।
युद्धजस्ता द्वन्द्वलाई कतिले सकारात्मक रूपमा पनि लिने गरेका छन् । समाजलाई अघि बढाउन युद्ध आवश्यक छ भन्ने विचार प्रकट हुने गरेको पनि पाइन्छ । तर प्रश्न उठ्छ, आफ्नो सिद्धान्तलाई उच्च राख्न हिंसाको बाटोमा लाग्नु सही निर्णय हो ? हतियार उठाउने बित्तिकै कैयौं निर्दोष व्यक्तिहरू युद्धको भुमरीमा फस्छन् । युद्धको कारण नै लैलाले आफ्नो सम्पूर्ण परिवार गुमाइन् र विचलित अवस्थामा पुगिन् । लैला उपन्यासकी पात्र हुन् तर युद्धको कारण नजिकको सदस्य गुमाउने लैलाजस्ता लाखौं द्वन्द्वपीडितहरू आजको अफगानिस्तानमा छन् । यसर्थ, हतियार उठाउनुअघि नेतृत्वले युद्धले ल्याउने नतिजाको गहिरो मूल्याङ्कन गर्न सक्नुपर्छ । केही गलत भएको छ भने त्यसको विरुद्ध लड्न सक्नुपर्छ । युद्ध अन्य तरिकाले लड्न पनि सकिन्छ । शान्तिपूर्ण लडाइँहरू आफैंमा कम प्रभावकारी भएका छैनन् । तसर्थ युद्धको सट्टा वैकल्पिक बाटो रोजेर राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सकारात्मक परिवर्तन ल्याउन सक्नु आजको खाँचो भएको छ ।
अन्त्यमा
माओवादी द्वन्द्वको कालखण्डमा धेरै नेपालीले पीडा खपेका थिए, डर र त्रासले जीवन त्राहित्राहि बनेको थियो । थुप्रै युवाले ज्यान गुमाए, कति विदेश पलायन भए । घरका पुरुष सदस्यको मृत्यु र पलायनपछि महिलाहरूको काँधमा धेरै जिम्मेवारी थपियो । कलिलो उमेरमा लडाकू भएकाहरूले शिक्षा पूरा गर्न पाएनन् । हिंसात्मक द्वन्द्वको समाप्तिपछि नेपालले केही प्राप्त ग¥यो तर गुमाएका विषयहरू बिर्सन गाह्रो छ । लेखक होसेनीले उपन्यासको माध्यमबाट युद्ध र हिंसाको विरोध गर्दै कसैगरी पनि मानवअधिकार हरिनुहुँदैन भन्ने पैरवी गरेका छन् ।
(श्रेष्ठ वातावरण विज्ञान विषयकी अध्येता हुन् ।)

No comments:
Post a Comment