Monday, January 23, 2017

२०७३ पुस अंक_बढ्दो आर्थिक असमानताबारे थप विश्लेषण_समीक्षक : हरि रोका

बढ्दो आर्थिक असमानताबारे थप विश्लेषण
पुस्तक : इनइक्वालिटीः ह्वाट क्यान बी डन ?
लेखक : एन्थोनी बार्नेस ‘टोनी एट्किन्सन’          प्रकाशक : हार्वर्ड युनिभर्सिटी प्रेस
पृष्ठ : ३८४                                                                 मूल्य :  २९.९५ डलर
समीक्षक : हरि रोका
सर एन्थोनी बार्नेस ‘टोनी एट्किन्सन’ बेलायती अर्थशास्त्री हुन् । झ्न्डै चार दशकदेखि सम्पत्ति वितरण र असमानताबारे बृहत् खोज र अनुसन्धानमा संलग्न छन् उनी । बेलायतका विभिन्न कलेज र विश्वविद्यालयहरूमा लामो समय अध्यापन गरिसकेका एट्किन्सनका सन् १९६६ देखि २०१५ सम्ममा ५० भन्दा बढी अर्थशास्त्र सम्बन्धी एकल र संयुक्त पुस्तकहरू, ३५० को हाराहारीमा खोज तथा अनुसन्धानमूलक लेख–रचना प्रकाशित छन् । ७२ वर्षीय एट्किन्सन उदारवादी पूँजीवादी अर्थशास्त्रीहरूले सम्मानसाथ लिने नाम हो । एट्किन्सनले सन् २०१५ मा इनइक्वालिटीः ह्वाट क्यान बी डन ? नामक पुस्तक लेखे जसलाई हार्वर्ड युनिभर्सिटी प्रेसले छापेर बजारमा ल्यायो । उदारवादी अर्थशास्त्रीहरूका गुरु मानिने एट्किन्सनको यो चर्चित पुस्तक सन् २००८ को बृहत्–मन्दीपछि असमानतामाथि लेखिएका झ्ण्डै आधा दर्जन प्रभावकारी पुस्तकमध्ये एक हो ।

असमानताको बहस
सन् २०१५ को जनवरीमा डाभोसमा सम्पन्न वल्र्ड इकोनोमिक फोरममा अक्सफामकी एक्जुकेटिभ डाइरेक्टर विन्नी ब्यानीमाले बृहत् मन्दीपछि थोरै व्यक्तिमा एकत्रित हँुदै गएको सम्पत्ति सञ्चितिले आर्थिक वृद्धि र सरकार सञ्चालन दुवैमा प्रभाव पार्ने बताउँदै भनेकी थिइन्, ‘धनीहरू सत्ताधारीलाई प्रभावमा पारेर कर कटौती मात्र गर्दैनन् समाजमा आवश्यकता धेरै भएका मानिसको जनजीविकाका लागि सहयोगी वस्तु वितरणमा समेत रोक लगाउँछन् । तसर्थ असमानता सहज र स्वाभाविक रूपमा बढेको होइन, जानीजानी रचना गरिएको विषय हो ।’ विन्नीले मूलधारका अर्थशास्त्रीहरूलाई असमानताको प्रश्न आर्थिक वृद्धिको सह–उत्पादनका रूपमा मात्र हेर्ने गरेको र सन् २००८ को वित्तीय सङ्कट जस्तो ठूलो दुर्घटना निम्तिंदा पनि गम्भीर नभएको आरोप लगाएकी थिइन् । सन् २०१६ को जनवरीमा प्रकाशित अक्सफामको एक प्रतिवेदनले आर्थिक हिसाबले सबैभन्दा तल रहेको विश्व जनसंख्याको (३ अर्ब ६० करोड) आधाभन्दा बढी सम्पत्ति ६२ जना व्यक्तिको हातमा थुप्रिएको आँकडा प्रस्तुत गरेको थियो । सन् २०१४ मा यो संख्या ८० थियो भने सन् २०१० मा ३८८ ।

असमानताको विषयलाई यहाँ सँगै समीक्षा गरिएका अर्थशास्त्री थोमस पिकेट्टीका पुस्तकले पनि उठाएका छन् । (हे.पृष्ठ ५१) असमानताबारे पिकेट्टीले अगाडि सारेका प्रमुख तीन वटा तथ्य हुन्— १. पछिल्लो ३० वर्षमा आय र सम्पत्तिको अनुपात क्रमिक रूपमा बढेको देखिन्छ । २. आयआर्जनको भन्दा सम्पत्ति वृद्धिको अनुपात बढ्यो भने सम्पत्ति केही व्यक्तिमा मात्रै थुप्र्रिंदै जान्छ । र ३. समाजमा विभाजनको गहिरो खाडल कोरिनुअघि वा समाज ध्वस्त हुनुअघि नै कर लगाएर नयाँ वितरणमा जानुको विकल्प छैन । १९८० को दशकमा नवउदारवादी व्यवस्थाको हालीमुहाली शुरू भएपछि विश्व अर्थतन्त्रमा दुइटा शक्तिगत प्रवृत्ति देखा परे । पहिलो, पूँजीवादी अर्थतन्त्रमा कम उत्पादन (आउटपुट) तर आयमा वृद्धि (इनकम ग्रोथ) देखियो । दोस्रो, आय बृद्धिसँगै रोजगारी बढाउनेतर्फ घट्दो ध्यान । फलस्वरूप अर्थतन्त्रको विस्तार वा आम मानिसको पूँजी निर्माणमा संलग्नता बढाउन राज्यको खर्च जुन हिसाबमा बढ्नुपथ्र्यो सो अनुसार बढेन, घट्यो । सामान्य मानिस आयआर्जन गर्ने क्रियाकलापमा पछिपरे । असमानता चुलिनु अस्वाभाविक थिएन ।

एट्किन्सन पूँजीवादले निम्त्याउने सम्भावित सङ्कटका केस्रा–केस्रा केलाउँछन् । शायद सङ्कटलाई मध्य नजर गरेर होला उनले अर्थशास्त्रलाई सामाजिक र नैतिक (सोसल एण्ड मोरल) विज्ञानका रूपमा व्याख्या गरेका छन् । पुस्तकले पारिवारिक सहयोग र फाइदाका लागि प्रगतिशील करमा फर्कनुपर्ने तर्क गर्छ । एट्किन्सनको विश्लेषण अमेरिकी अर्थशास्त्री साइमन कुज्नेतसको अनुसन्धानसित पनि जोडिन्छ । सन् १९५३ मा कुज्नेतसले ‘सेयर्स अफ अपर इनकम ग्रुप एण्ड सेभिङ’ नामक अध्ययन प्रकाशित गरे जुन अमेरिकी राष्ट्रिय आय र सम्पत्तिको पहिलो विवरण मानिन्छ । सो अध्ययनले सन् १९१३ देखि वर्षैपिच्छे आम अमेरिकीको सम्पत्ति वितरण, कर व्यवस्थापन, संघ र राज्यहरूले उठाउने कर एवं खर्चको प्रष्ट चित्र उतारेको थियो । यो विश्लेषणले राज्यलाई चुलिंदो असमानता नियन्त्रण गर्ने बाध्यता सिर्जना गरेको थियो । सन् १९७८ मा एट्किन्सनले अलान ह्यारिसनसँगको सहकार्यमा कुज्नेतसले देखाएको बाटो परिमार्जन गर्दै र डिष्ट्रिब्युसन अफ पर्सनल वेल्थ इन ब्रिटेन नामक पुस्तक प्रकाशित गरे । त्यस पुस्तकमा सन् १९१० देखि १९७५ सम्म बेलायतमा आर्थिक, सामाजिक तथा राजनीतिक शक्तिहरूले आर्थिक र सामाजिक क्षेत्रको विकासमा के–कस्ता योगदान गरे भन्ने प्रष्ट्याउँदै आर्थिक व्यवस्थापनमा वितरणको भूमिका उजागर गरिएको छ । 

अन्यत्रका असमानता
बढ्दो असमानताको वास्तविकता विकसित पूँजीवादी मुलुकहरूमा मात्रै सीमित छैन । कम उत्पादन तर आय भने बढ्दै गरेको विडम्बनालार्ई क्रेडिट सुसेले सन् २००० देखि २०१४ सम्म गरेको सर्वेक्षणले पनि उजागर गरेको छ । (ग्लोबल वेल्थ डाटाबुक, २०१४ पृष्ठ १२७) अर्जेन्टिना, चिली, चीन, ग्रीस, भारत, टर्की, युनाइटेड अरब इमिरेट्स जस्ता मुलुकमा धनी अर्थात् माथिल्लो १ देखि १० प्रतिशतसम्मको वित्तीय पूँजी आर्जन दर बढी देखिएको छ । सन् २००० देखि २००७ सम्मको तथ्याङ्कमा पनि यस्तै क्रम देखिएको थियो । दुवैको निक्र्योल हो— धनी र गरीबबीच रहेको असमानताको खाडल झ्न् गहिरो बन्दै गएको छ । एट्किन्सनले अति विकसित मुलुकको असमानताबारे समाधान प्रस्तुत गरेका छन् । तर विकासशील तथा कम विकसित मुलुक असमानताबाट कसरी मुक्त हुनसक्छन् भन्ने चर्चा भने गरिएको छैन । नेपालजस्ता मुलुकले असमानता कसरी हुन नदिने ? त्यसबाट कसरी उम्कने ?

विश्वव्यापी परिवेशका अध्येता अर्थशास्त्री ब्रान्को मिलानोभिक असमानताको यो स्थितिलाई तीन किसिमबाट हेर्नुपर्ने बताउँछन् । पहिलो, धेरैवटा देशबीचको तुलनात्मक अध्ययन । उनी भन्छन्, परिवारको आय–आर्जन र सम्पत्ति (हाउसहोल्ड इनकम्स एन्ड वेल्थ) संलग्न नगरेर अध्ययनमा गणितीय ‘मीन’ मार्फत अर्थात् प्रत्येक देशको कुल राष्ट्रिय आयलाई कुल जनसंख्याले भाग गर्दै ‘मीन इन्कम’ को गिनी कोफिसियन्ट निकाल्नुपर्छ । दोस्रो, गरीबी वा असमानताको आकलन अङ्कगणितीय ‘मीन’ का आधारमा होइन व्यक्ति वा पारिवारिक खर्च गर्ने क्षमता (पर्चेजिङ पावर पारिटीः पीपीपी) का आधारमा गर्नुपर्छ । विभिन्न मुलुकका जनताको जीवनस्तर, लवाइखुवाइ वा कमाइधमाइमा एकरूपता नभएको हुँदा यो विधि आवश्यक हुन्छ । यसको एउटा कारण हो, सन् १९९० पछि केही विकासशील मुलुकको जनसंख्याको वितरण । ती मुलुकमा जनसंख्याको चाप छरिने (डिभरजेन्स) भन्दा एकीकृत हुने (कन्भरजेन्स) क्रम बढेको छ । अर्थात् शहरतर्फ आकर्षित हुने वा नयाँ शहर बसाल्नेतर्फ ध्यान आकृष्ट हुन थालेको देखिन्छ । चीन र भारत यसका उदाहरण हुन् । ३० वर्षको अवधिमा चीनको शहरी जनसंख्या २५ प्रतिशतबाट बढेर ५० नाघेको छ भने भारतले चीनलाई पछ्याइरहेको छ । यी मुलुकका क्रमशः झ्न्डै २५ र १० प्रतिशत जनसंख्या नाटकीय ढङ्गले मध्यम वर्गमा उक्लन सफल भएका छन्, तर गरीब जनसंख्या भने झ्न् डरलाग्दो गरी सीमान्तकृत हुन पुगेका छन् । ब्रान्को अगाडि लेख्छन्, ‘३० वर्षको अवधिमा चीनका झ्न्डै ४० प्रतिशत घरधुरीले आफ्नो सामुदायिक जमीन (कम्युनल ल्यान्ड) गुमाए । तिनका खाद्यान्न कुपन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा सुविधा जस्ता कुरा पनि गुमे । चीनको भन्दा बढी दयनीय हालत भारतको छ । 

ब्रान्कोले प्रस्तावित गरेको तेस्रो विधि घरधुरी सर्वेक्षणसित सम्बन्धित छ । कतिपय अति कम विकसित मुलुकहरूमा घरधुरी सर्वेक्षण गर्ने अवस्था नरहन सक्छ । ब्रान्को भन्छन्, त्यस्तो अवस्थामा आफूजस्ता वा आफूूभन्दा विकसित मुलुकहरूका सर्वेक्षणलाई आत्मसात् गरेर पनि हिसाबकिताब गर्न सकिन्छ । उदाहरणका लागि अमेरिकामा एउटा कारको मूल्य १ हजार डलर पर्छ भने नेपालमा रु.१ लाख १० हजार पर्ने भयो (१ डलर = ११० नेरु) । वार्षिक रु.११ लाख (१०,००० डलर) आम्दानी गर्ने नेपालीले त्यो कार खरीद ग¥यो भने उसले आफ्नो आम्दानीको १० प्रतिशत लगायो । यसरी हरेक घरधुरीको डलर हिसाब गर्न सकिन्छ । यद्यपि मिलानोभिक भन्छन्, यो बोझ्लिो तरीका हो । एट्किन्सनले ब्रान्कोको सल्लाहलाई स्वीकार्ने आवश्यकता महसूस गर्नुपर्ने थिएन । किनकि बेलायती असमानता मापनका लागि सही तथ्याङ्क प्राप्त गर्न कुनै कठिनाइ थिएन । तर तेस्रो विश्वका मुलुकहरूका लागि ब्रान्कोका प्रस्तावित विकल्पहरू मननीय छन् ।

करको दायरा
एट्किन्सनका अनुसार सन् १९८० को दशकदेखि आयकरको दर घटाउन थालेपछि समाजको ठूलो पंक्ति पछाडि धकेलिएको र थोरैको हातमा सम्पत्ति थुप्रिदै गएकोले असमानता त्यही अनुपातमा बढ्दै गएको छ । बितेका लगभग ३० वर्षमा आयकरको दर ५० प्रतिशत माथि पुग्नै सकेन । उनले बेलायतमा १ लाख पाउण्डसम्म ५५ प्रतिशत र २ लाख पाउण्डभन्दा बढी आम्दानी भएमा ६५ प्रतिशत वार्षिक कर लगाउने प्रावधान बनाउनैपर्ने प्रस्ताव गरेका छन् । पुस्तकमा एट्किन्सनले प्रष्ट भाषामा करको दर तोकेर धनीमाथि आयकर लगाउनुपर्छ भनेका छन्, यद्यपि यसअघि उनले यस्तो तर्क गरेका थिएनन् ।

एट्किन्सनका अन्य प्रस्ताव हुन्— सार्वजनिक तहमा कामको ग्यारेन्टी, मजदूरलाई सङ्गठित हुन पाउने अधिकार, प्रविधिमा आउने परिवर्तनको सार्वजनिक नियमन (रेगुलेसन) र पूँजीमा सबै मानिसको पहुँच । पुस्तकमा यी विषय विस्तृत रूपमा व्याख्या गरिएको छ । सुधारका लागि एट्किन्सनले सम्बन्धित पक्षहरूलाई कम्तीमा निम्न कुरामा ध्यान दिन आग्रह गरेका छन् (१) राज्यबजारमा पूर्णरूपमा निर्भर रहनुहुँदैन । कम्तीमा प्रतिस्पर्धा र एकाधिकार के हो छुट्याएर हेर्न सक्नुपर्छ । अनुगमनलाई सशक्त बनाउनु आवश्यक हुन्छ । (२) मजदूरका हक र हितका लागि ट्रेड युनियनहरू बलिया हुनुपर्छ । (३) बेरोजगारलाई सरकारले न्यूनतम ज्याला उपलब्ध गराउने गरी काम दिन सक्नुपर्छ । वृद्ध, बालबालिका, असक्त असहायलाई कम्तीमा खाना खाने प्रबन्ध मिलाउन सक्नुपर्छ । (४) व्यक्तिगत आय–आर्जनमा कम्तीमा ६५ प्रतिशत प्रगतिशील कर लगाउनुपर्छ । (५) प्रत्येक केटाकेटीका लागि ‘बालबालिका फाइदा कोष’ निर्माण गरेर उनीहरूलाई दरिद्रताको घेराभन्दा बाहिर राखिनुपर्छ । उनका यी प्रस्ताव सम्पत्ति माथि लोकतान्त्रिक हिसाबले पहँुच पुगोस् भन्ने चाहनासँग जोडिएको देखिन्छ । ‘सोभरन वेल्थ फण्ड’ को व्यवस्था गरेर पूँजी र स्वामित्व दिलाउने लेखकको प्रस्ताव अहिलेसम्मका मूलधारका अर्थशास्त्रीहरूले गरेका थिएनन् । एट्किन्सनले थ्याचरिज्म (अर्थात् बेलायतकी प्रधानमन्त्री मार्गरेट थ्याचरद्वारा प्रतिपादित अर्थव्यवस्था) का कारण हटाइएका इस्टेट ट्याक्स, पोल ट्याक्स तथा फ्ल्याट–रेट–ट्याक्सजस्ता ट्याक्सहरू फेरि परिचालित गरी सो रकम बालबालिकाको शिक्षा र स्वास्थ्यमा लगानी बढाउनुपर्ने राय व्यक्त गरेका छन् ।

परिवर्तित राजनीति
विश्लेषकले बढ्दो असमानतालाई चुनौतीको रूपमा प्रस्तुत गरेको भए पनि नीति परिवर्तनमा यस्ता आधारको खासै प्रभाव परेको देखिंदैन । एट्किन्सनको पुस्तक प्रकाशित भएपछि भएको जनमत संग्रहमा बेलायत युरोपेली संघबाट बाहिरिने पक्षले विजय हासिल ग¥यो र नोभेम्बर ९ तारिख २०१६ मा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भए । यी दुवै घटनामा भूमण्डलीकरणका विभिन्न पक्ष आलोचित भएका थिए । के यी घटना भूमण्डलीकरणको युग समाप्त हुँदै विकसित मुलुकहरू संकुचित राष्ट्रवादतर्फ उन्मुख हुन लागेका सङ्केत हुन् ? संकुचित राष्ट्रवादको आरम्भमा असमानतालाई हटाउन एट्किन्सनका प्रस्तावहरू सत्तारुढ राजनीतिक दलहरूले गम्भीरतापूर्वक लिने क्रम देखिएला ? सहयात्री दक्षिणपन्थी बुद्धिजीवीहरूले एट्किन्सनलाई साथ दिन्छन् त ? राष्ट्रवादका नाममा राजनीति दक्षिणपन्थ हुँदै गएको वर्तमान अवस्थामा यस्ता प्रस्ताव सुनिन्छ भन्ने लाग्दैन, बरू थप आर्थिक, राजनीतिक र सांस्कृतिक सङ्कट देखिने प्रबल सम्भावना छ । एट्किन्सनको पुस्तक, असमानता कम गर्ने बाटो खोज्न साह्रै उपयोगी सामग्री हो ।
(समीक्षक अर्थ–राजनीतिक विश्लेषक हुन् ।)

२०७३ पुस अंक_पूँजीवादको यात्रा_समीक्षक : रोजन बज्राचार्य

पूँजीवादको यात्रा
पुस्तक : क्यापिटलिज्म ४.० : द बर्थ अफ अ न्यू इकोनोमी इन द आफ्टरम्याथ अफ द क्राइसिस
लेखक : अनातोली क्यालित्स्की                      प्रकाशक : ब्लूम्सवरी, यूके, २०११
पृष्ठ : ४४८                                                      मूल्य : १०.९९ स्टर्लिङ पाउण्ड
समीक्षक : रोजन बज्राचार्य
पूँजीवाद समयानुकूल परिष्कृत हुँदै जान्छ भन्ने आमबुझइ छ । अनातोली क्यालित्स्की ९ब्लबतयभि प्बभितकपथ० को क्यापिटलिज्म ४.० ः द बर्थ अफ अ न्यू इकोनोमी इन द आफ्टर म्याथ अफ द क्राइसिस पुस्तकले पनि यस्तै विश्लेषण गरेको छ । टाइम्स म्यागजिनका सम्पादक रहिसकेका क्यालित्स्कीले पुस्तकमा पूँजीवादको दुई सय वर्षको इतिहासमा हरेक विश्व—आर्थिक मन्दीपछि कसरी सरकारको भूमिका र सरकार एवं बजारबीचको सम्बन्ध परिवर्तन भयो भन्ने विश्लेषण गरेका छन् । 

पहिलो र दोस्रो संस्करण
क्यालित्स्कीले पहिलो विश्वयुद्घसम्मको अर्थतन्त्रलाई पूँँजीवादको पहिलो संस्करण (संख्या १.०) भनेका छन् । त्यसबेला बजारले अर्थतन्त्रलाई चलायमान राख्छ भन्ने सिद्घान्त सर्वमान्य थियो, राजनीतिज्ञ र अर्थशास्त्रीबीच वैचारिक सम्बन्ध थिएन । युद्घ खर्चका लागि उठाइने कर बाहेक अन्य आर्थिक क्रियाकलापमा सरकारको खासै भूमिका हुने गर्दैनथ्यो । पहिलो विश्वयुद्घबाट गुज्रिएर सन् १९३० सम्म आइपुग्दा अमेरिका ठूलो आर्थिक मन्दीमा प¥यो । त्यो महामन्दीले ल्याएको सामाजिक चुनौतीलाई सम्बोधन गर्न पूँजीवादको पहिलो संस्करणमा परिमार्जनको आवश्यकता महसूस गरियो । यसका लागि सरकार र राजनीतिज्ञहरूको भूमिका अपरिहार्य मानियो । त्यस दशकमा अंग्रेज अर्थशास्त्री जोन म्यानार्ड किन्स्को आर्थिक सिद्धान्त र अमेरिकी राष्ट्रपति फ्य्रांकलिन रुजभेल्टको ‘न्यू डिल’ नीतिले पूँजीवादको मुहार फेरिदियो । सरकार, त्यसलाई चलाउने राजनीतिक दल, त्यसका नेता र सल्लाहकारहरूले मन्दीबाट उत्पन्न चुनौती सामना गर्न सक्छन् भन्ने विचारले प्रोत्साहन पायो । क्यालित्स्की यस कालखण्डलाई पूँजीवादको दोस्रो संस्करण (संस्करण २.०) भन्छन् । 

तेस्रो संस्करण
सन् १९७० को दशकमा विश्वमा फेरि आर्थिक मन्दी छायो । सन् १९८० मा अमेरिकी राष्ट्रपति चुनिएका रोनाल्ड रेगन र त्यसअघि ब्रिटेनको प्रधानमन्त्री बनेकी मार्गरेट थ्याचरले मन्दी समाधान गर्न खुला अर्थनीतिको अवधारणा अगाडि सारे । बजारवाद महŒवपूर्ण हुन्छ भन्दै यी दुवै नेताले खुला अर्थनीतिलाई आफ्नो चुनावी मुद्दा बनाएका थिए । यस कालखण्डमा सरकारको भूमिका गौण पार्दै बजार व्यवस्थालाई पूँजीवाद र अर्थतन्त्रको मेरुदण्डका रूपमा अगाडि बढाइयो । खुला बजार पुनरागमनको यस कालखण्डलाई क्यालित्स्कीले पूँजीवादको तेस्रो संस्करण अर्थात् ३.० भनेका छन् ।

क्यालित्स्की भन्छन्, “यसरी पूँजीवादको एउटा अध्यायको चुनौती समाधान गर्न पूँजीवादकै अर्को अध्याय आयो । राष्ट्रपति रुजभेल्टको ‘न्यू डिल’ नीति पहिलो विश्वयुद्घसम्म चलेको बजार अर्थतन्त्र भन्दा भिन्न थियो भने थ्याचर र रेगनका अर्थनीति ‘न्यू डिल’ भन्दा फरक ।” क्यालित्स्की अगाडि भन्छन्, “यसरी पूँजीवादको एउटा अध्यायले भोग्ने चुनौती समाधान गर्न पूँजीवादकै अर्को संस्करण आउने क्रम भविष्यमा पनि चलिरहनेछ ।”

संस्करण ४.०
पुस्तकमा क्यालित्स्कीले २००८ मा शुरू भएको वित्तीय सङ्कटपछिको कालखण्डको पनि विश्लेषण गरेका छन् । त्यस वर्ष लेहम्यान ब्रदर्स र नर्थ रक जस्ता वित्तीय संस्थाहरू डुबेपछि पूँजीवादको नयाँ कालखण्ड शुरू भयो जसलाई लेखक पूँजीवादको संस्करण ४.० को संज्ञा दिन्छन् । सन् २००८ को वित्तीय सङ्कटका निम्ति उनी तत्कालीन अमेरिकी राष्ट्रपति जर्जडब्ल्यु बुश सरकारका वित्तमन्त्री हेनरी पाउलसनलाई मुख्य रूपमा जिम्मेवार ठह¥याउँछन् । लेखक भन्छन्, “पाउलसनले लेहम्यान ब्रदर्स लाई लिक्विडेसनमा पठाएर अरू वित्तीय संस्थालाई पनि सङ्कटमा पारेपछि अमेरिकी अर्थतन्त्र मात्र होइन विश्व अर्थतन्त्रमा नै त्यसको प्रभाव परेको थियो ।” उनले पाउलसनलाई पूँजीवादका लागि विश्वमा नै खतरनाक व्यक्तिका रूपमा प्रस्तुत गरेका छन् । सन् २००८ को वित्तीय सङ्कट व्यापक आर्थिक सङ्कटको रूपमा परिणत भएको क्यालित्स्कीको विश्लेषण छ । पाउलसनको निर्णय गलत सावित गर्न पुस्तकमा क्यालित्स्कीले ‘पाउलसनका आर्थिक प्रभावहरू’ (द इकोनोमिक कन्सिक्वयन्सेस अफ मिस्टर पाउलसन) भन्ने शीर्षकमा एउटा विस्तृत र छुट्टै खण्ड प्रस्तुत गरेका छन् ।

नीति र रणनीति
क्यालित्स्की भन्छन्, “पूँजीवादको चौथो संस्करणमा बजार व्यवस्थापन र समन्वयमा सरकार जिम्मेवार हुनुपर्छ । सरकारले बजारको माग पहिल्याई यसका विकृतिको लेखाजोखा गरी बजारलाई सन्तुलन गर्ने भूमिका निर्वाह गर्नुपर्छ ।” बजारको समुचित व्यवस्थापनका लागि राजनीतिक र आर्थिक हिसावले चाल्नुपर्ने कदम र लिनुपर्ने नीतिको फेहरिस्त पनि तयार पारेका छन् लेखकले । उनले त्यसमा उल्लेख गरेका तर्क र उपाय नौला र सिर्जनात्मक भने होइनन्; किनभने यस्ता औजारबारे वुद्घिजीवीहरूबीच धेरै पहिलेदेखि नै चर्चा–परिचर्चा हुने गरेको छ । क्यालित्स्कीले पुस्तकमा मुद्रा, वित्त, ऊर्जा, स्वास्थ्य सेवा, कर, वातावरण र आवास व्यवस्थापनका विषयमा केही पूर्वानुमान पनि गरेका छन् । 

क्यालित्स्कीको तर्क अर्थशास्त्री जोशेप शुम्पिटरको क्रिएटिभ डिस्ट्रक्सन सिद्धान्तमा आधारित छ भन्ने अनुभूति हुन्छ । औद्योगिकीकरणले अर्थतन्त्रलाई परिष्कृत बनाउने मात्रै होइन, नयाँ व्यवस्था र संरचना पनि ल्याउँछ एवं पुरानोलाई विस्थापित गर्छ भन्ने सिद्धान्त शुम्पिटरले प्रतिपादित गरेका थिए । शुम्पिटरले यो प्रक्रिया दिगो नहुने विचार राखे तापनि क्यालित्स्की यस सिद्धान्तबारे आशावादी देखिन्छन् । उनी भन्छन्, “हरेक आर्थिक मन्दीको चुनौती सामना गर्न नीतिनिर्माताहरू नौलो सोचका साथ आउने छन् ।” परिवर्तनलाई आत्मसात् गर्ने गुणका कारणले मात्र नभई साम्यवादी अर्थतन्त्रले जस्तो भूल नगरेका कारणले पनि पूँजीवाद जीवित रहिरहनेछ भन्ने अन्य विश्लेषकहरूको पनि निक्र्योल रहेको छ ।

क्यालित्स्की नीतिनिर्माताप्रति अतुलनीय विश्वास राख्छन् । नीतिनिर्माताले कुनै पनि विश्व आर्थिक मन्दीको समाधान पहिल्याउने छन् र अर्थतन्त्र सही बाटोमा ल्याउने छन् भन्ने उनी ठान्छन् । तर तिनै नीतिनिर्माताको कारणले नै आर्थिक मन्दी निम्तिएको आरोप पनि उनले लगाएका छन्, पुस्तकमा । सरल भाषामा लेखिएको यस पुस्तकमा पूँजीवादले भोगेका आरोह–अवरोहका विवरणका साथै यस विषयका केही वाद–विवाद, बजारवादको स्तर एवं विभिन्न कालखण्डमा राजनीतिक नेता र बुद्घिजीवीले खेलेको भूमिका पनि प्रस्तुत छन् । मूलतः घटनाक्रमलाई आधार बनाएर लेखिएको पुस्तक कुनै सिद्धान्तबाट निर्देशित नभए तापनि अर्थशास्त्र र राजनीतिमा रुचि राख्ने पाठकका लागि उपयोगी छ ।

सामान्यतः राजनीतिक नेताले नीतिनिर्माताको भूमिका निर्वाह गर्छन् । तर धेरै मुलुकमा नेतृत्व पंक्ति खास सिद्धान्त आत्मसात् गर्ने भन्दा पनि शासनसत्तामा निर्वाचित हुने वा मनोनीत हुने र आफ्नो सत्ता धेरैभन्दा धेरै दिनका लागि टिकाइराख्न लिप्त रहने गरेको पाइन्छ । व्यक्तिगत स्वार्थबाट निर्देशित यस्तो नेतृत्वपंक्तिको निर्णयले ल्याउने पूँजीवादको परिवर्तित आयाम जनहितमा हुन्छ कि हुँदैन भन्ने गम्भीर प्रश्न सबैका सामु उपस्थित नै छ ।
(बज्राचार्य अर्थशास्त्री हुन् ।)

२०७३ पुस अंक_असमानताको अर्थशास्त्र_समीक्षक : अच्युत वाग्ले

असमानताको अर्थशास्त्र
पुस्तक : दी इकोनोमिक्स अफ इनइक्वालिटी
लेखक : थोमस पिकेट्टी                            प्रकाशक : द बेल्कन्याप प्रेस अफ हार्वर्ड युनिभर्सिटी प्रेस, २०१५
पृष्ठ : १४२८                                            मूल्य : २२.९५ डलर
समीक्षक : अच्युत वाग्ले
फ्रान्सेली भाषाबाट अंग्रेजीमा अनूदित क्यापिटल इन द ट्वान्टी फस्र्ट सेन्चुरी (२१औं शताब्दीमा पूँजी) विश्वभर सर्वाधिक बिक्री हुने सूची (न्यूयोर्क टाइम्स बेष्टसेलर) मा परेको पुस्तक हो । यस चर्चित पुस्तकका होनहार लेखक हुन्, पेरिस स्कूल अफ इकोनोमिक्सका प्राध्यापक थोमस पिकेट्टी । उनलाई अर्थशास्त्रीहरू ‘माक्र्सको नयाँ अवतार’ भन्छन् । दी इकोनोमिष्ट पत्रिकाले पनि सन् २०१३ मा उनलाई ‘आधुनिक माक्र्स’ को संज्ञा दिएको थियो । उनले कार्ल माक्र्सले जस्तै ‘२१औं शताब्दीमा पूँजी’ शीर्षकको पुस्तक लेखेका कारण मात्र यी उपमा पाएका भने होइनन् । बरु, उनको लेखनको समग्र अन्तर्वस्तु र रुझन नै वर्तमान पूँजीवादी विश्वव्यवस्थाप्रति तीव्र तर तथ्यपूर्ण र आलोचनात्मक प्रस्तुतिमा केन्द्रित भएकाले हो । यो पुस्तकले उनलाई विश्वकै प्रखर वामपन्थी अर्थशास्त्री बनायो ।

माक्र्सको आर्थिक सिद्धान्तको सार, पूँजीपतिहरू मजदूरले उत्पादन गरेको अतिरिक्त लाभ (सरप्लस भ्यालु) शोषण गरेर धनी हुन्छन् भन्ने हो । पिकेट्टीले अर्थतन्त्रमा विद्यमान अथवा नयाँ वितरण व्यवस्थाले सिर्जना गरेका बहुआयामिक प्रकृतिका असमानता (इनइक्वालिटिज) र खराब पुनःवितरण (रिडिष्ट्रिव्युसन) प्रणाली नै राजनीतिक द्वन्द्वका कारक भएको निष्कर्ष निकालेका छन् । यतिखेर ‘९९ र १’ प्रतिशत बीचको द्वन्द्व, (अर्थात् संसारका एक प्रतिशत मानिससँग ९९ प्रतिशत पूँजीगत सम्पत्तिको स्वामित्व र ९९ प्रतिशत मानिस फगत एक प्रतिशत सम्पत्तिमा गुजारा चलाउन बाध्य छन् भन्ने विवाद) विश्व आर्थिक बहसको प्रमुख धार बनेको छ । यसको आधार पनि पिकेट्टी र अर्का फ्रान्सेली मूलका अमेरिकी अर्थशास्त्री एम्मानुयल सेजले अमेरिकी अर्थतन्त्रभित्रमा असमानताको ऐतिहासिक (१९१३–१९९८) उतारचढाव माथि सन् २००१ मा प्रकाशित अनुसन्धानलाई मानिएको छ । (एनबीईआर वर्किङ पेपर नं. ८४६७, २००१)

खोजको आधारस्तम्भ
समीक्षा गरिएको पुस्तक दी इकोनोमिक्स अफ इनइक्वालिटी (‘असमानताको अर्थशास्त्र’) क्यापिटल इन द ट्वान्टी फस्र्ट सेन्चुरी बजारमा आएको दुई वर्षपछि, सन् २०१५ मा अंग्रेजीमा अनूदित भएर बजारमा आयो । फ्रान्सेली भाषामा भने दी इकोनोमिक्स अफ इनइक्वालिटी सन् १९९७ मै छापिएको थियो । ‘२१औं शताब्दीमा पूँजी’ का अनुवादक आर्थर गोल्डह्यामरले नै यो पुस्तकको पनि अनुवाद गरेका हुन् । पुस्तकले पिकेट्टीको असमानता बारेको अध्ययन र सुझ्बुझ् २६ वर्षे उमेरमै परिपक्व भएको देखाउँछ । मूलतः फ्रान्सकै तथ्याङ्क, अर्थराजनीतिक परिवेश एवं अर्थ–सामाजिक असमानताका उदाहरण समावेश गरेर लेखिएको भए पनि इकोनोमिक्स अफ इनइक्वालिटी लाई उनको ‘म्याग्नम ओपस’ (महान् कृति) क्यापिटल इन द ट्वान्टी फस्र्ट सेन्चुरी को आधारस्तम्भ मानिएको छ ।

दुई दशकपछि अनूदित संस्करण प्रकाशित गर्दा पनि पिकेट्टीले तथ्याङ्क अद्यावधिक गरेनन् र असमानताका नयाँ विकसित अवधारणा पनि समावेश गर्न आवश्यक ठानेनन् । त्यस कालखण्डको ‘आर्थिक असमानता र कालक्रमसँगै आएका परिवर्तनलाई प्रस्ट्याउन आवश्यक अवधारणागत र तथ्यगत पृष्ठभूमिसँग परिचय गराउन यसो गरिएको हो । मुश्किलले १५० पृष्ठको यो सटिक पुस्तक विद्यार्थी र सामान्य पाठकका लागि (असमानता बुझउने) अपरिहार्य मार्गदर्शक बनेको छ ।

इकोनोमिक्स अफ इनइक्वालिटी लाई परिचयका अतिरिक्त चार खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा असमानताको मापन र यसको विकासक्रमका बारेमा व्याख्या गरिएको छ भने दोस्रो खण्डमा पूँजी, श्रम र असमानताको कुरा । तेस्रो खण्डमा श्रम आयको असमानताको पुष्टि छ भने चौथो खण्डमा पुनर्वितरणका उपकरणहरूबारे व्याख्या गरिएको छ । उनले आयलाई पनि ज्याला÷पारिश्रमिक, किसान, साना व्यापारी, डाक्टर, वकील आदिको स्वरोजगारीबाट हुने कमाइ, निवृत्तिभरण, अन्य प्राप्ति जस्तैः पारिवारले पाउने अनुदान, बेरोजगार भत्ता, कल्याणकारी कार्यक्रमबाट आउने लाभ, र लाभांश, ब्याज, घरभाडा आदिका रूपमा हुने पूँजीगत आयमा वर्गीकरण गरेका छन् ।

ज्यालाजीवीको नालीबेली
त्यतिखेरको फ्रान्समा करीब दुई–तिहाइ मानिस श्रमजीवी रहेको र केवल पाँच प्रतिशतसँग मात्रै लाभांश, ब्याज, बहाल आदि पूँजीगत आयअर्जन गर्ने स्रोत रहेको तथ्याङ्क उनले दिएका छन् । यो पश्चिमा अर्थतन्त्रको साझ चरित्र हो । पारिवारिक आम्दानीको प्रमुख हिस्सा रहेको ज्याला÷पारिश्रमिक कसरी वितरण भएको छ त ? यो उनको अनुसन्धानको केन्द्रीय प्रश्न हो । उनले जनसंख्याभित्र बढी पारिश्रमिक पाउने १० प्रतिशतले बुझने रकम र कम पारिश्रमिक पाउने १० प्रतिशतले बुझने रकमको अनुपात निकालेर असमानताको मापन गरेका छन् । फ्रान्समा यो अनुपात सन् २००० को तथ्याङ्कका आधारमा ३ः१ देखिएको थियो । यो अनुपात जति थोरै भयो असमानता उति कम हुन्छ । असमानताको यो मापन अरू चल्तीका सूचकाङ्कहरू, जस्तै; ‘गिनी कोफिसिएन्ट’ आदिभन्दा निकै सरल र विश्वसनीय भएको दाबी पनि लेखकको छ ।

यस्तो ज्याला÷पारिश्रमिकमा देखिएको असमानता अन्ततः पारिवारिक आयको असमानतामा रूपान्तरित हुन्छ । माथिल्लो १० प्रतिशत र तल्लो १० प्रतिशत परिवारबीचको आय असमानताको अनुमान ७ः१ देखियो जुन ३ः१ को ज्याला असमानता अनुपातभन्दा निकै बढी हो । यसको कारणमा, पहिलो, पूँजीगत आय जस्ता गैरपारिश्रमिक आयहरू ज्याला–पारिश्रमिकमा आधारित आयभन्दा धेरै असमान ढङ्गले वितरित हुन्छन् । दोस्रो, उच्च धनी १० प्रतिशतले कुल (राष्ट्रिय) पूँजीगत आयको ५० प्रतिशत नै आफ्नो कब्जामा राखेका हुन्छन्, जसबाट पारिश्रमिक आय असमान रूपले बढ्छ । तेस्रो, सम्पत्तिको विद्यमान असमानता व्याख्या गर्न वर्तमान र विगतको आय असमानतालाई मात्रै आधार मानेर पुग्दैन । यसमा, बचत र सम्पत्ति जम्मा गर्ने व्यवहारजस्ता पक्षको महŒवपूर्ण भूमिका हुन्छ । यी जटिलताका कारण पनि असमानता मापन र यसलाई हेर्ने दृष्टिकोण ज्याला र आम्दानीको असमानतामा मात्र सीमित हुनु उपयुक्त नहुने पिकेट्टीको ठहर छ ।

तर पारिश्रमिक असमानताको दाँजोमा पारिवारिक आयको असमानता सधैं यसरी उल्लेख्य रूपले बढी हुनुको कारण भने फरक छ । न्यून आय भएका बहुसङ्ख्यक परिवारहरू एकल सदस्यको स–सानो पारिश्रमिक अथवा निवृत्तिभरण रकममा निर्भर हुन्छन् । जबकि, उच्च आय हुने परिवारमा सामान्यतः शिक्षित दम्पती हुन्छन्, अक्सर दुवै कमाउँछन् । (पृष्ठः १३) यो सामान्य भनाइजस्तो देखिए पनि अर्थशास्त्रीय विश्लेषणलाई समाजशास्त्रीय संरचनासँग जोडेर निकालिएको निचोड निकै महŒवको र नीतिनिर्माणमा सहयोगी मानिएको छ ।

ज्यालामा देखिएको ३ः१ अनुपातको असमानता एवं धनी र गरीब राष्ट्रहरूको प्रतिव्यक्ति आय (क्रयशक्तिको आधार) को १०ः१ को अनुपात स्थायी रहला कि घटबढ होला ? यसलाई व्याख्या गर्न उनले ऐतिहासिक तथ्यहरूलाई अघिसारेका छन् । पहिलो विश्वयुद्धको ठीक अघिसम्म आय असमानता चरम थियो । तर दुईवटा विश्वयुद्धले सम्पत्ति नष्ट गरेपछि ‘पैतृक पूँजीवाद’ को कमाइ घट्यो र त्योसँगै असमानता पनि घट्यो । तर, यो सन् १९७० को मध्यदेखि फेरि बढ्न थाल्यो । सम्पत्तिको ‘भाडा’ खाएर बस्ने १९औं शताब्दीको तुलनामा २०औं शताब्दीमा धेरै पारिश्रमिक पाउने ‘धनी श्रमिक’ व्यवस्थापकको समाजमा रूपान्तरित भयो । त्यसैले अबको असमानता पनि पहिलेको जस्तै सघन रहने उनको अनुमान छ । अहिलेको असमानताको प्रमुख स्रोत पिकेट्टीले रोजगारीको प्रवृत्तिलाई मानेका छन् । उनी भन्छन्– बेरोजगारी, अर्धरोजगारी, छद्म बेरोजगारी र उच्च पारिश्रमिकको रोजगारी आदिको स्वरूपले आउँदा दिनमा व्यक्तिगत र पारिवारिक आयको असमानतालाई व्याख्या गर्नेछ । उनले अंग्रेजी र गैर अंगे्रजी भाषी मुलुकहरूबीचको आय असमानताको तुलना गरेर आफ्नो विश्लेषणलाई सामाजिक कोणबाट हेर्ने प्रयास पनि गरेका छन् । ऐतिहासिक रूपमा जापान र वर्तमानमा चीनमा देखिएका, खासगरी मध्यमवर्ग र उच्च वर्गबीच साँघुरिंदै गरेको असमानताका सूचकहरूले भने उनका अंग्रेजी भाषा सापेक्ष असमानताका दाबी स्थापित हुँदैनन् ।

पूँँजी र श्रम
पुस्तकले पूँजी र श्रमको असमानताका अरू धेरै आयाम खोतल्ने प्रयास गरेको छ । ऐतिहासिक रूपमा विद्यमान पूँजीमाथिको असमान स्वामित्वलाई नै असमानताको मौलिक स्रोत मानेर थप विश्लेषण गरेका छन्, लेखकले । सामाजिक असमानता र राज्यका स्रोतहरूको पुनःवितरणको सवालमा, औद्योगिक क्रान्ति र खासगरी कार्ल माक्र्सका अर्थ–सामाजिक सिद्धान्तहरू सार्वजनिक भएपछि पूँजी र श्रम, नाफा र ज्याला अथवा रोजगारदाता र श्रमिकलाई एकआपसका विरोधीका रूपमा प्रस्तुत गरिएको दाबी लेखकको छ । यसमा सबै पूँजीपति (त्यस्तै श्रमिकहरूलाई पनि) लाई समान प्रकृतिको समूहका रूपमा बुझ्एिको छ । श्रमबाट भएको आयका कारण सिर्जित असमानतालाई पैतृक पूँजीपछि दोस्रो महŒवको मुद्दा बनाएका छन्, पिकेट्टीले ।

पिकेट्टीले यो पूँजी–श्रम असमानतालाई दुई सनातन अर्थ–राजनीतिक दर्शनहरूले अपनाउने पुनःवितरण प्रक्रियाबीचको फरकको परिणतिका रूपमा प्रस्तुत गरेका छन् । दक्षिणपन्थी खुलाबजार अर्थतन्त्रले सम्पत्तिको पुनःवितरणमा सरकारको भूमिका सीमित गरेको छ । दीर्घकालमा बजारको सुचक्र (भर्चुअस साइकल) ले आय वितरणलाई एकातर्फ कर र अर्कोतर्फ लाभ हस्तान्तरणमार्पmत स्वतः न्यायोचित बनाउने दाबी गरेको छ । यसलाई उनले ‘विशुद्ध पुनःवितरण’ (प्योर रिडिष्ट्रिव्युसन) भनेका छन् ।

वामपन्थी समाजवाद र टे«ड युनियन अभ्यास दुवैले पूँजीवादी समाजका सबभन्दा गरीबको दुःख निवारणको एकमात्र विकल्प सामाजिक र राजनीतिक संघर्ष हो भन्ने गरेका छन् । सरकारी पुनःवितरणले उत्पादन प्रक्रियाको तल्लो तहसम्म छिचोल्नुपर्ने माग उनीहरूको छ । समान ज्यालाको प्रबन्ध र उत्पादनका साधनको राष्ट्रियकरण गरेर पूँजीपतिहरूको नाफा स्वात्तै घटाउनुपर्ने तर्क पनि यो सिद्धान्तको छ । किनभने कर उठाएर गरीबलाई अलिअलि बाँड्न पुग्ने वितरण गर्ने शैली मात्र सामाजिक न्यायका लागि पर्याप्त नहुने ठहर पिकेट्टी गर्छन् । यसलाई उनले ‘प्रभावकारी पुनःवितरण’ (इफेक्टिभ रिडिष्ट्रिव्युसन) भनेका छन् ।

पूँजी–श्रम विवाद, विभेद वा असमानता जे भने पनि यसलाई लेखकले उत्पादन–वितरणको भन्दा लाभको पुनःवितरणको मुद्दा मान्छन् । यो निकै मौलिक सैद्धान्तिक प्रस्तावना हो । अप्रत्यक्ष रूपले उनले उत्पादन, वितरण र बजारीकरण प्रक्रियाबाट प्राप्त हुने लाभमध्ये पूँजी लगानीकर्ताले सधैं धेरै हिस्सा लिने गरेको तर्कलाई स्थापित गर्ने प्रयास गरेका छन् । नाफामाथि अधिक अथवा ज्यालामाथि न्यून कर लगाएर वा सोझ्ै ज्यालादर वृद्धि गरेर असमानता कम गर्न सकिने उनको तर्क छ ।

पूँजीपतिहरूले थप लगानी गर्नका लागि केही थप नाफा उनीहरूले राख्नु उचितै हो भन्ने तर्क त एक ठाउँ (पृष्ठः २६) मा उनले घुसाएका छन् । तर यही व्यवहार नै असमानताको कारक भएको उनले निकै जोडतोडका साथ वकालत गरेका छन् । उत्पादन प्रणालीमा पूँजी र श्रमबीच पारस्परिक प्रतिस्थापनको सम्भावनाको कुरा उठाइएको छ । तर सीमान्त प्रतिस्थापनको कुन बिन्दुमा उत्पादन प्रभावकारिता (प्रडक्टिभ इफिसियन्सी) उच्च हुन्छ भन्ने प्रश्नको उत्तर लेखकले दिन सकेका छैनन् ।

पिकेट्टीले पुस्तकमा पैतृक पूँजीवाद, हकका रूपमा पाएको विनाश्रम प्राप्त सम्पत्ति वा पूँजीले असमानुपातिक लाभ लिएको तर्कमा जोड दिंदै आधुनिक ज्ञान, उद्योग, सूचनाप्रविधि र भूमण्डलीकरणको लाभ लिएर पहिलो पुस्तामा नै संसारका धनी बनेका व्यवसाय र नव पूँजीपतिहरूलाई भने ख्याल राखेका छैनन् । बिल गेट्स, जुकरवर्ग, ज्याकमा वा कार्लोस हेलुहरू पैतृक सम्पत्ति पाएर धनी भएका होइनन् । अहिले संसारका धनीमध्येका एक प्रतिशतमा तिनको नाम पर्छ । असमानताको यो बहसमा उनीहरूलाई पनि अपराधीको कोटिमा उभ्याइएको जस्तो देखिन्छ ।

प्रभावकारी पुनःवितरण
असमानता अन्त्यको उपाय राष्ट्रिय आयको ‘विशुद्ध’ होइन ‘प्रभावकारी’ पुनःवितरण नै हो भन्ने निष्कर्ष पिकेट्टीको छ । पुनःवितरणका उपकरणहरू तिखार्नेे एउटा प्रमुख उपाय सामूहिक प्रतिरोध नै हो भन्ने उनको तर्क रहेको छ । “श्रम बजारमा हुने विभेद र रोजगारदाताको खरीद एकाधिकार (मोनप्सोनी) वास्तवमा अपमानपूर्ण मात्र होइन यो विभेद र शोषणविरुद्ध पीडितलाई आर्थिक क्षतिपूर्ति दिन अप्रभावकारी पनि हुन्छ । पुनःवितरणको यस्तो उपकरण आम्दानीको पुनःवितरण गर्न सक्षम भएर मात्र पुग्दैन, अपितु यस्तो असमानताका लागि जिम्मेवार बजार असफलताहरूलाई सुधार गर्न सक्ने पनि हुनुपर्छ ।” (पृष्ठः ११४) उनले सुझएका यस्ता उपकरणहरूमा सकारात्मक विभेद, न्यून पारिश्रमिक कानूनहरू, श्रम बजारमा प्रत्यक्ष हस्तक्षेप, शिक्षा र तालीम आदि छन् । ती नयाँ अवधारणा भने होइनन् । उनले सरकारले रोजगार बजारमा गर्ने किन्सको हस्तक्षेपको सिद्धान्तलाई उपयोगी साधन मानेका छन् ।

यो पुस्तकले पुनःवितरणका नयाँ उपाय सुझउन नसके पनि दुई महŒवपूर्ण बहसलाई सतहमा ल्याएको छ । पहिलो र मौलिक पक्ष हो, यसले समाजमा विद्यमान असमानताको व्याख्यामा यसअघि कल्पनै नगरिएका व्यापक आयामलाई प्रस्तुत गरेको छ । दोस्रो शान्तिपूर्ण नै सही, पुनःवितरणको मूल हतियार सामूहिक प्रतिरोध नै हो भनेर २१औं शताब्दीमा पनि बजारको भन्दा वामपन्थी सिद्धान्तको उपयोगिता स्थापित गर्ने प्रयास गरेको छ । ऐतिहासिक रूपमै असमानता मानव समाजमा कसरी–कसरी अन्तर्निहित छ भनेर देखाउने श्रमसाध्य र मौलिक शैलीका कारण यो पुस्तकको महŒव बढेको हो ।
(वाग्ले राजनीतिक र आर्थिक विश्लेषक हुन् ।)

२०७३ कार्तिक अंक_चीनका मौन सेना_समीक्षक : विष्णुराज उप्रेती

चीनका मौन सेना
पुस्तक : चाइनाज साइलेन्ट आर्मी : द पायोनियर्स, ट्रेडर्स, फिक्सर्स एण्ड वर्कर्स हु आर रिमेकिङ द वल्र्ड इन बेइजिङ्स इमेज
प्रकाशक : क्राउन पब्लिसर, न्यूयोर्क, २०१३           पृष्ठ : ३५०                    मूल्य : १५ डलर
समीक्षक : विष्णुराज उप्रेती
नेपालको उत्तरी छिमेकी मुलुक चीनका बारेमा लेखिएको यो पुस्तक शुरूमा स्पेनिस भाषामा लेखिएको हो । यसका लेखक दुवैजना पत्रकार हुन् । पुस्तकको अंग्रेजी अनुवाद क्याथरिन म्यान्सफिल्डले गरेकी हुन् । ३५० पृष्ठको यो पुस्तक वर्णनात्मक छ, तालिका र चार्ट छैनन् । आफ्नो तर्क प्रस्तुत गर्न लेखकद्वयले ७७ पृष्ठ लामो फुटनोट प्रस्तुत गरेका छन् । पुस्तकमा नौवटा खण्ड छन्— मिङ्गोङ्गहरूले विश्व लिंदैछन्, नयाँ सिल्क रोड, नयाँ पश्चिम चिनियाँ खानी, चीनको कालाः सुनको आक्रमण, चिनियाँ विश्वको आधार, विश्व कारखानाका नयाँ प्रताडितहरू, चिनियाँ जादूले व्याख्या गरेको ग्रह, मध्य अधिराज्यको चिनियाँ शासन र उपसंहारः विश्वको नयाँ मास्टर । नेपालको छिमेकी आज यो स्थितिमा कसरी आइपुग्यो, त्यस मुलुकले के–कस्ता नीति लिएको छ भन्ने प्रसङ्ग बुझन पुस्तक साह्रै उपयोगी छ । प्राज्ञिकहरूले खोज्ने अवधारणागत र विधिगत गहिराइ भने पुस्तकमा पाइँदैन ।

मौन सेना सरहका नागरिक
चीनलाई विश्व शक्तिका रूपमा अगाडि लैजान मौन रूपमै महŒवपूर्ण भूमिका खेल्ने चीनका नागरिकलाई सेनाको रूपमा प्रस्तुत गरिएको छ पुस्तकमा । विश्वका विभिन्न मुलुकमा तेल उद्योग, खानी, बाँध, व्यापार, निजी क्षेत्र र विकासका पूर्वाधार निर्माणमा संलग्न आम चिनियाँ नागरिक मौन सेनाका सदस्य रहेको लेखकद्वयको ठहर छ । विगत केही दशकयता विश्वभरि फैलिएका चिनियाँ व्यापारी, प्राविधिक, उद्यमी र कार्यकर्ता चीनलाई एशियाको शक्तिशाली र विश्व शक्ति बनाउन महŒवपूर्ण भूमिका खेल्दैछन् । चीनले एशिया, अफ्रिका, दक्षिणी अमेरिका र मध्यपूर्वमा लगानी गर्दै गरेका प्राकृतिक स्रोत, नयाँ बजार सिर्जना तथा बृहत् पूर्वाधार निर्माणका दृष्टान्त पुस्तकमा समेटिएको छ । यी क्रियाकलापले चीनलाई अमेरिका र पश्चिम यूरोपको बजारमा आफ्नो पहुँच बढाउन बाटो खोलेको छ । व्यापक रकमको लगानी, प्रभावकारी र चाखलाग्दो वैदेशिक सम्बन्ध, मिहिनेत गर्ने हजारौं उद्यमी र व्यापारी एवं विश्वबजारमा चीनमा उत्पादित सरसामानको बाहुल्यकै कारण चीन यो अवस्थामा पुगेको हो । त्योभन्दा महŒवपूर्ण आधार हो— विश्व शक्ति बन्ने दूरदृष्टि, प्रतिबद्धता, अठोट र महŒवाकांक्षा बोकेको नयाँ पुस्तामा चीनको राजनीतिक शक्ति हस्तान्तरण ।

राजनीतिक नेतृत्वको ‘विश्व नेता बन्ने’ उद्देश्य हासिल गर्न चिनियाँ कम्पनी र त्यहाँका जनताले कसरी भूमिका खेल्दैछन् भन्ने दृष्टान्तको सँगालो हो पुस्तक, न कि ऐतिहासिक दस्तावेज । चीनको प्रभाव बढाउन आयात–निर्यात (एक्सिम) ब्याङ्क र चाइना विकास ब्याङ्कजस्ता वित्तीय संस्थाले लिएको बाटो र विधि पुस्तकमा समेटिएका छन् । उदाहरणका लागि “यी ब्याङ्कहरूले राज्यद्वारा सञ्चालित व्यापारिक प्रतिष्ठानहरूलाई विभिन्न क्षेत्रमा जेथा खरीद गर्न र प्राकृतिक स्रोत दोहनका लागि ठूलो ऋण प्रदान गर्छन् । यसरी उपलब्ध गराइएको रकमले चिनियाँ कम्पनीहरूलाई बजारमा चलेको भन्दा कम दरमा ठेक्का प्राप्त गर्ने मौका दिलाउँछ ।” इरान, इक्वेडर, भेनेजुयला, एङ्गोला, काजकास्थान, कङ्गोलगायत अन्य अफ्रिकी, एशियाली र दक्षिण अमेरिकी मुलुकहरूमा यस्तो रकम लगानी गरिएको छ । चीनले ती मुलुकमा आफ्नै कामदार पु¥याउँछ, जसले गर्दा लगानीको केही प्रतिशत चीनतर्फ फर्काउन सहयोग पुगेको छ । साथै, यसले चीनका ‘मौन सेना’ को पहुँच विश्वभरि पुग्ने बाटो पनि खोलिदिएको छ ।  

पुस्तकका अनुसार २००९÷१० मा पश्चिमी मुलुकमा देखिएको सङ्कटमा, चीनले विश्व ब्याङ्कभन्दा बढी ऋण प्रदान ग¥यो । त्यस वर्ष चिनियाँ ब्याङ्कहरूले अन्य मुलुकलाई ११० अर्ब डलर ऋण प्रदान गरे । यो क्षमताले चीनलाई एउटा अचूक अस्त्र प्रदान गरेको छ । चीनको अन्तर्राष्ट्रिय कूटनीति र विश्व प्रभावका लागि मात्र होइन यसले ‘चीन इन्कर्पोरेटेड’ अर्थात् पार्टी–राज्य, चिनियाँ ब्याङ्कहरू र राज्य नियन्त्रित कम्पनीहरूलाई आफ्ना प्रतिद्वन्द्वीलाई धराशायी पार्ने बलियो औजार पनि दिएको छ । अमेरिका, जापान र पश्चिम यूरोपेली मुलुकलाई व्यापारबाट प्रभावित पार्न चीनले ती मुलुकका निजी कम्पनीहरूसित सहकार्य गर्दै तिनका ब्राण्ड र प्रविधि आफ्नो बजारमा उपलब्ध गराउँछ ।

रणनीतिक चासो
चिनियाँ सरकारको रणनीतिक चासो पनि प्रष्ट पारिएको छ पुस्तकमा । विश्व तेल उत्पादनको केन्द्रबिन्दु मानिने इरान, मध्य एशिया, मध्यपूर्व एशिया र पूर्वी उत्तर अफ्रिकामा हुँदै गरेको चीनको संलग्नता यस रणनीतिको दृष्टान्त हो । इरान र सुडानजस्ता मुलुकका उदाहरण पनि पुस्तकमा दिइएको छ । ती मुलुक वासिङ्टन र ब्रसेल्सका शत्रु सरह छन् । अमेरिका र यूरोपेली मुलुकहरूले तिनीहरूसित अन्य मुलुकले बढाएका सम्बन्धको विरोध पनि गरेको देखिन्छ तर चीनको ती मुलुकसित सुमधुर सम्बन्ध छ । चीनको यो रणनीति अमेरिकाको लागि एउटा सन्देश हो, अमेरिकाले कुनै मुलुकलाई एक्ल्याउन चाहेमा अरू मुलुक तिनको सहयोगमा आउनेछन् । यो तर्कको व्याख्या गर्दै लेखकद्वय भन्छन्, “अमेरिकाले सुडानलाई एक्ल्याउने रणनीति लिंदा त्यस मुलुकमा चीन लगानीकर्ता बनेर भित्रियो ।” (पृष्ठ १६५) त्यस्तै गरी पश्चिमी मुलुकहरूले इरानलाई एक्ल्याउँदा त्यहाँबाट ईएनआई, रेप्सोल, ब्रिटिश पेट्रोलियम र अन्य तेल कम्पनीहरू बाहिरिए तर चीन भित्रिएर इरानमा ती कम्पनीको स्थान लिएको छ । चीन र इरानको वार्षिक व्यापार ३२ अर्ब डलर छ र हाल चीन नै इरानको सबैभन्दा ठूलो व्यापार साझ्ेदार बनेको छ । रेल निर्माण गर्न पोख्त सीएसआर, पूर्वाधार निर्माण गर्ने सीआईटीआरसी र तेल सिनोन्ज्याक जस्ता राज्यको लगानी भएका कम्पनीहरू एङ्गोला, भेनेजुयला तथा अरब मुलुकहरूमा कार्यरत छन् । अझ्ै केही मुलुकमा त चीनका चिनियाँ कम्पनीको मात्र वर्चस्व देखिन्छ । यी कम्पनीमा चीनका मौन सेना कार्यरत छन् ।

अवसरको खोजी
आर्थिक अवसर बढाउने चीनको विदेश नीति र बजारमा आधारित आर्थिक व्यवस्था देङ सिआओ पिङको कालखण्डमा शुरू भएको हो । सन् १९७८–८९ का बीचमा प्रभावशाली रहेका व्यावहारिक नेता देङले चीनको आर्थिक विकासको जग हाले । माओत्सेतुङको मृत्युपछि उनले चीनमा बजारमा आधारित अर्थप्रणाली शुरू गराउन महŒवपूर्ण भूमिका निर्वाह गरी चीनलाई परम्परागत कम्युनिस्ट मुलुकभन्दा अगाडि लैजाने कार्यको शुरूआत गरे । वर्तमान राष्ट्रपति सि जिनपिङले पनि त्यही नीतिलाई अगाडि बढाउँदै छन् । यसको पछिल्लो उदाहरण हो— पश्चिमी मुलुकसरहको वितरणमा आधारित अर्थप्रणाली । यसमा उनीहरूले चिनियाँ सन्दर्भ अनुरूप तिखारिएको भ्रष्टाचारविरोधी व्यवस्था पनि घुसाएका छन् । व्यापारी, कार्यकर्ता र बिचौलियाहरूले त्यस मुलुकका रणनीति तर्जुमाकारको नीतिबमोजिम चीनलाई विश्वको सबैभन्दा ठूलो उद्योग व्यवसायको केन्द्रबिन्दु बनाएका छन् । १ अर्ब ३८ करोड जनसङ्ख्या भएको चीनको उद्देश्य सन् २०२० सम्ममा मध्यम आय भएको मुलुक बन्ने हो भने सन् २०४९ मा पूर्ण विकसित मुलुक ।

कुनै पनि मुलुकको विकास त्यहाँका नेताको दूरदृष्टि, रणनीतिक प्रतिबद्धता, समर्पण, उचित नीति अनि विकासका लागि मानवीय स्रोतको उपयुक्त परिचालनमा भर पर्छ । चीनले आफ्नो रूपान्तरणमा यो सबै क्षेत्रमा लगानी गरेकाले त्यहाँ स्टील, सिमेन्ट, कोइला, गाडी निर्माण र खपतको क्रम बढेको हो । एशियन पूर्वाधार ब्याङ्कको स्थापना एउटा उदाहरण हो जसले चीनको प्रभाव निरन्तर बढाउने सङ्कल्प प्रष्ट पार्छ । राष्ट्रपति सिको नीतिले त्यहाँको कम्युनिस्ट पार्टीको मात्र होइन, विश्वस्तरका संस्थाहरूको समेत अनुमोदन पाएको छ । यी सबै सन्दर्भ मिलेका कारण चीन विश्वशक्ति बन्न सकेको हो । 

चीनको यो भूमिका आलोचित नभएको होइन र गरिएको पनि छ । धेरैजसो आलोचना हुन्— चिनियाँ कम्पनीहरू आफूले काम गर्दै गरेका मुलुकका कामदारलाई कम पारिश्रमिक दिन्छन्, स्थानीय संस्कृति र मूल्यको आदर गरिंदैन, स्थानीय कामदार संलग्न बजार चकनाचूर पारिन्छ भने स्थानीय ज्ञानबारे खासै चासो राखिंदैन, आदि । कतिपय चिनियाँ लगानी पारदर्शी हुँदैनन् भन्ने आलोचना पनि छन् । लेखकद्वय भन्छन्, “चीनले तेल र खनिजजन्य क्षेत्रमा गरिने लगानीका विवरणहरू सार्वजनिक गर्न नमिल्ने श्रेणीमा राख्ने गरेको छ ।”

दुई ठूला छिमेकीबीच
नेपालको उत्तरी छिमेकीको यस्तो यात्रामा दक्षिणी छिमेकी भारतको प्रसङ्ग उठाउनु अन्यथा हुँदैन । भारतले चीनलाई चुनौती दिनसक्ने र दिनुपर्नेछ भन्ने तर्क सुनिन्छन् । दुवै मुलुकका सन्दर्भ फरक छन् र प्रत्यक्ष तुलना सही होइन । भारत विविधता र भिन्नताले भरिएको मुलुक हो, जसका सामु मनग्ये चुनौती छन् । ती यावत् चुनौतीलाई व्यवस्थित नगरी भारतले चीनलाई आर्थिक हिसाबले चुनौती दिन सम्भव देखिन्न । चीन र भारतबीचको सम्बन्ध कसरी अगाडि बढ्ला भन्ने एउटा प्रश्न दक्षिण चीन सागरको द्वन्द्वले खडा गरेको छ । यो द्वन्द्वको निराकरण परम्परागत सैनिक शक्तिको प्रयोगबाट होला वा कूटनीति, राजनीतिक सुझ्बुझ् एवं आर्थिक औजारहरूले भूमिका खेल्लान् ? यस्ता प्रश्नहरूको जवाफ महŒवपूर्ण हुनेछ, चीनको विश्व भूमिकाको बाटो अगाडि बढाउन ।

प्रगति पथमा अग्रसर चीन र भारतसित असल सम्बन्ध राख्नु नेपाललाई उन्नतिको बाटोमा लैजाने आवश्यक र प्रमुख आधार हो । छिमेकीको प्रगतिबाट फाइदा लिने हो भने नेपालले लिनुपर्ने अगाडिको बाटो हो— आफ्ना नागरिकको क्षमता अभिवृद्धिमा लगानी । यस्तो बाटो नलिने हो भने नेपाल र नेपालीले छिमेकी मुलुकको विकासबाट वास्तविक फाइदा लिन सक्ने छैनन्, यद्यपि केही पूर्वाधार निर्माण होलान् । आफ्ना नागरिकको हितलाई केन्द्रबिन्दुमा राखेर तदनुरूप नीति नलिएको भए चीन आजको स्थितिमा पुग्ने थिएन । यही सन्देश छ पुस्तकमा ।
(उप्रेती द्वन्द्व निराकरणको विषयमा खास दक्खल राख्छन् ।)

२०७३ कार्तिक अंक_एउटा अपराधीको आत्मवृत्तान्त_समीक्षक : स्नेहा पाण्डे

एउटा अपराधीको आत्मवृत्तान्त
पुस्तक : द लाइफ एण्ड क्राइम्स अफ चाल्र्स शोभराज
लेखकहरू : रिचर्ड नेभिल र जुलिया क्लर्क           प्रकाशक : जोनाथन केप लि., १९७९
पृष्ठ : ३६८                                                           मूल्य : ५४.३२ डलर
समीक्षक : स्नेहा पाण्डे
रिचर्ड नेभिल ९च्ष्अजबचम ल्भखष्ििभ० र जुली क्लर्क ९व्गष्भि ऋबिचपभ०, द्वारा अनुसन्धान गरिएको यो पुस्तक चाल्र्स शोभराजको जीवनगाथा हो । सन् १९६० र ७० को दशकमा भियतनाम युद्धबाट दिक्क भएका अमेरिकी एवं अन्य यूरोपेली युवाहरू हिप्पी बनेर नेपाल, भारत र थाइल्यान्डतिर घुम्न आउँथे । शोेभराजमाथि त्यसरी घुम्न आएका थुप्रै विदेशीको हत्या गरेको आरोप छ । विभिन्न मुलुकका प्रहरी शोभराजको खोजीमा थिए । भारतमा समातिएपछि शोभराजलाई नयाँदिल्लीको तिहाड जेलमा बन्दी बनाइयोे तर हत्या गरेको प्रमाणित नभएपछि जेलबाट छुटे ।

तिहाड जेलमा बन्दी अवस्थामा नै नेभिलले शोभराजको अन्तर्वार्ता लिएका थिए भने क्लर्कले अरूसित वार्ता गरेकी थिइन् । शोभराजका डरलाग्दा अपराधका विवरणका कारण मात्र होइन मानसिक समस्याले ग्रस्त निर्दयी हत्याराको चरित्र चित्रणका कारण पनि यो पुस्तक महŒवपूर्ण छ । अपराध र अपराधशास्त्रबारे चासो राख्ने सबै मानिसलाई पुस्तक उपयोगी सामग्री हुनेछ ।

नेभिल भन्छन्, “शोभराजसित सम्बन्ध बढाउन मलाई गाह्रो परेको थियो । उसको विपरीत उद्देश्य हासिल गर्ने व्यवहार बुझन सजिलो थिएन । अन्तर्वार्ता लिने क्रममा शोभराजले लटरपटर पार्न खोज्थ्यो, स–साना कुरा बताउँदा पनि ऊ आफ्नो हित मात्रै बढोस् भन्ने प्रयास गथ्र्याे । लेखकहरूलाई प्रभावित पार्ने उसको नियत स्पष्ट थियो ।”

आफ्नो विरुद्धमा यी लेखकहरूले बयान दिने छैनन् भन्ने विश्वस्त भएपछि मात्रै शोभराज आत्मकथाका लागि आफ्ना जघन्य अपराधहरूको विवरण खुलस्त पार्न तत्पर भएको थियो । त्यसपछि उसले कसैसित पनि अपराध स्वीकार गरेको छैन ।

सन् २००३ मा काठमाडौंमा हिंड्दै गर्दा शोभराज समातियो र त्यसपछि ऊ निरन्तर नेपालको जेलमा बन्दी जीवन बिताइरहेको छ । दोभाषेको काम गरेकी आफूभन्दा आधा उमेर कान्छी नेपाली युवतीसित शोभराजको बिहे पनि भयो, बन्दी अवस्थामै । ती युवतीकी आमा पेशाले वकील थिइन्, तर शोभराजबाट साह्रै प्रभावित । शोभराजको पक्षबाट तिनले अदालतमा बहस पनि गरिन् । शोभराजका विरुद्धमा दिएको निर्णय गलत भयो भनी उनले अदालत विरुद्ध अनर्गल टिप्पणी गरेको कुरा पनि एक पटक निकै चर्चित भएको थियो ।

तिलस्मी जीवन
चाल्र्स शोभराजको जीवन तिलस्मी भन्न लायक छ । अरूलाई आफ्नो प्रभावमा ल्याउने शोभराजको प्रतिभा विलक्षण थियो । उसलाई एकपल्ट जाँचेका डाक्टरले भनेका थिए, “चाल्र्स शोभराज लोग्नेमान्छेको उत्कृष्ट रूप हो ।” उसबाट प्रभावित व्यक्तिहरू जस्तोसुकै स्तरमा झ्रेर पनि अप्ठेरोमा परेको शोभराजलाई छुटाउने प्रयास गर्थे । शोभराजका शब्द एवं अन्य जालमा परेर लोग्नेमान्छे तथा स्वास्नीमान्छेहरू फन्दामा फसेका थिए । भेट्न आउनेहरू उसका व्यवहारकै कारण प्रभावित हुन्थे । धेरैले भन्थे शोभराज, मान्छेको मन पढ्न, मित्रता कायम गर्न र अरूलाई आफ्नो स्वार्थ अनुसार व्यवहार गराउन माहिर छ । कसैको त उसमा दैवी शक्ति छ भन्नेसम्म पनि विश्वास थियो । हुन पनि शोभराज विभिन्न मुलुकका अधिकारीलाई एकपटक होइन, धेरैपटक धोका दिन सफल भएको थियो । समातिए पनि ऊ फुत्किन्थ्यो । प्रहरीको पकडमा नआउने भएकाले शोभराजलाई धेरैले ‘सर्प’ सरह भन्थे । आफ्नाबारे व्याप्त यस्ता गन्थन सबै हल्ला हुन्, सत्य होइन भनेर शोभराजले कहिल्यै पनि प्रतिवाद गरेन, बरु त्यस्ता हल्लालाई पनि आफ्नो फाइदाका लागि प्रयोग ग¥यो ।

अपराधका फेहरिस्त
हिप्पी मार्गका हत्या मात्रै होइन शोभराजका अरू थुप्रै अपराध थिए । उसको जीवनकथा विभिन्न महादेशभित्र घुम्छ । पुस्तकमा समेटिएका घटना कहिले बिस्तारै आउँछन्, कहिले एकदम छिटो । शोभराजद्वारा पीडित, मित्र, परिवार र उसका पछि लाग्नेहरूका रमाइला विचार र अनुभूति पुस्तकमा पढ्न पाइन्छ । पुस्तक पढ्न शुरू गर्दा यो समीक्षकलाई लागेको थियो, शोभराजको आत्मवृत्तान्त एउटा दुष्ट व्यक्तिको कथा हो । तर लेखकद्वयले आख्यानलाई त्यस्तो बन्न दिएका छैनन् । प्रेम, धोका, षडयन्त्र र मृत्युका विवरणभन्दा शोभराजको केटाकेटी जीवन चाखलाग्दो देखिन्छ । यही उमेरमा उसको मनस्थिति नकारात्मक हिसाबले यस्तो बन्यो र पछि परिवर्तन हुन सकेन ।

शोभराजका बाबु सम्पन्न भारतीय थिए र आमा भियतनामी, तर ती दुईको दाम्पत्य जीवन चलेन । भारतीय बाबुले भारतीय महिलासित बिहे गरेपछि शोभराज र उसकी आमा घर छोड्न बाध्य भए । यसरी सम्पन्नताबाट शोभराज सडकमा आइपुग्यो । 

शोभराजको बाल्यकालमा युद्ध चलेको भियतनाममा जताततै बम खसिरहेका हुन्थे । सडकमा खसेको बमबाट शोभराज दुईपल्ट बाँचेको थियो जबकि उसका छेउमा रहेका व्यक्तिहरू पुतलीजस्तै उडेका थिए । यसरी बमबाट बचेपछिको शोभराजलाई के विश्वास भयो भने “ऊ अजेय छ । उसका छेउछाउका व्यक्तिहरू दुःखमा पर्न सक्छन्... तर उसलाई केही हुँदैन ।”

फ्रेन्च भाषाको बोर्डिङ स्कूलमा शोभराज पढ्दै थियो तर ऊ आफ्ना साथीहरूसित मिल्न सकेन । बरु ऊ तीबाट एक्लिन पुग्यो । युवावस्थामा त शोभराज गल्ती गरेको स्वीकारोक्ति र पछुताउ पनि गथ्र्यो । उमेर बढ्दै गएपछि त्यस्ता आचरणहरू शोभराजबाट बिस्तारै हराउँदै गए । ऊ मानसिक हिसाबले असन्तुलित बन्न पुग्यो, अपराधी बन्यो । उसले गरेका स–साना अपराधका कारण कुनै पनि मुलुकले शोभराजलाई नागरिकता दिन मानेनन् । फलस्वरूप उसको जीवन सामान्य बन्न सकेन यद्यपि समाजसित जोडिने र इज्जतदार बन्ने शोभराजलाई ठूलो रहर थियो ।

उमेर बढ्दै गएपछि शोभराजले गुमाएको जीवन फेरि पाउने अपेक्षा गर्न थाल्यो र उसको प्रयास सम्पन्नता, भोगविलाश, धन र आदरयुक्त जीवनको खोजमा बित्यो । उसको चाहना आफ्नो बाबु जस्तै धनी बन्ने थियो र उसको एउटै ध्येय थियो, पैसा कमाउने । तर मिहिनेत गरेर पैसा कमाउने उसको चाहना थिएन । भियतनामका सडकमा उसले एउटै ज्ञान सिकेको थियो— कसैको हत्या उद्देश्य प्राप्तिका लागि एउटा उपयुक्त बाटो पनि हुनसक्छ । त्यसैले ऊ आफूले गरेका सबै हत्या ठीक छन् भन्थ्यो । उसले देखेको युद्धका अत्याचारको तुलनामा उसका कर्तुत केही थिएनन् । शोभराजका अनुसार, उसले एउटा पनि असल व्यक्तिको हत्या गरेन, सबै बदमासै थिए ।

अपूरो आकाङ्क्षा
लेखकद्वय भन्छन्, केटाकेटी अवस्थामा शोभराजले प्रेम र मित्रताजस्ता चरित्र विकास गर्न मिहिनेत नगरेको होइन तर ऊ त्यो प्रयासमा सफल हुन नसकेको अनुभूति गर्दै हुर्कियो । जीवनको पहिलो २० वर्षसम्म शोभराज आफ्नो आवेग र आवेशमा काम गर्ने बानी हटाउने प्रयासमा थियो । सो क्रममा उसले तर्क, चातुर्य र आध्यात्मिक विधि पनि प्रयोग ग¥यो । बेलाबेलामा भाइबहिनी, पहिलो पत्नी र छोरीलाई केही ममता देखाए पनि आफ्नो जुवाडे बानी, नास्तिक सोच र उच्च जोखिम जीवनका कारण उसले कसैबाट पनि आत्मीयता पाउन सकेन । नातागोता दुःखका कारण मात्रै हुन् भन्दै शोभराजले अन्त्यमा ती सबैलाई परित्याग ग¥यो । म मात्रै ठीक छु, अरू छैनन् भन्ने विचारले जकडिएको शोभराजलाई इमानदारीको कुनै बोध नभएको पुस्तक पढेपछि स्पष्ट हुन्छ ।

अनेकन् असफलता र गिरफ्तारी भोग्नुपरे पनि शोभराजको छिटो पैसा कमाउने आकाङ्क्षा भने मर्न पाएन । यस हिसाबले शोभराज मानवीय क्षमताको प्रतिबिम्बको रूपमा देखिन्छ । जेलभित्र होस् वा बाहिर, कुनै काम गर्नुपर्छ भन्ने निर्णय गरेपछि सो हासिल गर्न ऊ अनेक उपाय निकाल्थ्यो ।

उसका बारेमा पढेका–सुनेका धेरैले शोभराज व्यक्ति जन्मजातै अपराधी हो भन्ने मान्यता राख्छन् । तर पुस्तकका अनुसार ऊ जन्मजात अपराधी थिएन । आफूलाई जे गर्दा फाइदा हुन्थ्यो, त्यही अनुरूप ऊ आफूलाई परिवर्तन गथ्र्यो । पुस्तकको हरेक पृष्ठमा ऊ एउटा त्यस्तो व्यक्तिको रूपमा देखिन्छ जसको मनमा दया र करुणा शब्द थिएनन् । जिन्दगीले शोभराजलाई मतलबी, निर्दयी र एउटा घृणित व्यक्ति बनायो जसलाई आफ्नो बाहेक अरू कसैको बारेमा कुनै चासो भएन । आफ्ना कुरा मान्नेहरूप्रति मात्रै ऊ निष्ठा देखाउँथ्यो । उसको विश्वास थियो, उसको दुर्दशाका लागि भाग्य र उसलाई नागरिकता नदिने मुलुकहरू जिम्मेवार छन् । आफ्ना यस्ता अनुभवबाट सिक्दै शोभराजले आफूलाई परिवर्तन ग¥यो र अन्ततोगत्वा हत्यारा बन्यो ।

ब्याङ्कक्मा धनाढ्य जवाहरात व्यापारीका रूपमा शोभराजले आफ्नो जीवनको सबैभन्दा डरलाग्दो समय बितायो । यही समयको सेरोफेरोमा उसले थुप्रै व्यक्तिहरू हत्या गरेको थियो जसलाई मार्नु आवश्यक थिएन । शोभराज तर्क गर्छ, “हत्या गर्नु ठीक थियो, ठूला डनहरूले ती स–साना लागूऔषध व्यापारीहरूलाई मार्ने आदेश दिएका थिए ।” तर उसको तर्क पुष्टि गर्ने आधार छैनन् । अनावश्यक रूपमा गरिएका हत्याले प्रश्न उठाउँछन्, के शोभराजलाई मान्छे मार्न रमाइलो लाग्थ्यो ? के आफ्ना लुकेका अँध्यारा आकाङ्क्षा पूरा गर्न उसले हत्या गरेको थियो ? शोभराजको भनाइलाई आधार माने पनि लेखकद्वयको स्वीकारोक्ति छ, शोभराजले उपलब्ध गराएको तथ्य उनीहरूले सकेसम्म पुष्टि गर्ने प्रयास गरेका त छन् तर पूर्ण सत्य मानेका छैनन् । पुस्तकले थुप्रै विषयको जवाफ दिंदैन, र त्यो खोज्ने जिम्मा पाठकसमक्ष छाडेको छ । शोभराजका स्वीकारोक्ति पढ्दा के लाग्छ भने उसलाई कुरा लुकाउने आवश्यकता थिएन । उसले आफ्ना वास्तविकता बताउनै नचाहेको हुन सक्छ । विश्वास गर्नु–नगर्नु पाठकको निर्णय हो ।

यो पुस्तक शोभराज वा उसका अपराधको स्पष्टीकरण होइन, । यसले उसको वस्तुपरक जीवन–प्रसङ्ग प्रस्तुत गर्छ । कुनै पनि व्यक्तिले खोज्ने सफलताका आधार हुन्— सम्पत्ति, विद्वत्ता, रूप र आकर्षक व्यक्तित्व । चाल्र्स शोभराज भन्ने व्यक्तिसित यी सबै आधार थिए तर ऊ समाजको सीमान्तमा बाँचेको एक्लो हत्यारा बन्न पुग्यो । परिस्थितिले व्यक्तिलाई विकृत बनाउन सक्छ र त्यो व्यक्तिले समाजमा ठूलो तर अनावश्यक दुःख दिन्छ भन्ने नै किताब पढिसक्दा लागिरहने कुरा हो ।
(पाण्डे जलवायु परिवर्तन विषयमा रुचि राख्छिन् ।)

२०७३ कार्तिक अंक_साहित्यकारको आँखामा जलवायु परिवर्तन_समीक्षक : अजय दीक्षित

साहित्यकारको आँखामा जलवायु परिवर्तन
पुस्तक : द ग्रेट डिरेन्जमेन्ट : क्लाइमेट चेन्ज एण्ड द अनथिन्केबल
लेखक : अमिताभ घोष                प्रकाशक : पेन्गुइन बुक्स इण्डिया, २०१६
पृष्ठ : २८४                                        मूल्य :  २६.५० डलर
समीक्षक : अजय दीक्षित
विश्व जलवायु परिवर्तन धेरैको चासोको बनेको छ यतिबेला । यसबारे वैज्ञानिक, अर्थविद्, समाज वैज्ञानिक र प्राविधिज्ञहरूले थुप्रै पुस्तक लेखेका छन् । विश्वका नेता, क्रिश्चियन धर्मगुरुका साथै ब्याङ्कर्सहरूले पनि जलवायु परिवर्तन नकार्न नसकिने वास्तविकता भइसकेको स्वीकारेका छन्, यद्यपि जलवायु परिवर्तन भएको छैन भन्ने पात्र अमेरिकी राष्ट्रपतिको चुनाव लड्दैछन् । नेपाललगायत अन्य विकासशील मुलुकहरूमा जलवायु परिवर्तनबारे अझ् व्यापक चासो व्यक्त भएका छन्, किनकि यी मुलुकले जलवायु परिवर्तनको प्रत्यक्ष असर बढी भोगिरहेका छन् ।

मन्थन मा जलवायु परिवर्तनबारे समीक्षा गरिएको यो तेस्रो पुस्तक हो । यसअघि यसै स्तम्भमा एन्थोनी गिडेन्स र नाओमी क्लाइनका पुस्तक समीक्षा गरिसकिएका छन् । यसपटक समीक्षा गरिएको प्रस्तुत पुस्तक द ग्रेट डिरेन्जमेन्ट भारतीय मूलका उपन्यासकार अमिताभ घोषले लेखेका हुन् । समग्र मानव सभ्यतालाई असर गर्ने प्रक्रिया भए पनि, जलवायु परिवर्तनको विषयमा उपन्यासकार, कवि र अन्य आख्यानकारहरूले खासै कलम चलाएका छैनन् । घोष भन्छन्, ‘लन्डन बूक रिभ्यू, न्यूयोर्क बूक रिभ्यू, जर्नल रिभ्यू जस्ता प्रकाशनका पाना पल्टाउँदा यो प्रष्ट हुन्छ ।’ यी प्रकाशनमा जलवायु परिवर्तनका गैरआख्यान कृतिले मात्रै स्थान पाएका छन् । जलवायु परिवर्तनलाई लिएर उपन्यास लेखिएका छैनन् । यद्यपि उपन्यासकारहरूले जलवायु परिवर्तनबारे नलेखेका भने होइनन् । घोष भारतीय उपन्यासकार अरुन्धती रायको उदाहरण दिंदै भन्छन्, “अरुन्धती शब्द केलाउन र माला उन्न खप्पिस लेखिका हुन्, उनमा विषयप्रतिको संवेदना र भावुकता पनि छ, तर जलवायु परिवर्तनबारे उनका लेख गैरआख्यान पङ्क्तिमा पर्छन् ।” घोष जलवायु परिवर्तनले ल्याएको सङ्कटलाई साहित्यकर्मीको आँखाबाट केलाउँछन् र भन्छन्, “जलवायु सांस्कृतिक सङ्कट पनि हो, जसले मानव सभ्यतालाई विनाश गर्न सक्छ ।”

तापक्रम बढेर उत्तरी तथा दक्षिणी धु्रव र हिमालयको हिउँ पग्लिएर समुद्र सतह बढेपछि, बङ्गालका खाडीछेउ रहेका सुन्दरवन मात्रै होइन, कलकत्ता, न्यूयोर्क, ब्याङ्कक् जस्ता शहर पनि बस्नलायक रहने छैनन् । त्यस सम्भावित विषयलाई साहित्यकारले आफ्नो परिकल्पनामा कसरी उन्लान् ? “साहित्यकारले यस विषयमा कलम नचलाएमा उनीहरूले परिकल्पना गर्न नसकेको मानिनेछ” घोष भन्छन्, “जलवायु परिवर्तन एउटा वैज्ञानिक वा प्राविधिक विषय मात्रै होइन, यसको अध्ययनमा संस्कृति, साहित्य, शक्ति र राजनीतिका प्रसङ्ग पनि समेटिनुपर्छ ।”

कथा, इतिहास र राजनीति
पुस्तकमा जलवायु परिवर्तनबारेको विवेचनालाई तीन खण्डमा विभाजित गरिएको छ— कथा, इतिहास र राजनीति । १०४ पृष्ठको पहिलो खण्डमा १८ उपखण्ड, ३८ पृष्ठको दोस्रो खण्डमा ९ उपखण्ड र ५८ पृष्ठको तेस्रो खण्डमा ९ उपखण्ड छन् । पुस्तकका २१४ पृष्ठमा लेख र ५४ पृष्ठमा सन्दर्भ सामग्री समेटिएको छ । पहिलो खण्डमा हरेक सभ्यतामा प्रचलित कथा–संस्कारको स्मरण गर्दै रामायण, महाभारत, जातक कथा, उर्दू दस्तान र इलियादका उदाहरण दिइएको छ । यो खण्डमा जलवायुसित जोडिएका व्यक्तिगत र अन्य अनुभव प्रस्तुत गरिएको छ । घोष सन् १९७८ मा दिल्लीमा आएको एउटा आँधीको उल्लेख गर्छन् जसमा उनी आफैं परेका थिए । त्यसबेला जलवायु परिवर्तनबारे बहस नै शुरू भएको थिएन । त्यो आँधीका कारण आठ जनाको मृत्यु भएको थियो भने ७०० मानिसमा त्यसको प्रत्यक्ष असर परेको थियो । त्यस्ता घटना नियमित भइरहन्छन् तर मानव समाजको स्मृतिमा रहिरहँदैनन् । प्रकृतिका यस्ता घटना साहित्यको स्मरणमा पनि परेका छैनन् । घोष भन्छन्, “यस्ता घटना साहित्यिक हिसाबले लेख्न सजिलो हुँदैन ।” सुनामी, बाढी र समुद्र–सतहमा वृद्धि तथा समुद्री किनारासित जोडिएका अन्य थुप्रै प्राकृतिक घटनाहरूले ल्याएका विनाशका कथा छन्, तर ती साहित्यिक हिसाबले लेखिएका छैनन् ।

प्रकृतिको व्यवहार बुझन नसक्दा के हुँदोरहेछ त भन्ने उदाहरण घोषले प्रस्तुत गरेका छन् पुस्तकमा । कलकत्ता शहरको विकास शुरू हुनुअघि इष्ट इन्डिया कम्पनीले त्यो शहरभन्दा ५५ किलोमिटर दक्षिण–पूर्व नदीको किनारामा रहेको मतला भन्ने ठाउँमा बन्दरगाह बनाउने प्रस्ताव गरेको थियो । त्यहाँ बन्दरगाह बनाउनु उपयुक्त छैन भन्ने तर्क प्रस्तुत गर्दै पिडिङ्गटन भन्ने व्यक्तिले सन् १८५३ मा एउटा पर्चा स्थानीय गभर्नर जनरललाई बुझएका थिए । बङ्गालको खाडीमा आउने समुद्री आँधीको अध्ययनपछि पिडिङ्गटनले त्यो ठाउँ समुद्री बाढीबाट प्रभावित हुने सम्भावना औंल्याएका थिए तर निर्माणको क्रम रोकिएन । सन् १८५७ मा बन्दरगाह निर्माण शुरू गरियो र १८६४ मा त्यसको उद्घाटन पनि भयो । तर उद्घाटन भएको तीन वर्षपछि नै समुद्री आँधी र बाढीले त्यो बन्दरगाह ध्वस्त पारिदियो । बाढीका कारण तहसनहस भएका थुप्रै यस्ता मानवनिर्मित संरचनाहरू विस्मृतिमा परेका उदाहरण छन् । नेपालकै एउटा उदाहरण लिऊँ । सन् १९६२ मा मर्चवार क्षेत्रमा सिंचाइका लागि बुटवलनजिक हात्तीसूँडेस्थित तिनाउ नदीमा एउटा ब्यारेज र त्यसबाट नहर प्रणाली निर्माण गरिएको थियो । ब्यारेज निर्माण भएको एक वर्षमै तिनाउ नदीमा आएको बाढीले नदीको धारलाई ब्यारेजबाट पश्चिमपट्टि लगिदियो । त्यो नहर प्रणाली कहिल्यै सञ्चालन हुन सकेन । ब्यारेज चाहिं एउटा चिहानको रूपमा रहेको छ, विकास यात्राको क्रममा विस्मृतिमा हराएको ।

हात्तीसूँडे ब्यारेज त एउटा प्रतिबिम्ब मात्रै हो । बाढी र खडेरीका कारण नियमित र निरन्तर मानिसहरू प्रभावित हुन्छन्, तिनको जनजीविका हरिन्छ, ती विपन्नताको कुचक्रमा जाकिन पुग्छन् । तत्काल केही राहत दिने काम हुन्छ, तर बिस्तारै पर्दा खस्छ, नाटकको अन्त्य हुन्छ । पछिल्लो कालखण्डमा युद्धका कथाहरू लेखिएका छन् तर अन्य पीडाका कथा छैनन् । जलवायु परिवर्तनले बाढी र खडेरीका घटनाहरू बढाउने हुँदा जनजीविका खोसिने, विपन्नतातर्फको यात्रा लिन हजारौं साना एवं सीमान्तमा रहेका किसानहरू बाध्य हुनेछन् । यस्ता चुनौती यस क्षेत्रको वास्तविकता हो । लेखक घोषको भनाइ जस्तै यस्ता चुनौतीको निदान प्राविधिक तरीकाले मात्रै हुन सक्दैन, लेखक, सामाजिक चिन्तक, उपन्यासकार र कविका कलमको सहयोग पनि उत्तिकै आवश्यक हुन्छ ।

घटना र अनुसन्धान
घोषका उपन्यास गहकिला र अनुसन्धानमा आधारित हुन्छन् । यो पुस्तकको स्तर पनि निकै गहकिलो छ, तर एउटा विषयमा अपूरो अध्ययन प्रयोग भएको छ । घोष २०१० मा पाकिस्तानमा आएको बाढी र २००८ मा नेपालको कोशीको बाढीको उदाहरण दिन्छन् । यी दुवै घटनालाई हिउँ पग्लिएर आएको बाढी भनेका छन् । वायुमण्डलमा तापक्रम बढेपछि हिमालय क्षेत्रको तापक्रम पनि उच्च भएर हिमनदी पग्लिनु अस्वाभाविक होइन, यसै पनि हिमालय क्षेत्रमा तापक्रम बढ्ने दर अन्यत्रभन्दा उच्च छ । तर सन् २०१० मा पाकिस्तानमा आएको बाढी हिउँ पग्लिएर होइन व्यापक पानी पर्नाका कारण थियो भने कोशी नदीमा २००८ मा ठूलो बाढी आएको नभई तटबन्ध फुटेर नदी गाउँतिर पसेको थियो । गहन अनुसन्धान गर्ने लेखकबाट कसरी यस्तो त्रुटि हुन पुग्यो, विचारणीय छ ।

राजनीतिको सन्दर्भ
जलवायु परिवर्तन कसरी शुरू भयो र त्यसलाई कसरी बुझने ? त्यसका लागि यूरोपको इतिहासतिर पुग्नुपर्ने हुन्छ । यूरोपको इतिहासमा औद्योगिक क्रान्ति कालखण्ड महŒवपूर्ण आयाम हो । औद्योगिक कालखण्ड अगाडिका पुनर्जागरण र पहिलो औद्योगिक क्रान्ति अगाडिको यूरोपेली ज्ञानोदिपनको समय त्यतिकै महŒवपूर्ण छन् । पुनर्जागरण कालखण्डपछि वैज्ञानिक संस्कार स्थापना हुन थालेको हो । त्यसैबेला यूरोपमा पूँजीवादी व्यवस्था घनीभूत हुन शुरू भएको हो । यूरोपेली ज्ञानोदिपन कालखण्डमा चिन्तक र दार्शनिकहरूले नयाँ विचार प्रतिपादित गरे, विज्ञान, साहित्य, दर्शन, राजनीतिजस्ता विषयमा । त्यस समयका चलाख व्यक्तिहरूले यस्ता विचारलाई व्यावहारिक जीवनमा प्रयोग गरेर औद्योगिक क्रान्ति अगाडि लगेका थिए ।

औद्योगिक क्रान्तिका सिर्जनाहरू नाफा कमाउने ध्येयबाट पनि निर्देशित थिए । विस्तारै नयाँ प्रविधि आविष्कार भए र प्रयोगमा आए । प्रविधिको विकास र परिमार्जनको एउटा तात्विक आधार थियो कोइलाको दोहन र प्रयोग । सन् १७७० तिर व्यापक हुन थालेको कोइला बाल्ने क्रम अझ्ै जारी छ, विद्युत् ऊर्जा उत्पादनका लागि । कोइलाको दोहन शुरू भएको सय वर्षपछि सन् १८५० तिर खनिज तेलको उत्खनन् व्यापारिक हिसाबले हुन थालेपछि प्रविधि परिमार्जन हुने क्रम बढ्यो, पश्चिमी मुलुकहरू औद्योगिक यात्रामा अगाडि बढे, सम्पन्न भए तर त्यहाँको सामाजिक र आर्थिक व्यवस्था कार्बन पदचिह्न स्थापित गर्ने बाटोमा बाँधिन पुग्यो । अन्य मुलुक त्यस बाटोमा लागिसकेका थिएनन् । अब त भारत, चीनलगायत अन्य मुलुकहरूको पनि कार्बन पदचिह्न बढ्न थालेको छ ।

नयाँ संस्कारको खोजी
पश्चिमी विश्वलाई घोषले ‘एङ्लोस्फेर’को संज्ञा दिएका छन् । उनी भन्छन्, “जलवायु परिवर्तनले एङ्लोस्फेरको जीवनपद्धति असर पर्ने आख्यान अगाडि आएको छ ।” जलवायु परिवर्तन र समाजबारे विवेचना गर्दै यो चुनौतीको प्राविधिक नभई सांस्कृतिक हिसाबले निदान खोज्नुपर्छ । ‘पश्चिमी मुलुकका आख्यानहरूमाः हाम्रो जीवनपद्धति’ प्रभावित हुने भन्ने विवरण प्रस्तुत हुन्छन् जलवायु परिवर्तनको सन्दर्भमा । जबकि वास्तविक असर भोग्ने तप्का विकासोन्मुख मुलुक र त्यहाँका बासिन्दा नै हुन् । तिनको हक कसरी प्रत्याभूत गर्ने ? वैकल्पिक बाटो हुनसक्छ कि सक्दैन ? पश्चिमी आधुनिकता नै अगाडिको विकास बाटो र गन्तव्य हो भन्ने विचार सबैतिर हावी भएको देखिन्छ । वैकल्पिक गन्तव्यको खोजी गर्ने चिन्तकहरू छन् तर यो चिन्तनलाई बढ्दो हिंसाले ओझ्ेलमा पारेको अनुभूति हुन्छ । जलवायु परिवर्तनले हिंसा र सुरक्षाको पक्ष प्रभावित गर्ने विषयलाई पनि घोषले पुस्तकमा समेटेका छन् ।

नेपालमा पनि जलवायु परिवर्तन प्राविधिक विषयको रूपमा स्थापित छ । समीक्षक विगत दुई दशकदेखि नेपाल र नेपालीलाई जलवायु परिवर्तनले पार्ने असरसित कसरी अभ्यस्त रहनेलगायतका प्रश्नहरूको जवाफ खोज्न प्रयासरत छ । अनुभव भन्छ, “जलवायु परिवर्तनको विषय आईपीसीसी, यूएनएफसीसी, दाता समुदाय र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्गठनमा कार्यरत विशेषज्ञहरूको सेरोफेरोमा घुम्ने गरेको छ ।” आईपीसीसीका वर्णमाला र प्रक्रियाहरूबारे यो तप्का पोख्त छ, तर जलवायु परिवर्तनका ऐतिहासिक, सामाजिक, राजनीतिक एवं संरचनागत चुनौतीहरू आफैं संयोजन हुने मान्यता बोक्छ । 

नेपालमा जलवायु परिवर्तनको यावत् जिम्मा वातावरण मन्त्रालयले पाएको छ भने स्थानीय विकास, अर्थ र गृह मन्त्रालयजस्ता संयन्त्रको दैनिकीमा प्राथमिकतामा पनि पर्न सकेको छैन । अर्कोतर्फ इतिहासकार, सामाजिक चिन्तक एवं समाजका पथप्रदर्शकहरू छन्, जसको मान्यता जलवायु परिवर्तन प्राविधिक विषय भएकाले यसको निराकरण पनि त्यही हिसाबले हुन्छ भन्ने छ । आगामी दिनहरूमा जलवायु परिवर्तनको चुनौतीलाई साहित्यकार, कवि अन्य साहित्यकारहरूले आख्यानको रूपमा पनि सशक्त रूपमा उठाउनुपर्ने लेखक घोषको यो प्रस्ताव नेपालका लागि उत्तिकै सान्दर्भिक छ । गैरआख्यानबाट आख्यानतर्फ जलवायु परिवर्तनलाई समेट्नुपर्ने कुरा आजको आवश्यकता पनि हो ।

२०७३ भाद्र अंक_भारतको खडेरीलाई फर्केर हेर्दा_समीक्षक : आशुतोष शुक्ला

भारतको खडेरीलाई फर्केर हेर्दा
पुस्तक : एभ्रीवडी लभ्स अ गुड ड्राउट : स्टोरिज् फ्रम इण्डियाज पूरेस्ट डिस्ट्रिक्स
लेखक : पी. साइनाथ                    प्रकाशक : पेन्गुइन बुक्स, १९९६
पृष्ठ : ४३५                                    मूल्य :  २८ डलर
समीक्षक : आशुतोष शुक्ला
संरचनागत गरीबी
सन् २०१५ को अन्त्यतिर दिल्ली विमानस्थलमा पी. साइनाथद्वारा लिखित ‘एभ्रीवन लभ्स ए गुड ड्राउट’ पुस्तक देखें । ई.सं. १९९६ मा प्रकाशित त्यो चर्चित पुस्तक पढ्ने मौका मिलेको थिएन, त्यसैले छापिएको १९ वर्षपछि भए पनि पढ्न मन लाग्यो र किनें । सन् २०१६ शुरू भएपछि नेपाललगायत भारतका उत्तर र पश्चिमी राज्यहरू लामो खडेरीको चपेटामा परे र खानेपानीको हाहाकारदेखि किसानको आत्महत्याको प्रकरण सञ्चारजगतमा चर्चाका विषय बने । यसपालिको खडेरी चल्दै गर्दा मलाई त्यो किताब पढ्ने मौका मिल्यो ।

आवश्यक परिमाणमा वर्ष भएन भने सुक्खा लाग्छ, खडेरी पर्छ अनि अनिकाल । सामाजिक तथा राजनीतिक कारणले पनि खडेरी ल्याउँछ, अनिकाल पार्छ । गरीब र विपन्नहरू कसरी झ्न् गरीबी र दुर्बलताको दुष्चक्रमा परेका छन् भन्ने कथा सशक्त शैलीमा प्रस्तुत गरिएको छ पुस्तकमा । कथाका विषयवस्तुमा समेटिएको छ— स्वास्थ्य, शिक्षा, प्राकृतिक स्रोतमा पहुँचको कमी, विस्थापन, अन्याय, सरकारी पक्षको संवेदनहीनता एवं उदासीनता । लेखक प्रतिनिधि पात्र र घटनालाई अतिरञ्जित नगरी तथ्यगत र यथार्थपरक विश्लेषण प्रस्तुत गर्छन् जुन पुस्तकको सबल पक्ष हो । 

भारत मात्रै होइन समग्र दक्षिणएशियाकै ग्रामीण क्षेत्रका असंख्य गरीबको प्रतिनिधित्व गर्ने दस्तावेज मान्न सकिन्छ पुस्तकलाई । पुस्तक प्रकाशित भएको दुई दशकपछि पनि विकासको अवधारणा, तिनको कार्यान्वयन र निरन्तरतामा विचारको खडेरी रहिरहेका कारण गरीब र विपन्न जीवनमा परिवर्तन आउन सकेको छैन । पुस्तकले खडेरीका कारणको विश्लेषण तथा व्याख्या गर्ने प्रशस्त आधार दिन्छ, तर सुक्खा समाधान गर्ने तात्कालिक उपाय भने सुझउँदैन ।

प्रस्तुत निबन्धहरूले विकास, गरीबी र दुर्बलताबीचको अन्तर सम्बन्धको व्याख्या गर्ने सिद्धान्त र चिन्तनलाई चुनौती दिएका छन् । विकासको सर्वमान्य सिद्धान्तले संरचनागत विकास, उत्पादनमा वृद्धि र बजारको पहुँचले गरीबी र दुर्बलतालाई कम गर्ने अवधारणा अनुरूप गरीबी निवारणका लागि यी क्षेत्रहरूमा लगानी बढाउने बाटो प्रस्ताव गर्छन् र सोही अनुरूप विकासका क्रियाकलाप गरिन्छन् । तर यसै क्रममा गरीबीका मूलभूत र संवेदनशील कारण र तिनको समाधानका उपाय भने छुट्ने गर्छन् । विकास योजनाको अवधारणा र कार्यान्वयनमा तिनको समायोजन नहुने हुँदा विकासको प्रतिफल गरीब र विपन्नहरूमा पुग्न सक्दैन, पुग्नसकेको छैन । लगातारको असफलताबाट पाठ नसिक्ने संयन्त्रले पुरानै विचार र पद्धतिलाई निरन्तरता दिंदा गरीबी र दुर्बलता निवारण प्रयास असफल भएका छन् । 

विकास र विस्थापन
पुस्तकमा प्रस्तुत विकास र विस्थापनका कथाहरू जीवन्त छन् । बिहार राज्यको गोड्डा गाउँमा सञ्चालित कोइलाखानीले १२ वटा गाउँका बासिन्दाको कृषिमा आधारित जीविकोपार्जनलाई नष्ट ग¥यो । खानीमा कार्यरत एक हजार ३०० कामदारमध्ये धेरैजसो बाहिरिया थिए । स्थानीय बासिन्दाको नष्ट भएको जीविकोपार्जनको पुनस्र्थापनामा न खानी सञ्चालक न त सरकारले नै कुनै चासो देखाए । बिहारकै जनजाति बस्ने अर्को क्षेत्रमा कृषकलाई राहतस्वरूप गाई वितरण गरिएको थियो । तर ऋण पाउने परिवारको गाई पाल्ने, दूध उत्पादन गरी त्यसको उपभोग गर्ने कुनै अनुभव थिएन, तिनले गाई काटेर मासु खाइदिए । फलस्वरूप ऋण दिएर विकास गर्ने अवधारणा नै असफल हुनपुग्यो । यी र यस्ता कथाले विकास योजनाको पहिचान र कार्यान्वयनमा स्थानीय प्राथमिकता र सरोकारलाई वास्ता नगरिएको यथार्थ चित्रित गर्दछन् । 

चिपकर गाउँका बासिन्दाको कथा पुस्तकमा प्रस्तुत अर्को घतलाग्दो दृष्टान्त हो । सन् १९६८ मा हिन्दूस्तान एरोनटिक्स लिमिटेडले लडाकू विमान उत्पादनका लागि जग्गा अधिग्रहणका क्रममा त्यस गाउँका पाँच सय परिवार विस्थापित गरिए । नयाँ ठाउँमा बसोबास गर्न थालेका ती परिवारले त्यस स्थानको नाम चिपकर नै राखे । सन् १९८७ मा कोलाब बहुउद्देश्यीय परियोजना निर्माणका लागि त्यो ठाउँको पनि जग्गा अधिग्रहण गरियो, ती गाउँलेहरू दोेस्रो पटक विस्थापित भए र नयाँ ठाउँमा गए । 

जग्गा अधिग्रहण पछि सरकारद्वारा प्रदान गरिने मुआब्जा जग्गाको चलनचल्तीको मूल्यभन्दा निकै कम हुन्छ र त्यही पाउन पनि विस्थापित परिवारले वर्षौं कुर्नुपर्छ । आफ्नो थातथलोबाट विस्थापित भएर नयाँ ठाउँमा जीवन शुरू गर्दा परिवारहरू समय, श्रम र आर्थिक लगानी गर्छन् । यी विषयहरू मुआब्जा निर्धारणको आधार हुनुपर्ने सरकारद्वारा स्वीकृत सिद्धान्तभित्र परे पनि यथार्थ भने बेग्लै हुने गर्छ । 

अर्को एउटा गाउँका बासिन्दा सेनाले युद्धाभ्यास गर्दा छोटो समयका लागि वर्षेनि विस्थापित हुन्थे । उनीहरूका लागि सरकारले प्रतिव्यक्ति, प्रतिदिन रु.१.५० क्षतिपूर्तिको व्यवस्था गरेको थियो । त्यस व्यवस्थाबारे एक उच्च सरकारी कर्मचारीको भनाइ उद्धृत गर्दै साइनाथ लेख्छन्, “तर मुम्बईको मालाबार हिलमा बसोबास गर्ने उच्च आय भएका वर्गका बासिन्दालाई सरकारले सैनिक अभ्यासका लागि दैनिक रु.१.५० को क्षतिपूर्ति दिएर हटाउन सम्भव छैन ।” प्रजातान्त्रिक मुलुकमा सरकार र नागरिक बीचको सम्बन्ध नागरिकमुखी हुनुपर्ने हो तर यो सम्बन्ध मालिक, नोकर, अझ् भनौं जमीनदार र रैतीको जस्तो हुन पुगेको छ । आशा गरौं भारतीय संसद्ले सन् २०१५ मा पास गरेको जग्गा अधिग्रहण कानून यस्ता विसंगति हटाउन सफल हुनेछ ।

सुक्खाबाट खडेरी 
खडेरीका कथा समेट्दै साइनाथ तर्क गर्छन्, “वर्षा कम हुनु मात्र खडेरीको कारण होइन, किनभने पटक–पटक खडेरीको पीडा खेपिरहेका क्षेत्रहरूको औसत वर्षा अन्य क्षेत्रहरूको भन्दा बढी भए पनि यस्ता ठाउँमा बारम्बार खडेरी परिरहनु भनेको त्यहाँ खडेरीका अन्य कारणहरू पनि भएको प्रष्ट हुन्छ ।” यहाँनेर स्थानीय परिवेश र उत्पादन प्रणालीमा पानीको बाँडफाँड र उपयोग कसरी गरिएको छ भन्ने प्रश्न महŒवपूर्ण छ । एउटा उदाहरण चिनी उत्पादनको हो । भारतको ७३ प्रतिशत चिनीको उत्पादन वर्षेनि खडेरीको चपेटामा परिरहने ठाउँबाट हुन्छ । उखु उत्पादनका लागि पानी अत्यधिक आवश्यक पर्छ, पानीमा ठूला कृषकको पहुँच र पकड स्वाभाविक रूपमै बलियो हुन्छ । पानी नपरेर सुक्खा प¥यो भने साना किसानलाई सिंचाइका लागि पानी उपलब्ध हुँदैन, त्यसैले तिनीहरू खडेरीको मारमा पर्छन् । सरकारले स्थानविशेष क्षेत्रलाई खडेरी घोषणा गर्नुका पछाडि पनि व्यक्ति वा समूहको निहित स्वार्थ लुकेको हुन्छ । खडेरी क्षेत्र घोषणा भएपछि सरकारबाट उपलब्ध गराइने अनुदान ठूलाठालु कहाँ नै पुग्छ । सञ्चार सञ्जालले प्रारम्भिक चरणमा सरकारको ध्यान आकृष्ट गर्न मद्दत त गर्छ, तर संचारमाध्यमको स्वार्थ स्थितिको भयावहतालाई चाखलाग्दो तरीकाले प्रस्तुत गरेर आफ्ना पाठक÷दर्शक संख्या बढाउनेतिर मात्र केन्द्रित हुन्छ । अर्कोतिर सरकार र गैरसरकारी संस्थाहरू खडेरीको कारण बुझ्ेर समाधान निकाल्नुको साटो राहत वितरणमै केन्द्रित रहन्छन् । 

पुस्तकले आर्थिक प्रगति र विकासबीचकोे भिन्नतालाई सशक्त ढंगले प्रस्तुत गरेको छ । भारतलगायत दक्षिणएशियाका अन्य मुलुकमा गरीबी र दुर्बलताका लागि जिम्मेवार दुष्चक्रहरूको निरन्तरता यथावत हुनुमा सन् १९९० पछि ती मुुलुकको आर्थिक सामाजिक व्यवस्थाको विश्लेषणबाट प्रष्ट हुन्छ । सन् १९९० पछि भारतको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर सरदर ९ प्रतिशतको हाराहारीमा रह्यो तर यो उच्च वृद्धिदरले पनि गरीबी निवारणमा खासै योगदान दिन सकेन । यसको एउटा कारण हो संरचनागत दुष्चक्रहरूको निरन्तरता । ‘को गरीब ?’ भन्ने आकलन एउटा सन्दर्भ हो । सरकारी तथ्यांकले प्रतिदिन खानामा चाहिने पोषकतत्व आपूर्तिका लागि चाहिने आम्दानीलाई गरीबीको आधार मानेको छ । यो विधि विवादित छ । अर्को विधि गरीबको टाउको गन्तीको प्रक्रिया हो । राजनीतिक हिसाबले यो विधि निरपेक्ष हँंदैन र यो पनि विवादित छ । कुनै क्षेत्रको जनगणनामा गरीब र विपन्नता घटेको देखाउनु पर्दा विपन्न समुदाय, जनजाति र पिछडा समूहलाई गणना गरिंदैन । यसो गर्नु राजनीतिक अभीष्टका लागि सामान्य मानिन्छ । साइनाथ भन्छन्, “भारतमा गरीब कति छन् भन्ने स्पष्ट आँकडा नै छैन । तिनको संख्या कुल जनसंख्याको २० प्रतिशतदेखि ५० प्रतिशत अर्थात् २४ करोडदेखि ६० करोड भएको अनुमान गर्न सकिन्छ । भारत विकसित राष्ट्रको श्रेणीमा उक्लने हो भने ठूलो जनसंख्यालाई गरीबीको रेखा माथि उकाल्नै पर्छ । भारतमा अरू पनि थुप्रै चुनौती छन् । त्यहाँ ५० प्रतिशत जनसंख्याका लागि आवास छैन, ७० प्रतिशतका लागि उपयुक्त शौचालय छैन, ३५ प्रतिशतलाई खानेपानी आपूर्ति हँुदैन, ८५ प्रतिशत गाउँमा माध्यमिक तहका विद्यालय छैनन्, ४० प्रतिशत गाउँ सडक मार्गसँग जोडिएका छैनन् । भारतको ९ प्रतिशतको उत्पादन वृद्धिदरभित्र लुकेका यी वास्तविकता एकातिर छन् भने ‘चम्किंदो भारत’ को सपना अर्कोतिर । खडेरीका कारण सन् २०१५ मा तीन हजार २२८ किसानले आत्महत्या गर्नुपर्ने विवशता पनि यिनै विसंगति भित्र पर्दछन् । यी विसंगतिले लोककल्याणकारी राज्य र राज्यव्यवस्थाका अगाडि ठूलो प्रश्न तेस्र्याउँछन् ।

रूपान्तरणको बाटो
गरीबी र दुर्बलताको दुष्चक्रबाट उम्किने बाटो ठम्याउने पहिलो शर्त हो सरकार र समाजले शताब्दीयौंदेखिका विसंगति कायम छन् र अझ्ै रहिरहने छन् भन्ने यथार्थ स्वीकार्नु । यो वास्तविकता आत्मसात गर्न सके दुष्चक्रका कारणहरू पहिचान गर्न सम्भव हुन्छ । विकासका तथ्याङ्कलाई आकर्षक बनाउन गरीब र विपन्न वर्गको गणना नगर्नु वा गरीबी र विपन्नताको यथार्थलाई बिर्सनु उचित अभ्यास हुन सक्दैन । लोककल्याणकारी राज्य र राज्य व्यवस्थापनका लागि प्रजातन्त्रलाई तलदेखि माथिसम्म दरिलो बनाउनु र राज्यव्यवस्थामा तल्लोभन्दा तल्लो समूहको व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्नु आवश्यक हुन्छ । 

भौतिक निर्माण र विकासमा भिन्नताबारे स्पष्ट हुनु पनि जरूरी छ । सबै भौतिक निर्माणले विकासलाई डो¥याउँदैनन् । निर्माण त्यतिबेला मात्रै विकासमा अनुवादित हुन्छ, जुनबेला यसले मानवीय विकासलाई टेवा दिन्छ । जलविद्युत् योजना सम्पन्न हुनु, सिंचाइको कुलो बन्नु, सडकको लम्बाइ बढ्नु, अस्पताल वा विद्यालय निर्माण हुनु भौतिक प्रगतिका सूचक त हुन् तर विकासका सूचक होइनन् । तल्लोभन्दा तल्लो वर्गका लागि विद्युत् आपूर्ति, खानेपानी र शौचालयको उपलब्धता, स्वास्थ्य र शिक्षा सेवामा पहुँच र आफ्ना लागि सन्दर्भ अनुरूप निर्णय लिने क्षमता विकासका सूचक हुन् । 

‘एभ्रीवन लभ्स ए गुड ड्राउट’ अहिले पनि उत्तिकै सान्दर्भिक छ । विपन्न क्षेत्रका लागि योजना तर्जुमा र कार्यान्वयनसँग सम्बन्धित विसंगतिलाई बुझन पुस्तक उपयोगी र सहयोगी छ । कथावस्तुहरू लेखककै अध्ययन र अनुसन्धानमा आधारित भएका कारण यथार्थपरक छन् । पुस्तकमा असफलताका कथाको संख्या धेरै छ, सफलताका कथा न्यून मात्र । छिमेकको यथार्थका यी कथाहरू नेपालको प्रगति र विकासको मार्गचित्र कोर्न पनि उत्तिकै मननीय छन् । नेपाल नयाँ संविधान कार्यान्वयनको चरणमा छ, यसको सफलताका लागि समावेशिताको सिद्धान्त अंगीकार गर्नुको विकल्प छैन । कृषिको विकास, सबैका लागि शिक्षा र स्वास्थ्य सेवाको पहुँच, पूर्वाधार र अर्थतन्त्रको विकाससँगै सरकारी संयन्त्रहरूका कमी–कमजोरीको आवधिक मूल्याङ्कन र परिमार्जन निरन्तर आवश्यक पर्नेछ । भारत लगायतका दक्षिण एशियाली मुलुकहरूकोे विकास बहसमा बजारमुखी अर्थतन्त्रलाई गरीबीको निरन्तरताका लागि जिम्मेवार ठहर गर्नु ठीक होइन, न त सरकारले सबै जिम्मा बजारलाई दिनु । बीचको बाटो रोज्नु नै सही विकल्प हो । र त्यो राजनीतिक कार्य क्षेत्र अन्तर्गत पर्ने विषय हो ।
(प्राध्यापक शुक्ला सिञ्चित कृषिका अध्येता हुन् ।)

२०७३ भाद्र अंक_दक्षिणी चीन सागर ः अस्थिरता र असर_समीक्षक : दीपकप्रसाद भट्टराई

दक्षिणी चीन सागर : अस्थिरता र असर
पुस्तक : एसियाज कौलड्रोन : द साउथ चाइना सी एण्ड द इन्ड अफ अ स्टेबल प्यासिफिक
लेखक : रोवर्ट डि. कापलान प्रकाशक : ¥यान्डम हाउस, २०१४
पृष्ठ : २२५ मूल्य : ११.२९ डलर

समीक्षक : दीपकप्रसाद भट्टराई
उत्तरी छिमेकी चीनसितको सम्बन्धबारे केही दिनयता नेपालमा निकै छलफल हुन थालेका छन् । प्रधानमन्त्री केपी ओलीको केही महीनाअघिको भ्रमणपछि चीनको सहयोगमा हुने सम्भावित विकास, उसले अगाडि सारेको ‘एउटा बाटो र क्षेत्र’ सम्बन्धी अवधारणा छलफलका प्रमुख विषय बनेका छन् । चीन शक्ति राष्ट्र बन्ने दौडमा छ । उसको आर्थिक वृद्धि उच्च छ र विश्वबजारमा पाइने थुप्रै सरसामान उसले निर्माण गर्छ । अर्थतिर हरितगृह ग्याँस बढी उत्सर्जन गर्नेमा चीन विश्वकै पहिलो मुलुक बनेको छ ।

रोवर्ट डि. कापलानको पुस्तक एशियाज कौलड्रोन समृद्ध बन्दै गरेको चीनको भू–राजनीतिक विश्लेषण हो । दक्षिण चीन सागर क्षेत्रको सन्दर्भलाई कापलानले आफ्नो विश्लेषणको आधार बनाएका छन् । झ्न्डै ३ लाख ५० हजार वर्ग किलोमिटर क्षेत्रफल ओगट्ने दक्षिण चीन सागर क्षेत्रमा सिङ्गापुर, फिलिपिन्स, ताइवान, भियतनाम र चीन रहेका छन् । दक्षिण चीन सागर (साउथ चाइना सी) ले प्रशान्त र हिन्द महासागरबीचको समुद्री व्यापार मार्ग जोड्छ । विश्व व्यापारका आधाभन्दा बढी सरसामान (टनको हिसाबले) यही समुद्री मार्गबाट ओसारपसार हुने हुँदा यस क्षेत्रको महŒव उच्च भएको हो । साथै, यस क्षेत्रमा ७ अर्ब ब्यारेलभन्दा बढी तेल र ९ सय खर्ब टन प्राकृतिक ग्याँस रहेको अनुमान छ । 

आर्थिक समृद्धिले चीनलाई सैनिक हिसाबले पनि शक्तिशाली बनाउँदैछ, खासगरी नौसैनिक बेडाको सुदृढीकरण र बढोत्तरीमा । उसको यो शक्ति दक्षिण चीन सागरमा देखिन थालेको छ । चीनले त्यस सागरमा ‘नाइन ड्यास लाइन’ ९लष्लभ(मबकज ष्लिभ० भन्ने काल्पनिक रेखाङ्कन गरेर आफ्नो प्रभाव क्षेत्र तोकेको छ । दक्षिणी चीन सागर क्षेत्रलाई भियतनाम र ताइवानले आफ्नो भनी दाबी गरिरहेका छन् भने खिचातानीमा फिलिपिन्स, मलेसिया र सिङ्गापुर पनि तानिएका छन् । चीनको बढ्दो नौसैनिक शक्तिले त्यस मुलुकलाई अमेरिकाको टक्करमा पु¥याउन सक्छ, जसले अमेरिकी बाहुल्य भएको सामरिक समुद्री प्रभुत्व प्रभावित हुन सक्छ । पुस्तकमा कापलानले ती मुलुकमा गरेका नियात्रा र इतिहासको पनि सहयोग लिएका छन् । 

चीनको समुद्री शक्ति बढ्ने सम्भावना विश्लेषण गर्दै कापलान पश्चिम गोलाद्र्धको क्यारेबियन क्षेत्रमा १९औं र २०औं शताब्दीमा भएका अमेरिकी क्रियाकलाप प्रस्तुत गर्छन् । सन् १८९८ र १९१४ बीच संयुक्त राज्य अमेरिकाले स्पेनलाई नौसैनिक लडाइँमा हरायो । आन्ध्र र प्रशान्त महासागरलाई जोड्ने पानामा नहरको निर्माण त्यसै कालखण्डमा भएको हो । नहर बनेपछि प्रशान्त र आन्ध्र महासागर जोडियो र ती दुई क्षेत्रबीच हुने व्यापार अमेरिकी प्रभावमा आयो । त्यति मात्रै होइन संयुक्त राज्य अमेरिका पश्चिमी गोलाद्र्धको शक्तिशाली मुलुक बन्यो जसले पूर्वीगोलाद्र्ध अर्थात् प्रशान्त महासागर क्षेत्रलाई आफ्नो मुलुकको प्रभावमा ल्याई एक प्रकारको शक्ति सन्तुलन कायम राखेको छ । कापलान भन्छन्, “यदि चीनले दक्षिण चीन सागर क्षेत्रमा अमेरिकी नौसैनिक बेडालाई विस्थापित गर्ने हो भने वा त्यसको बराबरीमा मात्रै पुग्ने हो भने पनि विश्व सामरिक सन्तुलन परिवर्तन हुनेछ ।”

भियतनामको भूमिका
चीन र भियतनामको सम्बन्धमा खिचातानी छ । ११औं, १५औं र १८औं शताब्दीमा भियतनामले धेरैपल्ट चीनसँग लडेर आफ्नो सम्प्रभुत्व जोगाएको थियो । आधुनिक कालखण्डमा भियतनाम केही समय फ्रान्सको प्रभावमा रह्यो । दोस्रो विश्वयुद्धपछि, सन् १९५४ मा उत्तर भियतनाम स्वतन्त्र मुलुक बन्यो भने दक्षिण अर्को स्वतन्त्र मुलुक जसलाई संयुक्तराज्य अमेरिकाको सहयोग प्राप्त थियो । सन् १९५४ देखि १९७५ सम्म अमेरिका र उत्तर भियतनामको लडाइँ भयो जसमा उत्तर भियतनाम विजयी भएको हो र सन् १९७६ मा दक्षिण र उत्तरी भियतनाम जोडेर समाजवादी गणतान्त्रिक भियतनाम घोषणा भयो । 

वर्तमानमा भियतनाम चिनियाँ प्रभावबाट आफूलाई स्वतन्त्र राख्न आतुर देखिन्छ; तर भारतसितको भूगोलबाट नेपाल भाग्न नसकेझ्ैं, चीनसितको भौगोलिक निकटताबाट भाग्न भियतनामलाई पनि सजिलो छैन । भियतनामी विश्लेषकहरू भियतनामलाई चीनबाट खतरा छ भन्ने विश्वास गर्छन् र संयुक्त राज्य अमेरिकासँगको सहकार्यले आफूमाथि चीनको प्रभुत्व कम गराउने तर्क अघि सार्छन् । भियतनाम र अमेरिकाले परमाणु शक्ति सम्बन्धी सम्झैता गरेका छन् जसले ती दुई मुलुकबीचको सम्बन्ध अगाडि बढाउन थप बल प्रदान गर्न सक्छ । विडम्बना, अमेरिकासित लडाइँ गरेको कालखण्डमा भियतनाम चीनसित नजिक थियो । स्थिर अर्थतन्त्र, सुधारोन्मुख औद्योगिक व्यवस्था र सैन्यबलको आधुनिकीकरण गर्ने बाटोमा लागेको भियतनामले तत्काल अमेरिकासँग सैन्य सम्झैता गरिहाल्ने सम्भावना भने कापलान देख्दैनन् ।

मलेसिया र सिङ्गापुर
मलेसिया र सिङ्गापुर पनि दक्षिण चीन सागर किनारामा रहेका मुलुक हुन् । लगभग ६० प्रतिशत मुसलमान, २३ प्रतिशत चिनियाँ, ९ प्रतिशत भारतीयका साथै म्यानमार र बङ्गलादेशबाट आएका थुप्रै कामदारको उपस्थितिले मलेसियालाई बहुजातीय र बहुभाषिक मुलुक बनाएको छ । विगत केही वर्षयता हजारौं हजार नेपाली पनि  मलेसियामा जागीर खान जाने गर्छन् । तत्कालीन प्रधानमन्त्री महाथिर मोहम्मदले मलेसियालाई विकसित त बनाए तर अन्तर्जातीय द्वन्द्व व्यवस्थापन, आन्तरिक मामिला र जातजातिको व्यवस्था सुधार गर्ने कार्य त्यस मुलुकसामु चुनौतीको रूपमा छ । सिङ्गापुरका लि क्वान युले आर्थिक सुधार गरी देशलाई समृद्ध बनाए । चिनियाँ नेता देङको प्रतिमा स्थापना गरेर सिङ्गापुरले स्वच्छ व्यवहारको परिचय दिएको छ, तर सिङ्गापुर पनि चीनसित सशंकित छ । सिङ्गापुर आफ्नो वायुसेना लगायत सैन्यशक्ति बढाउने बाटोमा लागेको छ भने मलेसियाले आफ्नो रक्षा बजेट दोब्बर बनाइसकेको छ ।

फिलिपिन्स र ताइवान
कापलान दक्षिणी चीन सागर किनारामा रहेको मुलुक फिलिपिन्स पुग्छन् । सन् ७० को दशकमा दक्षिण पूर्वी एशियाका मुलुकहरू विकासको मार्गमा लागे तर फिलिपिन्सले गति लिन सकेन । फिलिपिन्स अहिलेसम्म पनि यस भेगका अन्य मुलुकहरूभन्दा पछाडि छ । फिलिपिन्समा अमेरिकी लगानी भएर पनि उसले विकासमा गति लिनसकेको छैन । कापलान भन्छन्, “भ्रष्टाचार, अकर्मण्यता, हठ र गरीबीमा जकडिएको छ फिलिपिन्स । गुण्डागर्दी र अपराधको आधारमा निर्देशित राजनीति भएकै कारण फिलिपिन्सले विकास गर्न नसकेको हो । चीनको नौसेनालाई त्यस क्षेत्रमा आउन गाह्रो छैन, किनभने त्यो रोक्न फिलिपिन्स सक्षम छैन । त्यसै भएर फिलिपिन्सलाई अमेरिकी बेडाको उपस्थिति आवश्यक परेको हो ।”

नयाँ नौसैनिक शक्तिको रूपमा चीनको उदयले ताइवानको स्थिति कस्तो बनाउँला ? दक्षिण चीन सागर तथा दक्षिण पूर्वी एशिया बीच रहेको महŒवपूर्ण खुड्किलो मान्दै जापानले सन् १८९५ देखि ताइवानमा ५० वर्ष राज्य गरेको थियो । त्यस अवधिमा त्यहाँ पारदर्शी सरकार र विकास संस्थाहरू बनाइए जसले वर्तमान ताइवानको जग बस्यो । चीन भन्छ, “ताइवान उसको भाग हो र त्यस मुलुकको चीनसित एकीकरण हुनुपर्छ ।” चीनले ताइवानलाई आफूमा विलय गर्न निर्णय गरेमा अमेरिकाले के गर्ला ? ताइवानको लागि अमेरिकी नौसैनिक प्रयोग कति सफल होला ? ताइवानको यथास्थिति कायम राख्न यस क्षेत्रमा ठूलो सैन्यशक्ति परिचालन मात्रै होइन सिर्जनशील कूटनीति पनि आवश्यक देख्छन्, कापलान । लेखक भन्छन्, “चीन आर्थिक र सैनिक हिसाबले शक्तिशाली बनेकाले ताइवानको स्वतन्त्र रहने अधिकारमा प्रश्न उठ्न थालेको छ ।” कापलान थप्छन्, “चिनियाँ जलसेना अमेरिकाको लागि टाउको दुखाइको विषय बन्न थालेको छ, संयुक्त राज्य अमेरिकाले यो स्थितिलाई बेवास्ता गर्न सक्दैन ।” 

नेपाल साइनो
दक्षिण चीन सागर क्षेत्रमा नौसैनिक सैनिकीकरण बढाउने होडबाजी बारे कापलान भन्छन्, “यो निश्चय पनि चिन्ताको विषय हो । पूर्वी प्रशान्त र हिन्द महासागरमा आफ्नो उपस्थिति देखाउन चीन सक्षम छ तर त्यहाँ पनि अमेरिका आफ्नो वर्चस्व कायम राख्न चाहन्छ । यसरी दक्षिण पूर्वी एशिया नै द्वन्द्वमा तानिने हुँदा भविष्य चिन्ताजनक हुनेछ ।” २०औं शताब्दी शुरू भएपछि युरोपमा स्थल सैनिक क्षमता वृद्धि गर्ने होडबाजी चलेको थियो र दुइटा विश्वयुद्ध पनि भए । कापलान भन्छन्, “नौसैनिक बेडाको वृद्धि चिन्ताको विषय त हो तर समुद्रको इतिहास हेर्दा त्यहाँ जमीनको जस्तो युद्ध भइहाल्ने अवस्था छैन । समुद्र स्वयंले जाइलाग्ने प्रवृत्ति रोक्नेछ ।” कापलान भन्छन्, “यस क्षेत्रमा युद्धको सट्टा व्यापारले प्रश्रय पाउने सम्भावना छ । यो किन पनि हुनसक्छ भने यस क्षेत्रका मुलुकहरू भू–राजनीतिबाट मात्रै होइन आआफ्ना अन्य चुनौतीसित पनि जुध्दै छन् । फिलिपिन्स, मलेसिया र दक्षिणी थाइल्यान्डका मुस्लिम समुदायलाई विश्व मुस्लिम आन्दोलनसित आफूलाई कति दूरीमा राख्ने भन्ने अन्योल छ भने ती मुलुकका राज्यशक्तिलाई मुस्लिम अतिवाद प्रवेश भयो भने के गर्ने भन्ने चिन्ता । मलेसिया, फिलिपिन्स र इन्डोनेसियामा इस्लामिक अतिवादको प्रभाव बढ्यो भने थप अन्योल शुरू हुनेछ ।” कापलान भन्छन्, “त्यसैले पनि दक्षिणी चीन सागर क्षेत्रमा द्वन्द्व कम गर्न चीनको भूमिका उल्लेख्य हुनुपर्ने र चुनौती समाधान गर्न सबै सरोकारवाला मुलुकहरू संवेदनशील बन्नुपर्छ ।”

दक्षिण चीन सागरबाट नेपाल भौगोलिक दूरीमा छ तर सामरिक भू–राजनीतिबाट छैन । मलेसिया र कोरियामा लाखौं नेपाली कार्यरत छन् । त्यस क्षेत्रमा उथलपुथल भएमा त्यहाँ कार्यरत नेपालीको स्थिति के होला ? चीनमा राजनीतिक अस्थिरता भयो भने वा आर्थिक वृद्धिदर कम भयो भने के होला ? यस्ता प्रश्नका साथै बदलिंदो परिस्थितिले नेपाललाई कसरी प्रभाव पार्छ भन्ने सम्बन्धित विषयका ज्ञाताहरू सामु उठ्ने प्रश्न हुन् । त्यमाथि वर्तमान विश्वमामा भू–राजनीतिका नयाँ आयाम देखिंदैछन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो अमेरिका भ्रमणपछि न्यूयोर्क टाइम्स ले लेखेको छ, “विश्वका दुई प्रजातान्त्रिक मुलुकहरूले दक्षिण चीनसागरमा चीनको बल मिच्याइँको प्रतिरोध गर्ने उपाय पत्ता लगाउँदैछन् ।” अमेरिकाको दुवै संसद्लाई दिएको प्रधानमन्त्रीको भाषण उल्लेख गर्दै पत्रिका लेख्छ, “प्रधानमन्त्री मोदीले दक्षिण चीन सागरमा समुद्री यातायात स्वतन्त्र राख्ने अमेरिकी प्रयासप्रति सहमति जनाए ।”

भूपरिवेष्ठित मुलुक नेपालको दक्षिण चीन सागरमा भइरहेको खिचातानीसित प्रत्यक्ष लेनदेन छैन तर हामी चीनका नजिकैका छिमेकी हौं । नेपाल र चीनको संसर्ग बढ्दै गएको छ । चीनको बदलिंदो भू–राजनीतिक सन्दर्भले नेपाललाई कसरी प्रभाव पर्छ ? नेपालले आफ्नो ठूला छिमेकीका यस्ता परिवेशलाई कसरी बुझने ? यस्ता सन्दर्भहरू बुझन कापलानको पुस्तक उपयोगी सामग्री हो । नेपाली नीतिनिर्माता, प्रशासक र विश्लेषकहरूले यो पुस्तक एकपल्ट पढ्नै पर्नेछ । कापलानले नेपाललाई तानाशाही भएको मुलुक भनेका छन् । भू–राजनीतिका ज्ञाता कापलानले यसो किन भने समीक्षकले बुझन सकेन । नेपाल सामु थुप्रै चुनौती छन् तर नेपाल यसै हेर्दा तानाशाही भएको मुलुक होइन । भू–राजनीतिक विश्लेषकको पुस्तकमा यस्तो भनाइ किन आयो ? उत्तर खोज्नुपर्ने प्रश्न यो पनि हुन सक्छ ।
(प्राध्यापक भट्टराई पूर्वाधार निर्माण व्यवस्थापनका ज्ञाता हुन् ।)

२०७३ भाद्र अंक_मरण अघिका कुरा_समीक्षक : मनेश श्रेष्ठ

मरण अघिका कुरा
पुस्तक : वीइङ्ग मोर्टल : मेडिसिन एण्ड ह्वाट म्याटर्स इन द इन्ड
लेखक : अतुल गवान्डे                  प्रकाशक : मेट्रोपोलिटन बुक्स, एलएलसी, २०१४
पृष्ठ : २८२                                          मूल्य : १५.६ डलर
समीक्षक : मनेश श्रेष्ठ
मान्छेको मृत्यु निश्चित छ । कसैको मृत्यु प्राकृतिक हिसाबले हुन्छ त, कसैको दुर्घटनामा; रोग लागेर वा हिंसा वा युद्धमा परेर । चिकित्सा विज्ञानले मानिसलाई निरोगी बनाउन वा मृत्युलाई पर सार्न धेरै उपलब्धि हासिल गरेको छ । मान्छेको जीवन आज चिकित्सा विज्ञान र अस्पतालसित गाँसिएको छ । वृद्धावस्थाका व्यक्ति वा बिरामीको घरमै मृत्यु भए टिप्पणी हुने गर्छ— विचरा अस्पताल नपुगी गएछन् ! नेपालका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको एक्कासी निधन हुँदा उनका चिकित्सक डा. मानबहादुर केसीले ‘आधुनिक युगमा पनि कोइरालाको निधन अस्पतालमा नभएको’ भन्दै दुःख व्यक्त गरेका थिए ।

मृत्युको विषयमा चिन्तन गर्न र लेख्न सजिलो छैन । तर अमेरिकी चिकित्सक तथा लेखक डा. अतुल गवान्डेले मृत्युबारे पुस्तक नै लेखेका छन् । उनको पुस्तक वीइङ्ग मोर्टल ः मेडिसिन एण्ड ह्वाट म्याटर्स इन द इन्ड जीवन, उपचार र मृत्युको कथा हो । सन् २०१४ मा प्रकाशित सो पुस्तकले चिकित्साको सहयोगमा सबैलाई लामो समयसम्म बचाएर राख्नुपर्छ कि पर्दैन भन्ने प्रश्न उठाएको छ । कुनै व्यक्तिका लागि आफ्नो अन्तिम अवस्थामा घरमै आराम गर्नु र आफन्तको नजिक रहनु जस्ता कुराले कति अर्थ राख्छ भन्ने प्रसंगलाई पनि लेखकले महŒवका साथ उठाएका छन् । उनी भन्छन्, “यो आधुनिक र वैज्ञानिक युगमा मान्छेलाई कसरी मर्न दिने भन्नेबारे सोच्नु जरूरी छ ।”

महŒवपूर्ण क्षण
मृत्यु जीवनको महŒवपूर्ण क्षण हो, तर यसको सामना गर्न गाह्रो हुन्छ । आधुनिक चिकित्साको विकास हुन थालेको करीब एकसय वर्षयता मान्छेको आयु बढेको छ । खोप, एन्टिबायोटिक एवं औषधि उपचारका नयाँ–नयाँ विधि र प्रविधिहरूको प्रयोग संसारभर भइरहेको छ । हाम्रो आयु लम्बिनुमा औषधि विज्ञानको योगदान सबैभन्दा अहम् छ । 

करीब दुई लाख ५० हजार वर्षअघि संसारको पहिलो मानवदेखि करीब चार सय वर्ष अघिसम्म वृद्धावस्थामा पुग्ने मान्छे थोरै मात्रै हुन्थे । १५औं शताब्दीतिर युरोपमा मान्छेको औसत आयु करीब ३० वर्ष मात्रै थियो । पन्ध्रौं शताब्दीमा अमेरिकी महाद्वीप पत्ता लाग्यो । त्यहाँबाट ल्याइएको प्रोटिनयुक्त सिमी र भटमास खान थालेपछि मात्र युरोपेलीको आयु बढ्न थालेको बताइन्छ । प्रोटिनयुक्त खानाले मान्छेको रोगसँग लड्ने क्षमता अर्थात् इम्युनिटी क्रमशः बढ्न थाल्यो । सन् १९०० मा अमेरिकी पुरुषको सरदर आयु ४८ वर्ष थियो भने महिलाको ४६ । झ्न्डै सय वर्षपछि सन् १९९८ मा त्यहाँ पुरुषको आयु ८० वर्ष पुग्यो भने महिलाको ७३ वर्ष । यो औसत आयु अझ् बढ्दैछ । विगत केही दशकयता नेपालमा पनि महिला र पुरुषको औसत आयु बढ्दो छ । 

आधुनिक चिकित्सा पद्धतिको विकास हुनुअघि जीवन र मृत्यु सँगसँगै हुन्थे । कोही व्यक्ति बिरामी भई दुई–चार दिनमा मथ्र्यो । लेखक महाराष्ट्र निवासी आफ्ना हजुरबाको उदाहरण प्रस्तुत गर्छन् । मृत्यु हुनुभन्दा केही दिनअघि झ्ण्डै ११० वर्षको उमेरमा उनका हजुरबा औपचारिक कामका लागि आफ्ना छोरासित शहरतिर गएका थिए । ओर्लिंदा ओर्लिंदै, उनी चढेको बस गुड्न थाल्यो, उनी भुईंमा पछारिए, उनको टाउकोमा चोट लाग्यो । सँगै गएका छोराले हजुरबालाई घर ल्याए । दुई दिनपछि उनको मृत्यु भयो । हजुरबा आफ्नो अन्त्यसम्म पनि आफूले गर्न सक्ने काम आफैं नै गर्दै थिए । सो कर्म गर्न उनलाई कसैले पनि रोक्न सकेन । हजुरबाका लागि त्यो स्वतन्त्रता महŒवपूर्ण थियो ।

२०औं शताब्दीका अमेरिकी दार्शनिक रोनाल्ड डोर्किनलाई उद्धृत गर्दै गवान्डे लेख्छन्, “जस्तोसुकै सीमा र व्यवधानको सामना गर्नु परे पनि हामी जीवनलाई स्वतन्त्र राख्न चाहन्छौं ।” डोर्किनले थपेका छन्, “स्वतन्त्रताको मूल्य यसले सिर्जना गर्ने जिम्मेवारीमा हुन्छ ः स्वतन्त्रताले हामीलाई आफ्नो जीवनलाई एक विशेष चरित्र, आस्था र रुचि अनुसार आकार दिने जिम्मेवारी दिन्छ ।” स्वतन्त्रताका बारेमा त्यही मूल उक्तिमा टेकेर गवान्डे भन्छन्, “मोर्टल (मरणशील) हुनु भनेको हाम्रो जीवनको निष्ठा कायम गर्नु हो र जीवन चिकित्सकलाई सुम्पेर छिट्टै गुम्न नदिनु हो । अस्वस्थ र वृद्ध हुँदा हामी सङ्घर्षमा हुन्छौं । चिकित्सक र अस्पतालले हामीलाई अर्को सङ्घर्षको सामना गर्न बाध्य पार्छन् ।”

वृद्धाश्रमका सङ्घर्ष
अमेरिकामा वृद्ध व्यक्तिहरूले धेरै सङ्घर्ष गरेका जीवन्त उदाहरण पुस्तकमा समेटिएको छ । जीवन पद्धति कृषिमा आधारित हुन्जेलसम्म वृद्धवृद्धा खेतमा काम गर्ने गर्थे । कार्यालय र कारखानामा आधारित अर्थतन्त्रको विकासले यो स्थितिमा परिवर्तन ल्यायो । छोराछोरी काममा व्यस्त हुने भएकाले उनीहरू र वृद्ध बा–आमाबीच खाडल बन्यो, समस्या शुरू हुन थाल्यो । फलस्वरुप पश्चिमा मुलुकहरूमा वृद्धाश्रम खुल्न थाले । पुस्तकमा समेटिएका चरित्रमध्ये अधिकांश वृद्धाश्रमवासी हुन् । विगत केही वर्षयता बाहिरी कामको खोजीमा आप्रवासतर्फ लाग्दा नेपालका वृद्धवृद्धा पनि एक्ला र आफ्ना छोराछोरीभन्दा टाढा हुँदैछन् । 

वृद्धाश्रममा मानिसको बहुमूल्य स्वतन्त्रता कसरी गुम्छ भन्ने थुप्रैै उदाहरण प्रस्तुत गरेका छन् लेखकले । स्वाधीनता प्रदान गर्ने वृद्धाश्रमका उदाहरण पनि छन् पुस्तकमा । यस सन्दर्भमा चिकित्साशास्त्री विल थोमसले प्रस्तुत गरेको उदाहरण मननयोग्य छ । उनले एउटा सरकारी वृद्धाश्रममा कारागारमा झ्ंै राखिएका वृद्धलाई बन्दीसरह उठ्ने, सुत्ने, खाने र आराम गर्ने समय तोकिएको देखे । वृद्धाश्रमका सञ्चालकको मुख्य चासो वृद्धवृद्धाको सुरक्षा व्यवस्था ठीक राख्नुमा थियो । कुनै किसिमको शारीरिक दुर्घटना नहोस् भन्नका लागि वृद्धवृद्धालाई केही गर्न दिइँदैनथ्यो । तर त्यही सुरक्षा व्यवस्थाका कारण वृद्धहरू त्यहाँ मूर्दासरह बाँचिरहेको थोमसले देखे । वृद्धाश्रमवासीको जीवनमा परिवर्तन ल्याउन थोमसले वृद्धाश्रमलाई पशुपक्षीले भरिदिए । वृद्धाहरू पशुपक्षीको हेरचाहमा लागे । विस्तारै उनीहरूको जीवनमा नयाँ आशा पलायो, आँखामा चमक आयो, बाँच्ने चाहना बढ्न थाल्यो ।

गवान्डे भन्छन्, “छोराछोरीले आफ्नो सुविधाका लागि बाबुआमालाई वृद्धाश्रम पठाए जस्तै वृद्धहरूलाई लामो समयसम्म बचाउन भनेर विभिन्न किसिमका औषधि उपचारको प्रयोग गरिन्छ । खास उमेरपछि गरिने कतिपय शल्यक्रिया र अन्य उचारहरूले फाइदा नदिने प्रमाणित भए पनि चिकित्सकहरू उपचार गराउन सुझव दिइरहन्छन् । व्यवसाय पनि चल्ने र आर्थिक लाभ पनि हुने भएकाले यस्तो क्रम दोहोरिने गरेको हो । अर्थात् चिकित्सक र अस्पतालका सञ्चालकहरू बिरामीलाई उचित सल्लाह र परामर्श दिंदैनन् ।” बिरामीको मृत्यु हुनुलाई आफ्नो अक्षमताको रूपमा लिइन्छ भन्ने डरले पनि चिकित्सकहरू बिरामीलाई उसको जीवन र शरीरबारे प्रष्ट बताउँदैनन् भन्ने लेखकको निक्र्योल छ । 

शरीरको मर्मत
गवान्डे अगाडि लेख्छन्, “चिकित्सकलाई तिनको तालीम अवधिमा ‘जसरी भए पनि बिग्रेको शरीरलाई टाकटुक गरेर मर्मत गर्न’ प्रशिक्षित गरिन्छ । तर जीवनको अन्तिम अवस्था बारे बिरामीसँग कसरी कुरा गर्ने, कस्तो व्यवहार प्रदर्शन गर्ने भन्ने तौरतरीका सिकाइँदैन । यदि चिकित्सक मितभाषी छ भने बिरामीको ऊर्जा बढ्छ । तर प्रायः चिकित्सक मितभाषी हुन चाहँदैनन्, उनीहरू आफ्नो दक्षता प्रकट गर्न लाग्छन्, र मानवीय संवेदना बिर्सन्छन् ।” लेखक भन्छन्, “वृद्ध र बिरामी अवस्थासित जुध्न साहस चाहिन्छ ।” तर साहस भनेको के हो ? दार्शनिकहरूले उठाउने गरेको यस प्रश्नलाई पुस्तकले यथेष्ट स्थान दिएको छ । लेखकले दार्शनिक प्लेटोद्वारा प्रस्तुत साहसको व्याख्या टिपेका छन् । प्लेटोले साहसलाई ज्ञान र सहनशीलतासित जोडेका थिए । लेखक भन्छन्, “मृत्युको सामना गर्न सत्यको आधारमा लिने निर्णय हो साहस । शल्यक्रियाले जीवन लम्ब्याउन सक्ला, तर जीवन कष्टकर हुन्छ भने शल्यक्रिया गर्ने कि नगर्ने ? शल्यक्रिया गर्दा मृत्यु पनि हुन सक्छ । तर त्यसपछि कति बाँचिन्छ ? जवाफ गाह्रो छ ।”

आफ्नै बाबुको क्यान्सर उपचारमा डा. गवान्डेले साहस देखाएका थिए । आफू चिकित्सक भएकै कारण उनले पिताजीको उपचारमा उत्कृष्ट विशेषज्ञ संलग्न गराउन पाए । पुस्तकमा उल्लेख गरेका मान्यताहरूबाट निर्दिष्ट भई उनले समग्रतामा उपचार गर्ने चिकित्सक रोजे । नाम चलेका चिकित्सकले टाकटुके उपचारमा जोड दिएको, बाबुले क्रमिक रूपमा रोगसँग लड्ने क्षमता गुमाउँदै गएको विषय पुस्तकमा मार्मिक ढंगले प्रस्तुत गरिएको छ । जीवनको अन्तिम समयमा गवान्डेका बाबुले आफूलाई महŒवपूर्ण लागेका काम गर्दै आफन्त र चिनेजानेका मानिसहरूसँग घरमै समय बिताए । अचेत अवस्थामा रहेका बाबुको शरीरभरि नलीहरू घोचेर पीडा दिने काम भएन । “बिरामीका लागि जतिसुकै सहज वातावरण बनाउन खोजे पनि अन्तिम अवस्था गाह्रो हुन्छ । आफन्तलाई पनि असह्य पीडा हुन्छ” गवान्डे भन्छन् ।

विभिन्न व्यक्तिका अनुभव र वैज्ञानिक अध्ययनहरूको आधार लिंदै गवान्डे पाठकलाई सम्झउँछन्– “मानव जीवन छोटो छ, समयको महŒव बुझदै यसलाई ऊर्जावान बनाउनुपर्छ ।” उनी तर्क गर्छन्, “विज्ञानका अनेक आविष्कारलाई प्रयोग गरेर जीवन लम्ब्याउनु भन्दा प्राकृतिक हिसाबले जीवनयापन गर्ने ऊर्जा बढाउनु उचित हो । जन्मेपछि मृत्यु निश्चित छ, तर बाँचुञ्जेल समयको महŒव बुझ्ेर जिउन सक्नुपर्छ ।” गवान्डेका अनुसार, जीवनको अन्तिम समयसम्म प्राकृतिक हिसाबले ऊर्जाशील जीवन बिताउनु हितकर हो । शायद यस्तो विचार राखेरै होला पूर्वप्रधानमन्त्री सुशील कोइराला आफ्नो जीवनको अन्त्यसम्म संविधान निर्माणमा लागे । घाँटीको क्यान्सरको दुई पटक उपचार गरिसकेका थिए, सम्भवतः त्यसैले अस्पताल गएर मृत्युसँग सङ्घर्ष गरेर हार्न चाहेनन् उनले । जीवनको अन्त्यसम्म आफूलाई ऊर्जावान बनाइराखे । तर वर्तमान विश्वमा व्याप्त विलासिताले यो सम्भावना कम गर्दै लगेको छ ।

पुस्तकमा एउटा महŒवपूर्ण प्रश्न उठाइएको छ, विज्ञानको विकासले जीवन लम्ब्याउन सहयोग त पुग्ला तर लामो जीवन हुनुको अर्थ के हो ? त्यसले कस्तो सामाजिक योगदान देला ? नेपालमा चिकित्सा क्षेत्रका विभिन्न विषयमा निकै चर्चा परिचर्चा चलिरहेको छ । यस पुस्तकले कसैलाई एकपल्ट यो नौलो दृष्टिबाट पनि सोच्न प्रेरित गर्न सक्छ ।
(श्रेष्ठ समाजशास्त्र अध्यापन गर्छन् ।)

२०७३ जेठ अंक_ड्रोनको आगमन र युद्धको नैतिकता_समीक्षक : थोमस नागेल

ड्रोनको आगमन र  युद्धको नैतिकता
पुस्तक : अब्जेक्टिभ ट्राय : ए टेरोरिस्ट, ए प्रेसिडेन्स एन्ड द राइज अफ द ड्रोन
लेखक : स्कट शेन                                   प्रकाशक : टिम डुग्गन बुक्स, २०१५
पृष्ठ : ४१६                                                   मूल्य :  २०.१४ डलर
समीक्षक : थोमस नागेल
पूर्वीय र पश्चिमी इतिहासमा युद्धका कथा प्रशस्त छन् । युद्धमा लाखौं लाखले ज्यान गुमाए । युद्ध भनेको नर्क हो, यसले समाजका हरेक तप्कालाई प्रताडित गर्छ, तैपनि युद्ध भएका छन्, भइरहन्छन् । महाभारतलाई धर्मयुद्ध भनिएको छ । हिटलर र मुसोलिनीको विरुद्धमा दोस्रो विश्वयुद्ध भएको थियो । युद्ध र हिंसा विचार, मन्थन र लेखकीय विषय बनेका छन् ।

धेरैले के विश्वास गर्छन् भने, आत्मरक्षाका लागि वा ज्यान जाने सम्भावना रोक्नका लागि हिंसाको प्रयोग उचित हुन्छ । मानवअधिकारको यो संस्थागत व्याख्याले सैनिक हस्तक्षेप ठीक छ भन्ने मान्यता बोक्छ । अपराधीलाई मृत्युदण्ड पनि दिइन्छ । हत्या राजनीतिक, धार्मिक वा बदला लिने उद्देश्यले पनि गरिन्छ । आफूलाई बचाउन गरिने हत्या, कानून र मृत्युदण्डको निर्णयभन्दा फरक हो ।

सामान्यतया सबै खालका मृत्यु समान भए पनि तिनका व्याख्या फरक छन् । ड्रोन अर्थात् चालकविना चल्ने विमानहरू लडाइँमा प्रयोग हुन थालेपछि यी व्याख्या झ्न् परिवर्तन हुँदैछन् । धेरै मान्छे ड्रोन प्रयोगको विरोधमा छन्, यद्यपि यसले छानीछानी मार्नुपर्नेलाई मात्र मार्न सक्छ र परम्परागत सैनिक कारबाहीको तुलनामा विनाश पनि कम गर्छ । कारबाही गरिने स्थानबाट हजारौं माइल टाढा नियन्त्रण कक्षमा बसेर कम्प्युटर प्रयोग गर्ने ड्रोन चालकलाई आफू मर्छु भन्ने डर पनि हुँदैन । सैनिक हिसाबले योभन्दा उपयुक्त बाटो अरू के होला ?

स्कट शेनको पुस्तक अब्जेक्टिभ ट्राय ः ए टेरोरिस्ट, ए प्रेसिडेन्स एन्ड द राइज अफ द ड्रोन ले हत्या र युद्धका यस्ता प्रसङ्गहरूलाई भित्रैसम्म खोतलेर केलाएको छ । लेखक स्कट शेन अमेरिकी राष्ट्रपति बाराक ओबामाको प्रशासन र आतङ्ककारी क्रियाकलापमा संलग्न अमेरिकी नागरिक अनवर अल–अल्वाकीलाई पात्र बनाएर विश्लेषण गर्छन् । राष्ट्रपति ओबामाले आतङ्कविरोधी आफ्नो नीतिमा ड्रोन प्रयोग गर्ने पद्धति अपनाए, आफ्ना पूर्वाधिकारीको परम्परागत सैनिक कारबाही गर्ने पद्धतिको सट्टा । शेनका अनुसार, ‘अमेरिकामाथि आक्रमण गर्ने अलकायदाका सदस्यहरूको सङ्ख्या केही सयमा थियो । तथापि सन् २०११ देखि भएका ठूला युद्धमा हजारौं इराकी, अफगानी र ४ हजार अमेरिकी सैनिकले मृत्युवरण गरे । ड्रोनले अमेरिकाको शत्रुलाई एकपछि अर्को गर्दै निमिट्यान्न पार्ने बाटो खोल्यो ।’ ‘हामीलाई मार्न खोज्नेलाई हामीले मा¥यौं’ राष्ट्रपति ओबामाले भन्ने गरेका छन् । यसरी मारिने एउटा व्यक्ति थिए अमेरिकी नागरिक अनवर अल–अल्वाकी । आफ्नो आधा जीवन अमेरिकामा बिताएका अल्वाकी ओबामाले राष्ट्रपति पद ग्रहण गर्दा मध्यपूर्वी मुलुक यमनमा कार्यरत थिए, अरेबियन क्षेत्रको अलकायदाको अगुवाका रूपमा ।

सन् २०११ सेप्टेम्बरपछि
न्यूयोर्क टाइम्स का राष्ट्रिय सुरक्षा संवाददाता शेनद्वारा पुस्तकमा प्रस्तुत अन्तर्वार्ता, गहन अनुसन्धान र घटनाक्रमको वर्णन हेर्दा उनको खारिएको वर्षांैको अनुभव स्पष्ट हुन्छ । 

अनवर अल–अल्वाकी सन् २०११ सेप्टेम्बर ३० का दिन ड्रोनद्वारा मारिएका थिए । अमेरिका पक्षीय यमनी परिवारका  अल्वाकीका पिता फुलब्राइट छात्रवृत्ति पाएपछि कृषि विज्ञान विषयमा अध्ययन गर्न अमेरिका पुगे । अल्वाकी सन् १९७१ मा अमेरिकामा जन्मिएका थिए । उनको परिवार सन् १९७७ मा यमन फर्कियो, जहाँ अल्वाकीले स्कूल र कलेजको अध्ययन सिध्याए । त्यसपछि कोलोराडो स्टेट युनिभर्सिटीमा इन्जिनियरिङ पढ्न उनी फेरि अमेरिका गए । कोलोराडोमा रहँदा अल्वाकी त्यहाँको सानो मुश्लिम समुदायको सम्पर्कमा आए र विस्तारै पुरातनी इस्लामपट्टि ढल्किए । डिग्री लिएपछि उनले इन्जिनियरिङ विधा चटक्कै छाडेर इमाम बन्ने निर्णय गरे । २००१ सेप्टेम्बर ११ मा न्यूयोर्कको ट्रेड टावरमा आक्रमण हुँदा उनी वासिङ्टन डीसी छेउ बस्ने गर्थे । त्यतिवेलासम्म उनले गरेका धार्मिक प्रवचनका क्यासेट र सीडी खास समुदायमा लोकप्रिय हुन थालिसकेका थिए । यूट्यूबको प्रयोग शुरू भएपछि उनका नीति र उपदेश सुन्नेहरूको सङ्ख्या ह्वात्तै बढेको थियो ।

अल्वाकीले सेप्टेम्बर ११ आक्रमणको निन्दा गरेका थिए । तत्पश्चात् अमेरिकामा मुश्लिम समुदायलाई शङ्काको दृष्टिले हेर्न थालिएको विषयबारे चासो व्यक्त गरे पनि उनी राजनीतिक हिसाबले चरमपन्थी बनिसकेका थिएनन् । त्यसैबेला एक महिला यौनकर्मीसित उनको संसर्ग रहेको अमेरिकी गुप्तचर एजेन्सी (एफबीआई) ले फेला पा¥यो । त्यतिवेलासम्म आतङ्कवादीसित उनको सम्बन्ध रहेको पुष्टि हुन सकेन । यौनकर्मीसितको सम्बन्ध सार्वजनिक भएपछि इस्लाम धर्मको प्रवर्तकका रूपमा आफ्नो जीवनयात्रा अगाडि नबढ्ने लागेपछि सन् २००२ मा उनले अमेरिका छाडे; यमन फर्किए ।  

यमनमा इन्टरनेटको माध्यमबाट शुरू गरेको धार्मिक उपदेशमा, अफगानिस्तान र इराकमा चलिरहेका लडाइँको दृष्टान्त दिंदै अल्वाकी प्रस्ताव गर्थे— ‘पश्चिमी मुलुकहरूको उद्दण्डपन अर्थात् आइलाग्ने व्यवहारको विरुद्धमा जाइलाग्नु हरेक मुसलमानको कर्तव्य हो । आवश्यक परे हिंसाको प्रयोग पनि उचित हुन्छ ।’ अङ्ग्रेजी भाषाको ज्ञान र बोल्ने कलाले उनलाई चरमपन्थी जिहादको प्रभावशाली प्रचारक बनायो । आतङ्ककारी आक्रमण गर्दै वा सो तर्जुमा गर्दा समातिएका व्यक्तिहरूले आफू अल्वाकीबाट प्रभावित भएको बताउँथे । नाइजेरियाको उमार फारुक अब्दुलमुतल्लाह नामक व्यक्ति अल्वाकीको प्रशंसक थिए ।

शेनको विश्लेषणमा अब्दुलमुतल्लाह एउटा महŒवपूर्ण कडी हो । यमनबाट अमेरिकाको डेट्रोइटतर्फ उडेको हवाइजहाजमा अब्दुलमुतल्लाह भित्री लुगामा बम लुकाएर लैजान सफल भएका थिए । २५ डिसेम्बर २००९ मा विमान डेट्रोइटमा अवतरण गर्नुअघि बम पड्काउने प्रयास भए पनि विस्फोट भने हुन पाएन । अब्दुलमुतल्लाह समातिए । उनीबाटै अमेरिकी अधिकारीहरूले अल्वाकीको नयाँ भूमिकाको जानकारी पाएका थिए ।

नयाँ चुनौती
लेखकका अनुसार डेट्रोइट घटनाले नयाँ राष्ट्रपति बाराक ओबामाको सरकारसामु चुनौती खडा ग¥यो । शेन भन्छन्, “राष्ट्रपति जर्ज डब्ल्यू बुश, उनका सल्लाहकार र अमेरिकी जनता जस्तै ओबामा र उनका सहयोगीहरूले पनि इस्लामिक चरमपन्थीहरूको धम्कीका कारण कडा नीति अपनाउन थालेका थिए । ११ सेप्टेम्बर २०११ को आक्रमण हुनुअघि आफूसित लडाइँमा नहोमिएका मुलुकमा बसोबास गर्दै आएका आतङ्कवादी मार्न मिसाइलले आक्रमण गर्ने भन्ने प्रस्तावको व्यापक विरोध हुन सक्थ्यो । राष्ट्रपति बुशको सरकारले धेरैपल्ट र स्पष्ट शब्दमा इजरायलद्वारा हमासका नेता र अन्य चरमपन्थीहरू विरुद्ध मिसाइल र अन्य अस्त्रको प्रयोगको भत्र्सना पनि गर्दै आएको थियो ।”

११ सेप्टेम्बरपछि यी मान्यता चालू रहन सकेनन् । विस्तारै हेलफायर मिसाइल बोकेका अमेरिकी ड्रोनहरू अफगानिस्तान, यमन र पाकिस्तानका उत्तर–पश्चिम क्षेत्रमा खास व्यक्तिहरू मार्न प्रयोग हुन थाले । ओबामा प्रशासनले यही रणनीति जारी राख्यो । सन् २०१० फेबु्रअरी ५ मा अमेरिकी न्याय विभागको सल्लाह लिएर सरकारले अल्वाकीको नाम मारिनेहरूको सूचीमा संलग्न ग¥यो । योजनालाई ‘अब्जेटिभ ट्राइ’ नाम दिएको थियो । 

एम्नेष्टी इन्टरनेसनल र ह्यूम्यान राइट्स वाच जस्ता समूहले ड्रोन विमान प्रयोग गर्ने युद्धपद्धतिको वैधानिकताबारे निरन्तर प्रश्न उठाउँदै आएका छन् । तिनले उठाएका प्रश्न हुन्— (१) लडाइँको नियम अनुसार मार्ने सूचीमा परेका व्यक्ति लडाकू नहुन सक्छन् (२) तिनलाई पहिचान गर्न प्रयोग गरिएका सूचना सामान्यतया विश्वासिला हुँदैनन् (३) सार्वजनिक खतरामा छ भन्दै ज्यान मार्ने उद्देश्यले अपनाइएका नीतिको व्यापक दुरुपयोग भएको छ, यो रणनीति आत्मरक्षाको स्वीकार्य घेराभन्दा बाहिर छ; (४) ड्रोन विमानको प्रयोग गर्ने क्रममा अन्य मानवीय क्षति वा नोक्सान हुन्छ भन्ने मानिंदैन, न त क्षतिपूर्ति व्यवस्था नै गरिन्छ (५) लडाइँको क्षेत्रभन्दा बाहिर मार्ने कार्य गैरन्यायिक हत्यासरह हो; (६) थुनामा लिन वा कानूनी कारबाहीको विकल्पबारे सिलसिलेवार हिसाबले आकलन गरिंदैन (७) ड्रोन सञ्चालकहरू उडानस्थलबाट टाढा हुने हुँदा ज्यान लिने विषय खेलाँची सरह बन्न पुग्छ ।

आक्रमण कार्यक्रम गोप्य राखिनु ड्रोन प्रयोगको अर्को समस्या हो । एकातिर कार्यक्रम ‘सीआईए’ को नियन्त्रणमा रहन्छ भने अर्कोतिर प्रशासनले यो क्रियाकलाप वा तिनका अन्तर्निहित सिद्धान्त सार्वजनिक गर्न मान्दैन । अल्वाकीका बाबुले अमेरिकी न्यायालयमा आफ्नो छोरालाई मार्ने उद्देश्यले लक्षित गरिएको विषय उठाएर उजुरी गरेका थिए, तर सरकारले सैनिक निर्णयहरू अदालतको दायराभन्दा बाहिर हुन्छन् भन्दै त्यस सम्बन्धी विषय सार्वजनिक गर्न रोक्यो । स्कट शेनले पनि सूचनाको हक सम्बन्धी ऐनअन्तर्गत रहेर कार्यक्रमको विवरण मागेका थिए । तर न्याय विभागले उनको अनुरोध पनि अस्वीकार गरिदियो । र, जब न्यूयोर्क टाइम्स र अमेरिकी सिभिल लिबर्टी युनियनले सूचना माग्दै मुद्दा हाले, अमेरिकी प्रशासनले पाकिस्तानमा ड्रोन कार्यक्रम छ÷छैन भन्नेबारे केही नभन्ने निर्णय लियो ।

न्याय विभागको तर्क थियो– संयुक्त राज्य अमेरिकाको विरुद्धमा आक्रमण योजना र तर्जुमा गर्ने अलकायदाका अगुवालाई मार्ने निर्णय राष्ट्रिय प्रतिरक्षाको हिसाबले ठीक छ, यद्यपि मार्न शङ्का गरिएको व्यक्ति लडाइँको क्षेत्रमा नहुन सक्छ । अमेरिकी नागरिक हुँदैमा उसले मुक्ति पाउँदैन । आतङ्ककारीहरू बर्दीधारी सैनिक जस्ता हुँदैनन्, तिनीहरू तोकिएको वा शत्रु घोषित मुलुकमा मात्र नबसी विभिन्न देशमा छरिएर बस्न सक्ने हुँदा संयुक्त राज्य अमेरिकाले विभिन्न स्रोत प्रयोग गरेर आतङ्ककारीको सूचना र ती कहाँ छन् भन्ने विवरण पत्ता लगाउनु उचित छ । अमेरिकी सरकारको तर्क के पनि थियो भने ‘यसरी मार्नु, प्रहरीको ज्यान लिन्छु भन्ने धम्की दिइरहेको व्यक्तिलाई गोली हानेर हटाउनुसरह हो ।’ तर शेन भन्छन्, “सरकारले प्रस्तुत गरेका यस्ता सफाइ लक्षित व्यक्ति मार्ने कामलाई आत्मरक्षाको कार्य भनेर पुष्टि गर्न पर्याप्त छैनन् ।” 

ड्रोनको भूमिका
शेनका अनुसार ओबामा प्रशासनले अघिल्लो प्रशासनबाट विरासतमा पाएको ठूला युद्धको तुलनामा ड्रोन प्रयोग गर्दा मारिएका गैरसैनिकहरूको सङ्ख्या कम छ । तथापि ड्रोन प्रयोगले विरोध भने निम्त्याएकै छ । ठूला लडाइँमा मारिनेहरू ‘तथ्याङ्क’ बन्थे तर ड्रोनबाट मारिनेहरू तथ्याङ्क मात्रै रहँदैनन्, तिनका कथा बन्छन् । अमेरिका प्रजातान्त्रिक मुलुक हो । मानवअधिकारका क्षेत्रमा कार्यरत समूहले राजधानी वासिङ्टन डीसीमा त्यस्ता व्यक्तिहरू बोलाउँछन् जसले ड्रोन प्रयोग गर्दा भएका गल्तीका दर्दनाक कथा बताउँछन् । 

आधुनिक प्रविधिसँगै विकसित सैनिक अस्त्रहरूमा ड्रोन एउटा अपवादको रूपमा देखिन्छ । अन्य अस्त्रका प्रयोगकर्ताले जस्तो तिनले आफ्नो व्यक्तिगत नोक्सान बेहोर्नुपर्नेबारे सोच्नुपर्दैन । ड्रोनका चालकले हजारौं माइल टाढा बसेर लक्षित शत्रुलाई हेर्न पाउँछ र उपयुक्त समयमा आक्रमण गर्न पनि । यसरी आक्रमणकारी र मारिने दुवैका कथा बन्छन् । तर यो विधिले एकातिर नैतिकताको प्रश्न उठाएको छ भने अर्कोतिर ड्रोन विमानका चालकले भोग्ने मानसिक समस्या पनि बढ्न थालेका छन् ।  

आफ्नो पुस्तकको अन्त्यमा ओबामा प्रशासनले लिएको ड्रोन प्रयोग गर्ने रणनीतिबारे शेन भन्छन्, “ड्रोन विमानको प्रयोगले इराक र सिरियाको ठूलो भू–भागलाई आफ्नो अधीनमा राख्ने हतियार सुसज्जित इस्लामिक चरमपन्थीहरूलाई निर्मूल गर्न कठिन छ । राष्ट्रपति ओबामाको कार्यकालमा अमेरिका मध्यपूर्वमा नयाँ लामो युद्धमा संलग्न हुन पुगेको छ । यो युद्ध सेप्टेम्बर २०१४ मा ड्रोन आक्रमण गर्ने र सल्लाहकार पठाउने निर्णय गरेपछि शुरू भएको हो । यो युद्ध कहिले र कसरी अन्त्य होला भन्न गाह्रो छ ।”

(न्यूयोर्क विश्वविद्यालयका प्राध्यापक थोमस नागेलको यो समीक्षा लन्डन बुक रिभ्यू बाट साभार गरिएको हो । अंग्रेजीबाट अनुवादः अजय दीक्षित)