Monday, January 23, 2017

२०७२ भाद्र अंक_बेचिएकी हिमाली चेली_समीक्षक : रविना महर्जन

बेचिएकी हिमाली चेली
पुस्तक : सोल्ड                                     लेखक : प्याट्रिसिया म्याक्–कर्मिक
प्रकाशक : डिस्ने–हाइपेरिय, २००८     पृष्ठ : २६३
समीक्षक : रविना महर्जन

नेपाली चेलीलाई मुख्य पात्र बनाएर लेखिएको पुस्तक सोल्ड संयुक्त राज्य अमेरिकाको ‘नेसनल बुक अवार्ड, सन् २००६’ को छनोटमा अन्तिम चरणसम्म पुग्न सफल उपन्यास हो । यो अमेरिकी लेखक प्याट्रिसिया म्याक्–कर्मिककोे तेस्रो कृति हो । उनका सन् २००० मा प्रकाशित उपन्यास कट र सन, २००५ मा प्रकाशित उपन्यास माइ ब्रदर किपर पनि प्रशिद्ध पुस्तकका रूपमा लिइन्छन् । द न्यूयोर्क टाइम्स, रिडर्स डाइजेस्ट, लेडी होम जर्नल र टाउन एन्ड कन्ट्री आदि पत्रपत्रिकामा विभिन्न लेखहरू प्रकाशित गरेकी प्याट्रिसिया हाल कोलम्बिया विश्वविद्यालयमा पत्रकारिता विषय अध्यापन गर्छिन् । सोल्ड लेख्ने सिलसिलामा अनुसन्धानका लागि प्याट्रिसियाले नेपाल र भारतका विभिन्न ठाउँको भ्रमण गरेको र कलकत्तामा वेश्यावृत्ति गर्न बाध्य एवं त्यहाँबाट उद्धार गरिएका नेपाली चेलीहरूसँग अन्तर्वार्ताहरू गरेको द नेसनल बुक फाउन्डेसनले जनाएको छ ।

हिमालकी चेली शहरतिर
हिमाली भेगमा बस्ने एउटी नेपाली चेलीको कथा हो सोल्ड । यसकी प्रमुख पात्र ‘परिवारका लागि केही गरौँ’ भन्ने भावनाले ओतप्रोत १३ वर्षीया बालिका लक्ष्मी हुन् । लक्ष्मीको परिवारमा आमा, एउटा भाइ र सौतेलो बाबु छन् । सामान्यतः नेपाली परिवारमा कमाउने दायित्व बाबु अर्थात् पुरुषको हुन्छ तर हिमाली बस्तीमा भने महिलाले यो दायित्व लिने गर्छन् ।

खेती किसानी गर्ने लक्ष्मीको परिवार कहिले पानी धेरै परेर समस्यामा हुन्छ त कहिले खडेरी परेर संकटमा । लक्ष्मीलाई आफ्नो घरको छाना जस्तापाताले छाउने इच्छा छ तर निरन्तरका यस्ता समस्याका कारण उनको इच्छा पूरा हुन सकेको छैन । सपनाको दुनियाँ र अनेक रमाइला कल्पना–परिकल्पनामा रम्ने–झ्ुम्ने उमेरकी लक्ष्मी आफ्नी आमालाई संसारको सारा खुशी दिन चाहन्छिन् र सानो भाइलाई पोषणयुक्त खाना खुवाएर स्वस्थ राख्न । आफ्नो परिवारलाई खुशी राख्न उनी जे गर्न पनि तयार छिन् ।

लक्ष्मी थुप्रै नेपाली चेलीकी प्रतिनिधि पात्र हुन् । लक्ष्मीको जस्तै अपेक्षा राख्ने थुप्रै नेपाली चेलीहरू कसरी विदेशको कोठीमा पुग्छन् र वेश्यावृत्ति गर्न बाध्य पारिन्छन् भन्ने यथार्थ यस पुस्तकमा विस्तृत रूपमा समेटिएको छ । लक्ष्मी कृष्णसँग जीवन बिताउन चाहन्थिन् । सानैमा दुई जनाको विवाहको छिनोफानो भएको हुँदा लक्ष्मी विवाह हुने दिनको प्रतीक्षामा थिइन् । लक्ष्मीको कृष्णसँगको आत्मीयताबारे पुस्तकमा विस्तृत छलफल त गरिएको छैन तर शहर जान लाग्दा कृष्णको अन्तिम झ्लक पाउन लक्ष्मीमा पैदा भएको आतुरताले ती दुईबीच गाढा प्रेम रहेको आभास दिन्छ ।

शहरमा काम गराउन बाबुले बज्यैको पसलमा लाँदा दिनरात शहरको परिकल्पना गर्दै बसेकी लक्ष्मी आफ्नो सपना साकार भएको ठान्छिन् । ‘आपूm सक्षम छु’ भन्ने प्रमाणित गर्न उनी दिनरात काममा जुटिरहन्छिन् । लक्ष्मी अरूले आफ्नो कार्यक्षमतामा शंका गर्लान् र नपढेकी भनेर हेप्लान् भनेर पनि सचेत छिन् । उनलाई आपूm असल र सकारात्मक काम गर्ने युवती भनेर चिनिने इच्छा छ । यही चाहनाले उनको जीवनलाई नयाँ बाटो त दिन्छ तर त्यो बाटो उनले नसोचेको र पीडादायी किसिमको हुन्छ । परिवार, बाल्यपरिवेश, माया सबैलाई छाडेर लक्ष्मी कर्तव्य र जिम्मेवारीतिर अग्रसर हुँदै सानै उमेरमा जीवनयात्रामा अगाडि बढिरहेकी हुन्छिन् । शहरमा बज्यैसँग बस्न थालेपछि उनी लेकबेंसी र हिमालका स्वच्छपन बिर्संदै जान्छिन् । शहरमा सुनको छाना हुन्छ र सबै जना राम्रा हुन्छन् भन्ने उनको सोच धेरै समय टिक्न पाउँदैन । बज्यैले लक्ष्मीलाई अर्को मानिसको जिम्मा लगाउँछिन् । लक्ष्मीलाई ‘शहरका मानिस राम्रा हुँदैनन् र तिनीहरूसँग बोल्नु हुन्न’ भनी सिकाइएको हुन्छ । सिमाना के हो, लक्ष्मीलाई थाहा हुँदैन । जिम्मा लगाइएका व्यक्तिको श्रीमती भएर उनी आफ्नो मुलुकको सीमा पार गर्छिन् ।

बेचिएपछि
सीमापारि रहेको देशको एउटा शहरमा सो व्यक्तिले लक्ष्मीलाई १० हजार रुपैयाँमा मुम्ताज् भन्ने महिलालाई सुम्पिन्छ, जो अब लक्ष्मीकी मालिक्नी हो । उसकै खटनपटनमा अब लक्ष्मीले आफ्नो लक्ष्य र भाग्य निर्धारण गर्नुपर्छ । लक्ष्मीले काम गर्ने घरको नाम हुन्छ— ह्यापिनेस हाउस । नाम ह्यापिनेस हाउस भए पनि चेलीहरूका लागि दुःखको महासागरको रूपमा रहेको त्यस घरमा उनी अनिता, सहना, मोनिका, पुष्पा नामका साथीहरू भेट्छिन् । यो ठाउँ उनले सोचेको भन्दा एकदमै फरक किसिमको; शहरको एउटा गल्लीमा रहेको ठाउँ हो । ह्यापिनेस हाउसमा जब लक्ष्मीले पहिलो पटक एउटा पीडादायक आवाज सुन्छिन्, उनलाई एक प्रकारको डर लाग्छ । यो अवस्था धेरै बेर टिक्न पाउँदैन । एउटा अधबैँसे मान्छे एक्कासि लक्ष्मीलाई नै झ्म्टिन आइपुग्छ र उनका निर्दोष भावनामाथि निर्मम प्रहार हुन थाल्छ । बल्ल लक्ष्मीलाई आफू बेचिएको कुरा थाहा हुन्छ । लक्ष्मीका कलिला सपना, इच्छा र आकांक्षा सबै चकनाचूर हुन्छन् । उनी सक्तो प्रतिकार गर्छिन् । बरु मर्न तयार हुन्छिन् तर आफ्नो आत्मसम्मानलाई संकटमा पार्न चाहन्नन् । धेरै समयको प्रतिकारको असफल प्रयत्नपछि अन्ततः उनी एउटा तीतो सत्य आत्मसात् गर्न बाध्य हुन्छिन् अर्थात् आफ्नो शरीर सुम्पन विवश बन्छिन् । भर्खर पढ्ने–खेल्ने कलिलो उमेरकी लक्ष्मीसँग शृंगार गरेर अरूलाई रिझउन बाध्य हुनुको विकल्प हुन्न । तर, यस्तो नारकीय जीवनमा पुग्दा पनि लक्ष्मी विचलित हुन्नन् । जस्तोसुकै परिस्थितिमा पनि निराश नहुने प्रतिबद्धता उनी आफैभित्र पैदा गर्छिन् । 

लक्ष्मी त्यहाँबाट उम्कने बाटो खोज्छिन् । मुम्ताज्को १० हजार रुपियाँको ऋण फिर्ता गर्न पाए त्यहाँबाट मुक्त हुन सकिएला भन्ने ठानेर उनी त्यसका लागि हदैसम्म कोशिश गर्छिन् । धेरैपछि मात्र ऋण तिरेर मुक्त हुन सकिने कुरा भ्रम मात्र हो भन्ने उनले थाहा पाउँछिन् । 

उपन्यासमा त्यस्तो ठाउँका चेलीहरूको दयनीय अवस्थाको चित्रण त छँदै छ, त्यहाँ पुलिस र कानून समेत मुम्ताज् जस्ता यस्तो पेशा चलाउनेहरूका गोजीमा रहने कुरा राम्ररी दर्शाइएको छ । समाजको अपराधलाई देख्न नसक्ने गरी मुम्ताज् जस्ताबाट मासिक रकम लिने र त्यस्तो रकममा केही घटबढ भएपछि प्रहरीले केटीहरूलाई उठाएर लाने अनि थप पैसा पाएपछि छाडिदिने प्रवृत्तिको चित्रण छ । त्यहाँ रहेका चेलीहरूले आफू नरकमा भए पनि आफ्नो परिवार खुशी छन् र उनीहरूलाई माया गर्छन् भन्ने सोच राखेको तर त्यहाँबाट मुक्त भएपछि घरपरिवारले पनि अपनाउन नमानेकाले त्यस्ता कतिपय चेलीहरूले प्राण त्यागेको कथा समेत उपन्यासमा प्रस्तुत छ । 

पुस्तककी अर्की पात्र पुष्पा एक छोरा र एक दूधे बालिकाकी आमा हुन् । जस्तोसुकै परिस्थितिमा भए पनि उनीहरूले ग्राहकलाई रिझउनुपर्ने हुन्छ । आफ्ना सन्तानलाई भुइँमा सुताएर आमाहरू खाटमा ग्राहकलाई रिझउन बाध्य हुन्छन् । अबोध बालबालिकाहरूलाई त्यस्तो पदार्थ चटाइन्छ, जसले गर्दा उनीहरू घण्टौँसम्म उठ्तैनन्, सुतिरहन्छन् । छातीको रोगी भएका कारण पुष्पा यो पेशामा लागिरहन सक्तिनन् । मुम्ताज्चाहिँ उनको यो कमजोरीको फाइदा उठाउने प्रयास गर्छे । पुष्पाकी दूधेबालिका जिनालाई किन्ने र ठूली भएपछि उसलाई त्यही पेशामा लगाउने प्रस्ताव राख्छे ।

कुनैकुनै बेला अत्यन्त कम संयोगवश ग्राहकहरूको सहयोगले अथवा एचआईभी संक्रमणका कारण वा रोगी भएर काम गर्न नसक्ने भएपछि निकालिनाले वा यदाकदा विशेष अभियान अन्तर्गत वेश्यालयबाट यस्ता चेलीहरू मुक्त हुने गरेका हुन्छन् । अमेरिकी लेखक प्याट्रिसियाले लक्ष्मीकी उद्धारक पनि अमेरिकी नागरिक नै देखाएकी छिन् । लक्ष्मीकहाँ आउने धेरै थरीका ग्राहकहरूमध्येका एक जना अमेरिकी ग्राहकले लक्ष्मीलाई बचाउने प्रस्ताव राख्छन् । तर, भाषा नबुझ्ेर कुरा फर्काउन नजानेको र आफू उम्कन चाहेको विचार पनि बताउन नसकेको प्रसंग उपन्यासमा छ । पछि अर्को अमेरिकी ग्राहकसँग भेट भएपछि उसकै सहयोगले लक्ष्मी त्यहाँबाट निस्केर हिँड्छिन् अर्थात् भुमरीबाट छुट्कारा पाउँछिन् । 

गरीबीले सिर्जेको दयनीय अवस्था
गरीबीले महिलाहरूलाई कसरी दयनीय बनाउँछ भन्ने यथार्थ पुस्तकमा दर्शाइएको छ । यसभित्र हजारौँ नेपाली चेलीहरूको कहालीलाग्दो यथार्थ चित्रण छ । पुस्तकले पैसाका लागि कतिपय मानिसले जुनसुकै हदसमेत नाघ्न सक्छन् भन्ने चरित्र पनि प्रस्तुत गरेको छ । 

नेपाली समाज पुरुषवादी रहेको र जतिसुकै निर्मम तथा अपारिवारिक भए पनि पुरुष नभएको परिवार अस्तव्यस्त हुन्छ भन्ने आमधारणा समेत यसमा समेटिएको छ । लोग्ने जतिसुकै असहयोगी र माया नगर्ने किन नहोस्, लक्ष्मीकी आमा ‘आफ्नो लोग्ने छ’ भन्न पाउँदा धेरै खुशी महसुस गर्छिन् । ‘एकल महिला खुला ढुकुटीसरह हुन्’ भन्ने सोच रहेको यो समाजमा केवल नाम मात्रका कामचलाउ लोग्नेहरू पनि छन् अनि समाज अझ्ै कुविचार र संकुचित धारणाले ग्रस्त छ । 

समाजमा महिला नै महिलाको दुर्गति गर्न पनि पछि पर्दैनन् । जीवन के हो भनेर सिक्ने समय नहुँदै सोच्तै नसोचेको खाल्डोमा नेपाली बालिका एवं किशोरीहरू पर्ने स्थिति छ । यी दुवै खालका कुराहरू पुस्तकले राम्रैसँग दर्शाएको छ । देह व्यापारका सन्दर्भमा लेखिएको यो मर्मस्पर्शी पुस्तकसँग पाठक सलल बग्छन् । सरल र सहज कथाको लयले पाठकको मन छोइरहन्छ ।

चेलीहरूको नारकीय जीवनबारे धेरैलाई थाहा छ तर पनि तिनलाई सीमापारि लैजाने क्रम रोक्न सकिएको छैन । फलस्वरूप ती चेलीहरू नारकीय जिन्दगी बाँच्न विवश छन् । छलकपट, स्वार्थ, जालझ्ेल र दानवीय व्यवहारका यस्ता थुप्रै बिम्बहरू पुस्तकमा समेटिएका छन् । 

समाजमा पैसा नै परिवारलाई सुरक्षा दिने सिँढी हो भन्ने सोच कायम छ । पितादेखि प्रहरीसम्म वासनाले लिप्त पात्रहरू छन् । मरिसकेको शरीरबाट पनि पैसा झर्न खोज्ने मुम्ताज् जस्ता समाजका कलंक छन्, जो आमासँग उनकी दूधेबालिका किन्ने अनि तिनलाई वेश्यावृत्तिमा लगाउने दुस्साहस गर्न खोज्छन् । प्याट्रिसियाले आफ्नी पात्र लक्ष्मी मार्फत यस्तो कालो बादलमा पनि आशाको किरण देखाउने कोशिश गरेकी छन् । उनकी पात्र लक्ष्मी कलिलो उमेर भए पनि आत्मविश्वास, दृढता र साहसकी प्रतिमूर्ति हुन् । पाठकलाई त्यस्तै हुन प्याट्रिसिया आफ्नो पुस्तक मार्फत प्रेरित गर्छिन् । 

यो नेपाली युवा पुस्ताले पढ्नै पर्ने र अझ्ै पनि जोखिमपूर्ण अवस्थामा रहेका बालिका एवं किशोरीहरू भएका गाउँ–टोलमा पढाउनै पर्ने पुस्तक हो । यसको नेपाली अनुवाद ‘बेचिएकी’ पनि बजारमा आइसकेकाले नेपाली मात्र बुझनेहरूका लागि पनि अब यो कृति पढ्न–पढाउन त्यतिविधि कठिनाइ छैन । 

पुस्तकले चित्रण गरेको लक्ष्मीको गाउँ जस्ता भौगोलिक क्षेत्रका गाउँ–ठाउँमा गएको वैशाख १२ र २९ गतेको महाभूकम्पले व्यापक क्षति गरेको छ । जनजीविका हरेको छ । लाखौँ नेपालीलाई गरीबीको दुष्चक्रमा धकेलेको छ । यसरी धकेलिनेमा महिला र चेलीबेटी पनि ठूलो संख्यामा छन् । भूकम्पद्वारा सिर्जित दुरावस्थामा यस्ता खालका अपराधहरू झ्न् बढ्न सक्ने सम्भावना प्रबल रहन्छ । यस्ता सामाजिक अपराधलाई कसरी रोक्ने ? यो अहिलेको चुनौती बनेको छ । भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको दायित्व भनेको ती सबै जोखिमपूर्ण अवस्थामा रहेका मानिसहरूको जनजीविका सुधार्दै उनीहरूलाई गरीबीको दुष्चक्रबाट निकाल्नु हो । सामाजिक अपराधको पीडाबाट बचाउनु हो । त्यसैले अहिलेको अवस्थामा यो पुस्तक नेपाली पाठकहरूका लागि सान्दर्भिक, समसामयिक र महŒवपूर्ण पनि छ ।

(समीक्षक महर्जन ‘लुमन्ति’ नामक संस्थामा कार्यरत छन् ।)

No comments:

Post a Comment