‘मन्थन’ कै बारे
देश तथा विदेशबाट प्रकाशित समाजोपयोगी पुस्तकहरूको समीक्षा नेपाली भाषामा तयार पारेर नेपाली पाठकसमक्ष प्रस्तुत गर्ने रहर झण्डै एक दशकपछि, २०६३ कात्तिकमा मन्थन को पहिलो अंकको प्रकाशनसँगै पूरा भएको थियो । २०६८ सम्म आइपुग्दा मन्थन का ११ वटा संस्करणमा ६३ वटा पुस्तकको समीक्षा प्रकाशित भयो । यसका हरेक संस्करणले समीक्षा गरिएका पुस्तकका विषयवस्तुलाई आधार मानी नेपाली समाजसित संवाद स्थापित गर्ने प्रयास गरेका थिए । पाठकहरूबाट प्राप्त सुझव, टिप्पणी र प्रतिक्रियाले हामीलाई सन्तुष्टि मात्र दिएन, थप हौसला र प्रेरणा पनि दिए । मन्थन को प्रकाशनलाई हामीले एउटा सत्कार्यको रूपमा लियौं ।
तथापि; पर्याप्त प्रयासका बाबजूद व्यावहारिक विषयहरूमा हाम्रो क्षमता पुगेन । खासगरी मन्थन का अंकहरू धेरैभन्दा धेरै पाठकमा पु¥याउन हामीले सकेनौं । त्यसबाट हामीलाई के ज्ञान भयो भने यस किसिमको कार्य एक्लो बुतामा सम्भव नहुने रहेछ । तर अगाडि कसरी बढ्ने त भन्ने प्रश्नमा रुमल्लिंदा रुमल्लिंदै झ्ण्डै अढाइ वर्षसम्म मन्थन स्थगित हुनपुग्यो । यसका नयाँ संस्करणहरू निस्कन सकेनन् । त्यसपछिका दिनमा हाम्रो ध्यान ‘मन्थन’ को प्रकाशनलाई कसरी निरन्तरता प्रदान गर्नेभन्दा पनि प्रकाशित गरेपछि कसरी बढीभन्दा बढी पाठकसमक्ष पु¥याउने भन्ने उपाय पहिल्याउनमा केन्द्रित रह्यो । त्यतिबेलासम्म शिक्षक मासिक र आइसेट नेपालबीच सहकार्य शुरू भई ‘आइसेट’ ले गरेका अध्ययन र अनुसन्धानका कैयौं निचोड शिक्षक मा छापिइसकेका थिए । त्यसरी छापिएका लेख मार्फत आइसेट र शिक्षकका पाठकबीच एकखालको संवादको थालनी भइसकेको थियो ।
शिक्षक मासिकले शिक्षाको विभिन्न आयाम विवेचना गरी शिक्षाको स्तर उकास्न निकै ठूलो योगदान गरेको हाम्रो ठम्याइ छ । नेपाली समाजलाई समृद्धिको बाटोमा लैजान शिक्षित, सुसंस्कृत एवं विश्वव्यापी ज्ञानपुञ्जका विभिन्न आयामसित परिचित पुस्ता नै मेरुदण्डको रूपमा रहने हामो विश्वास पनि हो । यही विश्वासलाई मूर्त रूप दिंदै शिक्षक मासिकको यसै अङ्कदेखि आइसेट–नेपाल र शिक्षक मासिकको सहकार्यमा मन्थन पुस्तक समीक्षाको पुनः प्रकाशन शुरू गरिएको छ । नेपाली समाजमा हुर्कंदै गरेको पुस्तक पठनको संस्कार, त्यसका आधारमा ज्ञानको सम्प्रेषण, नागरिकबीच सृजनात्मक संवादका मञ्चको रूपमा मन्थन को प्रकाशन निरन्तर राख्न हामी समर्पित रहनेछौं ।
अजय दीक्षित, आइसेट–नेपाल
केही थप कुरा
शिक्षक मासिक र आइसेट नेपालको सहकार्यका रूपमा थालनी गरिएको ‘मन्थन’ पुस्तक समीक्षा खण्ड हाललाई हरेक चौथो महीना (अर्थात् वर्षमा तीनपटक) प्रकाशित हुनेछ । पाठकहरूको रुचि र सुझवका आधारमा त्यसपछिका दिनमा यसलाई मासिक या द्वैमासिक पनि तुल्याउन सकिनेछ ।
यो फोरम सबैका लागि खुला रहनेछ । तथापि स्थानको सीमितता र पुस्तक एवं समीक्षकको छनोटमा पर्न सक्ने दोहोरोपनलाई ध्यानमा राखी समीक्षा पठाउनुअघि सम्पादकलाई जानकारी गराउनुहुन अनुरोध गर्छौं । प्रकाशित समीक्षाका समीक्षकलाई शिक्षक को नियम अनुसार पारिश्रमिक दिइनेछ ।
सम्पादक, शिक्षक मासिक
No comments:
Post a Comment