उद्यमीका कुरा
पुस्तक : जेन गार्डेन : कन्भर्सेसन विथ पाथमेकर्स
लेखक : सुब्रतो बाग्ची प्रकाशक : पेन्गुइन बुक्स इन्डिया प्रा.लि., २०१३
पृष्ठ : ३२८ मूल्य : भा.रु. ४९९
समीक्षक : सुमन शाक्य
सुब्रतो बाग्ची भारतीय प्रकाशन फोब्र्स इन्डिया मा ‘जेन गार्डेन’ नामक स्तम्भका लेखक थिए । उनी आफ्ना विधामा विशिष्टता हासिल गरेका व्यापारी, सामाजिक नेता, चिकित्सक, प्रशासक र उद्यमीसित कुरा गरेर आफ्नो स्तम्भमा प्रस्तुत गर्ने गर्थे । उनको स्तम्भ निकै चर्चित थियो । आफ्नो त्यही स्तम्भ सँगालेर उनले जेन गार्डेन ः कन्भर्सेसन विथ पाथमेकर्स नामक पुस्तक प्रकाशित गरेका छन् । बाग्ची आफैं पनि कहलिएका उद्यमी हुन् ।
संवादका पात्र
पुस्तकमा ५८ व्यक्तिसित गरिएका संवाद समावेश छन् । धेरैजसो पात्र भारतीय मूलका छन् भने तीन जना विदेशी । ती विदेशी हुन्, बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरकी पत्नी चेरी ब्लेयर, अशोका फाउण्डेसनका संस्थापक बिल ड्रेटोन र विकीपिडियाका संस्थापक जिमी वालेस । संवादमा आधारित लेखहरू १२ खण्डमा विभाजित छन्— दृढता (डिटरमिनेसन), दूरदृष्टि (भिजन), साहस (करेज), विस्थापन (डिस्प्लेसमेन्ट), प्रेम र दया (लभ एन्ड कम्प्यासन), सिर्जना (इनोभेसन), नयाँ मार्ग र नयाँ अर्थतन्त्र (न्यू पाथस् एन्ड न्यू इकोनोमी), दुई जनाको शक्ति (द पावर अफ टु), सहानुभूति राख्ने नेतृत्व (कम्प्यासोनेट लीडरसिप), दुखाइ (पेन), निःस्वार्थ सेवा (अल्ट्रूयजम) र विवेक (विजडम) । हरेक खण्डको शुरूमा बाग्चीले आफ्नो तर्फबाट विषय प्रवेश गरेका छन्, किन र के, अनि समावेश गरिएका अनुभवका पाठ के हो, उनी व्याख्या गर्छन् ।
पुस्तकले व्यापारिक उद्यमशीलतामा लागेका व्यक्तिहरूको अनुभव र तिनबाट प्राप्त सन्देश अर्थात् सिकेका पाठ प्रस्तुत गरेको छ । पात्रहरूमध्ये जिमी वालेस, चेरी ब्लेयर र बिल ड्रेटोन मात्रै प्रत्यक्ष व्यापारिक फाँटसित जोडिएका छैनन् । अमेरिकी नागरिक बिल ड्रेटोनले विश्वमा सामाजिक उद्यमशीलता प्रवद्र्धन गर्न ठूलो भूमिका निर्वाह गरेका छन् । विश्वभरि अशोकाका फेलोहरू छन् । नेपालमा पनि झ्न्डै ४० जना अशोका फेलोहरू आ–आफ्ना विधामा समर्पित छन् ।
पुस्तकमा समेटिएका अन्य केही व्यक्तित्व हुन्, अभिनेता आमिर खान, नौकरीडटकमका सञ्जीव विकचनदानी, सद्गुरु जग्गी वासुदेव, क्याफे कफी डेका भिजी सिद्धार्थ, वाइन निर्माता राजीव समन्त, टेलिभिजन सिरियल निर्माता एकता कपुर, डा. शरण पाटिल, डेकन एयरका जीआर गोपीनाथ र इन्फोसिसका क्रिस गोपीकृष्णन् । पाहुनाहरूसित गरेको संवादका शब्दलाई बाग्चीले जादूसरह वाक्य विन्यासमा उनेका छन् । पुस्तक पढेपछि, भन्न करै लाग्छ ‘उनी कथा भन्न खप्पिस छन् ।’
जोड्ने धागो र निःस्वार्थ सेवा
पुस्तकमा समावेश गरिएका व्यक्तिका कथालाई एउटा धागोले जोड्छः ती सबैले आफ्नो भविष्य आफैं बनाए, अरूले बनाएको बाटो छानेनन् । सबैले जीवनमा अनेकन् उतारचढाव भोगेका थिए तर दर्शन र सिद्धान्त अनुसरण गर्दै तिनले आफ्नो लक्ष्य निर्धारण गरे, आफ्नै बाटो रोजे । आत्मविश्वास र कार्यप्रतिको समर्पणले तिनलाई आफ्नो क्षेत्रमा अग्रणी बनायो । बाग्ची भन्छन्— “ती व्यक्तिहरूले नयाँ तरीकाले सोचे, हिम्मत गरे, अरूले के भन्लान् भन्ने वास्ता गरेनन्, अगाडि बढ्ने क्रममा देखिएका व्यवधान हटाए ।” आमिर खान तारे जमिन पर, थ्री इडियट्स, पिके जस्ता चलचित्रका अभिनेता हुन् । उनी फिल्म फेयरजस्ता उपहार कार्यक्रममा सहभागी हुँदैनन्, दर्शकको टिप्पणी मेरो उपहार हो भन्छन् तर सञ्चार क्षेत्रमा चर्चामा नआएका पुरस्कार भने लिएका छन्, उनले ।
पुस्तकका विभिन्न खण्डमा सफलताका लागि ती व्यक्तिहरूले के–कस्तो बाटोे लिए र के आवश्यक परेको थियो भन्ने विवरण उल्लेख छन् । सफलताका केही आयाम— निर्णय, विस्थापन र साहस हुन् भने मनुष्यप्रतिको करुणा, नेतृत्व, सिर्जना र पीडा महसूस गर्ने क्षमता अर्का आयाम हुन् । पुस्तकमा सफलतामा पुग्ने स–साना उक्तिहरू पाइन्छन् । बाग्ची भन्छन्, “उद्यमशीलता जोखिम उठाउने कार्यभन्दा बढी साहसको काम हो । निजी कम्पनीका सञ्चालकलाई जोखिम लिइरहन फाइदा हुने भए पनि सजिलो हुँदैन, तिनले साहस गर्नैपर्छ ।” बाग्ची अगाडि भन्छन्, “खेलमा पछाडि परेका केटाकेटीले खेलका नियम नयाँ हिसाबले लेख्छन्् । नेताहरूले दूरदृष्टि राख्न सक्छन् तर उनीहरूले आफ्ना दूरदृष्टि र दृष्टिकोणलाई टिपेर अगाडि लैजाने समुदाय तयार गर्न सकेका छैनन् ।”
पुस्तकमा बाग्चीले प्रस्तुत गरेको अनुभवमध्ये यो समीक्षकलाई मन परेका पात्रहरू हुन्, जिमी ‘जिम्बो’ वालेस, नारी र पाउल, सोम्वित सेन गुप्ता र डा. देवी सेट्टी । इन्टरनेटमा प्रचलित इन्साइक्लोपेडिया विकीपिडियाका संस्थापक हुन्, जिमी । यदि गुगल कम्पनीले जस्तै बाटो लिएको भए जिमी पनि अर्बपति हुन सक्थे तर उनले सेवाको बाटो रोजे । पुस्तकमा विकीपिडिया कसरी शुरू भयो भन्ने सन्दर्भ पनि प्रस्तुत गरिएको छ । जिम्मीकी छोरी किरा एउटा त्यस्तो रोग लिएर जन्मिएकी थिइन् जसको कुनै उपचार थिएन । प्रयोगको रूपमा एउटा पद्धति मात्र उपलब्ध थियो । त्यो प्रयोग गरेमा बच्चीले उपचारको क्रममा पक्षघात भएसरह हुनुपर्ने स्थितिमा पुग्नुपर्ने सम्भावना थियो । किराका अभिभावकले अप्ठेरो भए पनि त्यही बाटो रोजे । वास्तवमै उपचारको क्रममा बच्ची पक्षघात भएसरह अचेत भइन् तर बाँचिन् । उपचारको ज्ञान एउटा चिकित्सकलाई मात्रै थियो, जसले सो विधि भविष्यका लागि जतन गर्न चाहे । विकीपिडियाको जन्म भयो ।
अथक् उत्थानशीलता
पुस्तकका पात्रहरू नारी मनिपल्ली र पाउल चौधरी अथक् उत्थानशीलताका प्रतिबिम्ब हुन् । उनीहरूले भारतमा बियर उत्पादन गर्ने अनुमति पाएनन्, तर हरेश खाएनन्, अर्कै बाटो रोजे । बाटो थियो बियर उत्पादन बेल्जियममा गर्ने, भारतमा आयात गरी वितरण गर्ने । सोम्वित सेन गुप्ताको प्रसंग पनि उत्साहजनक छ । सोम्वितका मातापिता बाङ्लादेश स्वतन्त्रताको लडाइँमा विस्थापित भएर भारत आएका थिए । आमाको एउटै मात्रै नेक्लेस बेचेर खरीद गरिएको एकतर्फी टिकट लिंदै खल्तीमा ८ डलरसहित सोम्वित पेरिस पुगेका थिए, कला अध्ययन गर्न । पेरिसमा उनले वर्षौं हन्डर खानुप¥यो र धेरैपल्ट बेइज्जती पनि सहनुप¥यो । सङ्घर्षको क्रममा उनले एउटा विज्ञापन एजेन्सीमा जागिर पाए । हाल प्रचलित रणनीतिक ब्रान्ड डिजाइनको अवधारणा उनले नै अघि ल्याएका हुन् ।
राम्रो गरेर, ठीक कार्य गर्ने उदाहरण स्थापित गर्ने अर्का सिर्जनशील उद्यमी हुन्, बैङ्गलोरमा रहेको नारायण मुटु अस्पतालका संस्थापक डा. सेट्टी । आफ्ना आमाबुबाका नौ सन्तानमध्ये उनी आठौं थिए । डा. सेट्टी भन्छन्, “पछाडि पारिएका केटाकेटीले नियम पुनर्लेखन गर्नेछन् किनभने तीभित्र उँचाइमा पुग्ने एक प्रकारको आगो दन्किएको हुन्छ ।” बाग्ची भन्छन्, “सन् १९३० मा भएको ठूलो आर्थिक संकटको बेला हुर्किएका केटाकेटीले नै अमेरिकालाई विश्वशक्ति बनाएका हुन् ।” झ्ुन्डमा हिंड्ने हात्तीको उदाहरण दिंदै बाग्ची भन्छन्, “झ्ुन्डमा भएकाले नै ती बलिया हुनसकेका हुन् ।”
पुस्तकले व्यक्तित्वका बारे अरू विवरण दिंदैन । तिनको जीवनको गहिराइमा जाने पाठकको चाहना पूर्ण हुँदैन । शायद लेखकले यो जानीजानी गरेका हुन् किनभने उनको उद्देश्य उद्यमीका कमी–कमजोरी प्रस्तुत गर्नु होइन, खुराक सदासयताको केही मात्र पस्कनु हो । पुस्तक पढ्दा के लाग्छ भने, व्यक्तिलाई देवतासरह प्रस्तुत गरिएको छ, ती बत्तीस लक्षणले युक्त छन् । वास्तवमा कोही पनि व्यक्ति पूर्ण हुँदैनन्, हरेक व्यक्तिका अँध्यारा पाटा हुन्छन् र कमजोरी पनि । मान्छेले गलत निर्णय पनि गर्न सक्छ, तर विवेकशील व्यक्तिले एकपल्ट गरिसकेको गल्ती फेरि दोहो¥याउँदैन ।
उद्यमशीलताका चुनौती
उद्यमीका लागि मात्र होइन हरेक व्यवसायीलाई जेन गार्डेन उपयोगी पुस्तक हो । पुस्तक भारतकेन्द्रित छ । झ्न्डै एक अर्ब २५ करोड जनसङ्ख्या भएको भारत आर्थिक विकाससँगै विश्वशक्ति हुने बाटोमा छ । त्यस मुलुकसामु बग्रेल्ती चुनौती छन्, तर सो निवारण गर्ने सिर्जनाका प्रयास पनि देखिन्छन् । व्यापारिक सर्जकलाई आन्तरिक बजार पनि उपलब्ध छ । हाम्रो उत्तरतिरको छिमेकीको कथा पनि निश्चय नै प्रेरणादायी छ, यद्यपि चीनको सामाजिक, राजनीतिक र अन्य व्यवस्था भारतभन्दा फरक छ । भारतमा यस्ता कथा जति सहज रूपमा उपलब्ध छन् चीनमा छैनन् । भाषा एउटा समस्या हो, चिनियाँहरूबारे अंग्रेजीमा खासै लेख पाइँदैन । राज्यको नीति महŒवपूर्ण त हुन्छ तर त्यसअन्तर्गत कार्यरत व्यक्ति सिर्जनशील नभएको भए शायद चीन हाल विश्वको ठूलो अर्थ व्यवस्था बन्ने थिएन । चीनतिरका अनुभव पनि पढ्ने मौका पाए ज्ञानको दायरा बढ्ने थियो ।
आफ्नो उत्पादनलाई ब्रान्ड बनाउन चाहने सर्जक एवं व्यापारी संगठनका हरेक कार्यकारी अधिकृतले यो पुस्तक पढ्नु उपयोगी हुनेछ यद्यपि चुनौती समाधान गर्ने वा आफ्नो उत्पादनलाई ब्रान्ड बनाउने रामवाण औषधि भने पुस्तकमा भेटिंदैनन् । यसै पनि अरूको सिर्जनशीलता दोहो¥याउनु चाखलाग्दो हुँदैन, आवश्यक पनि छैन । सिर्जनशील उद्यमी आफ्नो बाटो आफैं कोर्छन्, पुस्तकको निक्र्योल यही हो । अरूको अनुभवबाट प्रेरणा पाइन्छ, हरेश खाएको वेला तिनको प्रयास सम्झ्ेर उत्साह मनन गर्न सकिन्छ । पुस्तकमा यस्ता थुप्रै सम्भावना भेटिन्छन् । अंशहरू छोटा भएकाले पुस्तक कुनै पनि वेला पढ्न सकिन्छ । भाषा स्पष्ट र सजिलो छ ।
उद्यमी शाक्य स्मार्ट पानीका कार्यकारी निर्देशक हुन् ।
No comments:
Post a Comment