भगवानहरू निदाइरहेका वेला
पुस्तक : ह्वाइल द गडस् वेयर स्लिपिङ : अ जर्नी थु्र लभ एन्ड रिवेलियन इन नेपाल
लेखक : एलिजावेथ इन्स्लिन प्रकाशक : सिल प्रेस, २०१४, क्यालिफोर्निया
पृष्ठ : २९८ मूल्य : रु. ४७९
समीक्षक : योगेन्द्रनाथ सुवेदी
सन् ८० को दशकमा सियाटल; अमेरिकाकी एलिजावेथ इन्स्लिन स्टानफोर्ड विश्वविद्यालयमा मानवशास्त्र पढ्दै थिइन् । त्यसै समय चितवन निवासी प्रमोद पराजुली पनि अध्ययनका लागि सोही विश्वविद्यालय पुगेका थिए । ती दुई प्रणयसूत्रमा बाँधिए, बिहे गरे । विद्यावारिधिको अनुसन्धानका लागि उनीहरू भारत हुँदै नेपाल आए । नेपालमा एलिजावेथले पति प्रमोदको घर चितवनको गुन्जनगरमा लामो समय बिताइन् । त्यसवेला अर्थात् सन् १९८५ देखि १९९२ का घटनाको उनले अभिलेख राखेकी थिइन् । जसले सन् २०१४ मा ह्वाइल द गडस् वेयर स्लिपिङ ः अ जर्नी थु्र लभ एन्ड रिवेलियन इन नेपाल नामक पुस्तकको रूप लियो ।
क्यालिफोर्नियाको सिल प्रेसबाट प्रकाशित तीन सय पृष्ठको यो पुस्तकमा १९ विषयवस्तु समावेश छन् । आवरण पृष्ठमा उद्धृत तीन जना अमेरिकी लेखक–सम्पादक र एउटी नेपाली महिला लेखिकाको भनाइ अनुसार पुस्तक पठनीय मात्र होइन, निकै रोचक पनि छ । यो पुस्तक एलिजावेथको आत्मकथा हो, निबन्ध वा उपन्यास होइन । वास्तविक घटनामा आधारित उक्त पुस्तकका पानामा सम्झ्नाका यथेष्ट बिम्ब छन् जुन लेखिकाले भनेजस्तो प्रेम र विद्रोह यात्राको सम्मिश्रण हो । पुस्तकमा अमेरिकी र नेपाली समाजको तुलना र विश्लेषण छ । एकातिर आधुनिक पश्चिमी समाजको प्रतिनिधिका रूपमा एलिजावेथ छन् भने अर्काेतिर तनहुँबाट चितवनको गुन्जनगर बसाइँ सरेका पति प्रमोदको पहाडिया ब्राह्मण परिवार । पुस्तकमा त्यो परिवारमा आफू बुहारी हुँदाको अनुभव पस्केकी छन्, एलिजावेथले । समाजशास्त्रकी विद्यार्थी लेखिकाले पुस्तकमा नेपाली समाजका विभिन्न सम्प्रदाय, जात, धर्म, संस्कृति, राजनीति आदिको तत्कालीन परिस्थितिको विवेचना गर्दै नेपाली समाजका विविध पक्षको यथार्थ चित्रण गरेकी छन्, सरल भाषा र मिठासपूर्ण शैलीमा ।
गुन्जनगरको जीवन
स्टानफोर्ड विश्वविद्यालयको चउर, पुस्तकालय र कक्षाकोठाको प्रेम प्रसङ्ग सम्झ्ँदै एलिजावेथले अध्ययनका लागि अमेरिकाबाट नेपाल आउने निर्णयको विवरण प्रस्तुत गरेकी छन् । भारतमा ताजमहल हेरेर एलिजावेथ र प्रमोद बसको यात्रामा नयाँदिल्लीबाट गोरखपुर, सुनौली हुँदै गुन्जनगर पुग्छन् । पहिलो पटक गरेको बस यात्रामा यात्रुको हल्लाखल्ला, वान्ता, यात्रुलाई स–साना सामान किन्न बाध्य पार्ने खुद्रा व्यापारी, स्वस्थ खानपिनको कमी, स्वास्थ्यमा गडबडी, शौचालयको अभाव, भन्सार नाकामा प्रहरीले दिएको दुःखको वर्णन गरेकी छन् एलिजावेथले । पति प्रमोद उनलाई निर्दलीय पञ्चायत व्यवस्थाका खरोपनबारे बताउँछन् । उनीहरू गुन्जनगर पुगेको केही वर्षपछि सन् १९९० मा नेपाली राजनीतिक परिवर्तन भयो, पञ्चायत व्यवस्था ढल्यो र बहुदलीय व्यवस्था फेरि स्थापित । ती दम्पती गुन्जनगरमा आइपुग्दा नेपाली कांग्रेस र कम्युनिष्टहरूले पञ्चायत व्यवस्थाविरुद्ध संघर्ष गर्दै गरेको कालखण्ड थियो ।
गुन्जनगरमा प्रमोदको संयुक्त परिवार थियो । संयुक्त परिवारमा नबसेकी एलिजावेथलाई शुरूमा असजिलो अनुभव भए पनि उनी विस्तारै अभ्यस्त भइन् । उनले उक्त परिवारका प्रत्येक सदस्यको व्यवहार चित्रण गरेकी छन् पुस्तकमा । प्रमोदका दाजु र भाउजू व्यावहारिक र सहयोगी भएको सगौरव प्रस्तुत गरेकी छन्, उनले । एलिजावेथका ससुरा केदारनाथ कट्टर पण्डित थिए तर सासू पार्वती पराजुली महिला अधिकारप्रति उदार दृष्टिकोण राख्थिन् । आपूm बुहारी हुँदा आफ्नी सासूले गरेको अन्याय र थिचोमिचोबारे पार्वती सचेत थिइन् । महिला हकहित, अधिकार वा उन्मुक्तिबारे उनको जानकारी साधारण थियो, तर पार्वतीले थुप्रै कविता लेखेकी र त्यसलाई गीत बनाएर गाएकी पनि थिइन् । एलिजावेथले पार्वती बुहारी हुँदा लेखेको दुःख र पीडायुक्त कविता पुस्तकमा समेटेकी छन् । चितवन बसाइँ सरेपछि पार्वतीले आमा समूह, महिला केन्द्र आदि खोल्न सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । एलिजावेथको यो विवेचना यथार्थपरक छ । लेखिकाले पुस्तक सासू पार्वतीमा समर्पण गरेकी छन् ।
गुन्जनगरमा बसेपछि उनले चतुर्मास वा चौमासबारे जानकारी पाउँछिन् । नेपालमा हरिशयनी एकादशी (असार) बाट हरिबोधनी एकादशी (कात्तिक) सम्म करीब चार महीना पुराणअनुसार विष्णु भगवान् र अन्य देवताहरू सुत्छन् । यस चौमासमा विवाहजस्ता शुभकार्य हुँदैनन् । बरु पुराण वाचन वा कीर्तनभजन गर्ने प्रचलन छ । यो चार महीना वर्षा प्रारम्भ भएर धानबाली रोप्दै कात्तिकसम्म आइपुग्दा धान काट्ने समय हो । एलिजावेथलाई आपूmले यही बेला गर्भधारण गरेको थाहा भयो । हिन्दू धर्मअनुसार यो समयमा उपयुक्त वा अनुपयुक्त के हो ? उनले बुझन खोजेकी छन् । तर प्रश्न अनुत्तरित छ ।
बच्चा जन्मनु आँपजस्तै हो, पाकेपछि आफैं झ्र्छ, त्यसमा आत्तिनु पर्दैन, त्यसकारण घरमै सुत्केरी गराए पनि हुन्छ भन्ने सल्लाहले उनलाई अचम्मित पारेको थियो । उनी भन्छिन्, केही अप्ठेरो नभए आफ्नो बच्चाको जन्म घरमै गराउने सल्लाह हामी पति–पत्नीबीच भएको थियो । गर्भावस्थामा गुन्जनगरबाट डाक्टरलाई देखाउन टेम्पोमा भरतपुर अस्पताल गएको उनको स्मरणले ग्रामीण नेपालको मातृत्व सन्दर्भको बिम्ब दिन्छ । उनले आफ्नो छोरालाई भरतपुर अस्पतालमा जन्म दिन्छिन् । तुलनात्मक हिसाबले यातायात पुगेको स्थानको त स्वास्थ्य सेवाको यस्तो स्थिति थियो भने अन्यत्रको अवस्था के थियो होला ? अझ्ै पनि मुलुकमा त्यस्ता परिवेश विद्यमान छन् ।
नेपालमा महिलाले घरमै बच्चा जन्माउनु पर्दाको जटिल परिस्थितिको विवेचना पुस्तकको उपयोगी चित्रण हो । यसले नेपालमा लैङ्गिक असमानता खासगरी ग्रामीण महिलाले भोग्नुपरेको यथार्थ प्रस्तुत गर्छ । सन् २०११ को तथ्याङ्कअनुसार नेपाली महिलाको विवाह गर्ने औसत उमेर २० वर्ष छ भने मातृशिशु मृत्युदर ४० शिशु प्रति हजार छ । पुरुष साक्षरता ७५ प्रतिशत छ भने महिलाको जम्मा ५७ प्रतिशत मात्र । त्यस्तै करीब २० प्रतिशत महिलाको नाममा मात्र घर वा जग्गाको स्वामित्व रहेको छ । सन् १९८५ तिर यो प्रतिशत निकै थोरै थियो । एउटा छुट्टै खण्डमा तत्कालीन नेपाली समाजको महिला अधिकार, सामाजिक न्याय, लैङ्गिक विषय, प्रजनन् स्वास्थ्य, दलित र छुवाछूतको विश्लेषण प्रस्तुत छ । विडम्बना, आज पनि नेपालमा यस्ता चुनौती ज्यूँका त्यूँ छन् । पुस्तकको अर्को राम्रो पक्ष महिलाको दुःख र पीडा मिश्रित नेपाली लोकगीतको सरल अंग्रेजी भाषामा अनुवाद । एलिजावेथले नेपाली चलनचल्तीका शब्दको प्रयोग र अंग्रेजीमा अनुवाद मिठासपूर्ण र सही रूपमा गरेकी छन् । कतिपय ठेट नेपाली शब्द नेपालीमै समावेश गरिएको छ, जुन पुस्तकको अन्त्यमा अंग्रेजी शब्दावलीसहित व्याख्या गरिएको छ ।
पुस्तकमा केही कमजोरी पनि छन् । ‘पाकेका आँप’, ‘कुहिरो’ जस्ता शीर्षक दिएर लेखिएका खण्ड पुस्तकका विषयवस्तुसँग त्यति जोडिएका छैनन् । कुहिरो शीर्षकको लेख र त्यसअन्तर्गतका विषयवस्तु मेल खाँदैनन् । यो खण्डमा कुहिरोको वर्णन एक–दुई ठाउँमा मात्र गरिएको छ, तर थप विवरण छैन । चाखलाग्दो प्रारम्भ भए पनि पुस्तकमा पाठकलाई अन्त्यसम्म बाँधेर राख्ने खुराक छैन । सन् १९८०–९० को दशकताका चितवनमा चलेको महिला साक्षरता अभियान, महिला जागरण, महिला केन्द्र खोल्ने र त्यसका लागि जग्गा प्राप्तिको विवरण, सुकुम्बासी आन्दोलनका विषय दोहोरिएका छन् ।
संस्कृतिका विषय
पुस्तकमा एलिजावेथ एउटा असल मानवका रूपमा प्रस्तुत हुन्छिन् । प्रमोद र एलिजावेथको पारपाचुके भइसकेको छ, तिनीहरू आजकल सँगै बस्दैनन् । तापनि प्रमोद पराजुलीका बारे पुस्तकमा नकारात्मक टिप्पणी छैनन् । बरु उनको सहयोगी हातको प्रशंसा नै छ । एउटी अमेरिकन महिलालाई आफ्नो धर्मपत्नी बनाएर स्थानीय समाज र परिवेशमा अभ्यस्त गराउन प्रमोदले ठूलो भूमिका खेलेका थिए । खासगरी विदेशी बुहारीप्रति हुनसक्ने सांस्कृतिक भेदभाव हटाउन पतिबाट पूरै साथ पाएको प्रसङ्ग एलिजावेथ उल्लेख गर्छिन् । एलिजावेथ भन्छिन्, मलाई नेपाली संस्कृतिमा रमाएर आफ्नो विवाह हिन्दू परम्पराअनुसार भए हुन्थ्यो भन्ने लागेको थियो । तर यसो हुन सकेन । पति प्रमोदले उनलाई ‘तिमी अमेरिकन भएको र मेरा बाबु–आमा कट्टर हिन्दू ब्राह्मण भएकाले कन्यादान गरेर हाम्रो विवाह हँुदैन’ भनेपछि आफूलाई नरमाइलो लागेको प्रसङ्ग पनि उनले उल्लेख गरेकी छन् । अरू थुप्रै कुरामा साथ दिए पनि यस विषयमा प्रमोदले आफ्ना बाबु–आमालाई मनाउन सकेनन् ।
एउटा अमेरिकी महिला चितवनको ग्रामीण बस्तीमा बुहारीको रूपमा भित्रिएर आफ्ना परिवारसँग घुलमिल गरेर बसेको व्यक्तिगत सम्झ्ना मात्र होइन पुस्तक, यसले नेपाली समाजको एउटा धारलाई खास कालखण्डमा नियालेको छ । अर्को संस्कृतिबाट आएकी एक शिक्षित महिलाले के–कस्ता अनुभव गरिन् भन्ने विवरणले स्वचिन्तनका लागि प्रशस्त ठाउँ खोलेको छ । हाम्रा कुरीति हटाउन यस्ता दृष्टिकोण सहयोगी हुनेछन् ।
योगेन्द्रनाथ सुवेदी आइसेट–नेपालका अनुसन्धानकर्ता हुन् ।
No comments:
Post a Comment