चारखुट्टेको घरजम
लेखकः जर्ज अरवेल अनुवादकः फणिन्द्रप्रसाद उपाध्याय
-समीक्षक ः अजयभद्र खनाल
कार्ल माक्र्सले लुइ नेपोलियनको अठारौं ब्रूमेर भन्ने आफ्नो पुस्तकमा लेखेका छन्; इतिहास दोहोरिन्छ, पहिलोपल्ट वियोगान्त र दोस्रोपल्ट व्यङ्ग्यको रूपमा ।
इतिहासका पात्र र घटना कसरी दोहोरिन्छन् भनेर विश्लेषण गर्ने क्रममा अन्य दार्शनिकले झैं माक्र्सले माथि उल्लिखित भनाइ अघि सारेका हुन् । प्रायः नयाँ इतिहास रच्न खोज्ने पात्रहरू असफल हुन्छन् र उनीहरूको सत्प्रयासको दुःखद् अन्त्य हुन्छ । लाग्छ उनीहरू समयअगावै जन्मे वा समय उनीहरूको नवीन विचार ग्रहण गर्न सक्षम भएन । त्यति हुँदाहुँदै पनि कालक्रममा तिनै पात्रलाई नक्कल गरेर हिरो बन्न खोज्ने नयाँ पात्रहरू देखा पर्छन्् । तर उनीहरू मजाकिया वा नक्कली हिरोका स्तरभन्दा माथि उक्लन सक्दैनन् । नेपाली समाजको सन्दर्भमा योे हामीले पनि कैयन् पटक नजिकैबाट देखेको कुरो भयो, तर चारखुट्टेको घरजम भन्ने पुस्तकको सन्दर्भमा भने ठीक उल्टो भएको देखिन्छ ।
त्यसो त चारखुट्टेको घरजम मौलिक नेपाली उपन्यास नभएर ब्रिटिश भारतको मोतीहारीमा जन्मेका अंग्रेज उपन्यासकार जर्ज अरवेलको विश्वप्रसिद्ध र अमर कृति एनिमल फार्मको अनुवाद हो । एनिमल फार्म पहिलोपल्ट सन् १९४५ मा छापिएको थियो । विश्वका अन्य सन्दर्भ र समयमा पनि मिल्ने भएको कारण उपन्यास आज पनि लोकप्रिय छ ।
पुस्तकको नेपाली अनुवाद २०२७ सालमा पहिलोपल्ट फणिन्द्रप्रसाद उपाध्यायले गरेका थिए चारखुट्टेको घरजम शीर्षक दिएर । नेपाल प्रज्ञा–प्रतिष्ठानले पुस्तक छापेको थियो । अनुवादकले आफ्ना दुई शब्दमा लेखेका थिए, “मूल ग्रन्थले मलाई एकछिन भए पनि हँसाएकाले अनुवाद गरेको हुँ । यो किनेर पढ्नेलाई मलाई जस्तै हाँसो उठ्यो भने किन्दा खर्च भएको पैसाको सदुपयोग नै भएको अवश्य लाग्ला ।” पहिलोपल्ट यो पुस्तकको नेपाली अनुवाद छापिंदा प्रमुख उद्देश्य मनोरन्जन रहेको देखिन्छ ।
वि.सं. २०७१ मा चारखुट्टेको घरजम फेरि छापिएको छ । यो संस्करण पुस्तक मनोरन्जनको रूपमा भन्दा नेपाली समाजको दुःखान्तपूर्ण इतिहासको बिम्ब बनेर आएको छ । १० वर्षे जनयुद्ध र दोस्रो जनआन्दोलनमा अन्तर्निहित जनताका अपेक्षा कसरी दुःखान्तमा परिणत हुन सक्छन् वा दुःखान्तमा परिणत हुँदै गरेका छन् भन्ने दृष्टान्त पुस्तकले हामीलाई देखाउँछ । यो पुस्तकको दोस्रो अनुवाद संस्करण छापिने साइत यसै वर्ष नै जुर्नुको कारण पनि यही नै हुन सक्छ । अहिले यो पुस्तक नेपालको दुःखद् इतिहासको तीतो सन्देशको प्रतीकको रूपमा प्रस्तुत भएको छ । त्यसैले यो पुस्तक पढ्दा हामी धेरैलाई हाँस्न मन नलाग्न सक्छ, बरु नरमाइलो लाग्न सक्छ ।
सामान्यतया पुस्तक समीक्षा गर्दा त्यसको कथावस्तु खोलिंदैन, किनभने कथा पढ्ने अधिकार पाठकको हो । समीक्षकले उसको अधिकार हनन् गर्न मिल्दैन । तर चारखुट्टेको घरजम समीक्षा गर्दा कथावस्तुबारे केही नबोली रहन सकिन्न । पुस्तकको गहनताको यो एउटा मापदण्ड पनि हुन सक्छ । त्यसैले यस आलेखले पुस्तकका केही पृष्ठभूमि र विषयवस्तु केलाउने प्रयास गरेको छ ।
प्रजातान्त्रिक समाजवादी जर्ज अरवेल सोभियत संघको कम्युनिष्ट सत्ताका प्रमुख जोसेफ स्टालिनका आलोचक थिए । सन् १९४० को दशकमा सोभियत संघमा समाजवादी सपनालाई कुल्चिरहेका स्टालिनबाट बेलायतका बौद्धिक वर्ग निकै प्रभावित थिए । अरवेललाई यो असह्य भयोे । लोकतान्त्रिक मुलुकका बुद्धिजीवीहरू अधिनायकवादी प्रोपोगाण्डाबाट दिग्भ्रमित भएको उनलाई चित्त बुझ्ेन । सुनौलो भविष्यको समाजवादी सपना देख्ने साधारण मानिसहरू त सपना बेच्ने व्यापारीहरूबाट ठगिने नै भए तर बेलायती बुद्धिजीवी पनि ठगिइरहेका थिए ।
जसरी स्टालिनको अधिनायकवादी चरित्रले समाजवादको सुन्दर सपनालाई मजाक र वियोग दुवै स्वरुपमा बदलिदियो, त्यो इतिहासको पनि संसारका विभिन्न भागमा पुनरावृत्ति भैरहेको देखिन्छ । त्यस्तो परिबन्दबाट नेपाल पनि उम्किन सकेको छैन ।
एकदिन हिंड्दै गर्दा अरवेलले के देखे भने एउटा १० वर्षे केटो टाँगा तान्ने ठूलो घोडा लिएर साँघुरो बाटोमा गइरहेको थियो । घोडा यताउता गर्न खोज्यो कि ऊ कोर्राले हानिहाल्थ्यो । अरवेललाई लाग्यो यदि यस्ता जनावरहरू आफ्नो तागतबारे जानकार भए भने मनुष्यले तिनीहरूलाई नियन्त्रण गर्न सक्ने थिएनौं । मानिसहरू जनावरलाई त्यसरी नै शोषण गर्छन्, जसरी धनी मान्छेहरू गरीबलाई ।
यो अनुभवले अरवेललाई नयाँ खालको कथा लेख्न प्रेरणा दियो । कसरी क्रान्तिकारी सपनाहरू यथार्थमा बेचिन्छन् भन्ने सन्देश बोकेको पुस्तक एनिमल फार्म जन्मियो । पुस्तकको सुरुआत सपनाबाटै हुन्छ ।
कुनै मुलुकका जनावरहरू (पुस्तकमा जनावर जनताको प्रतीकको रूपमा छ र मान्छे मालिक) दुःखी छन्, तर तिनको दुःखको कारण देश गरीब भएर होइन । देशको माटो उब्जाउ छ र हावापानी असल । देशले कैयौं जनावरलाई सजिलै पाल्न सक्छ, आफूहरूले कल्पना पनि नगरेको आराम र इज्जत उनीहरूलाई मिल्न सक्छ । जनावरहरू बूढो भएर काम गर्न नसक्ने भएपछि हरियो चौरमा चरेर, आरामसित उग्राउन चाहन्छन् । उनीहरू किन दुःखी छन् त ? उनीहरूको दुःखको कारण हो मालिकको रूपमा रहेको मान्छे । मालिकले जनावरहरूको शोषण गर्छ, सबै उब्जनी चोर्छ । जनावरहरूलाई जिउन मात्र पुग्ने खान दिन्छ, बाँकी आफैं लैजान्छ । जब जनावर काम गर्न नसक्ने हुन्छन्, मालिकले तिनलाई मिल्काइदिन्छ, बेचिदिन्छ वा तलाउमा डुबाएर मारिदिन्छ । मीठो सपना देख्नेहरू सजिलै ठगिन सक्छन् । मालिकले जनावरहरूलाई झ्ुक्याउनका लागि प्रयोग गर्ने तीन प्रमुख माध्यम हुन्; सपना, शब्दजाल र अपारदर्शी व्यवहार ।
कथावस्तुले नेपालको अवस्था प्रतिबिम्बित गर्छ, मन छुन्छ । नेपाली जनता, मुलुक सुन्दर पार्ने, विकास, सुखसाथ आफ्नै देशमा परिश्रम गरेर बाँच्ने सपना देख्छन् । देशमा यथेष्ट प्राकृतिक स्रोत छ । पैसा पनि छ । श्रम गर्न इच्छुक मान्छेहरू पनि छन् । अपेक्षा पुग्ने सम्भावना नभएका पनि होइन । तर हुनसकेको छैन, बाधक छन् । यस पुस्तकले बाधक निदान गर्ने बाटो त देखाउँदैन तर यसबारे घोत्लिन हामीलाई प्रेरित गर्छ ।
कथावस्तुले सबैभन्दा पहिले सपना प्रस्तुत गर्छ, त्यसपछि परिवर्तनका सम्भावना देखाउँछ र त्यसका बाधक पनि । मुक्तिका लागि जनावरहरू क्रान्तिको बाटो रोज्छन् र नारा बनाउँछन्ः सबै मान्छे शत्रु हुन्, सबै जनावर मित्र । चारखुट्टे राम्रो, दुईखुट्टे नराम्रो । सबै दुईखुट्टे हाम्रा शत्रु हुन् । यसो गर्दा चराहरूलाई अप्ठेरो प¥यो । अनि जनावरहरूले भने— पखेटा हस्तक्षेपको संयन्त्र नभएर गतिको संयन्त्र हो, त्यसैले खुट्टै हो ।
जनावरहरूले विद्रोह गर्छन्, विद्रोह सफल पनि हुन्छ । तर के उनीहरूको सपना साकार हुन्छ त ? पुस्तकको केन्द्रबिन्दु यही प्रश्न वरिपरि गुथिएको छ र प्रश्नले सिर्जना गरेको मानव समाजको सबैभन्दा ठूलो अन्तर्विरोधलाई पुस्तकले व्यङ्ग्यात्मक तरीकाले प्रस्तुत गर्छ ।
जर्ज अरवेलले प्रस्तुत चारखुट्टे क्रान्तिमा होमिने धेरै जनावर कार्यकर्ता थिए । तीमध्ये सबैभन्दा मिहिनेती कार्यकर्ता एउटा घोडा थियो— बक्सर । घामपानी नभनी सबै जनावरको हितको लागि निरन्तर सङ्घर्ष गर्ने ऊ एउटा असल कार्यकर्ता हो । काम गर्न नसक्ने भएपछि एकदिन ऊ लड्छ । ऊ सोच्छ, अब म नेताहरूले वाचा गरेझ्ैं रिटायर भएर हरियो मैदानमा बाँकी जिन्दगी आरामसाथ बिताउँछु । नभन्दै एउटा गजबको गाडी बक्सरलाई लिन आउँछ । तर पछि जनावरले थाहा पाउँछन्, बक्सरलाई त नेपोलियनले छाला व्यापारीलाई पो बेचेका रहेछन् ।
कथा नेपाली समाजको सन्दर्भसँग निकै मिल्दोजुल्दो छ । हाम्रो देशमा पनि नेताहरूले कर्मठ कार्यकर्तालाई सजिलै धोका दिएका छन्, एनिमल फार्मका आन्दोलनकारी जनावर जस्तै । खोलो त¥यो लौरो बिस्र्यो भन्ने नेपाली उखान जस्तै, कर्मठ कार्यकर्ता सबै कुरा बिर्सन्छन् ।
नेपालको सन्दर्भमा पुस्तकमा विवेचना भएको अर्को उपयोगी पाटो सामन्तवाद वा पूँजीवाद र साम्यवादबीचको भिन्नता हो । पूँजीवादमा मालिकद्वारा मजदूर काम गर्दा धेरै पेलिन्छन् । साम्यवादमा मजदूर उत्तिकै पेलिन्छन्, तर स्वेच्छाले । पूँजीवादमा गलत आइडियोलोजीका कारण जनावर दिग्भ्रमित हुन्छन्, साम्यवादमा सुन्दर सपनाका कारण । आखिरमा जनावरहरूले त्यो स्वेच्छा पनि भ्रम रहेछ भन्ने थाहा पाउँछन् । उनीहरूलाई तिनका नेता नेपोलियनले जुन सपना देखाएको थियो, त्यो त सपना मात्र रहेछ ।
सामान्यतया के भनिन्छ भने पूँजीवादमा शोषण हुन्छ साम्यवादमा त्याग, पूँजीवादमा श्रमले पूँजी सिर्जना गर्छ, साम्यवादमा शक्ति । एनिमल फार्म पढेपछि दुवैमा कुनै तात्विक भिन्नता नरहेको थाहा हुन्छ । नेपालका ज्ञाता धेरैतिर पूँजीवादका मालिक र साम्यवादका महान् नेतामा कुनै फरक देखिंदैन । इमानदार कार्यकर्ता र मजदूर एनिमल फार्मका जनावर जस्ता हुन्छन् जसको श्रम अर्काको फाइदाको लागि मात्र प्रयोग हुन्छ, केही फाइदा पाउँदैनन् ।
नेपालको राजनीतिक इतिहास पनि त्यस्तै एउटा सङ्घर्षको इतिहास हो, यो सङ्घर्षले अन्ततोगत्वा राजतन्त्र फालियो सामन्तवादको द्योतक संस्था अन्त्य भयो । तर के राजतन्त्रलाई अस्वीकार गर्दैमा नेपालमा सामन्तवादको अन्त्य भएको मान्न सकिन्छ त ?
हाम्रा नेताहरू राजतन्त्रलाई फालेकै भरमा ठूलो डिङ हाँक्छन्, तर उनीहरू आफूलाई राजाझ्ैं ठान्दछन् आफैं सामन्तवादी चरित्र देखाउन थालेका छन् । एनिमल फार्मको चारखुट्टे नेपोलियन दुईखुट्टे बन्न खोज्छ । नेपोलियन नेता भएपछि आफूलाई अरूभन्दा विशिष्ट बनाउँछ र पछाडिको दुई खुट्टामा मात्र उभिन्छ । सामन्तवाद भनेको सामाजिक संरचनाको एउटा विशिष्ट स्वरूप हो जहाँ हरेक नागरिकलाई राज्यले समान रूपमा व्यवहार गर्दैन । राजा फाल्दैमा सामन्तवाद हट्दैन, किनभने सामन्तवाद भनेको समुद्रमा तैरिरहेको बरफ (आइसबर्ग) हो जसको नौ भागको आठ भाग जल सतहमुनि लुकिरहेको हुन्छ । मुलुकमा राजालाई त फालियो तर समाजको सतहमुनि लुकेर रहेको सामन्तवादको अन्त्य भएको छैन ।
नेपालमा झ्ुक्याउने र सपना मात्रै देखाउनेको कमी छैन । पात्रहरू पुस्तकका गाताहरूभित्र होइन वास्तविक जीवनमा सजीव छन् । एनिमल फार्मका बक्सरहरूको सट्टा अब नेपाली नामधारीहरू छन् । चारखुट्टेको घरजमले अङ््ग्रेजी पुस्तक एनिमल फार्मलाई नेपाली पाठकको पहुँचमा ल्याएको छ– हामीलाई पूँजीवादी र साम्यवादी सपना बाँडिने क्रममा समाजमा देखिंदै गरेका प्रवृत्तिलाई विन्यास गर्न प्रेरित गर्दै ।
No comments:
Post a Comment