Thursday, December 20, 2018

२०७५ पुस अङ्क, सामाजिक–प्राविधिक सञ्जाल : अनभिज्ञताको निरन्तरता, समीक्षक: प्रविन जोशी

सामाजिक–प्राविधिक सञ्जाल : अनभिज्ञताको निरन्तरता  


प्रविण जोशी


पुस्तक: साइबर युचरः कल्चरल एण्ड पोलिटिक्स अन द इन्फोरमेशन सुपरहाइवे
सम्पादक: जियाउद्दीन सर्दार र जेरोम राभेट्स
प्रकाशक : प्लुटो प्रेस, १९९६                                        पृष्ठ: १६१+  


कम्प्युटरमा आधारित इन्टरनेट प्रणाली, वल्र्डवाइड वेब ९धधध० र केही वर्षयता भएको सामाजिक सञ्जालको व्यापकता वर्तमान मानव जीवनको वास्तविकता बनेको छ । ह्वाट्सएप, ट्वीटर, फेसबुक, युट्युव, इन्स्टाग्राम– यसरी प्रयोग हुने केही प्रमुख विधि हुन् । यी माध्यमहरू सूचना आदानप्रदान, शिक्षा, स्वास्थ्य र व्यापार क्षेत्रको हिस्सा बनेका छन् । विश्वका हरेक भागका घटना निमेषभरमै प्रेषित हुन्छन्, हामीकहाँ आइपुगिहाल्छन् । एकै समयमा ५० करोडभन्दा बढीले प्रयोग गर्ने यो माध्यमले मानवजातिको सबैभन्दा ठूलो जमात अथवा समूह सिर्जना गरेको छ । कम्प्युटर र स्मार्ट फोनमा आधारित यी प्रविधिले हाम्रो जीवनपद्धतिमा अकल्पनीय परिवर्तन गरेको छ ।

तर परिवर्तनसँगै हामीले नसोचेका चुनौती पनि अगाडि आएका छन् । सामाजिक सञ्जालका कारण सिर्जित यस्ता अनपेक्षित प्रभावका बारे पुस्तक, लेख र विवेचनाहरू प्रकाशित भई पनि रहेका छन् । त्यस्ता अनपेक्षित प्रभावलाई संस्कृति, मानव विज्ञान र सञ्चारमाध्यम अध्ययनको दृष्टिकोणबाट १९९६ मै प्लुटो पे्रसले प्रकाशन गरेको साइबर फ्युचर ः कल्चर एन्ड पोलिटिक्स अन द इन्फरमेसन सुपरहाइवे नामक पुस्तकले सम्भवतः पहिलो पटक विवेचना गरेको थियो । जियाउद्दीन सर्दार र जेरोम राभेट्सद्वारा सम्पादित यो पुस्तकमा जियाउद्दीन सर्दार, जेरोम राभेट्स, जर्ज स्पेन्सर, भिभियन सोप्चाक, निगेल क्लर्क, आर्तुरो इस्कोबार र जे किन्नी जस्ता विश्लेषकका निबन्ध समेटिएका छन् ।

घट्दो सामुदायिक आदानप्रदान
उक्त पुस्तकमा सङ्ग्रहित निबन्धहरूको एउटा निचोड छ, ‘इन्टरनेट प्रविधिमा आधारित सूचना आदानप्रदान गर्ने व्यवस्थाले हामीलाई एकलकाँटे बनाउँदैछ । हामी आमनेसामने बसेर कुराकानी गर्ने तौरतरिकाबाट टाढा पुग्दैछौं । नयाँ प्रविधिको फाइदा लिन तल्लीन हामीहरू यो प्रविधिले शक्ति सन्तुलन एवं गलत सूचना प्रवाहमा कस्तो असर पार्ला, तिनलाई कसरी कम गर्ने होला भन्ने जस्ता विषयबारे विवेचना गर्न आवश्यक ठानिरहेका छैनौं ।’

सो पुस्तकले त्यतिबेला उठाएका प्रसङ्गहरू हिजोआज त छर्लङ्गै वास्तविकता बनिसकेका छन् । सामाजिक सञ्जालमा आउने हल्लालाई सत्य मान्ने क्रम बढेको बढ्यै छ । त्यस्ता हल्लाले सामाजिक व्यवस्थालाई प्रशस्त प्रभाव पनि पारिरहेको छ । सन् २०१८ मा भारतको एउटा गाउँमा घटना घट्यो । ‘ह्वाट्सएप’ मा केटाकेटी अपहरण भयो भन्ने सूचना सम्प्रेषित भयो । त्यो खबर पाउनेहरूको ध्यान गलत या झ्ूटो सूचना सम्पे्रषण भएको हुनसक्छ भन्नेतिर जाँदै गएन, त्यसैले त्यसबारे बुझ्बुझरथ आवश्यक ठानिएन । गाउँका सबैले मिलेर एउटा आरोपितलाई कुटीकुटी मारे । बीबीसी ले समाचार बनायो, “ह्वाट्सएप ले एउटा भारतीय गाउँलाई हिंस्रक भीड बनाउन सहयोग ग¥यो ।” ह्वाट्सएप मा एक–दुई जनाले शुरू गरेको हल्लामा विश्वास गर्नाले त्यस गाउँका बहुसंख्यक बासिन्दा हत्यारा बन्न पुगे । कागले कान लग्यो भन्दैमा कागको पछि दौड्ने प्रवृत्ति दोहोरियो । कसैले आफ्नो कान छाम्ने प्रयास गरेनन् ।

इन्टरनेट प्रविधि दुई धारवाला तरबार बनेको एउटा दृष्टान्त थियो, त्यो घटना । हिजोआज गुगल ज्ञानको स्रोत बनेको छ, अनि ट्वीटर र फेसबुक धारणा बनाउने माध्यम बनेका छन् । यी माध्यममा खबर, धारणा र समालोचना उपलब्ध हुन्छन् । एक हिसाबले सजिलो भएको छ हामी सबैलाई, तर अर्को पक्ष पनि छ । गुगल को खोज–तलास गर्ने प्रचलित विधि पेज¥याङ्क को उदाहरण लिऊँ । आम जनताले खोज्ने खास सूचना उपलब्ध गराउन चुनिएका विशेषज्ञहरू पेज¥याङ्क प्रयोग गर्छन् । सबैको पेज¥याङ्क चलाउने सीप हँुदैन । सीप भएकालाई पेज¥याङ्क ले आफ्नो सीप झ्न् बढाउने मौका प्रदान गर्छ । यस्तो परिपाटीले के गर्छ त ? त्यस्तो समाजको निर्माणलाई प्रोत्साहन गर्र्छ, जहाँ गिने–चुनेका विशेषज्ञहरू अगाडि वा नेतृत्वमा हुन्छन्, बाँकी धेरैको आवाज दबेको दबेकै हुन्छ । साइवर फ्युचर का निबन्धकारहरूले साढे दुई दशकअघि नै अनुमान गरेका थिए– कर्पोरेसनहरू झ्न् शक्तिशाली हुनेछन्, समाजको शक्ति–सन्तुलन विचलित हुनेछ ।

साइबर फ्युचर का निबन्धमा व्यक्त ‘विचार साँघुरिने’ तर्क प्रचलित फेसबुक को प्रयोगमा प्रत्यक्ष देखिन थालेको छ । प्रयोग समय बढ्दै जाँदा फेसबुक का प्रयोगकर्ताका सामु खास व्यक्तिहरूले प्रेषित गरेका सामग्री मात्रै आउन थाल्छन्, अरू खाले सूचना आउने गर्दैनन् । परिणामतः के पढ्ने, कसको कुरा मान्ने, कस्तो शिक्षा लिने भन्ने जस्ता विषयमा हामी खासखास विचार मात्रै सुनिरहेका हुन्छौं । किनभने हाम्रो पेजमा हामीले सुन्न चाहेका सामग्री र दृष्टिकोणहरू मात्रै आइपुग्छन् । अन्य दृष्टिकोण अथवा विपरीत विचार सुन्ने बानी मर्दै जान्छ । फलतः हाम्रो दृष्टिकोण नजानिंदो हिसाबले साँघुरिन थाल्छ ।

एक–दुई जनाले निरन्तर आफ्नो धारणा सम्प्रेषण गर्न थालेपछि तिनको आवाज झ्न् झ्न् ठूलो बन्न पुग्छ । अन्ततः हो–हल्ला गर्ने सानो समूहले सम्प्रेषण गरेको सूचना नै सत्य सरह बन्न पुग्छ । त्यसको परिणामस्वरुप, समाजमा विषम विचारको वर्चस्व बढ्न जान्छ, मध्यम मार्ग पछाडि पर्छ । एकथरी विश्लेषक त कतिसम्म भन्न थालेका छन् भने– ‘सामाजिक सञ्जालको बढ्दो प्रयोग उदारवादी प्रजातान्त्रिक व्यवस्था धरासायी हुने कारण बन्न सक्छ ।’

सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा क्याम्ब्रिज एनालिटीका भन्ने तथ्याङ्क विश्लेषण गर्ने कम्पनीले फेसबुक का करोडौं प्रयोगकर्ताको व्यवहार अध्ययन गरेर खास सूचना सम्प्रेषण गरेको आरोप भोग्यो, त्यो कम्पनी बन्द नै भयो, जाँच–पड्ताल चल्दैछ । विगत २५ वर्षयता प्रचलित भूमण्डलीकरणको यात्राले अमेरिकालगायत पश्चिमी मुलुकहरूमा बहुसंख्यकको हित गरेको छैन भन्ने दृष्टिकोण घनीभूत हुँदै गएको छ र सामाजिक सञ्जाल यस्तो दृष्टिकोण अगाडि लाने एउटा माध्यम बनेको छ । नेपालमा सामाजिक सञ्जालले विषम धारणा प्रेषित गर्न थालेको छ÷छैन भन्ने भरपर्दो अध्ययन र विश्लेषण हुनै बाँकी छ । तर यस्ता माध्यम प्रयोग गरी अर्कालाई गाली गर्ने, हुर्मत लिने घटनाहरू भने प्रत्यक्ष अनुभव हुने गरी नै बढिरहेका छन् ।

नियन्त्रणको दृष्टान्त
इन्टरनेटमा आधारित सामग्रीले मान्छेको सोच्ने तरिकालाई नियन्त्रण पनि गर्न सक्छ भनेर जर्ज स्पेन्सरले २२–२३ वर्षअघि नै पुस्तकमा तर्क प्रस्तुत गरेका थिए । हालसालै इन्टरनेटमा उपलब्ध ब्लु ह्वेल नामक खेलमा सहभागीलाई आत्महत्या गरेर खेल जित्न आह्वान गरिएको छ । खेलका कारण झ्ण्डै १०० जना युवाहरूले आत्महत्या गरेको अनुमान गरिएको छ । प्रत्यक्ष सबुत नभेटिए पनि आत्महत्याको त्यो सिलसिलालाई खेलको प्रभाव मानिएको छ । इन्टरनेट प्रविधिले ल्याएको अनपेक्षित प्रभावको एउटा भयावह उदाहरण हो यो ।

काम गर्ने मेशिन (रोबोट) र आर्टिफिसियल इन्टेलिजेन्स को बढ्दो भूमिका आजको मानव समाजका निम्ति अर्को चुनौती हो । निश्चय पनि यी दुवै प्रविधि ठूला परिवर्तनका संवाहक हुन्, जसले हाम्रो दैनन्दिनीमा प्रभाव पर्न पनि थालिसकेका छन् । ‘इन्टेलिजेन्ट’ मेशिनले कार्यगत दक्षता बढाएको छ तर त्यसले हजारौंको रोजगारी पनि खोसिसकेको छ । विश्वका अगुवाहरू तर्क गर्न थालेका छन्— ‘खास सीप नचाहिने’ र ‘कमसल सीप भएका’ ले गर्ने काम सबै मेशिनले गर्नेछन् । अब त्यस्ता रोजगारी प्राकृतिक श्रमिकलाई उपलब्ध हुने छैनन् ।’ प्रश्न हो, सीप नभएकाहरूको जीविका कसरी चल्छ त ?

आर्टिफिसियल इन्टेलिजेन्स ले सजिलो पार्ने क्षेत्र संश्लेषणको हो । त्यसले सार्वजनिक रूपमा उपलब्ध सामग्रीलाई  संश्लेषण गरेर खास धारणा तयार गर्न मद्दत गर्न सक्छ । अर्को प्रभाव पार्ने क्षेत्र शिक्षा हो । आर्टिफिसियल इन्टेलिजेन्स को प्रयोगसहित मोड्युलहरू शिक्षा प्रदान गर्ने माध्यम बनेका छन् । केही हदमा उपयोगी भए पनि यस्तो बाटो समग्र मानव विकासका लागि भने उपयोगी छैन । मोड्युलले परिकल्पना, विश्लेषण, खोज–तलास र अध्ययनद्वारा ज्ञान आर्जन गर्ने बाटोलाई विस्थापित गर्दैछ । ज्ञानको वृद्धि भ¥याङ चढ्ने सरह हुन्छ, तहमा तह थपिएर ज्ञान संश्लेषित हुन्छ । तर यो पद्धतिको प्रयोग कम भएपछि मोड्युलद्वारा प्रेषित एकखाले विचार ठीक हो भन्ने परिपाटी स्थापित हुनेछ ।

सीमित व्यक्तिहरूको कुरा सम्प्रेषित हुने र सुनिने क्रम हाम्रो नियति सरह बनेमा हामी झ्न् एकअर्काबाट एक्लो बन्ने बाटोमा लाग्नेछौं । २०–२२ वर्षअघि प्रकाशित ती निबन्धहरूमा लेखकहरूको तर्क थियो, साइबर प्रविधिले मानव समाजलाई विभिन्न खाले प्रभाव पार्दैछ जसबारे हामी अनभिज्ञ छौं, सो अनभिज्ञता हटाउनु तत्कालको आवश्यकता हो । तर सामाजिक सञ्जाललगायत आर्टिफिसियल इन्टेलिजेन्स को व्यापकता बढिसकेको आजको अवस्थामा पनि हामी अनभिज्ञ नै छौं, त्यसले कुन–कुन क्षेत्रलाई कसरी असर पर्ला भन्ने परिदृश्य कल्पना गर्न थालेकै छैनौं । प्रभाव आकलन गर्नु र नकारात्मक प्रभावबाट बच्ने उपायहरू पत्ता लगाई नियमनको व्यवस्था गर्नु— राज्य, सरकार, नागरिक अगुवा र विश्लेषकहरूको दायित्व हो ।


प्रवीण जोशी कम्प्युटरमा आधारित सूचना प्रणालीमा विशेष दखल राख्छन् । 


२०७५ पुस अङ्क, उद्यमी बन्ने सोच्दै हुनुहुन्छ भने..., समीक्षक: अनुराग पोख्रेल

उद्यमी बन्ने सोच्दै हुनुहुन्छ भने...


अनुराग पोखरेल


पुस्तक : जीरो टु वन: नोटस अन स्टार्टअप्स अर हाउ टु विल्ड द फ्युचर
लेखक : पिटर थेल र ब्लेक मास्टर्स
प्रकाशक: क्राउन बिजनेस, २०१४                 पृष्ठ: १९५+        मूल्य: रु. १५०० (मोटो गाता)


जीरो टु वन ः नोटस अन स्टार्टअप्स अर हाउ टु विल्ड द फ्युचर पुस्तक पिटर थेल र ब्लेक मास्टर्सको संयुक्त प्रस्तुति हो । पिटर थेल अमेरिकी उद्यमी, लगानीकर्ता र चिर–परिचित लेखक हुन् । थेल प्यालेनटिर टेक्नोलोजी र फाउण्डर्स फण्डका सह–संस्थापक मात्रै होइन, फेसबुक र स्पेसएक्स जस्ता अमेरिकाका अग्रणी कम्पनीका लगानीकर्ता पनि हुन् । पेपाल नामक कम्पनीका सह–संस्थापक थेल केही समय त्यस कम्पनीका मुख्य कार्यकारी अधिकृत पनि थिए । थेल र उनका सहकर्मीहरूलाई ‘पेपाल माफिया’ भनेर व्यङ्ग्य पनि गरिन्छ । यसले उनीहरूको उच्च सफलतालाई इङ्गित गर्छ । सन् १९९९ मा स्थापना भएको पेपाल लाई उनीहरूले सन् २००२ मा १.५ अर्ब अमेरिकी डलरमा इवेलाई बेचेका थिए ।

स्ट्यानफोर्ड विश्वविद्यालयमा पढाउँदा थेलले आफ्ना विद्यार्थी ब्लेक मास्टर्सको सहयोगमा शून्यदेखि एकसम्म नामक दस्तावेज संयोजन गरे । पछि वितरण गरिएको त्यही दस्तावेज ‘भाइरल’ बन्न पुग्यो । उक्त दस्तावेजको आकर्षण र सम्भावना बुझ्ेपछि थेलले ती विद्यार्थीसँगकै सहकार्यमा त्यसलाई पुस्तकको रूप दिए । थेल भन्छन्, “पुस्तक सफलताको सूत्र होइन, त्यो व्यावसायिक यात्रामा आफूले सिकेका पाठ, अनुभव र आविष्कारका लागि सुझवको सङ्ग्रह चाहिं हो ।”

लेखक प्रारम्भिक व्यवसायीहरूलाई एकदेखि एनतिरको (वन टु एन) पाइला नलिएर शून्यदेखि एक (जीरो टु वन) को बाटोमा लाग्ने सल्लाह दिन्छन् । उनी भन्छन्, “एकदेखि एन भन्नुको अर्थ सम्पन्न भइसकेको कामको नक्कल गर्नु हो । शून्यदेखि एक भनेको आफैं अद्वितीय काम गर्नु हो ।” लेखकको सन्देश बुझन निम्न उदाहरण उपयोगी छः परम्परागत कम्प्युटरमा प्रयोग गरिएका भ्याकुम ट्युबहरूको क्षमता मात्र वृद्धि गर्ने बाटो लिइएको भए आजसम्म पनि हामीसँग ब्यागमा अटाउने कम्प्युटर हुने थिएन । असंख्य गणनायुक्त प्रविधिलाई एउटै तर सानो ठाउँमा अटाउने पोर्टेबल कम्प्युटरको विकास आज एउटा धन्य उपलब्धि भएको छ ।

२०औं शताब्दीको आरम्भमा मोटर–गाडी उद्योगको विकासले वन टु एन बुझाउँछ भने गुड्नेबाट उड्ने पद्धतिले जीरो टु वन बुझउँछ । थेल भन्छन्, “शून्यदेखि एक, प्रविधि हो भने एकदेखि एन बृहत् प्रारूप । ढुङ्गे युगबाट आगो, कृषि, पाङ्ग्रादेखि सेमिकन्डक्टर र इन्टरनेट मानव जातिले विकास गरेका प्रविधि हुन् ।” बृृहत् प्रारूपको उनको तर्क बलियो देखिन्छ । तीव्र गतिमा शहरीकरण बढ्दै गरेका भारत जस्ता मुलुकले अमेरिकाले लिएको बाटो अपनाइरहेका छन् । विगत पाँच दशकदेखि चीनले अपनाइरहेको बाटो पनि यही नै हो । तर ठूलो मात्रामा आविष्कार नगरी कसैको पनि ‘अमेरिका’ हुने बाटो दिगो रहन सक्दैन । विकासका नाममा गरिने कतिपय मानवीय क्रियाकलापहरू वातावरणका लागि विध्वंसकारी हुन सक्छन् । तत्कालीन कालखण्डमा त्यो मोडल अमेरिकाका लागि त्यतिबेला उपयोगी हुन पुगेको भए पनि हाल आएर त्यही मोडल अरूहरूले पनि नक्कल गर्नु उचित हुँदैन, बरु प्रत्युत्पादक हुन्छ । यसै पनि खनिज तेलमा आधारित अमेरिकी मोडलले अनपेक्षित असरको रूपमा विश्वलाई जलवायु परिवर्तन दिएको छ । अनियन्त्रित जलवायु परिवर्तनले विनाशकारी प्रभाव ल्याउन सक्छ ।

एकाधिकारलाई लेखक थेल व्यवसायमा द्रुत वृद्धि गर्ने सफल सूत्र मान्छन् । उनको भनाइ माफिया र सरकारको छत्रछायामा भएकाहरूले राख्ने एकाधिकार होइन बरू विशिष्ट उत्पादन गर्ने त्यस्तो क्षमता हो जसको छेउछाउमा अन्य विकल्प आउनै सक्दैनन् । एकाधिकारको एउटा उदाहरण हो गुगल । गुगलले विकास गरेको अल्गोरिदम, गति र क्षमतालाई अरू कुनै यन्त्र वा कम्पनीले उछिन्न सकेका छैनन् । थेल भन्छन्, “प्रतिस्पर्धा एकाधिकारको विपरीत हो, जसले उपलब्धि कम गर्छ । प्रतिस्पर्धाले प्रवर्तकलाई बजार नाफाको सानो भाग मात्र दिन्छ, प्रतिस्पर्धीहरू असफल हुने त्रास रहिरहन्छ ।” लेखक भन्छन्— सफल कम्पनीहरू फरक–फरक हुन्छन् तर असफल कम्पनी एकै किसिमका । प्रतिस्पर्धा गर्न नसक्दा ती असफल हुन्छन् । प्रतिस्पर्धा मात्र एउटा बाटो हो भन्ने हामी सोच्छौं । स्कूलका प्रारम्भिक दिनदेखि नै हामीलाई व्यक्तिको जे जस्तो विशिष्ट क्षमता भए पनि उनीहरूले एकै प्रकारको प्रतिस्पर्धामा सहभागी हुनुपर्छ र राम्रो ग्रेड हासिल गर्नुपर्छ भन्ने सिकाइन्छ । तर फेसबुक, अमेजन र एप्पल जस्ता प्रविधिमा आधारित कम्पनीको उदाहरण दिंदै यो पुस्तकले चाहिं प्रतिस्पर्धाबाट कसरी बच्ने र एकाधिकारको चरित्रलाई कसरी चरितार्थ गर्ने भन्ने सल्लाह दिएको छ ।

उद्यमीहरूले यो पुस्तकबाट के सिक्न सक्छन् त ? शून्यदेखि एक र एकाधिकारी विचारको घेरामा रहेर लेखकले पाठकलाई व्यवसायका गतिशीलताका बारे बताएका छन् । उनी भन्छन् प्रारम्भिक आधारलाई बलियो बनाउनु, सही सहकर्मी चयन गर्नु, लामो अवधिको लागि योजना बनाउनु महत्वपूर्ण विषय हुन् । लेखक थेलको निचोड छ— हरेक उद्यमीले सात वटा प्रश्नको उत्तर दिन सक्नुपर्छ । ती प्रश्न निम्न विषयहरूसित सम्बन्धित छन्ः इन्जिनियरिङ (वृद्धिको सुधारभन्दा प्रविधिको सुधार), समय (व्यवसाय प्रारम्भ गर्ने सही समयको चयन), प्राधिकार (ठूलो शेयरमा सानो बजार), मानवीय स्रोत (सही सहकर्मी वा समूहको चयन), वितरण (उत्पादन मात्र होइन, सही वितरण), दिगोपन (बजारको समय अवधि १० देखि २० वर्षको चयन) र गोप्यता (अरूले नदेखेका अवसर) । उल्लिखित एक वा बढी प्रश्नको उत्तर दिन सकिएन भने उद्यम सफल हुने छैन । यस्ता प्रश्न दृष्टिगोचर गर्न नसक्दा स्वच्छ प्रविधि प्रवद्र्धन गर्ने कैयौं कम्पनी असफल भए जबकि ‘टेस्ला’ नाम गरेको कम्पनी अपवाद बन्न सफल भयो ।

उद्यमीहरू मात्रै होइन यो पुस्तक शिक्षकहरूलाई पनि उपयोगी छ । प्राज्ञिक क्षमता आवश्यक आधार हो तर विद्यार्थीलाई आफ्नो दक्षता कसरी व्यवहारमा उतार्ने भन्ने तरिका सिकाउनु जरूरी हुन्छ । लेखक थेल सुुझाव दिन्छन् सबैभन्दा महत्वपूर्ण विषय हो— विद्यार्थीलाई आफ्नो लागि आफैं सोच्न प्रोत्साहन गर्नु ।

सानो तर पढ्न चाखलाग्दो यो पुस्तकमा राम्रा उदाहरण पनि थुप्रै छन्, तर उनका सबै धारणा मान्नु जरुरी छैन । उनका केही भनाइ विवादास्पद र अमान्य पनि छन् । बढ्दो आर्थिक असमानता, वातावरण प्रदूषण, बढ्दो राजनीतिक र सामाजिक धु्रवीकरण जस्ता विषयहरू वर्तमान विश्वका वास्तविकता हुन् । यी वास्तविकता भीमकाय कर्पोरेसनका देन पनि हुन् । तर यस्ता विषय उद्यमी थेलका परिदृश्यमा परेका छैनन्, हुने कुरो पनि भएन ।

पोखरेल इलेक्ट्रिकल इन्जिनियरिङका स्नातक हुन् ।

२०७५ पुस अङ्क, पुँजीवादका सेनामेना, समीक्षक: अजय दीक्षित

पुँजीवादका सेनामेना 

अजय दीक्षित


 पुस्तक: द बिलिनियर्स राज: ए जर्नी थ्रु इन्डियाज न्यू गिल्डेड एज
लेखकः जेम्स क्य्राबट्री                                       प्रकाशकः वनवल्र्ड, २०१८                                   
पेजः ३८४+                 आइएसबीएनः  ७८१७८६०७३८०८                          मूल्य : पाउण्ड १८.९९



सन् १७७० तिर पहिलो औद्योगिक क्रान्ति शुरू भएपछि कोइला र त्यसको झन्डै १०० वर्षपछि दोस्रो औद्योगिक क्रान्तिताका खनिज तेलको दोहनमा आधारित विश्व अर्थव्यवस्था घनीभूत हुन थाल्यो । सन् १८६५ मा संयुक्त राज्य अमेरिकामा गृहयुद्ध समाप्त भएपश्चात् सन् १९०० सम्म त्यस मुलुकमा औद्योगिक विकास भयो । अमेरिका औद्योगिक मुलुक बन्यो, धनी बन्यो । थुप्रै नवधनाढ्यहरू पनि देखा परे जसले अकल्पनीय भ्रष्टाचार गरे । लेखक मार्क ट्वेनले त्यस कालखण्डलाई गिल्डेड एज को संज्ञा दिएका थिए, बाहिर चम्किलो भित्र खोक्रो युग ।

सन् १९०० पछि अमेरिकामा सुधारको सिलसिला शुरू भयो, जसलाई प्रगतिशील युग भनिन्छ । सन् १९०१ मा राष्ट्रपति थियोडोर रुजवेल्टको कार्यकाल सँगै सुधारको क्रम अघि बढ्यो । यसै कालखण्डको सन् १९१४ देखि १९१८ सम्म पहिलो विश्वयुद्ध भयो । सुधारको उक्त सिलसिला सन् १९३९ तिर पूर्ण भएको मानिन्छ । सन् १९३९ देखि १९४५ सम्म दोस्रो विश्वयुद्ध भयो ।

जेम्स क्य्राबट्रीद्वारा लिखित द बिलिनियर्स राजः ए जर्नी थ्रु इन्डियाज न्यू गिल्डेड एज— सन् १९९१ पछि भारतमा चल्दै गरेको पूँँजीवादी यात्राको विवरण हो । पुस्तकले भारतको यस कालखण्डलाई नयाँ गिल्डेड एज को संज्ञा दिएको छ । नयाँ गिल्डेड एज वाक्यांशको प्रयोग पहिलोपल्ट जयन्त सिन्हा र प्राज्ञ आशुतोष भास्र्नीले गरेका हुन् । जयन्त सिन्हा प्रधानमन्त्री मोदीको मन्त्रिमण्डलमा हिजोआज नागरिक उड्डयन राज्यमन्त्रीको पदमा छन् । क्य्राबट्री भन्छन्, “सन् १९४७ मा स्वतन्त्र हुँदाताका भारत विश्व अर्थव्यवस्थासित धेरै नै गाँसिएको मुलुक थियो ।” तर त्यसपछि बिस्तारै भारतको अर्थव्यवस्था राज्य निर्देशित बन्न पुग्यो र विश्व आर्थिक व्यवस्थासित सम्बन्ध कमजोर बन्यो । क्य्राबट्री अगाडि भन्छन्, “राज्य निर्देशित त्यो व्यवस्थामा न त भारतको आर्थिक समृद्धि हुन सक्यो न त त्यहाँको गरीबी नै घट्यो । तर त्यसै कालखण्डमा जापान, दक्षिण कोरिया र पछिल्लो दशकमा चीनले गरीबी घटाए, समृद्ध बने ।”

आर्थिक उदारीकरण र क्रोनी पूँजीवाद
सन् १९९१ मा शुरू भएको आर्थिक उदारीकरणपछि भारत विश्व अर्थप्रणालीसँग फेरि जोडिन थाल्यो । आर्थिक वृद्धिदर माथि पुग्यो । यस अवधिमा भारतले विकासमा निकै सफलता हासिल गरेको छ । क्य्राबट्री भन्छन्, “तर भारतमा क्रोनी क्यापिटालिज्म, धनाढ्यहरूले राजनीतिक पङ्तिसित सम्बन्ध बढाएर फाइदा लिने परिपाटी हाबी भयो, ठूला भ्रष्टाचार भए ।” सन् २०१८ मा हार्पर कोेलिनद्वारा प्रकाशित ३०६ पेजको यो पुस्तकले भारतमा क्रोनी क्यापिटलिज्मले कसरी प्रश्रय पाएको छ भन्ने विवरण प्रस्तुत गरेको छ । अमेरिकी गिल्डेड कालखण्डमा जस्तै भारतमा पनि सुपर धनाढ्यहरू देखा परेका छन् । त्यहाँ बिलिनियर्स अर्थात् अर्बपतिहरूको बोलवाला बढेको छ । सन् १९९१ अगाडि लाइसेन्स राज भनेर चिन्ने भारतको पछिल्लो अवस्थालाई क्य्राबट्रीले बिलिनियर्स राज भनेका छन् ।

अमेरिकाको गिल्डेड कालखण्डका पात्रजस्तै भारतका धनाढ्यले कसरी राजनीतिसितको सम्बन्ध प्रयोग गरी झ्न् धनी भए भन्ने विवरण पुस्तकमा पाइन्छ । पुस्तकमा हामीले दिनहुँ सुन्ने, टेलिभिजनमा हेर्ने र पढ्ने गरेका थुप्रै पात्रहरू यसमा समेटिएका छन् । लेखक पात्रहरूको प्रगति विवरण मात्र दिन्छन्, तिनले ठीक–बेठीक; गरे–गरेनन् भन्नेबारे आफ्नो भनाइ प्रस्तुत गर्दैनन् । क्य्राबट्रीका अनुसार भारतको यो परिवर्तित वास्तविकता सन् १९५० देखि १९९० सम्मको कालखण्ड भन्दा निकै फरक छ । त्यहाँ गान्धी र नेहरू कालखण्डका नेतृत्वले भिन्नै मान्यता बोकेका थिए ।

संस्थागत क्षमता
अमेरिकी गिल्डेड कालखण्डको सन्दर्भ उल्लेख गर्दै, क्य्राबट्री लेख्छन्— त्यो विचलित व्यवस्थाबाट त्राण पाउन अमेरिकीहरूले वस्तुपरक र सामथ्र्यमा आधारित प्रशासनिक व्यवस्था स्थापित गरे, सार्वजनिक सेवाको स्तरमा व्यापक सुधार गरियो । उचित सार्वजनिक नीति बनाइए, लागू गरिए र परिमार्जन पनि । राज्यको क्षमता अभिवृद्धि गरियो । स्यामुयल हन्टिङ्टनको सन् १९६० को लेख उद्धृत गर्दै क्य्राबट्री लेख्छन्, “राज्यको क्षमता अभिवृद्धि भएन भने छिटो आर्थिक वृद्धिले समाजलाई चकनाचूर पार्छ, सामाजिक भिन्नता बढ्छ, उथलपुथल हुन्छन् । तसर्थ राज्यको संस्थागत क्षमता विकास गर्नुको विकल्प छैन ।” संयुक्त राज्य अमेरिका त्यो बाटोमा लाग्यो पनि । यद्यपि हिजोआज त्यहाँ नयाँ राजनीतिक चुनौती देखिएका छन् । पुस्तकमा क्य्राबट्री भन्छन्, “संयुक्त राज्य अमेरिकामा जस्तै भारतमा पनि नयाँ गिल्डेड एज लाई सुधार गर्नु जरूरी छ ।”

हाम्रा आफ्नै खाले चुनौतीहरू भए पनि पुस्तक नेपालको हकमा समेत सान्दर्भिक छ । नेपालमा सामन्तवाद सकिएर पूँजीवाद आयो भन्ने गरिन्छ । पूँजीवादका आफ्नै विशेषता हुन्छन्— प्रतिस्पर्धा, उचित नाफा, चुस्त सेवा, करारप्रति प्रतिबद्धता इत्यादि । तर पूँजीवादले आफूसँग नराम्रा सेनामेना पनि लिएर आउँछ, जसलाई नियमन गर्नु, परिधिमा राख्नु आवश्यक हुन्छ । भारतभन्दा निकै सानो आर्थिक आकार भए पनि हाम्रो मुलुकमा मिनी गिल्डेड एज चल्दै गरेको अनुमान अन्यथा हुँदैन । बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका पनि आफ्नै गिल्डेड एज कथाहरू हुनुपर्छ । यस्ता कथा लेखिएका छैनन् । अनुभवले भन्छन्; ती मुलुकलगायत नेपालमा पनि सुधारका यात्रा शुरू हुनुपर्नेछ ।

हामी अमेरिकाको सिको गर्न खोज्छौं । अमेरिकाको विकास जस्तै हाम्रो पनि विकास हुनुपर्छ भन्ने अपेक्षा राख्छौं । हाम्रा नेताहरू अमेरिका घुम्न जान्छन्, त्यताका विद्वत्वर्गलाई भेट्छन्, त्यहाँ निर्माण भएका पूर्वाधारहरू अवलोकन गर्छन्, अनि हामीले पनि त्यस्तै निर्माण गर्नुपर्छ भन्ने पाठ पढाउँछन् । तर त्यस मुलुकको खास कालखण्डमा राजनीति के–कस्तो थियो, ती कसरी सुधारिएका रहेछन् भन्ने बताउन आवश्यक ठान्दैनन् । हामी पनि व्यवस्था परिमार्जन वा सुधार गर्ने बाटोमा लाग्छौं भन्ने सङ्कल्प गर्दैनन् । शायद, त्यसबारे तिनले जानकारी राख्नु आवश्यक ठानेका छैनन् । नेपालमा समृद्धिका लागि परिवर्तन रचनात्मक होस् भन्ने चाहना राख्ने सबैले द बिलिनियर्स राज पढ्नु उपयोगी हुनेछ ।

एशियाली शताब्दीको आवश्यकता
पश्चिमी मुलुक प्रजातान्त्रिक बन्ने क्रममा विकसित बने, चीन भने प्रजातन्त्र विना नै विकासको बाटोमा लाग्यो । यस अर्थमा, क्य्राबट्री भन्छन्, “भारत फरक छ, भारत प्रजातान्त्रिक व्यवस्था स्थापित गर्दै आर्थिक विकासको बाटोमा अघि लागेको मुलुक हो र यो क्रम जारी रहनुपर्ने छ ।” यसै क्रममा भारतको आकांक्षा छ, विश्व नेतृत्व लिने । लेखक क्य्राबट्रीको निक्र्योल छ, “हिजोआज पश्चिमी मुलुकहरूमा प्रजातन्त्रले दबाब भोग्दै गरेको स्थितिमा भारत प्रजातन्त्रको महत्वपूर्ण सुरक्षाकवच हुन सक्छ ।” आउँदो शताब्दीमा एशियाको वर्चस्व हुने भनिन्छ । क्य्राबट्री भन्छन्, “यस शताब्दीको नायक हुने हो भने प्रजातान्त्रिक भारतको नयाँ गिल्डेड एज, आर्थिक असमानता र क्रोनी पूँजीवाद हटाउँदै गतिशील कालखण्ड हुनुपर्नेछ ।” लेखकको निक्र्योल छ, आउँदो एशियाली शताब्दीको दोस्रो कालखण्डमा प्रजातान्त्रिक भारतले विश्वलाई नेतृत्व गर्ने–नगर्ने भन्ने प्रश्न यस्तो रूपान्तरणमा भरपर्छ ।


जलस्रोतविद् दीक्षित सार्वजनिक नीतिबारे पनि अध्ययन  गर्छन् ।