Thursday, December 20, 2018

२०७५ पुस अङ्क, उद्यमी बन्ने सोच्दै हुनुहुन्छ भने..., समीक्षक: अनुराग पोख्रेल

उद्यमी बन्ने सोच्दै हुनुहुन्छ भने...


अनुराग पोखरेल


पुस्तक : जीरो टु वन: नोटस अन स्टार्टअप्स अर हाउ टु विल्ड द फ्युचर
लेखक : पिटर थेल र ब्लेक मास्टर्स
प्रकाशक: क्राउन बिजनेस, २०१४                 पृष्ठ: १९५+        मूल्य: रु. १५०० (मोटो गाता)


जीरो टु वन ः नोटस अन स्टार्टअप्स अर हाउ टु विल्ड द फ्युचर पुस्तक पिटर थेल र ब्लेक मास्टर्सको संयुक्त प्रस्तुति हो । पिटर थेल अमेरिकी उद्यमी, लगानीकर्ता र चिर–परिचित लेखक हुन् । थेल प्यालेनटिर टेक्नोलोजी र फाउण्डर्स फण्डका सह–संस्थापक मात्रै होइन, फेसबुक र स्पेसएक्स जस्ता अमेरिकाका अग्रणी कम्पनीका लगानीकर्ता पनि हुन् । पेपाल नामक कम्पनीका सह–संस्थापक थेल केही समय त्यस कम्पनीका मुख्य कार्यकारी अधिकृत पनि थिए । थेल र उनका सहकर्मीहरूलाई ‘पेपाल माफिया’ भनेर व्यङ्ग्य पनि गरिन्छ । यसले उनीहरूको उच्च सफलतालाई इङ्गित गर्छ । सन् १९९९ मा स्थापना भएको पेपाल लाई उनीहरूले सन् २००२ मा १.५ अर्ब अमेरिकी डलरमा इवेलाई बेचेका थिए ।

स्ट्यानफोर्ड विश्वविद्यालयमा पढाउँदा थेलले आफ्ना विद्यार्थी ब्लेक मास्टर्सको सहयोगमा शून्यदेखि एकसम्म नामक दस्तावेज संयोजन गरे । पछि वितरण गरिएको त्यही दस्तावेज ‘भाइरल’ बन्न पुग्यो । उक्त दस्तावेजको आकर्षण र सम्भावना बुझ्ेपछि थेलले ती विद्यार्थीसँगकै सहकार्यमा त्यसलाई पुस्तकको रूप दिए । थेल भन्छन्, “पुस्तक सफलताको सूत्र होइन, त्यो व्यावसायिक यात्रामा आफूले सिकेका पाठ, अनुभव र आविष्कारका लागि सुझवको सङ्ग्रह चाहिं हो ।”

लेखक प्रारम्भिक व्यवसायीहरूलाई एकदेखि एनतिरको (वन टु एन) पाइला नलिएर शून्यदेखि एक (जीरो टु वन) को बाटोमा लाग्ने सल्लाह दिन्छन् । उनी भन्छन्, “एकदेखि एन भन्नुको अर्थ सम्पन्न भइसकेको कामको नक्कल गर्नु हो । शून्यदेखि एक भनेको आफैं अद्वितीय काम गर्नु हो ।” लेखकको सन्देश बुझन निम्न उदाहरण उपयोगी छः परम्परागत कम्प्युटरमा प्रयोग गरिएका भ्याकुम ट्युबहरूको क्षमता मात्र वृद्धि गर्ने बाटो लिइएको भए आजसम्म पनि हामीसँग ब्यागमा अटाउने कम्प्युटर हुने थिएन । असंख्य गणनायुक्त प्रविधिलाई एउटै तर सानो ठाउँमा अटाउने पोर्टेबल कम्प्युटरको विकास आज एउटा धन्य उपलब्धि भएको छ ।

२०औं शताब्दीको आरम्भमा मोटर–गाडी उद्योगको विकासले वन टु एन बुझाउँछ भने गुड्नेबाट उड्ने पद्धतिले जीरो टु वन बुझउँछ । थेल भन्छन्, “शून्यदेखि एक, प्रविधि हो भने एकदेखि एन बृहत् प्रारूप । ढुङ्गे युगबाट आगो, कृषि, पाङ्ग्रादेखि सेमिकन्डक्टर र इन्टरनेट मानव जातिले विकास गरेका प्रविधि हुन् ।” बृृहत् प्रारूपको उनको तर्क बलियो देखिन्छ । तीव्र गतिमा शहरीकरण बढ्दै गरेका भारत जस्ता मुलुकले अमेरिकाले लिएको बाटो अपनाइरहेका छन् । विगत पाँच दशकदेखि चीनले अपनाइरहेको बाटो पनि यही नै हो । तर ठूलो मात्रामा आविष्कार नगरी कसैको पनि ‘अमेरिका’ हुने बाटो दिगो रहन सक्दैन । विकासका नाममा गरिने कतिपय मानवीय क्रियाकलापहरू वातावरणका लागि विध्वंसकारी हुन सक्छन् । तत्कालीन कालखण्डमा त्यो मोडल अमेरिकाका लागि त्यतिबेला उपयोगी हुन पुगेको भए पनि हाल आएर त्यही मोडल अरूहरूले पनि नक्कल गर्नु उचित हुँदैन, बरु प्रत्युत्पादक हुन्छ । यसै पनि खनिज तेलमा आधारित अमेरिकी मोडलले अनपेक्षित असरको रूपमा विश्वलाई जलवायु परिवर्तन दिएको छ । अनियन्त्रित जलवायु परिवर्तनले विनाशकारी प्रभाव ल्याउन सक्छ ।

एकाधिकारलाई लेखक थेल व्यवसायमा द्रुत वृद्धि गर्ने सफल सूत्र मान्छन् । उनको भनाइ माफिया र सरकारको छत्रछायामा भएकाहरूले राख्ने एकाधिकार होइन बरू विशिष्ट उत्पादन गर्ने त्यस्तो क्षमता हो जसको छेउछाउमा अन्य विकल्प आउनै सक्दैनन् । एकाधिकारको एउटा उदाहरण हो गुगल । गुगलले विकास गरेको अल्गोरिदम, गति र क्षमतालाई अरू कुनै यन्त्र वा कम्पनीले उछिन्न सकेका छैनन् । थेल भन्छन्, “प्रतिस्पर्धा एकाधिकारको विपरीत हो, जसले उपलब्धि कम गर्छ । प्रतिस्पर्धाले प्रवर्तकलाई बजार नाफाको सानो भाग मात्र दिन्छ, प्रतिस्पर्धीहरू असफल हुने त्रास रहिरहन्छ ।” लेखक भन्छन्— सफल कम्पनीहरू फरक–फरक हुन्छन् तर असफल कम्पनी एकै किसिमका । प्रतिस्पर्धा गर्न नसक्दा ती असफल हुन्छन् । प्रतिस्पर्धा मात्र एउटा बाटो हो भन्ने हामी सोच्छौं । स्कूलका प्रारम्भिक दिनदेखि नै हामीलाई व्यक्तिको जे जस्तो विशिष्ट क्षमता भए पनि उनीहरूले एकै प्रकारको प्रतिस्पर्धामा सहभागी हुनुपर्छ र राम्रो ग्रेड हासिल गर्नुपर्छ भन्ने सिकाइन्छ । तर फेसबुक, अमेजन र एप्पल जस्ता प्रविधिमा आधारित कम्पनीको उदाहरण दिंदै यो पुस्तकले चाहिं प्रतिस्पर्धाबाट कसरी बच्ने र एकाधिकारको चरित्रलाई कसरी चरितार्थ गर्ने भन्ने सल्लाह दिएको छ ।

उद्यमीहरूले यो पुस्तकबाट के सिक्न सक्छन् त ? शून्यदेखि एक र एकाधिकारी विचारको घेरामा रहेर लेखकले पाठकलाई व्यवसायका गतिशीलताका बारे बताएका छन् । उनी भन्छन् प्रारम्भिक आधारलाई बलियो बनाउनु, सही सहकर्मी चयन गर्नु, लामो अवधिको लागि योजना बनाउनु महत्वपूर्ण विषय हुन् । लेखक थेलको निचोड छ— हरेक उद्यमीले सात वटा प्रश्नको उत्तर दिन सक्नुपर्छ । ती प्रश्न निम्न विषयहरूसित सम्बन्धित छन्ः इन्जिनियरिङ (वृद्धिको सुधारभन्दा प्रविधिको सुधार), समय (व्यवसाय प्रारम्भ गर्ने सही समयको चयन), प्राधिकार (ठूलो शेयरमा सानो बजार), मानवीय स्रोत (सही सहकर्मी वा समूहको चयन), वितरण (उत्पादन मात्र होइन, सही वितरण), दिगोपन (बजारको समय अवधि १० देखि २० वर्षको चयन) र गोप्यता (अरूले नदेखेका अवसर) । उल्लिखित एक वा बढी प्रश्नको उत्तर दिन सकिएन भने उद्यम सफल हुने छैन । यस्ता प्रश्न दृष्टिगोचर गर्न नसक्दा स्वच्छ प्रविधि प्रवद्र्धन गर्ने कैयौं कम्पनी असफल भए जबकि ‘टेस्ला’ नाम गरेको कम्पनी अपवाद बन्न सफल भयो ।

उद्यमीहरू मात्रै होइन यो पुस्तक शिक्षकहरूलाई पनि उपयोगी छ । प्राज्ञिक क्षमता आवश्यक आधार हो तर विद्यार्थीलाई आफ्नो दक्षता कसरी व्यवहारमा उतार्ने भन्ने तरिका सिकाउनु जरूरी हुन्छ । लेखक थेल सुुझाव दिन्छन् सबैभन्दा महत्वपूर्ण विषय हो— विद्यार्थीलाई आफ्नो लागि आफैं सोच्न प्रोत्साहन गर्नु ।

सानो तर पढ्न चाखलाग्दो यो पुस्तकमा राम्रा उदाहरण पनि थुप्रै छन्, तर उनका सबै धारणा मान्नु जरुरी छैन । उनका केही भनाइ विवादास्पद र अमान्य पनि छन् । बढ्दो आर्थिक असमानता, वातावरण प्रदूषण, बढ्दो राजनीतिक र सामाजिक धु्रवीकरण जस्ता विषयहरू वर्तमान विश्वका वास्तविकता हुन् । यी वास्तविकता भीमकाय कर्पोरेसनका देन पनि हुन् । तर यस्ता विषय उद्यमी थेलका परिदृश्यमा परेका छैनन्, हुने कुरो पनि भएन ।

पोखरेल इलेक्ट्रिकल इन्जिनियरिङका स्नातक हुन् ।

No comments:

Post a Comment