Monday, November 6, 2017

२०७४ कार्तिक अंक_गरीबीबाट उम्कने उपायहरूको विश्लेषण_समीक्षक : पुरुषोत्तम तिमल्सिना

गरीबीबाट उम्कने उपायहरूको विश्लेषण


पुस्तक  : द इन्ड अफ पोभर्टी ः हाउ वी क्यान मेक इट ह्यापेन इन आवर लाइफ टाइम
लेखक: डा. जेफ्री डी. स्याक्स                          प्रकाशक: पेन्गुइन                                  पृष्ठ: २८०     

समीक्षक : पुरुषोत्तम तिमल्सिना

दइन्ड अफ पोभर्टी: हाउ वी क्यान मेक इट ह्यापेन इन आवर लाइफ टाइम (गरीबीको अन्त्यः हाम्रै जीवनकालमा कसरी सम्भव तुल्याउन सकिन्छ ?) का लेखक विश्व विख्यात अमेरिकी अर्थशास्त्री डा. जेफ्री डी. स्याक्स हुन् । विभिन्न राष्ट्रमा आफूले गरेको कार्य अनुभवको आधारमा उनले यो पुस्तक तयार पारेका हुन् । लेखक भन्छन्, “इतिहासमा पहिलो पटक हाम्रो पुस्तालाई संसारको अविकसित मुलुकको विषम गरीबी अन्त्य गर्ने अवसर प्राप्त भएको छ ।” पुस्तकले गरीबीको शुरूआत र यो कसरी व्यापक भयो भन्ने प्रसङ्ग प्रष्ट पारेको छ । कुपोषण, खराब स्वास्थ्य, खराब ऋण र दुर्भाग्यको परिस्थितिले अर्बौं मान्छेलाई गरीबीमा जकडेको छ, पुस्तकमा सो जञ्जालबाट मुक्त हुने बाटो पनि उल्लेख गरिएको छ । विषम गरीबीमा रहेका विश्वका २० प्रतिशत मान्छेलाई वास्तविक परिवर्तन अनुभव गराउन र तिनीहरूले आफ्ना धनी प्रतिद्वन्द्वीसँग साझ्ेदारी प्राप्त गर्न के गर्नुपर्छ भन्ने विश्लेषण गर्दै, स्याक्सले गरीबीको बन्धनबाट छुटकारा दिलाउने स्पष्ट बाटो प्रस्ताव गरेका छन् ।

विश्व परिवारको चित्र
लेखकले विश्वमा रहेका चार किसिमका अर्थतन्त्रलाई उदाहरणसहित प्रस्तुत गरेका छन् । पहिलो उदाहरण भूपरिवेष्टित अफ्रिकी राष्ट्र मलावीको हो । खडेरी र एड्सका कारण धेरै मलावी युवाहरू असमयमै मृत्युवरण गर्छन् । मलेरियालगायतका विभिन्न रोगबाट बाँकी पनि आक्रान्त छन् । लेखक भन्छन्, “मलावीमा स्वास्थ्य सेवा त टाढाको कुरा हो, सरसफाइ तथा झ्ुल प्रयोग गर्ने जस्तो सामान्य चेतनाको पनि अभाव छ ।”

दोस्रो उदाहरण हो, बङ्गलादेश । जीवनयापनका लागि संघर्ष गर्दै बङ्गलादेश विस्तारै विकासको खुट्किलोमा माथि चढ्दैछ । संसारकै घना जनसंख्या भएको बङ्गलादेश उपयुक्त नीति र लगानीको संयोग भएमा आर्थिक र सामाजिक हिसाबले अझ् अगाडि बढ्ने सम्भावना राख्छ, यद्यपि विषम गरीबीको पञ्जाबाट भने यो मुलुक अझै फुत्किन सकेको छैन ।

विकास यात्रामा माथि रहेको भारत तेस्रो उदाहरण हो । भारतीय शिक्षित युवा पुस्तामा आर्थिक विकासको मान्यता स्थापित भइसकेको छ । भारतीय अर्थतन्त्रमा सूचनाप्रविधि, उत्पादन र अनुसन्धानका विषय केन्द्रित छन्, तर चीनको आर्थिक वृद्घिदर भारतको भन्दा माथि छ । चौथो उदाहरण आर्थिक विकासले गति लिइसकेको चीन हो । बेइजिङ विकसित विश्वको राजधानीका रूपमा मात्रै होइन आर्थिक राजधानीका रूपमा पनि चिनिन थालेको छ । साढे दुई दशकदेखि चीनको अर्थतन्त्र करीब ८ प्रतिशतले वृद्घि भइरहेको छ र त्यसले चीनलाई विश्वको व्यापारिक र आर्थिक शक्तिका रूपमा स्थापित गराइदिएको छ ।

आर्थिक विकासको भ¥याङ
चार देशका यी उदाहरणले विज्ञान तथा प्रविधिको प्रयोग विकास प्रक्रियामा कोसेढुंगा हो भन्ने देखाउँछन् । निर्वाहमुखी कृषिबाट हलुका उत्पादन, शहरीकरण तथा उच्च प्रविधि सेवाले परिवर्तन गराउँछ । तर यद्यपि विश्वका करीब एक अर्बभन्दा बढी मान्छेह  बिरामी, भोकमरी र निराशाजनक जीवनयापन गर्दैछन् । बाँच्नका लागि संघर्ष गर्दै गरेका तिनको स्थिति मलावीका बासिन्दाको जस्तै छ । अर्कोतर्फ विश्वका आधाभन्दा बढी मान्छे आर्थिक प्रगति अनुभव गरिरहेका छन् । बढ्दै गरेको व्यक्तिगत आम्दानी, वस्तुहरूको उपभोगमा वृद्घि, बढ्दो औसत आयु, घट्दो शिशु मृत्युदर, शैक्षिक स्तरको वृद्धि र खानेपानी तथा सरसफाइमा पहुँच— विकासको बाटोमा लागेका मुलुकहरूको दृष्टान्त हो । 

लेखक स्याक्सका अनुसार सबैभन्दा गाह्रो काम विकासको खुट्किलोमा पाइला शुरू गर्नु हो । जुन देशले पहिले नै विकास गरे, तिनीहरू अहिले प्रगतिको आनन्द लिइरहेका छन् । ती मुलुकको विकासले समाजमा असमानता भने बढाएको छ । एकातिर विपन्नलाई आफैं विकासको सिंढीमा चढ्न सक्ने विधि प्रयोग गरेर बहुसंख्यकलाई विषम गरीबीको अवस्थाबाट निकाल्नु छ भने अर्कोतिर बढ्दो आर्थिक असमानता कम गर्न प्रयत्नशील रहनुपर्छ । गरीबीको अन्त्य अपर्याप्तताको अन्त्यका साथै आर्थिक विकासको प्रारम्भ, आशा र सुरक्षाको प्रत्याभूति पनि हो । लेखक थप्छन्, “गरीबी अन्त्यको संवादमा त्यसका दुई अभिन्न उद्देश्य समावेश हुनुपर्छ । पहिलो, विषम गरीबी तथा बाँच्नका लागि हुँदै गरेको दैनिक संघर्षको अन्त्य र दोस्रो, विश्वका सम्पूर्ण गरीबले विकासको खुट्किलोमा पाइला राख्न सक्ने अवसरको सुनिश्चितता ।” 

विश्वको आर्थिक इतिहास खोतल्दै स्याक्स भन्छन्, “आजभन्दा २०० वर्ष अगाडि गरीबीको अन्त्य तीव्र गतिमा हुने कुरा सोच्न गाह्रो थियो । त्यतिवेला शासकवर्ग र ठूला जमीनदार बाहेक सबै गरीब थिए । हजारौं वर्षदेखि २०० वर्ष अघिसम्म विश्वमा दीर्घकालीन आर्थिक वृद्घि भएकै थिएन, मात्र जनसंख्या वृद्घि हुन्थ्यो । तर २०० वर्षयता आर्थिक वृद्घिदर र आयमा पनि उल्लेख्य प्रगति भयो । यसै अवधिमा धनी–गरीब राष्ट्रबीचको आम्दानीको खाडल ४ः१ को अनुपातबाट बढेर २०ः१ मा पुगेको छ । १९औं शताब्दीको शुरूमा विश्वका सबै राष्ट्रले समान आर्थिक वृद्धिदर हासिल गरे तर वास्तविकता के हो भने केही मुलुकले मात्र आधुनिक आर्थिक वृद्घि हासिल गरे; अरूले गर्न सकेनन्, परिणामतः असमानता बढ्न गयो । यो असमानताको एउटा कारण विगत २०० वर्षमा भएको असमान प्रकृतिको आर्थिक वृद्घि नै हो ।”

विकास र चिकित्सकीय अर्थशास्त्र
अन्तर्राष्ट्रिय मुद्रा कोष एवं विश्व बैंकजस्ता संस्थामा प्रभुत्व जमाएर बसेका विज्ञहरूको भूमिका गरीबी निवारण गर्ने विषयमा परामर्श दिने हुन्छ । लेखक सोध्छन्, “के ती विज्ञहरू आफूले काम गर्ने गरेका देशका बारे सकारात्मक सोच राख्छन् ?” विकास र आर्थिक वृद्धिको निम्ति शिक्षा र तालीमका साथै संवेदना पनि आवश्यक हुन्छ । उनी भन्छन्, “म अझै सिक्दैछु । मलाई विकास अर्थशास्त्रबारे बुझन दुई दशक लाग्यो । मेरो तालीम कार्य–कुशलताका लागि पर्याप्त थिएन । उच्च शिक्षा लिने क्रममा मैले विषयका महत्वपूर्ण औजारहरू सिकें, तर तिनको सही प्रयोग कसरी गर्ने भन्ने जानेको थिइनँ । मेरो मान्यता थियो सही तरीकाले औजारहरूको उपयोग गरेपछि अर्थशास्त्र ठीक भइहाल्छ । अति विपन्न देशहरूको समस्या हटाउन थप औजार र प्रक्रियाहरू आवश्यक हुन्छ भन्ने वास्तविकता बुझन मलाई निकै धेरै समय लाग्यो ।”

स्याक्स भन्छन्, “आधुनिक औषधि विज्ञानले गरे जस्तै विकास–अर्थशास्त्रमा पनि पुनर्ताजगी आवश्यक छ, गरीबी निवारणका लागि । आधुनिक औषधि विज्ञानले जसरी आपत्कालीन स्थितिमा भएको बिरामीलाई औषधि दिएर तङ्ग्रिन सहयोग गर्छ, त्यसरी नै सङ्कटमा परेका राष्ट्रहरूलाई चिकित्सकीय अर्थशास्त्रमार्फत विकासको खुट्किलोमा लानुपर्छ । धनी राष्ट्रहरूले दुर्बल राष्ट्रलाई ‘गरीबी तिमीहरूको आफनै गल्तीको उपज हो, हामी जस्तै स्वतन्त्र; बजारमुखी, वित्तय रुपमा जिम्मेवार र उद्यमशील बन’ भन्नुपर्छ । त्यसपछि मात्र निजी क्षेत्रले नेतृत्व गरेको आर्थिक विकासको अवसर खुल्नेछ ।”

गरीबीको अन्त्यका लागि लगानी
अर्थशास्त्री स्याक्सका अनुसार आधारभूत स्तरमा विषम गरीबी अन्त्य गर्ने मूल मन्त्र भनेको गरीबमध्येका गरीबलाई विकासको खुट्किलोमा पाइला राख्नसम्म सक्ने बनाउनु हो । तिनीहरूलाई विकासको खुट्किलोमा पाइला राख्न आवश्यक पूँजी आर्जन गर्न सक्षम बनाउनुपर्छ । गरीबीको चपेटामा फसेकाहरूसँग मानवीय पूँजी, व्यावसायिक पूँजी, पूर्वाधार, प्राकृतिक, सार्वजनिक संस्थागत र बौद्घिक पूँजीको अभाव हुन्छ । गरीब परिवारको प्रतिव्यक्ति पूँजी साह्रै न्यून रहने र विकल्पको बाटो नहुँदा तिनीहरू गरीबीको चक्रमा फसिरहन्छन् । अल्पविकसित मुलुकमा बचत र सरकारलाई तिर्ने कर शून्यसरह हुने भएकाले बाहिरी सहयोगमार्फत लगानीले पूँजी बढ्न गई आर्थिक वृद्घि हासिल हुन सक्छ । यसरी आय–आर्जन वृद्घि भई गरीबीको पासोबाट छुटकारा मिल्न सक्छ, लेखक पैरवी गर्छन् । 

अल्पविकसित राष्ट्रहरूले गरीबी निवारणका लागि चिन्तनतर्फ लाग्नुपर्छ भने राष्ट्रिय स्रोत–साधनको हिस्सा युद्घ, भ्रष्टाचार तथा राजनीतिक लुछाचुँडीमा भन्दा गरीबी निवारणमा खर्च गरिनुपर्छ । लेखक भन्छन्, “धनी राष्ट्रहरूले सहयोगको रटानभन्दा अघि बढेर गरीब अनुकूल वातावरण बनाउनुपर्छ, जसका लागि एक किसिमको ढाँचा चाहिन्छ । विश्व बैंक, संयुक्त राष्ट्रसंघीय संस्थाहरू र द्विपक्षीय दातृनिकायहरूले ढाँचा तयार गर्न ठूलो स्रोतको प्रवाह गरेका छन् । विषम गरीबीको अन्त्य गर्ने कार्य निर्धारित सीमाभित्र प्राप्त गर्न सकिन्छ ।”

विकास सम्बन्धी समस्याको तत्काल समाधान मन्त्र सुशासन हो भने यसको नजिकको शत्रु आर्थिक नियन्त्रण हो । आर्थिक विकास एउटा यात्रा हो । आर्थिक स्वतन्त्रता जति धेरै हुन्छ, प्रगति पनि त्यति धेरै । तर आर्थिक स्वतन्त्रता जादूको छडी होइन । निश्चित लगानी, योजना लागू गराउने विधि र नियमनले मात्रै आर्थिक स्वतन्त्रता धान्न सक्छ । विश्वका धनी राष्ट्रहरूले गरीबी निवारणका लागि कस्तो आचरण गर्लान् ? यो प्रश्नको उत्तर पश्चिमी मुलुक खासगरी संयुक्त राज्य अमेरिकाको सन्दर्भमा खोज्नुपर्छ । लेखक भन्छन्, “अमेरिकाले विभिन्न बहानामा विश्वको गरीब समुदायलाई ठगिरहेको छ, प्रतिबद्घता अनुसार उसले सहयोग वृद्घि गरेको छैन ।” अमेरिकामा आप्रवासीहरूले त्यस मुलुकमा कमाएर घर पठाएको विप्रेषण रकम समेत सहायता हिसाबमा जोडिनुपर्ने तर्क गरिन्छ तर लेखक सो मान्न तयार छैनन् । 

अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यो शक्तिशाली मुलुकले अन्तर्मुखी नीति लिने र अरू मुलुकबारे चासो नलिने कुरामा जोड दिने गरेका छन् । यो नयाँ नीतिले विदेशी सहयोगमा आश्रित अल्पविकसित मुलुकको विकास यात्रामा कस्तो असर पर्ला ? प्राध्यापक स्याक्सको पुस्तक राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति हुनुभन्दा अगाडि नै छापिएको हुँदा तत्सम्बन्धमा कुनै दृष्टिकोण हुने कुरा भएन । तर, वर्तमान अमेरिकी प्रशासनका नीतिबारे स्याक्सका आलोचनात्मक लेखहरू प्रकाशित छन् । 
(तिमल्सिना अर्थशास्त्रको अध्ययन–अनुसन्धानमा रुचि राख्छन् ।)

२०७४ कार्तिक अंक_गरीबी निवारणका लागि उपलब्ध अर्थशास्त्रीय विकल्प_समीक्षक : डा. केशवराज कणेल

गरीबी निवारणका लागि उपलब्ध अर्थशास्त्रीय विकल्प

पुस्तक : मोर देन गुड इन्टेन्सन्स्: इम्प्रुभिङ द वेयज द वल्र्डस पुअर बरो, सेभ, फार्म, लर्न एन्ड स्टे हेल्दी
लेखक: डिन कर्लान र जेकोव एपेल (जेव)             प्रकाशक: पेन्गुइन ग्रुप, २०१२                        पृष्ठ : ३०८  

समीक्षक डा. केशवराज कणेल

विगत ५० वर्षमा विभिन्न दातृ निकायहरूले गरीबी निवारणमा २३ खर्ब डलरभन्दा बढी खर्च गरिसके । खर्चिएको त्यो रकमले के उपलब्धि ग¥यो भन्नेबारे विज्ञहरूको एउटै मत छैन । यसबारे मूलतः दुईवटा विचारधारा पाइन्छन्— पहिलो, खर्च भएको रकम धेरै देखिए तापनि धनी देशहरूको आम्दानीको करीब १ प्रतिशत मात्रै गरीबी निवारणको नाममा खर्च भएको छ र केही प्रगति पनि । त्यसैले यो खर्चको रकम धेरै होइन, बरु थोरै नै र यस्तो सहयोगको मात्रा अझ बढाउनुपर्छ । दोस्रो विचारधारा भन्छ, खर्चको रकम धेरै नै हो ।  यति धेरै खर्च गर्दा पनि यो रकमले गरीबी निवारणमा उल्लेख्य योगदान गरेको छैन, बरु परनिर्भरता बढाएको छ । यसको सट्टा गरीब देशहरू आफैंले अवलम्बन गरेका कार्यक्रमलाई बढावा दिएमा प्रगति हुन सक्छ र परनिर्भरता पनि घट्छ ।

उपर्युक्त विचारधारामध्ये पहिलो विचारका प्रवद्र्धक हाल संयुक्त राष्ट्रसंघका सल्लाहकार प्राध्यापक जेफ्री स्याक्स हुन् भने दोस्रो विचार शृंखलाका प्रतिनिधि पात्र न्यूयोर्क विश्वविद्यालयका प्राध्यापक विल इस्टर्ली । तर यी दुवै विज्ञले पनि सफलता केलाई मान्ने र यो कसरी नाप्ने भन्ने जस्ता प्रश्नमा व्यावहारिक मूल्याङ्कन विधि र मापक प्रस्तुत गर्न सकेको पाइँदैन ।

उल्लिखित विश्लेषण डिन कर्लान र जेकोव एपेल (जेव) ले लेखेको मोर देन गुड इन्टेन्सन्स् ः इम्प्रुभिङ द वेयज, द वल्र्डस पोर बरो, सेभ, फार्म, लर्न एन्ड स्टे हेल्दी नामक पुस्तकको हो । कर्लान पुस्तकका मूल लेखक हुन् भने एपेल जीवनलाई नजिकैबाट हेर्ने अनुसन्धानकर्ता ।

पुस्तकमा बङ्गलादेशका अर्थशास्त्री तथा नोबेल पुरस्कार विजेता मोहमद युनुसले गरीबहरू र त्यसमा पनि गरीब महिलाहरूको समूहलाई लघुवित्त प्रवाह गरेमा उनीहरूको आर्थिक तथा सामाजिक सुधार र उन्नति हुन्छ भनी त्यहाँका ग्रामीण बैंकले समूहमार्फत लुघवित्त उपलब्ध गराएको प्रसङ्ग समेत समावेश गरिएको छ । बङ्गलादेशको दृष्टान्तपछि समूहमार्फत लघुवित्त प्रवाह गर्ने कार्यक्रम संसारभरि प्रचलनमा आउन थाल्यो । लघुवित्तको पहिलो चरणमा विना धितो समूहकै सदस्यहरूलाई समूहकै जमानीमा ऋण प्रवाह गर्ने गरिएकोमा पछि सुधार गरी समूहका सदस्यहरूलाई व्यक्तिगत जमानीमा पनि ऋण दिने व्यवस्था गर्न थालियो । सन् २०१२ सम्म विश्वमा यस्ता समूहका सदस्यहरूको संख्या करीब १३–१४ करोड पुगिसकेको अनुमान छ । नेपालकै पनि यो कार्यक्रमले व्यापकता पाएको छ ।

मूल्याङ्कन विधि
लघुवित्तमार्फत गरीबी निवारणका कार्यक्रम सञ्चालन हुँदै गर्दा यस्ता कार्यक्रमको प्रभावकारिता र सो मापन गर्ने मूल्याङ्कन विधिबारे प्रश्न उठ्न थाले । त्यसैको सिलसिलामा अमेरिकाको म्यासाच्युसट्स इन्ष्टिच्युट अफ टेक्नोलोजीअन्तर्गत द अब्दुल लतिफ पोभर्टी एक्सन ल्याबले गरीबी निवारण सम्बन्धी कार्यक्रमको प्रभावकारिता मापन गर्ने मूल्याङ्कन विधि जसलाई ‘क्रमरहित नियन्त्रण प्रयत्न’ (¥यान्डम एक्सेस ट्रेल) भनिन्छ, प्रस्ताव ग¥यो । यो विधि पहिलोपल्ट खाद्य पदार्थ र नयाँ औषधिको प्रभावकारिता नाप्ने सन्दर्भमा प्रयोग भएको थियो । यो विधि अनुसार कुनै ठाउँमा लघुवित्त लिएका र नलिएका उस्तै समूहको जीवनस्तर मापन गरिन्छ र ती समूहका सदस्यहरूमा आएको परिवर्तनलाई मूल्याङ्कन गरेर मात्र जीवनमा सुधार आएको छ छैन र छ भने के कस्तो सुधार आएको छ भनेर पत्ता लगाउन सकिन्छ । मूल्याङ्कनको यो विधि लघुवित्तको क्षेत्रमा मात्रै होइन, कृषि, वन, सिंचाइ, स्वास्थ्य आदि क्षेत्रहरूमा पनि अवलम्बन गरिएको छ । यस्तो मूल्यांकनका निम्ति समूहका सदस्य छान्दा क्रमरहित तरीकाले छान्नुपर्छ भन्ने कुरा पुस्तकले सम्झाउँछ ।

लेखक डिन कर्लान यही विधामा म्यासाच्युसट्स इन्ष्टिच्युट अफ टेक्नोलोजीबाट विद्यावारिधि गरी विभिन्न विकासशील मुलुकमा गरीबी निवारण सम्बन्धी लुघवित्तमार्फत भएका परिवर्तन र लगानी प्रभावकारिताको मूल्याङ्कनमा संलग्न छन् ।  उनी विगत केही वर्षदेखि अमेरिकाको येल विश्वविद्यालयमा प्राध्यापन गर्छन् र गरीबहरूको जीवनमा के कसरी सुधार आएको छ भन्ने मूल्याङ्कन गर्न गाउँ गाउँमै पनि पुग्छन् । कर्लान र एपेलले पुस्तकमा अफ्रिका, एशिया तथा दक्षिण अमेरिकाका विभिन्न देशमा सञ्चालित लघुवित्त, लघुऋण, लघुबचत, जुका मार्ने औषधि तथा पानीमा मिसाउने क्लोरिन वितरणजस्ता गरीबी निवारण कार्यक्रमबारे ‘क्रमरहित नियन्त्रण प्रयत्न’ विधिद्वारा गरेको मूल्याङ्कन नतिजा उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । लघुवित्तका प्रणेता युनुसको भनाइ अनुसार गरीब देशका गरीब जनता ‘बाँच्ने कला’ मा निपुण हुन्छन् । उनीह  व्यक्तिगत रूपमै पनि स्वतः उद्यमशील हुन्छन् । तसर्थ ‘लघुवित्तको माध्यमद्वारा सबै गरीबी निवारण गर्न सकिन्छ’ भन्ने तर्कलाई आधार मानेर समूह बनाई तीमार्फत लघु ऋण प्रवाह गर्ने प्रचलन विश्वव्यापी रूपमा रहँदै आएको हो ।

तर यस्तो सफलता सबै परिस्थिति र व्यक्तिहरूमा नरहेको तथा नहुने कुरा ‘क्रमरहित नियन्त्रण प्रयत्न’ मूल्याङ्कन विधिद्वारा प्रमाणित धेरै उदाहरण पुस्तकमा समेटिएका छन् । एउटा उदाहरण भारतको हैदरावादको हो जहाँ ग्रामीण बैंकले तीन थरीका परिवारलाई लघु ऋण प्रवाह गरेको थियो । एकथरी उद्यम चलाइरहेका परिवार थिए । अर्काथरी सम्भाव्य उद्यमी र व्यवसायबाट फाइदा पनि लिएका थिए । तेस्रो थरी उद्यम नचलाएका परिवार थिए । ‘क्रमरहित नियन्त्रण प्रयत्न’ विधिद्वारा यी तीनै समूहको मूल्याङ्कन गर्दा पहिला दुईवटा समूहले व्यापार÷व्यवसाय विस्तार गरेको वा राम्रै फाइदा गरेको पाइयो । तेस्रो समूहले भने खर्च र ऋण बढाएको देखियो । त्यसैले लघुवित्त (लघु ऋण) बाट पूरै समुदाय लाभान्वित नभई केहीलाई फाइदा र केहीले ऋण मात्रै बोक्न सक्छन् भन्ने यथार्थता मनन गर्नुपर्छ । परिस्थितिजन्य अवस्थाले पनि सफलता÷असफलतालाई असर पार्छ । सारांशमा भन्दा ‘गरीबी निवारण गर्न लघुवित्त एउटा साधन हो, यो आफैं साध्य होइन’ लघुवित्त जस्तै निक्षेप, बीमा, शिक्षा तथा स्वास्थ्य आदि पनि उत्तिकै महत्वपूर्ण साधन हुन्, तर तिनको सफलता परिस्थितिमा भर पर्छ । लघुवित्त प्रवाह गर्ने निकायहरूले ऋणलाई धेरै नियमहरूले बाँध्छन् र उद्यम सञ्चालनलाई प्राथमिकता दिन्छन्; तर गरीबका अरू पनि आवश्यकता हुन्छन् । त्यसैले लघुवित्तबाट प्राप्त हुने ऋणको ब्याजदर कम भए पनि केही गरीब परिवारले गाउँले सुदखोरसँग चर्को ब्याजमै ऋण लिने गरेका हुन् ।

व्यवहार अर्थशास्त्र
पुस्तकले व्यवहार वा आचरण अर्थशास्त्रबारे पनि विवेचना गरेको छ ।  ।ज्ञ प्रचलित अर्थशास्त्रको अवधारणा अनुसार व्यक्तिले कुनै निर्णय गर्दा विकल्पहरूको हिसाबकिताब गर्छन् अनि जुन विकल्पबाट अधिकतम फाइदा हुन्छ त्यही छान्छन् । अर्थात् जति धेरै विकल्पहरू हुन्छन् व्यक्तिलाई त्यति नै फाइदा हुन्छ । त्यस्तै प्रचलित अर्थशास्त्रको मान्यता छ– व्यक्तिहरू आफूलाई के फाइदा हुन्छ, सो कुराको निर्णय गर्न आफू नै निपुण हुन्छन् । तर आचरण अर्थशास्त्रीहरू उपरोक्त मान्यतालाई स्वीकार गर्दैनन् । आचरण अर्थशास्त्रीहरूका अनुसार मानवलाई सम्पूर्ण रुपमा बुझनुपर्छ; कैयौं निर्णय आवेगमा पनि गरिएका हुन्छन् र धेरै विकल्प भए मानिस झन् रनभुल्लमा पर्छन् र यस्तो परिस्थितिमा साविककै सजिलो विकल्प रोज्न मन पराउँछन् । त्यस्तै, व्यक्तिलाई आफैंले गरेको निर्णय कार्यान्वयन गर्न पनि अरुले सम्झाउनु पर्ने हुनसक्छ । धेरै मानिस पैसा खर्च गर्न भन्दा बचाउन गाह्रो मान्छन् । एउटा त निक्षेप भन्दा खर्च गर्ने बाटा धेरै हुन्छन् । त्यसैले ‘निक्षेप प्रतिबद्धता’ जस्ता आफूले आफैंलाई आत्म नियन्त्रणमा राख्ने उपाय वा अन्य साथीहरूले बीचबीचमा ती प्रतिबद्धता पालन भएको वा नभएको सम्झाउने गरेमा बचत गर्ने बानी बढेको दृष्टान्त पुस्तकले दिएको छ ।

मानिसले आफ्नो जीवनमा आर्थिक फाइदा मात्रै किन हेर्दैनन् भन्ने तर्क पुष्टि गर्न पुस्तकमा न्यूयोर्कका ट्याक्सी चालकहरूले कसरी आफ्नो समय विताउँछन् भन्ने दृष्टान्त उदाहरणका रूपमा प्रस्तुत गरिएको छ । आचरण अर्थशास्त्र अनुसार मानिसले बढी आम्दानी गर्ने उद्देश्य मात्र नहेरी अन्य मान्यतालाई पनि निर्णय गर्ने आधार बनाउँछन् । न्यूयोर्कमा ट्याक्सी चालकले आफना समयको राम्ररी समायोजन गरेमा कम्तीमा १० प्रतिशत बढी आम्दानी सजिलै गर्न सक्थे तर उनीहरूको उद्देश्य आम्दानी बढाउनुको सट्टा प्रतिदिन एकनासको आम्दानी गर्ने भएकाले बढी आम्दानी हुने दिनमा त झन् थोरै घण्टा काम गर्ने गरेको पाइयो । थोरै घण्टा काम गरे पनि दैनिक आम्दानी अरू दिनसरह हुन्छ ।

अल्पविकसित मुलुकका गरीब किसानहरू विभिन्न खालका वातावरणीय, प्राविधिक र संरचनात्मक उल्झन झेल्ने गर्छन् । तिनले अपनाएको साविकका खेतीपाती गर्ने विधि र प्रचलन फाइदाजनक नभए पनि उनीहरू नयाँ प्रविधि सजिलै अपनाउँदैनन् किनभने ती विकल्प उनीहरूको दृष्टिकोणले निकै जोखिमपूर्ण हुन्छन् । अर्कोतर्फ यस्ता कृषकले बाली भित्रयाएपछि आएको आम्दानीबाटै अर्को वर्षका लागि आवश्यक पर्ने मल बीउको जोहो गर्ने गरेको पनि पाइन्छ । यसमा कृषिको खाँचो पूरा नगरी भएको आम्दानी अन्य आवश्यकता पूर्तिमा खर्च नहोओस् भन्ने तर्कले काम गरेको देखिन्छ ।  यस हिसाबले, कुन परिस्थिति वा परिबन्दमा कुन उत्प्रेरकले काम गर्छ भन्ने विषय जान्नु आवश्यक हुन्छ ।

लेखकद्वय केन्याको उदाहरण दिन्छन् । केन्यामा विद्यार्थीलाई स्कूलको पोशाक निःशुल्क उपलब्ध गराइएको थियो । र त्यसबाट विद्यार्थीको स्कूल जाने दर बढेको पाइयो । त्यस्तै दक्षिण अमेरिकामा आफ्ना छोराछोरी स्कूल पठाउने शर्तमा आमाहरूलाई थोरै रकम उपलब्ध गराइँदा स्कूलमा विद्यार्थीको उपस्थिति दर ८५ प्रतिशतसम्म पुगेको पुस्तक बताउँछ ।

स्वास्थ्य र शिक्षाको प्रसङ्ग
स्कूलमा विद्यार्थीको पढाइ राम्रो नभएपछि त्यसको उपचारका रूपमा विद्यार्थीलाई साना समूहमा विभाजन गरी पुनः पढाउने कार्यक्रम सफल भएका उदाहरण छन् । प्राथमिक तहका विद्यार्थीलाई पेटमा हुने जुका विरुद्धको औषधि निःशुल्क उपलब्ध गराउँदा विद्यार्थीको स्कूल जाने दर अत्यधिक बढेको र समुदायकै स्वास्थ्यमा सुधार आएको उदाहरण पुस्तकको अर्को दृष्टान्त हो । वास्तविकता के हो भने, संसारमा अझै पनि प्रतिवर्ष करीब २० लाख बच्चाहरू ‘पखाला’ ले गर्दा ज्यान गुमाउँछन् । पानीमा क्लोरिनका केही थोपा मिसाइएमा इकोलाइ जस्ता जीवाणुहरू नाश हुने हुँदा बच्चालाई सो रोगबाट सजिलै बचाउन सकिन्छ । पानी सङ्कलन गर्ने धारोमै क्लोरिन राखिएमा यसको उपयोग अझ धेरैले गर्ने गरेको पनि पाइयो ।

पुस्तकमा, सानो लगानी वा हस्तक्षेपले ठूलै उपलब्धि प्रदान गरेका थुप्रै उदाहरण छन् । तर साना लगानी वा सहयोग गर्दा पनि स्थानीय परिस्थिति वा संरचनालाई भने उचित ध्यान दिनु जरुरी हुन्छ । गरीबी निवारणका लागि बाह्य सहयोग विभिन्न रूपमा उपलब्ध हुन्छन् र दाताको प्रमुख सरोकार मूलतः दुई विषयमा केन्द्रित हुन्छ— पहिलो, विद्यमान परिस्थितिमा गरिएको प्रस्तावले समस्याको कत्तिको समाधान गर्न सक्छ ? र दोस्रो, प्रस्तावक संस्थाले आफ्ना कार्यक्रम कति प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सक्छ ? लेखकद्वयले भनेझैं सृजनशील विचार ‘टाउको प्राज्ञिक क्षेत्रमा र हात खुट्टा जमीनमा’ भएको अवस्थामा मात्र स्फुरण हुन सक्छ । गरीबी निवारण सम्बन्धी कार्यक्रमहरू सृजनशील तथा व्यावहारिक विचारबाट अनुप्राणित भएमा सफल हुने आधार पहिल्याउन सकिन्छ ।

पुस्तकका उदाहरणहरू अनुभवजन्य छन् । भाषा अत्यन्त सरल छ । लेखकद्वयको निचोड के छ भने उद्देश्य वा अभिलाषा राम्रो भएर मात्रै हुँदैन । उद्देश्य प्राप्तिका लागि सझाइने वा अवलम्बन गरिने साधन÷उपायहरू पनि उपयुक्त हुनैपर्छ । यो भनाइ मूलतः गरीबी निवारण जस्ता कार्यक्रममा बढी सान्दर्भिक देखिए पनि यो कथन सबै क्षेत्रमा लागू हुन्छ । उपरोक्त निक्र्योलहरू ‘क्रमरहित नियन्त्रण प्रयत्न’ जस्तो मूल्याङ्कन विधि र आचरण अर्थशास्त्र जस्ता प्राज्ञिक धार व्यवहारमा लागू गरी निकालिएका निष्कर्ष पनि हुन् ।
(कणेल वन विशेषज्ञ हुन् ।)

Friday, August 25, 2017

२०७४ भदौ अंक_जलवायु परिवर्तन अनुकूलनको समाजशास्त्र_समीक्षक : आशुतोष शुक्ला्

जलवायु परिवर्तन अनुकूलनको समाजशास्त्र


पुस्तक : एडाप्टेसन टु क्लाइमेट चेन्ज फ्रम रिजिलियन्स टु ट्रान्सफरमेसन
लेखक : मार्क पेलिङ                    प्रकाशक: राउटलेज, २०११              पृष्ठ: २८०              मूल्य: २६.९६ ₤ 

समीक्षक : आशुतोष शुक्ला्

भूगोलविद् मार्क पेलिङ, किङ्स कलेज लण्डनका प्राध्यापक हुन् । प्रा. पेलिङले विपत्को जोखिम न्यूनीकरण र विपत् व्यवस्थापनका विषय समेटेर एकपछि अर्को पुस्तक लेखेका छन् । एडाप्टेसन टु क्लाइमेट चेन्ज फ्रम रिजिलियन्स टु ट्रान्सफरमेसन सोही शृंखलाको एउटा पुस्तक हो । यो पुस्तक जलवायु परिवर्तनका जोखिम न्यूनीकरण र अनुकूलनको विषयमा केन्द्रित छ । जलवायु परिवर्तन अनुकूलनको समाजशास्त्रीय विश्लेषण पुस्तकको मुख्य विषय हो । भौतिक, आर्थिक र सामाजिक विकासका क्षेत्रमा जलवायु परिवर्तनको प्रभावको विश्लेषण गर्दै उत्थानशील समुदाय निर्माणको बाटोमा लागेका वा त्यसमा चासो राख्ने सबैलाई पुस्तक उपयोगी छ । 

प्रस्तुत पुस्तकका चार खण्ड र नौ अध्यायमध्ये पहिलो खण्डले जलवायु परिवर्तन अनुकूलन (एडप्टेसन) र उत्थानशीलता (रिजिलियन्स) को अन्तर सम्बन्धको सैद्धान्तिक व्याख्या गरेको छ भने दोस्रो खण्डमा उत्थानशीलता संयोजन र रूपान्तरणको मार्गचित्र प्रस्तुत गरिएको छ । तेस्रो खण्डमा जलवायु परिवर्तनसँगै जीवन निर्वाह गर्ने बाटा, विधि र प्रक्रियाहरूको व्याख्या समेटिएको छ । अन्तिम खण्डमा, जलवायु परिवर्तनसँग अनुकूलन रहने उपायहरूबीच तालमेल हुन नसक्दा विभिन्न क्षेत्र र जनजीविकामा पार्ने प्रभावका उदाहरण समावेश गरिएका छन् । 

लेखक पेलिङले अनपेक्षित अनुकूलनको उदाहरण दिंदै त्यसको प्रभावकारी विश्लेषण र व्याख्या गरेका छन् । उनी भन्छन्, ‘जलवायु परिवर्तनसित अनुकूलन रहने अभ्यासलाई समुदायविशेषका तत्कालीन सामाजिक, आर्थिक र राजनीतिक प्रक्रियाहरूले निर्देशित गर्दछन् । यस्ता अभ्यासको निरन्तरता र तिनको समसामयिक परिमार्जनले सम्भावित जोखिम न्यूनीकरण गरी समाजलाई उत्थानशीलताको बाटोतर्फ लैजान्छ । अनुकूलनका प्रयासबाट समुदायलाई उत्थानशील बनाउने तीनवटा मार्ग हुन सक्छन्— पहिलो, अनुकूलनका अभ्यासबाट जनजीविकामा आउन सक्ने ह्रासलाई रोक्दै यथावस्थाको निरन्तरता सुनिश्चित गर्नु । दोस्रो, क्रमिक परिवर्तनको बाटो लिंदै पहिलेको भन्दा सबल स्थितिको निर्माण गर्नु । र, तेस्रो बाटो हो आमूल परिवर्तनद्वारा रूपान्तरित चरित्रको निर्माण गर्नु । यीमध्ये दोस्रो बाटो बढी व्यावहारिक र युक्तिसंगत हुन सक्छ । 
पहिलो खण्डको पहिलो अध्यायमा, ‘अनुकूलनको सन्दर्भ’ शीर्षकअन्तर्गत जलवायु परिवर्तनसँग सम्बन्धित नीति–निर्माण र अनुकूलनका अवधारणाको कसरी विकास भयो भन्ने सैद्धान्तिक व्याख्या समेटिएको छ । दोस्रो, अध्यायमा लेखक अनुकूलसित सम्बन्धित धारणाको सूक्ष्म एवं प्रभावकारी व्याख्या गर्छन् । यी दुवै अध्यायले जलवायु परिवर्तन अनुकूलन, अनुकूलित व्यवस्थापन र उत्थानशीलतासँग सम्बन्धित शब्दावलीहरूको स्पष्ट परिभाषा प्रस्तुत गरेका छन् जसबाट अनुकूलन र जलवायु परिवर्तनबीचको भिन्नता र अन्तरसम्बन्ध स्पष्ट बुझन मद्दत पुग्छ । यी दुवै अध्याय; जलवायु परिवर्तन अनुकूलनका क्षेत्रका अध्येता, विद्यार्थी, विकासकर्मी र सामाजिक अभियन्ताहरूका लागि विशेष उपयोगी छन् । 

दोस्रो खण्डका तीनवटा अध्यायमा विगतका अभ्यासहरूको समीक्षा; निरन्तर अनुकूलन, क्रमिक परिवर्तन र रूपान्तरणको चरित्र तथा व्याख्या समेटिएको छ । अनुकूलन उत्थानशीलतामा रूपान्तरित हुनका लागि संगठनात्मक संरचना प्रस्थानविन्दु हुने लेखकको धारणा रहेको छ । सम्भावित जोखिमहरूको पहिचान गर्दै अनुकूलनका अभ्यासहरूको निरन्तरताका साथै यी अभ्यासहरू कार्यान्वयन गर्न नियमन प्रक्रियाहरूमा समसामयिक सुधार हुनुपर्दछ । 

प्रा. पेलिङले समुदायको जोखिम सामीप्यता, सुरक्षा र सहकार्यका लागि गरिने अनुबन्ध रूपान्तरणको उत्पे्ररक हुने प्रस्ताव गरेका छन् । विपत्को धक्कालाई उनी समुदायले आफैंलाई रूपान्तरण गर्ने विन्दुका रूपमा लिन्छन् । रूपान्तरणको प्रक्रिया बुझउन लेखकले विभिन्न सन्दर्भ, समुदायको अवस्था र घटनाक्रमलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।

विश्वको विभिन्न भू–भागमा विगतमा घटेका विपत्का घटनाहरूको विश्लेषणपछि जलवायु परिवर्तन र विपत् जोखिम न्यूनीकरणका विधि र प्रक्रियाहरू परिवार, समुदाय, क्षेत्र र समग्र राष्ट्रमा आएको सकारात्मक सोचबाट शुरू हुने गर्छ । विपत्का घटनालाई सुरक्षित भविष्यतर्फ जाने अवसरका रूपमा पनि बुझन सकिन्छ । सन् १९७० मा बङ्गलादेशमा आएको ‘भोला’ नामक समुद्री आँधी, १९९८ मा आएको निकारागुवाको आँधीबेहरी र २००५ मा संयुक्त राज्य अमेरिकाको न्यू आर्लियन्स राज्यमा आएको ‘कटरिना’ आँधीले गरेको व्यापक क्षतिलाई लिन सकिन्छ । यी विपत् पश्चात् ती ठाउँहरूमा विपत् न्यूनीकरणका लागि शुरू गरिएका नयाँ प्रयासहरूले स्थानीय जीवनयापन सुरक्षाको प्रत्याभूत गरेको थियो । यी सकारात्मक परिवर्तनको उदाहरणका पाठ हुन् ।

पुस्तकको तेस्रो खण्डमा लेखकले जलवायु परिवर्तनका सन्दर्भमा ‘अनुकूलन (एडप्टेसन) भनेको के हो ?’ भन्ने प्रश्नको व्याख्या प्रस्तुत गरेका छन् । यस खण्डका तीनवटै अध्यायमा अनुकूलनको अवधारणालाई क्रमैसँग— संगठनात्मक ढाँचाभित्र अनुकूलनका उपायहरूको एकीकरण; प्रकोप जोखिम प्रबन्धनका लागि प्रशासनिक व्यवस्था र प्रकोप जोखिम प्रबन्धनका लागि राष्ट्रिय स्तरको राजनीतिक सोच एवं नीतिनिर्माणको आवश्यकताका सम्बन्धमा प्रकाश पारिएको छ । 

जलवायु परिवर्तनका प्रभावसित अनुकूलन रहनुभन्दा जलवायु परिवर्तन सापेक्ष अनुकूलन उचित हुने पेलिङको तर्क छ । विश्वस्तरमै भएका अध्ययन र अनुसन्धानहरूले यस्तै असर पार्छ भन्ने प्रष्ट गर्न सक्दैनन् । कारक र असरहरूको व्याख्या हुन नसक्दा भविष्यमा जलवायु परिवर्तनका असरहरू के–कसरी देखिएलान् ? भन्नेबारे यकिन हुन सकिएको छैन । लेखक भन्छन्, ‘जलवायु परिवर्तनसँगै अनुकूलनका विधि र प्रक्रियाहरू परिवर्तन गर्न सकिने बाटो उपयुक्त हुन्छ ।’ कुनै भौगोलिक क्षेत्रमा, स्रोत व्यवस्थापन, पूर्वाधार वा जनजीविकासँग सम्बन्धित विभिन्न पक्षहरू चल्दै गरेका हुन्छन् । तसर्थ, अनुकूलन बहुआयामिक, बहुक्षेत्रीय र बहुविधागत अवधारणा र निरन्तर अभ्यास हो भन्ने बुझनु जरूरी हुन्छ भन्ने लेखकको तर्क छ ।

नेपालमा भौगोलिक, भौगर्भिक र जलवायुजन्य प्रकोपले विपत्का घटनाहरू निरन्तर ल्याउने गर्छन् । यस्ता विपत्ले जनधनको क्षति बढ्दै गएको सन्दर्भमा उत्थानशील विकासको अवधारणा अगाडि बढाउनु उपयोगी छ । केन्द्रीय तथ्याङ्क विभागले हालसालै (वि.सं. २०७३÷७४) नेपालमा जलवायु परिवर्तनका विभिन्न पक्षसित सम्बन्धित सर्वेक्षण गरेको छ । सो सर्वेक्षणले जलवायु परिवर्तनले गर्दा जनजीवन र जनजीविकामा नकारात्मक प्रभाव परिरहेको देखाएको छ । तथ्याङ्कले विभिन्न क्षेत्रका बासिन्दा र समुदायहरूमा जलवायु परिवर्तनको असर बहुआयामिक भएको र त्यो क्रमिक रूपले बढ्दै गएको प्रष्ट पारेको छ ।

जलवायु परिवर्तनका असर बढ्दै गएको सन्दर्भमा अब के गर्ने त भन्ने स्वाभाविक प्रश्न उठ्छ । जलवायु परिवर्तनबाट परेको असरको वास्तविकतालाई ध्यानमा राख्दै स्थानीय विकासका योजनाको तर्जुमा र तिनको कार्यान्वयनमा अनुकूलन र विपत् जोखिम न्यूनीकरणका उपायहरू समायोजन गर्नु जरूरी हुन्छ । संघीय संरचनाको मर्म र भावनाअनुरूप नेपालको संविधानमा स्थानीयस्तरको विकासका लागि स्थानीय तहको जिम्मेवारी तोकिएको हुँदा सो प्रयासमा जलवायु परिवर्तन अनुकूलन र विपत् जोखिम न्यूनीकरण समायोजन हुनुपर्ने तर्क पेलिङको पुस्तकले दिने एउटा सन्देश हो । 
(शुक्ला जल व्यवस्थापनका अध्येता हुन् ।)

२०७४ भदौ अंक_युद्धको विभीषिका र महिला_समीक्षक : अनुष्ठा श्रेष्ठ


युद्धको विभीषिका र महिला


पुस्तक : अ थाउजेन्ड स्पेलेन्डिड सन्स                      लेखक: खालिद होसेनी
प्रकाशक : रभरहेड बुक्स, २००७                                   पृष्ठ: ३८४
समीक्षक : अनुष्ठा श्रेष्ठ

युद्धका कूटनीति र चलखेलबारे कैयौं पुस्तक लेखिएका छन् । इतिहासको पानामा युद्धलाई वीरताको प्रतीक मानेको पनि पाइन्छ । तर युद्धको वास्तविकतालाई मूल्याङ्कन गर्दै यस्तो मान्यता ठीक हो कि होइन भन्ने निक्र्योल गरिन बाँकी नै छ । युद्धमा मृत्युवरण गर्ने हजारौं जनसाधारणको जीवनलाई बलिदानको रूपमा अथ्र्याइनु उचित हुन्छ ? अझ महिला र बालबालिकाहरूमाथि पर्ने युद्धको नकारात्मक असरलाई कसरी मूल्याङ्कन गर्ने ? यस्ता प्रश्न बारम्बार उठिरहे पनि आजसम्म कुनै ठोस जवाफ आएको छैन, बरु ड्रोनजस्ता अत्याधुनिक प्रविधिको आगमनले युद्धको नैतिकताबारे नयाँ प्रश्नहरू उठेका छन् (हे., ड्रोन विमानको आगमन र युद्धको नैतिकता, थोमस नागेल, मन्थन÷शिक्षक, जेठ २०७३) ।

खालिद होसेनीद्वारा लिखित उपन्यास अ थाउजेन्ड स्पेलेन्डिड सन्स मा युद्ध र महिलाबीचको सम्बन्ध मार्मिक रूपमा प्रस्तुत छ । सन् २००० मा प्रकाशित यो उपन्यास पन्ध्र सातासम्म न्यूयोर्क टाइम्स को बेस्ट सेलर सूचीमा पहिलो स्थान ओगट्न सफल थियो । अफगानी मूलका होसेनी उपन्यासकार मात्र नभई युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट डिग्री हासिल गरेका एक कुशल चिकित्सक पनि हुन् । सन् २००३ मा अफगानिस्तानको द्वन्द्वलाई आधार बनाएर उनले आफ्नो पहिलो उपन्यास द काइट रनर प्रकाशित गरेका थिए । द काइट रनर ले युद्ध र पुरुषको अनुभवलाई समेटेको थियो भने अ थाउजेन्ड स्पेलिन्डिड सन्स ले युद्धको सन्दर्भमा महिलाहरूले भोग्ने पीडालाई समेटेको  छ । 

युद्धको विस्तृतीकरण
पुस्तकमा सन् १९६० देखि २००० को दशकमा अफगानिस्तानका घटनाक्रम, तत्कालीन सोभियत युनियनको अतिक्रमणले निम्त्याइएको युद्ध, तालिवानको वर्चस्वदेखि संयुक्त राज्य अमेरिकाले तालिवान माथि गरेको आक्रमणसम्मको विस्तृत व्याख्या छ । मरियम र लैला यस उपन्यासका मुख्य पात्र हुन् । कथाको प्रारम्भमा यी दुई महिलाको जीवनशैलीमा आकाश–जमीनको भिन्नता हुन्छ । तर युद्धको चपेटामा परेपछि उनीहरू दुवै एक–अर्काबीच बाँधिन पुग्छन् । मरियमको जीवन बाल्यकालदेखि एकदमै कष्टकर हुन्छ । उनी आफ्नी गरीब, रोगी र अविवाहित आमासँग बस्छिन्, समाजबाट निकै टाढा । बेलाबेला भेटघाट हुने भए पनि बाबुले उनलाई आआफन  सन्तानसरह स्थान दिंदैनन् । मरियम १५ वर्षकी हुँदा रोगी आमाको पनि मृत्यु हुन्छ । त्यसपछि मरियमको बाबु छोरीको विवाह उनीभन्दा झ्न्डै २० वर्ष जेठो रसिद भन्ने जुत्ता व्यापारीसँग गरिदिन्छ । अब मरियम घरबाहिर सधैं बुर्का लगाएर मात्र निस्कन पाउँछिन् पति रसिदले उनलाई बारम्बार शारीरिक तथा मानसिक यातना दिन्छ । उनी कैयौं पटक गर्भपतनको शिकार हुन्छिन् । 

अर्की पात्र लैलाको बाल्यकाल शिक्षित र आधुनिक परिवारमा बित्छ । महत्वकांक्षी लैलालाई उनका पिताले उपलब्धिमूलक कार्य गर्नुपर्छ भन्ने हौसला दिन्छन् । तर एउटा बम आक्रमणमा लैला बाबुआमा समेत आफ्नो सर्वस्व गुमाउँछिन् । टुहुरी लैलालाई छिमेकी रसिद र मरियमले हेरचाह गर्न थाल्छन् । लैला रसिदको दोस्री पत्नी बन्न बाध्य हुन्छिन् र मरियम जस्तै शारीरिक र मानसिक यातनाको शिकार हुन्छिन् मरियम र लैलाको सम्बन्ध शुरूमा चिसो भए पनि परिस्थितिले ती दुईलाई एक–अर्काको नजिक ल्याउँछ । उनीहरूबीच विश्वासपूर्ण मित्रता मौलाउँछ ।

सरल र सटिक उपन्यासको कथावस्तु बुझन असहज छैन । पुस्तकले अफगानिस्तानको सामाजिक, राजनीतिक र आर्थिक अवस्थाबारे जानकारी दिन्छ ।  युद्ध  निम्त्याएका हृदयविदारक घटनाहरूको विवरण पढ्दा पाठक भावविह्वल हुन्छन्, अफगान विद्रोही र सोभियत युनियनबीच भएको १० वर्ष लामो युद्धमा अफगानी जनताले धेरै दुःख खप्नुप¥यो । कैयौं युवाले अकालमा ज्यान गुमाए, लूटपाट बढ्यो र धेरै महिला बलात्कृत भए । लैलाले आफ्ना बाबुआमा, दुई दाजु र मिल्ने साथी गुमाउनु प¥यो । आफ्नो अस्तित्व जोगाउन रसिद जस्तो क्रूर व्यक्तिसँग अनमेल विवाह गर्नुप¥यो । 

तालिवानले अफगानिस्तानमाथि कब्जा जमाएपछि मुलुकको अवस्था झ्न् दयनीय बन्न थाल्यो । युद्धको कालखण्ड अगाडि अफगानी महिलाले उल्लेखनीय अधिकार पाएका थिए तर तालिवानको शरिया कानून लागू भएपछि उनीहरूको जीवन कष्टपूर्ण बन्न थाल्यो । महिलाहरू शिक्षा र राजनीतिबाट पूरै वञ्चित भए । उनीहरूलाई घरबाहिर काम गर्न अनुमति भएन । आफूलाई बुर्काले ढाकेर पुरुष नातेदारसँग मात्र उनीहरू घरबाट निस्कन पाउँथे ।  कानूनको पालना नगरे कोर्रा हान्नेदेखि ढुंगाले हिर्काएर मार्नेसम्मको सजाय दिइन्थ्यो । तालिवानको नियन्त्रणपछि मरियम र लैलाको कठिन जीवन अझ् अप्ठेरोमा घचेटियो । उनीहरूसँग केही गर्ने पनि स्वतन्त्रता थिएन र दबिएर बस्नु प¥यो । घरबाट एक्लै बाहिर निस्केको अभियोगमा लैलाले कैयौं पटक कोर्रा खानु परेको थियो । 

महिला हिंसा र शून्य मानवता
पुस्तकले महिलामाथि हुने हिंसा बढ्दै जाँदा, अफगानिस्तानमा मानवता शून्य हुन पुगेको हो कि भन्ने आभास दिन्छ । पुस्तकको विषयवस्तुले पाठकलाई अफगानिस्तानबारे अझ् जानकारी लिने इच्छा जगाउँछ । त्यति मात्रै होइन युद्धको असर त्यसको अन्त्य भएको कैयौं वर्षसम्म रहने वास्तविकता पनि खुलाउयँछ । युद्धले सामाजिक र आर्थिक विकास पछाडि त पार्छ नै, प्रभावित क्षेत्रका बासिन्दालाई लामो समयसम्म मानसिक तनाव पनि दिइरहन्छ । तालिवान शासनले अफगान महिलाहरूलाई कैदीसरह राखेको थियो । उनीहरू आउने–जाने ठाउँ कतै पनि थिएन । हिजोआज अन्तर्राष्ट्रिय हस्तक्षेपले तालिवानको शक्ति केही क्षय गराएको छ । फलस्वरुप अफगानी महिलाका निम्ति स्कूलहरू पुनः सञ्चालन भएका छन् र उनीहरूले भोट हाल्ने अधिकार पनि पाएका छन् । यद्यपि अहिले पनि अफगानिस्तानका विभिन्न क्षेत्रमा तालिवानको प्रभावले गर्दा कैयौं अफगानी महिलाहरू यस्ता अधिकारबाट वञ्चित नै छन् ।

लेखक भन्छन्— युद्ध र तालिवान अतिक्रमण बाहेक अफगानिस्तानको सामाजिक संरचना पनि महिलामाथि विभेदको कारण हो । घरमुली पुरुषले महिलालाई नियन्त्रण गर्छन् र महिलाहरू घरेलु हिंसाको शिकार हुन्छन् । दक्षिण एशियाका अन्य मुलुक जस्तै अफगानिस्तानमा छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिइन्छ । रसिदले लैलाको पहिलो सन्तान छोरी हँुदा हेलाँको दृष्टिले हेरेका थिए भने छोरालाई आँखाको तारासरह मानेका थिए ।  बालविवाह र अनमेल विवाह अफगानका गम्भीर सामाजिक कुरीति हन् । यस्तै कुरीतिका कारण मरियम अनमेल र बालविवाह दुवैको भागिदार हुन पुगिन् । सानै उमेरमा गर्भवती मात्रै होइन उनले बारम्बार गर्भपातको शिकार पनि हुनुप¥यो । अफगानिस्तानमा मरियम जस्ता थुप्रै बालिका छन् जो आफ्नो परिवारको इज्जत धान्न गरीबीको कारणले बालविवाह गर्न बाध्य छन् ।  

महिला अधिकार
अफगानिस्तानमा महिलाहरूले सन् १९१९ मै भोट हाल्ने अधिकार पाएका थिए । १९६० देखि राजनीतिमा प्रवेश गर्ने अर्थात् उम्मेदवार हुने मौका पनि दिइएको थियो । सन् ७० को दशकमा आइपुग्दासम्म शहरी क्षेत्रमा बस्ने अफगानी महिलाले धेरै स्वतन्त्रता पाइसकेका थिए । उनीहरू पुरुषसरह विश्वविद्यालयमा अध्ययन गर्थे र विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान दिन सफल थिए । उनीहरूले लगाउने पोशाकमा पनि खासै बन्देज थिएन । तर १९७९ को सोभियत अतिक्रमण पछि शुरू भएको राज्य र विद्रोहीबीचको द्वन्द्वसँगै अफगान महिलाहरूले आफ्ना सारा अधिकार गुमाए । युद्ध र गृहयुद्धले त्यस मुलुकलाई थप अँध्यारोतर्फ धकेल्यो । राजनीतिक अवस्था स्थिर भएको भए लैलाजस्ता महिलाहरूले शिक्षाको बाटो लिएर उल्लेखनीय कार्य गर्न सक्थे । 

होसेनीले प्रस्तुत गरेको अफगानिस्तानको कथाले केही गम्भीर प्रश्नहरू खडा गर्छ । के युद्ध र द्वन्द्वको बाटो प्रगतिको पथ हो ? आफ्नो शक्ति प्राप्तिका लागि हिंसाको बाटो कति उचित हुन्छ ? युद्धको समय महिला र बालबालिकाको सुरक्षा कसरी प्रत्याभूत गर्ने ? युद्ध पश्चात् महिलाको हकअधिकार सुनिश्चित कसरी राख्ने ? विश्वका विभिन्न युद्ध र द्वन्द्वरत कालखण्डमा महिला र बालबालिकाको जीवन कठिन बन्न पुगेका थुप्रै उदाहरण छन् । यौन शोषण र बलात्कार जस्ता घटना बाहेक मानव तस्करी र देहव्यापार जस्ता सामाजिक कुरीतिहरू बढ्दो छन् । युद्धको चपेटा छल्न महिलाहरू खतरनाक यात्रा गर्न बाध्य हुन्छन् । यस्ता परिवारहरूसँग दुईवटा विकल्पहरू हुन्छन्— आफ्नै देशमा बसेर गोली, बम र रसायन आक्रमणको शिकार हुने अथवा जोखिमयुक्त यात्रा गरी सुरक्षित ठाउँमा पुग्ने । युद्धले नागरिकहरूलाई कति लाचार र आशाहीन तुल्याउँछ भन्ने कुरा लेखक होसेनीले अत्यन्त मार्मिक ढंगबाट प्रस्तुत गरेका छन् । 

युद्धको अवशेष
विज्ञान र प्रविधिको ठूलो फड्को वर्तमान युगको वास्तविकता हो । यो प्रविधि युद्धमा भरपुर प्रयोग भएको छ । मानव इतिहासमा युद्ध नभएका होइनन् । तर आधुनिक प्रविधिको आगमन र प्रयोगका कारण हिजोआज हुने युद्ध विगतभन्दा धेरै घातक भएका छन् । विगतमा युद्धहरू जमीन, स्रोत र सीमा रक्षाका लागि हुने गर्थे भने हिजोआज शक्ति प्रदर्शन र विद्रोहीलाई दबाउन गरिन्छ । कारण जेसुकै होस्, आखिर मारमा पर्ने सर्वसाधारण जनता— त्यसमा पनि महिलाहरू हुन पुग्छन्; जसको कुनै दोष हुन्न । ठूल्ठूला बम प्रहार गरेर समृद्ध मुलुकहरू आफ्नो शक्तिको प्रदर्शन गर्छन् तर त्यसको प्रहारले एकैचोटि धूलो बनेको शहर, घाइते भएकाहरूको कथा हराउँछ, तिनको उद्धार कसले गर्छ भन्ने प्रश्न राजनीतिमा हराउँछ । हामी आफूलाई सभ्य ठान्छौं र ठीक–बेठीक छुट्याउने क्षमता छ भनेर गर्व पनि गर्छौं । तर पनि युद्ध र द्वन्द्वमा आमनागरिक र खासगरी महिला तथा बालबालिकाको अधिकार निरन्तर हनन् हुने गरेको छ । 

युद्धजस्ता द्वन्द्वलाई कतिले सकारात्मक रूपमा पनि लिने गरेका छन् । समाजलाई अघि बढाउन युद्ध आवश्यक छ भन्ने विचार प्रकट हुने गरेको पनि पाइन्छ । तर प्रश्न उठ्छ, आफ्नो सिद्धान्तलाई उच्च राख्न हिंसाको बाटोमा लाग्नु सही निर्णय हो ? हतियार उठाउने बित्तिकै कैयौं निर्दोष व्यक्तिहरू युद्धको भुमरीमा फस्छन् । युद्धको कारण नै लैलाले आफ्नो सम्पूर्ण परिवार गुमाइन् र विचलित अवस्थामा पुगिन् । लैला उपन्यासकी पात्र हुन् तर युद्धको कारण नजिकको सदस्य गुमाउने लैलाजस्ता लाखौं द्वन्द्वपीडितहरू आजको अफगानिस्तानमा छन् । यसर्थ, हतियार उठाउनुअघि नेतृत्वले युद्धले ल्याउने नतिजाको गहिरो मूल्याङ्कन गर्न सक्नुपर्छ । केही गलत भएको छ भने त्यसको विरुद्ध लड्न सक्नुपर्छ ।  युद्ध अन्य तरिकाले लड्न पनि सकिन्छ । शान्तिपूर्ण लडाइँहरू आफैंमा कम प्रभावकारी भएका छैनन् । तसर्थ युद्धको सट्टा वैकल्पिक बाटो रोजेर राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सकारात्मक परिवर्तन ल्याउन सक्नु आजको खाँचो भएको छ ।

अन्त्यमा
माओवादी द्वन्द्वको कालखण्डमा धेरै नेपालीले पीडा खपेका थिए, डर र त्रासले जीवन त्राहित्राहि बनेको थियो । थुप्रै युवाले ज्यान गुमाए, कति विदेश पलायन भए । घरका पुरुष सदस्यको मृत्यु र पलायनपछि महिलाहरूको काँधमा धेरै जिम्मेवारी थपियो । कलिलो उमेरमा लडाकू भएकाहरूले शिक्षा पूरा गर्न पाएनन् । हिंसात्मक द्वन्द्वको समाप्तिपछि नेपालले केही प्राप्त ग¥यो तर गुमाएका विषयहरू बिर्सन गाह्रो छ । लेखक होसेनीले उपन्यासको माध्यमबाट युद्ध र हिंसाको विरोध गर्दै कसैगरी पनि मानवअधिकार हरिनुहुँदैन भन्ने पैरवी गरेका छन् । 
(श्रेष्ठ वातावरण विज्ञान विषयकी अध्येता हुन् ।)

२०७४ भदौ अंक_जटिल समस्या टार्न सजिला नियम_समीक्षक : आश्रय दीक्षित

जटिल समस्या टार्न सजिला नियम

पुस्तक : सिम्पल रुल्स: हाउ टु थ्राइभ इन ए कम्प्लेक्स वल्र्ड    लेखक: डोनाल्ड सल र क्याथलिन आइजेनहार्ट
प्रकाशक : मेरिनर बुक्स, न्यूयोर्क, २०१५                              पृष्ठ : २८०
मूल्य : ११.६१ ४
समीक्षक : आश्रय दीक्षित

हरेक दिन हाम्रासामु गर्नुपर्ने कामका ताँती लाग्छन् । सामाजिक सञ्जालको माध्यमबाट विश्वको हरेक कुनाका खबर तत्काल हाम्रो शयनकक्षमा आइपुग्छन् । यस्ता सूचना हल्लासरी हुन्छन्, ज्ञानका स्रोत बनिसकेका हुँदैनन् । हामीले व्यक्तिगत हिसाबले विभिन्न चुनौती भोग्ने गर्छौं, स्थिति अप्ठेरो देखिन्छ । समाधान के हो, कसरी खोज्ने ? अझ् सरकार, व्यापार, अध्ययन–अनुसन्धान, सेवा प्रदान गर्ने जिम्मा लिएका अगुवालाई आफ्नो तहमा चुनौती झ्ेल्न गाह्रो हुन्छ, सन्दर्भ जटिल देखिन्छ, उचित निर्णय हुन सक्दैन ।

नेपालकै उदाहरण लिऊँ, आर्थिक समृद्धि र सामाजिक विकास सबैको चाहना हो । सरकारी दस्तावेजहरूको परिकल्पना छ— केही वर्षपछि नेपाल मध्यम आय भएको मुलुक बन्नेछ । उद्देश्य तोक्नु सही हो, तर त्यहाँ पुग्ने बाटो के हो ? विश्वका निर्धन मुलुकहरूमध्ये नेपाल एउटा हो र अस्तव्यस्तता हाम्रो वास्तविकता । भूकम्प गएको दुई वर्षभन्दा बढी भइसक्यो, पीडितहरू अझ्ै टहरामा बस्न बाध्य छन् । राजधानी आउने बाटा हरेक वर्ष पहिरोले जर्जर हुन्छन् । यात्रु अप्ठेरोमा त पर्छन् नै राजधानीको आपूर्ति व्यवस्था समेत जोखिममा पर्छ । केही महीना अगाडि धूलोले काठमाडौंमा प्रदूषण ह्वात्तै बढेको थियो, पानी परेपछि धूलो केही घटेको छ । हिलो र पानी जम्नाले जताततै कहालीलाग्दो स्थिति छ । जनताले पाउनुपर्ने सेवा नपाएका चुनौतीका चाङ छन् । विभिन्न स्तरमा प्रणालीको व्यवस्थापन हुनसकेको छैन ।

डोनाल्ड सल र क्याथलिन आइजेनहार्ट आफ्नो पुस्तक सिम्पल रुल्स ः हाउ टु थ्राइभ इन ए कम्प्लेक्स वल्र्ड मा व्यवस्थापनको दृष्टिकोणबाट जटिल लाग्ने चुनौतीसँग जुध्न साधारण नियम वा विधि उपयोगी हुने प्रस्ताव गर्छन् । उनीहरूको प्रस्ताव हाम्रा लागि पनि उपयोगी हुन सक्छ, यदि हामी देश र जनताप्रति निरन्तर जवाफदेही र समर्पित रहने हो भने । आम मान्यता के छ भने जटिल परिस्थितिसित जुध्न त्यस्तै जटिल र झ्न्झ्टिलो नियम आवश्यक पर्छ । तर लेखकद्वय भन्छन्, ‘त्यसो हुनु जरूरी छैन ।’

जटिल परिस्थितिले सिर्जना गरेका चुनौती सामान्य विधिबाट समाधान गर्न सकिन्छ भन्ने तर्क; झ्ट्ट सुन्दा अमिल्दो लाग्न सक्छ । तर सजिलो विधि भन्नुको अर्थ अर्थहीन विधि होइन । सजिलो र प्रभावकारी विधि त त्यो हो जुन बुझन, सम्झ्न र व्यवहारमा उतार्न पनि सजिलो हुन्छ । सजिलो नियमले हाम्रो ध्यान समाधानको बाटोतर्फ लैजान्छ, त्यसले सूचना छुट्याउन र बुझन पनि सजिलो पारिदिन्छ ।

सजिला नियम प्रयोग गरेर आफ्नो उद्देश्य प्राप्त गर्न सफल भएको एउटा उदाहरण जेजुइटहरू हुन् । १६औं शताब्दीमा जेजुइटहरूले आफ्नो प्रभाव विस्तार गर्न तीनवटा नियम बनाए । तीमध्ये दुइटा नियम थिए, यात्रामा निस्कने र शिक्षा प्रदान गर्न स्कूल निर्माण गर्ने । तेस्रो नियमले चाहिं जेजुइटहरूलाई क्याथोलिक चर्चका पादरीले जस्तो हरेक दिन प्रार्थना गर्नुपर्ने दायित्वबाट मुक्त ग¥यो । यसरी नियमले जेजुइटहरूलाई लचिलो र परिस्थिति अनुरूप अनुकूल रहन सहयोग ग¥यो । फलस्वरूप उनीहरूले दिन दुगुना रात चौगुना विश्वमा आफ्नो प्रभाव बढाए ।

लेखकद्वय भन्छन्, ‘हरेक व्यक्तिको ध्यान आफूले भोगेको सबैभन्दा महत्वपूर्ण चुनौती समाधान गर्न केन्द्रित हुन्छ ।’ उनीहरू थप्छन्, ‘साधारण नियम अनुसरण गर्दा अनावश्यक सूचनाले निर्णयलाई प्रभावित गर्न पाउँदैन । बरु सजिलो नियमले एउटा समुदायको सामूहिक व्यवहार तय गर्न र सदस्यहरूलाई एक–अर्काको अनुगमन गर्न सहयोग गर्छ ।’ यस प्रसंगमा विश्वका नाम चलेका शेफहरूको समुदाय एउटा गतिलो उदाहरण हो । शेफहरूको विश्वमा खानेकुराको पेटेन्ट हुँदैन । तर यो समुदाय पनि एउटा नलेखिएको नियम भने मान्ने गर्छ । एउटा शेफले प्रयोग गरेको परिकार वा सो तयार गर्ने तरिका एवं सामग्री उक्त शेफलाई जस नदिई या उल्लेख नगरी अर्कोले प्रयोग गर्दैन ।

नलेखिएको भए पनि यो नियम अनिवार्य कार्यान्वयन हुन्छ । एउटा शेफको परिकार अर्कोले नियम विपरीत प्रयोग ग¥यो भने शेफहरूको समुदायले उसलाई चेतावनी दिन्छ । नियम सजिलो छ, कार्यान्वयन व्यावहारिक पनि । यस्तो नियमले शेफ समुदायका सदस्यलाई आफ्नो कार्यप्रति समर्पित र सिर्जनात्मक रहन प्रेरणा दिन्छ ।

केही सिद्धान्तको आधारमा सजिलो नियम बनाउन सकिन्छ । पुस्तकका लेखकद्वय निर्णय प्रक्रियाबाट शुरू गर्न सुझव दिन्छन् । यस्ता नियम तीन थरी हुन्छन्ः के गर्नु स्वीकार्य हुन्छ (अंग्रेजीमा वाउन्ड्री नियम), के गर्नु महत्वपूर्ण छ (प्रायरटाइजिङ नियम) र के गर्दै नगर्ने (नट डुइङ नियम) । पहिलो अर्थात् ‘वाउन्ड्री’ नियमले एक–अर्कासित सम्बन्ध नभएका विकल्पबाट सही विकल्प छान्न सहयोग गर्छ । उदाहरणका लागि अमेरिकी शहरमा चोरहरू चोरी गर्न जानुअघि घर बाहिर गाडी पार्क गरिएको छ वा छैन हेर्छन् । कार पार्क गरिएको छैन भने मात्र ती चोरी गर्न थाल्छन् । दोस्रो नियमले विभिन्न विकल्पहरूबाट छानेर स्रोत लगानी कहाँ गर्ने निर्णय गर्न सहयोग गर्छ । यो नियमको कार्यान्वयन अघिल्लो भन्दा गाह्रो हुन्छ । यसमा लेखकहरू पाँचौं शताब्दीको रोमन साम्राज्यको उदाहरण दिन्छन् । त्यो साम्राज्यका न्यायाधीशलाई एक–आपसमा बाझ्एिका विभिन्न कानून र तिनको कानूनी व्याख्या गर्नुपर्ने विवशता थियो । त्यसनिम्ति वकीलहरूलाई उद्धृत गर्ने अर्थात् ‘साइटेसन’ गर्ने नियम प्रतिपादित गरियो । यो नियमले न्यायाधीशहरूले उपयुक्त कानून वा व्याख्या छान्ने चलन शुरू ग¥यो । तेस्रो नियम हो, गर्दै गरेको कार्य रोक्नु, जसले एउटै विषय दोहो¥याइरहने स्थिति र हरूवा बन्नबाट बचाउँछ । नेपालका चुचुरा चढ्ने पर्वतारोही यस्तो नियम प्रयोग गर्छन् । यदि कुनै समूह पूर्वनिर्धारित समयमा चुचुरामा पुगेन भने ऊ आधार शिविरतर्फ फर्किनुपर्छ ।

काम फत्ते गर्नका लागि वा उत्पादकत्व बढाउन खास प्रक्रिया अपनाउनुपर्छ । तसर्थ सजिला नियम बनाउनु महŒवपूर्ण कार्य हो । नयाँ सिर्जना गर्ने विधि स्थापित नभएको मुलुकमा नयाँ उत्पादनको डिजाइन गर्ने संस्कार कसरी स्थापना गर्ने ? लेखकद्वय दक्षिण अमेरिकी मुलुक चिलीको उदाहरण दिन्छन् । त्यहाँको सरकारले नयाँ उद्यम शुरू गर्ने विदेशी उद्यमीका लागि ‘उपयोगी समय नियम’ लागू गरेको थियो ः विदेशी उद्यमीहरूलाई काम गर्न निःशुल्क भिसा दिने, दुई महीनापछि तिनको कामको मूल्याङ्कन गर्ने र त्यसको चार महीनापछि तिनले आफ्नो ‘प्रस्ताव’ सरकारमा प्रस्तुत गर्ने । सजिलै गर्न सकिने यस्ता नियम सिर्जना प्रस्फुटन गराउन सहयोगी हुन्छन् । समयको नियमले कार्यनिर्धारण वा तोकिएको समयभित्रै उद्देश्य हासिल गर्न कहिले के गर्ने भन्ने निर्णय गर्न सहयोग पुग्छ ।

एउटै क्रियाकलापमा धेरै पक्ष सहभागी हुँदा विचार बाझ्निे र द्वन्द्व पनि हुने सम्भावना रहन्छ । त्यस्तो स्थिति सम्हाल्न संयोजनकारी नियम आवश्यक पर्छ । सिर्जनात्मक कार्य शुरू गर्ने समूहहरू त्यस्ता तीनवटा नियम प्रयोग गर्छन्, एक–अर्कासित नठोक्किने, आफ्नो छिमेकी हिंडेकै बाटोमा हिंड्ने र सकेसम्म छिमेकीसित नजिकै रहने । यस्ता नियमले सुन्दर सिर्जना गरेका थुप्रै उदाहरण छन् । हाम्रा समुदाय र घरपरिवारमा पनि थुप्रै सजिला नियम प्रयोग गर्ने गरिन्छ । यस्ता केही नियम प्राकृतिक छनोटबाट पनि तयार हुन्छन् । यद्यपि यस्ता नियमले कहिलेकाहीं समाजलाई नराम्ररी जकडेर राख्न पनि सक्छ । आफ्नो, छिमेकीको वा समुदायको अनुभव लिपिबद्ध गरेर पनि नियम निर्माण गर्न सकिन्छ । टोकियोको बृहत् रेलवे प्रणालीको डिजाइन एउटा खास जीवाणुको व्यवहार सरह गरिएको छ । जीवाणु जस्तै रेल छुट्टाछुट्टै चल्न सक्छन् र आवश्यक परेमा एकैपल्ट पनि । वैज्ञानिक अध्ययन, व्यक्ति र संगठनहरूबीच गरिने लेनदेनको अनुभवबाट पनि नियम तयार हुने गर्छन् ।

जेजुइटहरूले जस्तै हरेक संगठनले आफ्नो व्यवस्थापनका निम्ति सजिला नियम तयार गर्न सक्छन् । यस्ता नियम नयाँ संगठन निर्माण गर्न वा संगठनको व्यवस्थापन सुधार्न उपयोगी हुन्छन् । यसका लागि संस्था कसरी चल्नुपर्छ भन्ने प्रश्न उठाउनु जरूरी हुन्छ । उद्देश्य के हो ? सोचे जस्तो प्रभाव हासिल गर्न के–कस्ता कार्य आवश्यक छन् ? यसो भन्नुको अर्थ हो, संस्थानको कार्यक्षमता र त्यसको नियम बुझनु, व्यवधान के हो र कहाँ छ भनेर पहिल्याउनु । गर्नुपर्ने क्रियाकलाप थुप्रै छन् तर स्रोत कम छ भने कार्यमा व्यवधान निस्कन्छन् । यस्तो स्थितिमा रणनीति कसरी सफल बनाउने भन्ने प्रश्नको जवाफ जरूरी हुन्छ । तत्पश्चात् संस्थानका लागि सजिला नियम तयार गर्नुपर्छ । त्यसमा नियमबाट बाँधिने सबै सहभागी हुनु जरूरी पनि । धेरैलाई सजिला नियम संगठनको अगुवाबाट आउँछ भन्ने लाग्छ तर, वास्तवमा यस्तो नीति निर्धारण गर्ने जिम्मा संगठनका सदस्यहरूको हो, त्यो पनि सामूहिक रूपमा ।

पुस्तकका पछिल्ला परिच्छेदहरू पुराना नियम बदल्न र नयाँ बनाउन उपयोगी छन् । लेखकद्वयले प्रस्तुत गरेको सूत्र हो— सजिला नियम बनाउने र आवश्यकता अनुसार तिनलाई निरन्तर परिमार्जन गर्ने । पहिलो पटक बनाएको नियम व्यावहारिक नहुन सक्छ । किनभने शुरूमा नियम तयार गर्दा जानकारी र सूचना पर्याप्त हुँदैनन्, त्यस्ता नियमले काम नगर्न सक्छन् । अर्थशास्त्रमा नोबेल पुरस्कार हासिल गरेका ड्यानियल कहनेम्यान यस्तो नियमलाई तत्कालीन सोचको उपज भन्छन् । प्रभावकारी संगठनका सफल व्यवस्थापकहरू अनावश्यक नियम काट्छन् र आवश्यकलाई मात्र निरन्तरता दिन्छन् ।

सजिला नियम परिमार्जन गर्न अनुभव र विचार आवश्यक हुन्छ । तर परिमार्जन प्रभावशाली बनाउनु भनेको व्यक्ति वा संगठन दुवै सक्षम बन्नु हो । त्यसका लागि खेलको पुनर्कल्पना गर्दै नयाँ नियम निर्माण गर्नु आवश्यक हुन्छ । पुनर्कल्पनाको क्रममा विद्यमान संस्कार परिवर्तन गर्न चुनौतीपूर्ण हुन्छ । संगठनहरू समयानुकूल रहन सक्नुपर्छ र आफूले गर्दै गरेको खेलका नियम पुनर्कल्पना गर्दै नयाँ नियम लेख्न तयार पनि । नयाँ सजिला नियम बनाउन पुराना नियम भने हटाउनैपर्छ । संगठनभित्र कार्यरत व्यक्ति आफैंले कस्ता नियमले काम गरेको छैन भन्ने छुट्याउनु जरूरी हुन्छ, जुन रणनीति निर्माण गर्ने वा परिमार्जन गर्ने आधार हो ।

मुलुकले भोग्दै गरेको सामाजिक, आर्थिक, वातावरणीय र राजनीतिक चुनौतीको उपयुक्त समाधान खोज्नु नेपालको एउटा मुख्य चुनौती हो । नेपालीले विभिन्न स्तरमा समस्या समाधानका आफ्नै नियम बनाएका छन् । अगाडिको चुनौती यस्ता तौरतरिकालाई समाधानका वा नयाँ सिर्जनाका लागि सजिलो नियम बनाउनु हो । हाम्रा काम गर्ने तौरतरिका समस्या केन्द्रित भन्दा बढी भावनाबाट प्रभावित हुन्छन् । सिम्पल रुल्स ः हाउ टु थ्राइभ इन ए कम्प्लेक्स वल्र्ड ले चुनौती समाधान गर्ने र सफलताको बाटोमा लाग्ने विधिसम्मत व्यावहारिक उपाय प्रस्तुत गरेको छ । व्यवस्थापनका यस्ता विधिहरूको प्रयोग र परिमार्जन नेपालीलाई उन्नतिको बाटोमा लाने एउटा आधार बनाउन सकिन्छ । 
(दीक्षित फ्लेचर कलेज, यूएसएमा अध्ययनरत छन् ।)

Monday, July 3, 2017

२०७४ असार अंक_महिला नेतृत्व विस्तार_समीक्षक : शोभाकुमारी यादव

महिला नेतृत्व विस्तार

पुस्तक : लिन–इन : ओमेन, वर्क एण्ड द विल टु लिड
लेखक : शेरिल सान्डवर्ग                                       प्रकाशक : पेन्गुइन ¥यान्डम हाउस, यूके, २०१५
पृष्ठ : ३३२                                                            मूल्य : १२.९९ पाउण्ड स्टर्लिङ
समीक्षक : शोभाकुमारी यादव

शेरिल सान्डवर्ग फेसबूक कम्पनीकी प्रमुख सञ्चालन अधिकृत हुन् । यसअघि उनी ग्लोबल अनलाइन सेल्स एन्ड अपरेसन को उपाध्यक्ष र संयुक्त राष्ट्रसंघको सचिवालयकी कर्मचारी थिइन् । सान्डवर्गको पुस्तक लिन–इन महिलाको काम, नेतृत्व र सशक्तिकरणलाई केन्द्रविन्दु बनाएर लेखिएको छ । पुस्तकमा महिला र पुरुषबीचको नेतृत्व वहन गर्ने क्षमता र समानताका मुद्दा स्पष्ट र सरल भाषामा प्रस्तुत गरिएको छ । पुस्तक सान्डवर्गको व्यक्तिगत र व्यावसायिक जीवनको अनुभवको सँगालो पनि हो । ‘किप इट स्वीट एन्ड सिम्पल’ सिद्धान्तमा लेखिएको पुस्तकमा ११ खण्ड छन् । मार्क जुकरबर्गले पुस्तकलाई ‘स्मार्ट, इमानदार र चाखलाग्दो’ भनी टिप्पणी गरेका छन् ।

पुस्तकमा महिलाले कसरी आफूलाई मद्दत गर्न सक्छन् अनि जीवनशैलीमा आएको परिवर्तनले विश्वव्यापी रूपमा के कस्तो प्रभाव पारिरहेको छ भन्ने उदाहरण प्रस्तुत गरिएका छन् । महिलाहरूले सफल र सन्तुलित जीवनयापन गर्ने क्रममा गर्ने गल्तीबारे पनि पुस्तकमा औंल्याइएको छ । त्यस्तो गल्तीका केही उदाहरण हुन्— आफूले आफैंलाई कमजोर ठान्ने, आत्मविश्वासको कमी, आफ्नो हक र अधिकारको लागि आवाज नउठाउने तथा समय अगावै पेशा त्याग्ने । कतिपय विश्वप्रसिद्ध महिला यस्ता चुनौती र बाधा छिचोल्दै अगाडि बढेका दृष्टान्त पनि पुस्तकमा छन् । लेखिका भन्छिन्, “महिला नेतृत्वको विकास गर्दा कार्यक्षेत्रको वातावरणमा सुधार आउँछ ।” शेरिल आफ्ना पाठक; विशेषगरी पुरुषहरूलाई थप जिम्मेवारी वहन गर्दै महिला नेतृत्वलाई बढावा दिन उत्प्रेरित गर्छिन् ।  

प्रगतिपथको बाधक
हरेक युवतीलाई आफ्नो पेशा आगाडि लैजान दुईथरी आधार आवश्यक पर्छ— सल्लाहकार र प्रायोजक । महिलाहरू कुनै पनि काम गर्नुअघि पुरुषको अनुमति लिन कुर्छन्, तर धेरैले सही सल्लाह पाउँदैनन् । यस विपरीत, पुरुषहरू आफ्नो काममा ध्यान दिन्छन्, काम अगाडि बढाउँछन् । लेखिका भन्छिन्, “महिलाले पनि पुरुषले जस्तै कामका लागि सल्लाहकार नचाहिने संस्कारको थालनी गर्नु जरूरी छ ।”

डर महिला प्रगतिको प्रमुख बाधक हो । महिलाहरूले भोग्ने डर निम्न किसिमका छन्— फैसला गलत हुने डर, नकारात्मक सोच आउने डर, अरूले केही भन्ला भन्ने डर, अरूबाट अवमूल्यन भइने डर, सफल आमा हुन नसकिएला भन्ने डर, इमानदार कर्मचारी बन्न बाधा उत्पन्न होला कि भन्ने डर आदि । फलस्वरूप अधिकांश महिला आफ्नो पेशाको शुरूमै हतोत्साही हुन्छन् । अर्कोतर्फ; पुरुषसँग सहकार्य गर्दै अगाडि बढेका महिलाका उदाहरण पनि छन् । त्यसले मनमा रहेको डर हटाउन सके भने महिला पनि पुरुषसरह दक्ष नेतृत्व प्रदान गर्न सक्छन् भन्ने पुष्टि गर्छ । 

सामान्यतया के धारणा प्रचलित छ भने पुरुषको सफल व्यावसायिक र व्यक्तिगत जीवन हुन सक्छ तर महिलाको हकमा यो लागू हुँदैन । अर्थात् के ठानिन्छ भने उनीहरू परिवार र आफ्नो कामप्रति एकै साथ सक्षम हुन सक्दैनन् । त्यसैले महिलाले आफ्नो काम वा परिवारमध्ये एउटालाई छान्नुपर्छ । लेखिका तर्क गर्छिन्, यो पुरानो धारणामा परिवर्तन ल्याउनुपर्छ र महिलाले पुरुषसरह समान अवसर पाउनुपर्छ । महिलाहरू कमजोर हुन्छन् भनेर हतोत्साह गर्ने होइन, हरेक काममा दक्ष र सक्षम छन् भन्ने सकारात्मक सोच राखेर प्रोत्साहन दिनुपर्छ । महिलाहरूको डर मेटाउन पुरुषले सहयोग गर्नुपर्छ । घर र कार्यालयमा अनुकूल वातावरण बनाएर महिलाहरूलाई समान अवसर प्रदान गर्नुपर्ने सान्डवर्गको ठम्याइ छ । आफ्नो डर हराएकै कारण प्रस्तुत पुस्तक पाठकसमक्ष आउन सकेको उनी बताउँछिन् ।

आफूले आफैंलाई शंका गर्ने प्रवृत्तिलाई ‘इम्पोस्टर सिन्ड्रोम’ भनिन्छ । महिला र पुरुष दुवैमा यो प्रवृत्ति पाइए पनि महिलाहरूमा यो स्वभाव धेरै हुन्छ । इम्पोस्टर सिन्ड्रोम विशेषगरी कामकाजी महिलाहरूमा बढी पाइने गरेको पुस्तकमा उल्लेख छ । आफूमाथि विश्वास कम भएकै कारणले महिलाहरू आफ्नो सफलताको श्रेय भाग्य वा पुरुष पात्रलाई दिन्छन्, जुन गलत हो । तर यसको उल्टो पुरुषहरू आफ्नो सफलताको श्रेय आफ्नै कार्यकुशलता, दक्षता र ज्ञानलाई दिने गर्छन् ।

सफलताको प्रमुख सूत्र आफूमाथि विश्वास गर्नु रहेको सान्डवर्गको भनाइ छ । महिलाहरूले हरेक क्षेत्रमा पुरुषसरह हात उठाएर आफ्ना लागि बोल्नुपर्छ । आफूभित्रको खूबी देखाउनुपर्छ । साथै, हरेक संस्थाले महिलालाई प्रोत्साहन गर्ने र उनीहरूको हकहित सुरक्षित गर्नुपर्छ । लेखिका आफ्नो हात माथि राख्न महिलाहरूलाई प्रोत्साहन गर्छिन् । 

पुस्तकले पेशालाई जीवनसँग जोडेको छ । पेशा चुनौतीहरूले भरिभराउ हुन्छ, सोेझे सिंढी नभएर जंगल जस्तै हुन्छ, जसलाई क्रमैसँग छिचोल्दै जानुपर्छ । लेखिका प्रभावकारी बन्ने दुईवटा उपायहरू प्रस्तुत गर्छिन्— पहिलो, जीवनमा दीर्घकालीन उद्देश्य राख्नुपर्छ तर उद्देश्य विशिष्ट हुनुपर्दैन । अर्को सूत्र हो, १८ महीने योजना बनाउनु । लेखिका भन्छिन्, “आफ्नो उद्देश्य प्राप्ति हेतु सहयोगी सीप हासिल गर्न सो समय सदुपयोग गरिनुपर्छ । उद्देश्यलाई मूर्तरूप दिन योजना र कार्यविधि आवश्यक पर्छ । त्यसका लागि नयाँ सीप र कला सिक्नु जरूरी छ । हामी सबैमा आफूलाई सुधार्ने र जोखिम लिने क्षमता हुन्छ । जोखिम लिने, आपूmले आफैंलाई दिने चुनौती उन्नतितर्फ अग्रसर हुन महŒवपूर्ण छन् ।”

सफलता र लोकप्रियता
सफलता र लोकप्रियता महŒवपूर्ण सूत्र हुन् । महिलाको सफलता र लोकप्रियताबीचको सम्बन्ध नकारात्मक हुन्छ भने पुरुषका लागि सकारात्मक । के मानिन्छ भने पुरुष निर्णायक र सञ्चालनकर्ता हुन्छ भने महिला दयालु र संवेदनशील । यिनै असमान अपेक्षाले गर्दा महिलाहरू जहिले पनि आलोचना बेहोर्ने गर्छन् । उनीहरू परम्परागत धारणाको दायराबाट पुरुषसरह आफ्नो हकहित, फाइदा र लाभको कुरा गर्छन् तर सफल हुँदैनन् । कार्नेगी मेलोन विश्वविद्यालयले गरेको अध्ययनअनुसार ५७ प्रतिशत पुरुष विद्यार्थी आफूले पाउने तलब र सेवा सुविधाबारे जागिर दिने सम्भावित कम्पनीसँग शुरूमै छिनोफानो गर्छन् भने ७ प्रतिशत महिलाले मात्र त्यस्तो चर्चा अघि बढाउँछन् । यति मात्र होइन; अपेक्षित सेवा–सुविधा पाउनका लागि महिलाहरूले आफूलाई प्रमाणित गर्नुपर्ने हुन्छ भने पुरुषहरूलाई सहजै प्राप्त हुन्छ । आलोचनाको सामना गर्न सक्नु महिलाहरू अघि बढ्ने बलियो सूत्र हो ।

सत्य, भरपर्दो सूचना र संवाद सफल जीवनको आधार हो । घर या कार्यालय सबैतिर यो यथार्थ लागू हुन्छ । सूचना र संवाद— व्यक्तिगत तथा व्यावसायिक सम्बन्ध बनाउने मजबूत आधार हो । अरूले भनेको कुरा सुन्न सक्ने क्षमताले अन्तरक्रिया सृजनशील बनाउँछ । दक्ष र सफल महिलाहरूले छोराछोरी जन्माउने विचारले समय अगावै पेशा छाड्ने गरेको लेखिकाको अनुभव छ । प्रायः महिलाहरूले नयाँ अवसरलाई नस्वीकारी निर्णय लिन्छन् । फलस्वरूप नेतृत्व लिने दक्ष र शिक्षित महिलाको ठूलो अभाव छ ।

सान्डवर्ग भन्छिन्, “महिलालाई बाहिरी कामकाजमा प्रोत्साहन गरेजस्तै पुरुषलाई पनि घरको काम गर्न प्रोत्साहन गर्नुपर्छ । आफ्नो जीवनसाथीलाई महिलाहरूले हरेक कार्यमा साझ्ेदारी गराउनैपर्छ । घरपरिवार र बच्चा महिलाहरूको मात्रै जिम्मा होइन पुरुष पनि जिम्मेवार बन्नुपर्छ । महिलाले भोग्ने धरातलमा पुरुष आउनै पर्छ । महिला र पुरुषबीचको समानता परिभाषित गर्न कठिन छ तर सम्बन्धलाई घडीको पेन्डुलम जस्तै यता–उता हुन दिनुपर्छ । महिला र पुरुषबीचको साझ्ेदारीबाट सन्तति समेत लाभान्वित हुनेछन् ।”

व्यवहार परिवर्तन गर्न सक्नेले नै आफ्नो संस्थालाई परिवर्तन गर्न सक्छन् । सानो हस्तक्षेपले पनि मान्छेलाई फरक तरिकाबाट व्यवहार गर्न हौस्याउँछ । अचेतलाई सचेत बनाउन मद्दत गर्छ । छलफल नगर्नु पराजय स्वीकार्नु हो जुन प्रगतिको बाधक हुन्छ । हामीले आफ्नो भनाइ प्रस्तुत गर्नु र सुन्नु दुवै आवश्यक छ । तर हरेक चर्चामा लैङ्गिक मुद्दा उठाउनु जरूरी छैन, यद्यपि यसप्रति सचेत हुनुपर्छ ।

साँचो समानता तब मात्र सम्भव छ जब महिलाहरू हरेक सरकारी वा गैर–सरकारी संस्थाको उच्च स्थानमा पुग्छन् । त्यसैले हामीले चुनौती स्वीकार गर्ने र पेशा अगाडि लैजाने महिलाहरूलाई प्रोत्साहित गर्नुपर्छ । सबैलाई बराबर प्रोत्साहन प्राप्त नभएसम्म मौका बराबर हुने छैन चाहे त्यो महिला होस् या पुरुष । जबसम्म महिला र पुरुषले बराबर प्रोत्साहन पाउँदैनन् तबसम्म दुवैले आफ्नो वास्तविक क्षमता चिन्न सक्दैनन् ।

अन्त्यमा सान्डवर्ग भन्छिन्, “धेरै महिलाहरू मथिल्लो पदमा पुग्ने इच्छा गर्दैनन् ।” धेरैभन्दा धेरै महिला नेतृत्वदायी भूमिकामा पुग्न सके भने तिनले अवसरको फाइदा उठाउन सक्ने दावी पुस्तकमा गरिएको छ । महिला अधिकार र महिला सशक्तिकरणका क्षेत्रमा काम गर्ने जोकोहीलाई पुस्तक ज्ञानवद्र्धक छ र सामान्य पाठकलाई पनि रुचिकर लाग्नेछ । 
(यादव महिला सशक्तिकरण र जलवायु परिवर्तनकी अध्येता हुन् ।)

२०७४ असार अंक_विपद व्यवस्थापनमा सूचनाको भूमिका समीक्षक : रवि वेञ्जु

विपत् व्यवस्थापनमा सूचनाको भूमिका


पुस्तक : करेज इन केओसः अर्ली रेस्क्यु एन्ड रिलिफ आफ्टर द अप्रिल अर्थक्वेक
लेखक : योगेश राज र भाष्कर गौतम                 प्रकाशक : मार्टिन चौतारी, २०१५
पृष्ठ : ८९                                                           मूल्य: ३५० रुपैयाँ
समीक्षक : रवि वेन्जू

१२ वैशाख २०७२ सालको भूकम्पले मध्य नेपाललाई क्षत–विक्षत पा¥यो । उद्धार र राहतमा विभिन्न संघ–संस्था, समुदाय तथा व्यक्ति संलग्न थिए । राष्ट्रियस्तरबाट मात्र नभई अन्तर्राष्ट्रियस्तरबाट पनि सहयोगीहरूको सहभागिता थियो । उद्धार र राहत स्वस्फूर्त रूपमा अगाडि बढेको थियो, कमी–कमजोरी हुँदाहुँदै पनि । भूकम्पले ल्याएको क्षत–विक्षत अवस्था, आमनागरिकहरूको व्यवहार, धैर्य र आफ्नो सामान्य जीवनमा फर्कन गरेको प्रयास एवं नेपाल सरकारले गरेको राहत र उद्धार क्रियाकलापको सामाजिक लेखाजोखा हो, करेज इन केओसः अर्ली रेस्क्यु एन्ड रिलिफ आफ्टर द अप्रेल अर्थक्वेक । मार्टिन चौतारीद्वारा प्रकाशित यो ६६ पृष्ठको पुस्तकका लेखक योगेश राज र भाष्कर गौतम हुन् । भूकम्प गएको केही सातापछि गरिएको विश्लेषण अन्य विपत््पछिका राहत, उद्धार र व्यवस्थापनका कार्यहरू प्रभावकारी बनाउन पनि उपयोगी छ ।

अध्ययन अवधारणा
विश्लेषणका लागि पुस्तकले ‘रप्चर अनुसन्धान अवधारणा’ प्रयोग गरेको छ । लेखक भन्छन्, यो अवधारणा प्राकृतिक प्रकोप वा मानव सिर्जित विपत््हरू विश्लेषण गर्न उपयोगी छ । यो अवधारणाअन्तर्गत भूकम्पले जस्तो तत्काल विनाश ल्याउने घटनालाई निम्न प्रकारले हेरिन्छ— पहिलो, विनाशपछि तङ्ग्रिने क्रममा पीडा बढाउने प्रक्रिया दोहोरिन्छ कि दोहोरिंदैन ? दोस्रो, अनुसन्धानले कसले, केलाई ‘रप्चर’ वा विच्छेद भन्छन् भन्ने प्रसङ्ग केलाउनुपर्छ किनभने हरेकलाई एकै किसिमले प्रभाव पार्दैन । तेस्रो, यस्ता विनाशका असर तत्काल प्रष्ट हुँदैनन् । तिनलाई ऐतिहासिक परिवेशमा हेर्नुपर्छ ।

भूकम्पले धेरै क्षति गरेका तीन जिल्लामध्ये भक्तपुरको जेन्ला, काठमाडौंको गोंगबु र ललितपुरको लेलेमा गरिएको अध्ययनमा आधारित भएर पुस्तक लेखिएको छ । जेन्ला ऐतिहासिक शहर हो र त्यहाँका संरचनाहरू २०औं शताब्दी अगाडि निर्माण भएका थिए । गोंगबु १९८० को दशकपछि विकसित हुन थालेको क्षेत्र हो । जेन्लाका घरहरू माटोको जोडाइ र काठ प्रयोग गरी निर्माण भएका थिए भने गोंगबुमा सिमेन्ट र कंक्रिट प्रयोग भए पनि आधुनिक निर्माणका मापदण्ड प्रयोग गरिएका थिएनन् । लेले ग्रामीण बस्ती हो । जेन्ला बहुसंख्यक नेवार समुदायको बस्ती हो भने लेलेमा बाहुन, क्षेत्री, तामाङ, नेवार र दलितहरूको बसोबास छ । गोंगबुमा भिन्न–भिन्न समुदायका मानिस बस्छन्, कुनै खास सामाजिक संरचना छैन ।

अध्ययनले विपत्् व्यवस्थापनमा गरिने निम्न अभ्यासको लेखाजोखा गरेको थियो— सूचना संकलन तथा सम्प्रेषण, क्षति भएका संरचनाको मूल्याङ्कन गर्ने आधार, राहत, उद्धार तथा पुनःनिर्माण प्राथमिकीकरणको निर्णय प्रक्रिया, पुनर्लाभलाई प्रभावित गर्ने बाधा अड्चनहरू र विद्यमान सामाजिक र राजनीतिक परिवेश । यस्ता विषयहरू केलाउँदै पुस्तकले कमी–कमजोरीहरू कसरी हुन पुगे र भविष्यमा के सुधार गर्ने भन्ने विषय समेट्ने प्रयास गरेको छ ।

कमजोर राज्य–व्यवस्था
भूकम्पपछि राहत र उद्धारमा राज्यस्तरबाट अपनाइएको कार्यविधि कमजोर रह्यो । लेखक भन्छन्, “राहत र उद्धारमा स्रोत र साधनको सीमितता थियो तर उपलब्ध स्रोतको पनि उचित परिचालन हुन सकेन । जनस्तरबाट गरिएको सहयोग र सद्भावना सराहनीय थियो । भूकम्पपश्चात् लुटमारका खासै घटना भएनन् ।”

पुस्तकमा भनिएको छ— सरकारी संगठनले कहाँ, के र कस्तो विवरण छ भन्ने जानकारी नराख्दा उद्धार र राहत उचित ढङ्गले हुन सकेन । यो नै समस्याको मूल जड हो । जोखिमयुक्त क्षेत्रहरूमा सङ्कलन गरिएका तथ्याङ्क प्रयोग गर्न सकिने खालका थिएनन् र भूकम्प प्रभावित स्थानहरूमा जोखिमयुक्त परिवार कहाँ बस्छन् र त्यस्ता परिवारको यकिन संख्या जस्ता विवरणहरू नहुनु अन्य कमजोरी थिए । भूकम्प आउनुभन्दा अगाडि स्थानीयस्तरमा सङ्कलित तथ्याङ्कलाई सरकारले प्रभावकारी ढङ्गबाट उपयोग गर्न सकेन, उपलब्ध तथ्याङ्कहरू बिर्सेर सरकार नयाँ सङ्कलन गर्नतिर लाग्यो ।

कमजोरी सूचना परिचालनमा मात्र रहेन, स्रोत र साधन परिचालनमा पनि भए । गरीब तथा पिछडिएका क्षेत्रमा राहत पुगेन । सरकारी योजना र तरिका त्रुटिपूर्ण एवं अव्यवस्थित भएकोे लेखकको निष्कर्ष छ । राजनीतिक तथा सरकारी हस्तक्षेपका कारण पीडितहरूको वास्तविक आवश्यकता पहिचान हुन सकेन । केही राजनीतिक दल तथा सरकारी निकायको स्वार्थ हावी हुन पुग्यो । त्यति मात्रै होइन राहत वितरणमा असमानता देखियो । राज्यले वितरण गर्ने भनिएको कोषलाई उदाहरणका रूपमा लिन सकिन्छ । कोषले सबैलाई बराबर रकम दिने नीति तोक्यो । स्पष्ट थियो; अति प्रभावित र अति विपन्न समुदायलाई न्याय हुने थिएन यस्तो नीतिले । यस अर्थमा कुनै पनि विपत््ले हरेक क्षेत्र र समुदायलाई समान रूपमा असर गर्दैन भन्ने मूलभूत ज्ञानबाट राज्य चुकेको देखिन्छ ।

विपत्को बेला राज्यका निकायहरूबीचको समन्वय महŒवपूर्ण विषय हो । तर भूकम्पपछिको राहत र उद्धारमा विभिन्न सरकारी निकायहरूबीच समन्वयको कमी टड्कारो थियो । स्थानीय तथा जिल्लास्तरीय समन्वय हुन नसक्दा राज्यको एकद्वार राहत वितरण नीति सफल हुन सकेन । स्थानीय संघ–संस्थाहरूले राहत र उद्धारमा सहयोगी भूमिका खेल्ने हुँदा ती संस्थाहरूसँग राज्यको समन्वय हुनु जरूरी छ, तर लेखकका अनुसार त्यसो हुन सकेन । 

अगाडिका चुनौती
भूकम्पपछि स्थिति सुध्रिनुको साटो पीडितहरू अझ् पीडा भोग्दैछन् । विपत््को दुई वर्ष भइसक्दा पनि उल्लेख्य हिसाबले पुनःनिर्माणमा प्रगति हुनसकेको छैन । धेरैजसो भूकम्प पीडित परिवारहरू त्रिपालमुनि बस्न बाध्य छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कामले गति नै लिन सकेको छैन । शहरी विकास मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्म एक प्रतिशत पीडितले पनि सरकारी निर्देशन अनुरूप आफ्नो घरको पुनःनिर्माण सम्पन्न गरेका छैनन् ।

राज्यस्तरबाट गरिएको राहत र उद्धारका क्रियाकलापको लेखाजोखा गर्दै लेखक भन्छन्, “विद्यमान सामाजिक तथा राजनीतिक सन्दर्भका कारण ती प्रभावकारी भएनन् ।” विपत्् व्यवस्थापनलाई सामाजिक, आर्थिक, ऐतिहासिक तथा प्राविधिक विषयहरूको सम्मिश्रणको रूपमा नहेरी एकाङ्की रूपमा हेर्दा सो हुन गएको लेखकको निक्र्योल छ । उनीहरू भन्छन्, “हाल देखिएका कमी–कमजोरी भविष्यमा दोहोरिनुहुँदैन, अन्यथा भविष्यमा हुने विपत््बाट प्रभावित हुनेहरूले झ्न् ठूलो पीडा भोग्नेछन् । सञ्चार समन्वय र सम्प्रेषणको क्षेत्रमा मनग्य सुधार आवश्यक छ ।”

विपत्् व्यवस्थापनलाई चुस्त बनाउन राज्यका निकायहरूले आधारभूत तथ्याङ्कहरू दुरुस्त राख्नुपर्छ ताकि आवश्यक पर्दा तिनको उपयोग गरी उद्धार र राहत मात्रै होइन पुनर्लाभ र पुनःनिर्माणका क्रियाकलाप प्रभावकारी बनाउन सकियोस् । लेखक थप्छन्, व्यवस्थित राहत र उद्धारका लागि जिल्ला तथा स्थानीय तहमा स्थायी आपत्कालीन कार्य व्यवस्था गर्नु जरूरी छ । आवश्यकता अभिलेखको मात्र होइन, तिनको उपलब्धता र तिनका बारे जानकारी राख्ने क्षमताको पनि हो । लेखक द्वयले उद्धार र राहत सम्बन्धी यस अध्ययनले प्रचलित दुई अवधारणाबारे थप खोतलखातल गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । ती हुन्— स्थानीय सन्दर्भ र संस्था । अध्ययनले के देखायो भने स्थानीय र गैर–स्थानीय संस्थाबीचको सम्बन्धले व्यवस्थापनका क्रियाकलापलाई कि त सहयोग पु¥याउँछन् कि नकारात्मक हिसाबले प्रभावित गर्छन् । स्थानीय संस्थाहरू कसरी परिवर्तन भइरहेका छन् भन्ने सन्दर्भ नियमित अनुगमन गरी तिनको क्षमता आकलन गर्नुपर्छ ।

यो पुस्तकमा अगाडि सारिएका निक्र्योलहरू विपत्् व्यवस्थापनका लागि महŒवपूर्ण छन् । पहिलो पाठ हो, नेपाली समाजमा हुँदै गएको परिवर्तनको क्रम सूक्ष्म रूपमा निरन्तर अध्ययन गर्ने प्राज्ञिक संस्थाको आवश्यकता । विपत््का विभिन्न पक्षबारे भएका मौलिक अनुसन्धान सरकार बाहिरका संगठनहरूबाट भएको छ, विश्वविद्यालयहरूबाट होइन । यस अर्थमा अध्ययन–अनुसन्धान गर्ने संगठनहरूको जगेर्ना एवं स्याहार–सुसार जरूरी छ । तर बिडम्वना के हो भने नेपालमा ज्ञान सिर्जनाको यो पक्ष विस्तारै ओझ्ेलमा पर्दैछ । दातृ निकायहरूको सहयोग ज्ञानको खोजीभन्दा तिनको आफ्नो संस्थागत चासोले बढी निर्देशित देखिन्छ । विदेशी सहयोगको यो पक्ष थप विवेचनाको विषय हो । दोस्रो, कुन विपत््ले कसलाई, कसरी असर गर्छ भन्ने विषय गहन रूपमा अझ्ै बुझन बाँकी छ । तेस्रो, विपत्् सम्बन्धी अध्ययन–अनुसन्धानका लागि नेपालमा आवश्यक आर्थिक स्रोत उपलब्ध छैनन् । न सरकारले सो उपलब्ध गराउँछ न त विकास निर्माणमा संलग्न दातृ–निकाय वा बहुराष्ट्रिय निकायहरूले नै । 

विपत्बारे रणनीति र निर्देशिका तयार गरिएका छन् तर गोरखा भूकम्पले के देखायो भने नेपाल सरकार यसका निकायहरू त्यस विपत््सित जुध्न तयार थिएनन् । वास्तवमा गोरखा भूकम्पले भन्दा कम विनाश गरेका बाढी, पहिरो तथा अन्य विपत््का अनुभवले पनि व्यवस्थापन फितलो भएको पुष्टि गर्छन् । नेपाल बहुप्रकोप भोग्ने मुलुक हो, तसर्थ विपत्् व्यवस्थापन चुस्त हुनैपर्छ । सामाजिक र आर्थिक विनाश कम गरी सुरक्षित भविष्यको बाटोमा लाग्न विपत् व्यवस्थापन मात्रै होइन, जोखिम पनि न्यून पार्दै जानु जरूरी छ । यस क्रममा भूकम्पलगायत अन्य प्रकोपका विभिन्न पक्षहरू अध्ययन–अनुसन्धान र नियमित मन्थनका विषय बन्नुपर्छ । अन्यथा, हामी कमी–कमजोरी दोहो¥याइरहने छौं र विपत्बाट नेपाली समाजको समृद्धि यात्रा प्रभावित भइरहनेछ । योगेश राज र भाष्कर गौतम यस्तो बाटोमा नलाग्न सचेत गराउँछन् ।
वेन्जू विपत् अनुसन्धानकर्मी हुन् ।

२०७४ असार अंक_कसरी होला पूँजीवादको अन्त्य ? समीक्षक : क्रफर्ड किलियन, नेपालीमा अनुवाद : अजय दीक्षित

कसरी होला पूँजीवादको अन्त्य ?


पुस्तक : हाउ विल क्यापिटलिज्म इन्ड ?                     लेखक : वोल्फगाङ्ग स्ट्रीक
प्रकाशक : वेर्सो, २०१६                                                 पृष्ठ : २७२
मूल्य : १७.७३ यूएस डलर
समीक्षक : क्रफर्ड किलियन

नाम नखुलेका कुनै विद्वानले कतै भनेका छन्, ‘संसारको अन्त्य कल्पना गर्न सजिलो छ, पूँजीवादको छैन ।’ तर सात दशक उमेरका अर्का विद्वान वोल्फगाङ्ग स्ट्रीक भन्छन्, “पूँजीवादको अन्त्य अवश्यम्भावी छ र त्यो छिटो आउँदैछ ।” पूँजीवादको अन्त्य भएपछि त्यसलाई कुन व्यवस्था वा वादले प्रतिस्थापित गर्छ भन्नेबारे उनी स्पष्ट छैनन् । वास्तवमा उनको परिकल्पनामा कुनै विकल्प छैन । स्ट्रीक समाजशास्त्री हुन् र जर्मनस्थित म्याक्स प्लाङ्क इन्ष्टिच्यूट फर स्टडी अफ सोसाइटी का इमिरिट्स निर्देशक ।

पूँजीवाद अवसानको विवरण स्ट्रीकको पछिल्लो पुस्तक हाउ विल क्यापिटलिज्म इन्ड ? को विषय हो । पुस्तकको विश्लेषण थमस पिकेट्टीको क्यापिटल इन ट्वान्टी फस्र्ट सेन्चुरी भन्दा अगाडि गएको छ । (पिकेट्टीको पुस्तक समीक्षा शिक्षक, २०७३ पुसमा उपलब्ध छ) दुइटा विश्वयुद्धले तहसनहस पारेको पूँजीवाद फेरि तङ्ग्रिंदै छ भन्ने पिकेट्टीको तर्क स्ट्रीक मान्दैनन् र भन्छन्, ‘पूँजीवादको पुनर्ताजगी होइन अन्त्य हुँदैछ ।’

स्ट्रीक भन्छन्, “पूँजीवाद आफ्नै खतरनाक दुश्मन हो र यसले आफूलाई बचाउने सबै बाटा र राहतका सम्भावना भत्काएको छ ।” पुस्तकको शुरूमा उनी लेख्छन्, पूँजीवादको अन्त्य हजारौं घाउबाट हुने मरणसरह कल्पना गर्न सकिन्छ । लेखकको थप तर्क छ, “न त पूँजीवादको प्रभावकारी विरोधका अवशेष छन् न प्रचलित व्यवस्थालाई कसले प्रतिस्थापित गर्छ भन्ने कुनै ढाँचा इतिहासको कुनामा कुरेर बसेको अवस्था छ । एकातिर पूँजीवादका बग्रेल्ती गल्ती छन् भने अर्कोतिर सीमित व्यक्तिमा पूँजीको बढ्दो सञ्चय हुनु पूँजीवादलाई आत्महत्या गराउने आफ्नै कारण बन्न पुगेको छ ।”

पूँजीवाद समाप्त हुँदैछ भने विकल्प के हो त ? स्ट्रीक भन्छन्, माक्र्सवाद वा प्रजातान्त्रिक समाजवादमा फर्किएर त्राण पाइने छैन किनभने त्यो सम्भावना अब छैन । उनी थप्छन्, “पूँजीवादको हाल चल्दै गरेको संकट अन्तिम हुनेछ त्यसपछिको कालखण्डमा समाजवाद वा अरू कुनै परिभाषित सामाजिक ढाँचा होइन बरू लामो उथलपुथलले निरन्तरता पाउनेछ ।”

पाँच घटना, तीन संकट
आफ्नो तर्क पुष्टि गर्न लेखक रोमन साम्राज्यको पतन र सामन्तवाद उदयको उदाहरण दिन्छन् । रोमको दासत्वमा आधारित आर्थिक प्रणालीको पतनपछि पर्खालभित्रका नगर, किल्ला भित्र बनेका राज्य र उत्तरबाट आएका आप्रवासी बार्बेरियन शासित क्षेत्रको उदय भयो र अराजक सरदार शासनमा रहे । यो क्रम सदियौं चल्यो । युद्धका सरदार अर्थात् वार लर्डस्हरू आफूलाई ‘सिजर’ को रूपमा परिभाषित गर्थे र साम्राज्यको पतन भएको छैन भन्ने ढोङ रचाउँदथे । (जुलियस सिजर रोमका राजनीतिज्ञ र जनरल थिए, रोम गणतन्त्रको समाप्ति र रोम साम्राज्यको निर्माणमा तिनको अहं भूमिका थियो ।)

स्ट्रीक भन्छन्, पूँजीवादले हिजोआज भोगिरहेको संकट विगतका पाँच वटा घटनाका प्रतिफल हुन् । ती घटना हुन्— मन्दी, कुलीनतन्त्रद्वारा नियन्त्रित पुनर्वितरण व्यवस्था, सार्वजनिक क्षेत्रको लुट, भ्रष्टाचार र भूमण्डलीय अराजकता । यी समस्या पछिल्ला तीनवटा कारणले गर्दा अझ् व्यापक बनेका छन् । सन् १९७० को दशकको मुद्रास्फीति, सन् १९८० को दशकमा सार्वजनिक ऋणमा भएको व्यापक वृद्धि र तत्पश्चातका दशकको निजी ऋण वृद्धि जसले सन् २००८ मा विश्व वित्तीय व्यवस्था धरासायी तुल्यायो । यी घटना छुट्टाछुट्टै देखिए पनि यी सबैले अन्ततोगत्वा पूँजीवादलाई घाटमा पु¥याउँछन् भन्ने स्ट्रीक तर्क गर्छन् ।

फुट्न थालेको फोको
श्रमिक संगठनहरू चेपुवामा छन् । अस्थायी विदेशी कामदार र अन्य आप्रवासीहरूले यस्ता संगठनका क्रियाकलापलाई अप्ठेरो पारेका छन् । श्रम संगठनको उत्थान गर्नुको अर्थ बेरोजगारीलाई कमजोर रोजगारीले प्रतिस्थापन गर्नु भन्ने बुझ्न्छि । महँगो शिक्षा व्यवस्थाले युवाहरूलाई श्रम बजारमा पु¥याउँदैन, बरू बाहिरै राख्छ । महिलाहरूलाई काम गर्न उत्प्रेरणा गरिन्छ र तिनले कर पनि तिर्छन् । यसै पनि आफ्नो जीवनस्तर निरन्तर राख्न मध्यमवर्गीय परिवारका श्रीमान् र श्रीमती दुवैथरीले काम गर्नुपर्छ । काममा गएपछि उनीहरू केटाकेटीको रेखदेखका लागि आप्रवासी धाईहरूलाई काममा लगाउँछन् जसलाई प्रचलित दरभन्दा कम तलब दिए पुग्छ । तर केही समयपछि धाईहरू आफ्नै मुलुक फर्काइन्छन् र आप्रवास राजनीतिक मुद्दा बन्छ । अमेरिकामा राष्ट्रपति ट्रम्पको विजय र ब्रेक्जिट भोट यस्तै घटनाक्रमका प्रतिफल हुन् ।

स्ट्रीकका निबन्ध केही वर्षअघि लेखिएका हुन् । त्यसो हुँदा वर्तमानका कतिपय प्रसंग पुस्तकमा संलग्न छैनन् । उनी भन्छन्, “एशिया वा युक्रेनका कुलिनहरूको तुलनामा अमेरिकाका कुलीनहरू सत्ता बाहिर रहेर सार्वजनिक प्रशासन, न्याय व्यवस्था र निर्वाचित सरकारको सञ्चालन व्यावसायिक राजनीतिज्ञद्वारा भइरहेकोमा सन्तुष्ट थिए ।” सन् २०१६ नोभेम्बर ८ मा यो स्थितिमा परिवर्तन आयो । आफूले भनेको नमान्ने व्यावसायिक राजनीतिज्ञहरूलाई राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको मन्त्रिपरिषद्को माध्यमद्वारा अमेरिकी कुलीनहरूले विस्थापित गरिदिए ।

एउटा निबन्धमा स्ट्रीक सन् १९७० को दशकको आर्थिक संकटले कसरी वर्तमान संकट नित्याउन पुग्यो भन्ने विश्लेषण गर्छन् । दोस्रो विश्वयुद्धपछिको पश्चिमी यूरोप र अमेरिकी अर्थव्यवस्था टिकाउ वस्तुहरू व्यापक रूपले उत्पादन गर्ने र खरीद गर्न सक्ने मूल्यमा उपलब्ध गराइने ढाँचामा (अंग्रेजीमा ‘फोर्डिजम’ भनिने) आधारित थियो । यो व्यवस्थाले बजारमा टिकाउ सरसामान आवश्यकभन्दा बढी उपलब्ध गरायो । उदाहरणका लागि सन् १९६० तिर अघिल्लो पुस्ताले प्रयोग गरेका सरसामान तिनका छोराछोरीले प्रयोग गर्थे । १९८० मा निर्मित कपाल सुकाउने यन्त्र (हेयर ड्रायर) ले विना मर्मत अझ्ै पनि काम गर्छ ।

१९५० पछि जन्मेका पुस्ता (पश्चिममा बेबी बुमर भनिने) पाखा लाग्न थालेपछि यो ढाँचा निरन्तर हुन सकेन । समाधान स्वरूप पूँजीवादले नयाँ ढाँचा ल्यायो । हिजोआज त्यस्ता सरसामान निर्माण हुन्छन् जो कम समय टिक्छन् र हाम्रा आवश्यकताका साथै चाहना पनि परिपूर्ति गर्छन् । मध्यम वर्गीय मात्रै होइन निम्न मध्यमवर्गीय घरपरिवारमा रेफ्रिजेरेटर, लुगा धुने मेशीन जस्ता उपकरणको प्रयोग ह्वात्तै बढेका छन् । भान्छा कोठाको आवरण बदलिएको छ तर जीवन खासै फरक र सजिलो भएको छैन । यो बाटोले उपभोक्ताहरूलाई आफ्नो व्यक्तिगत चाहना र जीवनपद्धति सार्वजनिक हिसाबले व्यक्त गर्ने बाटो पनि खोल्यो ।

परिवर्तन उपभोक्ता सरसामानमा मात्रै होइन, सूचना क्षेत्रमा पनि भएको छ । स्ट्रीक भन्छन्, “दशकौंसम्म सार्वजनिक प्रसारण प्रणाली र केही निजी सञ्जालले सञ्चार व्यवस्थामा हालीमुहाली गरेका थिए । हिजोआज श्रोता र दर्शकहरूको ध्यान तान्ने र पैसा खर्च गराउन प्रतिस्पर्धा गर्ने सयौं निजी सूचना च्यानल छन् । सार्वजनिक प्रणालीहरू यस्ता माध्यमसित प्रतिस्पर्धा गर्ने प्रयास त गर्छन् तर सफल हुनसकेका छैनन् ।”

राजनीतिक प्रतिबिम्ब
स्ट्रीक अगाडि भन्छन्, “व्यक्ति झ्न्झ्न् व्यक्तिवादी बन्दै जाने क्रमले विश्वका सबै मुलुकलाई गाँजेको छ । आफ्नो परिवारले भोट दिएको पार्टीलाई अथवा कुनै पार्टीको नीति हेरेर अब हामी भोट हाल्दैनौं । हामी टलक्क चम्किने कार्यक्रम र विश्वस्तरको सेवासुविधाको अपेक्षा गर्छौं र आफूले रोजेको पार्टीले सो उपलब्ध गराउन सकेन भने असन्तुष्ट हुन्छौं । वास्तवमा हामी आफ्नो व्यक्तिगत अपेक्षा प्रेषित गर्ने राजनीतिका उपभोक्ता बनेका छौं तर आफ्नो मुलुकको वास्तविक सञ्चालन वा शासनमा सहभागी हुँदैनौं ।”

कार्लमाक्र्सले के अनुमान गरेका थिए भने साम्यवादले राज्यको अवसान गराउने छ । तर यसो भएन बरू पूँजीवादले राज्यको अवसान गरायो र गराउँदै छ । यस सिलसिलामा राज्यको दायित्व हुनेछ धनाढ्यहरूको रक्षा गर्नु र गरीबमाथि ‘प्रहरी राज्य’ चलाउनु । यसरी पूँजीवादले आफूलाई वैतरणी तारिदिने पात्रकै हत्या गर्न थालेको छ । अब फेरि बैंकहरू धरासायी भए भने बचाउ कसले गर्ने ? कृत्रिम मानव यन्त्र (रोबोट) को प्रयोगले आधिपत्य जमाएपछि वित्तीय ब्रह्माण्डका अगुवाहरूलाई कसले बचाउला ? र जब करदाताले प्रहरी–प्रशासन धान्ने कर तिर्न सक्दैनन्, सार्वजनिक सुरक्षा सेवास्तर खस्कन्छ सर्वसाधारण जनताको हित कसले हेर्ने ? धनीहरू त पर्खालभित्रको समुदायमा बसेर निजी सुरक्षा गार्ड राख्न थालिसकेका छन् ।

स्ट्रीक पूँजीवाद अवसानको एउटै कारण देख्दैनन्, न त यसको कुनै वारिस देख्छन् । युरोपेली युनियन विखण्डन होला, जलवायु परिवर्तनका कारण समुद्र तह बढेर दक्षिणी फ्लोरिडा एवं त्यहाँ अवस्थित वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मारा लागो महल डुब्न सक्छ । शरणार्थीहरू उत्तर अर्थात् युरोप, क्यानडा र अमेरिकातर्फ आइरहने छन्, पर्खाल र सुरक्षाकर्मी हुँदाहुँदै । आफ्नो नयाँ क्षेत्र बनाएर बस्नेछन् । विश्वलाई नयाँ महामारीले गाँज्नेछ तर कुनै निदान पाइने छैन । स्ट्रीक भन्छन्, “त्यस्ता विपत्हरूसित जुध्न कुनै राजनीतिक समुदाय हुने छैन ।” यस्ता समुदाय अबको सयौं वर्षमा तयार हुनसक्छन् तर यदि लेखकको तर्क ठीक हो भने पूँजीवादको अवसान हुँदै गर्दा वर्तमानका हामी र हाम्रा सन्तति त्यस्तो समुदायमा सहभागी हुन पाउने छैनौं ।

क्यानडाको ब्रिटिश कोलम्बियाबाट सञ्चालित प्रगतिशील झ्ुकाव राख्ने अनलाइन पत्रिका द टाइ बाट साभार गरिएको किलियन को माथिको समीक्षामा केही टिप्पणी थप्नु उचित हुन्छ ।

निश्चय पनि स्ट्रीकको विश्लेषण नै अन्त्य होइन । अन्य परिदृश्य पक्कै छन् । विगतमा पनि मानव भविष्य अन्धकार हुँदैछ, स्थिति नराम्रो बन्नेछ भन्ने थुप्रै भविष्यवाणी गरिएका थिए तर ती सत्य भएनन् । हालको स्थिति बढी अन्योल बनेको छ, जलवायु परिवर्तनको र भूमण्डलीयकरणको व्यापकताका कारणले । तर संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यमा भूमण्डलीकरणले हानि ग¥यो भन्दै सो प्रक्रियाबाट हट्ने सिलसिला जारी छ । फलस्वरूप विश्व परिवेश निकै जटिल र अनिश्चित बन्न पुगेको छ । नेपालको सन्दर्भमा पूँजीवाद अवसानको विश्लेषणलाई कसरी बुझनुपर्छ ? माओवादी द्वन्द्वपछि के भनिने गरेको छ भने नेपालमा सामन्तवाद अन्त्य भई पूँजीवाद आएको छ । स्ट्रीकले भनेजस्तै पूँजीवाद सङ्कटग्रस्त छ भने अब हाम्रो बाटो के हुनुपर्छ ? निरन्तर चिन्तन र मन्थनका विषय हुन्, यस्ता प्रश्न । 
नेपाली रूपान्तरणः अजय दीक्षित

Wednesday, April 26, 2017

२०७४ बैशाख अंक_स्वचिन्तनको प्रयास_समीक्षक : पुष्पनिधि गौतम

स्वचिन्तनको प्रयास 


समीक्षक : पुष्पनिधि गौतम

पुस्तक : यु आर द वल्र्ड                                                           लेखक: जिद्दु कृष्णमूर्ति
प्रकाशक : पेरेनियल÷हार्पर एण्ड रो, न्यूयोर्क, १९७३                  पृष्ठ : १५०

यूआर द वल्र्ड नामको पुस्तक दार्शनिक जे. कृष्णमूर्तिले दिएका प्रवचनहरूको सङ्ग्रह हो । पुस्तकमा कृष्णमूर्तिले ब्रान्डिज विश्वविद्यालय, क्यालिफोर्निया विश्वविद्यालय वर्कले, स्ट्यानफोर्ड विश्वविद्यालय र क्यालिफोर्निया विश्वविद्यालय सान्ताक्रुजमा दिएका १२ वटा प्रवचन समाविष्ट छन् । मानवीय समस्या, स्वतन्त्रता, मृत्यु, प्रेम आदिलाई उनले आफ्नो प्रवचनको विषयवस्तु बनाएका छन् भने केही मुख्य विषयहरूलाई बुँदागत रूपमा संक्षेपीकरण पनि गरेका छन् । प्रवचनका लागि धर्म—दर्शनका कुनै पनि पुस्तकको अध्ययन नगरेको दाबी कृष्णमूर्ति गर्छन् । आफ्ना अनुयायीहरूलाई पूर्वीय दर्शनले स्वीकारेको गुरु–चेलाबीच हुने ज्ञान साटासाटको बाटो नलिएर अनुसन्धानमूलक सहकार्य अगाडि बढाउन कृष्णमूर्ति आह्वान गर्छन् । उनी भन्छन्, “सँगै अगाडि बढौं र नयाँ अनुभूति गरौं ।” पुस्तकमा उनका मौलिक विचार प्रस्तुत गरिएका छन्, यद्यपि लेखकको विचारसँग सहमत नै हुनुपर्छ भन्ने छैन, असहमति जनाउन हामी स्वतन्त्र छौं ।

मानवीय समस्याहरूको उत्खनन्
संसारको जुनसुकै ठाउँमा रहे पनि मान्छेले समस्या झ्ेलिरहेकै हुन्छ । व्यक्ति, स्थान र समूहअनुसार समस्या फरक हुन्छन् । विकासोन्मुख मुलुकहरू गरीबी, भोकमरी, रोगव्याधी, अशिक्षा र अन्धविश्वास आदिबाट ग्रस्त छन् भने विकसित मुलुकहरू हिंसा, आतङ्क र अराजकता जस्ता समस्याबाट आक्रान्त छन् । लेखक भन्छन्, विकसित समाज अमर्यादित सुखमा डुबिरहेको छ भने विकासोन्मुख मुलुकका समाज भ्रष्टाचार र अनैतिकतामा । यी समस्यालाई हामी भिन्नभिन्न ढङ्गले हेर्छौं । तर लेखक भन्छन्, यी सबै एक–आपसमा जेलिएका छन् र समाधान एकमुष्ट खोजिनुपर्छ । समस्या उब्जिनुको पछाडि के–के कारण छन् भन्ने विषयमा कृष्णमूर्तिले विस्तृत व्याख्या गरेका छन् । लेखक तर्क गर्छन्, हरेक मानिस विचारद्वारा बाँधिनु प्रमुख समस्या हो । राजनीतिक, धार्मिक वा दार्शनिक समूमा आबद्ध हुनु र आफूलाई अरूद्वारा प्रतिपादित विचारको परिधिभित्र राख्नाले समस्या निम्तिन्छ भन्ने उनको थप तर्क छ ।

लेखक भन्छन्, अरूद्वारा प्रतिपादित विचारबाट हाम्रा समस्याको समाधान हुँदैन, बरु हामी त्यसनिम्ति अरूमा भर पर्छौं । जस्तै, विषयविज्ञ, धर्मगुरु, तन्त्रज्ञाता, वैज्ञानिक आदि । दुई हजार वर्षको अनुभवले हाम्रा समस्याहरू धर्म, तन्त्र, विषयविज्ञ आदिबाट समाधान हुँदैन भन्ने प्रमाणित भइसके पनि यो क्रम रोकिएको छैन । समस्या घट्नुको सट्टा दिनानुदिन बढ्दै गइरहेका छन् । सामाजिक अव्यवस्था, अनिर्णय र द्वन्द्वले निम्त्याएका समस्याहरू धार्मिक गुरु वा दोहो¥याई–दोहो¥याई गरिने मन्त्रोच्चारणबाट पनि समाधान हुन सक्दैन भन्ने विषय प्रमाणित भइसकेको बताउँछन् लेखक । समाजले हामी माथि धर्म र नैतिकताका नाममा थोपरेका नियमले नयाँ समस्याहरू जन्मिएका छन् । हामी यसरी थोपरिएका नियमलाई प्रश्न गर्दैनौं अनि आफ्ना समस्याका लागि आफैं जिम्मेवार बन्न पुग्छौं । समाधानका लागि आर्थिक, सामाजिक र मानसिक अप्ठेराहरूको जड पहिल्याउनुपर्छ । कुनै पनि मुलुकका मानिसले बेहोर्ने समस्या हुुन्— द्विविधा, अनिश्चितता र असुरक्षा । परम्परागत विधिहरूले मानिसलाई उल्लिखित समस्याको डटेर सामना गर्नुको सट्टा भाग्न सिकाएका छन् । समस्यासँग जुझनुपर्छ, सामना गर्नुपर्छ, भाग्नुहँुदैन– लेखक भन्छन् । समस्या समाधानका लागि निरपेक्ष रूपमा आफूभित्र हेर्न सक्नुपर्छ भन्ने कृष्णमूर्तिको ठम्याइ छ ।

डर : कारण र निवारण
कृष्णमूर्ति भन्छन्, मानिसका प्रमुख समस्यामध्ये एउटा हो, डर । जहाँ डर हुन्छ त्यहाँ आक्रोश हुन्छ । डर अत्यन्त हानिकारक, अस्पष्ट, अन्धकार र अनिर्णयको प्रतीक हो । दैनिकीसँग गाँसिएका चेतन मनका डरहरू— जस्तै, जागीर खोसिने, श्रीमान्÷श्रीमतीबीच पारपाचुके हुने, समाजमा एक्लिने आदि विना अर्थका हुन्छन् । यस्ता डर जीवनभर आइरहन्छन् जसको जालोमा जिन्दगी जकडिइरहेको हुन्छ । यस्ता डरलाई पन्छाउन नसक्दा मान्छे अनिश्चित, चिन्तायुक्त र दुःखी जीवन बाँच्न विवश हुन्छ । डर या त विगतका व्यवहारको उपज हो या अन्योल भविष्यबारे आत्मविश्वासको कमी । ‘डरबाट मुक्ति कसरी पाउने त ?’ भन्ने प्रश्न उठाउँदै लेखकले पुस्तकलाई जिज्ञासामय बनाएका छन् ।

व्यक्तिले डरको स्वरूप र प्रकृतिबारे जान्ने प्रयास गर्नुपर्छ जसले डरको सामना गर्न र त्यसलाई परास्त गर्ने बाटो खोलोस् । डर एक्लै आउँदैन खुशीसँगै समेटिएर आउँछ । त्यसैले खुशी रहनु मात्र डरको निराकरण होइन । विचारबाट मात्रै डरको निराकरण हँुदैन । विचारलाई आत्मसात् नगरी डरको सामना गर्नु सो हटाउने क्षणिक मात्र उपाय हो । भोकाएको मान्छेलाई खानेकुराबारे प्रवचन दिनु र खाना दिनु फरक भएजस्तै विचारलाई व्याख्या गर्नु र आत्मसात् गर्नु फरक विषय हुन् । गोमन सर्प खतरनाक छ भनेर सोच्नु र त्यसबाट टाढा रहने प्रयास गर्नु विचार हो भने, सर्प अगाडि पर्दा गरिने व्यवहार समस्याको सामना ।

कृष्णमूर्ति थप्छन्, दैनिक क्रियाकलापमा डर, त्रास र खुशी आदिलाई सचेत मस्तिष्कले जम्मा गर्छ भने सपनामा ती प्रकट हुँदै जान्छन् । यसको अर्थ हो हाम्रो मस्तिष्क निद्रामा पनि खुला, सचेत र सतर्क हुन्छ । यदि जागृत स्थितिमा सावधानी र सतर्कतापूर्वक डरलाई बाहिर निकाल्न सक्यौं भने डराउनु आवश्यक पर्दैन, शान्तपूर्वक निदाउन सकिन्छ । बिहान उठेपछि ताजा, अप्रबोध, सजिव दिमाग प्राप्त हुन्छ जसले व्यक्तिलाई खुशी र ऊर्जावान बनाउँछ ।

ध्यान र रूपान्तरण
ध्यान गर्नु समस्याबाट मुक्ति पाउने एउटा उपाय हो । त्यसनिम्ति दुःख, गरीबी, डर, त्रास र आतङ्कको स्थितिमा पनि मस्तिष्कलाई संवेदनशील र तीक्ष्ण राख्न सक्नुपर्छ । साथै; तर्क, शक्ति, पूर्ण सन्तुलित मानसिक अवस्था व्यवस्थित राखी क्रमबद्ध हिसाबले जानकारी लिनु आवश्यक हुन्छ भने अनुशासित र वस्तुगत ढङ्गबाट सिक्नु पनि  । लेखक थप्छन्, सतर्क र सन्तुलित मानसिक अवस्थाका लागि सामाजिक वन्धनमा वर्षौंदेखि जकडिएको दिमाग र निश्चित परिधिभित्र रहेर दोहो¥याइरहने व्यवहारबाट मुक्त हुनु आवश्यक हुन्छ । साथै सम्पूर्ण वस्तु र व्यक्तिहरूलाई विना पूर्वाग्रह हेर्न सक्नुपर्छ । अरूका दुव्र्यवहार र प्रशंसालाई छोड्नुपर्छ । आफूले आफैंलाई पनि त्यसरी नै हेर्नुपर्छ । आफ्नो मूर्खतालाई भित्रैदेखि स्वीकार्नुपर्छ भने आफूलाई बुद्धिमानीको जलप लगाउनुहुँदैन । यदि सतर्क हुन सकिएन भने म सतर्क छैन भन्न सक्नुपर्छ । यस्तो आभास हुनासाथ सतर्कता आफैं आउँछ ।

सबै किसिमका आस्थाबाट मुक्त भएपछि हामी लोभ, मोह, ईष्र्या आदिबाट मुक्त हुन्छौं । यस्तो स्थितिमा निर्भयतायुक्त र स्थिर विचार प्राप्त हुन्छ । अनन्त शान्ति प्राप्त गर्न सकिने यो अवस्थाको कुनै खास नाम भने छैन । यस्तो स्थिरता प्राप्तिका लागि स्वतन्त्रता चाहिन्छ । लेखक सुझव दिन्छन्, आफैैंैलाई प्रश्न गरौं— यो सम्भव छ कि छैन ? कुनै पनि प्रश्नबाट भाग्ने होइन सामना गर्नुपर्छ । उनी थप्छन्, ‘उत्तर छ वा छैनमा होइन, मैले परीक्षण गर्छु भन्ने हुनुपर्छ ।’ ‘म ईष्र्यालु छु’ भन्ने भाव र ईष्र्यालाई अलग राख्दासम्म द्वन्द्व हुन्छ । तर जब म नै ईष्र्या हँु भन्ने भावनाबाट आफूलाई ईष्र्यासँग एकाग्र गराउन सकिन्छ र त्यसलाई भित्रैदेखि स्वीकार्न सकिन्छ, ईष्र्या आफैं समाप्त हुन्छ । ईष्र्या एकाग्रतामा विलय हुन्छ । यसरी मस्तिष्कको भित्रैदेखि रूपान्तरण सम्भव हुन्छ ।

कृष्णमूर्तिको तर्क छ, हामीले हरेक वस्तुको काल्पनिक रूप तयार पार्छौं र त्यसैसँग सम्बन्ध राख्छौं । यसै कारण द्वन्द्व सृजना हुन्छ । हामी प्रत्यक्ष होइन काल्पनिक रूपसँग जोडिएको हुन्छौं । यो भ्रम पनि हटाउनु आवश्यक छ ।

स्वतन्त्रताको प्रश्न
स्वतन्त्रता के हो ? स्वतन्त्रताबारे लेखकले पटक–पटक दोहो¥याएर लेखेका छन् । व्यक्तिगत स्वतन्त्रता भनेको जे मन लाग्यो त्यही गर्न पाउनु होइन । खास विचारबाट प्रेरित भई स्वतन्त्रताका बारे लेखिएका दर्शन स्वतन्त्र होइनन् । सोचमग्न दिमागी अवस्था पनि स्वतन्त्र होइन । विचार स्वतन्त्रताको समाधान हुन सक्दैन भन्ने तर्क गर्छन्, लेखक । विचारहरूका कारण मानिस धर्म, राजनीति, नश्लवादी सङ्गठन आदिसँग सम्बन्धित हुनपुग्छ, जसले विभाजन निम्त्याउँछ, द्वन्द्व र समस्याहरूको सृजना गर्छ । मान्छेलाई स्वर्गको आश वा नर्कको त्रासले सही बाटोमा लगाउन सकेको छैन । दुई हजार वर्षदेखि मान्छेले आफ्ना विचारलाई स्थापित गराउन जुन प्रयास गरिरहेको छ त्यो अनुचित बन्धन हो, स्वतन्त्रता होइन भन्ने लेखकको धारणा छ । यसो भन्दै लेखकले विभिन्न धार्मिक सम्प्रदायका अनुयायीहरू, राजनीतिक विचारधारा वा दर्शन बोकेका मान्छेहरू स्वतन्त्र हुन नसक्ने तर्क गरेका छन् । अहिलेसम्म विभिन्न धर्म र सम्प्रदायका मानिसहरूले आफ्ना विचार थोपर्न गरेका अतिरञ्जित क्रियाकलापको कृष्णमूर्तिले खुलेर विरोध गरेका छन्, पुस्तकमा । यस्ता सबै विचार र सङ्ग्रहित ज्ञानबाट दिमागलाई मुक्त बनाई हरदम सचेत रहन सक्नु नै पूर्ण स्वतन्त्रता हो भन्ने उनको ठम्याइ छ । स्वतन्त्र र अबोध दिमागको कुनै सीमा हुँदैन जसभित्र यो विशाल संसार अटाउँछ । यस्तो स्वतन्त्रताबाट मनुष्यले हर क्षण असिम आनन्द प्राप्त गर्न सक्छ ।

अन्त्यमा,
कृष्णमूर्ति भन्छन्, मानिसको दिमागको ठूलो हिस्सा अनावश्यक विषय र विचारहरूले ओगटेको छ । संसारले मानेको सामाजिक व्यवस्थालाई उनी अव्यवस्थाको संज्ञा दिन्छन् । धार्मिक, राजनीतिक जेसुकै विचार होस् त्यो स्वतन्त्र हुन सक्दैन । ध्यानस्थ हुँदै आफ्नो दिमागलाई स्वतन्त्र बनाउन हरेक विषयलाई विना मूल्याङ्कन वस्तुगत ढङ्गबाट हेरिनुपर्छ भन्ने लेखकको जोड छ । सामाजिक धर्म गणितीय नियममा चल्दैन । आफूभित्रका अव्यवस्था, विरोधाभास, द्विविधा, संघर्ष आदिलाई सावधानीपूर्वक अध्ययन गरिनुपर्छ तर त्यहाँ निन्दा, मूल्याङ्कन र परीक्षण हुनुहुँदैन । लेखक भन्छन्, धर्मको प्रकृति सुन्दर र व्यवस्थित छ यो कुनै सामानजस्तो सङ्ग्रह गरिने विषय बन्न सक्दैन ।

कृष्णमूर्तिका सबैजसो प्रवचनमा दोहोरिएर आएका कतिपय प्रसङ्गले पुस्तकमा केही निरसता ल्याउँछ । दोहोरो अर्थ लाग्ने धेरै वाक्य पनि छन्, पुस्तकमा । तथापि धर्म, ध्यान, सुन्दरता र सामाजिक व्यवस्थाबारे जान्न र आफ्नो दृष्टिकोण बनाउन पुस्तक एउटा उपयोगी पाठ्यसामग्री भने छँदैछ । समाजलाई हेर्ने लेखकको दृष्टिकोण अत्यन्त पृथक् छ, जो पुस्तकमा प्रष्ट देखिन्छ । 
गौतम गणित विषय प्राध्यापन गर्छन् ।


२०७४ बैशाख अंक_जीव विकासका प्रमाणहरू_समीक्षक : डा. दिनेशराज भुजु

जीव विकासका प्रमाणहरू

समीक्षक : दिनेशराज भुजु

पुस्तक : द गे्रटेस्ट शो अन अर्थ ः द एभिडेन्स फर एभ्युलुसन             लेखक : रिचार्ड डकिन्स
प्रकाशक : ब्ल्याक सवन, यूके, २०१०                                                    पृष्ठ : ४८०
मूल्य : ९.४८ स्टर्लिङ पाउण्ड

जीव विकासका प्रमाणहरू दिनानुदिन थपिंदैछन्, तथापि ती कहिल्यै बलिया हुन सकेनन्” रिचर्ड डकिन्सको द गे्रटेस्ट शो अन अर्थ ः द एभिडेन्स फर एभ्युलुसन (जीव विकासका प्रमाणहरू) पुस्तकको भूमिकाको पहिलो वाक्य हो । सन् १९७६ मा डकिन्सको पहिलो पुस्तक सेल्फिस जीन (स्वार्थी वंशाणु) प्रकाशित भएपछि उनी निकै चर्चामा आए । डकिन्सको यो पछिल्लो पुस्तक ‘जीव विकासका प्रमाणहरू’ जीव विकास सिद्धान्तका प्रतिपादक चाल्र्स डार्विनको २००औं जन्मजयन्ती तथा उनको ओरिजिन अफ स्पेसिज (प्रजातिको उत्पत्ति) नामक प्रसिद्ध पुस्तक प्रकाशनको १५०औं वार्षिकोत्सवको अवसरमा छापिएको कृति हो ।

लेखक रिचर्ड डकिन्स प्राज्ञिक पृष्ठभूमिले डार्विनका अनुयायी त हुन् नै, सृष्टिवादका कटु आलोचक पनि । कुनै समय अक्सफोर्ड विश्वविद्यालयमा जीव विज्ञानका प्राध्यापक समेत रहेका रिचर्ड डकिन्स धार्मिक रीतिरिवाज र अन्धपरम्पराको विरोधमा खुलेरै अभियान चलाउँछन् । ईश्वरवादीलाई एक र अनीश्वरवादीलाई सात अङ्क दिने उनको मापनमा उनी आफूलाई ६.९ अङ्क दिने गर्छन् । सृष्टिवादले बाइबल वा धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार जीव र जगत ईश्वरीय सृष्टि हुन् भन्ने विश्वास राख्दै जीवनको विकासवादी सिद्धान्तलाई निषेध गर्छ । 
प्रजातिको उत्पत्ति
सन् १८५९ मा प्रकाशित चाल्र्स डार्विनको पुस्तक प्रजातिको उत्पत्ति विमोचनकै दिन सम्पूर्ण; १२५० प्रति नै बिक्री भएको थियो । डार्विनकै जीवनमा उक्त पुस्तकका ६ वटा संस्करण निस्किए; लोकप्रियताको चुलीमा त त्यो थियो नै; त्यसले त्यतिन्जेलसम्मका सम्पूर्ण मान्यतालाई पनि प्रतिस्थापित गरिदियो । के समाजशास्त्र, के अर्थशास्त्र, के धार्मिक दर्शन, सबैमा डार्विनको त्यो सिद्धान्तले हलचल ल्याइदियो । डार्विनले आफ्नो पुस्तकमा पृथ्वीमा पहिला एउटा सामान्य जीव पैदा भई त्यसबाट आजका यावत् जीवहरूको विकास भएको हो भन्ने विश्लेषण गरेका छन् । उनले त्यसनिम्ति प्रशस्त प्रमाण पनि राखेका छन् र कतिवटा अवस्थालाई परिकल्पनामा छाडेका छन् । डार्विनको उक्त विचार मीमांसा नै जीव विकासको सिद्धान्त बन्यो । त्यही समयको हाराहारीमा ‘पूँजी’ को दोस्रो भाग तयार पार्दै गरेका कार्ल माक्र्सले आफ्नो कृति चाल्र्स डार्विनको नाममा समर्पित गर्न चाहेका थिए । माक्र्सले डार्विनको सिद्धान्तलाई समाज विकासको व्याख्या गर्न अत्यन्त सहयोगी आधार मानेका थिए ।

रिचर्ड डकिन्सको यो पछिल्लो पुस्तक ‘जीव विकासका प्रमाणहरू’ मा कुल १३ वटा अध्याय छन् । पहिलो अध्यायको शीर्षक छ ‘मात्र एउटा सिद्धान्त ?’ कुनै पनि परिकल्पना (हाइपोथेसिस) प्रमाण जुटेर स्थापित भएपछि त्यो सिद्धान्त बन्छ । वैज्ञानिकहरू सिद्धान्तलाई यसरी नै बुझछन् । तथापि अक्सफोर्ड शब्दकोशले सिद्धान्तलाई ‘परिकल्पना’ वा कुनै ‘विचार’ भनेर दुइटा अर्थ लेखेको छ । सृष्टिवाद अर्थात् धर्मका अनुयायीहरूले जीव विकासको सिद्धान्तलाई वैज्ञानिकहरूले बुझउने अर्थमा नभएर; कसैको विचार भन्ने दोस्रो अर्थमा मात्र व्याख्या गरेको पाइन्छ । तर लेखक यस कुरामा असहमति जनाउँछन् र उनीसहित १६ जना विद्वान्, वैज्ञानिक र धर्मगुरुद्वारा हस्ताक्षरित प्रधानमन्त्री टोनी ब्लेयरलाई ध्यानाकर्षण गराइएको पत्र जस्ताको तस्तै पुस्तकमा समावेश गर्छन् । उनले यो अध्यायमा ‘तथ्य’, ‘थेरम’ आदि शब्दको दार्शनिक व्याख्या पनि गरेका छन् । उनले एउटा सर्वेक्षणको अङ्कलाई पनि जोडदार रूपमा उठाएका छन् । सन् २००८ मा गरिएको उक्त सर्वेक्षण अनुसार, (४० प्रतिशतभन्दा बढी अमेरिकीहरू मानिसलगायत सम्पूर्ण जीवको सृष्टि ईश्वरले गरेका हुन् भन्ने विश्वास गर्छन् । ती सर्वेक्षणमा समेटिएका मानिसहरू के पनि ठान्छन् भने पृथ्वीको उमेर अहिले १० हजार वर्ष पुगेको छ र हामी जसरी जुन रूपमा सिर्जना भयौं अहिलेसम्म त्यही रूप र ढाँचामा नै छौं । इतिहासको उपेक्षा गर्नेहरूको यो ठूलो जमातबाट वैज्ञानिक मात्र होइन, धार्मिक संस्थाहरू समेत चिन्तित हुनुपर्ने हो भन्दै लेखकले त्यसका निम्ति यो पुस्तक लेखेको बताएका छन् । डकिन्स, डार्विनको विकासवादी सिद्धान्तलाई ‘मात्र सिद्धान्त’ मा सीमित गर्न चाहँदैनन् ।

पुस्तकको दोस्रो अध्यायको शीर्षक छ— कुकुर, गाई र बन्दागोभी । यो अध्यायको पहिलो वाक्य एउटा प्रश्नबाट थालिएको छ, जीव विकासको सामान्य सिद्धान्तसम्म पुग्न डार्विनहरूलाई किन यति धेरै समय लाग्यो ? जीव विकासको सिद्धान्त त न्यूटनको गुरुत्वाकर्षण भन्दा पहिले प्रतिपादित हुनुपर्ने हो । जबकि जीव विकासको सिद्धान्त न्यूटनको भन्दा १५० वर्षपछि मात्र वैज्ञानिक समुदायमा झ्ुल्कियो । कारण पुष्टि गर्न लेखकले अर्का ठूला वैज्ञानिक अन्स्र्ट मायरको विचार समातेका छन् । मायर भन्छन्, “प्लुटोको आसक्ति ज्यामितिमा थियो जबकि ज्यामितीमा न खरायो अटाउँछ न अन्य प्राणी ।” तत्ववाद (इसेन्सालिज्म) ले फेरि खरायोलाई खरायो मात्र देख्छ, खरायो भन्दा बढी ऊ त्यसमा केही देख्दैन । यही घेराभित्र रहन पुगेका सम्पूर्ण वैज्ञानिक समुदायले जीव विकासको धागो उन्ने प्रयास नै गरेनन् । यस्तो एकोहोरोपनाले हामीलाई कतिसम्म हुस्सु बनाइदिन्छ भन्ने कुराको पुष्टि गर्दै लेखक २५ सेकेन्डको बास्केट बल खेलको एउटा भिडियोको चर्चा गर्छन् । उक्त भिडियो हेर्नुअघि दर्शकलाई भिडियोमा बास्केट बल भुईंमा कतिचोटि बजारिन्छ वा छुन्छ, गन्ती गर्न भनिन्छ, दर्शक गन्तीमा लाग्छन् । भिडियोको मध्य भागतिर एउटा गुरिल्ला आउँछ र नाचेर जान्छ । तर बास्केटबलको गन्तीमा लागेका कोही पनि दर्शकले ऊ आएको र गएको भेउ पाउँदैनन् जबकि गुरिल्लाको भेषमा एकजना मानिस उक्त भिडियोमा नौ सेकेन्डसम्म देखापर्छ ।

जीव विकासको व्याख्यामा धेरैपल्ट प्रयोग हुने शब्द हो ‘प्रजाति’ अर्थात् ‘स्पेसिज’ । मानिस एउटा प्रजाति हो, बन्दाकोभी अर्को, बाघ एउटा प्रजाति हो भने आँपको रूख अर्कै । वैज्ञानिकहरू संसारमा यस्ता प्रजाति कति छन् भनेर यकिनका साथ भन्न सक्दैनन् । संसारमा १० लाखदेखि १ करोडभन्दा बढी प्रजाति भएको अनुमान गरिन्छ । यी प्रजाति प्रकृतिले सृष्टि गर्ने नभई ती आफैं प्रकृतिमा पैदा हुँदै जाने हुन् । उदाहरणका लागि खरायोको पुर्खा खोज्दै–खोज्दै गयौं भने धेरै टाढा पुगेपछि त्यो खरायोको रूप फरक भेटिन्छ । एउटा विन्दुमा पुगेपछि त्यो वंश–वृक्षको हाँगो नै बदलिन्छ । यसरी बदलिएको हाँगो समात्दै जाँदा चितुवातिर पनि पुग्न सकिन्छ ।

धेरैलाई के लाग्छ भने दुई फरक–फरक रङका एउटै प्रजातिका फूल मिसाउँदा मिश्रित रङ देखापर्छ । जस्तो, रातो र सेतो गुराँस मिसाउँदा रातो–सेतो छिर्केमिर्के गुराँस । तर प्रकृतिमा त्यस्तो हुँदैन । डार्विनले बडो धैर्यपूर्वक एउटा प्रयोगमार्फत यस्तो हुन्छ भनेर पत्ता लगाएका थिए, जुन कुरा उनले अर्का सहकर्मी आलोचक अल्फ्रेड वालेसलाई एउटा पत्रमार्फत लेखेका थिए । दुर्भाग्य नै मान्नुपर्छ कि डार्विनले त्यतिबेला अष्ट्रियाका पादरी वैज्ञानिक ग्रेगोर मेण्डलको रचना अध्ययन गर्ने मौका पाएनन् । मेण्डलले प्रजातिहरूको गुण कसरी स्थानान्तर हुन्छ भनेर केराउका बोटमा गरेका प्रयोगहरूको व्याख्या गरिसकेका थिए ।

प्रजातिहरूको उत्पत्ति र परिवर्तनको सिलसिलामा डार्विनद्वारा प्रतिपादित उदाहरणको व्याख्या गर्दै लेखकले कसरी मानिसले प्राकृतिक रूपमा भइरहेको प्रजाति निकासलाई उछिन्न पुगेको छ भनेर व्याख्या गरेका छन् । प्रजातिहरू सधैं स्थिर हँुदैनन्, फेरिन्छन् । डकिन्स जोड दिएर लेख्छन्— यही कुरा सृष्टिवादीहरूलाई बुझउनु जरूरी छ ।

छनोटको विषय
पुस्तकको तेस्रो अध्यायमा डकिन्सले मानिसद्वारा गरिने कृत्रिम छनोट र प्रकृतिमा हुने प्राकृतिक छनोट सम्बन्धी डार्विनको सिद्धान्तको व्याख्या गरेका छन् । हामी बगैंचामा थरी–थरीका गुलाब देख्छौं । मानिसहरू अनेक थरीका कुकुर पाल्छन्, मासु र अण्डाका लागि छानिएका कुखुरा छुट्टै हुन्छन् । यी सबै छनोट मानिसले आफ्नो रुचि र आवश्यकतानुसार गरेका रूपान्तरण हुन् । कालान्तरमा ती छुट्टै प्रजाति वा उप–प्रजाति भई जान्छन् । प्रकृतिमा पनि यस्तो छनोट चल्छ । डार्विन र वालेस दुवैले आङ्गे्रकम सेस्किपेडल नामको एउटा विशिष्ट प्रकृतिको झ्न्डै एक फिट लामो रस नली भएको सुनगाभा देखे । डार्विनले के भविष्यवाणी गरे भने प्रकृतिमा त्यति नै लामो सुँड भएको कुनै पुतली वा यस्तै कुनै प्रजाति हुनैपर्छ । नत्र त्यो सुनगाभाको परागसेचन कसरी सम्भव हुन्छ ? नभन्दै माडागास्कर टापुमा हक–मथ भन्ने लामो सुँड भएका राति उड्ने पुतली फेला प¥यो ।

चौथो अध्यायमा लेखकले पृथ्वीको इतिहास पत्ता लगाउने विधिबारे चर्चा गरेका छन् । वैज्ञानिकहरूका अनुसार पृथ्वीको सृष्टि भएको ४.६ अर्ब वर्ष भएको छ जबकि यथास्थितिवादीहरू पृथ्वीको उमेर ६ हजार वर्ष मात्र भएको दाबी गर्छन् । पृथ्वीका विभिन्न स्थानहरूमा भेटिएका डाइनोसरका अवशेषबाट वैज्ञानिकले ती कसरी देखापरे भन्ने चर्चा गरेका छन् । उनीहरू के अनुमान गर्छन् भने त्यो भीमकाय प्राणी आजभन्दा २० करोड वर्षअघि पृथ्वीका धेरै भागमा विचरण गथ्र्यो । यस प्रकारको समय वैज्ञानिकहरूले कार्बन–१४ जस्ता तत्वहरूका माध्यमद्वारा थाहा पाउँछन् । त्यस्तै १०० हजार वर्षको इतिहास थाहा पाउन उनीहरू ‘डेन्ड्रोक्रोनलजी’ विधाको सहयोग लिन्छन् । यसरी पृथ्वीको जन्म, विभिन्न कालखण्डमा देखापरेका प्राणीहरूको आकारप्रकार र उत्पत्ति कुनै कोरा कल्पना नभएर प्रमाणसहितको वैज्ञानिक पुष्टि हो भन्ने आधार मिल्छ ।

पुस्तकको पाँचौं अध्यायमा लेखक प्राकृतिक छनोटको शृंखलामा सूक्ष्म जीवाणुहरूको प्रयोगको उदाहरणसहित गहकिलो विश्लेषण प्रस्तुत गर्छन् । पुस्तकको छैटौं र सातौं अध्यायमा मानवजातिको विषयमा टुटेका कडीहरूको विषयवस्तु समेटिएको छ । जीव विकास सम्बन्धी अध्ययनका लागि अत्यन्तै आवश्यक वस्तु जीवावशेष हुन् । पृथ्वीको इतिहासमा कैयौं जीव देखिए र ती लोप भएर गए । तिनको शृंखला जोड्नु अत्यन्तै चुनौतीपूर्ण छ । जस्तै, मानिस र बाँदरबीचको सम्बन्ध भनेको कम्तीमा दुई करोड ५० लाख वर्ष अगाडिको हो । मानिस बाँदरको सन्तान वा शाखा होइन । केसम्म चाहिं भन्न सकिन्छ भने; मानिस र बाँदरका पुर्खा समान देखिन्थे, दुई करोड ५० लाख वर्ष पहिले । यसबीच उदाएका थुप्रै हाम्रा पुर्खाहरू कहाँ गए त ? प्रश्न स्वाभाविक छ र उत्तर पनि प्राप्त हुँदैछन् । वैज्ञानिकहरूले एक–एक अवशेषहरू खोज्दै हाम्रो वंश–वृक्ष तयार परेका छन् । मानिसको नजिकको नातेदार भनेको चिम्पाञ्जी हो । ऊसित हाम्रो डीएनए ९८.४ प्रतिशतसम्म मिल्छ र सम्बन्ध कम्तीमा ४० लाख वर्ष रहेको छ; अर्थात् मानिसको प्रजाति र चिम्पाञ्जी छुट्टिएको करीब ४० लाख वर्ष गएको छ ।

ढुंगाका औजार प्रयोग गर्ने हाम्रा प्रजाति २८ लाख वर्ष पहिलेका हुन् भने आगो प्रयोग गर्नेहरू करीब १५ लाख वर्ष पहिलेका । अहिलेको आधुनिक मानव होमोसेपिपन्स दुई लाख ५० हजार वर्ष पहिले देखापरेको मानिन्छ । मानवजातिको यो क्रमिक विकासलाई पुष्टि गर्ने विभिन्न समयका मानव अवशेष र कङ्कालहरू जम्मा पारिएका छन् । उदाहरणका लागि केन्याको नैरोवीमा अवस्थित सङ्ग्रहालयमा राखिएको तुर्काना लड्काको अस्थिपञ्जर । वैज्ञानिक भाषामा होमोइरेक्टस् भनिने यो अवशेष करीब १५ लाख वर्ष पुरानो मानिन्छ र आधुनिक मानवसित मिल्दोजुल्दो छ । अनुसन्धानकर्मीहरू यस्तै अवशेष र अस्थिपञ्जर केलाउँदै तिनको रूपरङ पनि उतार गर्दछन्; साथै तिनको मस्तिष्क कति ठूलो थियो भन्ने अनुमान पनि लगाउँछन् । यसबाट के कुरा प्रष्ट हुन्छ भने आधुनिक मानिसको सृष्टिको इतिहास दशौं हजार वर्ष पुरानो छ र यसको विकास क्रमैसँग भएको हो । तथापि इतिहासलाई अस्वीकार गर्नेहरू यी प्रमाणलाई आधार मान्दैनन् र जीव विकासको सिद्धान्तलाई पन्छाउँछन् । डकिन्स त्यस्ता निषेधकर्ताहरूलाई कुनै पनि सङ्ग्रहालयमा गएर अध्ययन गर्न चुनौती दिन्छन् । यसकारण अध्याय सातको एउटा उपशीर्षकमै उनले लेखेका छन्, ‘जानुस् र हेर्नुहोस्’ ।

पुस्तकको आठौं अध्यायमा एउटा रोचक प्रसङ्ग छ । जे.बी.एस. हाल्देन एक ख्यातिप्राप्त वैज्ञानिक हुन् र विकासवादी सिद्धान्तका पक्षपाती पनि । जीव विकासमा शङ्का मान्ने एकजना पत्रकारले उनलाई एकचोटि प्रश्न गरेका थिए, ‘एउटा मामूली कोषबाट कसरी सारा अङ्ग–प्रत्याङ्ग बन्न सक्छ र उसमा त्यसको विचार बुद्धि कहाँबाट पलाउँछ ?’ उत्तरमा हाल्देनले भनेका थिए, “नौ महीनामा भयो त ।” मानिसहरू के भन्छन् भने प्रकृतिका यी यावत् रूप र चाला अत्यन्तै जटिल छ, त्यसैले कोही न कोही त्यहाँ हुनैपर्छ यी सबैको व्यवस्था गर्ने । तर वास्तविकतामा यो होइन, त्यस्तो कोरियोग्राफर हुँदैन, सबै प्राकृतिक नियममा चल्छन् । ख्याति प्राप्त वैज्ञानिक स्टेफेन हकिङ्सले एकफेरा भनेका थिए, “भगवानले कुनै पासा खेल्दैन ।” आस्तिकहरूले हकिङ्सको भनाइको चर्को विरोध गरेका थिए ।

महादेशहरूको फेरिंदो स्वरूप
जीव विकासको अत्यन्तै बलियो प्रमाण महादेशहरूको चाल हो । डार्विनको समयमा महादेशहरूको फेरिंदो स्वरूप र प्लेट–टेक्टोनिकबारे खासै चर्चा भएको थिएन । १९औं शताब्दीको अन्त्यतिर जर्मन वैज्ञानिक अल्फ्रेड भेग्नरले महादेशहरूको अवस्था सधैं उस्तै नहुने बरु चलायमान भई कहिले एकढिक्का हुने त कहिले छुट्टिने कुरा बताए । भेग्नरको कुराले कैयौं वर्षसम्म अनुत्तरित रहेका प्रश्नहरूको उत्तर मिल्यो । जस्तै; महादेशहरूमा पाइने बीउ वनस्पतिमा कतै समानता र कतै असमानता पाइन्छ । लेखकले आफ्नो पुस्तकको नवौं अध्यायमा यिनै विषयहरूको व्याख्या गर्दै जीव विकासको पक्षमा थुप्रै प्रमाण प्रस्तुत गरेका छन् । डल्फिनलाई मानिसजस्तै बुद्धिमान प्राणी मानिन्छ । यी दुईको मस्तिष्क ओखर जस्तै गुजी परेको हुन्छ । यस्तो किनभने तिनलाई प्राप्त खप्परभित्र सीमित रहेर थुप्रै सूचना संश्लेषण गर्नुपर्ने हुन्छ । अर्काे उदाहरण समुद्रको पींधमा पाइने जन्मान्ध जलचरहरू हुन् । अँध्यारोमा रहनेका लागि आँखाको जरुरी नै हुँदैन तर उनीहरूमा आँखाको अवशेष भेटिन्छ जसले जीव विकासको क्रमलाई उजागर गर्छ ।

पुस्तकको एघारौं अध्यायमा केही सरल उदाहरण छन् । अत्यन्तै समान देखिने चमेरो र मानिसको अस्थिपञ्जरको तुलना एउटा दृष्टान्त हो । यसै अध्यायमा वंशाणुको रासायनिक संरचना डीएनएको पनि चर्चा गरिएको छ । यी दुवैको उदाहरणले जीव विकासकै सिद्धान्तलाई टेवा पु¥याएको छ । बाह्रौं अध्यायमा ऊर्जाको चर्चा छ र जीव जगतले कसरी त्यो किफायती ढङ्गले उपयोग वा सञ्चय गर्छन् भन्ने कुरा जीव विकासको परिदृश्यमा व्याख्या गरिएको छ । पुस्तकको अन्तिम वा उपसंहार अध्यायमा लेखकले पृथ्वीमा हाम्रो उपस्थिति कुनै आश्चर्यजनक घटना र अलौकिक शक्तिले नभई जीव विकासको चरणमा हासिल भएको अवस्था हो भन्ने व्याख्या गरेका छन् । समग्र पुस्तक एउटा सच्चा वैज्ञानिकको निर्भयपूर्ण प्रस्तुति हो जसमा, उनको विज्ञानप्रतिको पूर्ण इमानदारी झ्ल्किन्छ ।
नाष्टका प्राज्ञ डा. भुजु विश्वविद्यालयमा प्राध्यापन गर्छन् ।