Monday, July 3, 2017

२०७४ असार अंक_महिला नेतृत्व विस्तार_समीक्षक : शोभाकुमारी यादव

महिला नेतृत्व विस्तार

पुस्तक : लिन–इन : ओमेन, वर्क एण्ड द विल टु लिड
लेखक : शेरिल सान्डवर्ग                                       प्रकाशक : पेन्गुइन ¥यान्डम हाउस, यूके, २०१५
पृष्ठ : ३३२                                                            मूल्य : १२.९९ पाउण्ड स्टर्लिङ
समीक्षक : शोभाकुमारी यादव

शेरिल सान्डवर्ग फेसबूक कम्पनीकी प्रमुख सञ्चालन अधिकृत हुन् । यसअघि उनी ग्लोबल अनलाइन सेल्स एन्ड अपरेसन को उपाध्यक्ष र संयुक्त राष्ट्रसंघको सचिवालयकी कर्मचारी थिइन् । सान्डवर्गको पुस्तक लिन–इन महिलाको काम, नेतृत्व र सशक्तिकरणलाई केन्द्रविन्दु बनाएर लेखिएको छ । पुस्तकमा महिला र पुरुषबीचको नेतृत्व वहन गर्ने क्षमता र समानताका मुद्दा स्पष्ट र सरल भाषामा प्रस्तुत गरिएको छ । पुस्तक सान्डवर्गको व्यक्तिगत र व्यावसायिक जीवनको अनुभवको सँगालो पनि हो । ‘किप इट स्वीट एन्ड सिम्पल’ सिद्धान्तमा लेखिएको पुस्तकमा ११ खण्ड छन् । मार्क जुकरबर्गले पुस्तकलाई ‘स्मार्ट, इमानदार र चाखलाग्दो’ भनी टिप्पणी गरेका छन् ।

पुस्तकमा महिलाले कसरी आफूलाई मद्दत गर्न सक्छन् अनि जीवनशैलीमा आएको परिवर्तनले विश्वव्यापी रूपमा के कस्तो प्रभाव पारिरहेको छ भन्ने उदाहरण प्रस्तुत गरिएका छन् । महिलाहरूले सफल र सन्तुलित जीवनयापन गर्ने क्रममा गर्ने गल्तीबारे पनि पुस्तकमा औंल्याइएको छ । त्यस्तो गल्तीका केही उदाहरण हुन्— आफूले आफैंलाई कमजोर ठान्ने, आत्मविश्वासको कमी, आफ्नो हक र अधिकारको लागि आवाज नउठाउने तथा समय अगावै पेशा त्याग्ने । कतिपय विश्वप्रसिद्ध महिला यस्ता चुनौती र बाधा छिचोल्दै अगाडि बढेका दृष्टान्त पनि पुस्तकमा छन् । लेखिका भन्छिन्, “महिला नेतृत्वको विकास गर्दा कार्यक्षेत्रको वातावरणमा सुधार आउँछ ।” शेरिल आफ्ना पाठक; विशेषगरी पुरुषहरूलाई थप जिम्मेवारी वहन गर्दै महिला नेतृत्वलाई बढावा दिन उत्प्रेरित गर्छिन् ।  

प्रगतिपथको बाधक
हरेक युवतीलाई आफ्नो पेशा आगाडि लैजान दुईथरी आधार आवश्यक पर्छ— सल्लाहकार र प्रायोजक । महिलाहरू कुनै पनि काम गर्नुअघि पुरुषको अनुमति लिन कुर्छन्, तर धेरैले सही सल्लाह पाउँदैनन् । यस विपरीत, पुरुषहरू आफ्नो काममा ध्यान दिन्छन्, काम अगाडि बढाउँछन् । लेखिका भन्छिन्, “महिलाले पनि पुरुषले जस्तै कामका लागि सल्लाहकार नचाहिने संस्कारको थालनी गर्नु जरूरी छ ।”

डर महिला प्रगतिको प्रमुख बाधक हो । महिलाहरूले भोग्ने डर निम्न किसिमका छन्— फैसला गलत हुने डर, नकारात्मक सोच आउने डर, अरूले केही भन्ला भन्ने डर, अरूबाट अवमूल्यन भइने डर, सफल आमा हुन नसकिएला भन्ने डर, इमानदार कर्मचारी बन्न बाधा उत्पन्न होला कि भन्ने डर आदि । फलस्वरूप अधिकांश महिला आफ्नो पेशाको शुरूमै हतोत्साही हुन्छन् । अर्कोतर्फ; पुरुषसँग सहकार्य गर्दै अगाडि बढेका महिलाका उदाहरण पनि छन् । त्यसले मनमा रहेको डर हटाउन सके भने महिला पनि पुरुषसरह दक्ष नेतृत्व प्रदान गर्न सक्छन् भन्ने पुष्टि गर्छ । 

सामान्यतया के धारणा प्रचलित छ भने पुरुषको सफल व्यावसायिक र व्यक्तिगत जीवन हुन सक्छ तर महिलाको हकमा यो लागू हुँदैन । अर्थात् के ठानिन्छ भने उनीहरू परिवार र आफ्नो कामप्रति एकै साथ सक्षम हुन सक्दैनन् । त्यसैले महिलाले आफ्नो काम वा परिवारमध्ये एउटालाई छान्नुपर्छ । लेखिका तर्क गर्छिन्, यो पुरानो धारणामा परिवर्तन ल्याउनुपर्छ र महिलाले पुरुषसरह समान अवसर पाउनुपर्छ । महिलाहरू कमजोर हुन्छन् भनेर हतोत्साह गर्ने होइन, हरेक काममा दक्ष र सक्षम छन् भन्ने सकारात्मक सोच राखेर प्रोत्साहन दिनुपर्छ । महिलाहरूको डर मेटाउन पुरुषले सहयोग गर्नुपर्छ । घर र कार्यालयमा अनुकूल वातावरण बनाएर महिलाहरूलाई समान अवसर प्रदान गर्नुपर्ने सान्डवर्गको ठम्याइ छ । आफ्नो डर हराएकै कारण प्रस्तुत पुस्तक पाठकसमक्ष आउन सकेको उनी बताउँछिन् ।

आफूले आफैंलाई शंका गर्ने प्रवृत्तिलाई ‘इम्पोस्टर सिन्ड्रोम’ भनिन्छ । महिला र पुरुष दुवैमा यो प्रवृत्ति पाइए पनि महिलाहरूमा यो स्वभाव धेरै हुन्छ । इम्पोस्टर सिन्ड्रोम विशेषगरी कामकाजी महिलाहरूमा बढी पाइने गरेको पुस्तकमा उल्लेख छ । आफूमाथि विश्वास कम भएकै कारणले महिलाहरू आफ्नो सफलताको श्रेय भाग्य वा पुरुष पात्रलाई दिन्छन्, जुन गलत हो । तर यसको उल्टो पुरुषहरू आफ्नो सफलताको श्रेय आफ्नै कार्यकुशलता, दक्षता र ज्ञानलाई दिने गर्छन् ।

सफलताको प्रमुख सूत्र आफूमाथि विश्वास गर्नु रहेको सान्डवर्गको भनाइ छ । महिलाहरूले हरेक क्षेत्रमा पुरुषसरह हात उठाएर आफ्ना लागि बोल्नुपर्छ । आफूभित्रको खूबी देखाउनुपर्छ । साथै, हरेक संस्थाले महिलालाई प्रोत्साहन गर्ने र उनीहरूको हकहित सुरक्षित गर्नुपर्छ । लेखिका आफ्नो हात माथि राख्न महिलाहरूलाई प्रोत्साहन गर्छिन् । 

पुस्तकले पेशालाई जीवनसँग जोडेको छ । पेशा चुनौतीहरूले भरिभराउ हुन्छ, सोेझे सिंढी नभएर जंगल जस्तै हुन्छ, जसलाई क्रमैसँग छिचोल्दै जानुपर्छ । लेखिका प्रभावकारी बन्ने दुईवटा उपायहरू प्रस्तुत गर्छिन्— पहिलो, जीवनमा दीर्घकालीन उद्देश्य राख्नुपर्छ तर उद्देश्य विशिष्ट हुनुपर्दैन । अर्को सूत्र हो, १८ महीने योजना बनाउनु । लेखिका भन्छिन्, “आफ्नो उद्देश्य प्राप्ति हेतु सहयोगी सीप हासिल गर्न सो समय सदुपयोग गरिनुपर्छ । उद्देश्यलाई मूर्तरूप दिन योजना र कार्यविधि आवश्यक पर्छ । त्यसका लागि नयाँ सीप र कला सिक्नु जरूरी छ । हामी सबैमा आफूलाई सुधार्ने र जोखिम लिने क्षमता हुन्छ । जोखिम लिने, आपूmले आफैंलाई दिने चुनौती उन्नतितर्फ अग्रसर हुन महŒवपूर्ण छन् ।”

सफलता र लोकप्रियता
सफलता र लोकप्रियता महŒवपूर्ण सूत्र हुन् । महिलाको सफलता र लोकप्रियताबीचको सम्बन्ध नकारात्मक हुन्छ भने पुरुषका लागि सकारात्मक । के मानिन्छ भने पुरुष निर्णायक र सञ्चालनकर्ता हुन्छ भने महिला दयालु र संवेदनशील । यिनै असमान अपेक्षाले गर्दा महिलाहरू जहिले पनि आलोचना बेहोर्ने गर्छन् । उनीहरू परम्परागत धारणाको दायराबाट पुरुषसरह आफ्नो हकहित, फाइदा र लाभको कुरा गर्छन् तर सफल हुँदैनन् । कार्नेगी मेलोन विश्वविद्यालयले गरेको अध्ययनअनुसार ५७ प्रतिशत पुरुष विद्यार्थी आफूले पाउने तलब र सेवा सुविधाबारे जागिर दिने सम्भावित कम्पनीसँग शुरूमै छिनोफानो गर्छन् भने ७ प्रतिशत महिलाले मात्र त्यस्तो चर्चा अघि बढाउँछन् । यति मात्र होइन; अपेक्षित सेवा–सुविधा पाउनका लागि महिलाहरूले आफूलाई प्रमाणित गर्नुपर्ने हुन्छ भने पुरुषहरूलाई सहजै प्राप्त हुन्छ । आलोचनाको सामना गर्न सक्नु महिलाहरू अघि बढ्ने बलियो सूत्र हो ।

सत्य, भरपर्दो सूचना र संवाद सफल जीवनको आधार हो । घर या कार्यालय सबैतिर यो यथार्थ लागू हुन्छ । सूचना र संवाद— व्यक्तिगत तथा व्यावसायिक सम्बन्ध बनाउने मजबूत आधार हो । अरूले भनेको कुरा सुन्न सक्ने क्षमताले अन्तरक्रिया सृजनशील बनाउँछ । दक्ष र सफल महिलाहरूले छोराछोरी जन्माउने विचारले समय अगावै पेशा छाड्ने गरेको लेखिकाको अनुभव छ । प्रायः महिलाहरूले नयाँ अवसरलाई नस्वीकारी निर्णय लिन्छन् । फलस्वरूप नेतृत्व लिने दक्ष र शिक्षित महिलाको ठूलो अभाव छ ।

सान्डवर्ग भन्छिन्, “महिलालाई बाहिरी कामकाजमा प्रोत्साहन गरेजस्तै पुरुषलाई पनि घरको काम गर्न प्रोत्साहन गर्नुपर्छ । आफ्नो जीवनसाथीलाई महिलाहरूले हरेक कार्यमा साझ्ेदारी गराउनैपर्छ । घरपरिवार र बच्चा महिलाहरूको मात्रै जिम्मा होइन पुरुष पनि जिम्मेवार बन्नुपर्छ । महिलाले भोग्ने धरातलमा पुरुष आउनै पर्छ । महिला र पुरुषबीचको समानता परिभाषित गर्न कठिन छ तर सम्बन्धलाई घडीको पेन्डुलम जस्तै यता–उता हुन दिनुपर्छ । महिला र पुरुषबीचको साझ्ेदारीबाट सन्तति समेत लाभान्वित हुनेछन् ।”

व्यवहार परिवर्तन गर्न सक्नेले नै आफ्नो संस्थालाई परिवर्तन गर्न सक्छन् । सानो हस्तक्षेपले पनि मान्छेलाई फरक तरिकाबाट व्यवहार गर्न हौस्याउँछ । अचेतलाई सचेत बनाउन मद्दत गर्छ । छलफल नगर्नु पराजय स्वीकार्नु हो जुन प्रगतिको बाधक हुन्छ । हामीले आफ्नो भनाइ प्रस्तुत गर्नु र सुन्नु दुवै आवश्यक छ । तर हरेक चर्चामा लैङ्गिक मुद्दा उठाउनु जरूरी छैन, यद्यपि यसप्रति सचेत हुनुपर्छ ।

साँचो समानता तब मात्र सम्भव छ जब महिलाहरू हरेक सरकारी वा गैर–सरकारी संस्थाको उच्च स्थानमा पुग्छन् । त्यसैले हामीले चुनौती स्वीकार गर्ने र पेशा अगाडि लैजाने महिलाहरूलाई प्रोत्साहित गर्नुपर्छ । सबैलाई बराबर प्रोत्साहन प्राप्त नभएसम्म मौका बराबर हुने छैन चाहे त्यो महिला होस् या पुरुष । जबसम्म महिला र पुरुषले बराबर प्रोत्साहन पाउँदैनन् तबसम्म दुवैले आफ्नो वास्तविक क्षमता चिन्न सक्दैनन् ।

अन्त्यमा सान्डवर्ग भन्छिन्, “धेरै महिलाहरू मथिल्लो पदमा पुग्ने इच्छा गर्दैनन् ।” धेरैभन्दा धेरै महिला नेतृत्वदायी भूमिकामा पुग्न सके भने तिनले अवसरको फाइदा उठाउन सक्ने दावी पुस्तकमा गरिएको छ । महिला अधिकार र महिला सशक्तिकरणका क्षेत्रमा काम गर्ने जोकोहीलाई पुस्तक ज्ञानवद्र्धक छ र सामान्य पाठकलाई पनि रुचिकर लाग्नेछ । 
(यादव महिला सशक्तिकरण र जलवायु परिवर्तनकी अध्येता हुन् ।)

२०७४ असार अंक_विपद व्यवस्थापनमा सूचनाको भूमिका समीक्षक : रवि वेञ्जु

विपत् व्यवस्थापनमा सूचनाको भूमिका


पुस्तक : करेज इन केओसः अर्ली रेस्क्यु एन्ड रिलिफ आफ्टर द अप्रिल अर्थक्वेक
लेखक : योगेश राज र भाष्कर गौतम                 प्रकाशक : मार्टिन चौतारी, २०१५
पृष्ठ : ८९                                                           मूल्य: ३५० रुपैयाँ
समीक्षक : रवि वेन्जू

१२ वैशाख २०७२ सालको भूकम्पले मध्य नेपाललाई क्षत–विक्षत पा¥यो । उद्धार र राहतमा विभिन्न संघ–संस्था, समुदाय तथा व्यक्ति संलग्न थिए । राष्ट्रियस्तरबाट मात्र नभई अन्तर्राष्ट्रियस्तरबाट पनि सहयोगीहरूको सहभागिता थियो । उद्धार र राहत स्वस्फूर्त रूपमा अगाडि बढेको थियो, कमी–कमजोरी हुँदाहुँदै पनि । भूकम्पले ल्याएको क्षत–विक्षत अवस्था, आमनागरिकहरूको व्यवहार, धैर्य र आफ्नो सामान्य जीवनमा फर्कन गरेको प्रयास एवं नेपाल सरकारले गरेको राहत र उद्धार क्रियाकलापको सामाजिक लेखाजोखा हो, करेज इन केओसः अर्ली रेस्क्यु एन्ड रिलिफ आफ्टर द अप्रेल अर्थक्वेक । मार्टिन चौतारीद्वारा प्रकाशित यो ६६ पृष्ठको पुस्तकका लेखक योगेश राज र भाष्कर गौतम हुन् । भूकम्प गएको केही सातापछि गरिएको विश्लेषण अन्य विपत््पछिका राहत, उद्धार र व्यवस्थापनका कार्यहरू प्रभावकारी बनाउन पनि उपयोगी छ ।

अध्ययन अवधारणा
विश्लेषणका लागि पुस्तकले ‘रप्चर अनुसन्धान अवधारणा’ प्रयोग गरेको छ । लेखक भन्छन्, यो अवधारणा प्राकृतिक प्रकोप वा मानव सिर्जित विपत््हरू विश्लेषण गर्न उपयोगी छ । यो अवधारणाअन्तर्गत भूकम्पले जस्तो तत्काल विनाश ल्याउने घटनालाई निम्न प्रकारले हेरिन्छ— पहिलो, विनाशपछि तङ्ग्रिने क्रममा पीडा बढाउने प्रक्रिया दोहोरिन्छ कि दोहोरिंदैन ? दोस्रो, अनुसन्धानले कसले, केलाई ‘रप्चर’ वा विच्छेद भन्छन् भन्ने प्रसङ्ग केलाउनुपर्छ किनभने हरेकलाई एकै किसिमले प्रभाव पार्दैन । तेस्रो, यस्ता विनाशका असर तत्काल प्रष्ट हुँदैनन् । तिनलाई ऐतिहासिक परिवेशमा हेर्नुपर्छ ।

भूकम्पले धेरै क्षति गरेका तीन जिल्लामध्ये भक्तपुरको जेन्ला, काठमाडौंको गोंगबु र ललितपुरको लेलेमा गरिएको अध्ययनमा आधारित भएर पुस्तक लेखिएको छ । जेन्ला ऐतिहासिक शहर हो र त्यहाँका संरचनाहरू २०औं शताब्दी अगाडि निर्माण भएका थिए । गोंगबु १९८० को दशकपछि विकसित हुन थालेको क्षेत्र हो । जेन्लाका घरहरू माटोको जोडाइ र काठ प्रयोग गरी निर्माण भएका थिए भने गोंगबुमा सिमेन्ट र कंक्रिट प्रयोग भए पनि आधुनिक निर्माणका मापदण्ड प्रयोग गरिएका थिएनन् । लेले ग्रामीण बस्ती हो । जेन्ला बहुसंख्यक नेवार समुदायको बस्ती हो भने लेलेमा बाहुन, क्षेत्री, तामाङ, नेवार र दलितहरूको बसोबास छ । गोंगबुमा भिन्न–भिन्न समुदायका मानिस बस्छन्, कुनै खास सामाजिक संरचना छैन ।

अध्ययनले विपत्् व्यवस्थापनमा गरिने निम्न अभ्यासको लेखाजोखा गरेको थियो— सूचना संकलन तथा सम्प्रेषण, क्षति भएका संरचनाको मूल्याङ्कन गर्ने आधार, राहत, उद्धार तथा पुनःनिर्माण प्राथमिकीकरणको निर्णय प्रक्रिया, पुनर्लाभलाई प्रभावित गर्ने बाधा अड्चनहरू र विद्यमान सामाजिक र राजनीतिक परिवेश । यस्ता विषयहरू केलाउँदै पुस्तकले कमी–कमजोरीहरू कसरी हुन पुगे र भविष्यमा के सुधार गर्ने भन्ने विषय समेट्ने प्रयास गरेको छ ।

कमजोर राज्य–व्यवस्था
भूकम्पपछि राहत र उद्धारमा राज्यस्तरबाट अपनाइएको कार्यविधि कमजोर रह्यो । लेखक भन्छन्, “राहत र उद्धारमा स्रोत र साधनको सीमितता थियो तर उपलब्ध स्रोतको पनि उचित परिचालन हुन सकेन । जनस्तरबाट गरिएको सहयोग र सद्भावना सराहनीय थियो । भूकम्पपश्चात् लुटमारका खासै घटना भएनन् ।”

पुस्तकमा भनिएको छ— सरकारी संगठनले कहाँ, के र कस्तो विवरण छ भन्ने जानकारी नराख्दा उद्धार र राहत उचित ढङ्गले हुन सकेन । यो नै समस्याको मूल जड हो । जोखिमयुक्त क्षेत्रहरूमा सङ्कलन गरिएका तथ्याङ्क प्रयोग गर्न सकिने खालका थिएनन् र भूकम्प प्रभावित स्थानहरूमा जोखिमयुक्त परिवार कहाँ बस्छन् र त्यस्ता परिवारको यकिन संख्या जस्ता विवरणहरू नहुनु अन्य कमजोरी थिए । भूकम्प आउनुभन्दा अगाडि स्थानीयस्तरमा सङ्कलित तथ्याङ्कलाई सरकारले प्रभावकारी ढङ्गबाट उपयोग गर्न सकेन, उपलब्ध तथ्याङ्कहरू बिर्सेर सरकार नयाँ सङ्कलन गर्नतिर लाग्यो ।

कमजोरी सूचना परिचालनमा मात्र रहेन, स्रोत र साधन परिचालनमा पनि भए । गरीब तथा पिछडिएका क्षेत्रमा राहत पुगेन । सरकारी योजना र तरिका त्रुटिपूर्ण एवं अव्यवस्थित भएकोे लेखकको निष्कर्ष छ । राजनीतिक तथा सरकारी हस्तक्षेपका कारण पीडितहरूको वास्तविक आवश्यकता पहिचान हुन सकेन । केही राजनीतिक दल तथा सरकारी निकायको स्वार्थ हावी हुन पुग्यो । त्यति मात्रै होइन राहत वितरणमा असमानता देखियो । राज्यले वितरण गर्ने भनिएको कोषलाई उदाहरणका रूपमा लिन सकिन्छ । कोषले सबैलाई बराबर रकम दिने नीति तोक्यो । स्पष्ट थियो; अति प्रभावित र अति विपन्न समुदायलाई न्याय हुने थिएन यस्तो नीतिले । यस अर्थमा कुनै पनि विपत््ले हरेक क्षेत्र र समुदायलाई समान रूपमा असर गर्दैन भन्ने मूलभूत ज्ञानबाट राज्य चुकेको देखिन्छ ।

विपत्को बेला राज्यका निकायहरूबीचको समन्वय महŒवपूर्ण विषय हो । तर भूकम्पपछिको राहत र उद्धारमा विभिन्न सरकारी निकायहरूबीच समन्वयको कमी टड्कारो थियो । स्थानीय तथा जिल्लास्तरीय समन्वय हुन नसक्दा राज्यको एकद्वार राहत वितरण नीति सफल हुन सकेन । स्थानीय संघ–संस्थाहरूले राहत र उद्धारमा सहयोगी भूमिका खेल्ने हुँदा ती संस्थाहरूसँग राज्यको समन्वय हुनु जरूरी छ, तर लेखकका अनुसार त्यसो हुन सकेन । 

अगाडिका चुनौती
भूकम्पपछि स्थिति सुध्रिनुको साटो पीडितहरू अझ् पीडा भोग्दैछन् । विपत््को दुई वर्ष भइसक्दा पनि उल्लेख्य हिसाबले पुनःनिर्माणमा प्रगति हुनसकेको छैन । धेरैजसो भूकम्प पीडित परिवारहरू त्रिपालमुनि बस्न बाध्य छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कामले गति नै लिन सकेको छैन । शहरी विकास मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्म एक प्रतिशत पीडितले पनि सरकारी निर्देशन अनुरूप आफ्नो घरको पुनःनिर्माण सम्पन्न गरेका छैनन् ।

राज्यस्तरबाट गरिएको राहत र उद्धारका क्रियाकलापको लेखाजोखा गर्दै लेखक भन्छन्, “विद्यमान सामाजिक तथा राजनीतिक सन्दर्भका कारण ती प्रभावकारी भएनन् ।” विपत्् व्यवस्थापनलाई सामाजिक, आर्थिक, ऐतिहासिक तथा प्राविधिक विषयहरूको सम्मिश्रणको रूपमा नहेरी एकाङ्की रूपमा हेर्दा सो हुन गएको लेखकको निक्र्योल छ । उनीहरू भन्छन्, “हाल देखिएका कमी–कमजोरी भविष्यमा दोहोरिनुहुँदैन, अन्यथा भविष्यमा हुने विपत््बाट प्रभावित हुनेहरूले झ्न् ठूलो पीडा भोग्नेछन् । सञ्चार समन्वय र सम्प्रेषणको क्षेत्रमा मनग्य सुधार आवश्यक छ ।”

विपत्् व्यवस्थापनलाई चुस्त बनाउन राज्यका निकायहरूले आधारभूत तथ्याङ्कहरू दुरुस्त राख्नुपर्छ ताकि आवश्यक पर्दा तिनको उपयोग गरी उद्धार र राहत मात्रै होइन पुनर्लाभ र पुनःनिर्माणका क्रियाकलाप प्रभावकारी बनाउन सकियोस् । लेखक थप्छन्, व्यवस्थित राहत र उद्धारका लागि जिल्ला तथा स्थानीय तहमा स्थायी आपत्कालीन कार्य व्यवस्था गर्नु जरूरी छ । आवश्यकता अभिलेखको मात्र होइन, तिनको उपलब्धता र तिनका बारे जानकारी राख्ने क्षमताको पनि हो । लेखक द्वयले उद्धार र राहत सम्बन्धी यस अध्ययनले प्रचलित दुई अवधारणाबारे थप खोतलखातल गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । ती हुन्— स्थानीय सन्दर्भ र संस्था । अध्ययनले के देखायो भने स्थानीय र गैर–स्थानीय संस्थाबीचको सम्बन्धले व्यवस्थापनका क्रियाकलापलाई कि त सहयोग पु¥याउँछन् कि नकारात्मक हिसाबले प्रभावित गर्छन् । स्थानीय संस्थाहरू कसरी परिवर्तन भइरहेका छन् भन्ने सन्दर्भ नियमित अनुगमन गरी तिनको क्षमता आकलन गर्नुपर्छ ।

यो पुस्तकमा अगाडि सारिएका निक्र्योलहरू विपत्् व्यवस्थापनका लागि महŒवपूर्ण छन् । पहिलो पाठ हो, नेपाली समाजमा हुँदै गएको परिवर्तनको क्रम सूक्ष्म रूपमा निरन्तर अध्ययन गर्ने प्राज्ञिक संस्थाको आवश्यकता । विपत््का विभिन्न पक्षबारे भएका मौलिक अनुसन्धान सरकार बाहिरका संगठनहरूबाट भएको छ, विश्वविद्यालयहरूबाट होइन । यस अर्थमा अध्ययन–अनुसन्धान गर्ने संगठनहरूको जगेर्ना एवं स्याहार–सुसार जरूरी छ । तर बिडम्वना के हो भने नेपालमा ज्ञान सिर्जनाको यो पक्ष विस्तारै ओझ्ेलमा पर्दैछ । दातृ निकायहरूको सहयोग ज्ञानको खोजीभन्दा तिनको आफ्नो संस्थागत चासोले बढी निर्देशित देखिन्छ । विदेशी सहयोगको यो पक्ष थप विवेचनाको विषय हो । दोस्रो, कुन विपत््ले कसलाई, कसरी असर गर्छ भन्ने विषय गहन रूपमा अझ्ै बुझन बाँकी छ । तेस्रो, विपत्् सम्बन्धी अध्ययन–अनुसन्धानका लागि नेपालमा आवश्यक आर्थिक स्रोत उपलब्ध छैनन् । न सरकारले सो उपलब्ध गराउँछ न त विकास निर्माणमा संलग्न दातृ–निकाय वा बहुराष्ट्रिय निकायहरूले नै । 

विपत्बारे रणनीति र निर्देशिका तयार गरिएका छन् तर गोरखा भूकम्पले के देखायो भने नेपाल सरकार यसका निकायहरू त्यस विपत््सित जुध्न तयार थिएनन् । वास्तवमा गोरखा भूकम्पले भन्दा कम विनाश गरेका बाढी, पहिरो तथा अन्य विपत््का अनुभवले पनि व्यवस्थापन फितलो भएको पुष्टि गर्छन् । नेपाल बहुप्रकोप भोग्ने मुलुक हो, तसर्थ विपत्् व्यवस्थापन चुस्त हुनैपर्छ । सामाजिक र आर्थिक विनाश कम गरी सुरक्षित भविष्यको बाटोमा लाग्न विपत् व्यवस्थापन मात्रै होइन, जोखिम पनि न्यून पार्दै जानु जरूरी छ । यस क्रममा भूकम्पलगायत अन्य प्रकोपका विभिन्न पक्षहरू अध्ययन–अनुसन्धान र नियमित मन्थनका विषय बन्नुपर्छ । अन्यथा, हामी कमी–कमजोरी दोहो¥याइरहने छौं र विपत्बाट नेपाली समाजको समृद्धि यात्रा प्रभावित भइरहनेछ । योगेश राज र भाष्कर गौतम यस्तो बाटोमा नलाग्न सचेत गराउँछन् ।
वेन्जू विपत् अनुसन्धानकर्मी हुन् ।

२०७४ असार अंक_कसरी होला पूँजीवादको अन्त्य ? समीक्षक : क्रफर्ड किलियन, नेपालीमा अनुवाद : अजय दीक्षित

कसरी होला पूँजीवादको अन्त्य ?


पुस्तक : हाउ विल क्यापिटलिज्म इन्ड ?                     लेखक : वोल्फगाङ्ग स्ट्रीक
प्रकाशक : वेर्सो, २०१६                                                 पृष्ठ : २७२
मूल्य : १७.७३ यूएस डलर
समीक्षक : क्रफर्ड किलियन

नाम नखुलेका कुनै विद्वानले कतै भनेका छन्, ‘संसारको अन्त्य कल्पना गर्न सजिलो छ, पूँजीवादको छैन ।’ तर सात दशक उमेरका अर्का विद्वान वोल्फगाङ्ग स्ट्रीक भन्छन्, “पूँजीवादको अन्त्य अवश्यम्भावी छ र त्यो छिटो आउँदैछ ।” पूँजीवादको अन्त्य भएपछि त्यसलाई कुन व्यवस्था वा वादले प्रतिस्थापित गर्छ भन्नेबारे उनी स्पष्ट छैनन् । वास्तवमा उनको परिकल्पनामा कुनै विकल्प छैन । स्ट्रीक समाजशास्त्री हुन् र जर्मनस्थित म्याक्स प्लाङ्क इन्ष्टिच्यूट फर स्टडी अफ सोसाइटी का इमिरिट्स निर्देशक ।

पूँजीवाद अवसानको विवरण स्ट्रीकको पछिल्लो पुस्तक हाउ विल क्यापिटलिज्म इन्ड ? को विषय हो । पुस्तकको विश्लेषण थमस पिकेट्टीको क्यापिटल इन ट्वान्टी फस्र्ट सेन्चुरी भन्दा अगाडि गएको छ । (पिकेट्टीको पुस्तक समीक्षा शिक्षक, २०७३ पुसमा उपलब्ध छ) दुइटा विश्वयुद्धले तहसनहस पारेको पूँजीवाद फेरि तङ्ग्रिंदै छ भन्ने पिकेट्टीको तर्क स्ट्रीक मान्दैनन् र भन्छन्, ‘पूँजीवादको पुनर्ताजगी होइन अन्त्य हुँदैछ ।’

स्ट्रीक भन्छन्, “पूँजीवाद आफ्नै खतरनाक दुश्मन हो र यसले आफूलाई बचाउने सबै बाटा र राहतका सम्भावना भत्काएको छ ।” पुस्तकको शुरूमा उनी लेख्छन्, पूँजीवादको अन्त्य हजारौं घाउबाट हुने मरणसरह कल्पना गर्न सकिन्छ । लेखकको थप तर्क छ, “न त पूँजीवादको प्रभावकारी विरोधका अवशेष छन् न प्रचलित व्यवस्थालाई कसले प्रतिस्थापित गर्छ भन्ने कुनै ढाँचा इतिहासको कुनामा कुरेर बसेको अवस्था छ । एकातिर पूँजीवादका बग्रेल्ती गल्ती छन् भने अर्कोतिर सीमित व्यक्तिमा पूँजीको बढ्दो सञ्चय हुनु पूँजीवादलाई आत्महत्या गराउने आफ्नै कारण बन्न पुगेको छ ।”

पूँजीवाद समाप्त हुँदैछ भने विकल्प के हो त ? स्ट्रीक भन्छन्, माक्र्सवाद वा प्रजातान्त्रिक समाजवादमा फर्किएर त्राण पाइने छैन किनभने त्यो सम्भावना अब छैन । उनी थप्छन्, “पूँजीवादको हाल चल्दै गरेको संकट अन्तिम हुनेछ त्यसपछिको कालखण्डमा समाजवाद वा अरू कुनै परिभाषित सामाजिक ढाँचा होइन बरू लामो उथलपुथलले निरन्तरता पाउनेछ ।”

पाँच घटना, तीन संकट
आफ्नो तर्क पुष्टि गर्न लेखक रोमन साम्राज्यको पतन र सामन्तवाद उदयको उदाहरण दिन्छन् । रोमको दासत्वमा आधारित आर्थिक प्रणालीको पतनपछि पर्खालभित्रका नगर, किल्ला भित्र बनेका राज्य र उत्तरबाट आएका आप्रवासी बार्बेरियन शासित क्षेत्रको उदय भयो र अराजक सरदार शासनमा रहे । यो क्रम सदियौं चल्यो । युद्धका सरदार अर्थात् वार लर्डस्हरू आफूलाई ‘सिजर’ को रूपमा परिभाषित गर्थे र साम्राज्यको पतन भएको छैन भन्ने ढोङ रचाउँदथे । (जुलियस सिजर रोमका राजनीतिज्ञ र जनरल थिए, रोम गणतन्त्रको समाप्ति र रोम साम्राज्यको निर्माणमा तिनको अहं भूमिका थियो ।)

स्ट्रीक भन्छन्, पूँजीवादले हिजोआज भोगिरहेको संकट विगतका पाँच वटा घटनाका प्रतिफल हुन् । ती घटना हुन्— मन्दी, कुलीनतन्त्रद्वारा नियन्त्रित पुनर्वितरण व्यवस्था, सार्वजनिक क्षेत्रको लुट, भ्रष्टाचार र भूमण्डलीय अराजकता । यी समस्या पछिल्ला तीनवटा कारणले गर्दा अझ् व्यापक बनेका छन् । सन् १९७० को दशकको मुद्रास्फीति, सन् १९८० को दशकमा सार्वजनिक ऋणमा भएको व्यापक वृद्धि र तत्पश्चातका दशकको निजी ऋण वृद्धि जसले सन् २००८ मा विश्व वित्तीय व्यवस्था धरासायी तुल्यायो । यी घटना छुट्टाछुट्टै देखिए पनि यी सबैले अन्ततोगत्वा पूँजीवादलाई घाटमा पु¥याउँछन् भन्ने स्ट्रीक तर्क गर्छन् ।

फुट्न थालेको फोको
श्रमिक संगठनहरू चेपुवामा छन् । अस्थायी विदेशी कामदार र अन्य आप्रवासीहरूले यस्ता संगठनका क्रियाकलापलाई अप्ठेरो पारेका छन् । श्रम संगठनको उत्थान गर्नुको अर्थ बेरोजगारीलाई कमजोर रोजगारीले प्रतिस्थापन गर्नु भन्ने बुझ्न्छि । महँगो शिक्षा व्यवस्थाले युवाहरूलाई श्रम बजारमा पु¥याउँदैन, बरू बाहिरै राख्छ । महिलाहरूलाई काम गर्न उत्प्रेरणा गरिन्छ र तिनले कर पनि तिर्छन् । यसै पनि आफ्नो जीवनस्तर निरन्तर राख्न मध्यमवर्गीय परिवारका श्रीमान् र श्रीमती दुवैथरीले काम गर्नुपर्छ । काममा गएपछि उनीहरू केटाकेटीको रेखदेखका लागि आप्रवासी धाईहरूलाई काममा लगाउँछन् जसलाई प्रचलित दरभन्दा कम तलब दिए पुग्छ । तर केही समयपछि धाईहरू आफ्नै मुलुक फर्काइन्छन् र आप्रवास राजनीतिक मुद्दा बन्छ । अमेरिकामा राष्ट्रपति ट्रम्पको विजय र ब्रेक्जिट भोट यस्तै घटनाक्रमका प्रतिफल हुन् ।

स्ट्रीकका निबन्ध केही वर्षअघि लेखिएका हुन् । त्यसो हुँदा वर्तमानका कतिपय प्रसंग पुस्तकमा संलग्न छैनन् । उनी भन्छन्, “एशिया वा युक्रेनका कुलिनहरूको तुलनामा अमेरिकाका कुलीनहरू सत्ता बाहिर रहेर सार्वजनिक प्रशासन, न्याय व्यवस्था र निर्वाचित सरकारको सञ्चालन व्यावसायिक राजनीतिज्ञद्वारा भइरहेकोमा सन्तुष्ट थिए ।” सन् २०१६ नोभेम्बर ८ मा यो स्थितिमा परिवर्तन आयो । आफूले भनेको नमान्ने व्यावसायिक राजनीतिज्ञहरूलाई राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको मन्त्रिपरिषद्को माध्यमद्वारा अमेरिकी कुलीनहरूले विस्थापित गरिदिए ।

एउटा निबन्धमा स्ट्रीक सन् १९७० को दशकको आर्थिक संकटले कसरी वर्तमान संकट नित्याउन पुग्यो भन्ने विश्लेषण गर्छन् । दोस्रो विश्वयुद्धपछिको पश्चिमी यूरोप र अमेरिकी अर्थव्यवस्था टिकाउ वस्तुहरू व्यापक रूपले उत्पादन गर्ने र खरीद गर्न सक्ने मूल्यमा उपलब्ध गराइने ढाँचामा (अंग्रेजीमा ‘फोर्डिजम’ भनिने) आधारित थियो । यो व्यवस्थाले बजारमा टिकाउ सरसामान आवश्यकभन्दा बढी उपलब्ध गरायो । उदाहरणका लागि सन् १९६० तिर अघिल्लो पुस्ताले प्रयोग गरेका सरसामान तिनका छोराछोरीले प्रयोग गर्थे । १९८० मा निर्मित कपाल सुकाउने यन्त्र (हेयर ड्रायर) ले विना मर्मत अझ्ै पनि काम गर्छ ।

१९५० पछि जन्मेका पुस्ता (पश्चिममा बेबी बुमर भनिने) पाखा लाग्न थालेपछि यो ढाँचा निरन्तर हुन सकेन । समाधान स्वरूप पूँजीवादले नयाँ ढाँचा ल्यायो । हिजोआज त्यस्ता सरसामान निर्माण हुन्छन् जो कम समय टिक्छन् र हाम्रा आवश्यकताका साथै चाहना पनि परिपूर्ति गर्छन् । मध्यम वर्गीय मात्रै होइन निम्न मध्यमवर्गीय घरपरिवारमा रेफ्रिजेरेटर, लुगा धुने मेशीन जस्ता उपकरणको प्रयोग ह्वात्तै बढेका छन् । भान्छा कोठाको आवरण बदलिएको छ तर जीवन खासै फरक र सजिलो भएको छैन । यो बाटोले उपभोक्ताहरूलाई आफ्नो व्यक्तिगत चाहना र जीवनपद्धति सार्वजनिक हिसाबले व्यक्त गर्ने बाटो पनि खोल्यो ।

परिवर्तन उपभोक्ता सरसामानमा मात्रै होइन, सूचना क्षेत्रमा पनि भएको छ । स्ट्रीक भन्छन्, “दशकौंसम्म सार्वजनिक प्रसारण प्रणाली र केही निजी सञ्जालले सञ्चार व्यवस्थामा हालीमुहाली गरेका थिए । हिजोआज श्रोता र दर्शकहरूको ध्यान तान्ने र पैसा खर्च गराउन प्रतिस्पर्धा गर्ने सयौं निजी सूचना च्यानल छन् । सार्वजनिक प्रणालीहरू यस्ता माध्यमसित प्रतिस्पर्धा गर्ने प्रयास त गर्छन् तर सफल हुनसकेका छैनन् ।”

राजनीतिक प्रतिबिम्ब
स्ट्रीक अगाडि भन्छन्, “व्यक्ति झ्न्झ्न् व्यक्तिवादी बन्दै जाने क्रमले विश्वका सबै मुलुकलाई गाँजेको छ । आफ्नो परिवारले भोट दिएको पार्टीलाई अथवा कुनै पार्टीको नीति हेरेर अब हामी भोट हाल्दैनौं । हामी टलक्क चम्किने कार्यक्रम र विश्वस्तरको सेवासुविधाको अपेक्षा गर्छौं र आफूले रोजेको पार्टीले सो उपलब्ध गराउन सकेन भने असन्तुष्ट हुन्छौं । वास्तवमा हामी आफ्नो व्यक्तिगत अपेक्षा प्रेषित गर्ने राजनीतिका उपभोक्ता बनेका छौं तर आफ्नो मुलुकको वास्तविक सञ्चालन वा शासनमा सहभागी हुँदैनौं ।”

कार्लमाक्र्सले के अनुमान गरेका थिए भने साम्यवादले राज्यको अवसान गराउने छ । तर यसो भएन बरू पूँजीवादले राज्यको अवसान गरायो र गराउँदै छ । यस सिलसिलामा राज्यको दायित्व हुनेछ धनाढ्यहरूको रक्षा गर्नु र गरीबमाथि ‘प्रहरी राज्य’ चलाउनु । यसरी पूँजीवादले आफूलाई वैतरणी तारिदिने पात्रकै हत्या गर्न थालेको छ । अब फेरि बैंकहरू धरासायी भए भने बचाउ कसले गर्ने ? कृत्रिम मानव यन्त्र (रोबोट) को प्रयोगले आधिपत्य जमाएपछि वित्तीय ब्रह्माण्डका अगुवाहरूलाई कसले बचाउला ? र जब करदाताले प्रहरी–प्रशासन धान्ने कर तिर्न सक्दैनन्, सार्वजनिक सुरक्षा सेवास्तर खस्कन्छ सर्वसाधारण जनताको हित कसले हेर्ने ? धनीहरू त पर्खालभित्रको समुदायमा बसेर निजी सुरक्षा गार्ड राख्न थालिसकेका छन् ।

स्ट्रीक पूँजीवाद अवसानको एउटै कारण देख्दैनन्, न त यसको कुनै वारिस देख्छन् । युरोपेली युनियन विखण्डन होला, जलवायु परिवर्तनका कारण समुद्र तह बढेर दक्षिणी फ्लोरिडा एवं त्यहाँ अवस्थित वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मारा लागो महल डुब्न सक्छ । शरणार्थीहरू उत्तर अर्थात् युरोप, क्यानडा र अमेरिकातर्फ आइरहने छन्, पर्खाल र सुरक्षाकर्मी हुँदाहुँदै । आफ्नो नयाँ क्षेत्र बनाएर बस्नेछन् । विश्वलाई नयाँ महामारीले गाँज्नेछ तर कुनै निदान पाइने छैन । स्ट्रीक भन्छन्, “त्यस्ता विपत्हरूसित जुध्न कुनै राजनीतिक समुदाय हुने छैन ।” यस्ता समुदाय अबको सयौं वर्षमा तयार हुनसक्छन् तर यदि लेखकको तर्क ठीक हो भने पूँजीवादको अवसान हुँदै गर्दा वर्तमानका हामी र हाम्रा सन्तति त्यस्तो समुदायमा सहभागी हुन पाउने छैनौं ।

क्यानडाको ब्रिटिश कोलम्बियाबाट सञ्चालित प्रगतिशील झ्ुकाव राख्ने अनलाइन पत्रिका द टाइ बाट साभार गरिएको किलियन को माथिको समीक्षामा केही टिप्पणी थप्नु उचित हुन्छ ।

निश्चय पनि स्ट्रीकको विश्लेषण नै अन्त्य होइन । अन्य परिदृश्य पक्कै छन् । विगतमा पनि मानव भविष्य अन्धकार हुँदैछ, स्थिति नराम्रो बन्नेछ भन्ने थुप्रै भविष्यवाणी गरिएका थिए तर ती सत्य भएनन् । हालको स्थिति बढी अन्योल बनेको छ, जलवायु परिवर्तनको र भूमण्डलीयकरणको व्यापकताका कारणले । तर संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यमा भूमण्डलीकरणले हानि ग¥यो भन्दै सो प्रक्रियाबाट हट्ने सिलसिला जारी छ । फलस्वरूप विश्व परिवेश निकै जटिल र अनिश्चित बन्न पुगेको छ । नेपालको सन्दर्भमा पूँजीवाद अवसानको विश्लेषणलाई कसरी बुझनुपर्छ ? माओवादी द्वन्द्वपछि के भनिने गरेको छ भने नेपालमा सामन्तवाद अन्त्य भई पूँजीवाद आएको छ । स्ट्रीकले भनेजस्तै पूँजीवाद सङ्कटग्रस्त छ भने अब हाम्रो बाटो के हुनुपर्छ ? निरन्तर चिन्तन र मन्थनका विषय हुन्, यस्ता प्रश्न । 
नेपाली रूपान्तरणः अजय दीक्षित