नेपाली गार्मेन्ट उद्योगको उत्थान र अवसान
पुस्तक : डेथ अफ एन इण्ड्रष्टी ः द कल्चरल पोलिटिक्स अफ गार्मेन्ट म्यानुयाक्चरिङ ड्युरिङ द माओइस्ट रिभोलुसन इन नेपाल
लेखक : मल्लिका शाक्य प्रकाशक: क्याम्ब्रिज युनिभर्सिटी प्रेस, २०१८
पृष्ठ: १६२+ मूल्य : रु. ९५२÷–
समीक्षक: विनोद सिजापति
औद्योगीकरणलाई आधुनिकीकरणको प्रतिबिम्बको रूपमा हेर्ने चलन छ । अर्थशास्त्रीहरूमाझ् औद्योगिकीकरणको अभावमा आर्थिक विकास सम्भव हुँदैन भन्ने मान्यता छ । ढिलो शुरू गरिएको भए पनि नेपालको औद्योगीकरणको इतिहास झ्ण्डै एक शताब्दी पुरानो भइसकेको छ । तर पनि अर्थतन्त्रमा यस क्षेत्रको योगदान दशकौंदेखि ६ प्रतिशतको हाराहारीमा रुमलिंदैछ । अगाडि बढ्नका निम्ति विगतमा भएका औद्योगीकरणका प्रयासले भोगेका समस्या तथा चुनौतीको सही पहिचान आवश्यक हुन्छ । अन्यथा, वर्तमानमा उठाइने पहलकदमीहरूमा पुराना कमी–कमजोरी दोहोरिने सम्भावना रहन्छ जसले गर्दा विगतकै नियति भविष्यमा पनि भोग्नुपर्ने हुन्छ ।
हाम्रो आर्थिक अवस्थाको वास्तविकता भनेको बजारमा आफ्नै उद्योगबाट उत्पादित वस्तुको अभाव हो । जसले गर्दा आयातित वस्तुहरूको खपत आकाशिंदै जाने क्रम दशकौंदेखि जारी छ । अत्यधिक आयातको दाँजोमा न्यून निर्यातको कारणले गर्दा व्यापार घाटा चुलिंदैछ । उच्च शिक्षा हासिल गरेका अर्थशास्त्री र विकासविद्हरूको उपस्थिति नेपालमा बाक्लिएको छ । तर पनि औद्योगीकरणतर्फ राष्ट्र उन्मुख हुन नसक्नाका कारण पत्ता लगाउने अनुसन्धानहरू विरलै भएका छन् । औद्योगीकरणका नीतिहरूको कार्यान्वयन सम्बन्धी दस्तावेजहरूको समेत अभाव छ । समकालीन औद्योगीकरण विषय केन्द्रित पुस्तकहरू अत्यन्त थोरै प्रकाशन भएका छन् । नेपालको अर्थतन्त्र, औद्योगीकरण तथा विकास विषयहरूमा जे–जति पुस्तक बजारमा पाइन्छन्, अधिकांश अधुरा र सतही छन् । प्रस्तुत पुस्तक तयारी पोशाक (गार्मेन्ट) उद्योगमा केन्द्रित भए पनि यसले विगतमा गरिएको औद्योगिकीकरणका अभ्यासलाई बृहत् आर्थिक, राजनीतिक तथा सामाजिक परिप्रेक्ष्यमा विवेचना गरेको छ । धेरै हदसम्म पुस्तकले हाम्रो आधुनिकीकरण र विकास प्रक्रियाको बिम्ब सफलताका साथ प्रस्तुत गर्दछ ।
पिताबाट माक्र्सवादी विचारधारामा प्रशिक्षित लेखिका डाक्टर मल्लिका शाक्य दिल्लीस्थित साउथ एशिया युनिभर्सिटीको समाजशास्त्र विषयकी प्राध्यापक हुन् । स्कटल्याण्डको ग्लासगो युनिभर्सिटी (अर्थशास्त्रका पिता एड्म स्मिथले त्यहीं अध्यापन गर्दथे) बाट अर्थशास्त्रमा मास्टर्स गरेकी हुन् मल्लिकाले । सन् २००४ मा लण्डन स्कूल अफ इकोनोमिक्स अन्तर्गतको अन्तर्राष्ट्रिय विकास विभागसँग आबद्ध रहेर उनले मानवशास्त्र विषयमा विद्यावारिधि (पीएचडी) गरिन् । त्यसै विभागका तत्कालीन निर्देशक एवं विकासविद् प्राध्यापक जोन हेरिसको सुपरीवेक्षणमा मल्लिकाले नेपालको गार्मेन्ट उद्योगका विषयमा अनुसन्धान कार्य गरेकी हुन्, पीएचडीका निमित्त । त्यस पश्चात् वाशिङ्टनस्थित विश्व बैंकको वाणिज्य विभागमा आबद्ध रहेर आठ वर्ष काम गरिन् । विश्व बैंकको कार्यहरूसँग असहमत भएपछि उनी प्राज्ञिक संसारमा प्रवेश गरिन्— दक्षिण अफ्रिकास्थित युनिभर्सिटी अफ प्रिट्रोरियामा प्राध्यापक भएर । उनले अक्सफोर्ड विश्वविद्यालयबाट पोष्ट डक्टरेट समेत गरेकी छिन् । प्राध्यापक मल्लिका— एउटा कुशल अध्यापक एवं अनुसन्धानकर्तामा हुनुपर्ने शैक्षिक पृष्ठभूमि तथा आवश्यक सीपहरूबाट परिपूर्ण छन् ।
विभिन्न समुदाय र समाजहरूमा निहित चारित्रिक विविधताहरूले विकास प्रक्रियामा पर्ने असर तथा त्यस्ता चारित्रिक विशेषताहरूको भूमिका जस्ता विषयमा अध्ययन गर्ने अभिरुचिले गर्दा मल्लिकालाई पीएचडीको विषय रोज्दा आर्थिक–मानवशास्त्र विषयले आकर्षित गरेको हो । डा. मल्लिकाको ध्यान नेपाली गार्मेन्ट उद्योगमा केन्द्रित हुनाको प्रमुख कारण चाहिं ‘गार्मेन्ट उद्योगको अवसान निश्चित छ’ भन्ने त्यस बेलामै व्याप्त धारणा प्रमुख रहेको बुझ्न्छि । के कति कारणले गर्दा नेपालको गार्मेन्ट उद्योग धरासाय उन्मुख भएको हो भनेर पत्ता लगाउने तीव्र इच्छा उनको कामबाट झ्ल्किन्छ । लेखकको करीब १४ वर्ष लामो लगाव तथा निष्ठाको परिणाम हो प्रस्तुत पुस्तक । पुस्तक पढ्दा प्रष्ट हुन्छ— डा. मल्लिका नेपालको तयारी पोशाक (गार्मेन्ट) उद्योग तथा त्यसको व्यापारलाई प्रतिनिधि पात्रको रूपमा उभ्याएर खासमा देशको समकालीन आधुनिकीकरण प्रक्रियाको अध्ययनमा जुटेकी छन् । माक्र्सवादी चिन्तनको गहिरो प्रभावका कारणले गर्दा हुन सक्दछ; आधुनिकीकरणका चुनौती र समस्याको विश्लेषण तथा पहिचानका निमित्त उनले माक्र्सवादी चश्मा पहिरिरहेको झ्झ्ल्को भेटिन्छ ।
सन् ६० को दशकमा अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने नेपाल निर्मित वस्तुहरूमा ऊनी कार्पेट प्रमुख थियो । निर्यात व्यापारमा ७० को दशकदेखि कार्पेटसँग प्रतिस्पर्धा गर्न थालेको हो तयारी पोशाक (गार्मेन्ट) ले । गार्मेन्ट विषय केन्द्रित पुस्तक समीक्षा गर्दा यहाँ कार्पेटको प्रसंग निकाल्नुको कारण यी दुवै उद्योग समुद्रपारबाट आयातित कच्चा पदार्थ (कार्पेटका निमित्त ऊन र गार्मेन्टका निमित्त कपडा) प्रशोधन गरेर तयारी उत्पादित वस्तु अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने भएको हुनाले हो । कार्पेट निकासी पूर्वको कालखण्डको मान्यता थियो— भौगोलिक कारण (भूपरिवेष्टित) ले गर्दा नेपालमा औद्योगीकरण सम्भव छैन । सरकारी तथ्याङ्क अनुसार आर्थिक वर्ष सन् १९७४÷७५ मा रु.८० करोडको कार्पेट र रु.१० करोड ३० लाख बराबरको गार्मेन्ट निर्यात भएको देखिन्छ । दश वर्षपछि अर्थात् सन् १९८४÷८५ मा भने गार्मेन्टको निर्यातले कार्पेटलाई उछिनिसकेको थियो । त्यस आर्थिक वर्ष रु.४७० करोडको गार्मेन्ट र रु.३८० करोड मूल्य बराबरको कार्पेट निकासी भएको थियो । मल्लिकाले वर्णन गरे जस्तै गार्मेन्ट उद्योग र त्यसको व्यापारले दुई दशकभन्दा लामो अवधिसम्म हाम्रो निर्यात व्यापारमा अहम् भूमिका मात्र खेलेको होइन यसको उपस्थिति काठमाडौंमा जताततै देखिने गर्दथ्यो ।
प्रस्तुत पुस्तकको अध्ययन अवधि प्रजातन्त्रको पुनस्र्थापनसँगै राष्ट्रले विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा प्रतिपादित नवउदारवादी आर्थिक सिद्धान्त अर्थात् प्रतिस्पर्धात्मक बजारमा आधारित खुला आर्थिक नीति (जसलाई ‘वाशिङ्टन कन्सेन्सस’ पनि भनिन्छ) अवलम्बन गरे पश्चातको १८ वर्ष (१९९२ देखि २००९) हो । पुस्तकको पृष्ठ २३ मा उक्त अवधिमा गार्मेन्ट निकासी सम्बन्धी तथ्याङ्कहरूको एउटा अति रोचक ‘ग्राफ’ छ, जसको आकार मल्लिकाका शब्दमा ‘हिमालको उतारचढाव’ सँग मिल्दोजुल्दो छ । सन् १९९२ देखि उकालो लागेको निर्यात व्यापार सन् १९९९ मा टाकुरामा पुगेर ओरालो लाग्न थाल्यो । सन् २००० मा पुनः उकालो लाग्न थालेको थियो, तर सन् २००२ मा अर्को तर होचो चुचुरोमा पुग्यो अनि तीव्र गतिमा ओरालो लाग्यो । सन् २००९ सम्म आइपुग्दा स्थिति शून्यको हाराहारीमा झ्रेको थियो ।
प्रा. शाक्यले झ्ण्डै दुई दशक लामो (१९९०–२००९) अवधिमा नेपाली गार्मेन्ट उद्योगको उत्थान तथा अवसानका कारणहरूको विस्तृत रूपमा वर्णन गरेकी छन् पुस्तकमा । यस प्रयासमा तिनले बलियो अर्थशास्त्रीय ज्ञानको जगमा उभिएर मानवशास्त्रीय औजारहरूको प्रयोग गरेकी छन् भन्दा उपयुक्त हुन्छ । पुस्तकको शुरूमा उनले उल्लेख गरेको प्रा. डेभिड गिल्नरको भनाइ ‘मानवशास्त्रीले आफ्नो कार्य किन र के कारणले गरेको’ लाई पुस्तकको शुरूदेखि अन्त्यसम्म अविचलित रूपमा आत्मसात् गरेकी छन् । तिनले आफूले उठाएका तर्क र मुद्दाहरूको सैद्धान्तिक व्याख्यासँगै स्थितिको सूक्ष्म विश्लेषण पनि प्रस्तुत गरेकी छन् । अनुसन्धानको क्रममा तिनले गार्मेन्ट उत्पादन प्रणालीको अध्ययन कार्यमा आफूलाई प्रत्यक्षदर्शीको भूमिकामा मात्र सीमित तुल्याइनन् बरु प्रशोधन, उत्पादन, बजार पहँुच र उद्योग व्यवस्थापन जस्ता प्रत्येक चरणका कार्यहरूमा पनि सहभागी भएर अध्ययन गरिन् । उद्यमीदेखि डिजाइनर, व्यवस्थापक, श्रमिकहरूसँगको सहवास तथा व्यक्तिगत मित्रता स्थापित गरेर उद्योग संचालन र त्यसमा संलग्न ‘एक्टरहरू’ को भूमिका तथा तिनले सामना गरेका चुनौती केलाउने कार्य उनले बडो कुशलतापूर्वक सम्पादन गरेकी छन् ।
त्यसैगरी; गार्मेन्ट उद्योगको प्रवद्र्धन र पतनमा सो उद्योगसँग सम्बन्धित निकाय, संगठन तथा व्यक्तिहरूको धारणा बुझनका निमित्त लेखकले काठमाडौंदेखि वाशिङ्टनसम्मका यात्रा गरिन् । उनले उत्पादन वितरण, व्यवस्थापनदेखि उत्पादित वस्तुहरू पुग्ने स्थानहरूसम्मको धारणा र अवस्थाको सूक्ष्मतम अध्ययन गरेकी थिइन् । संक्षिप्तमा भन्नु पर्दा, पुस्तकको शुरूआतमा लेखकले उल्लेख गरे जस्तै प्रस्तुत पुस्तक नेपालको गार्मेन्ट उद्योग अवसान हुनाका कारणहरूको खोजको उपज पनि हो । त्यसकारण पुस्तक पढ्दै गर्दा आभास हुन्छ, लेखकले अत्यन्त मूल्यवान ‘प्रोग्रेसिभ लेन्स’ भएको चश्मा पहिरिएकी छन् । तिनले टाढा तथा नजिकबाट समस्याको अध्ययन र अनुसन्धान गरेकी छन् । गार्मेन्ट उद्योगको उतारचढावसँग गाँसिएका ‘एक्टरहरू’को मानवीय जीवनका विभिन्न आयामलाई उनले राम्ररी नियालेर प्रस्तुत गरेकी छन् । अमेरिकी बजारमा भएको माग र नेपालबाट भएको आपूर्ति कार्यमा भएका सैद्धान्तिक धरातल तथा उत्पादन, उत्पादक अनि उत्पादित वस्तुहरूको गुणमा मात्र सीमित छैन पुस्तक, यसमा गहिरिएर उत्पादन प्रणाली र बजार व्यवस्थापनका चुनौतीहरू पनि समेटिएको छ । जसले गर्दा नेपाली गार्मेन्ट उद्योग फस्टाउने र अस्ताउने कार्यमा अमेरिकी व्यापार नीतिले अहम् भूमिका निभाएको तथ्य छरपस्ट हुन्छ ।
अधिकांश स्वदेशी तथा विदेशी अर्थशास्त्रीहरू (खासगरी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषसँग आबद्ध) ले जस्तो हार्वर्ड विश्वविद्यालयका अष्ट्रिया मूलका प्रोफेसर सुम्पिटरको ‘क्रिएटिभ डिस्ट्रक्सन’ उद्धृत गर्दै नेपालको गार्मेन्ट उद्योगको अवसान निश्चित भएको निष्कर्षसँग लेखक असहमति जनाउँछिन् । अर्थात् बजारको माग र आपूर्तिको स्थितिले मात्र यस उद्योगलाई धरासायी तुल्याएको होइन भन्ने तिनको जिकिर छ । अमेरिकी सरकारले आफ्नो विश्व बजारमा दूरगामी प्रभुत्व जमाउने व्यापार नीति (जसलाई ‘मल्टी फाइबर एग्रिमेन्ट’ एमएफए भनिन्छ) अवलम्बन गर्नुलाई लेखकले नेपाली गार्मेन्ट उद्योग धरासायी हुनुको प्रमुख कारक हो भन्ने निष्कर्ष निकालेकी छन् । ‘एमएफए’ ले विकासशील मुलुकहरूबाट उत्पादन हुने गार्मेन्टहरूको कोटा तोकेर चिनियाँ र भारतीय उद्योगबाट उत्पादित लत्ता–कपडाहरूको अमेरिका प्रवेशलाई निषेध गरेको थियो । ‘एमएफए’ को अन्त्य भए पनि लेखक ‘वल्र्ड ट्रेड अर्गनाइजेसन’ को स्थापनालाई उही पुरानो अमेरिकी वाणिज्य नीतिको निरन्तरता मान्छिन् ।
नेपाल सरकारको प्रशासकीय निकायका जिम्मेवार अधिकृतहरूमध्ये अधिकांशको ‘माइन्ड सेट’ के थियो भने— ‘यो उद्योगमा ‘एमएफए’ द्वारा नेपाललाई प्रदत्त गार्मेन्ट कोटाको सहुलियत लिनका निमित्त भारतीय लगानीकर्ताहरूले लगानी गरेका छन्; यसबाट नेपाललाई खासै ठूलो फाइदा छैन; त्यसैले भारतीय कामदारहरूलाई फाइदा पु¥याइरहेको यो उद्योगको अवसानले नेपाली अर्थतन्त्रलाई कुनै प्रतिकूल असर पर्दैन ।’ यसरी गार्मेन्ट उद्योगले अर्थतन्त्रमा गरेको योगदान र उक्त उद्योगको उपस्थितिले जनजीवनमा पारेका असरहरूलाई उच्च ओहोदामा रहेका नीतिनिर्माताहरूले अनदेखा गरे पनि लेखक त्यसलाई गार्मेन्ट उद्योगको अवसानको कारक भने मान्दिनन् । डा. शाक्यले आफ्नो अनुसन्धानको क्रममा गार्मेन्ट उद्योगलाई नेपालकै आर्थिक–सामाजिक संरचनाको इन्द्रधनुषको रूपमा प्रस्तुत गरेको अनुभव हुन्छ । यस उद्योगमा विभिन्न जातजातिका मानिसहरूको संलग्नता थियो । निश्चय पनि केही उत्तर भारतीय मजदूरहरूको पनि उपस्थिति थियो । भारतीय उद्यमीहरूको लगानी पनि थियो । त्यसैगरी गार्मेन्ट उद्योगमा आयातित प्रविधिले ठूलो भूमिका खेलेको पनि थियो । तर यी कारणहरूले गर्दा नै उद्योग धरासायीमा परेको भन्ने धारणासँग भने डा. शाक्य असहमति जनाउँछिन् ।
मल्लिकाले गार्मेन्ट व्यवसायमा भएका दुई प्रकारका उद्योगहरू —परम्परामा आधारित र नयाँ प्रविधि तथा उपकरणहरूमा आधारित— को छुट्टाछुट्टै अध्ययन गरेकी छन् । तिनको निष्कर्ष छ, दुवै किसिमका उद्योगहरू एकै पटक धरासायी भएका हुनाले ‘परम्परागत नभएको हुनाले गार्मेन्ट उद्योग धरासायी’ भएको भन्ने एकथरीको मान्यतालाई उनी गलत ठान्छिन् । बरु उनको निष्कर्ष छ, आधुनिकीकरण प्रक्रियालाई अगाडि बढाउनका निम्ति परम्परादेखि चलिआएका उद्योगहरू नै हुनु आवश्यक छैन । हङकङ, सिंगापुर, ताइवान तथा दक्षिण कोरिया आदिमा झ्ैं नयाँ प्रविधिको उपयोगले विकास प्रक्रियालाई गति दिन सक्दछ । लामो अवधिसम्म कायम रहँदै आएको राजनीतिक अस्थिरता र लम्बिंदै गएको संक्रमणकाल तथा माओवादी हिंसाको प्रभावले पनि गार्मेन्ट उद्योगलाई नकारात्मक प्रभाव पारेको उनको निष्कर्ष छ । नेपालको ट्रेड युनियन आन्दोलन सशक्त भएका कारणले गार्मेन्ट उद्योग धरासायी भएको मान्यता राख्नुको पनि मल्लिका तुक देख्दिनन् । मल्लिकाको अनुसन्धान अनुसार उद्योगहरू धरासायीमा पर्न थालेपछि मात्र श्रमिकहरू अन्योलमा परे । त्यस अवस्थामा स्थापित नेपाली कांग्रेस पार्टी र एमाले पार्टी समर्थित युनियनहरू अकर्मण्य हुन पुगे जसले गर्दा श्रमिकहरूको आकर्षण माओवादी ट्रेड युनियनतर्फ गयो । त्यतिन्जेलसम्म अर्थात् एकपछि अर्को उद्योगमा ताल्चा लाग्न थालेपछि अधिकांश मजदूरहरूमध्ये धेरैका निम्ति ‘जो हात सो साथ’ भन्ने मनोवैज्ञानिक सोच पनि हावी भएको थियो ।
मल्लिकाको मानवीय संवेदनशीलता पुस्तकको शुरूआत र अन्त्यतिर पुग्दा छताछुल्ल हुन्छ । गार्मेन्ट उद्योगको अवसानपछिको कालखण्डमा विस्थापित व्यवसायी तथा मजदूरहरूसँग तिनी सम्पर्कमा पुग्छिन् । पलायन हुने उद्योगपतिहरूमध्ये कति अमेरिकामा सानातिना व्यवसायमा अल्झ्ेर गुजारा गर्न थालेको तिनले पाइन् । नेपालमै पनि कति अन्य व्यवसायमा लागेको तिनले भेटिन् । मजदूरहरूमध्ये कति विदेश पलायन भए भने कति श्रमिक तथा जग्गा दलाली व्यवसायमा लागेका तिनले भेटिन् । यस प्रक्रियामा तिनले पलायन हुनेहरूको करुणामय गाथा पुस्तकमा समेटेकी छन् । उनी रोष प्रकट गर्छिन्— नेपाली तथा विदेशी बौद्धिक क्षेत्रप्रति— जसको ध्यान नेपाली गार्मेन्ट उद्योगतर्फ आकर्षित भएन । अन्य मुलुकका गार्मेन्ट उद्योगहरूमा श्रमिकको अवस्थाका विषयमा थुप्रै अनुसन्धान भए तर पनि नेपाली गार्मेन्ट उद्योगका विषयमा त्यस्ता अध्ययन अनुसन्धानकर्ताहरूको ध्यान नै गएन । डा. शाक्यले यस्तो परिस्थिति हुनाका कारण भने खोतलेकी छैनन् ।
पुस्तक गहन छ । कुल १६२ पृष्ठको पुस्तकमा अटेसमटेस गरेर अटाएका विषय र उठान गरेका मुद्दा अत्यन्त खँदिला छन् । प्रयोग गरिएको भाषा सरल हुँदाहँुदै पनि प्रत्येक शब्द चयनमा त्यसको उपयोगिता र सान्दर्भिकताले महŒव पाएको देखिन्छ । पुस्तकमा समेटिएका विषयहरूले गार्मेन्ट उद्योगलाई केन्द्रविन्दुमा राखे पनि यसले हाम्रा विगतका औद्योगीकरणका प्रयासहरू सफल हुन नसक्नाका कारणहरू उजागर गरेको छ ।
पुस्तक पढिसक्दा सोच्ने प्रमुख विषय भनेको, यति धेरै अध्ययन अनुसन्धान गर्न सक्षम व्यक्तिले आफ्नो ध्यान किन रोगको पहिचानमा मात्र सीमित तुल्याइन् भन्ने हो । डा. मल्लिकाले संकटमा परेका उद्योगहरूलाई ‘रेस्क्यु’ गर्ने अथवा निदानका उपाय; अझ् भनौं ‘प्रेस्क्रिप्सन’ पस्किन किन कन्जुस्याइँ गरेकी होलिन् ? निश्चय पनि समाजशास्त्रीहरूमध्ये ‘नोरम्याटिभ’ स्कूलिङमा हुर्केका र विशेषगरी मानवशास्त्रीहरू समस्याको जरामा पुगेर तिनलाई पस्कने गर्दछन् । अनि नीतिनिर्माताहरूलाई नीतिनिर्माण गर्दा आफ्नै विवेक प्रयोग गर्न छोड्ने तिनको परम्परा छ । यस परम्परालाई प्राध्यापक शाक्यले पनि निरन्तरता दिएकी हुन सक्छिन् । यता हाम्रो संस्कार भने, विना कुनै अनुरोध हत्तपत्त समाधानका रायसल्लाहहरू व्यक्त गर्ने हो ।
यदि पुस्तकको वर्णनलाई व्यापारिक प्रयोजन नसम्झ्ने हो भने यो पुस्तक विरलै पाइने नेपाली लेखकहरूले लेखेको अन्तर्राष्ट्रियस्तरको कृति हो । अध्यापन, अनुसन्धान र ज्ञान वृद्धिका लागि जो–कोहीका निम्ति पनि अत्यन्त लाभदायी छ, पुस्तक । समाजशास्त्र, मानवशास्त्रका विद्यार्थीका निम्ति पुस्तक अत्यन्त उपयोगी सिद्ध हुने पनि निश्चित छ । जुनसुकै विधाका भए पनि नेपाली आधुनिकीकरण प्रक्रिया सम्बन्धी अध्ययन अनुसन्धान गर्नेहरूका निम्ति त उपयोगी सावित हुने छँदैछ ।
सिजापति विकास, अर्थशास्त्र र शरणार्थी व्यवस्थापनका विज्ञ हुन् ।