Monday, November 26, 2018

२०७५ कार्तिक अङ्क, विदेशी यात्रीको आँखाबाट हिमालय क्षेत्र, समीक्षक: श्रेया ज्ञवाली

विदेशी यात्रीको आँखाबाट हिमालय क्षेत्र


पुस्तक: माउण्टेन बाउण्डः राइटिङ्स फ्रम द हिमालय                    सम्पादक: लुसिया डी भ्रिस
प्रकाशक: बज्र बुक्स, काठमाडौं, सन् २०१८                                    पृष्ठ: ४५१+
मूल्य रु. ९६०÷–

समीक्षक: श्रेया ज्ञवाली

प्रस्तुत पुस्तक माउण्टेन बाउण्डः राइटिङ फ्रम दि हिमालय, हिमालय पर्वत शृंखलाबारे विदेशीहरूले लेखेका पुराना लेखहरूको सँगालो हो । पुस्तककी सम्पादक लुसिया डी भ्रिसलाई यो पुस्तक सम्पादन गर्ने प्रेरणा पनि हिमालय पर्वत शृङ्खलाले नै दिएको हो । उनलाई करीब ३० वर्ष अगाडि पाकिस्तानको गिलगिटमा हिमालयले मोहनी लगाएको थियो । तत्पश्चात् उनी हिमाली क्षेत्रको खोजकर्ता बन्ने सपना देख्न थालिन् । सम्पादक डी भ्रिस अघिल्लो पुस्ताका यात्रु जस्तै अन्वेषक बन्न चाहन्थिन् । त्यसै क्रममा तिब्बत भ्रमणको सिलसिलामा ल्हासाको जोखाङ मन्दिर जाँदा उनी बाटोमा हराइन् । फिरन्तेहरूले उद्धार नगरेका भए उनको ज्यानै जान सक्थ्यो । उनका हात–खुट्टा हिउँले खायो, लामो उपचारपछि मात्रै उनी तङ्ग्रिइन् ।

पश्चिमा यात्रु र अन्वेषकहरू किन यता आए र हिमालयले तिनलाई कसरी प्रभाव पा¥यो ? उनी जान्न इच्छुक थिइन् । डी भ्रिसले विगत २०० वर्षयता हिमालय क्षेत्रतिर आएका विदेशी त्यसमा पनि पश्चिमा अन्वेषक र यात्रुहरूबारे खोजतलास थालिन् । पुराना लेख सङ्कलन गर्नु उनको कार्यक्षेत्र हुन थाल्यो । विस्तारै सङ्कलन बढ्न थाल्यो । उनले सङ्कलनलाई पुस्तकको रूपमा प्रकाशन गर्ने निर्णय गरिन् ।

पुस्तकमा हिमालय क्षेत्रका विभिन्न पक्षबारे ४६ जना अन्वेषक र यात्रुका लेख संलग्न छन् । १९औं शताब्दी अर्थात् सन् १८०० देखि १९०० सम्मको १०० वर्षे कालखण्डका २१ वटा लेख छन् । तीमध्ये तिब्बतबारे ८ वटा, भारतबारे ७ वटा, नेपालबारे ४ वटा अनि पाकिस्तान र अफगानिस्तानबारे एक–एक वटा । २०औं शताब्दीका लेखहरूमा तिब्बतसित सम्बन्धित १० वटा, नेपाल सम्बन्धी ८ वटा, भारत ४, पाकिस्तान २ र भूटान सम्बन्धी एउटा लेख पुस्तकमा रहेका छन् । १९औं र २०औं शताब्दीमा हिमाली क्षेत्रको यात्रा गर्नेहरूमा मूलतः ‘मिसनरी’, पर्वतारोही, धार्मिक–आध्यात्मिक खोजमा निस्केका यायावर र ज्याला लिएर काम गर्ने व्यक्तिहरू (मर्सिनरी) पाइन्छन् । एक जना जापानी बाहेक अन्य लेख यूरोपियन र अमेरिकी मूलका छन् । पुस्तकमा लेखहरू मितिअनुसार बढ्दो क्रममा राखिएका छन्; जसले पाठकलाई समय अन्तरालमा हिमाल र यो क्षेत्रबारे विदेशी आगन्तुकको दृष्टिकोण कसरी परिवर्तन भयो बुझन सघाउँछन् ।

सन् १८०० मा कप्तान सामुइल टर्नरले आफ्नो तिब्बत भ्रमणको लेखमा केटाकेटी पन्चेन लामालाई भेटेको प्रसङ्ग उल्लेख गरेका छन् । विस्तारै इष्ट इण्डिया कम्पनीका जासूसहरू यस क्षेत्रमा घुम्न र नक्शा बनाउन थाले । त्यतिञ्जेलसम्म हिमालय क्षेत्रको नक्शा थिएन । जासूसहरू धार्मिक यात्रीको रूपमा आउँथे र नक्शा बनाउँथे । टर्नर आएको समय अर्थात् सन् १८०० मा बेलायतबाट जहाजी यात्रा गर्दै भारत आइपुग्न ६ महीना लाग्थ्यो । जीपीएस जस्ता प्रविधि विकास भएका थिएनन् । त्यसबेलासम्म पश्चिमी विश्वमा यस क्षेत्रका बारे निकै कम जानकारी थियो । आम रूपमा पश्चिमाहरू यहाँका पहाडी भेगतिर जान डराउँथे, पहाडलाई उनीहरू अग्लो; एक्लो र डरलाग्दोे, बिमारी हुने, वनमान्छे र यती भएको क्षेत्र मान्थे । अर्कोतिर स्थानीयहरू पनि विदेशीलाई मन पराउँदैनथे, तिनलाई उनीहरू जासूस र पाखण्डी ठान्थे । ब्रिटिश इष्ट इण्डिया कम्पनीको आगमन र १९औं शताब्दीमा रोयल ज्योग्राफिक समाजको स्थापनापछि यो क्षेत्र घुम्न चाहनेहरूको सङ्ख्या बढ्न थाल्यो । हिमशिखरहरू आरोहण गर्ने सिलसिला शुरू भयो । हिमालयलाई राजनीतिक हिसाबले पनि हेर्न थालियो । रसिया र बेलायती साम्राज्यबीच भएको द्वन्द्वताका हिमाली क्षेत्रलाई महŒवपूर्ण मानियो ।

पुस्तकमा भएका नेपाल सम्बन्धी या नेपाल केन्द्रित १२ वटा लेखमा पाठकले त्यसबेलाको भूगोल, संस्कृति र चालचलनको सजीव चित्रण पाउन सक्छन् । लेखहरूमा काठमाडौं, सगरमाथा र अन्य क्षेत्रका यात्रा विवरण पाइन्छ । हात्ती समात्ने काम, एउटा सैनिकलाई खुकुरीले काटेर मृत्युदण्ड दिइएको विवरण पनि यसमा भेटिन्छ । १९औं शताब्दीका केही यात्रुले यस क्षेत्रका ठाउँहरूको नाम लेखेको अहिले पढ्दा अचम्म लाग्छ । कर्कप्याट्रिक, नेपाललाई ‘नेपौल’ भन्छन् । त्यस्तै तिनले ‘काठमाण्डा’, ‘शूम्भू–नाथ’ (स्वयम्भूनाथ), ‘नागा–अर्जुन’ (नागार्जुन) र ‘फाल्चोक’ (फुल्चोकी) लेखेको भेटिन्छ ।  

आवतजावतमा सुधार भएपछि पश्चिमाहरूलाई पर्यटकको रूपमा यता आउन निकै सहज हुन थालेको छ । धेरैले नेपाल र काठमाडौंलाई आफ्नो वासस्थल नै पनि बनाएका छन् । डी भ्रिसलाई काठमाडौं उपत्यका साह्रै मनपरेको देखिन्छ । तर तीन दशक अगाडिको काठमाडौंको अवस्था र हिजोआजको स्थितिले उनलाई दुःखी बनाएको छ । जथाभावी बनाइएका बाटा र अनियन्त्रित शहरीकरणले नेपालका पहाडहरू समेत आक्रान्त छन् भने जलवायु परिवर्तनले पहाड र यहाँका बासिन्दालाई पहिलेभन्दा बढी जोखिममा पारेको छ । पुस्तकमा डी भ्रिसको आफ्नो लेख पनि समावेश छ । ‘चैते हुरी’ शीर्षकको लेख मध्य नेपालको कुनै गाउँमा बस्ने एउटा दलित माओवादी युवक चन्द्रको कथा हो । द्वन्द्वको समयमा सेनाले चन्द्रको हत्या गर्छ । जात, वर्ग, सामाजिक अन्याय, राज्य व्यवस्था र हिंसाको सम्बन्धलाई त्यो कथाले खोतल्ने प्रयास गरेको छ । पश्चिमी पत्रकारले माओवादी द्वन्द्वबारे लेखेको एउटा संवेदनशील गाथा हो ‘चैते हुरी’ ।

अबको हिमालय क्षेत्र सन् १८०० को जस्तो छैन, व्यापक परिवर्तन भएको छ । हिमाली क्षेत्रका बारे धारणा पनि परिवर्तन हुँदैछन् । अलौकिक हिसाबले हेर्न शुरू भई संस्कृति, रहनसहन, धर्म, समुदायको चासो हुँदै अब विकास, पूर्वाधार, आवतजावतका विषय आउन थालेका छन् । हरेक वर्ष लाखौं पर्यटक यस क्षेत्रमा आउँछन् भने लाखौं नेपाली विदेशमा कार्यरत छन् । यसले पनि हिमालय क्षेत्रको परिकल्पनामा परिवर्तन भएको छ । तर पनि हिमाल लाखौं वर्षअघि जहाँ थियो त्यहीं उभिएको छ, बदलिंदो सामाजिक, राजनीतिक र आर्थिक सन्दर्भ बेहोर्दै नयाँ सम्भावना खोज्दै, नयाँ चुनौती भोग्दै । 

ज्ञवाली मानवशास्त्रकी विद्यार्थी हुन् ।

No comments:

Post a Comment