बैठकभित्र आइपुगेका ध्यानवाद
म्याकडोनाल्डाइजेसन, मसाला
म्याकगोस्पेल एण्ड ओम इकोनोमिक्स
लेखक : जोनाथन डी. जेम्स
समीक्षक ः सुधिरेन्द्र शर्मा
पहिले पहिले आफूले चाहेका कुरा खोज्नुपथ्र्यो, त्यसका लागि मिहिनेत गर्नुपथ्र्यो । हिजोआज बीमाको योजना होस् वा निर्माणको परामर्श, सबै हाम्रा बैठक कोठामै आइपुग्न थालेका छन् । अरू त परै जाओस्, आस्थाको कुरा पनि खोज्नुपर्दैन । गेरुबस्त्र धारण गरेका रामदेव हुन् वा इभानजीकल महानायक जो ओस्टिन, हरेक प्रकारका आस्थाको प्रसारण बैठक कोठाको टेलिभिजन सेटमा उपलब्ध हुन सक्छ । रिमोट थिच्नेबित्तिकै विश्वभर प्रसारण हुँदै गरेका धर्म र आस्थाका टेलिभिजन च्यानलहरू भेटिन्छन् । यस्ता अग्रसरताहरूका कारण पुजारी उपभोक्ता सिर्जना गर्दैछ न कि ईश्वरसित जोडिएका आस्तिक व्यक्तिहरू । आस्था र धर्म सुपरमार्केट र मलहरूमा बेचबिखन गरिने वस्तुसरह भएको छ । यो सन्दर्भलाई विश्वव्यापीकरणको एउटा प्रतिफल मान्दै पुस्तकले सो विश्वव्यापी प्रक्रियालाई सांस्कृतिक र धार्मिक परिदृश्यबाट विवेचना गर्ने प्रयास गरेको छ ।
लेखक जोनाथन डि जेम्सको विश्लेषणको आधार भारतमा सञ्चालित दुई–दुई वटा इसाई र हिन्दू टेलिभिजन च्यानलका प्रसारण सामग्री हुन् । साथै, उनले भारतको मुम्बई र हैदरावादमा रहेका मध्यमस्तरमा कार्यरत पुरोहितहरू सित लिएको अन्तर्वार्ताहरूले अनुसन्धानलाई थप टेवा दिएका छन् । भारतलगायत विश्वभरि प्रसारण हुँदै गरेका धार्मिक टेलिभिजन कार्यक्रमबारे पुस्तक गहन विश्लेषण र विवेचना गर्दछ ।
मिडियाले प्रवद्र्धन गरेको धर्मले यसरी बैठकमा व्यापक स्थान पाउन थालेपछि धार्मिक आस्था, राजनीति र पूँजीवादी बजारका नमिल्दो सहयात्री बन्न पुगेको छ । हवाई तरङ्गमा यसरी हुँदै गरेको हस्तक्षेपले धर्मलाई बजार र वित्तीय व्यवस्थासँग झ्न् जोडेको मात्रै छैन बरु टेलिभिजनमा आधारित धार्मिक सञ्चार व्यवसाय निरन्तर राख्ने अर्थ–राजनीतिको निर्माण पनि गर्दैछ । मूलतः प्राणायामका तौरतरिका सिकाउने भनेर चिनिएका भारतका रामदेव यस्ता एउटा उदाहरण हुन् जो धर्मसँग गाँसिएको आफ्नो आर्थिक व्यवसाय निरन्तर राख्न टेलिभिजनको व्यापक प्रयोग गर्छन् ।
टेलिभिजनमा आधारित यस्ता कार्यक्रम सम्प्रेषणले धार्मिक आस्थालाई फाइदाको जोडघटाउ गर्न सक्ने उपभोक्तासमक्ष एउटा उपभोग्य वस्तुको रूपमा प्रस्तुत गरेको छ । टेलिभिजन गुरु रामदेव वा श्री रवि शङ्करका लाखौं अनुयायीहरू मध्यमवर्गीय परिवारका हुन् जसका लागि बिरामी भएपछि उपचार खर्च बेहोर्न निकै महँगो हुन थालेको छ । त्यस्ता परिवारका सदस्यहरू विना खर्च राम बाण हासिल गर्ने र रोगबाट मुक्ति पाउने प्रयत्नमा टेलिभिजनमा आ–आफ्ना गुरुहरूलाई पछ्याउँछन् ।
आस्था र धर्मका विषयमा टेलिभिजनको बढ्दो प्रयोगले विभिन्न धर्म र आस्थाका अनुयायीहरू सह–अस्तित्वमा रहन सक्ने परिवेश बनाउन सक्छ भन्ने एउटा तर्क हुन सक्छ । तर, सञ्चारमाध्यमको बढ्दो प्रयोग र यसखाले विषयगत सम्प्रेषणले बहुल धार्मिक र सांस्कृतिक आस्थाको सह–अस्तित्व पनि सम्भव गराउन सक्छ । धार्मिक सञ्चारले दर्शकहरूलाई आ–आफ्नो सांस्कृतिक सार अझ् दरिलो बनाउने सन्दर्भमा व्यक्तिगत, सामुदायिक र धार्मिक पहिचानको प्रश्नलाई अझ् जडसूत्रवादी बनाउन सक्छ । भविष्यमा यस्तो भयो भने विभिन्न धर्मप्रति आस्था राख्ने समुदाय वा सभ्यताबीच समझ्दारी बढ्ला कि असमझ्दारी ? शान्ति कि द्वन्द्व ? यस्ता प्रश्नहरूलाई विवेकशील ढङ्गले हेर्दै–खोज्दै उचित जवाफ खोज्न र व्यवस्थापन गर्न सकिएन भने धर्म र आस्थामा आधारित टेलिभिजन माध्यमको बाहुल्यले द्वन्द्व पनि निम्त्याउन सक्छ, लेखक चिन्ता व्यक्त गर्छन ।
(नयाँदिल्ली निवासी सञ्चारकर्मी सुधिरेन्द्र शर्मा विकास, वातावरण लगायतका विषयमा चासो राख्छन् ।)
No comments:
Post a Comment