युद्ध र राजनीतिक उथलपुथलको इतिहास
पुस्तक ः स्मल वार्स फार अवे प्लेसेस लेखक ः माइकल बर्ले
प्रकाशक ः पेङ्गुइन बुक्स, २०१३ पृष्ठ ः ५८७
समीक्षक ः अजय दीक्षित
केही महीनायता मध्यपूर्वको इराक, टर्की र सिरिया आसपासका क्षेत्रमा आईएसआईएस नामक सङ्गठनले इस्लामी खाँलिफेट निर्माण गर्ने उद्देश्यअनुरूप हिंस्रक आन्दोलन गर्दै छ । पछिल्लो युद्धपछि इराकबाट आफ्नो सेना फिर्ता बोलाएको ओबामा प्रशासनले आईएसआईएसका ठेगानाहरूमा बमबारी शुरू गरेको छ । बमबारीमा युरोपेली मुलुक पनि संलग्न छन् । प्रश्नहरू उठ्छ, परिणाम कस्तो होला ? आफ्ना मुलुकबाट निकै टाढाको युद्धमा पश्चिमी मुलुकहरू किन होमिन पुगे ? इतिहासकारहरू यस्ता युद्धबारे विवेचना गर्दै छन् । बेलायती इतिहासकार माइकल बर्लेको स्मल वार्स फार अवे प्लेसेस विगतका यस्ता युद्धहरूको इतिवृत्त समेटेको पुस्तक हो । यसमा दोस्रो विश्वयुद्धको अन्त्य अर्थात् सन् १९४५ देखि १९६५ सम्मको दुई दशकको कालखण्ड समेटिएको छ । पुस्तकले अमेरिकी र पश्चिम युरोपेली भूभागबाट टाढा रहेका मुलुकहरूका युद्ध, राजनीतिक उथलपुथल र परिवर्तनका शृङ्खलाको नालीबेली प्रस्तुत गर्छ । पुस्तकमा कोरिया, मलाया, फिलिपिन्स, हिन्द–चीन, भारत–पाकिस्तान, अल्जेरिया, केन्या, कङ्गो र क्युवाका यस्ता घटनाहरूको विस्तृत विवरण र गहन विश्लेषण समेटिएको छ ।
सन् १९९० मा पूर्व सोभियत युनियनको विखण्डनपछि संयुक्त राज्य अमेरिका आर्थिक र सैनिक हिसाबले विश्वको सर्वाधिक शक्तिशाली राष्ट्र बने पनि त्यस मुलुकको विश्वव्यापी वर्चस्व दोस्रो विश्वयुद्धपछि नै स्थापित भइसकेको हो । दोस्रो विश्वयुद्धअगि एसिया र अफ्रिकाका धेरै मुलुकहरू उपनिवेश थिए । बर्ले भन्छन्, दोस्रो विश्वयुद्धपछि युरोपेली भूभागमा लाखौँ अनाथ केटाकेटी भौतारिँदै गर्दा उपनिवेशहरूमा स्वतन्त्र हुने क्रम धमाधम बढ्यो र युरोपेली मुलुकहरू, खास गरी संयुक्त अधिराज्यको वर्चस्व कम हुन लाग्यो । ती मुलुकहरूले खाली गरेको ‘ठाउँ’ मा संयुक्त राज्य अमेरिका होमिन थाल्यो ।
इतिहासका घटनाक्रममा कुन सरकारका कुन पात्रले कस्तो भूमिका खेले, के गरे, व्यक्तिहरूको आफ्नो झ्ुकाव र पात्रहरूबीचको सम्बन्धले घटनाक्रम कता कसरी लाग्यो भन्ने वृत्तान्त पुस्तकले दिन्छ । हरेक घटनाका पछाडि चुनिएर वा अन्य माध्यमबाट सत्तामा पुगी राज्यशक्तिको प्रयोग गर्ने पात्र विशेष सक्रिय देखिन्छन् । सहयोगी ग्रन्थको आधार लिँदै बर्ले शक्तिशाली नेताका व्यवहार र संस्कारबारे पनि चर्चा गर्छन् । बर्लेको शोध बेजोड छ र उनको विश्लेषण कडा । सत्तामा पुगेका पात्रहरूको इतिहासले वस्तुपरक तर कठोर मूल्याङ्कन गर्छ भन्ने दृष्टान्त पुस्तकले प्रस्तुत गर्छ यद्यपि बर्लेको विश्लेषण दक्षिणपन्थ झ्ुकावले प्रभावित हुन्छ भन्ने आरोप पनि लाग्ने गरेको छ । यो समीक्षा पुस्तकमा उपस्थित तीनवटा घटनाक्रमको आधारमा केही पाठ सिक्ने यत्नमा केन्द्रित छ ।
पश्चिम एसियाको गाथा
स्वतन्त्रताको लडाइँमा मध्यपूर्व र पश्चिम एसियाका मुलुकहरूको प्रसङ्ग महŒवपूर्ण छ । बर्लेले समेटेको कालखण्डमा खनिज तेलको उपलब्धता र त्यससित गाँसिएको अर्थव्यवस्थाका चलखेलहरू निर्णायक कडीका रूपमा छन् । एउटा नाटकीय उदाहरण इरान हो । पश्चिमी राजनीतिक चलखेल निर्वाचित इरानी प्रधानमन्त्री मोहम्मद मोशादेगलाई अपदस्थ गर्ने कारण बन्यो; रेजा शाह इरानका बादशाहको रूपमा स्थापित भए । शाहलाई स्थापित गराउन अमेरिकी केन्द्रीय गुप्तचर सङ्गठन (सीआईए) ले निर्णायक भूमिका खेलेको थियो । त्यसमा सीआईएका कर्मचारी केरमिट रुजवेल्टको भूमिका बर्ले विस्तृत रूपमा उल्लेख गर्छन्, सीआईएभित्रै विवादित रहेको थियो । मोशादेग प्रधानमन्त्रीबाट हटाइएपछि रुजवेल्ट अमेरिका फर्कने क्रममा बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिललाई भेट्न गए । मस्तिष्क घात भएका चर्चिल बौराइरहेका थिए । सुन्न र बोल्न गाह्रो भए पनि उनले रुजवेल्टलाई भेटे र ‘दोस्रो विश्वयुद्धपछिको सबैभन्दा कुशल कार्य’ सम्पन्न गरेकोमा धन्यवाद दिए । बर्ले लेख्छन्, ‘चर्चिलमाथि इतिहासको साह्रै ठूलो बोझ् थियो ।’ चर्चिल सन् १९११–१९१५ मा बेलायती जङ्गी बेडा हेर्ने फस्र्ट लर्ड अफ अडमार्लिटी (अर्थात् मन्त्री) को जिम्मेवारीमा थिए र उनकै निर्देशनमा बेलायती जङ्गी बेडाको सञ्चालन कोइलाको सट्टा खेनिज तेलबाट गर्ने निर्णय गरिएको थियो । तत्पश्चात् तेल आपूर्ति सहज राख्न बेलायती सरकारले उनकै अगुवाइमा इरानको एङ्लो–पर्सियन (हिजोआज बिट्रिश पेट्रोलियम) तेल कम्पनीको निर्णायक शेयर किनेको थियो । सन् १९४९ मा एङ्लो–पर्सियन तेल कम्पनीले इरानी सरकारलाई १० लाख पाउन्ड राजस्व बुझउँथ्यो भने बेलायती सरकारलाई १ करोड ८० लाख पाउन्ड । इरानीहरूको आँखामा बेलायतीहरू दुईजिब्रे र धोखाधडीमा माहिर थिए । पछि अमेरिकीहरू बेलायतीहरूझ्ैँ इरानको आन्तरिक राजनीतिमा होमिए ।
रेजा शाहको सत्तारोहणपछि केही दशकसम्म राजनीतिक रूपमा इरान स्थिर रह्यो तर बिस्तारै स्थिति परिवर्तन हुन थाल्यो । सन् १९७९ मा अयोतोल्ला खोमेनीको अगुवाइमा भएको इस्लामी क्रान्तिले रेजा शाहको सत्ता फालिदियो । नयाँ इरान र पश्चिमी सरकारहरू, खास गरी संयुक्त राज्य अमेरिकाबीचको सम्बन्ध राम्रो रहेन । विभिन्न चरण पार गर्दै इरानले हासिल गरेको आणविक क्षमता पश्चिमी मुलुकहरूका लागि टाउकोदुखाइ बन्दै छ र त्यस विषयमा ती मुलुकहरूबीच संवाद जारी छ । यता आईएसआईएसको उदयपछि त्यसको विरोधमा इरान र अमेरिका एकै ठाउँमा आउन सक्ने सङ्केत देखिन थालेका छन् । ती आउलान् ? उत्तर समयको गर्भमा छ, अहिले स्पष्ट छैन ।
कङ्गो : बर्बरता र हस्तक्षेप
बर्ले पाठकलाई अफ्रिकी मुलुक कङ्गोको गृहयुद्धमा पु¥याउँछन् । त्यहाँको इतिहास क्रूरता र बाह्य हस्तक्षेपको ज्वलन्त उदाहरण हो । झ्ण्डै पश्चिम युरोपेली क्षेत्रफल बराबरको कङ्गो भूमध्यरेखा छेउछाउ हुँदै पश्चिमी आन्ध्र महासागरदेखि अन्तर्देशसम्म फैलिएको छ । सन् १९०८ मा कङ्गोको सत्ता बेल्जियमका राजामा निहित थियो । स्वतन्त्र हुनेताका कङ्गोका १ करोड १३ लाख ५० हजार बासिन्दाहरू दुई सयवटा कविलामा बाँडिएका थिए र चार सयभन्दा बढी भाषा बोल्थे । प्राकृतिक स्रोतको उपलब्धता सन्तुलित थिएन, छैन । दक्षिण–केन्द्रीय कसाई प्रान्तमा हीरा खानी छ भने दक्षिण काटङ्गा प्रान्तमा तामा, कोबाल्ट र युरेनियम खानी । त्यस बखत बेल्जियम, बेलायत र दक्षिण अफ्रिकी खानी कम्पनीहरूको राजसरह थियो कङ्गो ।
सन् १९६० जूनमा बेल्जियमबाट कङ्गोले सीमित स्वतन्त्रता पाउने भयो र निर्वाचन गरिने भयो । चुनावी परिवेशमा तीन मुख्य कङ्गोली पात्र देखा परे ः जोसेफ कसाबुभु, प्याट्रिक लुमुम्बा र मोरो शोम्बे । शोम्बे काटाङ्गा प्रान्तका बासिन्दा थिए र खाँटी व्यापारी । चुनावपछि कसाबुभु राष्ट्रपति बने भने लुमुम्बा प्रधानमन्त्री । देश स्वतन्त्र भएको र चुनावपछि नयाँ सरकार पनि बनेको हुँदा सरकारले कर्मचारीको तलब मनग्गे बढायो; सामान्य क्लर्कहरूले समेत गाडी किन्न थाले । ट्याक्स बढाउनुप¥यो कसाई र काटाङ्ग प्रान्तमा । तर आर्मी नेशनल कङ्गोली (एएनसी) सेनाको तलब बढाइएन । सेनामा असन्तुष्टि बढ्यो, रक्सी खाएर मात्तिएका सिपाहीले विद्रोह गरे, राजधानी लियोपोल्डभिल (हाल किन्सासा) युरोपेली नागरिकहरूमाथि हिंसा शुरू हुन थाल्यो ।
गोराहरू भागाभाग गर्दै छन् र महिलाहरूलाई बलात्कार गरिँदै छ भन्ने खबर पुगेपछि बेल्जियम सरकार चुप लागेर बस्ने कुरै भएन । उसलाई आफ्ना नागरिकको रक्षाका लागि हस्तक्षेप गर्ने ठाउँ खुल्यो । तदअनुरूप बेल्जियमका १,८०० छाताधारी सैन्य कङ्गो उतारिए । बेल्जियम सरकारको चासो खानीमा थियो । उसले व्यापारी शोम्बेलाई काटाङ्गा प्रान्त कङ्गोबाट स्वतन्त्र हुनु उचित छ भनी उक्सायो । त्यस प्रान्तका पढे–लेखेकाहरू स्थानीयलाई गोराहरूले झ्ैँ घृणा गर्थे । कङ्गोका अन्य क्षेत्रहरूमा हुँदै गरेको उथलपुथलबाट काटाङ्गा प्रान्तलाई बचाउने उनीहरूको चाहना थियो । तिनले आफ्नै झ्ण्डा तयार पनि गरे ।
अलग्गिने बाटोमा लागेको काटाङ्गाको स्थिति बुझन राष्ट्रपति कसाबुभु र प्रधानमन्त्री लुमुम्बा त्यसतर्फ विमानमा उडे । तर काटाङ्गा प्रान्तमा तैनाथ युरोपेली भाडाका सैनिकले धावनमार्गमा आगो बालेर राष्ट्रपति र प्रधानमन्त्रीको विमान अवतरण हुन दिएनन् । उता राजधानी लियोपोल्डभिलमा लुमुम्बाका मन्त्रीहरू सैनिक विद्रोह रोक्ने उपाय खोज्न लागे किनभने राष्ट्रपति र प्रधानमन्त्री दुवै राजधानीबाहिर थिए । संयुक्त राज्य अमेरिकालाई सहयोगका लागि ३ हजार ५ सय सैनिक पठाइदिन अनुरोध गरियो । अमेरिकाले सो अनुरोध स्वीकार गरेन बरु के भन्यो भने विद्रोह रोक्ने कार्य संयुक्त राष्ट्रसंघको तजबिजमा हुनुपर्छ ।
संयुक्त राष्ट्रसंघ विद्रोह साम्य गराउने कार्यमा सहभागी हुन आइपुग्यो र सुरक्षा परिषद्ले तदअनुरूप निर्णय ग¥यो । अमेरिका र सोभियत संघले प्रस्तावको समर्थन गरे तर युरोपेली मुलुकहरूले भोट हालेनन् । तत्कालीन महासचिव ड्याग ह्यामरसोल्डले इथियोपिया, घाना, मोरक्को र ट्युनिसियाका डफ्फा भएका १२ हजार सैनिक जम्मा गरे । सेना उतारियो तर अपेक्षाअनुरूप कङ्गो शान्तिको बाटोमा लागेन । ह्यामरसोल्डले आफ्नो कार्यकाल पूरा गर्न पनि पाएनन् । सेप्टेम्बर १९६१ मा संयुक्त राष्ट्रसंघका सेना र काटाङ्गा प्रान्तका पृथकतावादी सेनाबीच शान्ति सम्झैता गराउने यात्राको क्रममा हालको जाम्बियामा भएको विमान दुर्घटनामा उनको निधन भयो । उनको विमानमा गोली हानिएको अनुमान गरिएको थियो । नेपालका हृषीकेश शाह त्यस बेला संयुक्त राष्ट्रसंघमा कार्यरत थिए र उनले दुर्घटना किन भयो भन्ने जाँचबुझ् टोलीका सदस्यको रूपमा काम गरेका थिए ।
संयुक्त राष्ट्रसंघको सेनाले काटाङ्गा प्रान्तका पृथकतावादीलाई हराउन सकेन । प्रधानमन्त्री लुमुम्बा यसका लागि अन्य मुलुकसित सहयोग लिने कुरा गर्न थाले । सोभियत संघको सरकार ‘तत्काल सहयोग गर्छु’ भन्दै अगिस¥यो । छिमेकी मुलुक घानामा सोभियत संघमा निर्मित ठूला मालबाहक विमानहरू थिए । ती विमान प्रयोग गर्दै दर्जनौँ गाडी र कामदार कङ्गो पु¥याइए । शितयुद्ध शुरू भइसकेको स्थितिमा सोभियत संघको यो तत्परता अमेरिकी सरकारलाई स्वीकार्य हुने कुरै थिएन । यसै पनि राष्ट्रपति आइजन हावरको सरकार लुमुम्बासित सन्तुष्ट थिएन । अमेरिकाको भ्रमणमा रहँदा लुमुम्बाले सोभियत समाचार एजेन्सी तासलाई अन्तर्वार्ता दिँदै सोभियत सरकारले कङ्गोलाई सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिएका थिए । अमेरिकी सरकार खुशी थिएन, उनको व्यवहारले ।
कङ्गोमा सोभियत संघ मुछिन आएको घटनाले सीआईएको ध्यान तान्यो । बर्ले भन्छन्, ‘राष्ट्रपति आइजन हावर कङ्गोलाई टुक्रिन नदिने प्रयासमा लागे ।’ तर यस कार्यमा उनी प्रधानमन्त्री लुमुम्बा सहभागी नहुन् भन्ने चाहन्थे । कङ्गोमा कहालीलाग्दो उथलपुथल हुन थाल्यो । हरेक दिन अफ्रिकी र युरोपेली नागरिकहरू भाग्दै संयुक्त राष्ट्रसंघको शरणमा आउन थाले । साथै, लुमुम्बालाई सिद्ध्याउने खेल पनि शुरू भयो । यसको नेतृत्वमा थिए सैनिक अधिकृत सेसे रुसको मोबुटु । घटनाक्रमले नयाँ मोड लियो । सेप्टेम्बर ५, १९६१ मा राष्ट्रपति कसाबुभुले प्रधानमन्त्री लुमुम्बालाई बर्खास्त गरेको घोषणा गरे यद्यपि उनको यो कदम कानूनसम्मत थिएन । लुमुम्बाले त्यसलाई अस्वीकार गरी आपूmलाई प्रधानमन्त्रीकै रूपमा कायम राखे । तर उनको शक्ति कम भएको थियो किनभने उनीप्रति बफादार सेना कसाई प्रान्तमा युद्धरत थियो । त्यो सेना राजधानी लियोपोल्डभिल फर्कन लाग्दा राष्ट्रसंघको सेनाले रोक्यो र संयुक्त राष्ट्रसंघ त्यहाँको गृहयुद्धमा एक पक्षको साथ लिन पुग्यो । मोबुटु सक्रिय त थिए नै । १० दिनपछि उनले प्रधानमन्त्री लुमुम्बालाई अपदस्थ गरे तर कसाबुभु भने राष्ट्रपति रहिरहे । राजनीतिक वैधानिकताका लागि उनलाई हटाइएको थिएन ।
सोभियत संघको विरोधका बाबजूद नयाँ सरकारलाई संयुक्त राष्ट्रसंघले मान्यता दियो । आफ्नो सेनाको पूर्ण सहयोग नभए पनि लुमुम्बा राष्ट्रसंघ अन्तर्गत आएका घानाका सैनिकको सुरक्षामा थिए । घानाका राष्ट्रपति जोसेफ एनक्रुमा उनका मित्र थिए । कसाबुभु र मोबुटुको सरकारले अनुमोदन पाएपछि घरमा तैनाथ संयुक्त राष्ट्रसंघका गार्ड र परिस्थिति आफ्नो अनुकूल रहने छैन भन्ने बुझ्ी लुमुम्बा आफ्नो वासस्थानबाट सुटुक्क निस्किएर १३ सय माइल टाढा स्टानलिभिलतर्फ लागे तर बाटैमा समातिए । त्यसै वर्ष चुनिएका अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले जनवरी १९६१ मा सपथग्रहण गरेपछि छुट्ने उनको आकांक्षा सफल भएन । राष्ट्रपतिले सपथग्रहण गर्नुअगि नै उनलाई विमानद्वारा दुई सहयोगीसहित कसाई प्रान्ततर्फ लगियो । कसाईको विमानस्थलमा संयुक्त राष्ट्रसंघका सेना तैनाथ छन् भन्ने जानकारी भएपछि विमान कसाई होइन काटाङ्ग प्रान्त पु¥याइयो । बर्ले लेख्छन्, विमानमा लुमुम्बालाई कति निर्मम तरिकाले पिटियो भने डराएका चालकहरूले उडान कक्षमा ताल्चा लगाएर आपूmलाई सुरक्षित गरे । बन्दी लुमुम्बालाई गोली हानियो । तेजाबले भरिएको ड्रममा उनको शव डुबाइएको बर्ले उल्लेख गर्छन् । यसरी कङ्गोका निर्वाचित प्रधानमन्त्रीको अकल्पनीय अन्त्य भयो ।
लुमुम्बाको हत्यापछि अफ्रिकी मुलुकका सेनाले संयुक्त राष्ट्रसंघ अन्तर्गत कार्यरत रहन मानेनन्, तिनको स्थानमा पाँच हजार जनाको सिख र गोर्खाली सेना कङ्गो पठाइयो । बिस्तारै मोबुटु शक्तिशाली बन्न थाले । सन् १९६५ मा उनले राष्ट्रपति कसाबुभुलाई अपदस्थ गरे । नाम परिवर्तन भई कङ्गो अब जायर भनिने भयो । राष्ट्रपति निक्सनदेखि जर्ज डब्ल्यु बुसको कार्यकालसम्म सबसहारा क्षेत्रका अफ्रिकी मुलुकहरूले पाउने अमेरिकी सहयोगको आधा हिस्सा जायरमा जान्थ्यो । जायरको सर्वेसर्वा बनेपछि मोबुटुले आफ्नो नामका पछाडि लामालामा उपाधि जोडेका थिए । उनले गरेको भ्रष्टाचार र कुशासनको सन्दर्भ सम्झ्दै बर्ले भन्छन्, छोटकरीमा उनलाई ‘चोर’ भन्दा हुन्छ । विश्वका तानाशाहको जस्तो अन्त्य हुन्छ, मोबुटुको त्यस्तै भयो । सन् १९९७ मा उनी जायरबाट धपाइए, एक वर्षपछि मोरक्कोको राजधानी रबातमा उनको मृत्यु भयो । कङ्गोको गाथालाई इतिहासको एउटा सिक्का मान्ने हो भने त्यसका दुइटा पाटा हुनेछन् ः बाह्य हस्तक्षेप र हिंस्रक बर्बरता ।
दक्षिण एसियामा पाकिस्तान
स्वतन्त्र भारत र पाकिस्तानमा विश्वका पाँचमध्ये एक मान्छेले बसोबास गरे पनि अमेरिकीहरूले यस दक्षिण एसियाली भूभागलाई खासै चासो दिएनन्, शुरूमा । तिनको ध्यान पश्चिमी युरोप, जापान, मध्यपूर्व र दक्षिणपूर्व एसियातर्फ रह्यो । भारत र पाकिस्तान छुट्टिएदेखि नै काश्मीरको विवाद सल्टाउन अमेरिकीले चासो दिएका थिए तर विवाद समाधानमा अमेरिकी सहभागिता सम्भव भएन । प्रजातान्त्रिक पद्धति र कानूनी व्यवस्था कायम रहेका कारण शुरूमा अमेरिकी झ्ुकाव भारतपट्टि थियो । तथापि भारतीय र अमेरिकी नेतृत्वबीच त्यति राम्रो सम्बन्ध बन्न सकेको थिएन । पाकिस्तानले त आपूmले आपूmलाई कसरी शासन गर्ने अर्थात् कुन पद्धति अपनाउने भन्ने निर्णय गर्न सकेकै थिएन । त्यस मुलुकलाई संविधान तयार गर्न झ्ण्डै १० वर्ष लाग्यो । बर्ले भन्छन्, पाकिस्तानी राज्य इस्लाममा टेकेर जन्म्यो, यसका बहुसङ्ख्यक जनता पुरातनी र धार्मिक थिए जबकि शासक सामन्ती र धर्म तटस्थ । शीतयुद्धको कालखण्डमा शुरू भएको त्यस मुलुकको स्वतन्त्र यात्रामा अमेरिकी हस्तक्षेप बहुसङ्ख्यक सामान्य पाकिस्तानीको रुचिमा थिएन । ती आफ्ना शासकहरूले मुलुकलाई अमेरिकाको कारिन्दासरह बनाएको मान्थे । यसै पनि पूर्वी र पश्चिमी पाकिस्तानलाई एघार सय माइल चौडा भारतीय भूभागले छुट्याएको थियो । र, अचम्म होइन, संस्कृति र भाषा फरक रहेको पूर्वी पाकिस्तान स्वतन्त्रताको लहरपछि नयाँ मुलुक बङ्गलादेशको रूपमा जन्मियो, सन् १९७२ मा ।
शुरूमा स्वतन्त्र पाकिस्तानको अमेरिकी दृष्टिमा खासै महŒव थिएन । पाकिस्तानका लागि पहिला अमेरिकी राजदूतले बहाली गरेको चार महीनामै विरामीका कारण मृत्युवरण गरे । उनको स्थानमा नयाँ राजदूत पठाउन अमेरिकालाई झ्ण्डै दुई वर्ष लाग्यो । सहयोगको हिसाबले पनि पाकिस्तानप्रति अमेरिकी चासो खासै थिएन । पाकिस्तानले मागेको सहयोगको निकै कम प्रतिशत मात्रै राष्ट्रपति ट्र्युम्यानले स्वीकृत गरेका थिए । सन् १९५० मा पाकिस्तानी प्रधानमन्त्री लियाकत अली खानले गरेको अमेरिकाको भ्रमण सफल मानिएको थियो तर त्यसको केही समयपछि नै उनको हत्या भयो । कसले किन हत्या ग¥यो, जानकारी भएन किनभने हत्यारा पनि तुरुन्तै मारिएको थियो । टर्कीसहित पाकिस्तानले कोरियामा अमेरिकी कारबाहीको अनुमोदन गरेपछि दुई मुलुकको सम्बन्ध अगाडि बढ्यो । भारतले अनुमोदन नगरेको हुँदा राष्ट्रपति ट्र्युम्यानका विदेश मन्त्री फोस्टर डलस प्रधानमन्त्री नेहरूसित सन्तुष्ट थिएनन् । भारतको विदेश नीति नेहरूकै तजबिजमा अगि बढेको थियो । उता, बेलायतमा सैनिक तालिम लिएका पाकिस्तानी सेनाका कमान्डर अयुब खान अमेरिकी नेतृत्वका प्रिय बने । बिस्तारै मध्यपूर्वमा सोभियत संघको प्रभाव कम गर्ने औजारको रूपमा पाकिस्तानलाई हेर्न थालियो । पश्चिम युरोपको झ्ण्डै ७० प्रतिशत तेल आपूर्ति मध्यपूर्वबाट हुन्थ्यो र त्यो क्रम सोभियत हस्तक्षेपले प्रभावित हुन सक्ने पश्चिमी मुलुकहरू मान्थे । शीतयुद्ध र खनिज तेलको राजनीतिमा पाकिस्तान बिस्तारै उनियो यद्यपि मध्यपूर्वका मुलुकहरू पाकिस्तानलाई दिइएको यो भूमिकाबारे सन्तुष्ट थिएनन् । पाकिस्तानले अमेरिकाबाट थुप्रै सैनिक सहयोग पाउन थाल्यो, जसका कारण अमेरिका र भारतबीचको मनमुटाब कायमै रह्यो ।
बर्ले भन्छन्, अमेरिकी प्रशासनमा कसैले एकपल्ट पनि के पाकिस्तान साँच्चै सोभियत संघको सेनाको प्रतिरोध गर्न सक्छ त भनेर चिन्तन गरेन, न त सहयोगको बजेट सैनिक क्षेत्रमा दिँदा प्रजातान्त्रिक पद्धति, आर्थिक र सामाजिक क्षेत्र ओझ्ेलमा पर्छ भन्नेबारे सोचियो । परिणति के भयो भने त्यस मुलुकमा प्रजातन्त्र संस्थागत हुन पाएन । सैनिक कु र आरोहअवरोहमा डुबेको पाकिस्तानमा नेताको हत्या नियमित क्रियाकलाप जस्तै बन्यो, प्रधानमन्त्री जुल्फिकार अली भुट्टो, सैनिक तानाशाह राष्ट्रपति जिया उल हक, प्रधानमन्त्री बेनजिर भुट्टो आदि सबै मारिए । त्यहाँ कट्टरपन्थी मुसलमानहरूले आफ्नो सत्ता स्थापनाका लागि व्यापक हिंसाको बाटो चुनेका छन् । यस क्रमको पछिल्लो बर्बर घटना पेशावरको स्कूलमा घट्यो; कट्टरपन्थी तालिबानी आत्मघातीहरूले स्कूलमा आक्रमण गरेर १४२ विद्यार्थीसहितको हत्या गरे । भारत र पाकिस्तानको सम्बन्ध चिसो छ; काश्मीरको समस्या सल्टिने बाटोमा छैन ।
शीतयुद्धताका पाकिस्तान दक्षिण–पूर्वी राष्ट्रहरूको सन्धि सङ्गठन (सिएटो) को सदस्य बनेपछि अमेरिकाका प्रभावशाली स्तम्भकार वाल्टर लिपम्यानले राष्ट्रपति आइजन हावरका विदेश मन्त्री जोन फोस्टर डलससँग यस विषयमा लिएको अन्तर्वार्ताले पनि उनीहरूमा चिन्तन र सोच हुँदै नभएको स्पष्ट हुन्छ ः
लिपम्यानः सिएटोले के उपलब्धि हासिल हुन्छ ? यसमा युरोपेली मुलुहरूसँगै पाकिस्तान छ, जो दक्षिण–पूर्व एसियाबाट टाढा छ ।
फोस्टरः हामीले लड्न सक्ने मान्छेहरूलाई त्यता लैजानु आवश्यक छ । लड्न सक्ने एशियालीहरू पाकिस्तानी हुन् । त्यस कारण चाहियो । हामी गोर्खाबिना केही गर्न सक्तैनौं ।
लिपम्यानः तर गोर्खाहरू पाकिस्तानी होइनन्, ती भारतीय (वास्तवमा नेपालका) हुन् ।
फोस्टरः ती पाकिस्तानी नभए पनि मुस्लिम हुन् ।
लिपम्यानःमाफ गर्नुस्, ती मुस्लिम होइन, हिन्दू हुन् ।
पुस्तकमा उल्लिखित यो प्रसङ्गले अमेरिकी उच्च ओहदामा पुग्ने व्यक्तिहरू ससाना मुलुकबारे कति अनभिज्ञ रहेछन् भन्ने प्रस्ट पार्छ । तथापि तिनका निर्णय अरूको भाग्य निर्धारणका कारक बन्छन् । विभिन्न पात्रको आफ्नो चासो, खनिजजन्य स्रोतमा निजी कम्पनीको नियन्त्रण, स्वतन्त्र मुलुकहरूमा पुँजीवादको आगमन, भिन्न राजनीतिक आस्था, शीतयुद्धको शुरूआत र पर्याप्त सूचना उपलब्ध नहुने स्थितिमा सत्तासीन शक्तिशाली पात्र (राष्ट्रपति र प्रधानमन्त्री) हरूले कसरी निर्णय लिन्छन् भन्ने पाठ्यपुस्तकोचित उदाहरण हुन् बर्लेले विवेचना गरेका युद्धका गाथाहरू । कङ्गोको उदाहरण दिँदै बर्ले भन्छन्, लडाकु विमान र ट्याङ्कको सहारामा शान्ति स्थापना हुन सक्तैन ।
त्यस कालखण्डको अनुभव समेट्तै बर्ले भन्छन्, हामी विश्वशक्ति हौँ भन्ने दृष्टिकोणले संयुक्त राज्य अमेरिकाको विदेश नीति परिचालित रह्यो । प्रश्न अमेरिकी मान्यता (प्रजातन्त्र, स्वतन्त्रता, मानव अधिकार इत्यादि) र राज्य सञ्चालनबीच हुने व्यावहारिक भिन्नताको होइन । प्रश्न हो, बेलायत, स्पेन, पुर्तगाल, फ्रेन्च र डच जस्ता उपनिवेशी शक्तिसरह उदार साम्राज्यवादी उपनिवेशी बाटोले अमेरिकालाई केही पनि हासिल गराएन । अगिल्ला उपनिवेशी शक्तिहरूले आफ्नो उपनिवेश कायम राख्न उदार साम्राज्यवादको तर्क प्रयोग गरे । अमेरिकी सरकार चलाउने उत्कृष्ट र चलाख पात्रहरूलाई के लाग्यो भने उदार साम्राज्यवादी योजना तिनले अझ् राम्रो हिसाबले कार्यान्वयन गर्न सक्छन् । तर यो अति घमण्डले समग्र संयुक्त राज्य अमेरिका एकखालको बिजोकबाट गुज्रिरहेछ यद्यपि त्यस मुलुकको स्वतन्त्रताको यात्रा बेलायती साम्राज्यवादको विरोधबाट शुरू भएको हो । बर्ले भन्छन्, पछिल्ला कालखण्डका इराक र अफगानिस्तानका युद्धहरूले त्यस मुलुकलाई आफ्नो विश्वव्यापी भूमिकाबारे सोच्न बाध्य पार्दै छ । २१औँ शताब्दीमा टाढाका क्षेत्रहरू आर्थिक हिसाबले माथि जाँदै छन् ।
बर्लेले विवेचना गरेको कालखण्डको झ्न्डै ५० वर्षपछि आज भूमण्डलीकरण, सूचना प्रविधिको प्रयोग मान्छेको आवातजावत र जलवायु परिवर्तनको माखे सांलोमा विश्व जकडिएको छ । यो विश्व फोहोर, कुशासनले व्याप्त, हिंसामय, असमतापूर्ण र विडम्बनायुक्त छ । वास्तवमा मानव इतिहास विडम्बनाले भरिएको छ । जुन क्षेत्रमा प्रजातन्त्र मान्य थियो, त्यो क्षेत्रबाट प्रजातन्त्र हराएको छ । अरब भूभागका मुलुकहरूकै उदाहरण हेरौँ । त्यस क्षेत्रका पहिला चार खलिफाहरू प्रजातान्त्रिक पद्धतिद्वारा छानिएका थिए । तर उपनिवेशी शासन, सत्तामा पुग्दा एउटा र बाहिर छँदा अर्को कुरा गर्ने चरित्र एवं हिंसाका कारण त्यहाँका जनताको प्रजातान्त्रिक अपेक्षा सधैँ टाक्सिएर रहेको छ । पेट्रोडलर, इजरायलको डर र संयुक्त राज्य अमेरिका लगायत पश्चिमी मुलुकहरूले त्यस क्षेत्रका तानाशाहहरूलाई दिएको छत्रछायाका कारण पनि राज्य र समाजको प्रजातान्त्रिकीकरण अवरुद्ध भएको छ । विकल्पको रूपमा कट्टरपन्थ जन्मिएको छ ।1
गणतान्त्रिक लोकतन्त्र लगायत शासनपद्धति स्थापना गर्न प्रयासरत नेपालका लागि इतिहासका यी घटनाक्रम उपयोगी पाठ हुन् । हामीले प्रजातान्त्रिक (वा लोकतान्त्रिक) पद्धतिबारे अझ्ै गहिरो संवाद निरन्तर राख्नु जरूरी छ । निर्वाचन प्रक्रिया प्रजातान्त्रिक पद्धतिको एउटा औजार हो । साथै नागरिक सहभागिता, अपनत्व, सभ्य विमति र बहुल विचारको आदर अनि सिर्जनशील संवाद पनि हो, प्रजातन्त्र । पुस्तकबाट यस्तै पाठ उपलब्ध हुन्छ ।
सन्दर्भ सामग्री
1. यो तर्क ढाका विश्वविद्यालयका प्राध्यापक इम्तियाज अहमदको विश्लेषणबाट साभार गरिएको हो ।
No comments:
Post a Comment