एडिटर अनप्लग्ड : विनोद मेहताको बकपत्र
पुस्तक : एडिटर अनप्लग्ड : मिडिया, म्याग्नेट्स, नेताज एण्ड मि
लेखक : विनोद मेहता प्रकाशक : पेन्गुइन, इन्डिया, २०१४
पृष्ठ : २८१ मूल्य : ११.०८ डलर
समीक्षक : शेखर खरेल
सन् २०१५ को ८ मार्च अनौठो संयोगको दिन रह्यो । टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा फसेको चौथो दिन विमानस्थल खुलेपछि बहुप्रतीक्षित पाकिस्तान भ्रमणले आकार लिंदै थियो । नेपाल र पाकिस्तानबीच सीधा हवाई सम्पर्क नरहेकाले दिल्ली–अमृतसर हुँदै वागा बोर्डर काटेर लाहोर, इस्लामावाद र रावलपिण्डी जाने सिलसिलामा अध्यागमन मात्र के कटेको थिएँ, मित्र शरद प्रधानको फोन आएपछि म निकै झ्स्किएँ । आफू रावलपिण्डी जान लागेकै वेला, सन् १९४२ को मे ३१ का दिन त्यहीं जन्मिएर लखनऊ झ्रेका एक मनिषीले त्यसै दिन अन्तिम श्वास फेरेको खबर प्रधानले सुनाएका थिए । पत्रकारिता र लेखनको माध्यमबाट छुट्टै इतिहास र मानक बनाएका भारतका विख्यात पत्रकार विनोद मेहताले हामीबीचबाट केही समयअघि मात्र विदा लिएका रहेछन् । उनको ठूलो प्रशंसक भएको तथ्यबारे जानकार प्रधान मलाई त्यो दुःखद् समाचार सुनाइरहेका थिए ।
मेहताको आत्मवृत्तान्त ‘लखनऊ ब्वाय’ को प्रभावका कारण मैले उनको पछिल्लो कृति ‘एडिटर अनप्लग्ड’ केही समयअघि मात्र पढिसकेको थिएँ । सन् २०१४ को अन्त्यतिर प्रकाशित ‘एडिटर अनप्लग्ड ः मेडिया, म्याग्नेट्ः, नेताज एण्ड मी’ को समीक्षा गर्ने सोचमै रहेको वेला मेहताको निधन भएको थियो । झ्ट्ट पढ्दा ‘एडिटर अनप्लग्ड’ त्यसअघिको कृति ‘लखनऊ ब्वाय’ को सिक्वेल (शृङ्खला लेखन) जस्तो लागे पनि दुई कृतिबीच आधारभूत भिन्नता छ । जस्तो कि, पहिलो कृति आत्मवृत्तान्त भएकाले व्यावसायिक जीवनको चर्चासँगै उनले निजी कुरा पनि उजागर गरेका छन् । तर, ‘एडिटर अनप्लग्ड’ मा यस जीवनका केही प्रसंंग मिसिए पनि उनको जोड पत्रकारिता, राजनीति र सामाजिक आमवृत्तमाथि ज्यादा देखिन्छ । जीवनभर प्रकाशकहरूसँग सम्झैता नगरेका मेहता आफ्नै पेशागत विरादरी अर्थात् पत्रकारसँग पनि कठोर रहे । नीरा राडिया नामकी एक विचौलियाले टाटा समूहका तत्कालीन अध्यक्ष रतन टाटा, केन्द्रीय सरकारका तत्कालीन सञ्चारमन्त्री ए राजा, स्थापित पत्रकार वीर सांघवी, वर्षा दत्ता आदिसँग गरेको ‘फिक्सिङ्’ को टेलिफोन वार्ता ‘आउटलुक’ मार्फत सार्वजनिक गरेपछि भारतीय राजनीति र सञ्चारमा सनसनी मच्चिएको थियो । ‘२ जी स्काम’ का नामले चर्चित त्यो टेलिफोन टेप काण्डपछि मेहताले आफ्नो विरादरीभित्र शत्रु मात्र कमाएनन्, ‘आउटलुक’ पत्रिकालाई टाटा समूहबाट प्राप्त भइरहेको वार्षिक ६ करोडको विज्ञापन पनि गुमाए । आफूले त्यो टेप वार्ता सार्वजनिक गर्दैछु भन्ने जानकारी उनले ‘आउटलुक’ का प्रकाशक राजन रहेजासम्मलाई दिएका थिएनन् । ‘व्यक्तिगत तथा व्यावसायिक जीवनमा किन त्यत्रो जोखिम मोल्नुभयो’ भनी मैले २०१२ को सेप्टेम्बरमा काठमाडांैमा भेट हुँदा प्रश्न गरेको थिएँ । उनी नेपाल लिटरेचर फेष्टिबलमा अतिथिका रूपमा काठमाडौं आएका थिए । त्यतिवेला उनले सहज उत्तर दिएका थिए, ‘मैले त्यो कुरा राजनलाई भनेको भए एकपल्ट रतन टाटासँग स्पष्ट गर भन्ने थिए । उता, रतनले पनि त्यो सामान्य कुराकानी हो भनेर नछाप्न दबाब दिन सक्थे । अन्ततः त्यो समाचार तुहिन सक्थ्यो । यदि मैले त्यो सूचना मारेको भए म राम्ररी सुत्न सक्ने थिइनँ । त्यसभन्दा पनि बढी म आफूले आफैंलाई कहिल्यै माफ गर्ने थिइनँ ।’
मेहताको पत्रकार र नेताहरूबीच ‘घनिष्ट’ सम्बन्ध हुनुहुँदैन भन्ने मान्यता थियो । पुस्तकका तीन अध्याय ‘नीरा राडिया एण्ड द आर्ट अफ लविइङ्’, ‘द रतन टाटा प्रोब्लम’ र ‘कर्पोरेट्स एण्ड द मिडिया’ मा उनले नेताहरूसँगको सहज पहुँचका कारण पत्रकार कुन हदसम्म ‘फिक्सर’ बन्न सक्छन् भन्ने चर्चा गरेका छन् । साथै, राजनीतिज्ञ, व्यापारी र विचौलिया पत्रकारबीचको ‘भिसियस साइकल’ (दुष्चक्र) को चिरफार पनि गरेका छन् । मेडियाको कर्पोरेटीकरण सँगसँगै विज्ञापनका नाममा पत्रकारितामाथि कर्पोरेट हावी भएको उनको तर्क छ । पत्रकारितालाई स्वच्छ, निष्पक्ष र लोकतन्त्रको पहेरदारको भूमिकामा निरापद काम गर्ने वातावरण बनाउन कुनै पनि पत्रिका व्यापारिक घरानाभन्दा पनि ट्रस्ट मातहत सञ्चालन हुनुपर्ने उनको मान्यता छ । ट्रस्टअन्तर्गत रहेकैले भारतका ‘इकोनोमिक एण्ड पोलिटिकल विक्ली’ र ‘चण्डीगढ ट्रिव्युन’ अनि बेलायतको ‘गार्जियन’ आदिले पत्रकारिताको धर्म राम्रो अर्थमा निर्वाह गर्न सकेको मेहताको ठम्याइ छ ।
लेखकीयसहित गन्दा १४ अध्याय रहेको ‘एडिटर अनप्लग्ड’ को प्रारम्भ मेहताले ‘वाकिङ इन टू द सनसेट’ बाट गरेका छन्, जसमा उनले आफ्नो लामो पत्रकारिताको जीवनलाई फर्केर हेर्दै वस्तुपरक सिंहावलोकन गरेका छन् । ‘डेवोनियर’ बाट प्रारम्भ भएको उनको करिअर ‘सण्डे अब्जर्भर’, ‘दी इण्डियन पोष्ट’, ‘दी इन्डिपेन्डेन्ट’, ‘पायोनियर’ हुँदै ‘आउटलुक’ सम्म आइपुग्दा र ‘आउटलुक’ बाटै सक्रिय पत्रकारिताबाट अवकाश लिंदासम्म परिवर्तनशील मेहताको जीवनमा एउटा कुरा अपरिवर्तनीय रह्यो, उनी आजन्म सम्पादक रहे । अवकाशपछिको ‘वानप्रस्थ काल’ जसलाई शिष्ट र औपचारिक भाषामा अंग्रेजीमा ‘सनसेट करिअर’ भनिन्छ; मेहताका लागि बाध्यताभन्दा पनि रोजाइको जीवन भएको ‘वाकिङ इन टू सनसेट’ पढ्दा प्रष्ट हुन्छ । यसका दुई कारण पहिल्याउन सकिन्छ । पहिलो, उनकै शब्दमा ‘एउटा सम्पादकको रूपमा उनको मूल मिसन प्रतिभाशालीलाई हुर्कने वातावरणको सिर्जना गर्नु थियो ।’ उनले आफूभन्दा धेरै कनिष्ट तर प्रतिभाशाली पत्रकार कृष्णप्रसादलाई ‘आउटलुक’ को सम्पादकत्व सुम्पेर अवकाश लिएका थिए । दोस्रो र सबैभन्दा महŒवपूर्ण कारण उनी आजका दिनमा विना मेरुदण्डका बजारु सम्पादकको चुरीफुरीबाट वाक्कदिक्क भइसकेका थिए । खुशवन्त सिंह, गिरिलाल जैनहरू जस्ता स्वाभिमानी र फलामको चिउरा चपाउने सम्पादकबाट प्रभावित मेहता हिजोआजका सम्पादक प्रकाशकका लाचार छायाँ मात्र हुने धारणा पाल्थे । शायद यसै कारणले पनि हुनसक्छ उनले आफ्नो कुकुरको नाम पनि एडिटर (सम्पादक) राखेका थिए । आफ्नो अवकाशलाई उनले पुष्टि गर्दै पुस्तकमा लेखेका छन्, “यस्तो समय जसमा धेरैभन्दा धेरै प्रोप्राइटर, जस्तै अभिक सरकार (दी टेलिग्राफ), शोभना भारतीया (हिन्दूस्तान टाइम्स), केएन तिलककुमार (डेकन हेराल्ड), एन रवि (दी हिन्दू) आधिकारिक रूपमै सम्पादकको हैसियतमा काम गरिरहेका हुन्छन्, मैले प्रतिनिधित्व गर्ने सम्पादक भन्ने जीव लोपोन्मुख नभए के हुन्थे र ? त्यसैले मेरो अस्ताचलतिरको प्रस्थान विल्कुलै सामयिक छ ।”
मन परेका ६ अनुहार
स्वाभाविकै हो; मानिसलाई कुनै मानिस मन पर्न, कुनै मन नपर्न पनि सक्छ । ‘एडिटर अनप्लग्ड’ को ‘सिक्स पिपल आइ एड्मायर’ अध्यायमा आफूलाई मनपर्ने ६ व्यक्तिबारे मेहताले लेखेका छन् । स्क्रिप्ट राइटर तथा निर्देशक ख्वाजा अहमद अब्बास, लेखक रस्किन बन्ड, क्रिकेटर सचिन तेन्दुलकर, हास्यअभिनेता जोनी वाकर, लेखक–पत्रकार खुशवन्त सिंह र लेखिका एवं अधिकारकर्मी अरुन्धती रोयलाई मन पराउनुका कारण उनले खुलेरै विस्तार गरेका छन् । सामाजिक उद्देश्यसहितका चलचित्र निर्माण निर्देशन गर्ने राज कपुरका समकालीन अहमद अब्बास बारम्बार टाट पल्टँदा–पल्टँदै पनि बजारसँग सम्झैता गर्दैनन् । यसैगरी मसुरी; भारतमा बसोबास गर्ने अंग्रेजी लेखक रस्किन बन्डलाई मन पराउनुको पछाडि उनको दयालुपना मात्र नरहेको लेख्दै मेहता कारण खुलाउँछन्, “म उनलाई मन पराउँछु, किनकि मैले चिनेका मानिसमध्ये उनी मात्र यस्ता व्यक्ति हुन्, जो आरिस गर्दैनन् । आजसम्म पनि मैले रस्किनले कुनै जीवित वा मृत व्यक्तिको निन्दा गरेको सुनेको छैन ।” क्रिकेटर सचिन तेन्दुलकरको व्यावसायिकता तथा शालीनताबाट मेहता प्रभावित देखिन्छन् । यसैगरी बस कन्डक्टरबाट हास्य अभिनेतामा रूपान्तरित जोनी वाकरको विनोदप्रियता अनि सरलपनाले मेहतालाई आकर्षित गरेको छ ।
आफ्ना मनपर्ने ६ पात्रमध्ये अरुन्धती रोयको बौद्धिकताका मेहता प्रशंसक हुन् । पहिलो उपन्यास ‘गड अफ स्मल थिंग्स’ बाट नै म्यान बुकर पुरस्कार पाएर साहित्यकारको अन्तर्राष्ट्रिय छवि बनाएकी रोयलाई अखबारी लेखनमा आमन्त्रण गर्ने उनै हुन् । छोटा–छोटा टिप्पणीले भरिने ‘आउटलुक’ मा रोयका आठ–दश हजार शब्दका विचार आउन थालेपछि त्यसलाई स्थान दिन मेहताको टीमलाई हम्मेहम्मे पथ्र्यो । धेरैको टिप्पणी पनि हुन्थ्यो, आजको व्यस्त जीवनमा १०औं हजार शब्द लामो लेख पढ्ने फुर्सद कसलाई होला ? तर, रोयमाथिको उनको भरोसा साँचो प्रमाणित भइदियो । उनका ओजपूर्ण लेख पाठकले रुचिका साथ पढ्थे, जतिसुकै लामा किन नहोऊन् ।
मेहताले सबैभन्दा बढी प्रेम खुशवन्त सिंहमाथि खन्याएका छन् । उनले सिंहको ‘साहस’ बाट आफू प्रभावित भएको बताउँदै सबै विवरण पेश गरेका छन् । ‘एडिटर अनप्लग्ड’ प्रकाशित हुनुपूर्व सिंहको देहान्त (२० मार्च २०१४) भए पनि मेहताले सिंहको सम्मानमा उनी बाँचुन्जेल शब्दहरू खर्चिनै रहे र आजन्म प्रशंसक रहे । उता सिंह पनि मेहताका राम्रै प्रशंसक थिए । मेहताको आत्मकथा ‘लखनऊ ब्वाय’ को खुलेर प्रशंसा गर्दै सिंहले ‘हिन्दुस्तान टाइम्स’ को स्तम्भमा लेखेका थिए, ‘उनको आत्मकथा अन्य कुनै भारतीयको भन्दा पठनीय छ, किनकि भारतीयहरू आत्ममुग्धता मन पराउँछन् र पुस्तक पठनीय बनाउँदैनन् । तर, विनोद भारतीय पत्रकारितामा आफूले अनेकौं उपलब्धि हासिल गरिसकेका भए पनि विनम्र छन् र आफैंलाई व्यङ्ग्य गर्न सक्छन् । ‘सिंह मेहताको जति बौद्धिकताका प्रशंसक थिए, त्यति नै उनको मानवीय गुणको ।
केजरीवाल र मोदी
भारतमा आज यी दुवै पात्र सत्ताको राप र तापमा छन् र उनीहरूमाथि अन्तिम पर्दा खसिसकेको छैन । त्यसैले शिला दीक्षित वा अटलबिहारी बाजपेयी झ्ैं अरविन्द केजरीवाल र नरेन्द्र मोदीको मूल्यांकन अहिले नै गरिहाल्नु अपरिपक्व हुनेछ । तर पनि मेहताले केजरीवाल र मोदीमाथि एक–एक अध्याय खर्चेर उनीहरूको ‘असलियत’ चिहाउने प्रयास गरेका छन् । ‘अरविन्द केजरीवाल ः फ्रम हिरो टु नियर्ली जिरो ?’ मा मेहताले केजरीवाल आफ्नो राजनीतिक जीवनको गोधूलितिर आइपुगेको आकलन गरेका थिए । तर, ‘एडिटर अनप्लग्ड’ प्रकाशनलगत्तै केजरीवालले मेहताको आकलनलाई मिथ्या सावित गरिदिए । दिल्ली विधानसभाको निर्वाचनमा कुल ७० सीटमध्ये ६७ सीट जितेको आम आदमी पार्टीको परिणाम मेहताले आफू जिउँदो छँदै देखे । २०१३ को डिसेम्बरमा दिल्ली विधानसभा निर्वाचनमार्फत अल्पमतको सरकारका मुख्यमन्त्री बनेका केजरीवालले एकपछि अर्को गलत राजनीतिक चाल चालेको ठम्याइ मेहताको थियो । तर, त्यसभन्दा पनि पर, केजरीवाल ‘पपुलिस्ट’ र उपयोगितावादी रहेको उनको मूल्यांकन छ । केजरीवालको चरित्र विनम्रताको आवरणमा ढोंग र एकाधिकारवादी जस्ता दृष्टान्तहरू उनले पुस्तकमा पेश गरेका छन् ।
‘एडिटर अनप्लग्ड’ को अन्तिम अध्याय ‘अन्डरस्ट्यान्डिङ नरेन्द्र मोदी’ सम्भवतः पुस्तकको सबैभन्दा रोमाञ्चक खण्ड हो, जसमा लेखकले भारतीय प्रधानमन्त्री मोदीको चरित्र चित्रण गर्ने प्रयास गरेका छन् । गुजरातमा लगातार चार पटकसम्म भारतीय जनता पार्टीलाई विजय दिलाएर मुख्यमन्त्री बनेका मोदीले यस दौरान ‘मोदी मिथ’ को निर्माण गरेकाले मेहता त्यो मिथलाई चिर्न वा विनिर्माण गर्न चाहन्छन्, तर त्यो प्रयास दुरुह देखिन्छ । सन् २००७ मा ‘आउटलुक’ की वरिष्ठ संवाददाता सवा नक्वीलाई नरेन्द्र मोदी एक व्यक्तिका रूपमा कस्ता छन्, प्रोफाइलिङको मिसनमा खटाइन्छ । तर उनी मोदीसम्म पुग्ने कुनै सूत्र फेला पार्न सक्दिनन् । ‘मैले मोदीसँग व्यक्तिगत वा आत्मीय सम्बन्ध बनाएको छु भन्ने एक जना पनि भेट्न सकिनँ’, आफ्नो मिसन असफल हुन थालेपछि नक्वीले सम्पादक मेहतालाई रिपोर्ट गरेकी थिइन् । ‘राष्ट्रपति र प्रधानमन्त्रीहरूलाई चौबीसै घण्टा झ्लमल्ल प्रकाशका मुन्तिर बस्नुपर्ने हुन्छ । पत्रकारका आँखा उनीहरूमाथि खनिएकै हुन्छ’, मेहता मोदीको रहस्यवादितामाथि विस्मात गर्छन्, ‘तर, नरेन्द्र मोदीले कसरी यी सबै कुराहरू छोपेर राखिराखेका होलान् ? मतदातालाई उनका बारे वास्तवमा केही पनि थाहा छैन । उनका परिवार, शिक्षा, सोख, खानाका रुचि, साथी–संगती अनि उनका कुकुर (यदि त्यस्तो कुनै रहेछ भने), लाई राज्यकै गोप्यता झ्ैं गरी छोपेर राखिएको छ ।’ मोदी रहस्यबारे अवाक् हुँदै अन्त्यमा उनी लेख्छन्, ‘मैले अब भन्न सक्ने यति नै हो, हाम्रा प्रधानमन्त्री एक छेपारो हुन्, विल्कुल एउटा जटिल व्यक्तित्व ।’
यसैगरी ‘दी डाइनास्टी’ त्यति नै रोमाञ्चक र सुरुचिपूर्ण अध्याय हो ‘एडिटर अनप्लग्ड’ को । यो अध्याय मेहताले नेहरू–गान्धी परिवारको वंश परम्परामाथि खर्चेका छन् । अनि यो अध्याय रोमाञ्चक हुनुको खास कारण इन्दिरा गान्धीका छोरा सञ्जय गान्धीको राजनीतिक महŒवाकांक्षा र उनकी पत्नी मेनुकाको सासू इन्दिरासँगको अवसादपूर्ण सम्बन्ध हो । मेहताले कुनै वेला सञ्जय गान्धीको जीवनी लेखेका कारण पनि उनले गान्धी परिवारका धेरै रहस्य उद्घाटित गरेका छन् । सञ्जयको सनकी व्यवहार चित्रण गर्ने ब्रेकफास्टको एउटा प्रसंग रोचक छ । राजीवकी इटालियन पत्नी सोनियाले पकाएको अम्लेट चित्त नबुझदा सञ्जयले अम्लेटको प्लेट नै फ्याँकिदिएको किस्सा मेहताले रोमाञ्चक पारामा वर्णन गरेका छन् । सञ्जयको असायमिक निधनपछि उनकी पत्नी मेनुका र प्रधानमन्त्री सासू इन्दिराबीचको तँ–तँ र म–म को घरेलु झ्गडाको किस्सा पनि पुस्तकमा आधिकारिक रूपमा समेटिएको छ । इन्दिरा, सञ्जय र राजीव तीनै जनाको निधनपछि कसले वंश परम्परा धान्न सक्छ त भन्ने सवालमा मेहता सोनियामा व्यक्तिगत पदको आकांक्षा देख्दैनन् । ‘उनी छोराका लागि कुर्सी न्यानो पारिराख्ने आमा मात्र हुन्’, मेहताको विश्लेषण छ, ‘यदि राहुलसँग कसैले तिमीसँग के त्यस्तो कुरा छ भनेर सोध्यो भने उनले अमिताभ बच्चनको प्रसिद्ध संवाद दोहो¥याउलान्, मेरी पास माँ है (मसँग आमा छिन्) ।’
विनोद मेहताको महाप्रस्थानअघिको ‘एडिटर अनप्लग्ड’ पाठकका लागि अनुपम कोसेली हो । भारतको राजनीति, पत्रकारिता र समाज चिहाउन सकिने यो एउटा आँखीझयाल हो । उनको आग्रहविहीन वस्तुपरक लेखन र सुरुचिपूर्ण शैलीले पुस्तक पठनीय बनाएको छ ।
(समीक्षक खरेल साहित्य र समाजको सम्बन्ध केलाउँछन् ।)
No comments:
Post a Comment