Monday, January 23, 2017

२०७३ जेठ अंक_ड्रोनको आगमन र युद्धको नैतिकता_समीक्षक : थोमस नागेल

ड्रोनको आगमन र  युद्धको नैतिकता
पुस्तक : अब्जेक्टिभ ट्राय : ए टेरोरिस्ट, ए प्रेसिडेन्स एन्ड द राइज अफ द ड्रोन
लेखक : स्कट शेन                                   प्रकाशक : टिम डुग्गन बुक्स, २०१५
पृष्ठ : ४१६                                                   मूल्य :  २०.१४ डलर
समीक्षक : थोमस नागेल
पूर्वीय र पश्चिमी इतिहासमा युद्धका कथा प्रशस्त छन् । युद्धमा लाखौं लाखले ज्यान गुमाए । युद्ध भनेको नर्क हो, यसले समाजका हरेक तप्कालाई प्रताडित गर्छ, तैपनि युद्ध भएका छन्, भइरहन्छन् । महाभारतलाई धर्मयुद्ध भनिएको छ । हिटलर र मुसोलिनीको विरुद्धमा दोस्रो विश्वयुद्ध भएको थियो । युद्ध र हिंसा विचार, मन्थन र लेखकीय विषय बनेका छन् ।

धेरैले के विश्वास गर्छन् भने, आत्मरक्षाका लागि वा ज्यान जाने सम्भावना रोक्नका लागि हिंसाको प्रयोग उचित हुन्छ । मानवअधिकारको यो संस्थागत व्याख्याले सैनिक हस्तक्षेप ठीक छ भन्ने मान्यता बोक्छ । अपराधीलाई मृत्युदण्ड पनि दिइन्छ । हत्या राजनीतिक, धार्मिक वा बदला लिने उद्देश्यले पनि गरिन्छ । आफूलाई बचाउन गरिने हत्या, कानून र मृत्युदण्डको निर्णयभन्दा फरक हो ।

सामान्यतया सबै खालका मृत्यु समान भए पनि तिनका व्याख्या फरक छन् । ड्रोन अर्थात् चालकविना चल्ने विमानहरू लडाइँमा प्रयोग हुन थालेपछि यी व्याख्या झ्न् परिवर्तन हुँदैछन् । धेरै मान्छे ड्रोन प्रयोगको विरोधमा छन्, यद्यपि यसले छानीछानी मार्नुपर्नेलाई मात्र मार्न सक्छ र परम्परागत सैनिक कारबाहीको तुलनामा विनाश पनि कम गर्छ । कारबाही गरिने स्थानबाट हजारौं माइल टाढा नियन्त्रण कक्षमा बसेर कम्प्युटर प्रयोग गर्ने ड्रोन चालकलाई आफू मर्छु भन्ने डर पनि हुँदैन । सैनिक हिसाबले योभन्दा उपयुक्त बाटो अरू के होला ?

स्कट शेनको पुस्तक अब्जेक्टिभ ट्राय ः ए टेरोरिस्ट, ए प्रेसिडेन्स एन्ड द राइज अफ द ड्रोन ले हत्या र युद्धका यस्ता प्रसङ्गहरूलाई भित्रैसम्म खोतलेर केलाएको छ । लेखक स्कट शेन अमेरिकी राष्ट्रपति बाराक ओबामाको प्रशासन र आतङ्ककारी क्रियाकलापमा संलग्न अमेरिकी नागरिक अनवर अल–अल्वाकीलाई पात्र बनाएर विश्लेषण गर्छन् । राष्ट्रपति ओबामाले आतङ्कविरोधी आफ्नो नीतिमा ड्रोन प्रयोग गर्ने पद्धति अपनाए, आफ्ना पूर्वाधिकारीको परम्परागत सैनिक कारबाही गर्ने पद्धतिको सट्टा । शेनका अनुसार, ‘अमेरिकामाथि आक्रमण गर्ने अलकायदाका सदस्यहरूको सङ्ख्या केही सयमा थियो । तथापि सन् २०११ देखि भएका ठूला युद्धमा हजारौं इराकी, अफगानी र ४ हजार अमेरिकी सैनिकले मृत्युवरण गरे । ड्रोनले अमेरिकाको शत्रुलाई एकपछि अर्को गर्दै निमिट्यान्न पार्ने बाटो खोल्यो ।’ ‘हामीलाई मार्न खोज्नेलाई हामीले मा¥यौं’ राष्ट्रपति ओबामाले भन्ने गरेका छन् । यसरी मारिने एउटा व्यक्ति थिए अमेरिकी नागरिक अनवर अल–अल्वाकी । आफ्नो आधा जीवन अमेरिकामा बिताएका अल्वाकी ओबामाले राष्ट्रपति पद ग्रहण गर्दा मध्यपूर्वी मुलुक यमनमा कार्यरत थिए, अरेबियन क्षेत्रको अलकायदाको अगुवाका रूपमा ।

सन् २०११ सेप्टेम्बरपछि
न्यूयोर्क टाइम्स का राष्ट्रिय सुरक्षा संवाददाता शेनद्वारा पुस्तकमा प्रस्तुत अन्तर्वार्ता, गहन अनुसन्धान र घटनाक्रमको वर्णन हेर्दा उनको खारिएको वर्षांैको अनुभव स्पष्ट हुन्छ । 

अनवर अल–अल्वाकी सन् २०११ सेप्टेम्बर ३० का दिन ड्रोनद्वारा मारिएका थिए । अमेरिका पक्षीय यमनी परिवारका  अल्वाकीका पिता फुलब्राइट छात्रवृत्ति पाएपछि कृषि विज्ञान विषयमा अध्ययन गर्न अमेरिका पुगे । अल्वाकी सन् १९७१ मा अमेरिकामा जन्मिएका थिए । उनको परिवार सन् १९७७ मा यमन फर्कियो, जहाँ अल्वाकीले स्कूल र कलेजको अध्ययन सिध्याए । त्यसपछि कोलोराडो स्टेट युनिभर्सिटीमा इन्जिनियरिङ पढ्न उनी फेरि अमेरिका गए । कोलोराडोमा रहँदा अल्वाकी त्यहाँको सानो मुश्लिम समुदायको सम्पर्कमा आए र विस्तारै पुरातनी इस्लामपट्टि ढल्किए । डिग्री लिएपछि उनले इन्जिनियरिङ विधा चटक्कै छाडेर इमाम बन्ने निर्णय गरे । २००१ सेप्टेम्बर ११ मा न्यूयोर्कको ट्रेड टावरमा आक्रमण हुँदा उनी वासिङ्टन डीसी छेउ बस्ने गर्थे । त्यतिवेलासम्म उनले गरेका धार्मिक प्रवचनका क्यासेट र सीडी खास समुदायमा लोकप्रिय हुन थालिसकेका थिए । यूट्यूबको प्रयोग शुरू भएपछि उनका नीति र उपदेश सुन्नेहरूको सङ्ख्या ह्वात्तै बढेको थियो ।

अल्वाकीले सेप्टेम्बर ११ आक्रमणको निन्दा गरेका थिए । तत्पश्चात् अमेरिकामा मुश्लिम समुदायलाई शङ्काको दृष्टिले हेर्न थालिएको विषयबारे चासो व्यक्त गरे पनि उनी राजनीतिक हिसाबले चरमपन्थी बनिसकेका थिएनन् । त्यसैबेला एक महिला यौनकर्मीसित उनको संसर्ग रहेको अमेरिकी गुप्तचर एजेन्सी (एफबीआई) ले फेला पा¥यो । त्यतिवेलासम्म आतङ्कवादीसित उनको सम्बन्ध रहेको पुष्टि हुन सकेन । यौनकर्मीसितको सम्बन्ध सार्वजनिक भएपछि इस्लाम धर्मको प्रवर्तकका रूपमा आफ्नो जीवनयात्रा अगाडि नबढ्ने लागेपछि सन् २००२ मा उनले अमेरिका छाडे; यमन फर्किए ।  

यमनमा इन्टरनेटको माध्यमबाट शुरू गरेको धार्मिक उपदेशमा, अफगानिस्तान र इराकमा चलिरहेका लडाइँको दृष्टान्त दिंदै अल्वाकी प्रस्ताव गर्थे— ‘पश्चिमी मुलुकहरूको उद्दण्डपन अर्थात् आइलाग्ने व्यवहारको विरुद्धमा जाइलाग्नु हरेक मुसलमानको कर्तव्य हो । आवश्यक परे हिंसाको प्रयोग पनि उचित हुन्छ ।’ अङ्ग्रेजी भाषाको ज्ञान र बोल्ने कलाले उनलाई चरमपन्थी जिहादको प्रभावशाली प्रचारक बनायो । आतङ्ककारी आक्रमण गर्दै वा सो तर्जुमा गर्दा समातिएका व्यक्तिहरूले आफू अल्वाकीबाट प्रभावित भएको बताउँथे । नाइजेरियाको उमार फारुक अब्दुलमुतल्लाह नामक व्यक्ति अल्वाकीको प्रशंसक थिए ।

शेनको विश्लेषणमा अब्दुलमुतल्लाह एउटा महŒवपूर्ण कडी हो । यमनबाट अमेरिकाको डेट्रोइटतर्फ उडेको हवाइजहाजमा अब्दुलमुतल्लाह भित्री लुगामा बम लुकाएर लैजान सफल भएका थिए । २५ डिसेम्बर २००९ मा विमान डेट्रोइटमा अवतरण गर्नुअघि बम पड्काउने प्रयास भए पनि विस्फोट भने हुन पाएन । अब्दुलमुतल्लाह समातिए । उनीबाटै अमेरिकी अधिकारीहरूले अल्वाकीको नयाँ भूमिकाको जानकारी पाएका थिए ।

नयाँ चुनौती
लेखकका अनुसार डेट्रोइट घटनाले नयाँ राष्ट्रपति बाराक ओबामाको सरकारसामु चुनौती खडा ग¥यो । शेन भन्छन्, “राष्ट्रपति जर्ज डब्ल्यू बुश, उनका सल्लाहकार र अमेरिकी जनता जस्तै ओबामा र उनका सहयोगीहरूले पनि इस्लामिक चरमपन्थीहरूको धम्कीका कारण कडा नीति अपनाउन थालेका थिए । ११ सेप्टेम्बर २०११ को आक्रमण हुनुअघि आफूसित लडाइँमा नहोमिएका मुलुकमा बसोबास गर्दै आएका आतङ्कवादी मार्न मिसाइलले आक्रमण गर्ने भन्ने प्रस्तावको व्यापक विरोध हुन सक्थ्यो । राष्ट्रपति बुशको सरकारले धेरैपल्ट र स्पष्ट शब्दमा इजरायलद्वारा हमासका नेता र अन्य चरमपन्थीहरू विरुद्ध मिसाइल र अन्य अस्त्रको प्रयोगको भत्र्सना पनि गर्दै आएको थियो ।”

११ सेप्टेम्बरपछि यी मान्यता चालू रहन सकेनन् । विस्तारै हेलफायर मिसाइल बोकेका अमेरिकी ड्रोनहरू अफगानिस्तान, यमन र पाकिस्तानका उत्तर–पश्चिम क्षेत्रमा खास व्यक्तिहरू मार्न प्रयोग हुन थाले । ओबामा प्रशासनले यही रणनीति जारी राख्यो । सन् २०१० फेबु्रअरी ५ मा अमेरिकी न्याय विभागको सल्लाह लिएर सरकारले अल्वाकीको नाम मारिनेहरूको सूचीमा संलग्न ग¥यो । योजनालाई ‘अब्जेटिभ ट्राइ’ नाम दिएको थियो । 

एम्नेष्टी इन्टरनेसनल र ह्यूम्यान राइट्स वाच जस्ता समूहले ड्रोन विमान प्रयोग गर्ने युद्धपद्धतिको वैधानिकताबारे निरन्तर प्रश्न उठाउँदै आएका छन् । तिनले उठाएका प्रश्न हुन्— (१) लडाइँको नियम अनुसार मार्ने सूचीमा परेका व्यक्ति लडाकू नहुन सक्छन् (२) तिनलाई पहिचान गर्न प्रयोग गरिएका सूचना सामान्यतया विश्वासिला हुँदैनन् (३) सार्वजनिक खतरामा छ भन्दै ज्यान मार्ने उद्देश्यले अपनाइएका नीतिको व्यापक दुरुपयोग भएको छ, यो रणनीति आत्मरक्षाको स्वीकार्य घेराभन्दा बाहिर छ; (४) ड्रोन विमानको प्रयोग गर्ने क्रममा अन्य मानवीय क्षति वा नोक्सान हुन्छ भन्ने मानिंदैन, न त क्षतिपूर्ति व्यवस्था नै गरिन्छ (५) लडाइँको क्षेत्रभन्दा बाहिर मार्ने कार्य गैरन्यायिक हत्यासरह हो; (६) थुनामा लिन वा कानूनी कारबाहीको विकल्पबारे सिलसिलेवार हिसाबले आकलन गरिंदैन (७) ड्रोन सञ्चालकहरू उडानस्थलबाट टाढा हुने हुँदा ज्यान लिने विषय खेलाँची सरह बन्न पुग्छ ।

आक्रमण कार्यक्रम गोप्य राखिनु ड्रोन प्रयोगको अर्को समस्या हो । एकातिर कार्यक्रम ‘सीआईए’ को नियन्त्रणमा रहन्छ भने अर्कोतिर प्रशासनले यो क्रियाकलाप वा तिनका अन्तर्निहित सिद्धान्त सार्वजनिक गर्न मान्दैन । अल्वाकीका बाबुले अमेरिकी न्यायालयमा आफ्नो छोरालाई मार्ने उद्देश्यले लक्षित गरिएको विषय उठाएर उजुरी गरेका थिए, तर सरकारले सैनिक निर्णयहरू अदालतको दायराभन्दा बाहिर हुन्छन् भन्दै त्यस सम्बन्धी विषय सार्वजनिक गर्न रोक्यो । स्कट शेनले पनि सूचनाको हक सम्बन्धी ऐनअन्तर्गत रहेर कार्यक्रमको विवरण मागेका थिए । तर न्याय विभागले उनको अनुरोध पनि अस्वीकार गरिदियो । र, जब न्यूयोर्क टाइम्स र अमेरिकी सिभिल लिबर्टी युनियनले सूचना माग्दै मुद्दा हाले, अमेरिकी प्रशासनले पाकिस्तानमा ड्रोन कार्यक्रम छ÷छैन भन्नेबारे केही नभन्ने निर्णय लियो ।

न्याय विभागको तर्क थियो– संयुक्त राज्य अमेरिकाको विरुद्धमा आक्रमण योजना र तर्जुमा गर्ने अलकायदाका अगुवालाई मार्ने निर्णय राष्ट्रिय प्रतिरक्षाको हिसाबले ठीक छ, यद्यपि मार्न शङ्का गरिएको व्यक्ति लडाइँको क्षेत्रमा नहुन सक्छ । अमेरिकी नागरिक हुँदैमा उसले मुक्ति पाउँदैन । आतङ्ककारीहरू बर्दीधारी सैनिक जस्ता हुँदैनन्, तिनीहरू तोकिएको वा शत्रु घोषित मुलुकमा मात्र नबसी विभिन्न देशमा छरिएर बस्न सक्ने हुँदा संयुक्त राज्य अमेरिकाले विभिन्न स्रोत प्रयोग गरेर आतङ्ककारीको सूचना र ती कहाँ छन् भन्ने विवरण पत्ता लगाउनु उचित छ । अमेरिकी सरकारको तर्क के पनि थियो भने ‘यसरी मार्नु, प्रहरीको ज्यान लिन्छु भन्ने धम्की दिइरहेको व्यक्तिलाई गोली हानेर हटाउनुसरह हो ।’ तर शेन भन्छन्, “सरकारले प्रस्तुत गरेका यस्ता सफाइ लक्षित व्यक्ति मार्ने कामलाई आत्मरक्षाको कार्य भनेर पुष्टि गर्न पर्याप्त छैनन् ।” 

ड्रोनको भूमिका
शेनका अनुसार ओबामा प्रशासनले अघिल्लो प्रशासनबाट विरासतमा पाएको ठूला युद्धको तुलनामा ड्रोन प्रयोग गर्दा मारिएका गैरसैनिकहरूको सङ्ख्या कम छ । तथापि ड्रोन प्रयोगले विरोध भने निम्त्याएकै छ । ठूला लडाइँमा मारिनेहरू ‘तथ्याङ्क’ बन्थे तर ड्रोनबाट मारिनेहरू तथ्याङ्क मात्रै रहँदैनन्, तिनका कथा बन्छन् । अमेरिका प्रजातान्त्रिक मुलुक हो । मानवअधिकारका क्षेत्रमा कार्यरत समूहले राजधानी वासिङ्टन डीसीमा त्यस्ता व्यक्तिहरू बोलाउँछन् जसले ड्रोन प्रयोग गर्दा भएका गल्तीका दर्दनाक कथा बताउँछन् । 

आधुनिक प्रविधिसँगै विकसित सैनिक अस्त्रहरूमा ड्रोन एउटा अपवादको रूपमा देखिन्छ । अन्य अस्त्रका प्रयोगकर्ताले जस्तो तिनले आफ्नो व्यक्तिगत नोक्सान बेहोर्नुपर्नेबारे सोच्नुपर्दैन । ड्रोनका चालकले हजारौं माइल टाढा बसेर लक्षित शत्रुलाई हेर्न पाउँछ र उपयुक्त समयमा आक्रमण गर्न पनि । यसरी आक्रमणकारी र मारिने दुवैका कथा बन्छन् । तर यो विधिले एकातिर नैतिकताको प्रश्न उठाएको छ भने अर्कोतिर ड्रोन विमानका चालकले भोग्ने मानसिक समस्या पनि बढ्न थालेका छन् ।  

आफ्नो पुस्तकको अन्त्यमा ओबामा प्रशासनले लिएको ड्रोन प्रयोग गर्ने रणनीतिबारे शेन भन्छन्, “ड्रोन विमानको प्रयोगले इराक र सिरियाको ठूलो भू–भागलाई आफ्नो अधीनमा राख्ने हतियार सुसज्जित इस्लामिक चरमपन्थीहरूलाई निर्मूल गर्न कठिन छ । राष्ट्रपति ओबामाको कार्यकालमा अमेरिका मध्यपूर्वमा नयाँ लामो युद्धमा संलग्न हुन पुगेको छ । यो युद्ध सेप्टेम्बर २०१४ मा ड्रोन आक्रमण गर्ने र सल्लाहकार पठाउने निर्णय गरेपछि शुरू भएको हो । यो युद्ध कहिले र कसरी अन्त्य होला भन्न गाह्रो छ ।”

(न्यूयोर्क विश्वविद्यालयका प्राध्यापक थोमस नागेलको यो समीक्षा लन्डन बुक रिभ्यू बाट साभार गरिएको हो । अंग्रेजीबाट अनुवादः अजय दीक्षित)

No comments:

Post a Comment