Monday, January 23, 2017

२०७३ पुस अंक_पूँजीवादको यात्रा_समीक्षक : रोजन बज्राचार्य

पूँजीवादको यात्रा
पुस्तक : क्यापिटलिज्म ४.० : द बर्थ अफ अ न्यू इकोनोमी इन द आफ्टरम्याथ अफ द क्राइसिस
लेखक : अनातोली क्यालित्स्की                      प्रकाशक : ब्लूम्सवरी, यूके, २०११
पृष्ठ : ४४८                                                      मूल्य : १०.९९ स्टर्लिङ पाउण्ड
समीक्षक : रोजन बज्राचार्य
पूँजीवाद समयानुकूल परिष्कृत हुँदै जान्छ भन्ने आमबुझइ छ । अनातोली क्यालित्स्की ९ब्लबतयभि प्बभितकपथ० को क्यापिटलिज्म ४.० ः द बर्थ अफ अ न्यू इकोनोमी इन द आफ्टर म्याथ अफ द क्राइसिस पुस्तकले पनि यस्तै विश्लेषण गरेको छ । टाइम्स म्यागजिनका सम्पादक रहिसकेका क्यालित्स्कीले पुस्तकमा पूँजीवादको दुई सय वर्षको इतिहासमा हरेक विश्व—आर्थिक मन्दीपछि कसरी सरकारको भूमिका र सरकार एवं बजारबीचको सम्बन्ध परिवर्तन भयो भन्ने विश्लेषण गरेका छन् । 

पहिलो र दोस्रो संस्करण
क्यालित्स्कीले पहिलो विश्वयुद्घसम्मको अर्थतन्त्रलाई पूँँजीवादको पहिलो संस्करण (संख्या १.०) भनेका छन् । त्यसबेला बजारले अर्थतन्त्रलाई चलायमान राख्छ भन्ने सिद्घान्त सर्वमान्य थियो, राजनीतिज्ञ र अर्थशास्त्रीबीच वैचारिक सम्बन्ध थिएन । युद्घ खर्चका लागि उठाइने कर बाहेक अन्य आर्थिक क्रियाकलापमा सरकारको खासै भूमिका हुने गर्दैनथ्यो । पहिलो विश्वयुद्घबाट गुज्रिएर सन् १९३० सम्म आइपुग्दा अमेरिका ठूलो आर्थिक मन्दीमा प¥यो । त्यो महामन्दीले ल्याएको सामाजिक चुनौतीलाई सम्बोधन गर्न पूँजीवादको पहिलो संस्करणमा परिमार्जनको आवश्यकता महसूस गरियो । यसका लागि सरकार र राजनीतिज्ञहरूको भूमिका अपरिहार्य मानियो । त्यस दशकमा अंग्रेज अर्थशास्त्री जोन म्यानार्ड किन्स्को आर्थिक सिद्धान्त र अमेरिकी राष्ट्रपति फ्य्रांकलिन रुजभेल्टको ‘न्यू डिल’ नीतिले पूँजीवादको मुहार फेरिदियो । सरकार, त्यसलाई चलाउने राजनीतिक दल, त्यसका नेता र सल्लाहकारहरूले मन्दीबाट उत्पन्न चुनौती सामना गर्न सक्छन् भन्ने विचारले प्रोत्साहन पायो । क्यालित्स्की यस कालखण्डलाई पूँजीवादको दोस्रो संस्करण (संस्करण २.०) भन्छन् । 

तेस्रो संस्करण
सन् १९७० को दशकमा विश्वमा फेरि आर्थिक मन्दी छायो । सन् १९८० मा अमेरिकी राष्ट्रपति चुनिएका रोनाल्ड रेगन र त्यसअघि ब्रिटेनको प्रधानमन्त्री बनेकी मार्गरेट थ्याचरले मन्दी समाधान गर्न खुला अर्थनीतिको अवधारणा अगाडि सारे । बजारवाद महŒवपूर्ण हुन्छ भन्दै यी दुवै नेताले खुला अर्थनीतिलाई आफ्नो चुनावी मुद्दा बनाएका थिए । यस कालखण्डमा सरकारको भूमिका गौण पार्दै बजार व्यवस्थालाई पूँजीवाद र अर्थतन्त्रको मेरुदण्डका रूपमा अगाडि बढाइयो । खुला बजार पुनरागमनको यस कालखण्डलाई क्यालित्स्कीले पूँजीवादको तेस्रो संस्करण अर्थात् ३.० भनेका छन् ।

क्यालित्स्की भन्छन्, “यसरी पूँजीवादको एउटा अध्यायको चुनौती समाधान गर्न पूँजीवादकै अर्को अध्याय आयो । राष्ट्रपति रुजभेल्टको ‘न्यू डिल’ नीति पहिलो विश्वयुद्घसम्म चलेको बजार अर्थतन्त्र भन्दा भिन्न थियो भने थ्याचर र रेगनका अर्थनीति ‘न्यू डिल’ भन्दा फरक ।” क्यालित्स्की अगाडि भन्छन्, “यसरी पूँजीवादको एउटा अध्यायले भोग्ने चुनौती समाधान गर्न पूँजीवादकै अर्को संस्करण आउने क्रम भविष्यमा पनि चलिरहनेछ ।”

संस्करण ४.०
पुस्तकमा क्यालित्स्कीले २००८ मा शुरू भएको वित्तीय सङ्कटपछिको कालखण्डको पनि विश्लेषण गरेका छन् । त्यस वर्ष लेहम्यान ब्रदर्स र नर्थ रक जस्ता वित्तीय संस्थाहरू डुबेपछि पूँजीवादको नयाँ कालखण्ड शुरू भयो जसलाई लेखक पूँजीवादको संस्करण ४.० को संज्ञा दिन्छन् । सन् २००८ को वित्तीय सङ्कटका निम्ति उनी तत्कालीन अमेरिकी राष्ट्रपति जर्जडब्ल्यु बुश सरकारका वित्तमन्त्री हेनरी पाउलसनलाई मुख्य रूपमा जिम्मेवार ठह¥याउँछन् । लेखक भन्छन्, “पाउलसनले लेहम्यान ब्रदर्स लाई लिक्विडेसनमा पठाएर अरू वित्तीय संस्थालाई पनि सङ्कटमा पारेपछि अमेरिकी अर्थतन्त्र मात्र होइन विश्व अर्थतन्त्रमा नै त्यसको प्रभाव परेको थियो ।” उनले पाउलसनलाई पूँजीवादका लागि विश्वमा नै खतरनाक व्यक्तिका रूपमा प्रस्तुत गरेका छन् । सन् २००८ को वित्तीय सङ्कट व्यापक आर्थिक सङ्कटको रूपमा परिणत भएको क्यालित्स्कीको विश्लेषण छ । पाउलसनको निर्णय गलत सावित गर्न पुस्तकमा क्यालित्स्कीले ‘पाउलसनका आर्थिक प्रभावहरू’ (द इकोनोमिक कन्सिक्वयन्सेस अफ मिस्टर पाउलसन) भन्ने शीर्षकमा एउटा विस्तृत र छुट्टै खण्ड प्रस्तुत गरेका छन् ।

नीति र रणनीति
क्यालित्स्की भन्छन्, “पूँजीवादको चौथो संस्करणमा बजार व्यवस्थापन र समन्वयमा सरकार जिम्मेवार हुनुपर्छ । सरकारले बजारको माग पहिल्याई यसका विकृतिको लेखाजोखा गरी बजारलाई सन्तुलन गर्ने भूमिका निर्वाह गर्नुपर्छ ।” बजारको समुचित व्यवस्थापनका लागि राजनीतिक र आर्थिक हिसावले चाल्नुपर्ने कदम र लिनुपर्ने नीतिको फेहरिस्त पनि तयार पारेका छन् लेखकले । उनले त्यसमा उल्लेख गरेका तर्क र उपाय नौला र सिर्जनात्मक भने होइनन्; किनभने यस्ता औजारबारे वुद्घिजीवीहरूबीच धेरै पहिलेदेखि नै चर्चा–परिचर्चा हुने गरेको छ । क्यालित्स्कीले पुस्तकमा मुद्रा, वित्त, ऊर्जा, स्वास्थ्य सेवा, कर, वातावरण र आवास व्यवस्थापनका विषयमा केही पूर्वानुमान पनि गरेका छन् । 

क्यालित्स्कीको तर्क अर्थशास्त्री जोशेप शुम्पिटरको क्रिएटिभ डिस्ट्रक्सन सिद्धान्तमा आधारित छ भन्ने अनुभूति हुन्छ । औद्योगिकीकरणले अर्थतन्त्रलाई परिष्कृत बनाउने मात्रै होइन, नयाँ व्यवस्था र संरचना पनि ल्याउँछ एवं पुरानोलाई विस्थापित गर्छ भन्ने सिद्धान्त शुम्पिटरले प्रतिपादित गरेका थिए । शुम्पिटरले यो प्रक्रिया दिगो नहुने विचार राखे तापनि क्यालित्स्की यस सिद्धान्तबारे आशावादी देखिन्छन् । उनी भन्छन्, “हरेक आर्थिक मन्दीको चुनौती सामना गर्न नीतिनिर्माताहरू नौलो सोचका साथ आउने छन् ।” परिवर्तनलाई आत्मसात् गर्ने गुणका कारणले मात्र नभई साम्यवादी अर्थतन्त्रले जस्तो भूल नगरेका कारणले पनि पूँजीवाद जीवित रहिरहनेछ भन्ने अन्य विश्लेषकहरूको पनि निक्र्योल रहेको छ ।

क्यालित्स्की नीतिनिर्माताप्रति अतुलनीय विश्वास राख्छन् । नीतिनिर्माताले कुनै पनि विश्व आर्थिक मन्दीको समाधान पहिल्याउने छन् र अर्थतन्त्र सही बाटोमा ल्याउने छन् भन्ने उनी ठान्छन् । तर तिनै नीतिनिर्माताको कारणले नै आर्थिक मन्दी निम्तिएको आरोप पनि उनले लगाएका छन्, पुस्तकमा । सरल भाषामा लेखिएको यस पुस्तकमा पूँजीवादले भोगेका आरोह–अवरोहका विवरणका साथै यस विषयका केही वाद–विवाद, बजारवादको स्तर एवं विभिन्न कालखण्डमा राजनीतिक नेता र बुद्घिजीवीले खेलेको भूमिका पनि प्रस्तुत छन् । मूलतः घटनाक्रमलाई आधार बनाएर लेखिएको पुस्तक कुनै सिद्धान्तबाट निर्देशित नभए तापनि अर्थशास्त्र र राजनीतिमा रुचि राख्ने पाठकका लागि उपयोगी छ ।

सामान्यतः राजनीतिक नेताले नीतिनिर्माताको भूमिका निर्वाह गर्छन् । तर धेरै मुलुकमा नेतृत्व पंक्ति खास सिद्धान्त आत्मसात् गर्ने भन्दा पनि शासनसत्तामा निर्वाचित हुने वा मनोनीत हुने र आफ्नो सत्ता धेरैभन्दा धेरै दिनका लागि टिकाइराख्न लिप्त रहने गरेको पाइन्छ । व्यक्तिगत स्वार्थबाट निर्देशित यस्तो नेतृत्वपंक्तिको निर्णयले ल्याउने पूँजीवादको परिवर्तित आयाम जनहितमा हुन्छ कि हुँदैन भन्ने गम्भीर प्रश्न सबैका सामु उपस्थित नै छ ।
(बज्राचार्य अर्थशास्त्री हुन् ।)

No comments:

Post a Comment