हेनरीको आँखामा चीन
पुस्तक ः अन चाइना लेखक ः हेनरी किसिन्जर
प्रकाशक ः पेङ्गुइन बुक्स, २०१२ पृष्ठ ः ६०४
समीक्षक ः विनोद सिजापती
हेनरी किसिन्जर विदेश नीतिसम्बन्धी विमर्शमा उल्लेख हुने विश्व प्रसिद्ध नाम हो । किसिन्जरले डेढ दर्जनभन्दा बढी पुस्तक लेखिसकेका छन् । उनका पुस्तक विश्वभरि नै पठनपाठनमा प्रयोग हुन्छन् । किसिन्जर एसोसिएटका संस्थापक अध्यक्ष, हार्वर्ड विश्वविद्यालयका पूर्वप्राध्यापक किसिन्जर सन् १९७३ मा शान्तिका निमित्त नोबेल पुरस्कारका सहविजेता थिए । अर्का विजेता थिए उत्तर भियतनामका परराष्ट्र मन्त्री लु डक तुजस तर उनले पुरस्कार स्वीकारेनन् । किसिन्जर छ दशकभन्दा लामो अवधिसम्म अमेरिकाको विदेश नीति निर्माणमा संलग्न रहे । उनले आठ वर्ष अमेरिकी सुरक्षा तथा परराष्ट्र नीति निर्माण र कार्यान्वयन गर्ने अभिभारा भएको राष्ट्रिय सुरक्षा सल्लाहकार र त्यसपछि परराष्ट्र मन्त्रीको जिम्मा पाएका थिए । सन् १९७१ देखि २०११ सम्मको चार दशकमा हेनरी किन्सिजरले ५० पटक चीनको भ्रमण गरे । उक्त अवधिमा आफूले सँगालेका अनुभव र अध्ययनको आधारमा उनले अन चाइना पुस्तक तयार पारेका छन् । ५३० पृष्ठको पुस्तकमा किसिन्जरले चीनको प्राचीन इतिहासदेखि २१औँ शताब्दीसम्म चार हजार वर्षभन्दा लामो अवधिका घटनाहरूलाई विश्लेषणात्मक रूपमा प्रस्तुत गरेका छन् ।
परम्पराको निरन्तरता
पुस्तकमा किसिन्जरले माओ त्से तुङ र चाउ एन लाईदेखि देङ्ग सियाओ पिङ्ग हँुदै २१औँ शताब्दीको पहिलो दशकका ज्याङ ज मिन र हु जिन ताओ जस्ता नेताहरूसँगको आफ्नो सम्बन्धको चर्चा गरेका छन् । स्वभावैले पुस्तक चिनियाँ र पश्चिमी पाठकहरूप्रति केन्द्रित छ । दक्षिण एसियाली पाठकहरूलाई अभिरुचि हुन सक्ने अन्य विषयमध्ये किसिन्जरले चीनले आफ्नो मुलुकको भौगोलिक क्षेत्र विस्तारतर्फ परम्परादेखि हालसम्म पनि कुनै अभिरुचि नराखेका प्रमाणहरू प्रस्तुत गरेका छन् । त्यस मुलुकले अवलम्बन गर्ने गरेको परराष्ट्र नीति र पश्चिमी मुलुकहरूप्रति उसको धारणामा परम्पराले निरन्तरता पाएको किसिन्जरको निष्कर्ष छ ।
पुस्तकको प्रारम्भिक खण्डमा किसिन्जर चीनको पुरातन इतिहासको वर्णन गर्दै किन र कसरी चिनियाँ राजनीतिमा त्यसले निरन्तरता पाएको छ भन्ने विवरण प्रस्तुत गर्छन् । चीनको परराष्ट्र नीति अन्य मुलुकको सीमा अतिक्रमण गरेर भूभाग वृद्धि गर्नु वा आफ्नो संस्कृतिलाई अन्य मुलुकमा थोपर्नु कहिल्यै पनि रहेन । भलै अन्य मुलुकहरूको वर्गीकरण गर्दा चिनियाँहरू आफ्नो संस्कृतिलाई के–कति हदसम्म त्यो मुलुकले अपनाएको छ भन्ने आधारमा नजिक वा पर मान्ने गर्छन् । त्यस विपरीत अमेरिकाले अख्तियार गरेको आफ्नो मुलुकले स्थापित गरेको मूल्य र मान्यता विशेष गरी मानव अधिकारको विषयलाई अरू मुलुकमाथि थोपर्ने नीति रहेको किसिन्जर उल्लेख गर्छन् ।
‘अध्यक्ष माओ’ बारे पुस्तकले धेरै ठाउँमा विवेचना गरेको छ । ‘निरन्तर क्रान्ति सिद्धान्त’ का प्रतिपादक माओ विपरीत ध्रुवका विचारकहरूलाई खेलाउन माहिर थिए, किसिन्जर भन्छन् । चीनको इतिहासमा माओ मात्र यस्ता शासक थिए, जो आफ्ना चुनौतीहरूलाई ऐतिहासिक वस्तुस्थितिको आधारमा विश्लेषण गरी तानाशाही ढङ्गले समाधान गर्थे । जबजब तिनलाई आफ्नो बल प्रयोगले चुनौतीको सामना गर्न सम्भव नहुने महसुस हुन्थ्यो अनि मात्र कूटनीतिक पहलबाट समाधानको प्रयत्न शुरू गर्थे । उनले आफूलाई कन्फ्युसियसको विचारको विरोधी भनी जतिसुकै प्रचार गरे पनि माओ वास्तवमा कन्फ्युसियसका अनुयायी थिए ।
किसिन्जरले माओलाई ‘दार्शनिक सम्राट्’ को संज्ञा दिएका छन् । भन्छन्— उनी चीनको राष्ट्रिय स्वार्थलाई सर्वाेपरी मान्ने नेता थिए । चीनलाई पिछडिएको कृषिप्रधान अर्थतन्त्रबाट छिट्टोभन्दा छिट्टो औद्योगिकीकरण गरेर साम्यवादी मुलुक तुल्याउन माओको आदेशमा भएको ठूलो छलाङ (ग्रेट लिप फरवार्ड) कार्यक्रमका कारण इतिहासकै ठूलो भोकमरीमा दुई करोड चिनियाँहरू मारिएको किसिन्जरले अनुमान गरेका छन् । तर, सांस्कृतिक क्रान्तिको कालखण्डमा भएको नरसंहारका विषयमा भने उनले कुनै अनुमान गरेका छैनन् । माओको शासन कालमा भएका नरसंहारहरूको चर्चा गर्दै किसिन्जर निष्कर्ष निकाल्छन् ः चिनियाँ समाजमा माओले थोपरेका एकपछि अर्का विपत्तिहरू चिनियाँहरू बाहेक अरू थेग्न सक्थे भन्ने कल्पनासम्म पनि गर्न कठिन हुन्छ ।
किसिन्जरले प्रधानमन्त्री चाउ एन लाईको खुबै प्रशंसा गरेका छन् । भन्छन्— उनी तेज दिमागका, अर्काको कुरा तुरुन्तै बुझने क्षमता भएका कुशल कूटनीतिज्ञ थिए । माओको व्यक्तित्व जुनसुकै माहोलमा पनि आधिपत्य जमाउने किसिमको थियो, चाउको उपस्थितिले त्यस्तो माहोलमा पूर्णता ल्याउने गथ्र्यो । आफ्ना विरोधीलाई नियन्त्रणमा राख्ने माओको ध्येय प्रस्ट देखिने गथ्र्यो, चाउ विरोधीको अन्तरात्मामा पुग्ने प्रयास गर्थे । माओ आपूmलाई सादा दार्शनिकको रूपमा प्रस्तुत गर्थे भने चाउ कुशल प्रशासक र मध्यस्थकर्ताका रूपमा प्रस्तुत हुन्थे । माओ इतिहासको क्रमलाई गति दिन अग्रसर पात्र थिए भने चाउ वर्तमानबाटै उपलब्धि हासिल गर्न तत्पर शासक थिए ।
आपूmसँग चाउ एकै पटक मात्र उत्तेजित भएर रिसाएको किसिन्जरले उल्लेख गरेका छन् । कन्फ्युसियसको विचारलाई चीनले माक्र्सको शैलीमा ढाल्न खोजेको आपूmले अनुभव गरेको भन्ने तर्क प्रस्तुत गर्दा आक्रोशित चाउ किसिन्जरसित कुर्लिएका थिए, “कन्फ्युसियसको विचार वर्ग दमन गर्न लक्षित थियो भने माक्र्स मुक्ति प्राप्तितर्फ केन्द्रित छन् ।”
चीन–भारत सीमा विवाद
किसिन्जरले प्रस्तुत गरेको चीन र भारत सीमा विवादको विश्लेषण यस भेगका पाठकका लागि उपयोगी विषय हो । सीमा विवादले सन् १९६२ मा दुई मुलुकबीच युद्ध गराएको थियो । पुस्तकको परिचयमै भारत–चीन युद्धबारे छोटो व्याख्या छ । पछिल्लो खण्डमा त्यस युद्धबारे किसिन्जरले नौ पृष्ठ खर्चिएका छन् । १३औँ शताब्दीको कुइंग वंशको शासन कालदेखि नै चीनले तिब्बतलाई आफ्नो मुलुकको अभिन्न अङ्ग मान्दै आएको र आफ्नो दक्षिणी सिमाना हिमालयको फेदीलाई मान्दै आएको उनी उल्लेख गर्छन् । तर सीमा विवादित थियो । भारतस्थित बेलायती शासकहरूले तिब्बततर्फ बढ्दै गरेको रूसी साम्राज्यको प्रभावलाई ख्याल गरेर तिब्बतसँग सन् १९१४ मा सीमा सम्झैता गरेका थिए । यसरी स्थापना भएको सीमालाई म्याकमोहन लाइन भनिन्छ । भारतले म्याकमोहन लाइनलाई आफ्नो सिमानासरह मान्यता दिएको र चीनले परम्परादेखि मान्दै आएको सीमा हिमालको फेदीलाई मान्यता दिएको हुनाले दुई मुलुकबीच विवाद उब्जेको हो भन्ने किसिन्जरको तर्क छ । भारतमा बेलायती सरकारका विदेश सचिव सर हेनरी म्याकमोहनको नाम दिइएको काल्पनिक रेखाले पूर्वी र पश्चिमी भारतीय हिमालयको उच्च बिन्दुलाई सिमाना मानेको छ । चीन सरकारले त्यो मानेको छैन ।
कुइंग वंशको शासन कालको अन्त्यपछि आन्तरिक कलहले चीन कमजोर भएको समयमा भारतका बेलायती शासकले तिब्बती र चिनियाँ प्रतिनिधिलाई निम्त्याएर सन् १९१२ मा सीमा निर्धारण सम्मेलन गरेका थिए । त्यस बेला चीनले शक्ति प्रदर्शन गरेर आफ्नो भूभागको रक्षा गर्ने सामथ्र्य राख्तैनथ्यो । तर पनि उसका प्रतिनिधिले सीमा (म्याकमोहन लाइन) निर्धारण सम्झैतापत्रमा पूरा दस्तखत नगरी छोटो दस्तखत गरेर विरोध जनाएका थिए ।
किसिन्जरको भनाइमा भारतले आफ्नो भूभाग मान्ने गरेको पूर्वी भारतको अरुणाचल प्रदेशको केही विवादित क्षेत्र र पश्चिमका आकासी चीन क्षेत्रहरूलाई बेलायती साम्राज्यले (भारतमा शासन गर्दा) आफ्नो अधिनमा राखे पनि शासनै भने गरेको थिएन । उक्त क्षेत्रलाई भारतले स्वतन्त्रतापछि आफ्नो आधिकारिक भूभाग मान्यो । दलाई लामाले सन् १९५९ मा तिब्बतबाट भागेर भारतमा शरण लिएपछि हिमाली सिमानाको विवाद संवेदनशील हुँदा यसलाई रणनीतिक हिसाबले हेर्न थालिएको हो । भारत सरकारसँगको वार्तामा चाउ एन लाईले सीमा विवाद हल गर्न पूर्वको विवादित क्षेत्रलाई चीनले त्याग्ने र पश्चिमी क्षेत्रलाई भारतले त्याग्नुपर्ने प्रस्ताव अगि सारेका थिए । भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूले ‘आपूm सिमानाको सम्झैता गर्न चुनिएको होइन’ भनेर चाउको प्रस्तावलाई टारिदिए ।
किसिन्जर भन्छन्, सन् १९६१ पछि भारतले आफ्नो सेनालाई म्याकमोहन लाइनतर्फ ‘अगि बढाउने’ रणनीति अख्तियार ग¥यो । भारतीय सेनाले सविस्तार उत्तरतर्फ अगि बढ्दै नयाँ चौकी स्थापना गर्न थालेको देखेर माओले भारत सरकारलाई पाठ सिकाउन चिनियाँ सेनालाई आक्रमण गर्ने आदेश दिए । युद्धपश्चात आफ्नो परम्परा कायम गर्दै चिनले कब्जामा लिएका भारतीय सेनाका जवानहरू मात्र मुक्त नगरेर हतियारहरू समेत फिर्ता दिएको थियो । चिनियाँ आक्रमण भारतका निमित्त खास गरी प्रधानमन्त्री नेहरूका निमित्त, ठूलो आघातको रूपमा देखियो । नेहरू तत्पश्चात् धेरै समय बाँचेनन, सन् १९६४ मा उनको निधन भयो । बर्लेको पुस्तकमा पनि यो विवरण सविस्तार उल्लेख छ (हेर्नुहोस्, अजय दीक्षितको समीक्षा) ।
चीन–अमेरिका सम्बन्ध
पुस्तकमा किसिन्जर चीन र अमेरिकाको सम्बन्ध पुनःस्थापित गर्न आपूmले महŒवपूर्ण भूमिका खेलेको दाबी गर्छन् । उनी अमेरिकाको विदेशमन्त्री रहँदा राष्ट्रपति निक्सनले सन् १९७२ मा चीनको भ्रमण गरेका थिए । भ्रमणको तालमेल किसिन्जरकै अगुवाइमा भएको थियो । नाटकीय घटनाको रूपमा प्रकट भएको थियो त्यो भ्रमण त्यस कालखण्डमा । राष्ट्रपति निक्सनको भ्रमणपछि ती दुई मुलुकबीचको सम्बन्ध सुध्रिँदै आयो । किसिन्जर भन्छन्, ‘एउटा भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्धमा यति व्यापक प्रभाव विगतमा कहिल्यै पनि पारेको थिएन ।’
छोटो समयमा आपूmलाई माओसँग नजिकको सम्बन्ध स्थापित गर्न सफलता मिलेको कुरा किसिन्जरले प्रस्ट पार्न भने छोडेका छैनन् । यस प्रसङ्गमा, धर्मलाई अफिमको संज्ञा दिने कट्टर माक्र्सवादी माओले अमेरिकी राष्ट्रपति जेराल्ड फोर्डसँगको भेट (सन् १९७५) का अवसरमा गरेको वार्तालाप रोचक छ (पृष्ठ ३१४–१५)
• माओ ः तपाईंको विदेश मन्त्रीले मेरो आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेको छ ।
• राष्ट्रपति फोर्ड ः तिनले के गरे, मलाई बताउनुहोस् ।
• माओ ः यिनले मलाई भगवान्कहाँ गएर उनीसँग भेट गर्न रोक लगाएका छन् । मलाई भगवान्ले दिएको आदेशको अवज्ञा गर्नसमेत प्रेरित गर्दै छन् । भगवान्ले मलाई निमन्त्रणा दिएका छन् । त्यो निमन्त्रणालाई समेत अस्वीकार गर्नु भन्दै छन्, यिनी ।
• किसिन्जर ः त्यो त घातक हुन सक्छ ।
• माओ ः यिनी आपूm नास्तिक हुन्, सधैँ ईश्वर विरोधी । यिनले त मेरो भगवान्सँगको सम्बन्ध नै बर्बाद गर्न लागिसके । तर के गर्ने, मेरा निमित्त भगवान्को आदेश पालना गर्नुको विकल्प नै छैन ।
वाटरगेट काण्डका कारण राष्ट्रपति निक्सनले सन् १९७४ मा पद छाड्नुप¥यो । आफ्नो मुलुकसँग सम्बन्ध सुधार शुरू गर्ने राष्ट्रपति निक्सनको यो पतन चिनियाँहरूका निमित्त अकल्पनीय थियो । चिनियाँहरू वाटरगेट काण्डलाई माओ आफैले घोषणा गरेका उत्तराधिकारी रक्षामन्त्री मार्सल लिन प्याओको कथित सत्ता कब्जा गर्ने असफल षड्यन्त्रसँग तुलना गर्थे । शक्ति हत्याउन असफल भएपछि भागेर जाँदा लिन प्याओले सोभियत सङ्घको सिमाना नजिक हवाई दुर्घटनामा परी ज्यान गुमाएका थिए भन्ने अनुमान छ ।
माओद्वारा तीन पटक पदच्यूत गरिएका देङ्ग सियाओ पिङ्गको पुनःस्थापना र माओको देहावसानपछि तिनको उदयलाई किसिन्जर चीनमा भएको अकल्पनीय राजनीतिक घटना मान्छन् । माओले आफ्नो देहावसानपूर्व नै चाउ एन लाईको स्थानमा देङ्गलाई भिœयाएका थिए । चाउ र देङ्ग दुवै सुधारवादी मानिन्थे । अर्काेतर्फ माओले उग्रवामपन्थी कहलिएका ‘ग्याङ अफ फोर’ लाई पनि प्रश्रय दिएका थिए । साथै, यी दुई धारबीच रहेर आफ्नो घोषित उत्तराधिकारी हुआ गो फेङलाई पनि माओ स्थापित गराउँदै थिए । माओको देहावसानपछि दुई ध्रुवका राजनीतिक शक्ति सन्तुलन गर्न हुआ गो फेङ सफल हुने सम्भावनै थिएन । अन्ततोगत्वा ‘ग्याङ अफ फोर’ तथा हुवालाई पन्छाएर देङ्ग चीनको सबैभन्दा शक्तिशाली व्यक्ति बन्न पुगे ।
किसिन्जरका अनुसार शक्ति सञ्चय गर्नेबित्तिकै देङ्ग सियाओ पिङ्गले माओकै शैलीमा एकैसाथ एकातिर अमेरिकासँग सम्बन्ध मजबुत बनाउन शुरू गरे भने अर्कोतिर भियतनाममा सोभियत सङ्घको बढ्दो प्रभाव कम गर्ने हेतुले आक्रमण गरे । साथै मुलुकभित्र नागरिक स्वतन्त्रताका लागि आन्दोलनरत कलाकार, लेखक तथा बुद्धिजीवीहरूले सञ्चालन गरेको ‘पर्खालमा प्रजातन्त्र’ अभियानको दमन गरे । देङ्गको आदेशमा, तियानमेन स्क्वायरमा प्रजातन्त्रको माग राखिरहेका विद्यार्थीहरूको ठूलो सङ्ख्यामा ‘नरसंहार’ भयो । त्यो घटनालाई किसिन्जरले अमानवीय भने पनि राजधानीको केन्द्रमा भएको विरोध दमन नहँुदा नेताहरू अकर्मण्य साबित हुने सम्भावना थियो भन्दै कठोर शब्दमा निन्दा गरेका छैनन् । नरसंहारको अमेरिकामा ठूलोे विरोध भयो । किसिन्जर भन्छन्— त्यो विरोधले चिनियाँहरूलाई छक्क पा¥यो । किनकि उनीहरूको विचारमा उक्त नरसंहारमा ‘कुनै पनि अमेरिकी नागरिक घाइते भएको वा मारिएको थिएन’ न त ‘अमेरिकी सम्पत्तिको हानी–नोक्सानी नै भएको थियो ।’
समृद्धिको यात्रा
देङ्गको प्रमुख चुनौती थियो— साम्यवादी व्यवस्था अपनाएपछि तीन दशकसम्म माओ जस्तो सशक्त नेताद्वारा शासित मुलुकलाई एक ढिक्का बनाएर विश्वमा सम्मानित स्थान दिलाउनु । माओको शासन कालमा चलाइएको ‘निरन्तर क्रान्ति’ का कारण चिनियाँ समाजले एकपछि अर्काे मानवनिर्मित सङ्कट झ्ेल्नुपरेको थियो । राजनीतिक स्थिरता कायम गरेर मुलुकलाई वैदेशिक लगानीको प्रमुख गन्तव्य तुल्याउन देङ्ग सफल भए, जसले चीनमा अभूतपूर्व आर्थिक उन्नतिका अवसर भिœयायो । माओको देहावसान भएको वर्ष, सन् १९७६ मा अमेरिकाको चीनसँगको व्यापार ३.३६ अर्ब डलरको थियो, जुन ताइवानको तुलनामा दश खण्डको एक खण्ड पनि थिएन । तर सन् २०१३ को अन्त्यमा आइपुग्दा अमेरिकाले चीनलाई गरेको निर्यात मात्र १२ हजार अर्ब डलर नाघिसकेको थियो । चिनियाँ अर्थतन्त्रलाई आजको अवस्थामा पु¥याउने अर्थात् विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बनाउने श्रेय देङ्गलाई जाने किसिन्जरको विश्वास छ ।
क्यान्सर पीडित चाउ एन लाईलाई सन् १९७४ पछि माओले ओझ्ेलमा पार्न थालेका थिए । किसिन्जरका अनुसार माओले देङ्गलाई पुनःस्थापन गर्नुको अभिप्राय चाउ एन लाईको स्थानमा देङ्गलाई स्थापित गर्नु थियो । सन् १९७४ को शुरूआतमा किसिन्जरको देङ्गसँग पहिलो भेट भएको थियो । उक्त भेटमा देङ्गले माओबारे थुप्रै चर्चा गरेको तर चाउको विषयमा उनी मौन भएको किसिन्जर उल्लेख गर्छन् । किसिन्जरले चाउसँग सन् १९७४ डिसेम्बरमा अन्तिम भेट गरेका थिए । त्यसपछि चाउको स्थान देङ्गले ग्रहण गरे ।
वाक्स्वतन्त्रताको वकालत गर्दै हिँडेका चिनियाँ विज्ञान तथा प्रविधि विश्वविद्यालयका उपाध्यक्ष प्रोफेसर फाङ्ग लिझ्ीले अमेरिकी दूतावासमा शरण लिन पुगेपछिको घटना देङ्गसँग मिलेर आपूmले समाधान गरेको मुख्य समस्या हो भन्छन्, किसिन्जर । उनले प्रोफेसर फाङ्ग लिझ्ीलाई चीनले देश निकाला गरेको घोषणा गर्ने र उनलाई स्विडेन जस्तो तटस्थ मुलुकले शरण दिने प्रस्ताव अगि सारेका थिए । देङ्गले उक्त प्रस्तावलाई राजनीतीकरण नगर्ने शर्तमा स्वीकारेका थिए । अन्ततोगत्वा फाङ्ग लिझ्ी बेलायत हँुदै अमेरिकामा शरण लिन पुगे ।
पुस्तकको बाँकी भाग किसिन्जरले देङ्गपछिका चिनियाँ नेताहरू जियाङ ज मिन हँुदै हु जिन्ताओसँग आपूmले शुरू गरेको सम्बन्ध र चीनले शान्तिपूर्ण वातावरणमा हासिल गरेका उपलब्धिहरूमा केन्द्रित गरेका छन् । किसिन्जर भन्छन्, माओको राजनीतिक सिद्धान्तलाई निर्यात गर्ने काम चीनले पूर्ण रूपले त्यगिसकेको छ र चिनियाँ नेतृत्व विश्वका सबै मुलुकसँग मित्रता कायम गरेर विश्व राजनीतिक मानचित्रमा चीनलाई सम्मानजनक सदस्यको हैसियतमा स्थापित गर्न अग्रसर छ । निरन्तर आर्थिक उन्नतितर्फ अगाडि बढ्दा आइपर्ने आन्तरिक समस्याहरूको शान्तिपूर्वक निराकरण गर्दै चीन अगि बढ्नेमा उनी विश्वस्त देखिन्छन् ।
पुस्तक रोचक र ज्ञानबद्र्धक छ । सरल भाषामा लेखिएको हुनाले अङ्ग्रेजीको ज्ञान भएका पाठकहरूले घरीघरी शब्दकोश पल्टाइराख्नु आवश्यक पर्दैन । चीनको विगत र वर्तमानबारे गहिरिएर अध्ययन गर्न चाहनेहरूका लागि पुस्तक मार्गदर्शक हुन सक्छ भने यस्ता विषयहरूको साधारण ज्ञान राख्न चाहने पाठकहरूका निमित्त त सुनखानी नै ।
(सिजापति विकास अर्थशास्त्र र शरणार्थी व्यवस्थापनका विज्ञ हुन् ।)
No comments:
Post a Comment