विकासमा तल्लो वर्गको भूमिका पीआरएको गुरु ग्रन्थ
हुज रियालिटी काउन्टस् ?
पुटिङ दि फस्र्ट लास्ट
लेखक : रोबर्ट च्याम्बर्स
समीक्षक : योगेन्द्र सुवेदी
२० औं शताब्दीको उत्तराद्र्धमा विश्वभर नै परिवर्तनले तीव्र गति लियो । परिवर्तनकै तीव्रताका कारण आउँदा दिन कस्ता हुन्छन् भत्रे अनुमान गर्न गाह्रो भयो । अहिले पनि अनिश्चितता र परिवर्तनको उचारचढावबीच व्यक्तिगत, पेशागत र संस्थागत क्षेत्रमा अनेक अनिश्चितता विश्वभर नै व्याप्त छन् ।
ग्रामीण विकासका महान् चिन्तक प्राध्यापक रोबर्ट च्याम्बर्स (जन्म सन् १९३२) को पुस्तक ‘पुटिङ द लास्ट फस्र्ट’ सन् १९८३ मा प्रकाशित भएको हो । नेपालीमा यसलाई ‘अन्तिममा रहेकालाई प्राथमिकता’ भनिन्छ । ग्रामीण विकास अध्येताहरूका लागि उक्त पुस्तक गीता नै मानिएको छ । हजारौं लेख÷रचना र अध्ययन÷अनुसन्धानमा उक्त पुस्तकका प्रसङ्गहरू उद्धृत गरिएको छ । पुस्तकले विश्वव्यापी चर्चा पाएपछि च्याम्बर्सको नाम संसारभरि नै फैलियो । धेरैले बधाई, शुभकामना र रचनात्मक सुझव समेत दिए । त्यसबाट हौसिएर उनले सन् १९९७ मा अर्को पुस्तक ‘हुज रियालिटिज काउन्टस् ? पुटिङ द फस्र्ट लास्ट’ लेखे । उनले स्पष्ट भनेका छन्, पुटिङ द लास्ट फस्र्ट भनेको निस्वार्थ भाव हो भने पुटिङ द फस्र्ट लास्ट भनेको शक्ति विकेन्द्रीकरण हो । आर्थिक हिसाबले तल्लो तह र तप्कामा रहेका अति गरीब वर्गलाई प्राथमिकतामा राखेर विकासे कार्यक्रम र योजना बनाउनुपर्छ । लेखकले आर्थिक र सामाजिक हैसियत नहुनेदेखि हुनेसम्मको पिरामिड बनाउँदा पहिलो पुस्तकमा तल्लो वर्गलाई माथि लगेर र माथिल्लो तहका धनीमानी र पहुँचवालालाई तल्लो तहमा लगेर समतामूलक समाज कसरी बनाउन सकिन्छ भनेर हेरे । यसका लागि उनले वैज्ञानिक र व्यावहारिक विधि बताए, त्यो हो पीआरए अर्थात् सहभागितामूलक ग्रामीण लेखाजोखा विधि । ग्रामीण विकासको अनुसन्धानमा महŒवपूर्ण औजार सावित भएको पीआरए (पार्टिसिपेटरी रुरल अप्रेजल) विधि उनकै खोज हो ।
इन्टरमिडियट टेक्नोलोजी पब्लिकेसन्सद्वारा प्रकाशित पुटिङ द फस्र्ट लास्ट झ्ण्डै ३०० पृष्ठको छ । दश खण्डमा विभाजित यस पुस्तकका प्रत्येक खण्डको प्रारम्भ विश्वका महान् व्यक्तिहरूको सूक्तिबाट भएको छ र खण्डको सारसंक्षेप पनि दिइएको छ । यस किताबको अर्को आकर्षण हस्तलिखित चित्र हुन् । लेखकले आफूले वस्तुहरूलाई जसरी देखे÷बुझ्ेका छन् त्यसरी नै अभिव्यक्ति दिने प्रयास गरेका छन् । यस किताबलाई च्याम्बर्सले यात्राको दोस्रो पाइला मानेका छन् र अझ्ै धेरै यात्रा गर्न बाँकी रहेको कुरा भूमिकामा उल्लेख गरेका छन् । ग्रामीण क्षेत्रका बासिन्दामा भएको गरीबी र विकास सम्बन्धी विवेचनात्मक क्षमताबाट लेखक प्रभावित छन् ।
‘पीआरए’ मा रुरल (ग्रामीण) शब्दको प्रयोग ठीक नभएको लेखकको तर्क छ । उनी भन्छन्, यो पद्धति शहरी गरीब बस्तीहरूमा पनि लागू गर्न सकिन्छ । पीआरएको सट्टा पीएलए (पार्टिसिपेटरी लर्निङ एण्ड एक्सन) अर्थात् सहभागितामूलक सिकाइ र कार्यान्वयन भत्रे शब्दावली आइसके पनि पीआरए नै धेरैले प्रयोग गर्ने गरेको हुनाले यहाँ पीआरए नै प्रयोग गरिएको कुरा उनी उल्लेख गर्छन् ।
नयाँ उच्च धरातल
च्याम्बर्सले विकासको अवधारणालाई मानिसको क्षमता अनुसारको उच्च धरातलमा उभिएर हेर्नुपर्ने बताएका छन् । तल्लो वर्ग अगाडि बढ्ने कुरा उपल्लो वर्गकाको व्यवहार र सोचाइमा भरपर्छ । उनी भन्छन्, “तल्लो वर्गलाई ठाउँ दिन उपल्लो वर्गमा परिवर्तन आउन जरूरी छ ।”
यसमा लेखकले तल्लो वर्गलाई निस्वार्थ भाव तथा उदारपनको माध्यमबाट माथिल्लो तहसम्म लगेर हेर्न सकिन्छ भत्रे कुरा उल्लेख गरेका छन् । सशक्तिकरणलाई विकेन्द्रित गरेर (अर्थात् माथिल्लो तहमा रहेको वर्गलाई तल्लो तहमा लगेर समतामूलक बनाउन सकिन्छ भनेर आफ्ना दुवै पुस्तकमा पुस्ट्याइँ गरेका छन् । तर उपल्लो तहमा भएको शक्तिलाई विकेन्द्रित गर्ने काम सजिलो छैन । उनको भनाइ अनुसार कुनै वस्तुलाई सन्तुलनमा ल्याउन असन्तुलन आवश्यक हुन्छ अर्थात् असन्तुलनलाई ठीक ठाउँमा ल्याएपछि मात्र सन्तुलन कायम हुन्छ भने जस्तै गरीबलाई माथि पु¥याउन धनीको शक्ति खलबल्याउन जरूरी छ । पीआरएको अनुभव र दर्शन यसको अभित्र अङ्ग हो ।
यो पुस्तक अलि गहन नै छ । तर पुस्तकको अन्त्यमा उनले हरेक खण्डको एउटा लामै नोट तयार पारेर आफ्नो कुरा अरू प्रस्ट्याएका छन् । तर कतिका लागि उनको अङ्ग्रेजी भाषा सहज नहुन पनि सक्छ ।
उनले बढ्दो जनसंख्याको चापले गर्दा पहाडी क्षेत्रमा कृषि जमीनको विस्तार भएको सन्दर्भमा या नेपालमा पीआरएको प्रयोग कसले, कहाँ, कसरी गरिरहेछ भत्रे जस्ता धेरै सन्दर्भमा नेपालको चर्चा गरेका छन् । उनी नेपालमा पीआरएको सुरुआत वीनरक इन्टरनेशनल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट भारत हुँदै भित्रिएको मान्छन् ।
पुस्तकमा च्याम्बर्सले पीआरएको व्याख्यासहित त्यसको महŒवमा प्रकाश पारेका छन् । उनी खासगरी विकास र अनुसन्धान कृषि, वन, वातावरण आदि क्षेत्रहरूमा यसको उपयोगिता अत्यधिक रहेको बताउँछन् । यो विधि सामान्यतया प्रश्नावली विधिद्वारा गरिने सर्भेक्षणको दह्रो विकल्प सावित भएको छ । आजको बहुलवादको मान्यतामा सङ्घर्षको सामना गर्न व्यक्ति, पेशा र संस्थाको आ–आफ्नै हिंड्ने मार्गहरू हुन्छन् । पीआरएले यी सबै कुराको समाधान त गर्दैन तर मार्गप्रशस्त भने गर्छ ।
पीआरएको मूल मन्त्र नै हामीले अपनाउने नीति, व्यवहार र सम्बन्धमा परिवर्तन ल्याउनु हो । पीआरए कसरी गर्ने र यसको मूल मर्म के हो भत्रेबारे पुस्तकमा विस्तृत चर्चा गरिएको छ ।
धेरैका लागि पीआरए तल्लो तहको महिला, सीमान्तकृत, गरीब र जोखिमयुक्त मानिसहरूका लागि सशक्तिकरण गर्ने एउटा माध्यम भएको छ । पीआरएभन्दा अगाडि सन् १९७० को अन्तिम दशकताका ल्याइएको आरआरए (रापिड रुरल अप्रेजल) बाट कसरी विस्तारै पीआरएको विकास भयो भत्रे कुरा पुस्तकमा विवेचना गरिएको छ । पीआरएमा बाहिरकाले हस्तक्षेप गर्दैनन् न कि उनीहरूलाई पढाउँछन् । बाहिरकाहरूले त केबल सहजकर्ताको मात्र भूमिका निर्वाह गर्छन् । उनीहरू सँगै बस्छन्, उनीहरूका कुरा सुन्छन् र उनीहरूबाटै सिक्छन् साथै समुदायलाई आफ्नो वास्तविकताबारे बोल्न अभिप्रेरित पनि गर्छ ।
पेशागत संवेदनशीलता
व्यक्तिगत र पेशागत परिवर्तनका केही महŒवपूर्ण उपलब्धिलाई विगतमा भएका गल्तीको समीक्षाद्वारा नापिन्छ । विकास गर्ने क्रममा गल्ती हुनु सामान्य हो र त्यसलाई सामान्य रूपमै लिनुपर्छ । कुनै गल्तीहरूले छिटो पाठ सिकाउँछन् भने कुनैले ढिलो । खाद्य सुरक्षा, विज्ञानप्रविधि, वातावरण र विकास आयोजना आदिमा विगतको अनुभवले धेरै गल्तीहरू भएको देखिए तापनि हामी विकासे कार्यकर्ताहरू अझ्ै पनि धेरै गल्ती गर्दैछौं । विगतका गल्तीबाट पाठ सिक्दै पुनः गल्ती दोहोरिन नदिनु आजको चुनौती हो ।
हाम्रो विचार, मूल्य, मान्यता, पद्धति र व्यवहारहरूले हाम्रो पेशागत जीवनमा गहिरो प्रभाव जमाएका हुन्छन् । पद, पैसा र शक्ति प्राप्त गर्ने माध्यम पनि व्यावसायिकता नै हो । सामान्य पेशाकर्मीका लागि गरीब जनताका वास्तविकता, खेती गर्ने तौरतरीका, जीविकोपार्जनका रणनीति आदिलाई बुझन र त्यसलाई सम्बोधन गर्न निकै गाह्रो हुन्छ । सामान्य पेशाकर्मीले उसको आफ्नै वास्तविकता सृजना गरी त्यसलाई अन्तर्निहित गरेको हुन्छ । सामान्य पेशाकर्मीको अरू जस्तो आर्थिक, सामाजिक र भौतिक साझ छनोटहरू गरेका छन् आफ्नै सीमा र परिधिभित्र रहेर काम गर्न सक्छन् ।
वास्तविकताको बुझइ
वास्तविकता बहुआयामिक तर थुप्रै साझ कुरा मिश्रत भएको हुन्छ भन्छन्, च्याम्बर्स । उनले वास्तविकताको अर्थ दुई तहमा व्याख्या गर्छन् । पहिलो भौतिक वास्तविकता जुन हामीभन्दा बाहिर हुन्छ अर्थात् बाहिरी दुनियाँको भौतिक वस्तुहरू । अर्को व्यक्तिगत वास्तविकता जो हामीभित्रै हुन्छन् हाम्रा बुझइ, ज्ञान र विश्वासहरू ।
गरीबको वास्तविकता स्थानीय तबरको, जटिल, विविधतायुक्त, गतिशील र भविष्यवाणी गर्न नसकिने किसिमको हुन्छ, उनीहरूका रोजाइ र मान्यता अन्य पेशाकर्मी र अलि हुने÷खानेको भन्दा भिन्दै र विपरीत प्रकृतिका हुन्छन् । आफ्नो जटिलता स्थानीय तवरले नै प्रबन्ध गर्न सक्छन्, उनीहरू । तर तल्लो वर्गको उत्थानका लागि उपल्लो वर्गका मानिसको व्यवहार र सोचाइमा परिवर्तन आउनु भने जरूरी छ ।
सहभागिता, सशक्तिकरण र आपसी सम्मानले गरीब र तल्लो वर्गका मानिसलाई आफ्नो व्यक्तिगत र सामूहिक वास्तविकता अभिव्यक्त गर्न सक्षम बनाउँछ । लेखकको भनाइमा तल्लो वर्गका अनुभव र भोगाइ वास्तविक हुन्छन् र उपल्लो वर्गकाको अनुभव तल्लो वर्गको उत्थानका लागि त्यति उपयोगी हुन सक्दैनन् । आफ्नो घरको खानाको आपूर्ति कहाँ र कुन स्रोतबाट आउँछ भनेर ठम्याउन नसक्नेले अरूको घरको वास्तविकताको चित्रण गर्नु अनुपयुक्त हुन्छ भन्छन्, लेखक । तसर्थ तल्लो वर्गका मानिसहरूको प्राथमिकताले नै महŒव राख्छ । जस्तै आधारभूत आवश्यकता, खेती गर्ने तौरतरिका, घाँस÷दाउराका कुरा, पशुपालन, वन विकास आदि कुराहरूमा निम्न वर्गका मानिसको विचार र मान्यता नै प्राथमिकता पाउनुपर्ने उनको तर्क छ ।
शक्तिको मात
च्याम्बर्सले मानिसले प्रयोग गर्ने शक्तिबारे विवेचना गरेका छन् । शक्ति सक्षमता र असक्षमता दुवै हो, उनी भन्छन् । जो गर्न सक्छन् ती शक्तिवान् हुन् । खासगरी विकास निर्माणमा काम सम्पत्र गर्नका लागि शक्ति हुनु एउटा सम्पत्तिकै रूप हो । जो व्यक्तिहरू ठूला–ठूला पदमा पुगेका छन् तिनीहरूले आफूमा परिवर्तन ल्याउनका लागि शक्तिको राम्रो प्रयोग गरे ।
गल्तीबाट पाठ सिकिन्छ र सिकेका पाठले आफूमा शक्ति आउँछ । तर पहिले नै शक्ति सम्पत्र हुनु अयोग्यता वा अक्षमता हो भन्छन्, लेखक । पहिले नै शक्तिवान् व्यक्तिमा नयाँ ज्ञान सिक्ने क्षमता नहुन सक्छ र पछि गएर अयोग्य पनि हुनसक्ने लेखकको तर्क छ ।
पीआरएको अनुभवले विकास, अनुसन्धान एवं खोजमा धेरै ज्ञान दिन सफल छ । यसले स्थानीय मानिसको मूल्याङ्कन, विवेचना एवं योजना तर्जुमा गर्ने क्षमतामा धेरै वृद्धि भएको छ । बाहिरियाहरू केवल सहजकर्ताका रूपमा रहने र समुदायले आफ्नो अनुभव चित्र, नक्शा वा अन्य उपयोगी विधिद्वारा व्यक्त गर्ने हुनाले यो विधि उपयोगी सावित भएको हो । खासगरी सामाजिक नक्शा, समयरेखा, आर्थिक स्थितिको पहिचान, सहभागितामूलक नक्शाङ्कन, गणना आदि सामग्रीको विषयमा वर्णन पाइन्छ । आरआरए र पीआरएको फाइदा÷बेफाइदाका छुट्टाछुट्टै वर्णन गरेका छन् ।
आफूले लेखेको पुस्तक अपूर्ण नै रहेको र गरीबी सम्बन्धी कतिपय प्रश्नको उत्तर दिन आफूलाई गाह्रो भएको कुरा उनले पुस्तकको भूमिकामा उल्लेख गरेका छन् । एकपटक विलियम जनसेनले बङ्गलादेशको गाउँमा गरीबहरूको लिखित अन्तर्वार्ता लिइरहँदा एउटा गरीबले प्रश्न गरेछ, “महोदय, गरीब मानिसको बारेमा तपाईंले यति धेरै के लेखिरहनुभएको छ ? भगवान् आफैं त गरीबलाई माया गर्दैनन् भने तपाईंको यो लेखाइले के सहयोग गर्ला ?” च्याम्बर्सले यो अत्यन्त असहज प्रश्न हो जसको उत्तर म दिन सक्दिनँ भनेका छन् । उत्तर दिने काम उनले पाठकसामु नै छोडेका छन् ।
No comments:
Post a Comment