अनुशासन र प्रेमको बाटो
पुस्तक : द रोड लेस ट्राभल्ड: ए न्यू फिजिकोलोजी अफ लभ, ट्रेडिशनल भ्यालुज एन्ड स्पिरिच्युअल ग्रोथ
लेखक: मोर्गान स्टक पेक प्रकाशक : एरो बुक्स, लन्डन, २००६
पृष्ठ : ३०४ मूल्य : ७.९९ स्टर्लिङ पाउण्ड
आज धेरै मानिससँग विभिन्न थरीका आधुनिक सुविधा उपलब्ध छन्, तर धैर्य छैन । मान्छे–मान्छेबीच विश्वास र सहिष्णुताको खाडल बढेको छ । जीवनयापन गर्दा आइपर्ने समस्यालाई सामान्य हिसाबले नलिंदा र बुझन–जान्न नखोज्दा मानिसमा निराशा बढेको छ, उनीहरू तनावमा छन् । आर्थिक असमानता बढेको छ, मानिस असहिष्णु बन्दै गएको छ र अशान्ति व्याप्त हुँदैछ । आफैंप्रतिको अविश्वास र जिन्दगीको उद्देश्य सम्बन्धी अन्योलका कारण आत्महत्या गर्नेहरूको संख्या पनि बढ्दै गएको छ । मानिस परिस्थितिको भुमरीमा हराउँदो छ ।
कठिन बन्दै गएको जीवनलाई सहज र सरलसँग बुझाइदिने विधिको खाँचो छ, आज सबैलाई । निराशा र तनावमा बाँचेका मानिसले सत्मार्ग पहिचान गर्ने विधि के हो ? तिनलाई तनाव नलिइकन जीवनयापन गर्न कसरी प्रेरित गर्ने ? द रोड लेस ट्राभल्डः ए न्यु फिजिकोलोजी अफ लभ, ट्रेडिशनल भ्यालुज एन्ड स्पिरिच्युअल ग्रोथ नामक पुस्तकमा यी र यस्तै प्रश्नको जवाफ खोजिएको छ । डा. मोर्गान स्टक पेकद्वारा लिखित यो पुस्तकले निराशा, तनाव र आत्मग्लानि बोकेर जीवन बिताइरहेकालाई नयाँ बाटो देखाउने प्रयास गर्छ ।
डा. मोर्गान स्टक पेक पेशाले मनोरोग विशेषज्ञ हुन् । उनले पुस्तकमा मनोवैज्ञानिक ज्ञान र विश्लेषणको आधारमा मानवजीवनका कठिनाइहरूलाई सजिलोसित बुझने र निकासका बाटा दिने प्रयास गरेका छन् । मान्छे दुःखी हुनुका कारण पहिल्याउँदै मोर्गान लेख्छन्– ‘मानिसभित्र अनुशासन, प्रेम र सत्यप्रतिको विश्वास कम हुँदैछ ।’ उनको तर्क छ, सुखी रहन हाम्रो व्यवहारमा प्रेम, सत्य र अनुशासन समायोजन हुनु आवश्यक हुन्छ । पुस्तकको अन्त्यतिर जीवनसित जोडिएका आध्यात्मिक पक्ष, चमत्कार, ईश्वर र धर्मका प्रसङ्ग पनि समावेश गरिएका छन् ।
बलवान समय
मोर्गान भन्छन्– ‘जीवन सरल छैन, कठिन छ, दुःख र कष्टले भरिपूर्ण छ ।’ यो सत्यलाई आत्मसात् गरेर अगाडि बढ्ने हो भने कुनै पनि काम अप्ठेरो हुँदैन । यो वास्तविकता बुझेपछि जीवनमा भोग्दै गरिएका अप्ठेराहरू सहजै स्वीकार गर्न सहयोग पुग्छ । परिणामतः यस्ता अप्ठेराहरू समस्याको रूपमा मात्र नरहेर उपयोगी अनुभव पनि बन्न सक्छन् । जीवन रूपी सिक्काका सुख र दुःख दुई पाटा हुन् जुन समयसँगै माथि–तल भइरहन्छन् । कुनै बेला समस्या शृंखलाबद्ध रूपमा आउँछन्, टरेर पनि जान्छन् । तर समस्याको सामना गर्ने कि आत्मविश्वास गुमाउने ? निराश हुने कि सामना गर्ने ? यहींनेर गर्नुपर्छ रोजाइ ।
समय निरन्तर चलिरहन्छ, रोकिंदैन । समय र परिस्थिति सुहाउँदो वातावरण बनाउने हो भने मान्छेले कुनै पनि कठिन काम सहजै सम्पन्न गर्न सक्छ । तर समस्या त्यत्तिकै समाधान हुँदैन, न त समाधान गर्ने फुमन्तर जादूको छडी हुन्छ । मोर्गानको तर्क छ— ‘समस्या सुल्झाउनका लागि आफू अग्रसर हुनैपर्छ, अन्यथा समस्या प्रगतिको बाधक बन्न सक्छ । समाधानका लागि हामीले आफ्नो जिम्मेवारी बोधसँगै क्षमता बढाउने प्रयास गर्नुपर्छ । समस्या मेरो हो, म यसलाई सहजै समाधान गर्छु भन्ने आत्मविश्वास दृढ हुनुपर्छ । यसले नै सफलतातिर डो¥याउँछ ।’
मोर्गान भन्छन्, हामीले बुझ्ेको वा बुझने गरेको वास्तविकता एउटा नक्शाजस्तै हुन्छ । यदि नक्शा सही छ भने हामीले लिएको बाटो ठीक हुन्छ । नक्शा नै गलत भयो भने त्यसले हामीलाई गन्तव्यमा पु¥याउँदैन । हामीले जन्मिंदै जीवनको नक्शा लिएर आएका हुँदैनौं । घर–समाजको संगत, शिक्षा र व्यावहारिक जीवनयापनका अनुभव आदि यस्तो नक्शा कोर्न सहयोगी बन्छन् । नक्शा तयार गर्न समय लाग्छ र मिहिनेत पनि चाहिन्छ । त्यस क्रममा थुप्रै चुनौती पनि आउँछन्, तिनलाई डटेर सामना गर्दै गल्ती सुधार्दै जानु नै हाम्रो कर्तव्य हुन्छ भन्ने सन्देश पुस्तकले दिएको छ ।
अनुशासित पद्धति
हामी किन दुःखी छौं ? जीवन हामीलाई किन कठिन लाग्छ ? यस्ता प्रश्नको उत्तर दिंदै मोर्गान भन्छन्— ‘दुःख हटाउन खर्चिनु परेको श्रम र समयका कारण हामीलाई जीवनयापन कठिन लाग्छ । वास्तवमा समस्या मानिसको जीवनको सफलता र असफलताबीचको बिन्दु हो । आफ्ना समस्या आफैं समाधान गरेको अनुभवले हामीलाई परिपक्व बनाउँछ, हाम्रो मानसिक र आध्यात्मिक चिन्तन र जीवनप्रतिको विश्वास विगतको भन्दा दह्रो हुँदै जान्छ । समस्याको समाधानले मानिसलाई प्रगतितर्फ लैजान प्रेरित गर्नुपर्छ तर त्यस्तो बाटो लिने वा नलिने भन्ने प्रसङ्ग प्रत्येक व्यक्तिको इच्छाशक्तिमा भर पर्छ ।’ लेखक अगाडि भन्छन्, “अनुशासन समस्या समाधानको मुख्य साधन हो । अनुशासनविना कुनै पनि समस्याको समाधान सम्भव हुँदैन । आंशिक अनुशासनले जीवनका केही समस्याहरूको समाधानको बाटो खोल्छ भने पूर्ण अनुशासनले जीवनका हरेक समस्याको समाधान सहज बनाउँछ ।”
विवेकशील व्यक्तिहरू आफ्ना समस्या हाँसी–खुशी समाधान गर्न तत्पर हुन्छन् । परिश्रम गर्नुपर्ने वास्तविकताबाट आत्तिंदैनन् । तर धेरैजसो व्यक्तिहरू समस्यालाई सहज रूपमा स्वीकार गर्दैनन्, टार्न खोज्छन् । समस्याले ल्याएको दुःख बिर्सन खोज्छन् । तर यसरी समस्या झ्न् बल्झदै जान्छ । कुनै पनि समस्यालाई टार्न सकेमा वा पछि धकेलेमा त्यो समयसँगै हराएर जानेछ भन्ने भ्रममा हामी रहन्छौं । समस्या र तनाव बिर्सनका लागि व्यक्तिहरू विभिन्न किसिमका औषधि खाने पनि गर्छन् । त्यस्तामध्ये कतिपय दुव्र्यसनकै शिकार हुन पुग्छन् ।
मोर्गान थप विश्लेषण गर्छन्— सकारात्मक विचार राख्न सके हामी कुनै पनि समस्यासित जुध्न सक्छौं र आइपर्ने दुःख आत्मसात् गर्न पनि । समस्या झेल्ने चार किसिमका उपाय छन्ः पहिलो, नमीठो अनुभव गरेर पछि मीठो अनुभव गर्ने । दोस्रो, आफ्नो जिम्मेवारी वहन गर्ने । तेस्रो, सत्यलाई अँगाल्ने र चौथो, जीवनलाई सन्तुलित राख्ने । यी विधि पालना गर्न कुनै किसिमको तालीम लिनुपर्दैन । यी यति सजिला छन् कि सामान्य व्यक्तिले पनि आफ्नो व्यवहारमा समायोजन गर्न सक्छ । यी उपाय अवलम्बन गर्दा दुःख, समस्या र तनावसँग जुध्न आवश्यक आत्मविश्वास बढ्छ र जीवनका सकारात्मक पक्षलाई आत्मसात् गर्न मद्दत पुग्छ ।
लेखकले आफ्नो तर्क पुष्टि गर्न थुप्रै बालबालिकाको मनोवैज्ञानिक पक्षलाई केलाउँदै तिनको व्यवहार बुझने प्रयास गरेका छन् । पुस्तकले बालबालिकालाई नजीकबाट बुझन प्रेरित गरेको छ । हामी बालबालिकालाई समस्याको डटेर सामना गर्दै अगाडि बढ्न हौस्याउँछौं । उनीहरूलाई अनुशासित बनाउन खोज्छौं । यसरी हामी उनीहरूलाई समस्या भोग्न र सँगसँगै समस्याबाट उम्कन सिकाउँछौं । अनुशासित भएपछि उनीहरू परिपक्व एवं समस्या समाधान गर्न सक्षम हुन्छन् भन्ने हामी अनुमान गर्छौं । बालबालिकाले आफ्ना अभिभावकलाई ईश्वर सरह मान्छन् र तिनले डो¥याएको बाटोमा हिंड्न तत्पर हुन्छन् । डा. मोर्गान थप्छन्— अभिभावक आफैं अनुशासनहीन भएमा बालबालिकामा अनुशासनहीनता बढ्दै जान्छ । जस्तै, बालबालिकाका अगाडि रक्सी पिउने, झगडा गर्ने र आपूmले पूरा गर्न नसक्ने बाचा गर्नाले उनीहरूको व्यवहारमा विचलन आउँछ । अनुशासित अभिभावकले मात्र स्वच्छ समाज निर्माण गर्ने पुस्ता तयार गर्न सक्छन् । अनुशासनविना परिवारको जीवन सन्तुलित रहँदैन ।
प्रेमको भूमिका
मोर्गानका अनुसार जीवनमा अनुशासनभन्दा प्रेमको भूमिका ठूलो हुन्छ । अनुशासन नभएको परिवारमा पनि यदि प्रेम छ भने बालबालिकामा अनुशासन स्वतः प्रस्फुटन हुन सक्छ । परिवार अनुशासित छ तर प्रेम छैन भने त्यस्तो वातावरणमा हुर्केका बालबालिका वयस्क भएपछि अनुशासनहीन र विनाशकारी बन्न सक्छन् । प्रेमविना सहज जीवनयापनको कल्पना गाह्रो हुन्छ । आफूले प्रेम गर्ने व्यक्तिसँग हामी समय बिताउँछौं र ऊप्रति जिम्मेवार हुन्छौं । हामी बालबालिकालाई प्रेम गर्छौं, उनीहरूको प्रशंसा गर्छौैं, पोषण गर्छौं र उनीहरूसँग समय बिताउँछौं । प्रेमसहितको अनुशासन प्रभावशाली हुन्छ । महŒव दिएर प्रेम गर्दा बालबालिकाहरू सकारात्मक विचार भएका र आत्मविश्वासी बन्छन् ।
यदि हाम्रो उद्देश्य सबैलाई प्रेम गर्नु हो भने हामीले आफ्नो उन्नतिको बाटो रोजिसकेका हुन्छौं । यसरी दुवैथरी फाइदामा हुन्छन् । प्रेम पाउनेको उन्नति हुन्छ भने प्रेम दिनेको थप प्रगति । हामीले आफूलाई पनि प्रेम गर्न सक्नुपर्छ अन्यथा हामी अरूलाई प्रेम गर्न सक्दैनौं । प्रेम र अनुशासन छुट्याउन सकिन्न भन्ने तर्ककोे घनीभूत मनोवैज्ञानिक विश्लेषण प्रस्तुत छ, पुस्तकमा । धेरै अभिभावक अनुशासनमा बस्दैनन् अनि आफ्ना केटाकेटीलाई प्रेमसित हुर्काउँदैनन् । यस्तो संस्कारमा हुर्किएका केटाकेटी उन्नतिको बाटोमा लाग्दैनन् । तर यस्ता सन्तानका अभिभावकहरू आफ्नो जिम्मेवारी पन्छाउँछन्, विद्यालय, साथीभाइ र छोराछोरीमाथि दोष थोपर्छन् ।
मोर्गानले पुस्तकमा पति–पत्नी, पे्रमी–प्रेमिका वा विपरीत लिङ्गका साथीहरू वा समलिङ्गीहरूबीच रहने प्रेमको चिरफार गरेका छन्, माया वा प्रेमको भिन्नता खोतलेका छन् । लेखक भन्छन्— “माया बस्यो भन्नु भ्रम हो । यस्तो अभिव्यक्तिमा जानेर वा नजानेर यौन अभिलाषा अन्तरनिहित हुन्छ । यौन उत्प्रेरित यस्तो माया अस्थायी हुन्छ । यस किसिमको मायाबाट मानिस जसरी एउटासित नजीकै पुग्छ त्यसरी नै टाढा पनि । हामी हाम्रा बालबालिका र अभिभावकसँग ‘माया बस्यो’ भन्दैनौं ।”
मोर्गानको विचारमा मायाको अस्थायी प्रवृत्तिले गर्दा माया बस्यो भन्नु गलत हो र मिथ्या पनि । यसो भन्नुको तात्पर्य मानिस एक–अर्कालाई प्रेम गर्न छोड्छन् भन्ने होइन । तर विभिन्न कारणले माया पिरतीको क्रम विस्तारै कम हुँदै जान्छ । लेखकको तर्क छ, मधुमासको प्रणय लीला समयसँगै विस्तारै कम हुँदै जानु एउटा उदाहरण हो । आफूले प्रेम गर्नु तर अरूसँग सोको अपेक्षा नगर्नु सच्चा प्रेम हो जुन अर्थपूर्ण र दिगो हुन्छ । पुस्तकका अनुसार झ्ूट दुई प्रकारका हुन्छन् । कालो झूट (जुन गलत हो भन्ने जानकारी हुन्छ) र सफेद झूट (जो गलत होइन तर स्वीकार गर्न असहज) । मोर्गान सम्झाउँछन्— जे–जस्तो भए पनि झ्ूट भनेको झूट नै हो, दुवै झूटले हानि नै गर्छ ।
२१औं शताब्दीको दोस्रो दशकमा विज्ञान र प्रविधिको विकासले मानव सभ्यता एकखाले उँचाइमा पुगेको छ, तर पनि मानिसहरू मानसिक तनावमा जेलिंदै गएका छन् । यो पृष्ठभूमिमा प्रस्तुत पुस्तकले मनोविज्ञानलाई आधार बनाउँदै सुखी जीवनयापन गर्ने बाटाहरू प्रस्तुत गरेको छ । सुझइएका उपायरू प्रयोग गर्ने वा नगर्ने भन्ने निर्णय भने नितान्त व्यक्तिगत हो ।
दीक्षित मानवीय व्यवस्थापनका अध्येता हुन् ।

No comments:
Post a Comment