चीनलाई बुझने र बुझउने प्रश्न
पुस्तक: द चाइना क्वेस्चन्स ः क्रिटिकल इन्साइट्स इनटु राइजिङ अ पावर
लेखक: जेनिफर रुडोल्फ र मिसेल जोनी प्रकाशक: हार्वर्ड युनिभर्सिटी प्रेस, २०१८
पृष्ठ: ३३७+ मूल्य: २७.९५ यूएस डलर
समीक्षक: हरि शर्मा
विशाल छिमेकी देश चीन, हाम्रा लागि त महत्वपूर्ण छँदैछ, विश्व परिदृश्यमा पनि यसको उपस्थिति हालैका दिनहरूमा आएर अझ् बलियो हुँदैछ । चिनियाँ राष्ट्रपति सी जिनफिङको आजीवन राष्ट्रपति रहन सक्ने प्रावधानको घोषणाले त शक्तिशाली राष्ट्रपति र चीनको चर्चा झ्नै बढेको छ । सी राष्ट्रपति भए पनि उनको महत्वाकांक्षी सामरिक तथा विकास कार्यक्रम ‘बेल्ट एण्ड रोड’ ले सबैलाई तरंगित बनाएको छ । अमेरिका, यूरोप, अष्ट्रेलिया, अफ्रिका तथा एशियाली राष्ट्रहरूले ‘बेल्ट एण्ड रोड’ कार्यक्रमलाई आफ्ना–आफ्ना तरिकाले लिएका छन्, तर कसैले पनि यसलाई नकार्न सकिरहेका छैनन् । हाम्रो अर्को छिमेकी भारतले सो कार्यक्रम वा प्रक्रियामा भाग नलिने भने पनि ऊ आफ्नै किसिमले चीनसँग सम्बन्ध सुधार गर्ने प्रक्रियामा छ । चीनको अन्तर्राष्ट्रिय उपस्थिति हालैका दिनमा बढ्नु, यसले विगत २० वर्षमा गरेको विकास, अन्तर्राष्ट्रिय बजारमा यसको बढ्दो वर्चश्व तथा पूर्वाधार निर्माणमा विश्वव्यापी उपस्थिति प्रमुख कारण हो । साथै संयुक्त राज्य अमेरिकाका राष्ट्रपति ट्रम्पको नीतिका कारण अन्तर्राष्ट्रिय विषयहरूमा अमेरिका खुम्चिंदै जानु पनि चीनको निम्ति अवसर भएको छ ।
यसै सन्दर्भमा चीन के हो, यसको भूत, वर्तमान र भविष्यको बाटोले के बताउँछ भन्ने कुरा विश्लेषकहरूका निम्ति महत्वपूर्ण भएको छ । यसको विश्वव्यापी प्रभावका कारण सामान्यजनका निम्ति समेत चीन कौतूहलको विषय भएको छ । चिनियाँ लगानी, व्यापार र पर्यटनको विस्तारले हामी सबैलाई छोएको छ । चिनियाँ वस्तु र पर्यटकहरू नपुगेको ठाउँ छैन । त्यसैले चीनलाई बुझनु सबैको आवश्यकता भएको छ ।
यही आवश्यकतालाई हेरी हार्वर्ड विश्वविद्यालयको महत्वपूर्ण अध्ययन केन्द्र फेयरब्याङ्क चाइनिज स्टडिज् को ६०औं वार्षिकोत्सवको अवसरमा त्यस अध्ययन केन्द्रसँग विभिन्न समयमा आवद्ध प्राध्यापक, अनुसन्धानकर्ताको संयुक्त प्रयासमा २०१८ फेब्रुअरीमा हार्वर्ड युनिभर्सिटी प्रेसले ‘द चाइना क्वेस्चन्सः क्रिटिकल इनसाइट्स इनटु राइजिङ पावर प्रकाशित गरेको छ । ३३७ पृष्ठको सो पुस्तकको सम्पादन जेनिफर रुडोल्फ र मिसेल जोनीले गरेका छन् ।
पुस्तकमा चीनसँग सम्बन्धित राजनीति, अन्तर्राष्ट्रिय राजनीति, आर्थिक वातावरण, समाज, इतिहास र संस्कृति गरी ६ खण्डमा ३६ वटा लेख समेटिएका छन् । लेखहरू निश्चित खण्डमा राखिए पनि हरेक लेख आफैंमा पूर्ण छन्, अर्थात् तिनलाई कुनै सिलसिलामै पढ्नुपर्ने बाध्यता छैन । विज्ञहरूका लेख भए पनि विषय र भाषालाई सरल बनाउने कोशिश गरिएको छ । सर्वसाधारण पाठक; जसले दैनिक समाचारपत्र र पत्रिकामा प्रकाशित विचारस्तम्भ पढ्न सक्छन् उनीहरूलाई दृष्टिमा राखी लेखहरूको सम्पादन गरिएको छ । विज्ञहरूको दशकौंको अध्ययन र अनुसन्धानको मर्म सरल भाषा–शैलीमा प्रस्तुत होस् भन्नेमा सम्पादकहरू सचेष्ट रहेको पाइन्छ । आम पाठकको सहजताका निम्ति पादटिप्पणी तथा सन्दर्भ सामग्रीहरूको प्रयोग पनि कम गरिएको छ ।
हरेक लेख आफैंमा एक्लै उभिए पनि सम्पादकद्वयको भूमिकाले पुस्तकलाई सिंगो स्वरूप दिने कोशिश गरेको छ । चीनको इतिहास, वर्तमान र भविष्यका चुनौती बुझन र बुझउन पुस्तक धेरै हदसम्म सफल छ । चीन सम्बन्धी विभिन्न अप्ठ्यारा तर महत्वपूर्ण प्रश्नहरूको उत्तर मार्फत चीनको इतिहास, वर्तमान र भविष्यको चुनौतीलाई चिर्ने प्रयास गरिएको छ । पहिलो लेखले चिनियाँ कम्युनिष्ट शासनको वैधता बारे चर्चा गरेको छ । त्यस्तै तेस्रो लेख माओको सान्दर्भिकता बारेमा छ । त्यसैगरी अन्य लेखमा चीनमा धर्म, जातीयता, अन्तर्राष्ट्रिय व्यापार, चिनियाँ क्षेत्रीय नेतृत्व आदि यावत् विषयहरूमा प्रश्न गरी चर्चा गरिएको छ । यस्ता प्रश्नका निश्चित उत्तर छैनन् तर पनि करीब १००० शब्दमा यिनको उत्तर खोज्ने प्रयास लेखकहरूले गरेका छन् । यो प्रयासबाट के पनि देखाउन खोजिएको छ भने चीन एउटा जटिल विषय हो, त्यसका निम्ति त्यस्तै जटिल प्रश्नहरू सोधिनुपर्दछ र उत्तर पनि सोचे जस्तो सजिला हुने छैनन् ।
सम्पूर्ण पुस्तक पढिसक्दा लाग्छ, चीन एउटा देश मात्र नभएर एउटा सभ्यता हो । विगतमा एउटा साम्राज्य पनि थियो, जहाँ विभिन्न वंशले राज्य ग¥यो । चिनियाँ जनक्रान्ति पछि यो आधुनिक युगमा प्रवेश ग¥यो । क्रान्ति मार्फत समानता र न्यायको सपना देख्यो र शुरूका वर्षहरूमा आत्मनिर्भरता र स्वाधीनताको नाममा अन्तरमुखी भयो, सामाजिक पुनर्संरचनाको नाममा सांस्कृतिक क्रान्ति खेप्यो । वर्तमान पनि इतिहास जस्तै आरोह र अवरोहपूर्ण रह्यो । आफ्नो यात्राको क्रम उत्तर–माओकालमा जब आर्थिक उदारीकरणका नाममा आफूलाई परिवर्तन ग¥यो; भनिन्छ चीन विश्व समुदायमा आफ्नो ऐतिहासिक स्थान सुनिश्चित गर्न सफल भयो । अन्य मुलुकहरूको जस्तै चिनियाँ इतिहासको पनि आफ्नै विशिष्टता छ, साथै वर्तमान पनि जटिल । वर्तमान जटिलता चिनियाँ विकास क्रमसँगै उब्जेको हो । आर्थिक विकास र आधुनिकीकरणले सिर्जेको अन्तरविरोध नै वर्तमानको चुनौती हो ।
चाइनिज समाज आधुनिकीकरण र आर्थिक विकासका कारण धेरै गतिशील भएको छ । पुस्तकले शहरीकरण र वातावरणीय प्रभावका बारेमा पनि चर्चा गरेको छ । सामाजिक द्वन्द्व आधुनिक समाजको महत्वपूर्ण पक्ष नै हो चिनियाँ राज्यव्यवस्थाको सबैभन्दा ठूलो चुनौती नै सामाजिक व्यवस्थापनको हो । राज्य–समाज सम्बन्धलाई एउटा शक्तिशाली सर्वसत्तावादी संयन्त्र मात्र परिभाषित गर्दै व्यवस्थित गरेको सन्दर्भमा चिनियाँ राज्यले बदलिंदो समाजलाई कसरी सन्तुलन गर्दछ– यो आजको महत्वपूर्ण विषय हो । त्यसैगरी विश्व सम्बन्ध पनि गतिशील छ । चिनियाँ राज्यव्यवस्था विशेषतः चिनियाँ कम्युनिष्ट पार्टीको गतिशीलता र दूरगामी दृष्टिकोणबाट नै समाज–राज्यको सम्बन्धको जटिलतालाई केलाउन सकिन्छ । विगतका चीन सम्बन्धी अध्ययनहरूले पनि आउने दिनमा चिनियाँ समाज र राज्यको सम्बन्ध कसरी अघि बढ्छ, त्यसमा नै चीनको वर्तमान र भविष्य भर पर्दछ भन्ने देखाएका छन् । ‘चाइना क्वेस्चन्स्’ पुस्तकले पनि यो विषयलाई विभिन्न प्रश्नहरू मार्फत केलाउने कोशिश गरेकाले यो समय सान्दर्भिक र पठनीय छ ।
(शर्मा राजनीतिक र सामाजिक विषयका अध्येता हुन् ।)

No comments:
Post a Comment