Tuesday, April 24, 2018

२०७५ बैशाख अंक_गणेशमानका अनेक कथा _समीक्षक : मोहन मैनाली


गणेशमानका अनेक कथा

पुस्तक : मेरो कथाका पानाहरू (खण्ड–१)       लेखक: गणेशमान सिंह 
प्रस्तुतकर्ता : माथवरसिंह
प्रकाशक: आयाम प्रकाशन (प्रा.लि.), कमलादी, काठमाडौं; चौथो संस्करण, २०७२
पृष्ठ : ३१८ + १८
मूल्य : उल्लेख नभएको

समीक्षक: मोहन मैनाली

गणेशमान सिंह नेपालको राजनीतिमा इमान र अडान भएका संघर्षशील नेता हुन् । काठमाडौंमा सुविधासम्पन्न र राणाशासनबाट लाभ उठाएको परिवारमा जन्मेर पनि उनी राणाविरोधी आन्दोलनमा लागे । संवत् १९९७ मा जेल परे । जेलबाट भागेर भारत पुगे । राणाशासन विरोधी आन्दोलन चलाउन भारतबाट काठमाडौं आएका वेलामा पक्राउ परिने भएपछि पुनः भागेर भारतको सीमा नजिक ठोरी पुग्दा फेरि समातिए र काठमाडौंमा ल्याइए । २००७ सालमा प्रजातन्त्र आएपछि बल्ल जेलबाट छुटे । २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र मासेपछि उनी फेरि धेरै वर्षका लागि जेल परे । उनले २०४६ सालको आन्दोलनको नेतृत्व गरे जसले गर्दा नेपालमा प्रजातन्त्रको पुनस्र्थापना भयो । 

उनै गणेशमान सिंहको आत्मकथात्मक संस्मरण हो मेरो कथाका पानाहरू । यहाँ यसको खण्ड–१ को मात्र चर्चा गरिएको छ । यसमा गणेशमान सिंहको समयको काठमाडौं, राणाशासनको विरोधमा नेपाल प्रजापरिषद्ले चलाएको आन्दोलन र त्यसमाथिको दमन, राजबन्दीहरूको जेल बसाइँ, जेलबाट भागेर गणेशमान सिंहको भारत प्रस्थान, भारतको कष्टपूर्ण बसाइँ, गणेशमानको भारतीय हवाई सेनामा भर्ती र बहिर्गमन, भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूसँगको गणेशमानको भेटघाट, नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली कांग्रेसको जन्म जस्ता विषय समेटिका छन् । यी विषय उल्लेख गर्ने क्रममा गणेशमानले नेपाली समाजको चित्र पनि उतारेका छन् । जस्तै, विश्वयुद्धमा लडेका नेपाली सिपाहीका परिवारको अवस्था, नेपालका गाउँको गरीबी र नेपालमा चलेको जातप्रथा ।

दोस्रो विश्वयुद्धमा नेपालीहरू दुई वटा बाटोबाट होमिएका थिएः लाहुर भनेर चिनिने सैनिक भर्तिमार्फत र नेपाली सेनामार्फत । नेपाली सेनामार्फत विश्वयुद्धमा होमिएका नुवाकोटका एकजना सैनिकको परिवारको वर्णन गणेशमानले यसरी गरेका छन्, “डेढ वर्ष भएछ बिहा भएको । छोरो लाहुर पसेको एक वर्ष भयो । ५÷६ महीना अघिसम्म चिठी–चपेटा आउँदै थियो, अहिले त त्यो पनि ठ्याम्मै बन्द छ भनेर बुढाले लामो सास फेरे । छोराको यादले हो अथवा बुहारीको अवस्थाप्रति दया जागेर आएको हो त्यो लामो सास, मैले छुट्याउन सकिनँ । ... कसका निम्ति उनी विधवाको जस्तो जीवन बिताउँदै छिन्, उनलाई त्यसको पत्तोसम्म थिएन । यी सबै सोचेर मेरो मन उद्विग्न र खल्लो भएर आयो । ... तिनको (विश्वयुद्ध गर्नेहरूको) उन्मादले यो अनकन्टारका प्राणीहरू कसरी प्रभावित भएका छन् र तिनको जीवन कसरी पीडित र दुःखी भएको छ भन्ने कुरा मैले पनि बोध गर्ने अवसर पाउने थिइनँ... ।”

नेपाली समाजमा जातप्रथाले कतिसम्म जरा गाडेको थियो भन्ने कुराको दृष्टान्त पनि गणेशमानले यस किताबमा दिएका छन् । प्रजापरिषद्मा लाग्ने सबै क्रान्तिकारी थिए । सिंहदरबारमा थुनिंदा जातपात मान्दैनौं, छुवाछूत, जातपात, उँचनीच हटाउन अघि बढेका हौं भन्थे । पछि जेलमा पुगेपछि उनीहरू जातपात, छोइछिटो गर्ने भए । अरू त अरू टंकप्रसादका कार्यकर्ता गोविन्दप्रसाद उपाध्याय र पुष्करनाथ उप्रेतीहरू आफ्ना नेता टंकप्रसाद र रामहरि शर्माले छोएको नखाने भए किनभने उनीहरूलाई राणाशासनले जातबाट च्यूत गरेको थियो । केही समयपछि त टंकप्रसाद जात फिर्ता माग्न पतिया माग्दै किरिया बसे ।

जातप्रथा सम्बन्धी नेपाली समाजमा व्याप्त दोहोरो चरित्र बुझन गणेशमानले दिएको दृष्टान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ । प्रजापरिषद्को आन्दोलन भन्दा ५५ वर्षपछि थालिएको माओवादी विद्रोहले जातपातको प्रथा हटाउने भनेको थियो । क्रान्तिले रगत उमालेका बेलामा माओवादी प्रजापरिषद्का नेता जस्तै जातप्रथा विरोधी बनेका थिए । कथित तल्ला र माथिल्ला जातका बीचमा बिहेबारी पनि भएको थियो तर क्रान्ति बिसाएपछि त्यस्ता बिहे असफल भए । 

आजभन्दा ७७ वर्षपहिले नेपालका गाउँमा गरीबी कस्तो थियो होला ? हामी अनुमान मात्र गर्न सक्छौं तर गणेशमानका कथाका पानाहरू पढ्दा त्यसको स्पष्ट चित्र झ्ल्कन्छ । जेलबाट भागेर भारत जाने क्रममा गणेशमान बूढीगण्डकी त्रिशूलीमा मिसिएको ठाउँ बेनीघाट पुगे । साँझ् एउटा घरमा मकै भुट्न लागेको देखेपछि गणेशमानले खानेकुरा पाइन्छ कि भनी सोधे । उनले जवाफ पाए, “ख्वै, के पाउनु र यहाँ बाबू । दुई दिन भयो यी केटाकेटीले केही खान पाएका छैनन् । आज बल्ल नानीका बाबुले फलाना ठाउँमा गएर दुईमाना जति मकै लिएर आए... ।” 

धन्न एकजना महिला भेटिइन् जसले गणेशमानलाई मकै र साँधेको गुन्द्रुक दिइन् । मकै खाएको प्रसङ्गबारे गणेशमानले बताएका कुराले पनि नेपालको गरीबी छर्लङ्ग पार्छ । “त्यो मकै यति थोरै थियो, भोक मार्नसम्म पनि पुगेन । विचरी बूढीले आफ्नो गाँस काटेर दिएकी थिइन्, उनैलाई भोकै राख्न फेरि माग्नु पनि भएन, मैले पानी पिएर सन्तोष मानें ।” गणेशमान सुतिसकेपछि एकजना मानिस उनलाई खोज्दै आए । उनी तिनै माझ्ी थिए जसले अलि पहिले गणेशमानलाई त्रिशूली नदी तारिदिएका थिए । उनले गणेशमानलाई दिन सालको टपरीमा अलिकति, तारेको माछा ल्याएका थिए । 

माथिको प्रसङ्ग पढ्दा (समीक्षकले) संस्कृतको एउटा भनाइ सम्झिएँ— वुभुक्षितः किं न करोति पापं । अर्थात् भोको प्राणीले पाप किन नगरोस् ! यो भनाइ चलाउने मानिसले गणेशमानले बेनीघाटमा भेटेका जस्ता मानिसको सङ्गत गर्न पाएको भए यसो भन्दैनथ्यो होला । अथवा यसो भन्न सकिएला— बडे बडे विद्वानका निष्कर्षलाई गलत सावित गर्ने सज्जनहरू बसेको देश हो नेपाल । 

म पछिल्लो निष्कर्षलाई बढी विश्वसनीय मान्छु किनभने गणेशमानले भेटेका यिनै माझी र नेवार जातिका सन्तानलाई मैले गणेशमानले भेटेको ५४÷५५ वर्षपछि भेटेको थिएँ । उनीहरूसँग बूढीगण्डकीको तीर र शिरतिर दुईचोटि गरेर ३५÷३६ दिन सँगै हिंडेको थिएँ । पैसाका हिसाबले उनीहरू गरीब थिए । त्यसैले उनीहरूले हाम्रा भारी बोकेका थिए तर इमान र मानवताका मामलामा उनीहरू जति धनी मान्छे हत्तपत्त भेटिंदैनन् ।   

गणेशमानको जीवनमा अनेक अकल्पनीय मोड आएका थिए । यी मोडको वर्णन गरिएकाले पुस्तक रोचक बनेको छ । जस्तै, गणेशमान नेपालका उच्च पदका जागिरदार परिवारका मानिस थिए । उनका मावली ‘तत्कालीन नेपालको सबभन्दा ठूलो व्यापारी घराना’ का थिए । तर पनि गणेशमानले पढाइ र परिवारले गरिआएका कामको बिंडो थाम्नेतिर ध्यान दिएनन् । उनी टोलका गुण्डा बने, घरको ढुकुटी फोरे । त्यसपछि सबै कुरा छाडेर कलकत्तामा बसेर डेढ वर्ष पढे, प्रथम श्रेणीमा म्याट्रिक (एसएलसी सरह) पास गरे ।

जेलबाट भागेर भारत पुगेको, जेलबाट भागेको कथा बताएर पैसा कमाएको, भारतीय वायु सेनामा भर्ती भएको र वायु सेना छाडेको सबै प्रसङ्गमा यस्ता अप्रत्यासित मोड आउँछन् । यी यस्ता वास्तविक कुरा हुन् जुन उपन्यासकार÷कथाकारले कल्पना गरेभन्दा बढी काल्पनिक जस्ता लाग्छन् । एकपछि अर्काे गरी अप्रत्यासित मोड आउँदा पाठक रोमाञ्चित हुँदै जान्छ । अब के हुन्छ भनी जान्न पाठकमा कौतुहल बढ्दै जान्छ । 

आफू बिग्रेको, आफूले अरूलाई अनाहकमा होच्याएको÷अपमान गर्न खोजेको कुरा लेखकले किताबमा लुकाएका छैनन् । सामान्यतया, आत्मकथा उमेर अलि ढल्केपछि लेख्ने गरिन्छ । यसो गर्दा लेखकले अघि भएका घटना वर्णन गर्दा पछिका घटनाबाट प्रभावित भएर गर्ने गर्छन् । तर यस पुस्तकमा गणेशमानले त्यसो गरेका छैनन् । यसको एउटा उदाहरण हो— टंकप्रसाद आचार्यबारेको वर्णन । गणेशमान सिंह जुन पार्टीका सदस्य थिए त्यसका अध्यक्ष टंकप्रसाद आचार्य थिए । प्रजातन्त्रको स्थापना भएपछि टंकप्रसाद र गणेशमानको राजनीतिक बाटो छुट्टियो । गणेशमानले यो किताबमा भनेअनुसार (उनले भनेको कुरा रेकर्ड गरेर, त्यसलाई उतार गरेर पुस्तक तयार गरिएकाले किताबमा ‘लेखेको’ नभनेर ‘भनेको’ भनिएको हो) उनी र टंकप्रसादबीचको सम्बन्ध उति सुमधुर थिएन । तर १९९७ सालमा थुनिएका बेलाका टंकप्रसादबारे बताउँदा पछि सम्बन्ध बिग्रेको कुराको कत्ति पनि प्रभाव पर्न दिएका छैनन् गणेशमानले । 

राणा विरोधी आन्दोलनमा पक्राउ परेर सिंहदरबारमा थुनिंदा गणेशमान एक्लै थिएनन् । पछि त्यही काण्डमा मृत्युदण्ड दिइएका गंगालाल, धर्मभक्त, दशरथ चन्द र बाहुन हुनाले मृत्युदण्ड पाउनबाट बचेका टंकप्रसाद पनि सँगै थिए । राणाहरूले अत्यन्त निर्मम ढंगबाट बयान लिंदा टंकप्रसादले उनीहरूसँग गरेको व्यवहारबाट प्रभावित भएर गणेशमानले भनेका छन्ः “उनी सबै कुरा यति निर्भयसाथ भन्थे मानौं त्यहाँ बयान होइन आपस्तका बीचमा छलफल हुँदैछ । उनी निर्धक्क भन्थे— यो कुरा छोड, अँ, जर्मन र अंग्रेजका बीच लडाइँ के भइरहेछ हँ ? ...त्यो देखेर म छक्क पनि परें । कायर र बहादुरका बीचको कत्रो अन्तर ...राणासँग ठा–ठाडै कुरा गर्दा पनि उनीमा कहीं कतै भयको भावना लेस मात्र पनि छैन । उनको निडरता देखेर मैले मनमनै अठोट गरें— भोलि त म पनि टंकप्रसाद जस्तै निडर भएर बयान दिन्छु ।”

गणेशमान सफल कथावाचक हुन् । आफ्ना अनुभूति सजिलै व्यक्त गर्न सक्ने मान्छे हुन् । धेरै वर्ष नपढेर बरालिएर, फट्याइँ गरेर हिंडेपछि मिहिनेत गरेर म्याट्रिक पास गरी कलकत्ताबाट काठमाडौं फर्कंदाको अनुभूति उनले यसरी पोखेका छन्, “मैले फस्ट क्लासमा म्याट्रिक पास गरेको सुनेर जेठा हजुरबाजेको के प्रतिक्रिया भयो त्यो त मैले देख्न सकिनँ तर जसै म काठमाडौं फर्किएँ, चन्द्रागिरिको पहाड ओर्लंदादेखि नै मेरो भार थाम्न काठमाडौंलाई मुश्किल परेको हो कि भन्ने चाहिं मैले अनुभव गरेको हुँ ।”

शिक्षकका लागि यो पुस्तक धेरै किसिमले उपयोगी छ । पहिलो, यसले हाम्रो इतिहास, अलि पहिलेका व्यक्तित्व र समाजका बारेमा बुझउँछ । यी कुरा नबुझ्किन शिक्षकले आफू शिक्षण गरिरहेको समाजबारे बुझन र बुझउन सक्दैन । दोस्रो, सिर्जनशील लेखनको अभ्यास गराउनका लागि यो पुस्तक एकदमै सहयोगी हुनसक्छ । यो किताब विद्यार्थीलाई पढ्न लगाएर त्यसका आधारमा उनीहरूलाई गणेशमानको व्यक्तिचित्र लेख्न लगाउन सकिन्छ । नेपालमा कथा पुनर्वाचन गर्ने चलन धार्मिक र पञ्चतन्त्रका कथामा मात्र सीमित छ । यो उपयोगी विधालाई अन्य साहित्यमा उपयोग गर्ने अभ्यास विद्यार्थीहरूलाई गराउन सकिन्छ । यसो गर्दा भोलि यो विधामा उत्तम जनशक्ति तयार हुनसक्छ । नेपालको पुनर्वाचन साहित्य फस्टाउन सक्छ । यस विधामार्फत ज्ञानको प्रसार व्यापक हुनसक्छ । त्यस निम्ति पनि यो कृति सहायकसिद्ध हुन सक्छ । 

मैनाली लेखक–पत्रकार हुन् ।

No comments:

Post a Comment