Tuesday, April 24, 2018

२०७५ बैशाख अंक_सेना–उद्योग गठजोडको परिणति _समीक्षक : अजय दिक्षित

Book: Three Days in January: Dwight Eisenhower's final mission
Author: Bret Baier and Catherine Whitney
ISBN: 978-0-06-256903-5                                             Pages: 346

सेना–उद्योग गठजोडको परिणति

अजय दीक्षित 
थ्रीडेज इन जनवरी पुस्तक अमेरिकाका ३४औं राष्ट्रपति ड्वाइट डी आइजनहावरको कथा हो । यसका लेखक व्रेट वायर अमेरिकाको फक्स न्यूज च्यानलका राजनीतिक सल्लाहकार हुन् । उनले यो पुस्तक न्यूयोर्क टाइम्सका स्तम्भकार क्याथरिन ह्वीटनीसँग मिलेर लेखेका हुन् । पुस्तकले त्यसबेलाको विश्व सशस्त्रीकरणको विषयलाई संयुक्तराज्य अमेरिका, उत्तरकोरिया, तत्कालीन सोभियत युनियनबीचको तनाव, सम्भावित आणविक युद्ध र दोस्रो युद्धपछिको सन्दर्भलाई राष्ट्रपति आइजनहावरको परिदृश्यबाट हेरेको छ ।

अमेरिकी राष्ट्रपति ः विश्वव्यापी भूमिका
आइजनहावर दोस्रो विश्वयुद्धमा हिटलरलाई हराउने पश्चिमी गठबन्धन सेनाका कमाण्डर थिए । सो युद्धको समापनपछि नेटोको स्थापना भयो र उनी त्यसको सेनाका कमाण्डर बने । अमेरिकी सेनालगायत नेटो कमाण्डरको भूमिकाबाट अवकाश प्राप्त गरेपछि आइजनहावर रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपति पदका लागि उम्मेदवार बने र चुनिए पनि । उनको कार्यकाल सन् १९५२ देखि १९६० सम्म रह्यो । सन् १९६० को चुनावमा रिपब्लिकन पार्टीबाट आइजनहावरका उपराष्ट्रपति रिचर्ड निक्सन र डेमोक्य्राटिक पार्टीबाट जोन एफ केनेडी राष्ट्रपतिका उम्मेदवार थिए । चुनावमा केनेडीले जिते, निक्सन हारे । नयाँ राष्ट्रपति केनेडीलाई सत्ता हस्तान्तरण गर्नुअघि १७ जनवरी १९६१ का दिन अमेरिकी जनतालाई राष्ट्रपति आइजनहावरले सम्बोधन गरेका थिए । त्यो भाषणमा प्रतिबिम्बित दृष्टिकोणको सेरोफेरोमा रहेर यो पुस्तकले अमेरिकी राजनीति र विश्वका घटनाक्रम प्रस्तुत गरेको छ ।

पुस्तकमा लेखकद्वय भन्छन्, अमेरिकी राष्ट्रपतिको निर्णयले अमेरिकामा मात्रै होइन, विश्वव्यापी महत्व राख्छ । राष्ट्रपति फ्य्राङ्कलिन डि रुजवेल्टदेखि ओबामासम्म त्यो क्रम चलेको थियो । सन् १९३० को ठूलो मन्दीपछि राष्ट्रपति रुजवेल्टले ‘नयाँ डिल’ कार्यक्रमअन्तर्गत विकासको एउटा अवधारणा कार्यान्वयन गरे भने राष्ट्रपति ट्रुम्यानको चारबुँदे कार्यक्रमले तेस्रो विश्वका मुलकको विकासका लागि प्रविधि केन्द्रित मार्ग खोलेको थियो । त्यसपछिका राष्ट्रपतिहरूले पश्चिमी प्रजातन्त्र र मूल्य अघि बढाए भने पछिल्ला राष्ट्रपति डोनाल्ड ट्रम्पले भने त्यस्ता मूल्यलाई अबको अमेरिकाले त्यति महत्व नदिने सन्देश दिएका छन् । ट्रम्पको नीति कसरी अगाडि बढ्ला, कहाँ कस्तो असर पर्ला— हेर्न बाँकी नै छ ।

राष्ट्रपति आइजनहावरले त्यतिबेला ठूलो महत्वका अवधारणा प्रस्तुत गरेका थिए । उनको अवधारणामा विश्वमा बढ्दो सैनिकीकरण प्रतिको चिन्ता व्यक्त थियो; जसले नेपाललगायत सम्पूर्ण विश्वलाई छुन्थ्यो । आफ्नो अन्तिम सम्भाषणमा राष्ट्रपति आइजनहावरले ‘मिलिटरी–इण्डष्ट्रियल कम्प्लेक्स’ अर्थात् ‘सेना–उद्योग गठजोड’ को बढ्दो भूमिकाबारे प्रश्न उठाएका थिए । राष्ट्रपतिको चिन्ता थियो उद्योगहरू सेनासित जोडिएका छन् र सैनिक आवश्यकताले उद्योगहरू निर्देशित हुन्छन् ।

सेना र उद्योगहरूबीचको गठजोडबारे राष्ट्रपतिको सम्भाषणको अंशमा निम्न सार व्यक्त भएको थियो, “यो व्यापक सैनिक संरचना र ठूला अस्त्र उद्योगको गठजोड अमेरिकाको नयाँ अनुभव हो । यसले हाम्रो आर्थिक र राजनीतिक मात्रै होइन अलौकिक सोचमा पनि असर गर्दै हरेक शहर, राज्य, घर र संघीय सरकारका क्रियाकलापलाई समेत प्रभावित गरेको छ । हामीले विकासको यो आवश्यकता बुझ्ेका छौं । हाम्रा काम–कारबाही, स्रोत र जनजीविका सबै यो पद्धतिसँग जोडिएका छन् । साथै, हाम्रो समाजको संरचना पनि जोडिएको छ । तथापि हामीले यस्तो गठजोडले ल्याउने गम्भीर असर बिर्सनुहुँदैन । हामीले हाम्रो सरकारका क्रियाकलाप माथि ‘मिलिटरी–इण्डष्ट्रियल कम्प्लेक्स’ को अनावश्यक प्रभावलाई रोक्नुपर्छ ।”

कोरिया युद्धको सन्दर्भ
दोस्रो विश्वयुद्ध सकिएदेखि नै कोरियन प्रायद्वीपमा उथलपुथल हुन थालेको थियो । संयुक्त राज्य अमेरिका र तत्कालीन सोभियत युनियनले, युद्धअघि जापानको अधीनमा रहेको कोरियालाई उत्तर र दक्षिणमा विभाजन गरेका थिए । उत्तरमा सोभियत युनियन र दक्षिणमा संयुक्तराज्य अमेरिकाको प्रभाव थियो । मे २५, सन् १९५० मा उत्तरका सैनिकले कोरिया एकीकृत गर्ने उद्देश्य राखी दक्षिणमा आक्रमण गरे । संयुक्त राष्ट्रसंघको निर्णयपछि अमेरिकालगायत अरू १६ मुलुकका सेना जनरल डग्लस म्याकआर्थरको अगुवाइमा उक्त आक्रमणको प्रतिरोधमा उत्रिए ।

त्यसबेला अमेरिकाको राष्ट्रपति पदमा टु«म्यान थिए । राष्ट्रपति ट्रुम्यान र जनरल म्याकआर्थरबीच युद्धको विषयबारे विमति बढ्दै गइरहेको बेला उत्तरकोरियाको तर्फबाट चीन पनि युद्धमा सहभागी हुन आइपुग्यो । अन्ततोगत्वा आफूलाई नटेरेको भनेर ट्रुम्यानले जनरल म्याकआर्थरलाई बर्खास्त गरे । कोरियन युद्ध नटुङ्गिने र तेस्रो विश्वयुद्धमा परिणत होला भन्ने स्थितिमा पुग्यो ।

सन् १९५२ मा राष्ट्रपति पद ग्रहण गर्नुअघि आइजनहावर कोरिया भ्रमणमा गए । कमाण्डरहरू लडाइँ बढाउने तर्क गर्दै थिए तर आइजनहावरलाई सो स्वीकार भएन । युद्धमा अमेरिकी सेनाको मृत्युको खबरले परिवारहरू आजित भएका थिए, युद्धप्रति वितृष्णा हुन थालेको थियो । राष्ट्रपति पद सम्हालेपछि युद्ध बन्द गर्ने निर्णयसहित आइजनहावर वाशिङ्टन फर्के ।

तर आइजनहावरका विदेश मन्त्री जोन फस्टर डलस युद्धविराम गर्ने प्रस्तावको पक्षमा देखिएनन् । दक्षिण कोरियाका राष्ट्रपति सिङ्गम्यान रि पनि शुरूमा युद्ध रोक्ने पक्षमा थिएनन् । अमेरिकी सहयोग कटौती हुने धम्कीपछि मात्रै उनी युद्धविरामको पक्षमा आए । सन् १९५३ जुलाई २७ मा युद्धविराम घोषणा गरियो । उत्तर र दक्षिण कोरिया फरक मुलुक बने, जुन अद्यावधि कायम छन् ।

आणविक युद्धको त्रासदी
आइजनहावरको राष्ट्रपतिकालमा फैलिएको आणविक युद्धको त्रासदी सम्बन्धी एउटा रोचक प्रसङ्ग पुस्तकमा उल्लेख छ । ओभल अफिसमा पहिलो दिन आइजनहावरले ताल्चा मारिएको घर्रा देखे । सो खोलेर हेर्दा अघिल्ला राष्ट्रपति ह्यारी ट्रुम्यानले तयार पार्न लगाएका आणविक युद्ध सम्बन्धी प्रतिवेदन भेटियो । ‘आणविक बमका पिता’ रबर्ट ओपनहाइमरले तयार गरेको सो प्रतिवेदनमा सोभियत युनियन र अमेरिकाबीचको हतियार होडबाजी, खासगरी आणविक हतियारहरू प्रयोग भएमा के होला भन्ने उल्लेख गरिएको थियो । प्रतिवेदनले बताएको थियो, ‘युद्ध भएमा हजारौं मिसाइल र आणविक हतियार यताउता हुनेछन् ।’ त्यस्तो अवस्थामा को को बच्लान् भन्ने प्रश्नमा प्रतिवेदनले स्पष्ट भनेको थियोः ‘अमेरिका (साथै सोभियत युनियन पनि) विकिरणका कारण चन्द्रमा जस्तो बन्नेछ ।’

बन्द घर्रामा रहनु भन्दा त्यो प्रतिवेदन सार्वजनिक हुनु उचित मान्दै राष्ट्रपतिले सार्वजनिक गराउने निर्णय गरे । यस सम्बन्धी रबर्ट ओपनहाइमरको लेख जुलाई १९५३ मा फोरेन एफेर्स जर्नलमा छापियो । सो लेख उद्धृत गर्दै पुस्तक भन्छ, ‘हाम्रा २०औं हजार बम, तिनका (सोभियत युनियन) दुई हजार बम रोक्न सफल हुने छैनन् .... हामीले बुझनु जरूरी छ– थुप्रै आणविक युद्धहरू भइरहने छैनन् । .... आणविक युद्ध एउटा पनि हुनुहुँदैन ।” जापानको हिरोशिमा र नागाशाकीमा परमाणु बमले त्यसअघि नै तवाही गरिसकेको थियो । राष्ट्रपति आइजनहावरले आफ्नो ध्यान आणविक हतियार होडबाजी रोक्नमा केन्द्रित गरे । सन् १९५३ डिसेम्बर ८ तारिखका दिन संयुक्त राष्ट्रसंघमा उनले ‘शान्तिका लागि अणु’ भन्ने घोषणा गरे । आणविक शक्तिलाई विभिन्न सन्दर्भमा हेर्न थालियो ः औषधि, बिजुली, कृषि, अन्तरिक्ष सभ्यता आदि— विध्वंस होइन, सम्वद्र्धन गर्ने स्रोतको रूपमा । यो प्रस्तावपछि राष्ट्रसंघअन्तर्गत अन्तर्राष्ट्रिय आणविक ऊर्जा सङ्गठन खडा भएको हो ।

सन् १९५० र १९६० को दशकमा अमेरिकीहरूले आणविक आक्रमण भएमा आफूलाई कसरी बचाउने भनेर व्यापक अभ्यास गरे, यद्यपि आणविक आक्रमणबाट बच्न सकिन्छ भन्ने मान्यता नै गलत थियो । अमेरिकीहरूलाई बम खसेपछि टेबलमुनि पस्न र छेकिन अर्थात् ‘डक एण्ड कभर’ को व्यवहार सिकाइयो । घरघरमा भुइँ कोठा बनाउने परिपाटी चल्यो । सुपरमार्केटहरूले बम आक्रमणपछि बच्न सहयोगी चिसो पारिएका खाना, टर्चलाइट, प्रारम्भिक उपचार सामान, ब्याट्रीले चल्ने रेडियो आदि बेच्न थाले । तर आणविक आक्रमण भएको खण्डमा ‘डक एण्ड कभर’ जस्ता अभ्यास र उपायहरू काम नलाग्ने भन्ने वास्तविकता विस्तारै स्थापित हुँदैगयो ।

आर्थिक वृद्धि
सन् १९५०–१९६० अमेरिकी समृद्धिको दशक थियो । दोस्रो विश्वयुद्धका पीडा कम हुन थालेका थिए । उच्च आर्थिक वृद्धिदर, न्यून बेरोजगारी, राजमार्गको निर्माण र शिक्षामा लगानीले अमेरिकामा सबल मध्यमवर्ग सिर्जना गर्न सहयोग गरेको थियो । आइजनहावरको राष्ट्रपति कालमै अमेरिकाको आधुनिक सडक सञ्जाल निर्माण भयो, जुन मुलुकभरि फैलिएका छन् । आज यो सञ्जालविना अमेरिकी अर्थव्यवस्था र जीवनपद्धति कल्पना गर्न सकिंदैन । आर्थिक मात्रै होइन सैनिक हिसाबले पनि अमेरिका शक्तिशाली बन्दै गयो, जुन क्रमलाई अगाडि लैजान सेना–उद्योग गठजोडले भूमिका खेलेको छ ।

जोन एफ केनेडी अमेरिकाको राष्ट्रपति बनेको केही महीनामै क्युवामा निर्माण गरिएको मिसाइल अड्डाको विषयलाई लिएर सोभियत युनियन र अमेरिकाबीच आणविक युद्ध हुनसक्ने सम्भावना अगाडि आएको थियो, तर ट¥यो । त्यसपछि अमेरिका भियतनाम युद्धमा भासियो । युद्धका पाइला आज पनि रोकिएका छैनन् ः अफगानिस्तान, इराक र सिरिया र यमन युद्ध भइरहेका मुलुक हुन् । (अन्य मुलुकमा भएका स–साना द्वन्द्व र युद्धमा अमेरिका कसरी सहभागी थियो भन्ने विवरण स्मल वार्स, फारवे प्लेस ः ग्लोबल इन्सुरेक्सन एन्ड द मेकिङ अफ दि मोडर्न वल्र्ड १९४५–१९६५ नामक पुस्तकमा भेटिन्छ, जसको समीक्षा शिक्षक मासिकको २०७१ फागुन अङ्कमा गरिसकिएको छ ।)

भारत र पाकिस्तानबीच हुने ‘तु–तु, मे–मे’ दक्षिण एशियाले लामो समयदेखि भोग्दै आएको वास्तविकता हो । दोक्लाम क्षेत्रमा भारत र चीनको विवादले नराम्रो रूप लिने सम्भावना तत्काललाई टरेको छ । दक्षिण चीन समुद्रको तनाव कायमै छ भने पछिल्लो कालखण्डमा उत्तरकोरिया र संयुक्तराज्य अमेरिकाबीच हुँदै गरेको वाक्युद्धले अकल्पनीय परिणाम ल्याउने त्रास बढेको थियो, जुन हाललाई साम्य भएको छ । आज युद्ध सामग्रीलाई उपभोक्ता सामानसरह विज्ञापन गरिएको यूट्यूबमा भेटिन्छ । चिनियाँ राष्ट्रपति सी जिङपिङसित रातिको खाना खाँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकले सिरियामा मिसाइल प्रहार गरेको बताएका थिए । तत्पश्चात् टेलिभिजनमा एक अमेरिकी सञ्चारकर्मीको कथन सुनियो, ‘मिसाइलको कस्तो राम्रो प्रक्षेपण !’ यो राष्ट्रपति आइजनहावरले त्यतिबेला नै संकेत गरेको सेना–उद्योग गठजोडको प्रतिबिम्ब हो । सो गठजोडको दोस्रो प्रतिफल हो— खनिज इन्धनमा आधारित अर्थ–व्यवस्था र हरितगृह ग्यास उत्सर्जन ।

यस्तो लाग्छ; राष्ट्रपति आइजनहावरले बताएको ‘सेना–उद्योग गठजोड’ आजसम्म पनि विना रोकटोक अघि बढ्दैछ, त्यसले विश्वलाई गाँज्दैछ । संयुक्त राज्य अमेरिकालगायत पश्चिमी सभ्यताले शाश्वत मानेका प्रजातान्त्रिक मूल्यमान्यताहरू आज आएर चपेटामा पर्न थाल्नुको एउटा कारण के यही गठजोड हो ? गहन अध्ययनको विषय हो, यो । दोस्रो विश्वयुद्ध जित्न अगुवाइ गरेका कमाण्डर र राष्ट्रपति भएपछि युद्धको त्रासदी हटाउनुपर्छ भन्ने व्यक्तित्वले सम्झएको विवेक वर्तमान अमेरिकामा हराएको अनुभूति हुन्छ ।

दीक्षित आइसेट–नेपालमा कार्यरत छन् ।

No comments:

Post a Comment