Tuesday, April 24, 2018

२०७५ बैशाख अंक_प्रजातन्त्र कसरी मर्छ ? _समीक्षक : तुलसी नेपाल

प्रजातन्त्र कसरी मर्छ ?

पुस्तक: हाउ डेमोक्रेसिज डाईः  ह्वाट हिष्ट्री रिभिल्स अबाउट आवर फ्युचर
लेखक: स्टिभेन लेभित्स्की र डेनियल जिब्लाट्
प्रकाशक: पेनगुइन बुक्स                     पृष्ठ: ३१२ + ८

समीक्षक: तुलसी नेपाल

हामीकहाँ ‘प्रजातन्त्र’ ९म्झयअचबअथ० लाई ‘लोकतन्त्र’ लबजले विस्थापित गरेको एकदशक जति भइसकेको छ । यी दुई नेपाली शब्दावली रूपमा भिन्न देखिए पनि सारमा समान छन् । दुवैलाई अंग्रेजीमा ‘डेमोक्रेसी’ एउटै शब्दले प्रतिनिधित्व गर्छ । यो समीक्षामा ‘डेमोक्रेसी’ को अनुवाद लोकतन्त्र भनेर गरिएको छ । समीक्षाको विषयवस्तु अमेरिकाको हार्वर्ड विश्वविद्यालयका प्राध्यापकद्वय स्टिभेन लेभित्स्की र डेनियल जिब्लाट्को ताजा कृति हाउ डेमोक्रेसीज डाईः ह्वाट हिष्ट्री रिभिल्स अबाउट आवर फयुचर हो ।

लोकतन्त्र भन्दा अर्को उत्तम वैकल्पिक व्यवस्था नभएर नै होला, संसारभरि लोकतन्त्र स्थापनाका लागि ठूल्ठूला आन्दोलन र क्रान्ति भएका छन् । नेपालमा पनि त्यस्तै भयो । तर के लोकतन्त्र ‘दूधले धोएको’ व्यवस्था हो त ? यस सन्दर्भमा पं. जवाहरलाल नेहरूले भनेको देहायको कथन मननीय छः

“लोकतन्त्र राम्रो व्यवस्था हो । म यो किन भन्छु भने अरू व्यवस्थाहरू झन् खराब छन्, त्यसैले लोकतन्त्र स्वीकार गर्न हामी बाध्य छौं । यसका राम्रा र नराम्रा दुवै पक्ष छन् । तर लोकतन्त्रले सबै समस्याको हल गर्छ भन्नु सर्वथा गलत हुन्छ । समस्याहरू त बौद्धिकता र कडा परिश्रमले मात्र समाधान गर्न सकिन्छ ।”

नेपालको आजको परिवेशमा ‘हाउ डेमोक्रेसिज डाई ...’ पुस्तकको अध्ययनले हाम्रा लोकतन्त्रवादी संस्था एवं व्यक्तिहरूलाई पनि केही खुराक दिन सक्ने देखिएकाले यहाँ पुस्तकले उठान गरेका केही महत्वपूर्ण पक्षलाई सारांशमा प्रस्तुत गरिएको छ ।

जम्मा नौ अध्यायमा विभाजित यो पुस्तकको परिचयको खण्डको पहिलो वाक्य नै ‘के हाम्रो लोकतन्त्र खतरामा छ ?’ भन्ने प्रश्नबाट शुरू हुन्छ । विगत १५ वर्षसम्म अरू देशमा लोकतन्त्र असफल भएको बारेमा सोच्ने, लेख्ने र विद्यार्थीलाई पढाउने गरेका यी दुई प्रोफेसर गएको दुई वर्षदेखि आफ्नै देश अमेरिकालाई नजिकबाट नियाल्दै आएका छन् र त्यस क्रममा त्यहाँका राजनीतिज्ञहरूले अनौठा कुरा र काम गरिरहेको बताउँछन् । र, उनीहरूले यसलाई अन्य मुलुकमा जस्तै, राजनीतिक संकटको पूर्व आभासको रूपमा लिएका छन् । तर पनि अमेरिकाको सन्दर्भमा उनीहरूको आग्रह छः “हाम्रो संविधान, स्वतन्त्रता र समानता, ऐतिहासिक रूपमै बलियो रहेको मध्यम वर्ग, उच्च तहको सम्पन्नता र शिक्षा, ठूलो र विविधतायुक्त निजी क्षेत्र– यी सबैले नै अन्य मुलुकमा भए जस्ता लोकतान्त्रिक दुर्घटनाबाट अमेरिकालाई बचाउनुपर्छ ।”

लोकतन्त्रको अन्त्य हातमा बन्दूक हुने मानिसबाट भएको त देखिएकै हो, तर यसको अर्को पाटो पनि छ । त्यो पाटो कम नाटकीय तर उत्तिकै विध्वंसात्मक हुने गर्छ । त्यो के भने राष्ट्रपति वा प्रधानमन्त्री जस्ता निर्वाचित नेताबाट पनि लोकतन्त्रको देहावसान हुन्छ । यो दाबीलाई लेखकद्वयले भेनेजुएलाको उदाहरण दिंदै स्पष्ट पारेका छन्– ‘ह्युगो चाबेजले लोकतान्त्रिक पद्धतिबाट पहिलोपटक राष्ट्रपति पद जितेको दुई दशकपछि भेनेजुएला निरंकुश व्यवस्था भएको देशमा परिणत भयो ।’

निर्वाचित निरंकुश शासकहरूलाई लगाम लगाउन राज्यका कानून र निकायहरू मात्र पर्याप्त हुँदैनन् । यसका लागि राजनीतिक दल र संगठित नागरिकहरू नै अग्रसर हुनुपर्छ । मजबूत मानदण्ड विना संवैधानिक नियन्त्रण र सन्तुलन हुन सक्दैन । राज्य र लोकतन्त्रका संस्थाहरू उपर नियन्त्रण हुनेले नियन्त्रण नहुनेका विरुद्ध ती संस्थाहरूलाई राजनीतिक अस्त्रका रूपमा प्रयोग गर्छन् । निर्वाचित निरंकुशहरूले अदालत र अन्य तटस्थ निकायहरू जस्तै— संचारगृह, निजी क्षेत्र आदिलाई हतियारको रूपमा प्रयोग गरेर विपक्षीमाथि प्रहार गर्ने राजनीतिको नयाँ नियम लेखाउँछन् र लोकतन्त्र धरापमा पर्छ । यसरी, निर्वाचनको बाटोबाट निरंकुशतावादको उदय भई लोकतन्त्रका संस्थाहरूको घाँटी निमोठ्दै विस्तारै कानूनी रूपमै लोकतन्त्रको हत्या हुन्छ ।

अमेरिकाको पछिल्लो अवस्थाको उदाहरण दिंदै लेखकद्वयले लेखेका छन्— ‘अचेल अमेरिकी लोकतन्त्रका रक्षकहरू कमजोर भइरहेका छन् । एउटा र अर्कोको बीच नीतिगत असहमतिको सट्टा जातीय र सांस्कृतिक अस्तित्वको द्वन्द्व सिर्जना हुन गई दलगत ध्रुवीकरण बढेका र लोकतान्त्रिक मापदण्ड कमजोर हुँदै गइरहेका छन् । अमेरिकाको जातीय समानता प्राप्त गर्ने प्रयत्नले विस्तार भएको विविधताका कारण आन्तरिक प्रतिक्रिया र ध्रुवीकरणले ऊर्जा पाइरहेको छ । र, इतिहासका दुर्घटनाहरूलाई हेर्ने हो भने अतिवादी ध्रुवीकरणले लोकतन्त्रलाई नै मार्न सक्छ ।’

धेरै अमेरिकीहरू अमेरिकाको पछिल्लो अवस्थाबाट चिन्तित छन् । तर लेखकद्वयको कथन छ ‘लोकतन्त्र जोगाउन चिन्ता वा डरले मात्र पुग्दैन । नागरिकहरू आवश्यकता अनुसार भद्र र कठोर हुनु पनि जरूरी हुन्छ । अमेरिकीहरूले अन्य देश र देशभित्रकै चेतावनीका संकेतहरूबाट सिक्दै समयमै सही र गलत छुट्याउन सक्नुपर्छ । लोकतन्त्रलाई नष्ट गर्ने अन्य देशका गलत पाइलाहरूबाट जानकार हुँदै आफ्नो परिवेशप्रति सचेत रहनुपर्छ । र, विगतमा ठूल्ठूला लोकतान्त्रिक संकट निवारणका लागि स्वयं अमेरिकी जनता आफ्ना गहिरा विभाजनहरू पन्छाएर कसरी उर्लिएका थिए भनेर मनन् गर्नुपर्छ ।’

लेखकद्वय भन्छन्, ‘सामान्यतः हामी के विश्वास गर्छौं भने— कुनै पनि सरकारको भाग्य यसका नागरिकको हातमा भर पर्छ । यदि नागरिक लोकतान्त्रिक मूल्य भएका छन् भने लोकतन्त्र सुरक्षित हुन्छ । यदि नागरिक नै निरंकुश पद्धतिका लागि खुल्ला छन् भने ढिलो वा चाँडो त्यहाँको लोकतन्त्र समस्यामा पर्छ ।’ तर लेखकद्वय यस्तो विचार या विश्वासलाई सही ठान्दैनन् । उनीहरूका अनुसार सन् १९२० को दशकमा जर्मनी र इटालीमा निरंकुश प्रणालीको पक्षमा बहुमत नागरिक थिए भन्ने कुनै प्रमाण र पुष्ट्याईं पाइँदैन । सबै लोकतन्त्रमा संभावनायुक्त शक्तिपिपासु नेताहरू हुन्छन् नै । यस्ता केही नेताले कहिलेकाहीं जनभावनालाई चोट पु¥याउन सक्छन् । तर कैयौं लोकतन्त्रमा राजनीतिक नेता र नागरिक–संस्थाहरूले लोकतन्त्र विरुद्धका चेतावनीका संकेतहरूलाई समयमै ठम्याएर निरंकुशतावादीहरूलाई शक्तिकेन्द्रबाट टाढै राख्छन् । यसो गर्नका लागि राजनीतिक दलहरू नै सबैभन्दा महŒवपूर्ण हुन्छन् ।

पुस्तकमा लेखकहरूले संसारका विभिन्न देशका राजनीतिक घटनालाई उदाहरणका रूपमा पेश गर्दै ती उदाहरणबाट अमेरिका तथा अन्य देशका जनतालाई सिक्न प्रेरित गरेका छन् । पुस्तकको सार बताउँदै लेखकद्वय भन्छन्— इतिहास आफैं दोहोरिंदैन, यसको एउटा लय हुन्छ । धेरै ढिलो हुनु अगावै इतिहासको त्यो लयलाई पत्ता लगाउन र बुझन सकौं ।

अन्त्यमा, प्रस्तुत पुस्तक भर्खरै लोकतान्त्रिक पद्धतिमा प्रवेश गरेका र पुराना— दुवैखाले मुलुकमा लोकतन्त्रलाई जोगाइराख्न चिन्ता र चासो लिने राजनीतिज्ञ, नागरिक समाज, निजी क्षेत्र, संचार जगत र तमाम नागरिकका निम्ति अत्यन्त उपयोगी छ ।

नेपाल; समाज र ग्रामीण पूर्वाधारका विषयमा विशेष रुचि राख्छन् ।

No comments:

Post a Comment